काठमाडौँ:   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताउनुभएको छ ।   यहाँस्थित अस्थायी बसपार्कको न...

म्याग्दी । बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो ।    सदरमुकाम बेनीमा घर बनाइसकेका उनलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र आफन्तले दुःख नगर्न सुझाव दिन्थे ।   “ तत्कालीन कृषि विकास कार्यालयबाट एक हजार पाँच सय सुन्तलाका बिरुवा बोकेर गाउँमा पुग्दा धेरैले लगाउन मान्नुभएन”, उनले भने, “केही छिमेकीले हामी धान, मकै, कोदो खाने मान्छे हो, कहाँ सुन्तला खाने हो र ? भन्दै प्रश्न पनि गर्नुभयो ।”   करिब पाँच सय बोट सुन्तलाका बिरुवा लगाएर खत्रीले आफन्त र छिमेकीलाई एक हजार बिरुवा बाँड्नुभएको थियो । गत वर्ष रु १३ लाखको सुन्तला बेचेका खत्रीले बगैँचामा फलेका तीन सय बोटमध्ये आधा सुन्तला बेच्दा रु १० लाख आम्दानी गरिसके ।   “बगैँचामा अझै आधा सुन्तला बाँकी छ”, उनले भने, “यसपालि उत्पादन बढेकाले रु १७ देखि २० लाखसम्मको सुन्तला बिक्री हुने अनुमान गरेको छु ।”   उत्तरपूर्व फर्किएको भिरालो पाखामा रहेको मरेकका बासिन्दा दुई दशक अघिसम्म परम्परागत खाद्यबाली खेती गर्दथे । वर्षभरि दुःख गरेर उब्जाएको खाद्यबालीले छ महिना पनि पुग्दैनथ्यो । रोजगारी नहुनेहरू काम र आम्दानीका लागि विदेश र सहरबजार जाने चलन थियो । सुन्तलाखेती हुन थालेपछि मरेकबाट बसाइँसराइ रोकिएको र विदेशिने क्रम घटेको स्थानीय अगुवा किसान इन्द्रबहादुर थापाले बताए ।    वर्षमा रु ६० हजार बराबरको १८ मुरी धान फलाउने थापाले १४ रोपनीमा गरेको सुन्तलाखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने बताए ।   तीन वर्ष कतारमा काम गरेर फर्किएका मरेकका ४९ वर्षीय कृष्णबहादुर घर्तीले यसपालि सुन्तला बेचेर रु छ लाख आम्दानी भएको बताए ।   “सुन्तलाखेती गरेपछि घरव्यवहार चलाउन विदेश जानुपरेको छैन”, उनले भने, “जीवनस्तरमा परिवर्तन ल्याएको छ ।” मरेक र बालम गाउँमा २१ घरपरिवारको बसोबास छ । बीस घरले सुन्तलाखेती गरेका छन् । प्रतिघर रु एकदेखि २० लाखसम्म सुन्तलाबाट आम्दानी गर्छन् ।    बेनी नगरपालिकाको विकट र दुर्गम बस्ती भए पनि मरेकका घर खाली र जग्गा बाँझो नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्षसमेत रहेका मरेकका बासिन्दा वीरबहादुर थापाले बताए।   “बेनीबजारमा घर र व्यवसाय भए पनि सुन्तलाखेतीले गर्दा मैले पनि गाउँ छाड्न सकेको छैन”, उनले भने, “सुन्तलाखेतीले रोजगारी, आम्दानीको अवसर सृजना गरेकाले मरेकबाट बसाइँसराइ रोकिएको छ ।”   बेनीमा फलफूल तथा तरकारी व्यवसाय गर्ने मरेकका काजी थापाले विदेशबाट फर्केपछि गाउँको खेतबारीमा सुन्तलाखेती गरेको बताए ।    गत वर्ष रु ८० लाखको सुन्तला बिक्री भएको मरेकमा यसपालि उत्पादन दोब्बरले बढेकाले रु एक करोड ५० लाख भित्रिने अनुमान गरिएको हालै त्यहाँको बगैँचा निरीक्षण गरेका कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बेनी नगरपालिकाको कृषि शाखाले मरेकमा सुन्तलाखेतीको विस्तारमा सहयोग गर्दै आएका छन् ।    अनुदानमा नयाँ बिरुवा वितरण, बगैँचा व्यवस्थापन, साना सिँचाइ कार्यक्रममार्फत किसानलाई सहयोग गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताए । उनका अनुसार अनुकूल मौसम, उत्पादन दिने नयाँ बिरुवा थपिएको, दाना झर्ने समस्या कम भएको र फल धेरै लागेकाले जिल्लाभर गत वर्षको तुलनामा एकतिहाइले सुन्तला उत्पादन वृद्धि भएको अनुमान गरिएको छ ।   मरेकको छिमेकी छेपारेका बासिन्दाले पनि व्यावसायिक सुन्तलाखेती गर्न थालेका छन् । कच्ची सडकको सुविधा भएको मरेकमा उत्पादन भएको सुन्तलालाई बजारको समस्या छैन ।   व्यापारीले बगैँचाबाट प्रतिकिलो रु ७५ मा सुन्तला खरिद गरेका छन् । अन्य ठाउँको तुलनामा रसिलो र स्वादिलो भएकाले मरेकका सुन्तला बजारमा सहजै बिक्री हुने व्यापारी राजन तामाङले बताए । पोखरा, काठमाडौँ, हेटौँडाको बजारमा यहाँको सुन्तला लैजाने गरिएको उनले बताए ।    मरेकको भिरालो पाखा सुन्तला बगैँचाले भरिएको छ ।   बगैँचा पहेँलपुर सुन्तलाले रङ्गिएर मनमोहक बनेको छ । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले साविक भकिम्ली गाविसको मरेक, राखु, हल्लेगौडा र पानीस्वाँरालाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरिएको बताए ।   सुन्तला बजारीकरणका लागि सडक स्तरोन्नति गरेर यातायातलाई सहज बनाउने, सिँचाइ र प्रविधि सहयोगका लागि सङ्घीय तथा प्रदेश सरकारका निकायमा समन्वय तथा पहल गरेको बताए ।   आयआर्जनका लागि गाउँ छाड्नुपर्ने समस्या घटाउन सुन्तलाखेती प्रभावकारी भएको वडाध्यक्ष पुनले बताए ।

बागमती:    सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा बागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आबद्ध भएका छन् ।  उक्त तथ्याङ्क विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्मको रहेको स्वास्थ्य बिमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिनुभयो ।  उहाँका अनुसार सबैभन्दा बढी चितवनमा ७२ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् भने सबै भन्दा कम काठमाडौँमा छ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् । चितवनमा एक लाख ७९ हजार तीन सय ४५ परिवारमध्ये एक लाख २९ हजार चार सय ३८ परिवार बिमित हँुदा काठमाडौँमा पाँच लाख ४४ हजार आठ सय ६७ परिवारमध्ये ३० हजार चार सय २० परिवार मात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताउनुभयो ।  भक्तपुरको ६६ हजार नौ सय ५६ परिवार, मकवानपुरको ५४ हजार पाँच सय २३ परिवार बिमामा आबद्ध भएको तथ्याङ्क छ ।  काभ्रेपलाञ्चोकका ४३ हजार तीन सय ५६ परिवार, नुवाकोटमा २३ हजार एक सय ६७ परिवार, सिन्धुपाल्चोकमा १७ हजार छ सय ३० परिवार, सिन्धुलीमा २७ हजार सात सय ५८ परिवार, रामेछापमा २१ हजार एक सय ६५ परिवार, दोलखामा १५ हजार छ सय आठ परिवार, धादिङमा २५ हजार आठ सय ३८ परिवार, रसुवामा चार हजार सात सय ६५ परिवार र ललितपुरमा नौ हजार छ सय ३२ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताउनुभयो ।  कार्यालयमा बिमा दर्ताका लागि नयाँ आवेदन पनि आइरहेको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । मकवानपुरमा स्वास्थ्य बिमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बिमितहरुको नाम दर्ता गराउँदै आएको छ ।  स्वास्थ्य बिमा गराएकाले जिल्लाको आठ स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका छन् ।  हेटौँडा अस्पताल, मनहरी आधारभूत अस्पताल, हेटौँडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताल, राक्सिराङ आधारभूत र सिएम सि चुरेहिल अस्पताल प्राली हेटौँडाबाट स्वास्थ्य बिमा गरेकाले सेवा लिँदै आएका छन् ।

ढोरपाटन:   चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् ।   असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।   नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको रोजाईमा पर्दै गएको छ । गत असारदेखि असोजसम्म करिब तीन हजार पर्यटक बुकीपाटन पुगेको ढोरपाटन नगरपालिका–९ का गङ्गा पुनले बताउनुभयो । बर्खामा चारै तिर हरियाली छाउने, उत्तरतिर हिमाल र पाटनभरी छरिएर रहेका भेडाका बथान हेर्नका लागि पर्यटक पुग्ने गरेका छन् ।   अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन गुणाभन्दा बढी पर्यटक बुकीपाटन पुगेको उहाँको भनाई छ ।   उहाँले भन्नुभयो, “लामो समय ओझेलमा रहेको बुकीपाटन सञ्चारमाध्यममा प्रचारप्रसार हुन थालेपछि त्यहाँ पुग्ने पर्यटक बढेका छन् । बुकीपाटनमा विदेशी पर्यटक ल्याउन सके यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने थियो, ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्ने पदमार्गलगायतका पूर्वाधार निर्माण गर्न सके धेरै बुकीमा पर्यटकको सङ्ख्या बढाउन सकिन्थ्यो ।”   समुन्द्री सतहदेखि दुई हजार नौ सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बास स्थान हो ।   बर्खामा यहाँ सयौँको सङ्ख्यामा गोठालाहरु हजारौँको सङ्ख्यामा भेडाबाख्रा र गाईभैँसीका साथ अस्थायी गोठ बनाएर बस्छन् ।   ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले बुकीपाटन जाने अधिकांश पर्यटकले नजिकबाट गोठालाको जनजीवन देख्न र अनुभूति गर्न पाउने बताउनुभयो ।   “बुकीपाटन घुम्नका लागि उपयुक्त समय बर्खा यामनै हो, उक्त समयमा बुकी पुग्ने पर्यटकहरु धेरै दिन उतै बिताउने गर्छन्, त्यो ठाउँ जति हे¥यो, उति हेरौँ, हेरौँ लाग्ने खालको छ”, उहाँले भन्नुभयो । बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत रमणीय ठाउँ छन् ।

काठमाडौँ:    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।   पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो ।   हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो । महाधिवेशनले तत्कालीन पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो ।   केन्द्रीय १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो ।   केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।   नेताहरुको जिम्मेवारी तथा कार्यविभाजन तोक्न पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदल गठन गरिएको थियो ।   सोही कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यविभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने जनाइएको छ ।   कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्ने छ । नेताहरूको कार्यविभाजनपछि देशभर सङ्गठन सुदृढीकरणका कार्यक्रम तथा भेला, प्रशिक्षण सञ्चालन गरिने सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

चितवन:    यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।   कार्यालयले विसं २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो ।  उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन ।   कार्यालयका प्रशासकीय अधिकृत सुरेशकुमार चपाईका अनुसार कार्यालयबाट सवारी चालक अनुमतिपत्र प्रदान तथा नवीरण गर्दै आएको छ ।   सो अवधिमा १४ हजार ९०५ जनाले सवारी चालक अनुमतिपत्र नवीकरण गरेको उहाँले बताउनुभयो ।   यस कार्यालयबाट मोटरसाइकल, स्कुटर, कार, जीप, ट्याम्पो, ई रिक्सा, ट्याक्टर, मिनिबस, बस÷ट्रक, एक्साभेटर र व्याकुलोडर लगायतको सवारी चालक अनुमतिपत्र दिइने गरिएको छ ।   उहाँले भन्नुभयो “यहाँबाट अत्याधिक मात्रामा मोटरसाइकल, स्कुटर र कार, जीपको सवारीचालक अनुमतिपत्र लिने गरेका छन् ।” यस जिल्लामा अध्ययन वा रोजगारीको सिलसिलामा आएका जो कोहीले पनि सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने गरेको उहाँले बताउनुभयो ।   अधिकृत चपाईका अनुसार सवारी साधनको प्रमाण पुर्जाको प्रतिलिपि ७१ जनाले लिएका छन् । गत आर्थिक वर्षमा सवारी दर्ता १३ हजार ९०९ वटा भएको छ ।   सवारी दर्ता प्रक्रिया सुरु भएसँगै यस कार्यालयबाट हालसम्म २९ हजार ११ जनाले सवारी साधन दर्ता गराएका छन् ।   कार्यालयले गत आर्थिक वर्षमा रु ८८ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।

मकवानपुरः      बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन गर्दै आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने घोषणा गरेका हुन् ।  प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सो बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए । प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन् ।  

गोरखा:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्।   गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन्।   यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए।   प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, धादिङ र गोरखाका संघीय सांसद्, गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री, मुख्यसचिव, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायत छन्।   कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ ।   काठमाडौँस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए। प्रधान र फिल्ड कार्यालय उद्घाटनसँगै बूढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ।   सरकारले आयोजना प्रभावितलाई हालसम्म रु ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ। घर गोठ, बोटबिरुवातर्फ रु छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ।   आयोजना अगाडि बढाउनका लागि प्रधानमन्त्री प्रचण्डले चासो राख्दै आएका थिए। चालु आर्थिक वर्षको बजेटमा समेत सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख छ ।   प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठक र अन्य सार्वजनिक कार्यक्रममा समेत सो आयोजनाको निर्माण शीघ्र सुरु हुने उल्लेख गर्नुभएको छ । धादिङ र गोरखाका जनप्रतिनिधि र स्थानीयवासीले समेत शीघ्र आयोजनाको काम सुरु गर्न माग गर्दै आएका छन् ।   सरकारले आन्तरिक स्रोतको परिचालन गरेरै सो आयोजनाको निर्माण सुरु गर्ने बताउँदै आएको छ ।   आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमा भन्सार विन्दुमै कर उठाउँदै आइएको छ । केही दिन पहिले राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्वाधार करमार्फत उठेको रकम मुआब्जा वितरण लगायतका काममा खर्च भएको जानकारी गराएका थिए।   सरकारले चालु आवको बजेटमार्फत वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइलाई नै कम्पनीमा रुपान्तरण गरेको हो । गत असार २८ गते कम्पनीको प्रमुख कार्यकारी प्रमुखमा जगत श्रेष्ठलाई नियुक्त गरेको थियो।

कास्की:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ स्थित मर्दी खोलाको मुहान क्षेत्रमापर्ने भीरमा ‘हनी हन्टिङ’ गरिएको छ ।   सिदिङ युनाइटेड क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा यही जेठ २८ र २९ गते दुई दिन हनी हन्टिङ गरिएको हो ।   भिडियो:-  

काठमाडौं:   निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि अव्यवस्थित बसोबासका कारण बाग्मती करिडोरको निर्माण सकिएको छैन ।   सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्रयाक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्रयाक खुल्न बाँकी रहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले बताएका छन्।   बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै ट्रयाक खुलेको छ भने अर्कातर खुल्न सकेको छैन ।  अव्यवस्थित बसोबासीको विषयमा राष्ट्रिय मुद्दा बनेको र यसको समाधान भएपछि मात्रै ती ठाउँमा सडक निर्माण गर्न सकिने समितिका सूचना अधिकारी अर्यालले बताए ।   तिलगङ्गादेखि सिनामङ्गलसम्म ५ र ६ सय र थापाथलीमा २ सय ४३ घरधुरीको बसोबास करिडोर सडक निर्माण गर्ने ठाउँमा रहेको छ । राष्ट्रिय भूमि आयोगले समस्याको समाधान गरेपछि मात्रै करिडोर निर्माण अघि बढ्नसक्ने उनको भनाइ छ ।   उनले भने,  ‘वास्तविक सुकुम्बासी को हुन्, को होइनन् भन्ने भएपछि थप काम गर्न सकिनेछ ।’   थापाथलीमा अस्थायी बसोबासीको घर धेरै हुँदा समाधान नहुँदासम्म समस्या पर्ने उनको भनाइ छ । समितिको कार्यक्षेत्र बागद्वारदेखि कटुवाल दहसम्म ४४ किलोमिटर हो । काठमाण्डौका मुख्य सडकमा रहेको सवारी चाप कम गर्नेसँगै बाग्मती र त्यसको सहायक नदीको संरक्षण गर्ने उद्देश्यले सडक निर्माण र नदी संरक्षणको काम सुरु गरिएको थियो ।   समिति एक्लैले नसक्ने हुँदा अहिले आएका समस्या समाधानमा सरोकार राख्ने सबै निकाय मिलेर गर्नुपर्ने सूचना अधिकारी अर्यालले जानकमरी दिएका छन् ।