मुस्ताङ:   थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ ।   धवलागिरि हिमालको हिउँबाट बग्...

गलकोट:   गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन ।   ढोरपाटनको मायाले उहाँलाई एक वर्ष नपुग्दै पुन: डोर्यायो । त्यसैले यसपटकको उहाँको यात्रा ढोरपाटनमा मात्र रोकिएन । ‘गुरिल्ला पदमार्ग’ सम्म नै पुग्यो ।   अघिल्लो पटक पोखराबाट साइकलमा १४ दिनमा ढोरपाटन क्षेत्रको भ्रमण सक्नुभएका गुरुङले यसपटक भने ढोरपाटनसँगै गुरिल्ला पदमार्गको ३५ दिने यात्रा एक्लै गर्नुभयो । साइकल र पदयात्रामार्फत पर्यटन प्रवद्र्धनमा लाग्दै आउनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका–४ निवासी २८ वर्षीय दिवस गुरुङले यस पटक गुरिल्ला पदमार्गको प्रवद्र्धनमा ३५ दिन बिताउनुभएको हो ।   साउन ७ गते बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङबाट सुरु गरेको यात्रा ३५ दिनमा समापन गरिएको थियो ।   उहाँले एकलरुपमै पैदलयात्रामा ३५ दिन बिताउनुभएको छ । म्याग्दी जिल्लाको दरबाङबाट सुरु भएको गुरिल्ला पदमार्ग गुरुङले भने ढोरपाटनबाट सुरु गरेर पूर्वी रुकुम हुँदै ३५ दिनमा रोल्पामा पुग्नुभएको थियो ।   “गत दसैँमा ढोरपाटन उपत्यकामा १४ दिन बिताएँ, एकल साइकल यात्रामा हिँड्न रुचाउने मलाई ढोरपाटन घुम्ने बाँकी रहर थियो, ढोरपाटन उपत्यकाबाहेक ढोरपाटन क्षेत्रमा धेरै घुम्ने स्थान रहेछ, ढोरपाटन उपत्यकासँँगै बुँकी क्षेत्रमै ११ दिन बित्यो”, गुरुङले यात्रा स्मरण गर्दै भन्नुभयो, “खासगरी १० वर्षे द्वन्द्वको समयमा प्रयोग गरिएको पदमार्गलाई नै गुरिल्ला पदमार्ग नामकरण गरिएको हो, यसको प्रवद्र्धन र विकास पछि पर्यटक ल्याउन आफू एकल यात्रामा निस्केको थिए, ढोरपाटनको बुँकीहुँदै पूर्वी रुकुम, ठाकुर, पेल्मा, माइकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङ पुगेर यात्रा सकेको थिए ।”   ढोरपाटन उपत्यकाबाट बुँकी एक दिनमै पुग्न सकिने भए पनि गुरुङले बुँकीमै केही दिन बिताउनुभएको थियो । माओवादी सशस्त्र द्वन्द्वका समयमा पनि रोल्पा हुँदै रुकुमबाट यही पदमार्ग प्रयोग गरेर तत्कालीन द्वन्द्वरत माओवादी आउजाउ गर्ने, युद्धका घाइतेलाई ओसार्ने तथा शव व्यवस्थापन गर्ने गरेका थिए ।   विसं २०७२ मा यही पदमार्गलाई पर्यटन बोर्ड र रोल्पा, रुकुमलगायतका जिल्लाका जिल्ला विकास समितिको पहलमा गुरिल्ला पदमार्ग नामकरण गरिएको थियो ।   गुरिल्ला पदमार्ग नामकरण गरेको आठ वर्ष पुग्नै लाग्दासमेत उक्त पदमार्ग चर्चामा आउन नसक्नु, ढोरपाटन शिकार आरक्षमा आएका पर्यटक उक्त पदमार्गप्रति आकर्षित नभएको पाइएकाले यसको विकास र प्रवद्र्धनका लागि ३५ दिने एकल पदयात्रा गरेको पदप्रदर्शकको समेत काम गर्दै आउनुभएका गुरुङले बताउनुभयो । “पथप्रदर्शकको काम गर्दा आफूले त्यस क्षेत्रको बाटो, कला, संस्कृति र भाषाको समेत जानकारी हुँनुपर्दछ भन्ने मान्यता हो”, उहाँले भन्नुभयो, “गुरिल्ला पदमार्गको प्रवद्र्धनका लागि सन्देश दिने मेरो एकल यात्रा हो, यो मार्गमा थुप्रै विदेशी तथा स्वदेशी पर्यटक आउने सम्भावना छ भने ढोरपाटन शिकार आरक्षमा आएका विदेशी शिकारीको बसाई लम्बाउनसमेत गुरिल्ला पदमार्ग सहयोगी बन्न सक्दछ ।”   म्याग्दीको दरबाङदेखि ढोरपाटनहुँदै पूर्वी रुकुमदेखि रोल्पा पुग्ने गुरिल्ला पदमार्ग पुग्न थोरैमा १४ दिनदेखि बढीमा २७ दिन निर्धारण गरिएको छ । गुरिल्ला पदमार्ग हिँडेर छोटो समयमा १४ दिन पुगेपनि घुम्दै फिर्दै पुग्न कम्तीमा १९ दिनदेखि २७ दिनसम्म लग्ने गरेको गुरुङको भनाई छ । गुरुङले आफूले गुरिल्ला पदमार्गको प्रवद्र्धनसँगै द्वन्द्वकालको प्रभावको अवस्था, मगर भाषा र संस्कृतिको अध्ययन गर्न समेत एकल पदयात्रा गरेको बताउनुभयो ।   दश वर्ष माओवादी द्वन्द्वका क्रममा तत्कालीन माओवादीले अत्यधिक प्रयोगमा ल्याएका भिर, पखेरा, गोरेटो, घोरेटो बाटोलाई नै एकीकृत गरेर पछि गुरिल्ला पदमार्ग नामकरण गरिएको हो । एकल पदयात्राका क्रममा स्थानीयसँग घुलमिल हुन सहज हुने र लामो यात्रामा साथ दिने साथीहरु पनि कम हुने भएकाले एकलयात्रा रोजेको गुरुङको बुझाइ छ ।   गुरिल्ला पदमार्गको प्रवद्र्धन र विकासका लागि यसको स्तरोन्नति गर्न आवश्यक रहेको, पदयात्राको विषयमा सूचना बोर्ड नभएको, कतिपय अवस्थामा गोरेटो मार्ग नकोरिएको र बस्ने खाने व्यवस्थापन नभएको पाइन्छ उहाँले सुनाउनुभयो । यो पदमार्ग धौलागिरि चक्रिय पदमार्ग र अन्नपूर्ण चक्रिय पदमार्गभन्दा कम नभएको पनि उहाँले बताउनुभयो ।   विसं २०७२ को भूकम्पको समयमा राहत र उद्धारका लागि गोरखा गएको सन्र्दभमा गुरुङले नेपाल सोचेभन्दा धेरै बृहत् रहेछ भन्ने ठानेपछि त्यसलगत्तै पर्यटन प्रवद्र्धनसहित एकल यात्रा गर्दै आउनुभएको छ ।   उहाँले इन्धन अभाव झेलेको नाकाबन्दीको समयदेखि साइकल यात्रासमेत गर्दै अउनुभएको छ ।   उहाँले सबैभन्दा बढी ४२ दिने एकल साइकल यात्रा २०७५ सालमा गर्नुभएको थियो । गुरुङले २९ जिल्लालाई समेटेर गेरेको साइकल यात्रापछि गुरिल्ला पदमार्ग लामो यात्रा भएको बताउनुभयो ।

पोखरा:  गण्डकी प्रदेशका ११ जिल्लामध्ये यसहप्ता कास्कीमा सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका महाशाखा प्रमुख डा. नारायण श्रेष्ठका अनुसार गण्डकीको ११ जिल्ला भन्दा कास्कीमा बढी डेङ्गुका बिरामी भेटिएको जानकारी दिए ।    जनवरीदेखि सेम्टेम्बर (पुसदेखि भदौ)सम्म कास्कीमा ३२ जना डेङ्गुका बिरामी भेटिएका छन् । तर हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अहिलेसम्म डेङ्गु संक्रमित नभेटिएको महाशाखा प्रमख डा. श्रेष्ठले बताए ।    उनका अनुसार बागलुङमा २६, गोरखामा २६, पर्वतमा २१, लमजुङमा २०, नवलपुरमा ८  म्याग्दीमा ७, स्याङ्जामा ७, जनामा डेङ्गुको संक्रमण भेटिएको हो ।   महाशाखाका अनुसार गण्डकी प्रदेशमा अघिल्लो हप्ता ५६ जना र यो हप्तामा २९ जनामा डेङ्गु भेटिएको हो ।    गत वर्ष म्याग्दीमा मात्र २ हजार १ सय ५२ जनामा डेङ्गु संक्रमण भेटिएपनि यो वर्ष सचेतनामूलक र सरसफाइ अभियान सञ्चालन हुँदा म्याग्दीमा अहिले संक्रमण दर निकै कम पाइएको महाशाखा प्रमुख डा. श्रेष्ठले बताए ।    वर्षातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।  एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ ।    उच्च ज्वरो आउनु ,आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाई र पखाला, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कालो दागजस्ता लक्षण देखिने गर्दछ ।    • डेँगुमा के हुन्छ?    -डेंगुलाई  Break Bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ ।    •​ परिचय   -डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।  • मुख्य)लक्षणहरु:- - अचानक उच्च ज्वरो आउनु,   - आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु, - सबै शरीर दुख्नु, - घांटी बस्नु, - साना बिमिरा आउनु,  शरीर चिलाउनु, - वाकवाकी लाग्नु र वान्ता आउनु, - छटपटी हुनु, - रिंगटा लाग्नु, - निद्रा नलाग्नु, - हड्डी तथा मांशपेशी निकै दुख्नु, -आँखा तथा घांटी रातो हुनु, - छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ, - ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५/७ दिनमा पोजिटिभ देखिन्छ, -१५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ ।    • ( विशेष) सतर्कता  -ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।  - आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्रावजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।  - बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।  - जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी र फलफुल र गेडागुडीको रस, दाल आदि।  

पोखरा :  गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद आउन ठिक एक महिना बाँकी छँदा प्रतियोगिता अन्तर्गतका ३६ खेलका खेलस्थल सार्वजनिक गरिएको छ ।   प्रदेशको राजधानी सहर पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने टुङ्गो लगाइएको हो । खेलस्थल र खेलतालिका सार्वजनिकसँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ ।   खेल स्थल सार्वजनिक गर्न निर्धारित समयभन्दा केही ढिलाइ भएकामा आज राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा एक कार्यक्रम आयोजना गरी सबै खेलका खेलस्थल र खेल तालिका सार्वजनिक गरेको हो ।   आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताका लागि कास्कीसहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको छ ।   नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन  पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नष्टिक, ह्याण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रङ्गशालमा हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताउनुभयो । बास्केटबल पुरुष पोखरा रङ्गशाला र महिलाको खेल पृथ्वीनारायण क्याम्पस, आर्चरी, फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ ।    यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ ।    रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टीप्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने निर्णय परिषद्ले गरेको छ ।   यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । यसैगरी पूर्वाधार अभावमा सुटिङ भने काठमाडौँमा खेलाइने भएको छ ।    यसैगरी परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्ष्यगरी नेशनल स्पोर्टस् काउन्सिल एप सञ्चालनमा ल्याएको छ । सो एपबाट खेलको तयारी, नतिजालगायतका सबै विवरण जानकारी दिइने परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो । उहाँका अनुसार खेलस्थल र खेल तालिका बनिसकेकाले तयारीका काम अघि बढाइएको छ ।    परिषद्ले पहिलो पटक खेलाडीको अनलाइन दर्ता सुरु गरिएको जनाएको छ । प्रत्येक टोलीले खेलाडीको अनलाइन फाराम भर्नुपर्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते हुने भए पनि परिषद्ले सोअघि नै खेल तालिका बनाएको छ । नवौँअन्तर्गतको पुरुष क्रिकेट हाल राजधानी काठमाडौँमा जारी छ । क्रिकेट महिला असोज २३ गतेदेखि पोखरामा सुरु हुनेछ ।   प्रतियोगिताको मूल ट्रफी भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट सार्वजनिक गरिने र सातै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा ट्रफी प्रदर्शनी र्‍याली आयोजना गरिने सदस्य सचिव घिसिङले बताउनुभयो ।    ट्रफी र्‍यालीका लागि ओलम्पियन दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यसीय कार्यदल गठन भइसकेको र प्रदेशगत प्रदर्शनी असोज १ गतेदेखि सुदूरपश्चिमबाट सुरु गरी क्रमशःअन्य प्रदेश तथा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा लगिने परिषद्ले जनाएको छ ।   खेलस्थल सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय गौरवसँग जोडिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतियोगिताका लागि आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै सरकारी तथा निजी क्षेत्र मिलेर सफल पारिने प्रतिबद्धता जनाउनुभयो । 

नवलपुर:  नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।    चार दिनको अन्तरालमा दुम्किबासबाट सर्दी जानेबाटोमा दुईपटक बाघले मानिसलाई आक्रमण गरेपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका हुन् । गत शुक्रबारमात्रै विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय सुवास विकलाई बाघले आक्रमण गरेको थियो ।   विनयी त्रिवेणी– १ होङ्सी जाने गेट नजिकै मोटरसाइकलमा सवार रहँदा बाघले उहाँमाथि आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विकको खुट्टामा चोट लागेको छ । कृष्ण विकले चलाएको मोटरसाइकलमा सवार सुवासलाई बाघले आक्रमण गरी तान्दै गर्दा सँगै रहेको ट्रक चालकले ट्रकले लखेटेपछि उहाँको ज्यान जोगिएको थियो । मङ्गलबार सोही क्षेत्रमा बाघले मानिसलाई आक्रमणको प्रयास गरेको छ ।   मोटरसाइकलमा सवार दुई जनालाई बाघले आक्रमणको प्रयास गरेको विनयी त्रिवेणी–३ सर्दीका स्थानीय यादव पौडेलले बताउनुभयो । दुम्किबासबाट सर्दी मोटरसाइकलमा जाँदै गर्दा सर्दी निवासी दुर्गाप्रसाद पौडेल र रवि जिसीलाई बाघले आक्रमणको प्रयास गरेको हो । दुवै जनाले भागेर ज्यान जोगाउन सफल भएको पौडेलले जानकारी दिनुभयो ।   दुम्किबासबाट होङ्सी जाने गेट हुँदै सर्दी जाने बाटो भएर आवतजावत गर्दा बाघको आक्रमण जोखिम बढेको छ । गत वर्ष दुम्किबास क्षेत्रमा बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाएका थिए । गत वर्ष बाघले लगातार मानिसलाई आक्रमण गरेपछि नरभक्षी बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास असफल बनेको थियो ।   अहिले फेरि लगातार सोही क्षेत्रमा बाघले आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । बाघ सोही क्षेत्रमा रहेको र कुनै पनि समय मानिसलाई आक्रमण गरी मानवीय क्षति पु¥याउन सक्ने भन्दै समयमै सम्बन्धित निकायले यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । “लगातार बाघले आक्रमण गर्न थालेको छ, कुनै पनि समय मानवीय क्षति हुनसक्छ, सम्बन्धित निकायले समयमै क्षति हुन नदिन सचेत हुनुपर्छ”, स्थानीय यादव पौडेलले भन्नुभयो, “यो बाटो भएर हिँडडुल गर्दा समेत सबैले सावधानी अपनाउन आवश्यक छ ।”

पोखरा : कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ्रे बैंकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेख्नुभयो ।   जसमा राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री किन्न अहिलेसम्म सरकारी निकायबाट पैसा नपाएकाले आर्थिक सहयोगका लागि याचना गरिएको थियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि फेन्सिङको खेलाडी छनोट गरेर प्रशिक्षण अहिले प्रशिक्षण सञ्चालन भइरहेको छ ।    शाहीले लेख्नुभएको छ, “नवौँ राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकी छैन, प्रदेश खेलकुद परिषद् र मन्त्रालयबाट खेल सामग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीलाई उतारौँला भनेर बस्ने हो भने हात लागे शून्य होलाजस्तो लागेर सामाजिक सञ्जालबाटै हात फैलाउन बाध्य भएँ ।” शाहीले सामाजिक सञ्जालमा यस्तो भनाइ राख्नु भएपछि त्यसमा तीव्र प्रतिक्रिया आइरहेको छ । धेरै खेलप्रेमीले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रको गौरवसँग जोडिएको प्रतियोगितामा खेलाडीलाई आवश्यक सामग्री उपलब्ध हुनुपर्ने आवाज छ ।    शाहीको जस्तै पीडा अन्य धेरै खेल सङ्घ र यसका पदाधिकारीको छ । प्रदेशस्तरीय छनोटबाट खेलाडी छनोट गरेर बसेका खेल सङ्घले खेलाडीलाई आधारभूत सुविधासमेत उपलब्ध गराउन सकेका छैनन् । गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता आउन एक महिनाभन्दा कम समय बाँकी रहँदासमेत खेलाडीका लागि आधारभूत सुविधा र खेल सामग्री प्राप्त नभएपछि सामाजिक सञ्जालबाटै पीडा व्यक्त गरेको अध्यक्ष शाहीले बताउनुभयो ।    उहाँले भन्नुभयो, “प्रतियोगितामा भाग नलिउँ खेलाडीको वर्षौंको मिहिनेत खेर जाने, लिउँ न खेल सामग्री छ, न खेल पोसाक ।” प्रदेशका खेलाडीको हितको लागि जिल्ला अध्यक्षको नाताले आफूले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर सामाजिक सञ्जालबाट सहयोगको अपिल गरेको उहाँले बताउनुभयो । “खेलप्रेमी व्यक्ति वा संस्था जो कसैले कास्की जिल्ला फेन्सिङ सङ्घको खातामा सहयोग गर्न सक्नुहुनेछ । हिसाब पारदर्शी हुने वाचा गर्दछु, गण्डकी प्रदेशकै इज्जतको सवाल छ त्यसैले सबैमा विनम्र अनुरोध गरेँ ।” शाहीले भन्नुभयो ।   फेन्सिङको खेल सामग्री नेपालमा पाइँदैन । भारत वा चीनबाट ल्याउनुपर्ने हुन्छ तर अहिलेसम्म बजेटको उपलब्ध नभएको शाहीले गुनासो गर्नुभयो । सामाजिक सञ्जालमा अपिल गरेपछि सहयोग प्राप्त हुन थालेको छ । केही दिनमै शाही आफैँ खेल सामग्री नेपालरभारत सीमा रक्सौलसम्म जाने योजनामा हुनुहुन्छ । भारतीय कम्पनीसँग कुराकानी भइरहेको उहाँले जानकारी दिनुभयो ।   नवौैँमा खेल सामग्रीका लागि  फेन्सिङ सङ्घले  रु सात लाख बजेट माग गरेको छ । फेन्सिङका खेल सामग्री तरबार(सोड), इलेक्ट्रिक डिभाइस जडित ज्याकेट, पञ्जा, हेलमेट, चेस प्रोटेक्टरलगायतका सबै खेल सामग्री बाहिरबाट ल्याउनुपर्ने हुन्छ । एक जना खेलाडीका लागि रु ३० हजार बराबरको खेल सामग्री आवश्यक पर्दछ तर परिषद्बाट एकमुष्ट सबैलाई गरी रु ६० हजार मात्र उपलब्ध हुने जवाफ पाएपछि निरास बन्नुपरेको र सहयोगका हात फैलाउनुको विकल्प नभएको अध्यक्ष शाहीले गुनासो गर्नुभयो ।   उहाँले भन्नुभयो, “अभ्यासका लागि हलबाहेक अहिले हामीले सुविधाका नाममा केही पनि पाएका छैनौँ । खेलाडी खेल्दै गर्दा घाइते हुँदासमेत रङ्गशालाभित्र प्राथमिक उपचार नपाउने अवस्था छ, खेलाडीको सुविधा के हो अहिलेसम्म यकिन छैन भने आधारभूत सामग्री पनि पाइएन ।” प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले केही खेलका खेल सामग्री स्वदेशमा नपाइने र बाहिरबाट खरिद गर्नुपर्ने भएकाले यसमा सम्बन्धित खेल सङ्घको पनि अग्रसरता आवश्यक हुने बताउनुहुन्छ ।   राष्ट्रिय खेलकुदजस्ता महत्वपूर्ण प्रतियोगिता आउँदै छ भनेपछि सङ्घले पनि यसमा विशेष चासो र जागरुकता देखाउनुपर्ने उहाँको भनाइ छ । फेन्सिङका खेल सामग्री नपाएको बारेमा आफूहरूलाई जानकारी भए पनि स्वदेशमा नपाउने भएपछि तत्कालै उपलब्ध गराउन सम्भव नभएको गुरुङले बताउनुभयो ।   उहाँले भन्नुभयो, “कतिपय खेलको प्रकृति अलि जटिल हुन्छ, खेल सामग्री किन्न चाहे पनि नपाउने अवस्था छ । फेन्सिङमा पनि प्रदेशले लगानी गर्न नचाहेको होइन, दुईरतीन लाख बजेट दिन तयार छौँ तर तत्कालै खेल सामग्री पाउन सम्भव छैन, खरिद प्रक्रिया ऐनअनुसार जानुपर्दा ढिलाइ भएको हो ।” परिषद्ले सुरुआतमा जिल्ला छनोट, खेल सामग्री र छनोट प्रतियोगिताका लागि भनेर खेल सङ्घलाई रु एक करोड २० लाख बराबर बजेट उपलब्ध गराइएको सदस्य सचिवले बताउनुभयो । 

पोखरा:  गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री मन्त्री चन्द्र बुढामगर ( सागर ) ले आजका विद्यार्थीहरु भोलिको देशको नेतृत्वकर्ता भएको बताएका छन् ।    नेपाल मगर विद्यार्थी संघ कास्कीको १९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बुढाले आजको विद्यार्थीहरु भोलिको देशको नेतृत्वकर्ता भएको बताएका हुन् ।    ‘आजको विद्यार्थीहरु विभिन्न तहमा क्रियाशिल छन्’ उनले भने ‘अब देशको नेतृत्व गर्न राजनीतिक, प्रशासन क्षेत्रबाट विद्यार्थीहरु देशको नेतृत्व गर्न आउनेछन् ।’    मगर लगायत अन्य आदिवासी जनजाति समुदायहरु एक जुट नभएको बताउदै पहिचानको मुद्धा सेलाएको मन्त्री बुढाको टिप्पणी छ ।    ‘विभिन्न तहमा मगर तथा आदिवासीहरुको मुद्धाले स्थान पाएको छैन, तमुवानको मुद्धामा मगरहरुले अग्रसता देखाउन नसक्दा सिङ्गो आदिवासीको मुल मुद्धाले स्थान पाउन सकेन ।’ उनले भने ।    उनले आन्दोलनका स्वरुप परिवर्तन गर्दै अब शिक्षामा अग्रसता देखाउँदै राज्य सञ्चालन क्षेत्रमा प्रवेश गर्न मगर तथा आदिवासीहरु आवश्यक रहेको बताए ।  ‘हामीले भन्दै आएको निशुल्क शिक्षा अहिले महङ्गी शिक्षा भइरहेको छ । हामीले विभिन्न आन्दोलन गर्योै तर कार्यान्वयन हुन सकेन, मन्त्री बुढामगरले भने, ‘त्यसैले अबका विद्यार्थीहरुले राज्य संचालनको विभिन्न भुमिका गर्दै यस शिक्षा नीति बदल्न विद्यार्थीहरुको भुमिका रहुनपर्छ ।’   कार्यक्रममा नेपाल विद्यार्थी संघका गण्डकी प्रदेश अध्यक्ष विष्णु आलेले मगर पहिचानको संरक्षण गर्न विद्यार्थीहरु अग्रसर बन्न आग्रह गरे ।  ‘पछिल्लो समय मगरका भाषा संस्कृति लगायत पहिचान लोपउन्मुख छ’ उनले भने ‘अब विद्यार्थीहरुले आफ्नो भाषा सस्कृति र पहिचानको संरक्षण गर्न भावी पुस्तातरण गर्न सजिलो हुनेछ ।’   नेपाल मगर विद्यार्थी संघ कास्कीको १९ औं जिल्ला अधिवेशनले नयाँ समिति समेत चयन गरेको छ । 

पोखरा:   बागलुुङको ताराखोला गाउँपालिका १ माझखर्कमा विजयादशमीको अवसरमा खुल्ला वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुुने भएको छ ।    माझखर्कमा सक्रिय रहदैं आएको शिव लेकाली जिवन ज्योति युवा क्लबले २१ औं वार्षिकोत्सव तथा बडादशैंको अवसरमा खुुल्ला वडा स्तरीय महिला पुुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । आगामी असोज १२ देखि १६ गतेसम्म सञ्चालन हुने मेलामा महिला पुुरुष भलिबलसँगै धनुुषबाण, खुुल्ला सामुुहिक नृत्य र घैटोफोड प्रतियोगिता समावेश गरिएको क्लबका अध्यक्ष मनबहादुर घर्तीमगरले जानकारी दिए ।    उनका अनुसार पुुरुष भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुुनेले क्रमश ५० हजार र ३० हजार ट्रफी प्रमाण प्राप्त गर्नछन् भने सेमिफाइनलमा प्रवेश गर्ने दुुई समूहलाई नगद ५/५ हजार प्रदान गरिने छ ।   खेलमा सहभागिता जनाउन ४ हजार प्रवेश शुुल्क निर्धारण गरिएको अध्यक्ष घर्तीमगरले बताए ।   उनले खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुने समुहलाई क्रमशः १५ हजार र १० हजारसहित ट्रफी मेडल प्रमाण प्रदान गर्ने बताउदै प्रवेश शुल्क १५ सय निर्धारण गरिएको जानकारी दिए ।    यस्तै खुल्ला वडास्तरीय धनुुषबाण प्रतियोगितामा प्रथम र द्धितिय हुने समुुहले नगद ३० हजार र २० हजार सहित ट्रफी मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन भने प्रतियोगितामा सहभागिता जनाउन ३५ सय शुल्क कायम तोकिएको छ ।  त्यस्तै खुुल्ला सामुुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुुने समुहले क्रमशः १०, ६ र ४ हजार प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन १२ सय शुुल्क निर्धारण गरेको छ ।  वर्षेनी गर्दै आएको खुुल्ला महिला पुुरुष भलिबल अब प्रतियोगिता हरेका तीन वर्षको अन्तरालमा आयोजना गर्ने क्लबका अध्यक्ष घर्तिले बताए ।    क्लबले वर्षायामको समयमा सडक मर्मत, गोरेटो बाटो निर्माण लगायत प्रजातन्त्र विकास माविका विद्यार्थीहरुलाई प्रत्येक वर्ष विभिन्न विधामा पुुरस्कार वितरण समेत गर्दै आएको छ । खेलकदुको विकाससँगै सामाजिक क्रियाकलापमासमेत उक्त क्लब सक्रिय रहदैं आएको छ ।  

  काठमाडौं । गत जेठ महिनायता सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठयता सुदूरपश्चिममा प्रादेशिक र जिल्ला अस्पतालमा मात्रै एक सय ६१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।   “डेङ्गुको सङ्क्रमण पहाडसँगै तराईका जिल्लामा सबैतिर देखिन थालेको छ”, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीले भन्नुभयो, “इवारस् रिपोर्टिङ विधिबाट जिल्ला अस्पतालसम्मको तथ्याङ्क सङ्कलन हुने गरेको छ ।” उहाँले पालिका र प्राथमिक स्वास्थ्य केन्द्रस्तरसम्मको डेङ्गु रोगको बिरामीको तथ्याङ्क अझ बढी रहे पनि सङ्कलन हुन नसकेको बताउनुभयो ।   त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार र स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियनत्रणमा खटिएका चिकित्सकसहित कर्मचारीलाई आवश्यक प्रशिक्षण दिनुका साथै जाँचका लागि किट उपलब्धलगायतका कार्य गरिरहेको छ ।   “सङ्घको सशर्त अनुदानअनुसार डेङ्गु को लार्भा नष्ट गर्न पालिकास्तरमा बजेट आएको छ”, उहाँले भन्नुभयो, “यहाँका विभिन्न पालिकाले सो अभियान सञ्चालन गरिरहेका छन् ।” त्यसैगरी गर्मी क्षेत्रमा हुने डेङ्गुको सङ्क्रमण यहाँका पहाडी जिल्लामा समेत देखिन थालेको छ ।   निर्देशनालयको तथ्याङ्कानुसार कैलालीमा ४१, कञ्चनपुरमा ३२, डोटीमा १४, अछाममा सात, डडेल्धुरा र बैतडीमा नौ–नौ, दार्चुलामा ३३, बझाङ र बाजुरामा आठ–आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।   निर्देशानालयका अनुसार डेङ्गु  सङ्क्रमण नियन्त्रणका लागि नागरिकहरु पनि स्वयं जिम्मेवार हुनुपर्ने छ । “असोज अन्तिमपछि सङ्क्रमण कम हुँदै जान्छ”, उहाँले भन्नुभयो, “लामाखुट्टे नष्ट गर्ने अभियान सञ्जालन गर्नुपर्छ ।”

चितवन  :  लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् ।  हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ ।    उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व भएको बताउनुभयो ।    उहाँले भन्नुभयो “यो हाम्रो नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धान आदि खाने गरिन्छ ।” यसै दिन पितृहरुको सम्झनामा पूजा गरिने जानकारी दिँदै उहाँले भन्नुभयो “हामी यस दिन देवीदेवतासँग रोगव्याधी नलागोस् भनेर आशीर्वाद लिने गर्दछौँ । भाकल भए त्यसको समेत पूजा गर्दछौँ ।”   घैया धानलाई टाउकोमा राखेर आशिस लिने गरिन्छ । सोही दिन पुराना भाकाका गीत, झ्याउरे गीत गाएर नाचगान गरी रातभर रमाइलो गर्ने परम्परा छ । पछिल्लो समय धेरै चेपाङले धर्म परिवर्तन गरेसँगै विगतको जस्तो पर्व रमाइलो हुन छाडेको गुनासो गर्दै उहाँले भन्नुभयो “९० प्रतिशत चेपाङ क्रिश्चियन बनेपछि भाषा, धर्म, संस्कृति जोगाउन मुस्किल भयो । यो पर्व अहिले लोपन्मुख अवस्थामा पुगेको छ ।”   सङ्घका बागमती प्रदेश सचिव लक्ष्मण चेपाङले यो समुदायले भूयार र न्वागी गरी दुई वटा पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “खेती लगाउने समयमा भूयार र खेती थन्काउने बेलामा न्वागी मनाउने गरिन्छ ।” फागुन र चैतमा रोपेका बाली साउन/ भदौमा तयार भएपछि चढाउने गरिन्छ । प्रकृतिलाई पूजा गर्दै नयाँ खेती भित्र्याउने गरिन्छ । मुख्यरुपमा यतिबेला पिँडालु, निबुवा, घिरौँला, कागुनो, तामा, घैया धान भित्र्याएर भगवानलाई चढाइ खान सुरु गरिने सचिव चेपाङले बताउनुभयो ।   राप्ती नगरपालिकाको चार किल्लाका पहलमान चेपाङले न्वागी पुरानो परम्परा र संस्कृति भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो ठूलो पर्व हो । घरघरमा हामी खुसीयाली साटासाट गरेर यो पर्व मनाउँछौँ । कतिपयले यो पर्व समूहगत रुपमा पनि मनाउँछन् ।” चेपाङ समुदायलाई आफ्नो बारीमा उब्जनी भएको अन्नले छ महिना पनि खान पुग्दैन । जे जति उत्पादन हुन्छ, यसलाई निकै सम्मान दिएर पूजा गरेर मात्रै खाने चलन रहेको छ । पहलमानले भन्नुभयो,“न्वागी पूजा नगरेसम्म अन्न जुठो हुन्छ, चोख्याएर मात्रै खान्छौँ ।” धर्म परिवर्तनका कारण पछिल्ला दिनमा पर्व मनाउनेको सङ्ख्या घटेको उहाँको भनाइ थियो ।    पहलमानले  भन्नुभयो “हाम्रो धर्म र संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्छ ।” पहाडी क्षेत्रमा रहेका लोपन्मुख यो जाती धेरैको आफ्नै जमिन समेत छैन । वनमा फलेका कन्दमूल खाएर कतिपयले जीविका टार्नुपर्ने बाध्यता छ । शिक्षाको अभावमा बाल्य अवस्थामा नै विवाह हुने गरेकाले जन्मिएका बालबालिका र आमाको स्वास्थ्य अवस्था जटिल हुने गरेकाले  यो जातिका लागि सरकारले प्राथमिकतामा राख्नुपर्ने उनीहरुको माग थियो ।   यस वर्षबाट चेपाङ समुदाय बसोबास गर्ने चितवन, मकवानपुर र धादिङ जिल्लामा बागमती प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिएको छ । नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातीको बसोबास बढि  छ । छिटफुट २४ जिल्लामा चेपाङ समुदाय बस्ने गरेको सङ्घले जनाएको छ ।       विसं २०६८ को गणनाअनुसार नेपालमा यो जातीको सङ्ख्या ६८ हजार तीन सय ९९ पुगेको छ । तीमध्ये चितवनमा यो सङ्ख्या २८ हजारभन्दा बढी छ । पछिल्लो जनगणनाको सङ्ख्या आइसकेको छैन । जिल्लाको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा यो जातीको बाक्लो बसोबास छ ।