गोरखा:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्।   गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारम...

मलेखु ।   नेपालीको सबैभन्दा ठूलो पर्व हो दशैँ। मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महँगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन । सर्वसाधारणमा उल्लास देखिदैन । किनमेलमा पनि तडक भडक छैन ।   यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ । “एक त सबै सामान महँगो भएको छ, अर्काेतर्फ मान्छेसँग पैसा छैन”, नीलकण्ठ नगरपालिका–३ पुछारबजारकी खाद्यान्न व्यवसायी सीता अर्यालले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा आधा व्यापार घटेको छ, अघिल्ला वर्षमा दुई कार्टुन खानेतेल किन्ने मान्छेले अहिले एक कार्टुन मात्रै किन्छन्, १० किलो चिउरा किन्नेले पाँच किलो मात्रै किन्छन् । यो सबै सबै सामान महँगिएको र पैसा नभएकै कारण हो।'   बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दसैँ आर्थिक सङ्कटले झेलिएको छ ।   कोरोना भाइरस महामारीपछिको पहिलो दसैँ उपभोक्तालाई निकै महँगो पर्नेभएको छ । बजारमा दैनिक उपभोग्य वस्तु महँगिदै जाँदा उपभोक्ता मुल्यवृद्धिको चपेटामा परेका छन् । चाडपर्वमा अत्यधिक खपत हुने वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेल, लत्ताकपडा, खसीबोकाको मासु तथा च्याङ्ग्राको मूल्य बढेकाले दसैँ महङ्गिएको छ ।   अधिकांश वस्तु आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको सदरमुकाम धादिङवेसीका पुराना व्यवसायी अशोककुमार श्रेष्ठले बताउनुभयो । सजिलै सामान आयात गर्न नसक्दा साना व्यापारीले पनि लगानी पुर्‍याउन  सकिरहेका छैनन् ।   उपभोक्ताले पनि त्यो सामान किन्न सक्ने अवस्था छैन । यसले व्यापारीलाई भन्दा पनि बढी मार उपभोक्तालाई नै परेको छ । “अधिकांश खाद्यान्नको मूल्य वृद्धि कायमै छ । दैनिक उपभोग्य वस्तु तेल, दाल, चामल, मैदालगायत खाद्यान्नको मूल्य बढेको छ”, श्रेष्ठले भन्नुभयो, “खाद्यान्नको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको चपेटामा परेका छन् । दैनिक उपभोग्य खाद्यान्न तरकारीको मूल्य बढ्नेक्रम कायमै रहेको छ । आलु, गोलभेडा, काउलीलगायत तरकारीको मूल्य बढेको छ ।   “बच्चालाई नयाँ कपडा किनिदिनै पर्‍यो, पहिलाका दसैँमा जस्तो यसपाली खर्च गर्न सक्ने अवस्था र उत्साह छैन”, बालबच्चालाई कपडा किन्न लाग्नुभएकी सीता तामाङले भन्नुभयो ।   चुलिँदै गरेको मूल्य वृद्धि रोक्न सरकारको ध्यान पुग्न ढिला भइसकेको धादिङ उद्योग वाणिज्य सङ्घका महासचिव तिलक सिंखडाले बताउनुभयो । 

धादिङ:  धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ ।   काठमाडौँबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नंको बसको ठक्करले स्थानीय छ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो ।   घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् । सडक अवरुद्ध पारेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन् ।   सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।   गजुरीमा लाग्ने भीड कम गर्न प्रहरीले राजमार्गका ठाउँ–ठाउँमा सवारी रोकेका छन् । बसमा लगाएको आगो धुनिबेँसीबाट गएको दमकलले नियन्त्रणमा लिएको छ ।   आक्रोशित भीडले सडकमा नाराबाजी गरिरहेका छन् । घटनास्थलमा थप भीड बढ्न नदिन प्रहरीले काठमाडौँतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको छ । सयौँ सवारी जाममा परेका छन् । एम्बुलेन्सलाई भने प्रहरीले स्कटिङ गरेर पास गराइरहेको छ ।

नुवाकोट:  तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब रु ३० करोड जरिवाना असुल हुने भएको छ ।   निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका १ हजार ६ सय ९४ जना उम्मेदवारबाट रु २० करोड ९७ लाख ५० हजार जरिवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो ।   उहाँका अनुसार विदुर नगरपालिकामा प्रमुख पदका छ र उपप्रमुख पदका पाँच छन् । बेलकोटगढीमा प्रमुख र उपप्रमुख पदका पाँच–पाँच गरेर दश उम्मेवारलाई जरिवाना तोकिएको छ ।   नगरपालिकाका प्रमुख र उपप्रमुखले जनही रु चार लाख ५० हजार तिर्नुपर्ने भएकाले निर्वाचन खर्च विवरण नबुझाएका २१ जनाबाट कुल रु ९४ लाख ५० हजार जरिवाना असुल गर्नुपर्ने देखिएको छ ।   नगरपालिकाको वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार भएर समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सङ्ख्या चार सय २७ छन् ।   उनीहरूलाई निर्वाचन आयोगले जनही रु दुई लाख जरिवाना तिनुपर्ने निर्णय गरेको छ । आयोगको निर्णयानुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारबाट रु आठ करोड ५४ लाख असुल गर्नुपर्ने देखिन्छ ।   यस्तै गाउँपालिकातर्फ जिल्लामा रहेको १० गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका ९० उम्मेदवारले निर्वाचन खर्च विवरण समयमा नुबझाएकाले जरिवानामा परेका छन् । उनीहरूबाट जनही रु तीन लाख ५० हजारका दरले रु तीन करोड १५ लाख असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिनुभयो ।   यस्तै गाउँपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाएका उम्मेदवारको सङ्ख्या जिल्लाभरमा एक हजार एक सय ५६ जना छन् ।   उनीहरूलाई निर्वाचन आयोगले जनही रु एक लाख ५० हजार जरिवाना लाग्ने निर्णय गरेको छ ।   आयोगको निर्णयाअनुसार गाउँपालिकाका वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारबाट रु १७ करोड ३४ लाख जरिवाना असुल गर्नुपर्ने देखिन्छ । गत वैशाख ३० मा सम्पन्न भएको निर्वाचनको खर्च विवरण निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो ।   उक्त अवधिमा खर्च विवरण नबुझाउने सूचीमा निर्वाचित जनप्रतिनिधिसमेत उल्लेख्य सङ्ख्यामा रहेका छन् । जरिवानाको निर्णय गरेको छ महिनाभित्र भुक्तानी गरिसक्नुपर्ने जनाएको छ । निर्वाचित पदाधिकारीले उक्त अवधिमा भुक्तानी नगरे स्वतः पद जाने निर्णय भएकाले खर्च विवरण बुझाउन चासो नदिए पनि जरिवाना शुल्क भने समयमै दाखिला हुने विश्वास लिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताउनुभयो ।   उहाँको अनुसार निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको उम्मेदवारहरूको नामावली अहिले सार्वजनिक गरेको हो । “कार्यपालिका र जिल्ला समन्वय समितिका अधिकांश उम्मेदवारले पनि खर्च विवरण बुझाउन बाँकी छ”, गौतमले भन्नुभयो, “उनीहरूको हकमा के हुने भन्ने आयोगबाट निर्णय हुन बाँकी छ ।”   नुवाकोटमा स्थानीय तह निर्वाचनअन्तर्गत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार एक सय ७३ जनाले उम्मेदवारी दिएका थिए ।   त्योमध्ये तोकिएको समयभित्र खर्च विवरण बुझाउनेको सङ्ख्या तीन सय १२ जना मात्र रहेको थियो ।

काठमाडौं:  काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।   मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् ।   कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको थियो । उक्त घटनामा काठमाडौँको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् ।   दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौँ, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाएको जानकारी दिनुभयो ।   आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।   आगो निभाउन बौद्ध रामहिटी, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौवटा दमकल तथा १० पानी ट्याङ्करको प्रयोग गरिएको थियो । आगलागीबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

  काठमाडौं । बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।   स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो ।   यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेँङ्गुका बिरामी फेला परेका छन् ।    यसैगरी, काठमाडौँमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा     चार सय २९ र धादिङमा तीन सय ९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चितवन  :  लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् ।  हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ ।    उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व भएको बताउनुभयो ।    उहाँले भन्नुभयो “यो हाम्रो नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धान आदि खाने गरिन्छ ।” यसै दिन पितृहरुको सम्झनामा पूजा गरिने जानकारी दिँदै उहाँले भन्नुभयो “हामी यस दिन देवीदेवतासँग रोगव्याधी नलागोस् भनेर आशीर्वाद लिने गर्दछौँ । भाकल भए त्यसको समेत पूजा गर्दछौँ ।”   घैया धानलाई टाउकोमा राखेर आशिस लिने गरिन्छ । सोही दिन पुराना भाकाका गीत, झ्याउरे गीत गाएर नाचगान गरी रातभर रमाइलो गर्ने परम्परा छ । पछिल्लो समय धेरै चेपाङले धर्म परिवर्तन गरेसँगै विगतको जस्तो पर्व रमाइलो हुन छाडेको गुनासो गर्दै उहाँले भन्नुभयो “९० प्रतिशत चेपाङ क्रिश्चियन बनेपछि भाषा, धर्म, संस्कृति जोगाउन मुस्किल भयो । यो पर्व अहिले लोपन्मुख अवस्थामा पुगेको छ ।”   सङ्घका बागमती प्रदेश सचिव लक्ष्मण चेपाङले यो समुदायले भूयार र न्वागी गरी दुई वटा पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “खेती लगाउने समयमा भूयार र खेती थन्काउने बेलामा न्वागी मनाउने गरिन्छ ।” फागुन र चैतमा रोपेका बाली साउन/ भदौमा तयार भएपछि चढाउने गरिन्छ । प्रकृतिलाई पूजा गर्दै नयाँ खेती भित्र्याउने गरिन्छ । मुख्यरुपमा यतिबेला पिँडालु, निबुवा, घिरौँला, कागुनो, तामा, घैया धान भित्र्याएर भगवानलाई चढाइ खान सुरु गरिने सचिव चेपाङले बताउनुभयो ।   राप्ती नगरपालिकाको चार किल्लाका पहलमान चेपाङले न्वागी पुरानो परम्परा र संस्कृति भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो ठूलो पर्व हो । घरघरमा हामी खुसीयाली साटासाट गरेर यो पर्व मनाउँछौँ । कतिपयले यो पर्व समूहगत रुपमा पनि मनाउँछन् ।” चेपाङ समुदायलाई आफ्नो बारीमा उब्जनी भएको अन्नले छ महिना पनि खान पुग्दैन । जे जति उत्पादन हुन्छ, यसलाई निकै सम्मान दिएर पूजा गरेर मात्रै खाने चलन रहेको छ । पहलमानले भन्नुभयो,“न्वागी पूजा नगरेसम्म अन्न जुठो हुन्छ, चोख्याएर मात्रै खान्छौँ ।” धर्म परिवर्तनका कारण पछिल्ला दिनमा पर्व मनाउनेको सङ्ख्या घटेको उहाँको भनाइ थियो ।    पहलमानले  भन्नुभयो “हाम्रो धर्म र संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्छ ।” पहाडी क्षेत्रमा रहेका लोपन्मुख यो जाती धेरैको आफ्नै जमिन समेत छैन । वनमा फलेका कन्दमूल खाएर कतिपयले जीविका टार्नुपर्ने बाध्यता छ । शिक्षाको अभावमा बाल्य अवस्थामा नै विवाह हुने गरेकाले जन्मिएका बालबालिका र आमाको स्वास्थ्य अवस्था जटिल हुने गरेकाले  यो जातिका लागि सरकारले प्राथमिकतामा राख्नुपर्ने उनीहरुको माग थियो ।   यस वर्षबाट चेपाङ समुदाय बसोबास गर्ने चितवन, मकवानपुर र धादिङ जिल्लामा बागमती प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिएको छ । नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातीको बसोबास बढि  छ । छिटफुट २४ जिल्लामा चेपाङ समुदाय बस्ने गरेको सङ्घले जनाएको छ ।       विसं २०६८ को गणनाअनुसार नेपालमा यो जातीको सङ्ख्या ६८ हजार तीन सय ९९ पुगेको छ । तीमध्ये चितवनमा यो सङ्ख्या २८ हजारभन्दा बढी छ । पछिल्लो जनगणनाको सङ्ख्या आइसकेको छैन । जिल्लाको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा यो जातीको बाक्लो बसोबास छ ।

काठमाडौंमा गएरातिको वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।   काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित भएको छ । प्रहरीका अनुसार हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका मानिसहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । सो क्षेत्रबाट १५ जनाको उद्धार गरिएको र अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।   सुकुम्बासी टोलका २ वटा टहरा पनि बाढीले भत्काएर बगाएको छ । त्यहाँ मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । गएराति काठमाडौंमा ठूलो पानी परेपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । विभागको बाढी सूचना केन्द्रले भक्तपुरका नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्रमा भारी वर्षा भएकाले पुण्यमति, हनुमन्ते, मनोहरा र बाग्मतीको किनारका वासिन्दालाई सतर्कता अपनाउन भनेको थियो ।   यसैगरी ललितपुरको बाग्मती खोकना केन्द्रमा पनि जल सतह बढेपछि उच्च सतर्कताको सूचना जारी गरिएको थियो ।   मौसमविद हिरा भट्टराईका अनुसार आज बिहान ६ बजेसम्म त्रिभुवन विमानस्थलमा ७५।१ मिलिमिटर वर्षा मापन भएको छ ।

काठमाडौँ:    वाग्मती प्रदेशसभाको दसौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दसौँ अधिवेशन गए राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको हो ।      राति नै प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै प्रदेशसभाको दसौँ अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको थियो । आव २०७९/८० का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवं बजेट तथा केही विधेयकहरु दसौँ अधिवेशनले पारित गरेको छ । प्रदेशसभाको सोमबारको बैठकले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको थियो भने सरकारले प्रस्तुत गरेका अन्य केही विधेयक भने पास हुन सकेनन् ।

काठमाडौँ   :  भक्तपुरको भक्तपुर नगरपालिका– १ सल्लाघारीमा आइतबार रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ ।   सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।   मृत्यु हुनेमा एक जना नितेज गर्बुजा रहेको र अरु दुई जनाको पहिचान नभएको प्रजिअ शर्माले बताइन् । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताइन् ।   घाइतेहरुको  भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।