लुम्बिनी:     लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पा...

पोखरा  :  गण्डकी प्रदेश सभाको आजको बैठकमा  दुई विधेयक विधायन समितिको प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत भएको छ ।   बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले विधायन समितिको प्रतिवेदनसहित गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गर्नुभयो ।   बैठकको विशेष समयमा प्रदेशसभा सदस्य आशा कोइरालाले आव २०७८÷०७९ मा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको बताउनुभयो ।    उक्त कार्यक्रमअन्तर्गत उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका ४० प्रतिशत योजनाको अझै पनि भुक्तानी हुन नसकेकोप्रति प्रदेश सरकार र भौतिक पूर्वाधार विकास मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।   अर्का सदस्य खिमविक्रम शाहीले  बागलुङबाट बुर्तिवाङ जाने करिब १० किमि बाटो वर्षौंदेखि बिग्रेको बताउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य रामशरण बस्नेतले सदन जनताको आवाज उठाउने थलो भए पनि शून्य तथा विशेष समयमा उठाएका आवाजलाई सरकारले सुनुवाइ नगरेको बताउनुभयो । संसद्मा उठेका विषयलाई गम्भीरताका साथ हेर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।   आजको बैठकको विशेष तथा शून्य समयमा सदस्य मायानाथ अधिकारी, राजीव पहारी, भागवतप्रकाश मल्ललगायतले समसामायिक विषयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

काठमाडौँ:    वाग्मती प्रदेशसभाको दसौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दसौँ अधिवेशन गए राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको हो ।      राति नै प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै प्रदेशसभाको दसौँ अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको थियो । आव २०७९/८० का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवं बजेट तथा केही विधेयकहरु दसौँ अधिवेशनले पारित गरेको छ । प्रदेशसभाको सोमबारको बैठकले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको थियो भने सरकारले प्रस्तुत गरेका अन्य केही विधेयक भने पास हुन सकेनन् ।

  विराटनगर:   प्रदेश नं १ मा कोभिड–१९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६  नागरिकले लगाएका छन् । प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ वर्षदेखि माथिका ७९ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप यही साउन ४ गतेसम्म लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिनुभयो ।    खोप लगाउनेमध्ये १२ वर्षमाथिका ८१ प्रतिशतले पहिलो  मात्रा, ७९ प्रतिशतले दोस्रो र पाँच प्रतिशतले बुस्टर डोज खोप लगाएको प्रमुख साहले बताउनुभयो । प्रदेशमा कोभिड– १९ विरुद्धको  छ प्रकारका  खोप नागरिकलाई लगाएका छन् । यसरी लगाइएका खोपमा  कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, अष्ट्राजेनेका, फाइजर र मोर्डना रहेका छन् ।       प्रदेशमा  अहिलेसम्म ७१ लाख ५७ हजार ४३९ मात्रा खोप आएको छ । कतिपय नागरिकले पहिलो खोप लगाएपश्चात विदेश गएको, अन्य प्रदेशमा लगाएको र व्यवस्थित अभिलेख राख्न नसकेका कारण दोस्रो तथा बुस्टर मात्रा कम देखिएको छ ।   प्रदेशका तराईका जिल्लाको तुलनामा पहाडी तथा हिमाली जिल्लामा खोप लगाउनेको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको प्रमुख साहले बताउनुभयो । तराई क्षेत्रमा विभिन्न अफवाह एवं भ्रमका कारण खोप लगाउनेको सङ्ख्या कम हुन गएको केन्द्रले जनाएको छ ।     यस्तै प्रदेशका १० जिल्लामा भेरोसेल, जोनसन र फाइजर खोपको मौज्दात रहेको केन्द्रले जनाएको छ । ताप्लेजुङ, ओखलढुङ्गा, धनकुटा, मोरङमा कोभिड १९ विरुद्धको खोप मौज्दात नरहेको केन्द्रका निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।       प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र कार्यालयमा फाइजरको एक लाख ७४ हजार ८०० सय मात्रा मौज्दात  रहनुका साथै प्रदेशका सबै जिल्लामा गरी चार लाख १८ हजार डोज खोप बाँकी रहेको कार्यालयका श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशमा अहिले सरदर दुई हजार ८५० जनाले दैनिक खोप लगाइरहेको कार्यालयका प्रमुख साहले बताउनु भयो ।      यस्तै प्रदेशमा ११ हजार कोभिसिल्ड खोप खेर गएको छ । केन्द्रका अनुसार म्याद सकिन १५ दिन बाँकी रहेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडाँैबाट उक्त खोप पठाएका कारण खेर गएको हो । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख साहले यसअघि पनि प्रयोग हुन नसक्द अष्ट्राजेनेकाको ५० हजार खोपको  मात्रा खेर गएको थियो । 

  काठमाडौँ:    करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी) केन्द्र यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो ।  बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।     यही साउन ४ गते बुधबार दिउँसो ३ बजे सभामुख शाहीको संयोजकत्व बसेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुङ्गिएको थियो । बैठकमा केही टुङ्गो नलागेपछि उहाँले यो समस्यालाई सत्ता गठबन्धन दलभित्र समाधान गर्न सुझाउनुभएको थियो । उहाँले माओवादी केन्द्रले सदनसँग आधारित भएर राखेका माग पूर्ति गर्ने गरी सम्बोधन गरिएको जानकारी दिनुभयो ।      मुख्यमन्त्री जीवनबहादुर शाहीले अवरोधलाई खुलाउन सहमति र सहकार्य अपरिहार्य रहेको जनाउनुभयो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले गठबन्धन दलभित्रको छलफल सकरात्मक रहेको बताउनुभयो ।    मूलतः सत्ता गठबन्धन सरकारका गतिविधि, क्रियाकलाप र योजनालाई प्रभावकारी बनाएर लैजानका लागि साझा प्रयासलाई अनिवार्य शर्त बनाएर अगाडि बढ्ने सहमति र साझा धारणा बनाउन आइतबार मुख्यमन्त्री शाही, नेकपा माओवादी केन्द्र प्रदेशसभा दल नेता महेन्द्रबहादुर शाही, नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दल नेता चन्द्रबहादुर शाहीबीच छलफल भएको थियो । 

  पाल्पा :  पाल्पाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा छ जना यात्रुको मृत्यु भएको छ ।   तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी ५ बजेतिर यात्रु बाहक बस दुर्घटना भएको हो ।दुर्घटनामा परी १७ जना यात्रु घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।   मृतक तथा घाइतेको उद्दार कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

नेपालगञ्ज  ः  करिब साढे दुई दशकदेखि कार्यसमितिविहीन भएको नेपालगञ्जस्थित यस क्षेत्रकै पुरानो महेन्द्र पुस्तकालय पुनर्जीवित हुन थालेको छ । करिब २५ वर्षपछि गत चैत २९ गते गठन गरिएको पुस्तकालयको तदर्थ समितिले काम थालनी गरेपछि महेन्द्र पुस्तकालयमा अहिले चहलपहल सुरु भएको छ ।      लामो समय कार्यसमितिविहीन भएपछि पुस्तकालयको हरहिसाब दुरुस्त राख्न, पुस्तकालयको सदस्यता सङ्ख्या बढाउन, पुस्तकालयको बाँकी बक्यौता असुल गर्ने, विधान संशोधन गर्नका लागि तदर्थ समिति गठन गरिएको पुस्तकालय व्यवस्थापन तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताउनुभयो ।     उहाँका अनुसार, समितिले असार मसान्तभित्र नयाँ कार्यसमिति गठन गर्ने जिम्मेवारी पाए पनि विविध कारणले तोकिएका समयमा आफ्नो काम गर्न नसकेपछि असार ३२ गते तदर्थ समितिलाई थप दुई महिनाको समय दिइएको छ ।     यही भदौ महिनाभित्र पुस्तकालयको निर्वाचन गराउन तदर्थ समिति सक्षम रहेको तदर्थ समितिका अध्यक्ष यादवले बताउनुभयो । पुस्तकालयको ७५ वर्ष पुगेका अवसरमा भदौ ३ गते हीरक उत्सव मनाउने र त्यसलगत्तै निर्वाचन गर्ने तयारीका साथ काम भइरहेको उहाँको भनाइ छ ।      हीरक उत्सवलाई व्यवस्थितरूपमा भव्य बनाउन विभिन्न उपसमिति बनाएर काम अघि बढाइएको छ । हीरक उत्सवका लागि आर्थिक समिति, सभा सञ्चालन समिति, प्रचारप्रसार समिति निर्माण गरिएको छ । पुस्तकालयले हीरक उत्सवका अवसरमा महेन्द्र पुस्तकालयलाई योगदान दिएका, साहित्यकार, समाजसेवी लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको तदर्थ समितिका सचिव सुदीप भट्टराईले जानकारी दिनुभयो ।      उहाँका अनुसार, उत्सवका अवसरमा नेपालगञ्जमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता पनि सञ्चालन गरिने भएको छ । नेपालगञ्जभित्र रहेका विद्यालयमा महेन्द्र पुस्तकालयको प्रचारप्रसार गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिने लागिएको हो । त्यसैगरी उत्सवका अवसरमा नेपालभरिका कविलाई आमन्त्रण गरी बहुभाषी कवि गोष्ठी आयोजना गरिने भएको छ ।

  कर्णाली  ः   ट्र्याक खुलेको झण्डै तीन दशकपछि पश्चिम सुर्खेतको बड्डीचौर-विद्यापुर–बेनीघाट सडक खण्ड कालोपत्र हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने उक्त खण्ड प्रदेश सरकारको लगानीमा स्तरोन्नति गर्न लागिएको हो ।    यो पश्चिम सुर्खेतको मुख्य सडकमा पर्दछ । वर्षौंसम्म सडक स्तरोन्नति नहुँदा पश्चिम सुर्खेतका बासिन्दाले सास्ती भोग्दै आएका थिए । विसं २०५१ सालमा उक्त सडक खण्डको ट्र्याक खोलिएको थियो । पूर्वाधार विकास निर्देशनालयले प्रदेश सरकारको रु ४२ करोड ४७ लाख ६१ हजार लागतमा बड्डीचौरदेखि खम्बागाडेसम्म १२ किमी सडक कालोपत्र गर्न लागिएको जनाएको छ ।   बड्डीचौरलाई शून्य विन्दु मानेर दुई वर्षअघि सडकको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० बनिसकेको थियो । पूर्वाधार विकास निर्देशनालयले कालोपत्रका लागि निर्माण कम्पनी एएनके जयदेवी जेभी बाँकेसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार २०८१ असार २४ गतेसम्म सडक कालोपत्रको काम सम्पन्न गर्नुपर्नेछ । यही साउन ४ गते सोही क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सडक स्तरोन्नति कार्यका शिलान्यास गर्नुभएको थियो । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्दछ ।      राजमार्ग आयोजनाले काममा ढिलासुस्ती गरेपछि उक्त खण्डमा पर्ने करिब १३ किमी सडक प्रदेश सरकारले स्तरोन्नति गर्न थालेको हो । मन्त्री बुढाक्षेत्रीले जीर्ण र कच्ची सडकका कारण यात्रुले सास्ती पाएको भन्दै तोकिएको समय अगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको थियो । निर्माण व्यवसायी दिक्पाल शाहीले ट्र्याक सुधार, नाली निर्माणलगायतका काम पूरा गरेपछि कालोपत्रको तयारी गर्ने बताउनुभयो । 

विराटनगर  :    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ ।   समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अवैधानिकरूपमा विदेशमा काम गर्न गएका र त्यही मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन विभिन्न कानुनी झन्झट रहेको बताउनुभयो । उहाँले आफूले ती झन्झटको समाधान गर्न पहल गर्ने विश्वास दिलाउनुभयो ।     विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताउनुभयो । धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र भएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले नयाँ गृहकार्य अघि बढाइरहेको उहाँको भनाइ थियो ।

रुपन्देही  ः   बुटवल उपमहानगरपालिका- ३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धरै दिनभयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उहाँ रातभर निदाउन सक्नुहुन्न । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जानुुहुन्छ ।    गतवर्ष चार कोठा पहिरोले पुरिएकोे उहाँको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरोको लेदो पसेको थियो । घरको पछाडिबाट ढुङ्गा माटोसहितको पहिरो भित्र पसेपछि उहाँहरुले एउटै कोठामा खाने र बस्ने गर्दै आउनुभएको छ । “आकाश गर्जिन थाल्यो भने मन नै सिरिङ्ग हुन्छ,  दिउँसोमा त बरु देखिन्छ तर राति पहिरो आयो भने गुहारसम्म पनि नपाइ मरिन्छ की भन्ने लाग्छ”, विटालु दुःखेसो पोख्नुहुन्छ । तेह्र जनाको उहाँको परिवारमा छोराबुहारी अलग्गै बस्छन् । घरअगाडि सानो ट्याङ्कीको पसल गरेर गुजारा गर्दै आउनुभएका विटालु पहिरोका कारण व्यापार पनि नभएको गुनासो गर्नुहुन्छ ।      यो क्षेत्रमा ४१ वर्षदेखि बसोबास गर्दै आएका उहाँका  परिवारले गतवर्ष पहिरो घरभित्रै पस्दा पनि अहिलेसम्म कुनै राहत तथा सहयोग भने पाएका छैनन् । स्थानीय तहको  निर्वाचनमा हामीले पहिरोबाट बचाउँछौँ भनी राजनीतिक दलका प्रतिनिधि घरदैलोमा भोट माग्न पुगे तर कुनै सहयोग वा पहिरो नियन्त्रणका लागि पहल नगरेको विटालुकी श्रीमती उजेली गुनासो गर्नुहुन्छ । “पानी पर्ने वित्तिकै माटोको लेदोसहितको खोलो बग्न थाल्छ, हामी घर बाहिर रुझेर बस्छौँ । यसरी कति दिन चल्छ । त्यसैले सरकारले हामीलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउनुपर्छ”, उजेली भन्नुहुन्छ । बुटवल- ३ कै सतीकुमारी श्रेष्ठ पनि आकाश गजिर्ने बित्तिकै घर छाडेर हिँड्नुहुन्छ । चुरेको पहिरोका कारण घर जोखिममा रहेकाले पहिरोले पुरिने डरले उहाँ राति घरमा सुत्न सक्नुहुन्न । गत वर्षको पहिराले घरको भूइँतला पुरेपछि लामो समय सरसफाइमै  श्रेष्ठले  बिताउनु परेकोे थियो ।      “गतवर्षको पहिरो बल्लबल्ल सफा गरेँ अहिले पनि पानी पर्ने वित्तिकै घरभित्र लेदोसहितको माटो पस्छ, राति थाहै नपाइँ मरिन्छ की भन्ने डरले अरुको घरमा गएर बस्छु” उहाँ गुनासो गर्नुहन्छ । श्रीमान् र छोराको निधनपछि घरमा एक्लै बस्दै आउनुभएकी श्रेष्ठको सहारा कोही छैन । सरकारले पनि अहिलेसम्म कुनै सहयोग नगरेको उहाँको भनाइ छ ।  “पहिरोका कारण पोहोरदेखि घरमै बस्न नसक्ने अवस्था भइसक्यो तर कसैले केही गर्दैन, कसैले हेर्दैन”, उहाँ आफ्नो बेदाना सुनाउनुहुन्छ ।   अहिले पनि पानी पर्ने वित्तिकै उपमहानगरको-वडा नं ३ र ४ मा पर्ने चुरे क्षेत्रमा लेदो सहितको माटो र पानी बग्न थाल्दा यहाँका बासिन्दा घर छोडेर हिँडन बाध्य हुन्छन् । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी दायाँबायाँका बासिन्दा पनि  चुरे क्षेत्रबाट पहिरो जान थालेपछि अतालिन्छन् ।    गत वर्षदेखि पानी पर्ने वित्तिकै घर छोडेर हिँड्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ । खासगरी  बुटवलको लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रका बासिन्दा चुरेको पहिरोबाट पीडित छन् । अहिले वर्षा सुरु भएसँगै ती क्षेत्रका बासिन्दा रातिम् घर छाड्न बाध्य छन् । वडा नं ३ का केशवराज पन्थीका अनुसार चुरे पहिरोको जोखिमका कारण यो क्षेत्रका बासिन्दाले अन्यत्रै कोठा भाडामा लिएका छन् । पानी पर्ने वित्तिकै यो क्षेत्र छोडेर भाडाको कोठामा बस्न जाने गरेको उहाँको भनाइ छ ।     असारको पहिलो हप्ता परेको वर्षापछि आएको चुरोको पहिरो केही स्थानीयवासीको घरमा पस्यो । पहिरोबाट बगेर र आएको लेदोसहितको पानी घरघरमा पसेपछि उनीहरुले घर छोडेर हिँडेका थिए । गतवर्ष पहिरोका कारण करिब दुई दर्जन दर्जन स्थानीयवासीका घरमा क्षति पुगेपछि विज्ञको टोलीले चुरे पहिरोको अध्ययन ग¥यो ।उक्त टोलीले अध्ययनमा पानीको अव्यवस्थित सतही बहाब नै बुटवल पहिरोको मुख्य कारण हो भन्ने ठहर ग¥यो  ।  यहाँको पहिरोलाई रोकथाम गर्ने पहिलो उपाय सतही र भूमिगत पानीको सही व्यवस्थापन भएको निष्कर्ष निकालेर उक्त टोलीले राष्ट्रपति चुरे तराई-मधेश संरक्षण कार्यक्रम कार्यान्वय इकाइ कार्यालयलाई प्रतिवेदन बुझायो  । पहिरो नियन्त्रणका लागि श्रवनडाँडा (पहिरो गएको डाँडो) को मध्यभागमा रहेका मूलबाट बगेको पानीलाई पाइपमार्फत एकैठाउँ जम्मा गरेर पुराना वा नयाँ नालीमा मिसाउनु उपयुक्त हुने राय विज्ञले दिए पनि  विगत एक वर्षमा भएका अनुगमन, वृक्षरोपण र सामान्य पर्खाल लगाउने कामले मात्र पहिरो नियन्त्रण हुने स्थिति बनेन  ।     गत भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिरोका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो । विज्ञ टोलीले दिएको सुझावका आधारमा ती दुबै स्थानमा वृक्षरोपण गर्ने, तारजाली लगाउने र पर्खाल लगाउने काम गरिएको राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय इकाइ कार्यालयका सूचना अधिकारी निर्मल थापा बताउनुहुन्छ । “हामीले गत आर्थिक वर्षमा रु दुई करोड ३५ लाख खर्चेर  काम गरेका छौँ तर प्राकृतिक प्रकोपसँग कस्को कसैको केही लागेन ” ।     गतवर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको थियो । “जुनसुकै समयमा खस्ने गरी ढुङ्गा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र निकै जोखिममा रहनाका साथै  गत वर्षको पहिराले बस्ती वरपर  ढुङ्गा माटोसहितको पहिरोको अवशेष  लथालिङ्ग अवस्थामा छ, अहिले त झन पहिराले  बाँच्न दिँदैन की जस्तो लाग्छ”, स्थानीय तुलसा सुवेदी भन्नुहुन्छ ।      पहिरो नियन्त्रणका लागि गतवर्ष स्थानीय तहले केही पहल गरे पनि सङ्घीय र प्रदेश सरकारको खासै चासो नरहेको स्थानीयवासीको गुनासो छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे पहिरो पीडित क्षेत्र अनुगमनका लागि गए पनि ठोस् कदम चाल्न नसकेको तुलसा बताउनुहुन्छ । “अनुगमनले मात्रै केही हुँदैन, पहिरो नियन्त्रणका लागि ठोस् योजना ल्याउनुपर्छ”सुवेदी भन्नुहुन्छ । वर्षभर नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकाले यो वर्ष पनि सोही समस्या झेल्नुपर्ने अवस्था आएको चुरे-तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउनुहुन्छ ।     अझैपनि चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने होे बुटवलमा ठूलो क्षति हुने खतरा रहेको उहाँको भनाइ छ ।संयोजक गौतमका अनुसार यसअघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा रु दुई करोड ३० लाख र  बुटवल उपमहानगरपालिकाका तत्कालीन प्रमुख शिवराज सुवेदीको पहलमा रु एक करोड १५ लाख स्थानीय युवा परिचालन गरी पहिरो नियन्त्रणका लागि खर्चिए पनि पहिराको खतरा टरेको छैन ।      अघिल्लो महिना मात्रै स्थानीय युवाको सक्रियतामा चुरे क्षेत्रबाट ज्योतिनगरतर्फ सोझिएको पानीको मूल स्काभेटर लगाएर चिडियाखोलातर्फ सोझ्याउने काम भएको थियो । “वडा नं ३ को सीरान  बाँसघारीमा १९ फिट जमिन भासिएकाले  स्थानीय युवाले क्षति हुन नदिन स्काभेटरले माटो फालेर बगेको पानीलाई चिडियाखोलातर्फ सोझ्याइदिए । यसका लागि उपमहानगरले डिजेल सहयोग गरेको थियो”,  उहाँ उल्लेख गर्नुहुन्छ ।     विज्ञका प्रतिवेदनअनुसार ज्योतिनगरको पहिरो पीडित क्षेत्र पहिल्यै पहिचान भएको जोखिम क्षेत्र हो । विसं तीर तत्कालीन राजा वीरेन्द्रले चुरे पहाड संरक्षणका लागि कार्यक्रम ल्याउन निर्देशन भएपछि भूताहा, चिसापानी, माकर तथा चिडियाखोला गाउँ पूरै बस्ती स्थानान्तरण गरिएको थियो । यो स्थानान्तरण गर्दा तामनगर र बर्दघाट क्षेत्रमा स्थानीयवासीलाई जग्गा  उपलब्ध गराइएको थियो ।     सरकारले नयाँ ठाउँमा जग्गा उपलब्ध गराउँदा पुरानो ठाउँको जग्गा सरकारीकरण गरिएन र जोखिम क्षेत्रको जग्गा पनि स्थानीयवासीको नाममा नै रह्यो । बुटवलको सहरीकरण तथा आकर्षण बढेसँगै यो ठाउँको पहिरोलाई स्थानीयवासीले पनि बिर्सिए । जोखिम हुँदाहुँदै पनि यहाँको जग्गा पनि किनबेच भयो र  बिस्तारै बस्ती पनि बस्यो  ।  विभिन्न जिल्लाबाट बसाइसराइ गरी आएकाका घर पहिरोमा पुरिए । विसं २०५५को पहिरोमा २१ घर पुरिएका थिए भने ५७ घरमा असर परेको थियो यो क्रम गत वर्ष पनि दोहोरियो । गतवर्ष करिब डेढदर्जन घर पुरिए । ज्योतिनगरका धेरै घरमा ढुङ्गा माटोसहितको लेदो पस्यो ।   यो क्षेत्रमा २०५५ को पहिरोपछि जाइका समूहले सो सर्भेक्षण गरेको थियो । भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै ठूला रुखले जोखिम निम्त्याउने हुँदा  कटान गर्न सुझाव दिइएको थियो तर त्यो काम अझै भएको छैन । चुरेको पहिरो नियन्त्रणका लागि प्रदेशको वन, वातावरण तथा भू-संरक्षण मन्त्रालयले बृक्षरोपण बाहेक कुनै काम गरेको छैन ।      गत असारको १४ गते बाँस र अम्रिसो रोप्ने काम गरिए पनि पूरा नभएकाले थप बिरुवा रोप्न समय लाग्ने मन्त्रालयका सूचना अधिकारी नारायणदेव भट्टराई बताउनुहुन्छ । पहिरो नियन्त्रणका लागि बाँसको बिरुवा काटेर राइजोन रोप्ने र ब्याम्बो वाल्टरिङ अर्थात बाँसको कप्टेराको जाली बनाएर लगाउने तयारी गरिएको उहाँको भनाइ छ ।     “यो वर्ष यहाँको चुरो पहिरो नियन्त्रणका लागि रु २५ लाख  विनियोजन भएको छ । प्राविधिकको सल्लाह अनुसार काम गर्छौँ”, सूचना अधिकारी भट्टराई भन्नुहुन्छ, “वन मन्त्रालय भएकाले हाम्रो मुख्य काम वृक्षरोपण गर्ने हो । अहिले बाँस र अम्रिसो रोपेका छौँ ।” ज्योतिनगर क्षेत्रमा पानी पर्ने वित्तिकै पहिरो जान सुरु हुने भएकाले तत्काल पहिरो नियन्त्रण तथा व्यवस्थापनकै लागि वन मन्त्रालय, राष्ट्रपति चुरे संरक्षण कार्यालय र बुटवल उपमहानगरबिचको समन्वयमा काम गर्नुपर्ने हो तर त्यसो हुन नसकेको उहाँ बताउनुहुन्छ  ।      “आवश्यकता अनुसार तार जाली भरेर खोलाको पानी बस्तीमा आउन नदिने गरी स्थानीयवासीको सहयोगमा काम गरेका छौँ । थप कामका लागि बैठक बसेर निर्णय गर्छौँ”, बुटवल उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक मित्रमणि खनाल भन्नुहुन्छ । पहिरो नियन्त्रणका लागि यो वर्ष गृह मन्त्रालयले रु ४५ लाख विनियोजन गरेकाले प्राविधिकको सुझावका आधारमा पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम अघि बढाउने उहाँ बताउनुहुन्छ । “धेरै पानी नपरेकाले पहिरो रोकिन्छ की भन्ने लाग्छ”, संयोजक खनाल भन्नुहुन्छ ।