काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

काठमाडौं:  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ । जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक(ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःनिर्माण गरिएको हो । अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो । अस्पतालका प्रवक्ता तथा सह प्राडा गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “लिङ्ग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैङ्गिक समुदायलाई धेरै राहत मिल्नेछ । यसले पारलैङ्गिक समुदायलाई आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्न एक महत्वपूर्ण उपाय हुनेछ ।” शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राडा जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता रहेको थियो । डा जयनमान श्रेष्ठकाअनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ यिक्लनिक’स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ ।

काठमाडौं:  गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुख घिमिरेले संसद्को गतिरोध हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतहरूसँग छलफल गर्नुभएको थियो । तर, दलहरू आ–आफ्नो अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन बनेको हो । प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने बताउनुभएको थियो । अर्कोतर्फ सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याउनु भयो । बैठकमा सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाउनु भएको थियो । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उहाँले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न दलहरुलाईआग्रह गर्नुभयो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको विपक्षी दलको अवरोधका कारण जेठ १३ यता सदन चल्न सकेको छैन ।

मुस्ताङ:  उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम(कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ ।  कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकोमा छ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ । आयोजना सुरुआतदेखि चालु आर्थिक वर्षको हालसम्म ४३ वटा योजना कार्यान्वयनमा ल्याइसकेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाले पर्वतको मालढुङ्गा(कोरला नाकासम्म २० वटा सडक र २३ वटा पुलपुलेसा निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । कोरला खण्डअन्तर्गत सडक र पुलपुलेसा दुवैमा करिब ८५ प्रतिशत र ८१ प्रतिशत वित्तीय प्रगति भइसकेको आयोजना कार्यालयले जनाएको छ । सडकतर्फ जोमसोम-कोरला एक सय १० किमी ग्राभेलमध्ये छ वटा खण्ड निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण भइसकेको प्रमुख झाले उल्लेख गर्नुभयो । उहाँका अनुसार चराङ-छोसेर २५ किमी निर्माणको अन्तिम चरणमा पुगेको छ ।  यसैगरी म्याग्दीको बेनी-गलेश्वरअन्तर्गत तीन किमी कालोपत्र र बेनी(जोमसोम तेस्रो खण्डअन्तर्गत कैकु-खन्ती खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरी कोरिडोर सडक आयोजनालाई हस्तान्तरण भइसकेको आयोजना प्रमुख झाले जानकारी दिनुभयो ।   बेनी-जोमसोम खण्डअन्तर्गत गलेश्वर-तातोपानी, तातोपानी-घाँसा र खन्ती-जोमसोम गरी तीन वटा सडक कालोपत्रसहित स्तरोन्नतिको अन्तिम चरणमा पुगेका आयोजना कार्यालयले जनाएको छ ।  आयोजनाले बेनी–जोमसोमको ७४ किमीअन्तर्गत तेस्रो खण्डको मुस्ताङको कैकुबाट खन्तीसम्म सडक निर्माण सम्पन्न आयोजनालाई हस्तान्तरण गरिएकामा आयोजनाले सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसकेको आयोजना प्रमुख झाले जानकारी दिनुभयो ।  “बेनी-जोमसोम सडकको ७४ किमीमध्ये २० किमी निर्माण सम्पन्न भएको छ । बाँकी निर्माणाधीन अवस्थामा छ”, उहाँले भन्नुभयो । कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेका सबै पुल सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिनुभयो । चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको ९० करोड बजेटमध्ये ३१ करोड अन्य योजनामा रकमान्तर भएको थियो । आयोजनासँग रहेको ५९ करोड सतप्रतिशत खर्च भइसकेको जनाउँदै उहाँले करिब ३० करोड निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको बताउनुभयो । अर्थ मन्त्रालयले चालु आवका लागि १४ करोड बजेट थपेको उल्लेख गर्दै सूचना अधिकारी चापागाईंले आयोजनालाई चालु वर्षको खर्चमा बजेट थप भएर आए पनि अपुग भएकाले अर्थ मन्त्रालयसँग पुनः बजेट थपको माग गरिएको बताउनुभयो । “यो वर्षको बजेट भौतिक प्रगति सकिएका योजनालाई भुक्तानी दिन सकिएको छैन, अर्थ मन्त्रालयले यथाशीघ्र बजेट थप गरी आवश्यक सम्बोधन गर्नमा विश्वस्त छौँ । बजेट आएन भने आगामी आवका लागि दायित्वमा रहने भएकाले अपेक्षाकृत काम हुन नसक्ने हुनसक्छ”, उहाँले भन्नुभयोे । कोरला सडक आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी १३ किमीमा कालोपत्रसहित भौतिक प्रगति ६० प्रतिशत, गलेश्वर(तातोपानी खण्डमा ९९ प्रतिशत र खन्ती-जोमसोम सडकमा भौतिक प्रगति ९० प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ । आयोजना प्रमुख झाका अनुसार चालु आवको अन्त्यसम्ममा मालढुङ्गा-कागबेनीको एक सय पाँच किमीमध्ये ८५ किमी सडक सम्पन्न हुन लागेको छ ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा मानिएको बेनी-जोमसोम-कोरला खण्डअन्तर्गत आगामी आर्थिक वर्षभित्र ८० किमी निर्माण सम्पन्न गरी सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसक्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले आइतबार काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मानिकरत्न शाक्यले बताए । बजेटमार्फत सरकारले गरेको व्यवस्थाले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने देखिएको उनको भनाइ छ ।   उनीहरूले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, हामी विरोधमा छौ, उपभोक्ता, कालिगड तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । 

सुनसरी:  सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि पनि तालिमका क्रममा बेपत्ता भएका अर्का एक जवानको शव फेला परिसकेको  सुनसरी शास्त्र प्रहरीका एसपी निर्मल थापाले जानकारी दिनुभयो । घटनापछि स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल तथा उद्धार टोलीले संयुक्त खोज तथा उद्धार कार्य जारी राखेका थिए। उद्धार तालिमका क्रममा भएको यो दुःखद दुर्घटनाले सुरक्षा तालिमका जोखिम र पूर्व तयारीप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।  गत बिहीबार यस प्रदेशमा कार्यरत दुई जना सशस्त्र प्रहरी जवानहरू सप्तकोसी  नदीको पानीमा अभ्यास गरिरहेका थिए। अभ्यास गरिरहेका थिए।   यो पनि पढ्नुहोस   सप्तकोशीमा वेपत्ता दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला

काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । आयोजनाले जारी गरेको सूचनामा लेखिएअनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुनेछ । अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला-रामकोट-धार्के सडक र सामाखुसी-टोखा(छहरे-त्रिशूली (विदुर)-गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

काठमाडौं:  आइसिसी विश्वकप लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज तेस्रो खेलमा स्कटल्याण्ड विरुद्ध खेल्दैछ । यो खेल स्कटल्यान्डको क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । समुहको पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध नेपालले एक विकेटको जित निकालेको थियो । नेपाल आज सोही खेल दोहोर्‍याउने पक्षमा हुँदा स्कटल्याण्ड सुरुवाती हारको बदला लिने लक्ष्यमा हुनेछ । दुवैले आफ्नो पछिल्लो ५ खेलमा ३र३ जित निकालेका छन् । स्कटल्याण्ड १८ खेलबाट २२ अंकसहित तालिकाको चौथो स्थानमा रहदा नेपाल १४ खेलबाट १० अंकसहित तालिकाको सातौ स्थानमा छ ।

काठमाडौं: शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले  घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ ।  अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् । 

झापा:  पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बिओपी)मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको उहाँले बताउनुभयो । प्रनाउ खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते सप्रनानि राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।