काठमाडौं:   छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएक...

पोखरा  — नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा छुट दिने सम्झौता भएको छ।   अब कोषमा काम गर्ने कर्मचारी, सञ्चालक र उनीहरूका परिवारले पोलिक्लिनिकका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।   सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र रत्न पोलिक्लिनिकका प्रबन्ध निर्देशक प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गरे ।   सम्झौता अनुसार ल्याब टेस्ट, बेड चार्ज, फार्मेसी, अल्ट्रासाउण्ड, इसिजी (ECG) र एक्स–रे सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।   यस सम्झौताले कोषसँग जोडिएका कर्मचारी र परिवारका लागि स्वास्थ्य सेवा सजिलो र किफायती हुने अपेक्षा गरिएको छ। साथै, कोषले आफ्ना कर्मचारीको हितका लागि गर्दै आएका प्रयासमा यो सम्झौताले थप योगदान पुर्‍याउने विश्वास लिइएको छ।   सम्झौता हस्ताक्षर कार्यक्रममा दुबै संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

पोखरा:   युनाईटेड क्लबको आयोजनामा म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  धवलागिरी गाउँपालिका र पोखरा रानीपौवामा रहेको मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग र पोखरा १० राम बजारमा रहेको नरहरी पोलिक्लिनकको ब्यवस्थापनमा सम्पन्न शिविरमा ९ सय ५७ जनाले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा ३ सय २५ जनाले भिडियो एक्सरे, ४ सय जनाले इसिजीको सेवा लिएका थिएभने अन्यले स्वास्थ्य परिक्षण, परामर्श र निःशुल्क औषधी सम्बन्धी सेवा लिएका थिए । शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसुतिरोग, मुटु, छाती, पेट, हाडजोर्नी, नशा, बाल र छालारोग सम्बन्धी परिक्षण तथा सुगर र प्रेसरको परिक्षण गरिएको थियो । शिविरमा धवलागिरी गाउँपालिकाका ताकम, धारापानी, हिलापोखरी, शिवाङ, काफलडाँडा, मच्छिम, मुना, पलीयागाउँ, दर, मुदी, खिवाङ, खोरीया, लमसुङ, लुलाङ, गुर्जा लगायतका बासिन्दाहरुको सहभागीता रहेको थियो । शिविरमा चिकित्सकहरु एशोसिएट प्रोफेसर डा. सरोज पोखरेल, एशोसिएट प्रोफेसर डा. रोशन पंगेनी, डा. आनन्द भट्टराई, डा. नारायण ओझा, कल्याण बराल, रेखा गाहा, उज्वल शाह, प्रदीप सिग्देल, रेशम राना, उज्वल भण्डारी, सुमित शाह, सदिक्षा गुरुङ, आर्या भण्डारी, निज्ञा श्रेष्ठ, विनिता रानाभाट, अच्युत आचार्य, शोभाकर पाण्डे, प्राविधिक सहयोगीहरु नरहरि पनेरु, सन्दिप केसी, नर्सहरु सुस्मिता विश्वकर्मा, सलिना गुरुङ, नम्रता भट्टराई, अस्मिता विश्वकर्मा, शारदा गुरुङ, फार्मेसी तर्फ अमृत बस्नेत, सुजन राजभाट, निश्चल रानाभाट, दिल बहादुर क्षत्री, ल्याब टेक्निसियन समिता बिक संगै ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए । स्वास्थ्य शिविरको उद्घाटन गर्दै धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले पोखरामा रहेको युनाईटेड क्लबले आफ्नो गाउँपालिकामा आएर स्वास्थ्य शिविरको आयोजना गरि आफ्नो गाउँपालिका बासीलाई स्वास्थ्य सेवा प्रदान गरेकोमा आभार प्रकट गरे । धवलागिरी गाउँपालिकाको ग्रामीण भेगमा बसोवास गर्ने सेवाग्राहीलाई  स्वास्थ्य शिविरले ठूलो लाभ प्राप्त भएको बताउदै अध्यक्ष पुनले युनाईटेड क्लबको सामाजिक कामको प्रशंसा समेत ब्यक्त गरे । युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबे स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र धवलागिरी गाउँपालिकाको ताकम जस्ता विभिन्न ग्रामीण भेगमा वर्षेनी स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको बताए । स्वास्थ्य शिविरमात्र नभइ क्लबले आर्थिक अभावमा उपचार गराइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुगेरै आर्थिक सहयोग संगै विशेषगरी ग्रामीण बस्तीमा बसोबास गर्ने समुदायलाई लक्षित गरी युनाईटेड क्लबले स्वास्थ्य शिविरलाई निरन्तरता दिएको उनको भनाइ रहेको थियो । धवलागिरी गाउँपालिकाका कार्यकारी अधिकृत मोति प्रसाद अर्यालले युनाईटेड क्लबले आफ्नो उद्देश्य अनुरुप स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर धवलागिरी गाउँपालिकामा स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरे । धवलागिरी गाउँपालिका वडा नं ७ का अध्यक्ष अशोक खत्रीले युनाईटेड क्लबले ताकममा आयोजना गरेको स्वास्थ्य शिविरले आफ्नो वडा भित्रका मात्र नभइ धवलागिरी गाउँपालिका भित्रका विभिन्न गाउका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको बताउदै क्लब प्रति अभार प्रकट गरे । सो अवसरमा वोल्दै मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष तथा ल्याप्रोस्कोपी सर्जन डा. आनन्द भट्टराईले युनाईटेड क्लब संगको सहकार्यमा विगतमा जस्तै यो पटक पनि धवलागिरी गाउँपालिकामा बृहत स्वास्थ्य शिविरको आयेजना गरिको बताए । ग्रामीण भेगमा अझैपनि स्वास्थ्य सेवाको पहँुच पुग्न नसकिरहदा स्वास्थ्य शिविर मार्फत रोगको पहिचान गराउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो । त्यस्तै मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका एशोसिएट प्रोफेसर डा. सरोज पोखरेलले ग्रामीण भेगमा हुने स्वास्थ्य शिविरले स्वास्थ्यको पहँचमा नपुगेकाहरुलाई थोरै भएपनि समेटिने भएकाले स्वास्थ्य शिविरले उल्लेख्य भुमिका खेल्ने बताए ।  युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले स्थापना कालदेखिनै विभिन्न ग्रामीण भेगहरुमा स्वास्थ्य शिविरको आयोजना गरी सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको र यो पटक म्याग्दीको ताकममा शिविरको आयोजना गरेको बताए । यस पटकको शिविरमा पनि विगतमा जस्तै उल्लेख्य सेवाग्राहीको सहभागीता रहेको र आफुहरुको कार्यक्रम सफल भएको बताए ।  

गण्डकी:   गण्डकी प्रदेश सरकार र यहाँका स्थानीय तहले नसर्ने रोगको ‘स्क्रिनिङ’ अभियान सुरूआत गरेका छन् । रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि समुदायस्तरमा ‘स्क्रिनिङ’ अभियान सञ्चालन गरिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार लमजुङ, गोरखा र मनाङ बाहेक प्रदेशका सबै जिल्लामा पहिलो चरणको ‘स्क्रिनिङ’ शिविर सम्पन्न भइसकेको छ । “स्वास्थ्य मन्त्रालयले नमुना कार्यक्रमका रूपमा जिल्लाको कुनै एउटा स्थानीय तह छनोट गरेर यो अभियान सञ्चालन गरिरहेको छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले आफ्नै स्रोतसाधन खर्चेर पनि नसर्ने रोगको ‘स्क्रिनिङ’ गर्न सुरू गरेका छन् ।” स्वास्थ्य मन्त्रालयले उक्त कार्यक्रमका लागि चालु आवमा प्रदेश सरकारले रु। एक करोड बजेट विनीयोजन गरेको थियो । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले स्वास्थ्य सेवा दिवस, बालमैत्री बागलुङ नगर घोषणा कार्यक्रम र प्रजातन्त्र दिवसका अवसरमा नसर्ने रोगको परीक्षण गरिएको जानकारी दिनुभयो ।  “पछिल्लो समय नसर्ने रोग प्रकोपकै रूपमा वृद्धि भएकाले स्थानीय तहसँहको सहकार्यमा परीक्षण अभियान सुरू गरिएको छ, सङ्घीय सरकारले पनि यो अभियानलाई प्राथमिकता राखेको छ”, उहाँले भन्नुभयो । निरीक्षक घिमिरेले ‘स्क्रिनिङ’ अभियानका क्रममा १५ प्रतिशत जतिमा उच्च रक्तचापको समस्या देखिएको बताउनुभयो । मधुमेह, मोटोपना आदिका कारण निम्तने स्वास्थ्य समस्या पनि जटिल बन्दै गएको उहाँको भनाइ छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले यसअभियानले गण्डकी प्रदेशमा नसर्ने रोगको अवस्था पत्ता लाग्ने बताउनुभयो । उहाँले आगामी आवको बजेट तथा कार्यक्रममा पनि यस अभियानलाई निरन्तरता दिइने बताउनुभयो । “नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएको अध्ययनले देखाएको छ”, उहाँले भन्नुभयो, “अस्वस्थकर खानपान, जीवनशैली आदिका कारण यस्ता रोगबाट धेरै मानिस आक्रान्त बनेका छन्, यसको समयमै निदान र उपचारको व्यवस्था गर्नुपर्छ ।” उहाँले गाउँगाउँ पुगेर नसर्ने रोगको ‘स्क्रिनिङ’ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । स्वास्थ्यमन्त्री पाठकले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने धेरै विषय रहेको भन्दै नीतिगत प्रबन्धमार्फत तिनको समाधान खोजिने बताउनुभयो ।  “अस्पताल र स्वास्थ्यसंस्थामा दक्ष जनशक्ति र उपकरणको अभाव छ, कतै जनशक्ति भएका ठाउँमा उपकरण छैन, कतै भएको उपकरण प्रयोगमा ल्याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “यसको मिहिन अध्ययन गरेर मन्त्रालयले नयाँ नीतिगत योजना ल्याउँछ ।”

पोखरा:   युनाइटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट संकलन भएको छ ।    १५ औं वार्षिकोत्सवको अवसर पारि नयाँ वर्षको दिन (बैशाख १ गते) पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण समेत सम्पन्न गरिसकेको युनाईटेड क्लबले  १५ औं वार्षिकोत्सवको अवसरमा पोखराको अमरसिंहमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।   सो अवसरमा बोल्दै रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधीक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गरेको खण्डमा रक्त अभावमा रहेकाहरुलाई सहयोग पुग्ने बताए ।   युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले सामाजिक काममा अगाडी बढिरहेको युनाईटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।   युनाइटेड क्लबले नयाँवर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न वितरण गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको र दोश्रो कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको उनको भनाई थियो ।    युनाइटेडले सामाजिक कामलाई निरन्तरता दिनेसमेत थापाले बताए ।   युनाइटेड क्लबका कार्यसमिति सदस्य विष्णुकुमार गुरुङको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

चितवन:  यतिबेला रुघाखोकी लागेका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा निको हुने गरेकामा यो वर्ष भने दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको हो ।        भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा प्रकाश खतिवडा हरेक तीन वर्षमा एन्फुञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने बताउनुहुन्छ । हरेक तीन तीन वर्षमा यस्तै हुने गरेको भन्दै उहाँले अहिले निको हुन दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको बताउनुभयो ।        उहाँले भन्नुभयो, “रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन अरू बढी समय लाग्छ ।” खोकी, स्वास्वा हुनेजस्ता समस्या लिएर बिरामी आउने गरेको भन्दै उहाँले अझै एक महिना यस्तो समस्या रहने बताउनुभयो । दुई महिनायता यो समस्या बढी मात्रामा देखिएको हो । सरकारी अस्पताल, मेडिकल कलेजहरू र निजी अस्पताल एवं क्लिनिकमा समेत समेत यस्ता बिरामीको चाप रहेको डा खतिवडा बताउनुहुन्छ । उहाँले मास्कको प्रयोग गर्न, भीडभाडमा नजान सुझाव दिनुभयो ।        चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउनुहुन्छ । रुघाखोकीसँगै अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उहाँको भनाइ छ ।        उहाँले भन्नुभयो, “कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई प्रदूषण र रुघाखोकीले सामान्य अवस्थाभन्दा बढी जोखिममा पारेको छ ।” नियमित औषधि सेवन गर्नेहरूलाई समेत यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।        विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीहरूलाई जोगाउनुपर्नेमा उहाँको जोड छ । हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो र फोहर मिसिएकोजस्तो देखिने गरेको छ । रुघाखोकीसँगै देखिएको श्वासप्रश्वासको समस्या निको हुन समय लागेको उहाँ बताउनुहुन्छ ।        पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी आफूले मधुमेह, थाइराइड, उच्च रक्तचापका बिरामी धेरै हेर्ने गरेकोमा अहिले रुघाखोकी र श्वासप्रश्वासका बिरामीहरू धेरै आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दैनिक कम्तीमा १० जना श्वासनली बज्यो, छाती घ्यारघ्यार भयो, रुघा निको भएन भनेर आउनुहुन्छ ।” कतिपय भर्खरै निको भएको तर पुनः समस्या आयो भन्दै अस्पताल आउने गरेको उहाँले जानकारी दिनुभयो ।        यस्तो समस्या निको हुन धेरैलाई दुई हप्ता लागेको उहाँले बताउनुभयो । पहिले रुघाखोकी दुई तीन दिनमा निको हुने गरेको थियो । यसको कारण बदलिएको कोभिड पनि हुनसक्नेतर्फ उहाँले सङ्केत गर्नुभयो । इन्फुन्जा नेपालमा रहेको भन्दै उहाँले भन्नुभयो, “रोग के कारणले लागेको हो भन्ने हामीकहाँ अध्ययन भएको छैन ।”        वायु प्रदूषण अर्को कारण हुनसक्ने डा अधिकारीको भनाइ छ । अहिलेको समयमा विवाह, व्रतबन्ध, भोजभतेरजस्ता मानिसको भीड हुने कार्यक्रम धेरै भएकाले पनि यो फैलिएको डा अधिकारी बताउनुहुन्छ ।  यससँगै राजनीतिक समर्थन र विरोधका कार्यक्रममार्फत पनि सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो । उहाँले कोभिडको समयमा अपनाईएका स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउन सुझाव दिनुभयो ।

ढोरपाटन:   बितेका आठ वर्षमा बागलुङमा एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गराएका छन् ।  विसं २०७३ असारमा सुरु भएको स्वास्थ्य बिमामा हालसम्म जिल्लाका ५४.०३९ प्रतिशत नागरिक आबद्ध भएका हुन् । जिल्लाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार दुई लाख ४९ हजार २११ रहेको छ ।  यहाँका १० वटै स्थानीयत तहमा ६४ हजार १५३ परिवार रहेकामा हालसम्म ४० हजार ९४५ परिवारले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्डका जिल्लास्थित कार्यालय प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।  हालसम्म ६७.६३ प्रतिशत घरपरिवार स्वास्थ्य बिमाको पहुँचमा रहेको उहाँको भनाइ छ । पौडेलका अनुसार ७१ हजार ८६ महिला र ६३ हजार ५६७ जना पुरुषले स्वास्थ्य बिमा गरेका छन् । सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोलाका नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउन स्वास्थ्य बिमाका सामाजिक परिचालकलाई जिल्लाको ८५ वडामा खटाएको प्रमुख पौडेलले बताउनुभयो ।  उहाँले भन्नुभयो, “बागलुङमा स्वास्थ्य बिमा ‘पाइलट प्रोजेक्ट’का रूपमा सुरु भएको थियो, पहिले नागरिकको चासो कम थियो, अहिले बढ्दै गएको छ ।”  निसीखोला गाउँपालिका–५ का प्रेमबहादुर पुनले दूरदराजमा स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको गुनासो गर्नुभयो । स्वास्थ्य बिमा गरे पनि नजिकमा सुविधा लिने स्वास्थ्य संस्था नहुँदा घण्टौँ लगाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।  “ज्वरो आयो भने स्वास्थ्य बिमाको सुविधा लिन बुर्तिबाङ जाँदा आउँदा पाँच–सात हजार खर्च लाग्छ, त्यही भएर गाउँकै स्वास्थ्य चौकीबाट औषधि लिएर खान्छु” पुनले भन्नुभयो, “गाउँकै स्वास्थ्य चौकीबाट स्वास्थ्य बिमाको सुविधा दिनुपर्ने हो, हामीहरू त स्वास्थ्य बिमा गर्ने सेवा नलिने मात्रै भइयो, सरकारले गाउँका स्वास्थ्य संस्थाबाट सेवा दिने व्यवस्था गर्नुपर्छ ।”

गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार र स्तरोन्नति गरिने भएको छ ।    अस्पताल स्तरोन्नतिबारे मन्त्रिस्तरीय निर्णय गरी आर्थिक मामिला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णायार्थ पठाइएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । “नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालहरूको स्तरोन्नति आवश्यक देखिएपछि सोहीअनुसार काम गर्न लागिएको हो”, उनले भने, “मन्त्रिपरिषद्को निर्णयपछि स्तरोन्नतिको काम थप अगाडि बढ्ने छ ।”   स्वास्थ्यमन्त्री पाठकका अनुसार प्रदेश अस्पताल मुस्ताङ र मनाङलाई १५ शय्याबाट २५ श्ययामा स्तरोन्नति गर्न लागिएको हो ।   पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० श्ययामा स्तरोन्नति गरिने जनाउँदै उनले कास्कीस्थित २५ शय्या क्षमताको मातृशिशु मितेरी अस्पताललाई ५० श्ययामा पुर्‍याउने स्वास्थ्य मन्त्रालयको योजना रहेको उल्लेख गरे ।    बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पताललाई ५० बाट एक सय श्ययामा र नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई १५ बाट एक सय श्ययामा स्तरवृद्धि गर्न लागिएको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए । आगामी आर्थिक वर्षदेखि धवलागिरि र मध्यविन्दु प्रादेशिक अस्पतालमा प्राविधिक शिक्षा पढाउने गरी पूर्वाधार तयारीका लागि काममा जुटेको उनले बताए ।    एक सय शय्याको अस्पतालले मात्र प्राविधिक विषय पढाउन पाउने व्यवस्था रहेकाले सोही अनुसार अस्पतालको स्तरोन्नति गर्न लागिएको स्वास्थ्यमन्त्री पाठकको भनाइ छ । प्रदेश अस्पताल गोरखा, लमजुङ र म्याग्दी यसअघि नै ५० श्ययामा सञ्चालित छन् । प्रदेश सरकारले चालु आवमा गोरखाको आँपपीपल र बागलुङको बुर्तिबाङ अस्पताललाई आफू मातहत लिई सञ्चालन गरिरहेको छ ।    स्थानीय तहअन्तर्गत दुवै अस्पताललाई ५० श्ययामा स्तरवृद्धि गरी नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको छ । यसअघि ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालित थियो । आँपपीपल अस्पताल गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत रहँदै आएको थियो ।    स्थानीय तहले बुर्तिबाङ र आँपपीपल अस्पताललाई प्रदेश सरकारले जिम्मा लिन आग्रह गरेपछि प्रदेश सरकारले आफू मातहत ल्याई सञ्चालन गरेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए । प्रदेश मन्त्रिपरिषद्को प्रस्तावलाई संघीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यी दुई अस्पताल प्रदेश सरकारअन्तर्गत आएका हुन् ।   यसै वर्ष कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धौलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गरिएको थियो । स्वास्थ्यमन्त्री पाठकले स्तरोन्नतिको निर्णयपछि अस्पतालहरूमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित रूपमा हुने बताए । उनका अनुसार अहिले स्वीकृत शय्याको सङ्ख्या तीन सय ९५ रहेकामा स्तरोन्नति हुँदा करिब सात सय पुग्ने छ ।   “अस्पतालहरूले अहिले नै आठ सयबढी शय्या सञ्चालन गरिरहेकामा नयाँ प्रस्तावअनुसार स्तरोन्नति हुँदा २१ शय्या सञ्चालनमा ल्याउन सकिन्छ”, मन्त्री पाठकले भने, “अहिले अस्पतालहरूको वार्षिक आम्दानी करिब रु ६६ करोड रहेकामा स्तरोन्नतिसहित अस्पताललाई व्यवस्थित गर्न सकिएमा तीन गुणाले आम्दानी बढ्ने मन्त्रालयको अनुमान छ ।”    मन्त्रालयका अनुसार अस्पतालमा पाँच सय ६४ जनाको स्थायी दरबन्दी रहेकामा एक सय ८७ को पदपूर्ति हुन बाँकी छ ।   आठ सय बढी करार जनशक्तिसहित हाल ११ सय ३३ जना प्रदेश मातहतका अस्पतालमा कार्यरत रहेका मन्त्रालय जनाएको छ । अस्पतालहरू स्तरोन्नति हुँदा पदपूर्ति हुन बाँकीसहित कूल १२ सय ४४ को दरबन्दी व्यवस्थापन गर्नुपर्ने मन्त्री पाठकले बताए ।    “अहिले कार्यरत अस्थायी र करार जनशक्तिको उचित व्यवस्थापन गरेर अस्पतालमा गुणस्तरीय सेवा दिन सकिन्छ, स्तरोन्नति गर्दा प्रदेश सरकारलाई धेरै ठूलो व्ययभार पर्दैन”, उनले भने, “जनशक्ति र आन्तरिक खर्च व्यवस्थापनसहित अस्पताललाई आत्मनिर्भर बनाउनुपर्ने खाँचो छ, संघ सरकारको मात्र भर परेर हुँदैन, प्रदेश सरकारले आफ्ना अस्पतालहरूको विकासका लागि आफैँ योजना बनाउनुपर्छ ।”    मन्त्रालयले जनस्वास्थ्य सेवासम्बन्धी विधेयक प्रदेशसभामा अगाडि बढाएकाले कानुन निर्माणपछि स्वास्थ्य क्षेत्र थप व्यवस्थित बन्ने स्वास्थ्यमन्त्री पाठकले विश्वास व्यक्त गरे ।  

काठमाडौं:   गर्मीयामको सुरुआत भएसँगै नेपालमा किटजन्य रोगहरूको जोखिम बढ्नसक्ने भएकाले विज्ञले सचेतना अपनाउन आग्रह गर्नुभएको छ ।      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयको साप्ताहिक ब्रिफिङमा गर्मीमा कीटजन्य रोगको जोखिम बढ्ने र दूषित पानीका कारण विभिन्न सङ्क्रमणहरू फैलने जोखिम हुने बताउनुभयो ।      उहाँले शुद्धीकरण नगरिएको पानी र दूषित खानाले झाडापखाला, टाइफाइड, जन्डिस र हैजाजस्ता रोगहरूको जोखिम बढाउनसक्ने बताउनुभयो । उहाँले त्यस्ता जोखिमबाट बच्न पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरी शुद्धीकरण गरेर मात्र प्रयोग गर्ने सुझाव दिनुभयो ।      उहाँले भन्नुभयो, “स्वच्छ, सफा र पौष्टिक आहार खाऔँ । प्रशस्तमात्रामा फलफूल तथा हरियो सागसब्जी सेवन गर्ने गरौँ । खाद्य पदार्थहरूलाई सुरक्षित तरिकाले भण्डारण गर्नुपर्छ । शौचालयमा मात्र दिसापिसाब गर्ने गरौँ ।”        त्यस अवसरमा प्रवक्ता डा बुढाथोकीले तापक्रम वृद्धि भएसँगै कीटजन्य रोगहरू जस्तै डेङ्गी, मलेरिया, जापानिज इन्सेफलाइटिसको पनि जोखिम बढ्ने बताउनुभयो । उहाँका अनुसार सङ्क्रमणबाट बच्न वरपरको वातावरण सफा राख्ने, लामखुट्टेको नियन्त्रण गर्न घर, कार्यालय, विद्यालय आदि वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, झ्याल, ढोकामा जाली राख्ने तथा लामखुट्टे भगाउने धुपको प्रयोग गर्नुपर्छ ।      उहाँले हाल मौसममा आएको परिवर्तनसँगै रुघाखोकी, ज्वरोजस्ता लक्षणसहितका फ्लूका बिरामीहरुको चाप अस्पतालमा बढ्दै गएकाले फ्लूबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगीहरु बढी जोखिममा हुने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । “साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, काम नपरी भिडभाडमा जाने नगरौँ”,उहाँले भन्नुभयो ।        उहाँले स्वास्थ्यसँग सम्बन्धित कुनै जिज्ञासा वा गुनासो भए मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा इमेल गर्न पनि सकिने जनाउनुभयो । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबारको १ बजेर ३० मिनेटमा साप्ताहिक मिडिया ब्रिफिङ गर्दै आएको छ ।

तानसेन:  पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउने अभियान सुरु भएको छ ।   लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बढ्दो मातृशिशु मृत्युदर घटाउन पाल्पाबाट अभियान सुरु गरेको हो ।   जिल्लामा जनचेतना अभाव, कमजोर आर्थिक अवस्थाका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेकाले यसलाई घटाउन मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्ने अभियान सुरु गरिएको छ ।   प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई दोहोरो अङ्क हुँदै एकल अङ्कमा झार्ने गरी योजना बनाइएको जनाएको छ ।   लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले तानसेनबाट अभियान शुभारम्भ गरेका छन् ।   मन्त्री सारुले जटिल अवस्थाका गर्भावस्था (गर्भदेखि सुत्केरी भएको ४२ दिनसम्म), दुई वर्षमुनिका बालबालिकाको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन यो कार्यक्रम सुरु गरिएको बताए ।   उनले भने, “जिल्लाको मातृ तथा बालमृत्युदर अत्यन्तै कमजोर भएकाले परिवार स्वास्थ्य विवरण तयार गर्न लागेका हौँ, यहाँ २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेको सङ्ख्यासमेत उच्च रहेकाले किशोरकिशोरीलाई समेत यो अभियानमा संलग्न गर्ने छौँ ।”   अभियानमा पारिवारिक विवरण सङ्कलन गर्न ६५ हजार घरपरिवारमा स्वास्थ्यकर्मी पुग्ने छन् ।   नियमित रूपमा सेवाको उपभोगका लागि सेवाग्राही र सेवा प्रदायकको मोबाइलमा सन्देश पठाई सेवाको उपभोग र पहुँचमा अभिवृिद्ध गरिने छ ।   अभियानका लागि पाल्पामा रु ३९ लाख बजेट विनियोजन गरिएको छ ।   प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न पाल्पासहित बाँके र अर्घाखाँचीमा पनि यो अभियान सञ्चालन गर्दै छ । जसका लागि अर्घाखाँचीका ४८ हजार र बाँकेका ९४ हजार घरपरिवारमा स्वास्थ्यकर्मी पुग्ने छन् ।   महिला बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको विभिन्न समयका सर्वेक्षण तथा अध्ययनले देखाएको छ ।   कमजोर स्वास्थ्य सुचकाङ्क भएका बाँके, अर्घाखाँची र पाल्पाका गर्भवतीदेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत जटिल अवस्थाका गर्भवतीदेखि खोपबाट वञ्चित बालबालिका र पोषण वृद्धि अवस्थाको अनुगमन गरी नियमित सेवामा ल्याउनका लागि हरेक घरपरिवार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।   राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कानुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको छ ।   जुन नेपालको तथ्याङ्क हो । नेपालमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा मातृमृत्यु हुने प्रदेशमा देखिएको छ ।   स्वाथ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्कानुसार प्रदेशमा एक लाख जीवित जन्ममा दुई सय सात जना आमाले ज्यान गुमाउने गरेको छ । जुन सबैभन्दा बढी लुम्बिनी प्रदेशमा आमाको ज्यान जाने अवस्था रहेको छ ।