भक्तपुर:   सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।  शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. प...

काठमाडौं:   नियमित पानी परेकाले डेंगु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।  विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालले जानकारी दिनुभयो ।   डेंगुबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधी सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको पनि भुषालले जानकारी दिनुभयो ।   जल तथा मौसम विज्ञान विभागले यस वर्षको वर्षायाममा विगतका वर्षमाभन्दा बढी पानी पर्ने भनेपछि डेंगुको जोखिम झन बढ्ने महानगरले जनाएको छ । सहरी स्वास्थ्य प्रवर्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्र्मीले आ–आफ्नो टोलटोलमा पानी जमेको स्थानको सरसफाइसमेत गरिरहेका छन् । डेंगु रोग नियन्त्रण गर्नका लागि सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । महानगरका ३२ वटै वडामा रहेका सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।   डेंगु सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछन् । टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत जमेको दाग देखापर्नेलगायत लक्षण रहेको भुषालले जानकारी दिनुभयो । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्ने छ ।   डेंगुबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने, काम नलाग्ने र पानी भरिनसक्ने सामान जस्तै बोतल, टायर, प्लाष्टिकका वस्तु पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएको प्लेट राम्ररी सफा गर्नेलगायत उपाय अपनाउन महानगरको आग्रह छ ।

काठमाडौं:  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ ।  नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो चरणको औषधि नेपाल ल्याइएको उहाँको भनाइ छ । यसअघि मन्त्री पौडेलले त्यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको थियो ।  डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा मन्त्री पौडेलले औषधि अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको बाध्यता हटाउन लामो मेहनतपछि सफलता प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।  डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा औषधी नेपालको आवश्यकताअनुसार पाँच वर्षसम्म सहयोगस्वरुप उपलब्ध गराउने मन्त्री पौडेलले जानकारी दिनुभयो ।  “क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ”, मन्त्री पौडेलले भन्नुभयो, “राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।” हाल ३७ प्रकारका औषधि क्रमैसँग आउने भए पनि अन्य आवश्यक औषधिसमेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलको भनाइ छ ।  मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधी पठाउने व्यवस्था मिलाइएको बताउनुभयो । मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसङ्ग निकाल्दै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गनुभयो ।  मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा‍ भीम सापकोटाले पाँच वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधि प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिनुभयो ।  वन हर्ट वर्ल्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधि प्राप्त भएको उल्लेख गर्दै नेपालका लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।  स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र काठमाडौँस्थित वीर अस्पताललाई हस्तान्तरण गरिएको मन्त्रालयका प्रवक्ता डा‍ प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । 

कञ्चनपुर:   सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए । जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।  गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो । यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल–भारतमैत्री बसहरु लागि सञ्चालनमा छन् । परीक्षण कीट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन ।  त्रिनगर नाकामा कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांश भारतको दिल्लीबाट घर फर्किएका व्यक्ति थिए । यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरु बताउँछन् । विभागले २०० कीट पठाएसँगै प्रदेशमा अहिले ३७० कीट मात्रै उपलब्ध रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  कञ्चनपुरको गड्डाचौकी नाकामा १०० कीट मङ्गलबार उपलब्ध भएपछि परीक्षण सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले मङ्गलबारदेखि नाकामा परीक्षण सुरु गरिएको बताउनुभयो ।  “हामीसँग १०० कीट मात्रै आएको छ यो पर्याप्त होइन”, उहाँले भन्नुभयो, “अहिले नाकामा लक्षण देखिएकाहरुको मात्रै परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ ।” उहाँका अनुसार मङ्गलबार गड्डाचौकी नाकामा सात जनाको परीक्षण गरिएको थियो ।  स्वास्थ्यकर्मीहरुले हेल्थ डेस्कमा भारतबाट फर्किएकाहरुको स्वास्थ्य अवस्था र लक्षणका बारेमा सोधपुछ तथा मलेरिया, डेङ्गीलगायतका अन्य परीक्षण र परामर्श गर्ने गरेका छन् ।  “आउने आप्रवासीहरुलाई कडाइ त गरेका छौँ तर कीटको अभावले परीक्षण गर्न सकिएको छैन”, गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टले भन्नुभयो, “शंकास्पद देखिएकालाई एक हप्ता घर परिवारका सदस्यबाट टाढा बस्न सम्झाइबुझाइ पठाउने गरेका छौँ ।”   विगतका वर्षहरुमा समयमा नाकामा कडाइ गर्न नसक्दा सङ्क्रमण फैलिएकाले सरकारले नाकामा कडाइ गर्नुपर्ने स्थानीय बताउँछन् । “गड्डाचौकी नाकाबाट आउनेहरुको कोभिड परीक्षण हुन सकेको छैन”, स्थानीय पदम थापाले भन्नुभयो, “नाकाबाट फर्किनेहरु स्वाथ्य परीक्षणका लागि हेल्थ डेस्कमा जाँदैनन् सुरक्षाकर्मीले रोकेको देखिदैन ।”  उहाँले भारतबाट आउने जीप, कार र बसहरु नाकामा नरोकी सिधैँ नेपाल प्रवेश गर्ने गरेको उल्लेख गर्दै प्रशासनले नाकामा रोकेर हेल्थ डेस्कमा जाँच गराउनुपर्ने बताउनुभयो । कोरोना महामारीपछि सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएका छन् ।

चितवन:  विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा  औषधी पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुई वटा फार्मेसी सञ्चालन हुँदै आएको थियो ।  बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ  ।  अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार अस्पतालको डे केयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डे केयर’मा आउने गर्दछन् । डे केयरमा आउने बिरामीलाई औषधी किन्न असहज भएपछि शाखा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।  उहाँका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बिमामार्फत् र नगदमा औषधी खरिद गर्ने व्यवस्था गरिएको छ,भने अन्तरङ्ग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ ।  डेकेयर फर्मेसीबाट विपन्नमार्फत् र नगदमा औषधी खरिद गर्न सकिने छ ।  भर्ना नभइकन केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुला रहने उहाँले जानकारी दिनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बिरामीलाई औषधी किन्न पालो कुर्नुपर्ने  बाध्यतालाई न्यूनीकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताउनुभयो । छिट्टै शल्यक्रिया कक्ष  र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ । जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक(ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःनिर्माण गरिएको हो । अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो । अस्पतालका प्रवक्ता तथा सह प्राडा गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “लिङ्ग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैङ्गिक समुदायलाई धेरै राहत मिल्नेछ । यसले पारलैङ्गिक समुदायलाई आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्न एक महत्वपूर्ण उपाय हुनेछ ।” शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राडा जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता रहेको थियो । डा जयनमान श्रेष्ठकाअनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ यिक्लनिक’स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ ।

काठमाडौं:   छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् ।   गुजरातमा १३ जना संक्रमित निको भएका छन्।   उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। यो उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो।   यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ। कुल मृतक संख्या १२ पुगेको छ।   चार नयाँ भेरियन्ट फेला   भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् ।   यीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन्।   भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै डा. बहलले बताए अनुसार हाल अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ।

पोखरा  — नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा छुट दिने सम्झौता भएको छ।   अब कोषमा काम गर्ने कर्मचारी, सञ्चालक र उनीहरूका परिवारले पोलिक्लिनिकका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।   सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र रत्न पोलिक्लिनिकका प्रबन्ध निर्देशक प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गरे ।   सम्झौता अनुसार ल्याब टेस्ट, बेड चार्ज, फार्मेसी, अल्ट्रासाउण्ड, इसिजी (ECG) र एक्स–रे सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।   यस सम्झौताले कोषसँग जोडिएका कर्मचारी र परिवारका लागि स्वास्थ्य सेवा सजिलो र किफायती हुने अपेक्षा गरिएको छ। साथै, कोषले आफ्ना कर्मचारीको हितका लागि गर्दै आएका प्रयासमा यो सम्झौताले थप योगदान पुर्‍याउने विश्वास लिइएको छ।   सम्झौता हस्ताक्षर कार्यक्रममा दुबै संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

पोखरा:   युनाईटेड क्लबको आयोजनामा म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  धवलागिरी गाउँपालिका र पोखरा रानीपौवामा रहेको मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग र पोखरा १० राम बजारमा रहेको नरहरी पोलिक्लिनकको ब्यवस्थापनमा सम्पन्न शिविरमा ९ सय ५७ जनाले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा ३ सय २५ जनाले भिडियो एक्सरे, ४ सय जनाले इसिजीको सेवा लिएका थिएभने अन्यले स्वास्थ्य परिक्षण, परामर्श र निःशुल्क औषधी सम्बन्धी सेवा लिएका थिए । शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसुतिरोग, मुटु, छाती, पेट, हाडजोर्नी, नशा, बाल र छालारोग सम्बन्धी परिक्षण तथा सुगर र प्रेसरको परिक्षण गरिएको थियो । शिविरमा धवलागिरी गाउँपालिकाका ताकम, धारापानी, हिलापोखरी, शिवाङ, काफलडाँडा, मच्छिम, मुना, पलीयागाउँ, दर, मुदी, खिवाङ, खोरीया, लमसुङ, लुलाङ, गुर्जा लगायतका बासिन्दाहरुको सहभागीता रहेको थियो । शिविरमा चिकित्सकहरु एशोसिएट प्रोफेसर डा. सरोज पोखरेल, एशोसिएट प्रोफेसर डा. रोशन पंगेनी, डा. आनन्द भट्टराई, डा. नारायण ओझा, कल्याण बराल, रेखा गाहा, उज्वल शाह, प्रदीप सिग्देल, रेशम राना, उज्वल भण्डारी, सुमित शाह, सदिक्षा गुरुङ, आर्या भण्डारी, निज्ञा श्रेष्ठ, विनिता रानाभाट, अच्युत आचार्य, शोभाकर पाण्डे, प्राविधिक सहयोगीहरु नरहरि पनेरु, सन्दिप केसी, नर्सहरु सुस्मिता विश्वकर्मा, सलिना गुरुङ, नम्रता भट्टराई, अस्मिता विश्वकर्मा, शारदा गुरुङ, फार्मेसी तर्फ अमृत बस्नेत, सुजन राजभाट, निश्चल रानाभाट, दिल बहादुर क्षत्री, ल्याब टेक्निसियन समिता बिक संगै ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए । स्वास्थ्य शिविरको उद्घाटन गर्दै धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले पोखरामा रहेको युनाईटेड क्लबले आफ्नो गाउँपालिकामा आएर स्वास्थ्य शिविरको आयोजना गरि आफ्नो गाउँपालिका बासीलाई स्वास्थ्य सेवा प्रदान गरेकोमा आभार प्रकट गरे । धवलागिरी गाउँपालिकाको ग्रामीण भेगमा बसोवास गर्ने सेवाग्राहीलाई  स्वास्थ्य शिविरले ठूलो लाभ प्राप्त भएको बताउदै अध्यक्ष पुनले युनाईटेड क्लबको सामाजिक कामको प्रशंसा समेत ब्यक्त गरे । युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबे स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र धवलागिरी गाउँपालिकाको ताकम जस्ता विभिन्न ग्रामीण भेगमा वर्षेनी स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको बताए । स्वास्थ्य शिविरमात्र नभइ क्लबले आर्थिक अभावमा उपचार गराइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुगेरै आर्थिक सहयोग संगै विशेषगरी ग्रामीण बस्तीमा बसोबास गर्ने समुदायलाई लक्षित गरी युनाईटेड क्लबले स्वास्थ्य शिविरलाई निरन्तरता दिएको उनको भनाइ रहेको थियो । धवलागिरी गाउँपालिकाका कार्यकारी अधिकृत मोति प्रसाद अर्यालले युनाईटेड क्लबले आफ्नो उद्देश्य अनुरुप स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर धवलागिरी गाउँपालिकामा स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे । धवलागिरी गाउँपालिका वडा नं ७ का अध्यक्ष अशोक खत्रीले युनाईटेड क्लबले ताकममा आयोजना गरेको स्वास्थ्य शिविरले आफ्नो वडा भित्रका मात्र नभइ धवलागिरी गाउँपालिका भित्रका विभिन्न गाउका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको बताउदै क्लब प्रति अभार प्रकट गरे । सो अवसरमा वोल्दै मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष तथा ल्याप्रोस्कोपी सर्जन डा. आनन्द भट्टराईले युनाईटेड क्लब संगको सहकार्यमा विगतमा जस्तै यो पटक पनि धवलागिरी गाउँपालिकामा बृहत स्वास्थ्य शिविरको आयेजना गरिको बताए । ग्रामीण भेगमा अझैपनि स्वास्थ्य सेवाको पहँुच पुग्न नसकिरहदा स्वास्थ्य शिविर मार्फत रोगको पहिचान गराउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो । त्यस्तै मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका एशोसिएट प्रोफेसर डा. सरोज पोखरेलले ग्रामीण भेगमा हुने स्वास्थ्य शिविरले स्वास्थ्यको पहँचमा नपुगेकाहरुलाई थोरै भएपनि समेटिने भएकाले स्वास्थ्य शिविरले उल्लेख्य भुमिका खेल्ने बताए ।  युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले स्थापना कालदेखिनै विभिन्न ग्रामीण भेगहरुमा स्वास्थ्य शिविरको आयोजना गरी सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको र यो पटक म्याग्दीको ताकममा शिविरको आयोजना गरेको बताए । यस पटकको शिविरमा पनि विगतमा जस्तै उल्लेख्य सेवाग्राहीको सहभागीता रहेको र आफुहरुको कार्यक्रम सफल भएको बताए ।