काठमाडौं:   गर्मीयामको सुरुआत भएसँगै नेपालमा किटजन्य रोगहरूको जोखिम बढ्नसक्ने भएकाले विज्ञले सचेतना अपनाउन आग्रह गर्नुभएको छ ।      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता डा प्रकाश बुढ...

तानसेन:  पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउने अभियान सुरु भएको छ ।   लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बढ्दो मातृशिशु मृत्युदर घटाउन पाल्पाबाट अभियान सुरु गरेको हो ।   जिल्लामा जनचेतना अभाव, कमजोर आर्थिक अवस्थाका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेकाले यसलाई घटाउन मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्ने अभियान सुरु गरिएको छ ।   प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई दोहोरो अङ्क हुँदै एकल अङ्कमा झार्ने गरी योजना बनाइएको जनाएको छ ।   लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले तानसेनबाट अभियान शुभारम्भ गरेका छन् ।   मन्त्री सारुले जटिल अवस्थाका गर्भावस्था (गर्भदेखि सुत्केरी भएको ४२ दिनसम्म), दुई वर्षमुनिका बालबालिकाको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन यो कार्यक्रम सुरु गरिएको बताए ।   उनले भने, “जिल्लाको मातृ तथा बालमृत्युदर अत्यन्तै कमजोर भएकाले परिवार स्वास्थ्य विवरण तयार गर्न लागेका हौँ, यहाँ २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेको सङ्ख्यासमेत उच्च रहेकाले किशोरकिशोरीलाई समेत यो अभियानमा संलग्न गर्ने छौँ ।”   अभियानमा पारिवारिक विवरण सङ्कलन गर्न ६५ हजार घरपरिवारमा स्वास्थ्यकर्मी पुग्ने छन् ।   नियमित रूपमा सेवाको उपभोगका लागि सेवाग्राही र सेवा प्रदायकको मोबाइलमा सन्देश पठाई सेवाको उपभोग र पहुँचमा अभिवृिद्ध गरिने छ ।   अभियानका लागि पाल्पामा रु ३९ लाख बजेट विनियोजन गरिएको छ ।   प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न पाल्पासहित बाँके र अर्घाखाँचीमा पनि यो अभियान सञ्चालन गर्दै छ । जसका लागि अर्घाखाँचीका ४८ हजार र बाँकेका ९४ हजार घरपरिवारमा स्वास्थ्यकर्मी पुग्ने छन् ।   महिला बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको विभिन्न समयका सर्वेक्षण तथा अध्ययनले देखाएको छ ।   कमजोर स्वास्थ्य सुचकाङ्क भएका बाँके, अर्घाखाँची र पाल्पाका गर्भवतीदेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत जटिल अवस्थाका गर्भवतीदेखि खोपबाट वञ्चित बालबालिका र पोषण वृद्धि अवस्थाको अनुगमन गरी नियमित सेवामा ल्याउनका लागि हरेक घरपरिवार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।   राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कानुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको छ ।   जुन नेपालको तथ्याङ्क हो । नेपालमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा मातृमृत्यु हुने प्रदेशमा देखिएको छ ।   स्वाथ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्कानुसार प्रदेशमा एक लाख जीवित जन्ममा दुई सय सात जना आमाले ज्यान गुमाउने गरेको छ । जुन सबैभन्दा बढी लुम्बिनी प्रदेशमा आमाको ज्यान जाने अवस्था रहेको छ ।

मुस्ताङ:   उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ ।    संघीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो।   उपल्लो मुस्ताङका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने गरी आर्थिक वर्ष २०७८/७९ मा पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो ।     सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण चल्दै गर्दा कोरोना माहामारी र प्रतिकूल मौसमलगायतका कारण तोकिएको समय सम्पन्न हुन सकेको थिएन ।   ठेक्का सम्झौताअनुसार उक्त भवन आव २०८०/८१ जेठमा सकिनुपर्ने थियो।   लोमान्थाङ–५ लोमान्थाङ बजार नजिक २७ कोठे भवन निर्माण गरिएको हो ।     उक्त भवन सात करोड १९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जानकारी दिए। विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने उद्देश्यले शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवास निर्माण गरिएको उनले जानकारी दिए।   लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुविधा पु¥याउन भवन निर्माण गरिएको बताए। भवन बनेपनि सेवा सञ्चालन गर्न उपकरण र जनशक्ति अभाव भएको उनको भनाइ छ ।   'सेवा सञ्चालन गर्न संघीय तथा प्रदेश सरकारको सहयोगको आवश्यकता छ,' उनले भने।

काठमाडौं: भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित  २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।  सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताउनुभयो ।  सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई  लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ ।  सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । सङ्घद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।  सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छभने ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी कार्यकारी निर्देशक मिश्रले दिनुभयो ।

गोरखा: गोरखामा आठ महिनाको अवधिमा जिल्लाभर एक सय ३३ जनामा क्षयरोग पहिचान गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा यहाँका एघारवटै पालिकामा सो परिमाणमा क्षयरोगका बिरामी फेला परेका हुन् ।       प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काका अनुसार ७८ पुरुष र ५५ महिलामा क्षयरोग सङ्क्रमण पुष्टी भएको हो ।  बारपाक सुलिकोट गाउँपालिकामा सवैभन्दा बढी २६ जनामा क्षयरोग सङ्क्रमण भएको छ । भीमसेनथापा गाउँपालिकामा २५, गोरखा नगरपालिकामा २१  तथा पालुङटार नगरपालिकामा १९ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको छ ।       यस्तै आरुघाट गाउँपालिकामा १४, सहिद लखन गाउँपालिकामा ९, अजिरकोट गाउँपालिकामा ५, धार्चे गाउँपालिकामा ५, सिरानचोक गाउँपालिकामा ४, गण्डकी गाउँपालिकामा ३ र चुमनुब्री गाउँपालिकामा दुई जनामा क्षयरोग देखिएको सूचना अधिकारी खड्काले बताउनुभयो ।       गत आर्थिक वर्षमा जिल्लामा २३२ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको थियो । 

काठमाडौं:    आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।       दिवसको यस वर्षको नारा  ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।       राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ ।       केन्द्रका निर्देशक डा। श्रीराम तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा क्षयरोग ९टीबी० विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा रहिआएको उल्लेख छ ।  सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२९ रहेको थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ ।  जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो ।       सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो । त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए । पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए । उपचारका लागि दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी थिए । त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ ।       अनुमानित क्षयरोग प्रभावित व्यक्ति र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिको सङ्ख्यामा ठूलो अन्तर छ । करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन ।  पर्याप्त स्रोतको अभाव ‘राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय क्षयरोग रणनीतिक योजना २०२१÷२२ देखि २०२५÷२६’ का अनुसार पाँच वर्षको लागि क्षयरोग कार्यक्रमको बजेट एक सय ९२ मिलियन अमेरिकी डलर रहेकोमा एक सय १० मिलियन मात्र ९अनुमानित० उपलब्ध छ । त्यो भनेको ४३ प्रतिशत बजेट अभाव हुनु हो ।        क्षयरोगको कारणबाट रोगीको परिवारमा अधिक आर्थिक व्ययभार परेको छ । राष्ट्रिय क्षयरोग बिरामी लगत सर्वेक्षण–२०२४ का अनुसार नेपालमा ५१ प्रतिशत क्षयरोग प्रभावित व्यक्ति तथा उनीहरूको परिवारलाई यस रोगको कारणबाट अधिक आर्थिक व्यय भार परेको छ ।       रोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य हुन नसक्दा थप प्रगति हासिल हुन नसकेको केन्द्रले स्पष्ट पारेको छ । रोगको अन्त्यका लागि स्वास्थ्य क्षेत्रसहित, स्वास्थ्य बाहेकका अन्य क्षेत्रहरू जस्तैः शिक्षा, श्रम तथा रोजगार, सामाजिक सुरक्षण लगायत अन्यको पनि महत्त्वपूर्ण योगदान रहनु आवश्यक छ । यसका साथै नीजि क्षेत्र र समुदायको संलग्नता पनि उत्तिकै महत्त्वपूर्ण छ ।       चुनौतीलाई समाधान गर्न केन्द्रले निरन्तर आफ्ना प्रयासलाई परिस्कृत गर्दै लगेको जनाएको छ । नेपालभर क्षयरोग उपचारका सेवा छ हजार २४१ स्वास्थ्य संस्था र निदानका सेवा ८०० स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् ।       रोगको द्रूत परीक्षण सेवाको पहुँच ६७ जिल्लाका ११७ स्वास्थ्य संस्थामा पुगेको छ । यो परीक्षणबाट क्षयरोग प्रभावित व्यक्तिको औषधि प्रतिरोधको अवस्था थाहा पाउन सकिन्छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सेवा २९ वटा उपचार केन्द्र र ९८ उपचार उप– केन्द्रबाट प्रदान गरिँदै आएको केन्द्रले जनाएको छ । औषधि प्रतिरोधी बिरामीको लागि इन्जेक्सनरहित छोटो अवधिको, छ महिने उपचार ‘रेजिमेन’ उपलब्ध गराएको छ ।       मुलुकको सङ्घीय संरचनालाई ध्यानमा राखी नेपालले नवीनतम् प्रयासको रुपमा स्थानीय तहको नेतृत्व, उत्तरदायित्व र अपनत्व विकास गरी क्षयरोग अन्त्यका लागि भएका प्रयासलाई दिगो रुपमा गति दिनको लागि क्षयरोग मुक्त नेपाल अभियान १४९ स्थानीय तहमा विस्तार गरिएको छ । एआई जडित डिजिटल एक्सरे मेसिनद्वारा समुदायमा क्षयरोग बिरामीको सक्रिय खोजपड्ताल सुुरुआत भएको छ ।       राष्ट्रिय क्षयरोग छैटौँ औषधि प्रतिरोध सर्वेक्षण र पहिलो क्षयरोग बिरामी लगत सर्वेक्षण जस्ता महत्त्वपूर्ण अध्ययनसम्पन्न भएको छ । प्रत्येक वर्ष क्षयरोग रोकथाम, निदान, र उपचारसम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । यी प्रयास प्रभावकारी भएपनि, क्षयरोग अन्त्यका लक्ष्य प्राप्तिका लागि सुधार गर्न धेरै  बाँकी रहेको केन्द्रले जनाएको छ ।       आगामी दिनमा क्षयरोग प्रभावित व्यक्तिको पहिचानमा वृद्धि गर्ने, आवश्यक स्रोत तथा साधन जुटाउन तथा परिचालनको लागि स्थानीयतहलाई नेतृत्वदायी भूमिका प्रदान, एकीकृत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यसैगरी स्वास्थ्य प्रणालीलाई सुदृढ गरी गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्नुका साथै निजी क्षेत्रको संलग्नतालाई सुदृढीकरण गर्ने र क्षयरोग प्रभावित व्यक्तिलाई सामाजिक सुरक्षण प्रदान गर्न आवश्यक  समन्वय तथा सहकार्य बढाउन विशेष प्राथमिकता निर्धारण गरिएको छ ।       सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ केन्द्र अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ । हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको डरलाग्दो तथ्याङ्क छ ।       तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको छ ।       रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने जनाइएको छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुने चिकित्सकहरुको भनाइ छ । 

बैतडी:  मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यहाँका अस्पताल, स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताएका छन् ।  सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका अस्पातालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक एक सय ५० जनाभन्दा बढी बिरामी आउने गरेकामा ५०–८० जनासम्म भाइरल ज्वरोका रहेका छन् ।  सूचना अधिकारी पन्तले भन्नुभयो, “अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो देखिन थालेको छ । मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेका हुनसक्छ । यो मौसममा हावाहुरी, धुलोधुवाले गर्दा पनि सङ्क्रमण बढ्छ ।” उहाँका अनुसार जिल्लाको तल्लोसोराड क्षेत्रस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरल ज्वरोका बिरामी बढेका छन् ।   जिल्लाका अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने भाइरल ज्वरोका बिरामीको चाप बढ्न थालेको बताउँदै श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले मौसम परिवर्तनले गर्दा गाउँघरमा भाइरल सङ्क्रमणका बिरामी बढेका उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अन्य बेलाको तुलनामा आजभोलि भाइरल ज्वरोका बिरामी बढेका छन् । स्वास्थ्यचौकीमा दैनिक २० जनाभन्दा बढी बिरामी ज्वरोका हुने गर्दछन् ।” मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खान र प्रदूषित पानीले भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा सुशील विकले बताउनुभयो । ज्वरो आएमा अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।   ज्वरो आएमा आफूखुसी मेडिकलबाट औषधि किनेर नखान स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । ज्वरो आउने वित्तिकै मेडिकलबाट औषधि किनेर खाने प्रवृति रहेकाले त्यसो नगरी स्थ्यकर्मीसँग जाँच गराएर मात्रै औषधि प्रयोग गर्न डा विकले आग्रह गर्नुभयो ।  जथाभावी औषधिको प्रयोग गर्दा स्वास्थ्यमा अन्य समस्या पनि निम्तिन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै सेवन गर्नुपर्ने, भाइरल ज्वरोसहित रुघा, खोकीलगायत सङ्क्रमणबाट बच्न शुद्धीकरण गरिएको पानी प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

गोरखा:  गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय २५ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । नेपाली सेना रिपुमर्दन गण र सहिद लखन गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, छालासम्बन्धी रोग, पाठेघरको मुखको क्यान्सर परीक्षणलगायत उपचार सेवा प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  शिविरमा तीन सय ५८ जना महिला र एक सय ६७ जना पुरुषले स्वास्थ्य जाँच गराएको उहाँको भनाइ छ । उपचार सेवा लिएकामध्ये ४१ जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्व पहिचानका लागि पाठेघरको क्यान्सर स्क्रिनिङ (भिआइए) परीक्षण गराइएको थियो । भिआइए परीक्षण गराइएकामध्ये चार जनामा भने क्यान्सरको जोखिम भएको पाइएको प्रमुख श्रेष्ठको भनाइ छ । उनीहरूलाई पहिलो चरणमा थर्मोक्रोवुलेसन (सेकाइ) विधिबाट उपचार थालिएको र फलोअपको लागि व्यवस्था मिलाइएको छ । त्यस्तै शिविरमार्फत एक सय ४९ जनाले हाडजोर्नीसम्बन्धी उपचार सेवा लिए भने दुई सय ५४ जनाले अन्य विभिन्न रोगको जाँच गराएको उहाँले बताउनुभयो । शिविरमा १० जनाले दन्त उपचार, ९० जनाले स्त्रीरोगसम्बन्धी उपचार, २२ जनाले छाला रोगसम्बन्धी उपचार र ७३ जनाले प्रयोशालासेवा लिएका छन् । उपचार सेवा लिएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको प्रमुख श्रेष्ठले बताउनुभयो । ‘‘शिविरमा हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, जनरल ओपिडी परीक्षणदेखि लिएर निःशुल्क प्रयोगशाला सेवा प्रदान गरिएको हो, उहाँले भन्नुभयो, “गाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाएपछि बिरामी खुसी भएका छन् ।” सो क्रममा करिब रु तीन लाखभन्दा बढीको औषधि बिरामीलाई वितरण गरिएको छ । लायन्स क्लब अफ गोरखाकाली, प्रभु र सानिमा बैंकको सहयोगमा शुक्रबार र शनिबार शिविर सञ्चालन गरिएको हो ।

भक्तपुर: प्रदेशस्तरीय अस्पतालमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा शुक्रबार मन्त्री र स्वास्थ्य सचिवसहितको टोली अनुगमन गरेको छ ।       बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश स्वास्थ्य सचिव डा सुमित्रा गौतम, भक्तपुर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजङ्ग थापासहितको टोलीले अस्पतालको सेवा सञ्चालनका बारेमा छड्के अनुगमन गर्नुभएको हो ।      मन्त्री थापा मगरसहितको टोलीले अस्पतालका ल्याब, मेडिकल वार्ड, ओपिडी सेवा, फार्मेसी, भवन निर्माण स्थल, आईसियू, सिटी स्क्यान जडान कक्ष, विभिन्न विभागका सेवाहरुको अनुगमन गर्नुका साथै अस्पतालमा भर्ना भएका बिरामीसँग  भेट गरी अस्पतालको सेवा र सुविधाका बारेमा सोधपुछ गर्नुभएको थियो ।      अनुगमन पश्चात मन्त्री थापा मगरले राम्रा काम नगर्ने कर्मचारीलाई प्रदेश अन्तर्गतका १३ जिल्लाका कुनै पनि प्रादेशिक अस्पतालमा सरुवा गरिने चेतावनी दिनुभयो ।  उहाँले भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन जडान भएसँगै मेमोग्राम मेशिन सञ्चालन गर्ने, उच्चस्तरीय प्रविधिसहितको आँखा उपचार सेवा विस्तार गर्ने, १०० शय्यामाथिका अस्पताललाई नर्सिङ कक्षा सञ्चालन गर्न दिइने, मापदण्ड पुरा नगर्ने अस्पतालको दर्ता, नविकरण रोक्ने, हेटौँडा अस्पतालमा मुटु रोग र भक्तपुर अस्पतालमा न्यूरोको ओटी सवासमेत सञ्चालन गरिने जानकारी दिनुभयो  ।      स्वास्थ्य सचिव डा। गौतमले ३०० शय्याको सम्बन्धन पाएको भक्तपुर अस्पतालले पूर्ण शय्यामा सेवा सञ्चालन नगरे शय्या घटुवा गरिने र पाँच वर्षका लागि भनेर दिएपनि १३ वर्षदेखि सञ्चालित मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई भवन छाड्न पत्राचार गर्न निर्देशन दिनुभयो । उहाँले भक्तपुर अस्पताल क्षेत्रभित्र साझा आषधि पसल ल्याउन रोक लगाउनुपर्ने बताउनुभयो ।      प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले विगत दईवषदेखि देशकै उत्कृष्ट अस्पताल घोषित हुन सफल भक्तपुर अस्पतालको गुणस्तरीय सेवालाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।  अस्पताल विकास एवं व्यवस्थापन समितिका अध्यक्ष शशिजङ्ग थापाले अस्पतालले सञ्चालनमा ल्याउन लागको क्याबिनको सङ्ख्या चारबाट १० मा पु¥याउन मन्त्रालयलाई सहयोगको आग्रह गर्नुभयो ।  अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्र भट्टले अस्पतालमा दैनिक एक हजार देखि एक हजार १०० सम्म बिरामी सेवा लिन आउने गरेको जानकारी दिनुभयो ।

सोलखुम्बु: हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ ।  जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् ।  पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो ।   उहाँका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन् । “अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल सङ्क्रमणकै हुन् । जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक छ । अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ”, शेर्पाले भन्नुभयो । ओपिडीका बिरामीलाई पनि अक्सिजन  अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थाका छन् । डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ ।  “अस्पतालका सबै बेड भरिएका छन् । सुत्केरी कक्षका बेडमा समेत अन्य बिरामी राखेर उपचार गराइरहेका छौँ । यदि बिरामीको सङ्ख्या अझै बढे, हामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ”, डा रामबाबु जोशीले भन्नुभयो ।  भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका डा जोशीले बताउनुभयो ।  स्वास्थ्य कार्यालयका अधिकारीले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।  फाप्लु अस्पतालमा जनशक्ति तथा आवश्यक औषधिको अभावले थप समस्या निम्त्याएको छ । दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्, तर बिरामीको चाप अत्यधिक हुँदा उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका डा श्रेया पङ्गेनीका अनुसार भाइरल ज्वरो एकअर्काबाट सजिलै फैलिने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।  भवन सुविधासम्पन्न, जनशक्ति अभाव साना साँघुरा टहराबाट विगत ५४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवन तयार भएको छ ।  विविध कारणले वर्षौँदेखि बन्न नसकेको भवन सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले सरोकारवाला निकायमा पहल र समन्वय बढाएपछि भवन निर्माण भएको हो ।  जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निरौला र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले बुधबार संयुक्त रूपमा उद्घाटन गरेपछि लिफ्टसहितको अपाङ्गमैत्री नयाँ भवनबाट एकीकृत स्वास्थ्य सेवा सुरू हुने भएको छ । तर जनशक्ति भने अत्यन्त कम हुँदा उपचारमा समस्या भएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् ।   कोशी प्रदेश सरकारले यस अस्पताललाई १५ शय्याको मात्र स्वीकृति दिँदा सोहीअनुसार जनशक्ति रहेको अस्पतालका निमित्त प्रमुख शेर्पाले बताउनुभयो । जसका कारण अस्पताल विकास समितिले आधा दर्शनभन्दा बढी कर्मचारी करारमा राखेर सेवा सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ ।  हिमाली जिल्लाको अस्पताल भएकाले जनशक्ति कम रहे पनि बिरामीको चाप धेरै हुने भएकाले उपचारमा स्वास्थ्य उपकरण, औषधि तथा जनशक्तिको पनि अभाव झेल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।  अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको दरबन्दीअनुसार जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताउनुभयो ।  सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पूर्वाधारमा अब्बल रहेकाले सेवा प्रवाहमा चुस्त र स्तरीय बनाउन लाग्ने बताउनुभयो ।  सोलुदूधकुण्ड नगरपालिका–४ मा रहेको यस अस्पतालमा जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।  जिल्ला अस्पतालको सुविधासम्पन्न भवन सहरी विकास मन्त्रालयको रु २१ करोड २१ लाखको लागतमा निर्माण भएको ३० शय्याको अस्पताल भवन विसं २०७६ पुस २७ गतेदेखि निर्माण सुरु भई गत असार २५ गते निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरेको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिलारीले ५४ वर्षअघि स्थापना गर्नुभएको फाप्लु अस्पताल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।  हालै नवनिर्मित भवन सात रोपनीमा बनेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै सुविधासम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । सरकारले कर्मचारीको दरबन्दी घटाउँदा सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।