गोरखा:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्।   गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारम...

काठमाण्डौँ :   बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको तर्फबाट प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/८० को अनुमानित बजेटमा प्रदेशका निजामती र करारमा कार्यरत कर्मचारीलाई आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक रु दुई हजार महँगी भत्ता दिने व्यवस्था मिलाइएको बताउनुभयो ।      प्रस्तुत गरिएको बजेटमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिनुका साथै प्रदेश मातहतका कर्मचारीको सामूहिक रु १० लाख दुर्घटना बिमा गर्न बजेट विनियोजन गरिएको मन्त्री जम्मकट्टेलले जानकारी दिनुभयो ।     यसैगरी, उहाँले प्रदेशको १३ वटै जिल्ला अस्पतालको स्तरोन्नति, दक्ष चिकित्सक उपलब्ध गराउने, अत्याधुनिक प्रयोगशालाको विस्तार एवं कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको बताउनुभयो । प्रदेशका सबै जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।      यसैगरी, मकवानपुरको भैँसे–भीमफेदी सडकखण्ड तथा भीमफेदी कुलेखानी हुँदै दक्षिणकालिका तर्फको सडकलाई गुणस्तरीय तथा ढल निर्माण र कालोपत्र गरी हेटौँडाबाट काठमाडौँतर्फको यातायात सेवालाई प्राथमिकताका साथ तीव्रता दिइने मन्त्री जम्मकट्टेलले बताउनुभयो ।     प्रदेशका प्रत्येक सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम र ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’ कार्यक्रमलाई व्यवस्थित गर्न प्रदेश सरकारले बजेट विनियोजन गरिएको छ । प्रत्येक जिल्लामा ‘एक घर, एक धारा’, ‘एक विद्यालय, एक नर्स’ र खरको छानामुक्त गरी जस्तापाता उपलब्ध गराउने लक्ष्य छ ।      यसैगरी, प्रदेशको चितवन र धादिङमा रहेका चेपाङ समुदायलाई संरक्षित क्षेत्रमा व्यवस्थापन गरी विभिन्न अवसर दिलाउनेतर्फ कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि हेटौँडामा निर्माणाधीन दुग्ध पाउडर प्लान्ट सञ्चालनमा ल्याउने भएको छ । मन्त्री जम्मकट्टेलले बजेट प्रस्तुत गर्दै सोबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार, काभ्रेमा पनि मिनी दुग्ध पाउडर प्लान्ट स्थापना गर्न बजेट विनियोजन गरिएको छ ।     प्रदेश सरकारले लुम्बिनी र गण्डकी प्रदेशसँग समन्वय गरी देवघाट, मनकामना, बूढीगण्डकी, त्रिवेणीधामलगायत तीर्थस्थलमा पर्यटकीय पूर्वाधारको निर्माण गर्ने भएको छ । सोही प्रस्तुत बजेटमा प्रदेशका महिलाको स्तन क्यान्सर, पाठेघर क्यान्सर, मुटु, मिर्गौला रोगीको उपचार सेवालाई प्रभावकारी बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि आवश्यक गृहकार्यको तयारी गरिरहेको जनाइएको छ ।     हेटौँडा अस्पताललाई २०० बेडमा स्तरोन्नति गर्न तथा शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका लागि बजेट विनियोजन गरिएको मन्त्री जम्मकट्टेलले बताउनुभयो । प्रदेश सरकारले रसुवा, नुवाकोट र धादिङका लागि धादिङमा, काठमाडौँ उपत्यकाका लागि काठमाडौँमा, सिन्धुली, चितवन र मकवानपुरका लागि मकवानपुरमा, रामेछाप, दोलखा, काभ्रे र सिन्धुलीका लागि काभ्रेमा एम्बुलेन्स डिस्प्याच सेन्टर स्थापना गर्ने भएको छ । साथै स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न घुम्ती स्वास्थ्य शिविर, स्याटेलाइट क्लिनिक र टेली मेडिसिनलगायत माध्यम प्रयोग गर्ने व्यवस्था मिलाइने छ ।      लाङटाङ, जुगल, गणेश र गौरीशङ्कर हिमाल क्षेत्रमा साहसिक तथा पर्वतीय प्रवद्र्धन गरिने छ भने तामाकोसी, भोटेकोसी, त्रिशूली, नारायणीलगायतका नदीमा जल पर्यटनको विकास गरिने बजेटमा उल्लेख छ । 

  काठमाण्डौँ :        बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठक सम्पन्न भएको छ । आज दिउँसो बसेको बैठकमा आर्थिक वर्ष २०७८/७९ को प्रदेश आर्थिक सर्वेक्षण प्रस्तुत गरिनुका साथै विभिन्न प्रतिवेशन पेश गरिएका थिए ।      बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आ–आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।       त्यस्तै, बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गर्नुभयो । आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा मन्त्री जम्मकट्टेलले आर्थिक वर्ष २०७८÷७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन रु ४८ खर्ब ५१ अर्ब ६२ करोड रहने अनुमान गरिएकामा बागमती प्रदेशको अंश सबै प्रदेशको भन्दा बढी ३६.९ प्रतिशत अर्थात् रु १७ खर्ब ९० अर्ब ६८ करोड रहने अनुमान रहेको बताउनुभयो ।    त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा बागमती प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु १७ खर्ब ९० खर्ब ६८ करोड हुने अनुमानमध्ये थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको अंश सबैभन्दा बढी .  २५.१० प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।       त्यसैगरी मन्त्री जम्मकट्टेलले वित्तीय तथा बीमा उत्पादन उद्योगको अंश क्रमश ११.१० र ५.५० प्रतिशत रहेको बताउनुभयो । आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ५.८४ प्रतिशत रहने अनुमान गरिएकामा प्रदेशको वृद्धिदर सबैभन्दा बढी ६.६० प्रतिशत कायम हुने मन्त्री जम्मकट्टेलले बताउनुभयो ।      सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ४ बजेसम्मका लागि स्थगित गर्नुभयो । उहाँले आर्थिक सर्वेक्षण प्रस्तुत र विभिन्न प्रतिवेदन पेश भएसँगै आजको बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।      बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि असार १ गते बजेट ल्याउँदैछ । 

  काठमाण्डौँ :       वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले नेकपा (माओवादीकेन्द्र)बाट वाग्मती प्रदेशमा निर्वाचित जनप्रतिनीधिलाई जनताको मन जित्नेगरी काम गर्न सुझाव दिनुभएको छ ।    माओवादीका वाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका जम्कट्टेलले आज हेटौँडामा आयोजित कार्यक्रममा प्रदेशमा निर्वाचित जनप्रतिनीधिलाई बधाई दिँदै जनताले महसुस गर्नसक्ने काम गरेर उनीहरुको मन जित्नुपर्ने बताउनुभएको हो । “व्यवस्था बदलिए पनि अवस्था नबदलिएका कारण जनतामा निराशापन छाएको छ, अब जनप्रतिनीधिले जनतालाई विकास दिएर सुखी र खुसी बनाउनुपर्नेतर्फ लाग्नुपर्दछ, यसका लागि उत्कृष्ट कामका योजना ल्याउनुस्” उहाँले भन्नुभयो ।   कार्यक्रममा वन तथा वातावरणमन्त्री विशाल खड्काले अब जनताको लागि जनप्रतिनीधिले उपलब्धिमूलक काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “जितभन्दा पनि जितेपछि जनताको मन जित्नसक्ने काम चुनौतीपूर्ण छ यस चुनौतीलाई सामना गर्दै जनताको सिंहदरबारमा जनताकै हितमा काम गर्नुपर्दछ ।”    कार्यक्रममा वाग्मती प्रदेशमा माओवादीबाट निर्वाचित जनप्रतिनीधि, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, युवा तथा खेलकूदमन्त्री रत्न ढकाललगायतको उपस्थिति थियो ।   कांग्रेसद्वारा जनप्रतिनीधिको स्वागत    नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई बधाइ तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै स्वागत तथा सम्मान गरेको छ ।    कार्यक्रममा कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले निर्वाचित जनप्रतिनिधिलाई जनताको मर्मभावना अनुसार काम गर्न निर्देशन दिनुभयो । उहाँले सबैलाई समेटन सके कांग्रेसको शिर उच्च हुने भन्दै कांग्रेस साँच्चै जनताप्रति इमान्दार छ भन्ने प्रत्याभूति गराउने अवसर पुनः आएको बताउनुभयो ।    सो अवसरमा वाग्मती प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेशसभा सदस्यलगायत ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, धादिङको नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुङगाना, काठमाडौँको दक्षिणकाली नगरपालिका उपप्रमुख वसन्ती डङ्गोल तामाङ, रसुवाको कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका उपाध्यक्ष अम्सरा लामिछानेको उपस्थिति रहेको थियो । 

काठमाण्डौँ  :      बागमती प्रदेशसभाको भोलि बस्ने दशौँ अधिवेशन बैठकपूर्व आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।       प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार जेठ २० गतेको प्रदेशसभा बैठकले विभिन्न समितिमा दफावार छलफलका लागि पठाएको विभिन्न विधेयकमाथि समितिमा छलफल भइसकेकाले सोको प्रतिवेदन संसद्मा पेश गर्न आज बस्ने कार्य व्यवस्था परामर्श समितिले अनुमति प्रदान गर्नेछ ।    त्यस्तै आजको बैठकले भोलि दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत गर्न लागेको बजेटको सैद्धान्तिक पक्षमाथि छलफल हुने जनाइएको छ ।     सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले असार १ गते अपराह्न ४ बजे आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरिनेसमेत जानकारी दिनुभएको छ । 

काठमाडौँ :     सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि सारेको छ । प्रदेश सरकारले विशेष महत्व दिएका केही रणनीतिक महत्वका आयोजनाको विकास र विस्तारका लागि विशेष महत्व दिएको छ ।   प्रदेश सरकारको विशेष प्राथमिकतामा राखेको १३ जिल्ला जोड्ने चक्रपथ निर्माणलाई यसै वर्षदेखि सुरु गर्ने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेका अनुसार यसै वर्षभित्र वाग्मती प्रदेश चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को काम सम्पन्न गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ ।    उक्त चक्रपथले वाग्मती प्रदेशभित्रका १३ वटै जिल्लाको यातायातको सहजप्रबन्धदेखि नागरिकको अपेक्षालाई समेत सम्बोधन गर्नेछ । प्रदेशका सबै जिल्लालाई जोड्नको लागि र यातायातमा सहज वातावरण निर्माण गर्नको लागि उक्त चक्रथप यसैवर्षभित्र निर्माण सुरु गरिने मुख्यमन्त्रीको भनाइ छ ।    सो परियोजनालाई प्रदेशको गौरवका आयोजनाका रुपमा समेत चित्रण गरिएको छ । दोलखाको गौरीशङ्कर, धादिङको तिप्लिङ, चितवनको फाँटदेखि मकवानपुरसम्म, सिन्धुलीदेखि रामेछापसम्म अटाएको यस प्रदेशको विकास, समृद्धि र यहाँका नागरिकको अपेक्षालाई सकेसम्म सम्बोधन गर्ने प्रयास प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।    आर्थिक वर्ष २०७९/८० भित्र नै प्रदेशको राजधानी हेटौंडालाई सङ्घीय राजधानी काठमाडौँ जोड्ने हेटौँडा—कुलेखानी—काठमाडौँ सडक दुई लेनको निर्माण गरिने जानकारी दिनुभयो ।    त्यस्तै, प्रदेश सरकारले सडकका अलावा सुरुङ निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । यस प्रदेशभित्र चार वटा सुरुङ निर्माणको लागि तत्कालका लागि रु ६० करोड बजेट विनियोजन गरिने उहाँको भनाइ छ । ती  सुरुङमध्ये चोभार—हेटौँडा, खुर्कोट—चियाबारी, ताल्ती—लोथर र हुदी—शक्तिखोरको डिपिआर सम्पन्न गरिनेछ । त्यसलगत्तै सुरुङ निर्माणको काम प्रारम्भ गरिनेछ । प्रदेश सरकारको प्राथमिकतामा सुरुङमार्ग छ । सुरुङ निर्माणमा सङ्घीय सरकारको समेत उत्तिकै चासो छ ।   सङ्घीय सरकारले काठमाडौँ–मकवानपुर–चितवन द्रुर्तमार्ग निर्माण गर्ने गरी आगामी आवको बजेटमा कार्यक्रम समावेश गरेको छ । सो मार्गको काम अगाडि बढ्दा त्यसको केन्द्रमा वाग्मती प्रदेश सरकार नै रहन्छ । प्रदेश सरकारले पनि सोही अनुसार प्रक्रिया अगाडि बढाएको तथा सुरुङ तथा द्रुर्तमार्ग निर्माणमा पनि उत्तिकै चासोका साथ योजना तय गर्ने, बजेट विनियोजनसमेत गरेको छ ।    उद्योगमा यस्तो छ प्रदेशको योजना   वाग्मती प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि कृषिऔजार कारखाना निर्माण गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । कृषि क्षेत्रमा यस प्रदेशको भूमिका महत्वपूर्ण छ । सङ्घीय राजधानी काठमाडौँलाई आवश्यक पर्ने तरकारी, फलफूल, दूध तथा अन्य खाद्य उपज उत्पादनका लागि विशेष प्राथमिकतामा राखिएको छ ।    त्यसमाथि धादिङ, चितवन, मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोकलगायतका जिल्लाले काठमाडौँ उपत्यकालाई तरकारी र खाद्य उपजको आपूर्ति गरिरहेको छ । कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ प्रदेश सरकारले योजनावद्ध प्रयास गरिरहेको छ ।   त्यस्तै, प्रदेशका किसानलाई किसान परिचयपत्र प्रदान गर्नुको साथै मल कारखाना निर्माणको लागि प्रोत्साहन गर्ने योजनासमेत उहाँले सुनाउनुभयो । वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत यी विषयलाई विशेष प्राथमिकताका साथ सम्बोधन गरेको छ । रासायनिक मलकारखानाको लागि ठूलो रकम लाग्ने कारणले विदेशी लगानीलाई प्रोत्साहन गरेर मलमा आत्मनिर्भर हुनुकासाथै उक्त कारखानाबाट रोजगारीसमेत सिर्जना हुनेछ । प्रदेश सरकार आफैले पनि रासायनिक मल कारखानाको स्थापनाका लागि चासो व्यक्त गरेको छ ।    नेपाल विद्युत् प्राधिकरणसँग पनि प्रदेश सरकारले त्यससम्बन्धमा प्रारम्भिक चरणमा छलफल गरिसकेको छ । मुख्यमन्त्री पाण्डेले कृषिको उत्पादकत्व वृद्धिका लागि रासायनिक मल कारखाना स्थापनाका लागि प्रदेश सरकारले चासो राख्दै प्रक्रियासमेत अगाडि बढाएको छ । त्यसका साथै प्रदेश सरकारले ग्रामीण र घरेलु तथा साना लगानीका उद्योगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ र सोही अनुसार काम गरिरहेको छ ।    यसवर्ष १० हजार युवालाई रोजगार दिने   यसवर्ष प्रदेशका १० हजार युवालाई तालिम दिएर रोजगार प्रदान गर्ने प्रदेश सरकारको योजना रहेको छ । सो कार्यको लागि आवश्यकता अनुसारको उद्योग, कृषिलगायतका स्थानमा आवश्यक पर्ने सिपमूलक तीन महिने निःशुल्क तालिम दिने र तालिमपश्चात रोजगारको निश्चितसमेत सरकारले नै गर्ने योजना रहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । युवालाई सीप विकास गराएर सीप अनुसारको रोजगारी दिने योजना प्रदेश सरकारको रहेको उहाँको भनाइ छ ।    प्रदेशमा विश्व विद्यालय    वाग्मती प्रदेशमा प्रदेशमा विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण गरिने मुख्यमन्त्री पाण्डेको योजना रहेको छ । यसको साथै निजी क्षेत्रलाई पनि सम्बन्धन प्रदान गरिने र सम्बन्धन प्राप्त गर्ने निजी विश्वविद्यालयले कम्तीमा १०० देखि २०० विद्याथीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउनुपर्ने सर्त राखिने उहाँको भनाइ छ । सो कार्यले विज्ञान प्रविधिमा प्रदेशमा विपन्न वर्गका छात्रछात्रले पनि शिक्षा हासिल गर्न सक्ने वातावरण रहने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।     समाजवादी वडामा ध्यान    मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले समाजवादी वडा कार्यक्रम लागू गरिने जानकारी दिनुभयो । हाल नमूनाको लागि प्रदेशको एक हजार १२१ वटा वडामध्ये ११९ वटा वडामा उक्त कार्यक्रम लागू हुने उहाँको भनाइ रहेको छ ।    यसको लागि प्रदेशका ११९ पालिकाको १/१ वटा वडालाई समाजवादी वडा बनाइने उहाँको भनाइ छ । नेपालको संविधानले समेत समाजवादलाई आत्मसात गरेको छ ।    समाजवादी वडा कार्यक्रम लोकप्रिय हुनेमा आफू विश्वस्त रहेको समेत उहाँको दाबी छ । समाजवादी वडा कार्यक्रम लागू भएको वडामा विभेदरहित वातावरण निर्माण हुने, बालबालिका, महिला र ज्येष्ठ नागरिकको लागि मैत्रीपूर्ण वातावरण निर्माण हुने, सबै प्रकारका सेवा सहज रुपमा उपलब्ध गराउने मुख्यमन्त्रीले जानकारी दिनुभयो ।    उक्त कार्यक्रम लागू हुनु भनेको ‘आफ्नो गाउँ आफै बनाउनु पनि हो ।’ सोही अनुसार जनताले बुझ्ने र सरकारले सघाउने उहाँको भनाइ रहेको छ । सुखी र समृद्धिको नमूना देखाउनलायक वडा बनाउन पनि समाजवादी वडा कार्यक्रम ल्याइएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।    समाजवादी वडा कार्यक्रम लागूभएका वडामा चेतनाकोस्तर वृद्धी गरेर जातीय, धार्मिक, वर्गीय लगाएतको विभेद् अन्त्य गरिने उहाँको भनाइ छ । सो वडाका युवालाई रोजगारी दिएर विदेश पलायन हुनबाट समेत रोकिने उहाँको भनाइ रहेको छ । त्यसको लागि ग्रामीण र घरेलु उद्योग स्थापना हुनेछ । सो उद्योगबाट उत्पादित सामग्रीलाई बजारीकरण गरेर आर्थिकरुपले सम्पन्न बनाइने योजना अगाडि सारिएको छ ।    राजनीतिक रुपमा अनुभवी र पूर्व स्थानीय विकासमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका पाण्डे नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँको आफ्नै अनुभवले पनि वाग्मती प्रदेश सरकार अन्य प्रदेशभन्दा अब्बल बन्नेमा कुनै शङ्का छैन । सङ्घीय सरकारको साधन र स्रोतसमेत यसै प्रदेशमा बढी प्राप्त हुने, सुगमताका हिसाबले पनि सहज भएकाले प्रदेशवासीको विकासप्रतिको चाह छिट्टै पूरा हुने विश्वास गर्न सकिन्छ । 

काठमाडौं:   यही वैशाख ३० गते हुन गइरहेको स्थानिय तह सदस्य निर्वाचनको नतिजा सजिलै आफ्नो वेवसाइटमा प्रकाशन गर्नको लागि Prixa Technologies ले  electionnepal.live भन्ने निःशुल्क प्रविधि ल्याएको जानकारी यहाँहरुसँग बाँड्न पाउँदा हामीलाई अत्यन्त खुसी लागिरहेको छ ।   electionnepal.live ले निर्वाचन आयोगद्वारा प्रकाशित नतिजालाई द्रुत अपडेट गर्छ । Prixa ले सबै सञ्चारमाध्यमलाई निर्वाचनको परिणाम पाठकहरुसँग साझा गर्न सजिलो होस् भन्ने लागेर यो पोर्टलको अवधारणा ल्याएको हो । यो  प्रविधिमार्फत कुनै पनि सञ्चारकर्मीहरुले निर्वाचनको परिणाम छिटोभन्दा छिटो आफ्नो वेवसाइटमा  प्रकाशन गर्न पाउँछन् ।  निर्वाचनको नतिजा आफ्नो वेवसाइटमा प्रकाशन गर्न electionnepal.live मा गएर त्यहाँ भएको  एम्बेड कोड कापी गरेर आफ्नो वेवसाइटमा राख्न सकिन्छ।   Prixa ले यस अघि पनि कोरोना संक्रमितको वास्तविक संख्या अद्यावधिक  गर्नको लागि coronanepal.live भन्ने निःशुल्क प्रविधि  बनाएको थियो र १००० भन्दा बढी संचारकर्मीहरुले आफ्नो वेवसाइटमा यो प्रविधि आत्मसात गरेका थिए ।  साथै कोरोनाको समयमा coronanepal.live २ लाख भन्दा बढी जनताले आफ्नो संचार माध्यममा सेयर गरेका थिए । अझै पनि उक्त प्रविधिले नेपाली जनतालाई सुसूचित रहन मद्दत गर्दै आएको छ र electionnepal.live पनि यही उद्देश्य लिएर बनाइएको हो ।   electionnepal.live को माध्यमबाट सबै जनतामा मत परिणामको जानकारी झट्टै होस् भनेर त्यसको लागि हामीले अहिले सञ्चालनमा आइराखेका सञ्चार माध्यममा निर्वाचन आयोगको तथ्यांकलाई आधार बनाएर सबै ठूला साना सञ्चार माध्यमहरुमा  निःशुल्क कोड एम्बेड गर्नेछौँ ।  यसले गर्दा अत्यधिक संख्यामा  रहेका संचार माध्यममा फरक फरक डाटा नआउन् र जनतालाई दुविधा नहोस् भन्नका लागि हामीले निर्वाचन आयोगको आधिकारिक डाटा नै राख्ने व्यवस्था गरेका छौँ।

नुवाकोटः नुवाकोटको लिखु गापास्थित सिन्दुरे खोलको बगरमा पुरिएको अवस्थामा सरकारी नम्बरप्लेटको मोटरसाइकल फेला परेको छ ।    सशस्त्र प्रहरी बलको १९ नम्बर गुल्मले उक्त मोटरसाइकल फेला पारेको हो । गुल्मका प्रहरी नायब निरीक्षक भाइमान राउतको टोलीले बगरमा मोटरसाइकलको ह्याण्डिल जस्तो वस्तु देखेर हिलो पन्छाई हेर्दा मोटरसाइकल फेला परेको जनाइएको छ ।    प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाईकल फेला परेपछि सशस्त्रले नेपाल प्रहरीलाई बुझाएको छ ।    हाल उक्त मोटरसाइकलबारे अनुसन्धान सुरु गरेको जिप्रका नुवाकोटले जनाएको छ । 

भक्तपुर:  आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।   भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।   छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो ।

काठमाडौं: नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङमा बस्दै आएका २६ वर्षीय सुदास लामालाई आज पक्राउ गरेको हो ।   कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापबाट हराएको मोटरसाइकल चोरीमा संलग्न लामालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको बताए ।   लामाले चोरी भएको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२५ प १०१० नंको २२० सिसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी लु ६४ प ७३७५ नं बनाएर सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ । मोटरसाइकल हराएपछि गोदावरी नगरपालिका–८ डुकुछापका नवराज घिमिरेले ट्राफिक कार्यालयमा उजुरी दिएका थिए ।   पक्राउ गरिएका व्यक्ति र मोटरसाइकललाई चोरी मुद्दामा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्यालय प्रमुख जोशीले बताए ।   यसैगरी नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ११ लाख ६९ हजार जरिवना ठहर भएका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन २९ को फैसलानुसार दुई दिन कैद सजाय र बिगो बमोजिम रु ११ लाख ६९ हजार जरिवना तोकेपछि फरार रहेका ओखलढुङ्गा सुनकोसी गाउँपालिका घर भई कपन बस्ने ३४ वर्षीय रामकुमार राईलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।   ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैकिङ कसुरजन्य अपराध गरेकाले राईलाई मङ्गलबार टङ्गाल काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ राईले आफ्नो राष्ट्रिय वाणिज्य बैँक गौशाला शाखाको पैसा नभएको चेक दिएर बैकिङ कसुरजन्य अपराध गरेका थिए ।   पक्राउ राईलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए ।