पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन्। उनले महिलाहरुले अझै पनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताउँदै यसका विरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ छ । सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले महिलाका विचार र आवाजलाई निर्णायक भूमिकामा स्थान दिनुपर्ने बताइन्। उनले समावेशीतालाई सबै संस्थागत अभ्यासमा अनिवार्य रुपमा लागू गर्नुपर्नेमा जोड दिइन्। महिला समावेशी सम्बन्धी नीति नियमहरू बने पनि कार्यान्वयन हुन नसकेको उनको गुनासो छ। हरेक संस्थामा जेसी ९जेंडर समानता० नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा विशेष ध्यान दिन उनले आग्रह गरिन् । सवनम शर्माले महिलामाथि हुने हिंसाका विरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने बताइन्। अझै पनि समाजमा बोक्सी प्रथा विद्यमान रहेको बताउँदै त्यसलाई तत्काल अन्त्य गर्नुपर्ने धारणा राखिन्। उनले नेपालको संविधानले हिंसा वा दुर्व्यवहार भएमा कानुनी उजुरी गर्ने अधिकार सुनिश्चित गरेको भन्दै पीडितलाई आफ्नो हक प्रयोग गर्न आग्रह गरिन्। कार्यक्रममा गण्डकीका प्रेस रजिस्ट्रार विमला भण्डारी, क्रियाशील महिला पत्रकार महासंघ गण्डकीका अध्यक्ष सरिता तिमल्सिना पंगेनी, गोनेसाका कार्यक्रम संयोजक मुना दवाडी, फेडोका प्रदेश सदस्य सुमित्रा गायक, इन्सेकका संयोजक गणेश भण्डारी, गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्मा लगायतको उपस्थिति थियो।
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा १० हजारभन्दा बढी दर्शकको सहभागिता रहने आयोजकको अपेक्षा छ । संस्थाले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी दिएको हो । महोत्सवको मूल नारा ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा योगदान पु¥याऔं’ राखिएको छ । नेपाली महिलाको भक्ति, उल्लास र सामूहिक संस्कृतिको पर्वका रूपमा मनाइने तीजको परम्परागत गीतहरूलाई खुला चौरमा पुनर्जीवित गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले बताइन् । उनका अनुसार गत वर्ष झण्डै ८ हजार दर्शकले अवलोकन गरेको यस महोत्सवमा यस वर्ष गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाको सहभागिता रहनेछ । आन्तरिक तथा बाह्य पर्यटकको व्यापक सहभागिताको पनि अपेक्षा गरिएको छ । महोत्सव संयोजक शान्ता तिमिल्सिनाका अनुसार महोत्सवमा सांगीतिक तीज गीत प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम रहनेछन् । गत वर्ष ३० समूहको प्रतिस्पर्धा रहेको तीज गीत प्रतियोगिता यस वर्ष अझै उत्साहपूर्ण हुने अपेक्षा गरिएको छ । तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताइन् । टेवान महासचिव शोभा अधिकारी पौडेलले पहिलो दिन विहान १०ः३० बजे हल्लनचोकबाट बाजागाजासहित भव्य ¥याली निकालिने जानकारी दिइन् । पर्यटन व्यवसायीका संघसंस्था, आमा समूह, दिदी बहिनी समूह र विविध सांस्कृतिक समूहको सहभागिता रहने उक्त ¥यालीपछि उद्घाटन समारोह हुनेछ । सोही दिनबाट खुला तीज गीत प्रतियोगिता सुरु हुनेछ । दोस्रो दिन विहान १० बजेबाट खेलकुद प्रतियोगिता सुरु हुनेछ । रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) हुनेछन् । यो महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले बताइन् । उनले भनिन्, ‘सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवद्र्धनका नयाँ ढोकाहरू खुल्नेछन् ।’ महोत्सव सम्पन्न गर्न झण्डै १७ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिइन् । महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन ठोस योगदान पु¥याउने पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताए । उनले आगामी वर्षदेखि वार्षिक रुपमा टेवानको तीज महोत्सवका लागि बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरे । पोखराको सुस्त अर्थतन्त्रलाई चलायमान गराउन यो महोत्सवले प्रत्यक्ष सहयोग पु¥याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । पर्यटन महिला व्यवसायीको क्रियाशीलता र सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा उनले गरे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले सांस्कृतिक गौरवलाई पर्यटकीय सम्पदामा रूपान्तरण गर्दै देशको आर्थिक समृद्धिमा अमूल्य योगदान दिन तीज महोत्सवले भूमिका खेल्ने बताए । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले विदेशी पर्यटकलाई तीजको महत्व बुझाउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे । महोत्सवको मुख्य प्रवद्र्धकमा पोखरा महानगरपालिकाको कार्यालय र नेपाल पर्यटन बोर्ड रहेका छन् । महोत्सवलाई गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद्को सहयोग रहेको छ ।
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हिमाली क्षेत्रमा पुग्ने पर्यटकको सुरक्षालाई केन्द्रमा राखेर मुस्ताङ स्थित घरपझोङ गाउँपालिकाको आयोजना र होटल संघ पोखरा नेपालको समन्यमा कार्यक्रम भएको हो । खासगरी पछिल्ला वर्षहरुमा नेपालको सिमावर्ती तराई र सँगैका भारतीय शहरबाट पर्यटकहरु एकै दिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम चलेपछि सरोकारवालाहरुको ध्यानाकर्षण भएको हो । समुन्द्र सतहबाट एक सय मिटर हाराहारी उचाईमा रहेको तराई क्षेत्रबाट एकै दिन ३७१० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा भएको व्यवसायीहरुले चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले यस विषयलाई नीति निर्माण तहबाटै सुधार गर्न गण्डकी प्रदेश सभामा आफूले कुरा उठाउने प्रतिवद्धता सुनाए । अन्नपूर्ण क्षेत्रको मूल पर्यटन भनेको अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा आधारित पर्यटन भएको भन्दै उनले यस क्षेत्रका विभिन्न ठाउँमा पर्यटकले देख्ने र बुझ्ने गरी सूचना र सचेतनामुलक सामग्रीको व्यवस्था हुनुपर्ने सुझाव राखे । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालले अव पर्यटकको संख्यालाई भन्दा पनि गुणस्तरलाई ध्यान दिनुपर्ने सुझाव राखे । भारतीय पर्यटक रातारात एकै दिनमा मुक्तिनाथ पुगेर मुस्ताङ र पोखरा दुबै ठाउँमा रात नकाटी फर्कने परिपाटीले सुरक्षा जोखिम बढेको मात्र नभई बसाई अवधि पनि छोटिन पुगेको बताए । यस्तो जोखिम मोल्दा लेक लागेर कतिपय पर्यटकको ज्यान समेत गएको अध्यक्ष सुवेदीले स्मरण गराए । होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले पर्यटकलाई राम्रो सूचना प्रदान गरेर उनीहरुको बसाई अवधि लम्ब्याउन सकिने सुझाव राखे । यसका लागि पोखरामा एउटा पूर्वाधारयुक्त सूचनाकेन्द्रको आबश्यकता समेत उनले औंल्याए । पर्यटकको सुरक्षा, वातावरण संरक्षण र पर्यटकको बसाई अवधि लम्ब्याउने जस्ता विषय पर्यटनमा महत्वपूर्ण विषय भएको भनाई उनले राखे । होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटकलाई हतारमा उचाईमा पुर्याएर जोखिममा पार्ने प्रवृत्तिलाई निरुत्साहित पार्न केही दिन अघि आफ्नो संस्थाले एक विज्ञप्ति निकाली ध्यानाकर्षण गराएको स्मरण गराए । विषयलाई बाहिर ल्याउँदा समेत सरकारी पक्षबाट गंभिरतापूर्वक नलिइनु दुःखद भएको भनाई उनले राखे । आयोजक संस्था घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले छोटो समयमा एकैपटक होचो भूभागबाट २८०० मिटर माथीको उचाईमा पुग्नु जोखिमपूर्ण हुने विषय स्मरण गराए । यो विषय धेरै पर्यटकले समेत थाह नपाएको हुन सक्ने भन्दै उनले पर्यटकलाई आराम गर्दै, समय लिएर न्यानो कपडाका साथ उच्च भूभागमा जानुपर्ने विषय जानकारी गराउनुपर्ने भनाई राखे । समथल ठाउँबाट आउने कतिपय पर्यटकले उचाईमा पनि उस्तै त होला नी भन्ने खालको शोच राख्ने गरेको उनले सुनाए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा। रविन कडरियाले पर्यटकको सुरक्षाका लागि एक्याप सचेत रहेको बताए । एक्याप क्षेत्रमा २४५० होटल रहेको तथ्यांक दिंदै उनले त्यस क्षेत्रका व्यवस्थापन समितिसँग मिलेर एक्यापले काम गरिरहेको भनाई राखे । अन्नपूर्ण क्षेत्र साहासिक पर्यटन क्षेत्र भएको भन्दै पर्यटकलाई त्यही अनुसारको तयारी गरेर आउने वातावरणका लागि सरोकारवालाहरु मिलेर काम गर्नुपर्ने सुझाव राखे । एक तथ्यांक अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक एकजना नागरिक रहेको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बाहिर ल्याएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उक्त जिल्लामा मात्र बि।स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउनेहरु पनि भारतीय पर्यटककै संख्या बढी रहन गएको छ । नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकको सुरक्षाका लागि सचेनामूलक पुस्तिका वितरण गर्ने र आबश्यक ठाउँमा सूचनामूलक बोर्डहरु राख्दा उपयुक्त हुने सुझाव राख्दै यसका लागि बोर्ड सघाउन तयार रहेको प्रतिवद्धता जनाए । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स्) कार्डको अनिवार्य व्यवस्थाले पर्यटकको सुरक्षा बढ्ने भनाई राखे । नाट्टा गण्डकीका उपाध्यक्ष राजेश पहारीले पर्यटकको सुरक्षाका लागि नीति र नियमन दुबै जरुरी भएको भनाई राखे । होटल एवं पदयात्रा व्यवसायी हरि भुजेलले मुक्तिनाथ पुग्ने धार्मिक पर्यटकको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यवसायी र समूहको पहिचान गरिनुपर्ने सुझाव राखे । टान गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थीले सरकारले नै नीति ल्याएर पर्यटकको सुरक्षालाई निश्चित गरिनुपर्ने सुझाव राखे । नेपाल पर्यटक यातयात व्यवसायी संघ गण्डकीका अध्यक्ष दुर्गादत्त दाहालले पर्यटकलाई छोटो समयमा उचाईमा पुर्याउँदा हुने जोखिमका बारे आफ्नो संस्थाले सरकारको ध्यानाकर्षण विगतमा गराइसकेको विषय स्मरण गराए । कार्यक्रममा व्यवसायीले पर्यटक बोकेर जाने सवारी चालकको बोलीबचन मर्यादित हुनुपर्ने विषय समेत राखेका थिए । कार्यक्रमको संचालन घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरी अधिकारीले गरेका थिए ।
पोखरा: गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ । मिति २०८१ चैत २६ गते सामाजिक विकास तथा कृषि समितिमा छलफलका लागि गएको र गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम १२५ को उपनियम २ को खण्ड (क) बमोजिम समितिको प्रतिवेदन सहित मंगलबार प्रदेश सभामा दफावार छलफल भई उक्त विधेयक पारित भएको हो । विधेयक प्रस्तुत गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समितिमा व्यापक छलफलपछि उक्त विधेयक ल्याइएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरुको समन्वय, सहजीकरण, अनुगमन तथा अधिकार संरक्षणका लागि प्रदेश सरकारले निर्देशन समिति समेत गठन गरिसकेको बताए । उनका अनुसार ऐनले अन्तरवर्गीयता, अपाङ्गताको विविधता, १० प्रकारका अपाङ्गतालाई समेट्ने परिभाषा, सवारीचालक अनुमतिपत्र पाउने व्यवस्था, दिवा सेवा केन्द्र सञ्चालन, सांकेतिक भाषाको विकास तथा अनुसन्धान, आवासीय शिक्षा, जोखिम अवस्थामा प्राथमिकता लगायतका व्यवस्था सुनिश्चित गर्नेछ । “अपाङ्गता भएका व्यक्तिहरूमाथि हुने विभेद, असमानता र उत्पीडनको अन्त्य गर्दै उनीहरूको अधिकार, सम्मान र सशक्तिकरण सुनिश्चित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो। यस ऐतिहासिक क्षणलाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउनु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।”, उनले भने । मन्त्री थापाले यो कानूनी व्यवस्थाले अपाङ्गता भएका व्यक्तिलाई समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तअनुरूप नीति निर्माण तथा विकासका हरेक प्रक्रियामा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन् । मन्त्रीका अनुसार विधेयकले उनीहरूको सशक्तिकरण, स्वाभिमान र स्वावलम्बन प्रवद्र्धन गर्नेछ। सामाजिक न्याय, समान अवसर र सम्मानजनक जीवनयापनतर्फको यात्रामा यो विधेयक महत्वपूर्ण साबित हुने उनले बताए । प्रदेश सभाका विभिन्न सांसदहरूले विधेयकलाई ऐतिहासिक, सकारात्मक र व्यवहारिक कदमका रूपमा स्वागत गरेका छन् । गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले ऐन कार्यान्वयनमा जोड दिँदै शिक्षा, स्वास्थ्य, रोजगारी र पहुँचको विषयलाई महत्वपूर्ण बताए । सांसद भक्तबहादुर कुँवरले अपाङ्गता कुनै जन्मजात मात्र नभई जीवनमा कहिले पनि आउन सक्ने अवस्था भएकाले विधेयक सबैका लागि महत्त्वपूर्ण भएको टिप्पणी गरे । सांसद शुुसिला सिंखडाले प्रतिपक्षमै भए पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र राजनीतिक सहभागितामा अपाङ्गता भएका व्यक्तिहरुलाई जोड दिएको विषय सबल पक्ष भएको उल्लेख गरिन् । सांसद पञ्चराम गुरुङले अपाङ्गता सम्बन्धि ऐन संविधान प्रदत्त मौलिक अधिकारसँग जोडिएको दस्तावेज भएको बताउँदै अपाङ्गता भएका बालबालिकाको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य र पूर्वाधारमा पहुँच सुनिश्चित गर्नुपर्ने विषयलाई समेत जोड दिए । सांसद सुनिता थापाले आफू पनि अपाङ्गता समुदायको प्रतिनिधि भएको उल्लेख गर्दै यो विधेयक अपाङ्गता भएका समुदायको मात्रै नभई सबैको भएको उल्लेख गरिन् । गण्डकीको यो कदम अन्तर्राष्ट्रिय जगतका लागि उदाहरण बन्न सक्ने भनाई उनको छ । यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा ऐतिहासिक दिन प्रारम्भ भएको भएको बताए । “विधेयक हामीले भनेजस्तो पूरै नआए पनि धेरै महत्वपूर्ण विषय समेटिएको छ ।नियमावली बनेर कार्यान्वयन तत्काल सुरु हुन्छ भन्ने पूर्ण विश्वास छ”, उनले भने । गण्डकी प्रदेश बासी सबै अपाङ्गता भएका व्यक्तिहरुका लागि आजको दिन सुखद दिन भएको उनले उल्लेख गरे । अपाङ्गता सम्बन्धि विधेयक ल्याउन पहल गर्ने यसअघिका सामाजिक विकास मन्त्री एवम् कार्यान्वयनमा विशेष जोड दिने मुख्यमन्त्री सहित अहिलेका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापालाई उनले धन्यवाद दिएका छन् । अहिलेका सामाजिक विकास मन्त्री कै नेतृत्वमा ऐन कार्यान्वयनका लागि नियमावली बनेर यसको कार्यान्वयन तत्काल सुरु हुने विश्वास उनले गरेका छन् । “७ वटै प्रदेशमा गण्डकी प्रदेश अपाङ्गता सम्बन्धि नीति ल्याउन र ऐन ल्याउन पहिलो प्रदेश बनेको छ । प्रदेश सरकार कार्यान्वयन गर्न पनि उत्कृष्ट बन्छ भन्ने अपेक्षा गरेका छौं ।”, उनले भने ।
ढोरपाटन: अर्धनग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए। ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरू। माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो। यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए। यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन्। यो पूजा एक हजार वर्ष पुरानो भएको स्थानीयको विश्वास छ। हरेक दुई(दुई वर्षमा हुने गाउँ पूजा पछिल्लो समय मेलाकै रूपमा लिन थालिएको छ। गाउँ पूजालाई मगर खाम भाषामा नांखा पूजा भन्ने गरिन्छ। यो अन्य पूजाभन्दा भिन्न छ। भदौ १ गते निसीवासीले गाउँ पूजा धुमधामसँग मनाउँछन्। स्थानीयले साउन मसान्तकै दिनदेखि विभिन्न देवीदेवताका नाममा पूजा गर्ने र साँझा गाउँभरीका झाँक्रीहरू एकै ठाउँमा जम्मा भएर तन्त्रमन्त्र गर्छन्। बिहान सबेरै निसेलढोर गाउँभन्दा माथि रहेको बराह थानमा पुगेर पूजा गर्छन्। बराह थानमा पुगेपछि युवाले अर्धनग्न बनेर अनुहार र शरीरमा मोसो दली राक्षसको रूप धारण गर्छन्। झाँक्री र राक्षसको रूप धारण गरेका कापैले गाउँमा अनिष्ट गर्ने भूतप्रेत र राक्षसी आत्मालाई उत्तरगङ्गा नदीमा खसाल्ने बुढापाका बताउँछन्। अनिष्ट हुन थालेपछि ‘गाउँ पूजा’ गर्न थालियो शुरुआती समयमा निसेलढोर गाउँमा वर्ष अगाडि अनिष्ट हुन थालेपछि गाउँलेले गाउँ पूजा गर्न थालेको इतिहास रहेको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले बताए। एक हजार वर्ष पहिले निसेलढोरबाट स्थानीय बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने बुढाबुढी (जुजाजुजी) लाई गाउँमाथिको ओडारमा लगेर छोडेको र महिनौँपछि हेर्न पुग्दा उनीहरुको मृत्यु भइसकेकाले उनीहरूको आत्माको शान्तिका लागि गाउँ पूजा थालिएको बुढापाकाले सुनाएको स्थानीयवासी बताउँछन्। ओडामार मृत्यु भएका जुजाजुजी राक्षसको रूपमा गाउँ पसेरपछि मान्छे मर्ने, धन सम्पत्ति, बालीनालीको क्षति हुने, पशुचौपायासमेत मर्ने गरेपछि शुरु शान्तिका लागि शुरु गरिएको गाउँ पूजा अहिलेसम्म चल्दै आएको हो। पहिले निसेलढोर आसपासमा ठूलो बस्ती रहेको प्रमाणित गर्ने अवशेष अहिले भेटिने गरेको उपाध्यक्ष घर्तीमगरले बताए। गाउँ पूजा गर्दा मृत आत्माले शान्ति पाउने र गाउँमा अनिष्ट नहुने विश्वास छ। ‘बुढापाकाका अनुसार पहिले निसेलढोरमा ठूलो बस्ती थियो, अहिले पनि त्यसका अवशेष भेटिन्छन्, त्यसबेला मानिसहरु बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने जुजाजुजीलाई गाउँमाथिको ओडारमा छोडे छन्, पछि आफन्त भेट्न आउँदा उनीहरुको मृत्यु भइसकेको रहेछ’, उपाध्यक्ष घर्ती मगरले भने, ‘उनीहरुको मृत्यु भइसकेपछि निसेलढोर गाउँमा अशुभ हुन थालेछ, त्यसपछि सिंगो गाउँमा बस्ने सबैले गाउँ पूजा गर्न शुरु गरे छन्, पूजा गरेपछि गाउँमा अनिष्ट हुन छोडेछ, एक वर्ष पूजा गर्यो भने दुई वर्षसम्म अशुभ नहुने मान्यता छ।’ भूत धपाउन खोलामा हाम फाल्छन् युवा बराह थानबाट पूजा गरेर फर्किएका राक्षसको रूप धारण गरेका कापै अग्लो झोलुङ्गे पुलबाट उर्लिएको उत्तरगंगा नदीमा हाम फल्छन्। जसलाई स्थानीयले भूत प्रेतलाई धपाएको भन्ने गर्छन्। यसरी भूत धपाएपछि गाउँमा कुनै पनि किसिमको अनिष्ट नहुने स्थानीय राजमन बुढा मगरले बताए। यो पुलमा दैविक शक्ति रहेको हुँदा उत्तरगंगामा हाम फाल्ने कापैलाई चोट पटक नलाग्ने र नदीले नबगाउने बुढा मगरले बताए। पहिले झोलुङ्गे पुल नबन्दा काठको साँघुबाटनै कापैले खोलामा हाम फल्ने गरेको उनले जानकारी दिए। भूतलाई खोलामा खसालेपछि गाउँलाई रोगव्याधि नलाग्ने, वस्तुभाउ र बालीनाली पनि राम्रो हुने बुढा मगरको भनाइ छ। ‘झाँक्रीले विधिअनुसार कापैलाई तन्त्रमन्त्र गरेको हुन्छ, कापैले अनुहारमा लगाएको मोसो, शरीरमा लेखिएको विभिन्न अक्षर र राक्षसको जस्तो पहिरनले भूतप्रेतलाई फकाउने र लखेट्दै लगेर खोलामा खसाल्ने गरिन्छ, हाम्रो पुर्खाहरुले मान्दै आएको परम्परा अहिलेसम्म चल्दै आएको छ, यसमा धार्मिक विश्वास छ, हाम्रो आस्था छ’, उनले भने। संरक्षणमा युवा र पालिकाको चासो गाउँ पूजालाई लोप हुन नदिनका लागि निसीखोला गाउँपालिका(५ का युवाले चासो दिएका छन्। यो वर्ष गाँउ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समितिमार्फत पूजा सञ्चालन गरिएको थियो। युवाले चासो नदिँदा लोप हुने हुँदा संरक्षणका लागि आफूहरु लागेको गाँउ ९नांखा० पूजा सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण छन्त्यालले बताए। निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले कला संस्कृति संरक्षणका लागि गाउँपालिका हरेक वर्ष बजेट विनियोजन गरी काम गर्दै आएको दाबी गरे। लोपोन्मुख संस्कृतिको संरक्षणका लागि पाका पुस्ता र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर पुस्तान्तरण गर्ने काम गाउँपालिकाले गर्दै आएको उनको भनाइ छ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहने छ । मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भेगका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव ९डेब्रिज फ्लो०को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संस्थाले विभिन्न महत्वपूर्ण चाडपर्व लक्षित गरी शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएकोमा तिजका अवसरमा शुुभकामना आदानप्रदान गरिएको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो । पोखराको लेकसाइडस्थित होटेल पौवामा सम्पन्न कार्यक्रममा ५६जनाको सहभागिता थियो । कार्यक्रममा एगा पोखराका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले तिज आँर्फैमा महत्वपूर्ण संस्कृति भएको बताउनुुभयो । यसको मौलिकतालाई जोगाउनु आवश्यक भएको उहाँको भनाई छ । कार्यसमिति सदस्य एवम् कार्यक्रम संयोजक सुन्ती पुर्जाले सबैको साथ र समन्वयमा कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो । एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको सभापतित्व एवम् कार्यसमिति सदस्य रामकृष्ण तिमल्सिनाले सञ्चालन गर्नुुभएको कार्यक्रममा उपाध्यक्ष गीता ढकाल पौडेलले स्वागत गर्नुुभएको थियो । कार्यक्रममा सद्भाव सदस्य गोविन्द अधिकारी, कमल सापकोटा, पूर्व अध्यक्षहरू जीवनाथ गौतम, कृष्णकुमार श्रेष्ठ, शंकर भट्टराई र विश्वराज पोखरेल लगायतले तिजको महत्व बारे प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
पोखरा: नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभकामना आदानप्रदान, बधाई तथा तीजको अवसरमा दरखाने कार्यक्रम गरेको हो । कार्यक्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले प्रदान गर्ने कञ्चन पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा बधाई दिइएको थियो । कार्यक्रमा संघका सल्लाहकार तथा पूर्वअध्यक्ष कृष्णमणि बरालले रचनात्मक र उत्कृष्ट फोटो खिच्नु आजको आवश्यकता भएको बताए । चूनौतीलाई छिचोल्दै फोटोग्राफर र फोटो पत्रकार अघि बढ्नुपर्ने समय आएको उनले सुनाए । आगामी दिनमा फोटो पत्रकार संघ कास्कीले अझै रचनात्मक काम गर्दै अघि बढ्न उनले सुझाव दिए । संघका सल्लाहकार एवं पुर्वअध्यक्ष इन्द्रप्रसाद पौडेलले फोटोग्राफी नजानी फोटो पत्रकार हुन नसक्ने भन्दै यसमा ध्यान दिन आग्रह गरे । फोटोग्राफी र पत्रकारिताको तालिम लिएकाहरु यस क्षेत्रमा लाग्नुपर्नेमा लाग्नुपर्नेमा उनको जोड थियो । नेपाल फोटो पत्रकार संघ, कास्कीकी उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य राधिका कंडेलले फोटोग्राफी र फोटो पत्रकारितामा अवसरसँगै चूनौती रहेको बताइन् । निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले संसारभरका फोटोग्राफर र फोटोपत्रकारलाई एकै सुत्रमा बाध्न फोटोग्राफी दिवसले सहयोग पुग्ने बताए । कार्यक्रममा कास्कीका अध्यक्ष राम गुरुङले एकपटक खिचेको फोटो सधैं अमर रहने बताए । संघले आगामी दिनमा पनि फोटो पत्रकारको हितमा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।