पर्वत । अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित पर्वतको फलेवास नगरपालिका ८ ठाना मौला, सल्यानीधाराका २० घरपरिवारलाई विश्वकर्मा समाज नेपालले राहत सामग्री वितरण गरेको छ । विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीले घटनास्थलमै पुगेर प्रभावित परिवारलाई खाद्यान्नका समाग्री सहयोग गरेको हो । कार्यक्रममा विश्वकर्मा समाज नेपालका अध्यक्ष बेलबहादुर विश्वकर्माले प्रतिपरिवार एक बोरा चामल, नुन, तेल, सोयाबिन, दाल, चिनी, चियापत्ती र आलुलगायतका खाद्यान्न सामग्री सहयोग गरिएको जानकारी दिए । उनका अनुसार प्रभावित परिवारलाई खाद्यान्नसँगै ओछ्याउनका लागि म्याटसमेत प्रदान गरिएको छ । अध्यक्ष विश्वकर्माले प्राकृतिक विपद्का कारण स्थानीयवासीले भोग्नुपरेको पीडा र क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको वर्तमान अवस्था बुझेर राज्यले उनीहरूको उचित व्यवस्थापन र पुनःस्थापनाका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए । उनका अुनसार बाढीपहिरोका कारण गाउँका कतिपय परिवारका घर आंशिक रूपमा भत्किएका छन् भने कतिपयका घर पूर्ण नष्ट भएका छन् । उक्त पीडित परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्न तथा उनीहरूलाई सामान्य जीवनमा फर्काउन सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनको माग छ । यस्तै पीडित परिवारका सदस्यहरूले विपद्को यस कठिन घडीमा विश्वकर्मा समाज नेपालले आफ्नो समुदायप्रति चासो देखाउँदै घटनास्थलमै उपस्थित भएर सहयोग र हौसला प्रदान गरेकोमा आभार व्यक्त गरेका थिए । विश्वकर्मा समाज नेपालको यस मानवीय पहलले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत प्रदान गर्नुका साथै समुदायबीच आपसी सहयोग, सद्भाव र एकताको सन्देशसमेत प्रवाह गरेको छ । राहत वितरण कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्री तथा सम्बन्धित वडाका वडाध्यक्ष मानबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्यालय प्रमुख नारायण प्रसाद सापकोटाले सोमबार संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष ३६ औं वार्षिक प्रतिवेदन पेस गर्नुभयो । प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता अन्त्य र भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउनुहुँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी व्यक्त गर्नुभयो । मुलुकको विकासको वाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राज्य संयन्त्रको तल्लो तहदेखि उपल्लो तहसम्मका कर्मचारी तथा जिम्मेवार व्यक्तिहरूको नैतिक आचरण शुद्ध र कामप्रति जवाफदेहिता हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आयोग पोखरा कार्यालय प्रमुख सापकोटाले आयोगले नेपालको संविधानले व्यवस्था गरे बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा प्राप्त उजुरीको प्रारम्भिक छानविन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोपपत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्य सम्पादन भइरहेको जानकारी गराउनुभयो । आयोगको संवैधानिक दायित्वलाई थप प्रभावकारिताका साथ निर्वाह गर्नका लागि आयोगले रणनीतिक योजना तर्जुमा गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि विभिन्न उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत सुदृढीकरणका रणनीति, कार्यनीति र क्रियाकलापहरु तय गरेको जानकारी दिनुभयो । आयोगलाई थप जिम्मेवारीको रुपमा प्राप्त भएको सम्पति शुद्धीकरण कसुरको अनुसन्धान र अभियोजनको कार्यलाई समेत आयोगले प्राथमिकताका साथ अगाडि बढाइरहेको सापकोटाले बताउनुभयो । आर्थिक वर्ष २०८२/८३ मा आयोगको पोखरा कार्यालयमा दर्ता भएका उजुरी १ हजार १ सय ५० वटा र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ८७ वटा गरी कूल १ हजार ३ सय ३७ मध्ये १ हजार १ सय ६० उजुरी स्क्रिनिङ भई १ सय ७७ उजुरी फछ्र्यौट हुन बाँकी रहेको सापकोटाले बताउनुभयो । विस्तृत अनुसन्धानतर्फ १ सय ११ उजुरीहरु अनुसन्धानमा रहेका छन् । गण्डकी प्रदेशको कार्यक्षेत्रभित्र रहेका १० जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा बढी उजुरी कास्की जिल्लाको पोखरा महानगरपालिका सम्बद्ध रहेको आयोगले जनाएको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुर्घटनामा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको छ। नामथर र ठेगाना नखुलेका करिब ४०/४२ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले जानकारी दिए। दुर्घटनापछि बसमा च्यापिएका चार जनालाई दुईवटा क्रेनको सहयोगमा बिहान ६:१५ बजे उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको डिएसपी थापाले जानकारी दिए। घाइतेमध्ये बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढालाई थप उपचारका लागि बिहान ६ बजे चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ। बाँके नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवानको अवस्था गम्भीर रहेको र उनलाई पनि बिहान ७:४० बजे थप उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेमा गोरखा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृति थारू, बर्दिया राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारू, बाजुरा स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की र सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी छन्। उनीहरूलाई अनुहार, टाउको, कम्मर, हात तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। अधिकांश घाइते बोल्न सक्ने अवस्थामा छन्। घाइतेमध्ये अनोज खत्री अछामस्थित श्री गोरखबक्स गण मंगलसेन ब्यारेकमा प्युठ पदमा कार्यरत रहेको र दसैं बिदामा घरतर्फ जाँदै गरेको खुलेको छ। बसमा सवार यात्रुमध्ये दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जानकारी दिएको हो। महाशाखाले भनेको छ, ‘आज मिति २०८३ असोज १७ (3rd October, 2026) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूबाट बाहिरिएको छ।’ मौसमविद्का अनुसार मनसुन एकैचोटि पूरै देशबाट बाहिरिँदैन। यो प्रणाली देशको पश्चिमी क्षेत्रबाट क्रमश: हट्दै हट्दै पूर्व कोसी प्रदेशबाट बाहिरिन्छ। मनसुन देशभरबाट पूर्ण रूपमा बाहिरिन केही दिन लाग्छ। नेपालबाट वर्षा यामको मौसम प्रणाली मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। यद्यपि यो औसत मिति मात्र भएकाले मनसुन ठ्याक्कै यही दिन नेपालबाट बाहिरिँदैन, यसको केही दिन अघि वा पछि बाहिरिन्छ। यसपटक औसत मितिको भोलिपल्ट अर्थात् अक्टोबर ३ तारिखका दिन देशका केही प्रदेशबाट मनसुनको प्रभाव हटेको हो। अब केही दिनमा देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। नेपालमा मनसुन भित्रिने औसत मितिचाहिँ जुन १३ तारिख हो। यस वर्ष मनसुन यो मितिभन्दा ६ दिन ढिला जुन १९ तारिख (असार ५ गते) कोसी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमश: फैलिँदै जुन ३० तारिख (असार १६ गते) सुदूरपश्चिम प्रदेशसम्म पुगेको थियो अर्थात् देशव्यापी भएको थियो। मनसुन अवधिमा नेपालमा मनसुनी अर्थात् पूर्वी वायु चल्छ भने यसको अन्त्यपछि पश्चिमी वायुको प्रभाव बढ्छ। मनसुन पूर्ण रूपमा अन्त्य भएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ। अनि डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ। अनि मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ। यद्यपि मनसुन नभित्रिँदासम्म प्रि-मनसुन नै रहेको मानिन्छ। मनसुन सुरु भएपछि यो सिजन अन्त्य हुन्छ। मौसमविद्का अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ। आजका लागि यस्तो छ मौसम प्रक्षेपण २०८३ असोज १७ गते (शनिबार) दिउँसो : कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी तथा देशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी र बागमती प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। राति : कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग तथा देशका तराई क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा बिहानपख हुस्सु लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ साल असोज १६ गते रातिको समयमा पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले तालचोक क्षेत्रमा ५ वटा, वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले लेकसाइड–राष्ट्रबैंक चोक क्षेत्रमा १ वटा, वडा प्रहरी कार्यालय बगरको टोलीले नदीपुर क्षेत्रमा ३ वटा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अमर सिंहचोक क्षेत्रमा २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीले सवारी साधनमा अनधिकृत रूपमा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने कार्य नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म ६८८ वटा सवारी साधन र ३६ जना मानिसलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ। प्रहरीले सवारी साधनको स्वरूप परिवर्तन नगर्न तथा प्रचलित कानुनविपरीत ध्वनि प्रदूषण हुने गरी सवारी नचलाउन आग्रह गरेको छ।
काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सोमबार राति नै निधन भएको हो । अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो। आगलागी भएको बस नम्बर बा५ख ४२७४ हो । चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो । प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेश, कोशी प्रदेश, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय समितिको आयोजनामा पोखरामा सम्पन्न नवौं विश्वकर्मा भलिबल कप–२०८३ मा दाजुभाई क्लब गल्याङ च्याम्पियन बनेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा हरिनास गाउँपालिकालाई हराउँदै गल्याङले उपाधि जितेको हो । प्रतियोगिताबाट शुक्लागण्डकी–१२ ले सान्त्वना स्थान हाँसिल गर्याे । उपाधि जितेको गल्याङले नगद १ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । भने उपविजेता बनेको हरिनास गाउँपालिकाले ५० हजार रुपैयाँ तथा सान्त्वना स्थान हाँसिल गरेको शुक्लागण्डकी–१२ ले २५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्याे । सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गल्याङका उमेश सेन्चुरी पुरस्कृत भएको खेलकुद संयोजक पीताम्बर सुनारले जानकारी दिए । उनका अनुसार उत्कृष्ट स्पाइकरका रुपमा हरिनास गाउँपालिका–६ का सुनील मानन्धर, बेस्ट ब्लकरका रुपमा हरिनास गाउँपालिकाकै सञ्जित मानन्धर, बेस्ट डिफेन्डरका रुपमा गल्याङका सुशील विश्वकर्मा र बेस्ट सर्भरका रुपमा शुक्लागण्डकी–१२ का विशाल ठाकुरी उत्कृष्ट कोचमा गल्याङका श्याम विश्वकर्मा घोषित हुँदै जनही २ हजार रुपैयाँ प्राप्त गरे । समापन समारोहमा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले विश्वकर्मा समाज केवल एउटा समुदायको नाम नभई श्रम र सीपबाट सिर्जित पहिचान भएको धारणा राखिन् । समाज निर्माणमा महत्वपूर्ण योगदान दिने सीपयुक्त हातहरूको सम्मान गर्नुपर्ने उनले बताइन् । गौतमले भलिबल प्रतियोगिता केवल जित र हारको प्रतिस्पर्धा मात्र नभई युवाहरूलाई जोड्ने माध्यम, प्रतिभा उजागर गर्ने अवसर तथा अनुशासन र सहकार्य सिकाउन मद्दत पुग्ने उल्लेख गरिन् । आयोजक संस्थाका अध्यक्ष बेलबहादुर विश्वकर्माले नवौं संस्करणको प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण रहेपनि प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन समाजका सबै तहबाट सहयोग भएकै कारण सफल भएको बताए । उनले युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो। बाढीमा घाइते भएका २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनसहितका आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डीएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ६ सय ५५ जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ४२ जना व्यक्तिहरूलाई राखिएको प्रहरीले जनाएको छ।

