गोरखा:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्।   गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारम...

काठमाडौँ  :  फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन यहाँ रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को आयोजना गरिएको छ ।    अपाङ्गता सुनिश्चित रोजगार अभियान अन्र्तगत ‘अपाङ्गता समावेशी रोजगारका लागि सँगसँगै’ भन्ने नाराका साथ सो सम्मेलन आयोजना गरिएको होे । द लेप्रोसी मिशन नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा सञ्चालित रोजगारबिहिन अपाङ्गता भएका व्यक्तिका लागि ऊर्जाशील अवसर (फाउण्ड) परियोजनाको आयोजनामा भएको सो सम्मेलनमा रोजगारदाता र रोजगारको खोजीमा रहेका फरक क्षमता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।    सम्मेलनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले फरक क्षमता भएका व्यक्तिलाई समान रोजगारीको अवसर दिनु सबैको नैतिक जिम्मेवारी भएकाले सम्पूर्ण रोजगारदातालाई त्यस्ता व्यक्तिलाई रोजगारीको अवसरमा प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले महासङ्घको आगामी चैतमा हुने साधारणसभा अगावै कम्तिमा सय जना फरक क्षमता भएका व्यक्तिलाई रोजगारी प्रदान गरिने बताउनुभयो ।    द लेप्रोसी मिशन नेपालका राष्ट्रिय निर्देशक शोभाखर कणेंलले १६६ वर्षअघि स्थापना भएको दि लेप्रोसी मिसन नेपालसहित विश्वका ३२ देशमा कुष्टरोगबाट अपाङ्गता भएका व्यक्तिको पुर्नस्थापना र जीवनस्तर सुधार ल्याउने काममा क्रियाशील रहेको जानकारी दिनुभयो । उहाँले फरक क्षमता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्न पहिलोपटक आयोजना गरिएको यस किसिमको सम्मेलन महत्वपूर्ण अवसर हुने बताउनुभयो ।   सम्मेलनमा सहभागी रोजगारदाता कम्पनीका प्रतिनिधिले निजी क्षेत्र उद्योग व्यवसायबाट नाफा आर्जन गर्दैनन्, सामाजिक उत्तरदायित्वबाट पनि उत्तिकै प्रेरित छन् भन्ने पुष्टि गर्न रोजगारी सिर्जना गर्दा फरक क्षमताका व्यक्तिलाई पनि अवसर दिने प्रतिवद्धता जनाएका थिए । अपाङ्गता भएका व्यक्तिहरुसँग असाधारण सीप र क्षमता रहने हुँदा कम्पनीलाई फाइदा हुने र व्यवसायलाई समावेशी बनाउन सकिने हुँदा आगामी दिनमा कामदारका रुपमा नियुक्त गर्दा उनीहरुलाई प्राथमिकता दिइने कम्पनीका प्रतिनिधिको सामूहिक भनाइ थियो ।    सम्मेलनमा कार्यस्थलमा अपाङ्गता समावेशी तथा यस क्षेत्रमा हासिल गरिएका सफलता, चुनौती र अनुकरणीय उपायका अनुभव आदानप्रदान गरिनाका साथै अपाङ्गता समावेशी कार्यस्थल हुने गरी कम्पनीहरुको मानव संशाधन विभागको भूमिका र फाउण्ड परियोजनाका बारेमा प्रस्तुतीकरण गरिएको थियो । फाउण्ड परियोजनाले मोरङ, काठमाडौँ, ललितपुर, रुपन्देही र कपिलवस्तुमा ११ परियोजनामार्फत रोजगारमूलक सीप र आत्मविश्वास जागृत गरी समावेशी रोजगारीको अभियानमा काम गर्दै आएको छ । 

हेटौँडा  :  राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले राससकर्मीलाई जागिरे नभएर पत्रकार बन्न निर्देशन दिनुभएको छ । रासस वाग्मती प्रदेश कार्यालय हेटौँडाले रासस सेवासम्बन्धमा आज आयोजना गरेको अन्तरक्रियामा उहाँले अब पत्रकारहरू कर्मकाण्डी पत्रकारिताबाट बाहिर आउनुपर्ने बताउनुभयो ।    “जनताको करबाट सञ्चालित संस्थामा काम गर्ने सञ्चारकर्मीले जनताका लागि सूचना दिनुलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ”, अध्यक्ष झाले भन्नुभयो, “राससमा काम गर्नु जागिर गर्नु नभएर दायित्व निर्वाह गर्नु हो ।” सत्यका आधारमा तथ्यपरक खबर दिनु राससको दायित्व भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो काम तथ्यपरक सत्य समाचार सञ्चारमाध्यमलाई उपलब्ध गराएर जनता सुसूचित गर्नु हो ।” अब कारण र परिणामसहितको सूचना जनतालाई दिनु राससको लक्ष्य हुने अध्यक्ष झाको भनाइ थियो ।   रासस वाग्मती कार्यालय प्रमुख सुरेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राससका सञ्चालन समिति सदस्य शङ्कर खरेल, प्रशासन प्रमुख शीतल महतो, कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत, अङ्ग्रेजी सेवाका वरिष्ठ सम्पादक नारायण घिमिरे लगायतले राससले उपलब्ध गराउने सेवा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

काठमाण्डौँ:     बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ ।      बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेकोे थियो । 

काठमाण्डौँ:    बागमती प्रदेशसभाको चालु दशौँ अधिवेशनको २५औँ बैठक आज बस्दैछ । गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।     प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजे बस्ने गरी सबै सांसदलाई सूचना जारी गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकमाथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।     यस्तै, बैठकमा संसद्मा संशोधनका लागि पेश भएको केही प्रदेश ऐन संशोधन विधेयक–२०७९ माथि छलफल हुने कार्यसूची छ । 

चितवन  ः  भरतपुर महानगरपालिकाको सहयोगमा यहाँका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन सुरु गरिएको छ । महानगरले उपलब्ध गराएको रु २० लाखको अक्षयकोषबाट भत्ता दिन सुरु गरिएको हो ।   सो कोषमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाले रु एक लाख थप गरी भत्ता वितरण थालिएको हो । कोषका लागि भरतपुर महानगरपालिकाले आज एक समारोहकाबीच रकम हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले महासङ्घका अध्यक्ष नारायण अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।   महासङ्घले कोषमा जम्मा गर्नुपर्ने रकमबाट गत वैशाखदेखि असारसम्म तीन महिनाको चार जना पत्रकारलाई मासिक रु चार हजारका दरले हुन आउने रु १२ हजार जनही वितरण गरिएको छ । योग्यता पुगेका एक जना नेपाल बाहिर रहेकाले पछि सो रकम हस्तान्तरण गरिने महासङ्घले जनाएको छ । महासङ्घ र महानगरपालिका मिलेर भरतपुर महानगर ज्येष्ठ पत्रकार निवृत्तिभरण कार्यान्वयन कार्यविधि २०७८ बनाई सो कार्यविधिअनुसार कोष स्थापना गरी प्राप्त व्याजबाट भत्ता वितरण सुरु गरिएको हो । कार्यविधि बनाएर काम अघि बढाएको महानगरले जनाएको छ ।   लाभग्राही पत्रकार थपिएसँगै स्वतः महानगर र महासङ्घले कोषमा रकम थप गर्ने गरी कार्यविधि बनाइएको छ । कोष सञ्चालनका लागि महासङ्घका पदाधिकारी र महानगरका कर्मचारी रहेको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ ।   रकम हस्तान्तरण गर्दै प्रमुख दाहालले महासङ्घसँग सहकार्य विगतमा झै आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो । उमेर घटाउने र कोषलाई वृद्धि गर्दै लग्ने विषयमा महानगरले छलफल गर्ने उहाँको भनाइ छ । उहाँले नेपालमानै पहिलोपटक पत्रकारिता क्षेत्रमा नमूना कार्य गरिएको बताउनुभयो ।   महासङ्घले अघि बढाएको पत्रकार तालिम केन्द्रका लागि महानगरले दुई कठ्ठा जमिन संरक्षणका लागि दिएको भन्दै उहाँले तालिम केन्द्रका लागि आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यससँगै लेखनवृत्ति, क्षमता अभिवृद्धिलगायतका कार्यमा महानगरले सहकार्य गर्ने उहाँको भनाइ छ । प्रमुख भएसँगै अघिल्लो कार्यकालमा पत्रकारिता क्षेत्रलाई प्रवद्र्धन हुने गरी विभिन्न कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो । यस कार्यकालमा पनि महासङ्घका प्रस्तावलाई सम्बोधन गरिने उहाँले जानकारी दिनुभयो ।   सोही अवसरमा उपप्रमुख चित्रसेन अधिकारीले नेपालमै महानगरले महासङ्घसँग सहकार्य गरेर अनुकरणीय काम अघि बढाएको बताउनुभयो । यसबाट दुई संस्थाबीचको सहकार्य थप मजबुत हुने उहाँको भनाइ छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले सबै प्रक्रिया पूरा गरेर महासङ्घसँग सहकार्य गरी भत्ता वितरण कार्यका लागि कोषमा जम्मा हुने गरी रकम वितरण गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्यालले देशमानै नमूना काम यहाँको महासङ्घ र महानगरले गरेको भन्दै प्रशंसा गर्नुभयो ।   महासङ्घका अध्यक्ष अधिकारीले संस्थागतरुपमा महासङ्घबाट आएका प्रस्ताव अहिलेसम्म फर्किनु नपरेको भन्दै अब अगाडि सारिएका आयोजनामा सहकार्य गरिदिन आग्रह गर्नुभयो । सोही अवसरमा ६० वर्ष कटेका ज्येष्ठ पत्रकार रेशम वीरही, डिल्लिराम पोख्रेल, मोहोन पोख्रेल र महेन्द्रराज श्रेष्ठलाई तीन महिनाको निवृत्तिभरण रकमबापत रु १२ हजारका दरले चेक हस्तान्तरण गरिएको थियो । निवृत्तिभरण रकम बुझेसँगै वीरहीले पत्रकारको योगदान हालसम्म राज्यले गर्न नसकेको बताउनुभयो । यो कार्यको थालनी महत्वपूर्ण भएको उहाँको भनाइ थियो ।   भत्ता वितरण कार्यविधिअनुसार महिला, दलित, अपाङ्ग र अल्पसङ्ख्यकका लागि ५५ वर्ष र अन्यको हकमा ६० वर्ष कटेका र २० वर्ष पत्रकारिता गरेका पत्रकारलाई यो कोषबाट भत्ता वितरण गर्ने व्यवस्था रहेको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता पाउनयोग्य उमेर भएपछि यो कोषबाट भत्ता पाइने छैन । यससँगै नेपाल सरकारका कुनै पनि निकायका नियमित सुविधा लिनेलाई कोषमा समावेश गरिने छैन ।

काठमाडौँ  :  बागमती नदीभित्र हुने अनाधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् ।    गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेष्ट पेट्रोल पम्प मुनिको बागमती  नदी किनारमा लामो समयदेखि अनाधिकृत रूपमा फोहर सङ्कलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर टाउको फुटाइदिएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो ।    समितिले आयोजनाको काममा नै अवरोध पु¥याउने गरी फोहर सङ्कलन केन्द्र नराख्न तीनपटक पत्राचार गरिसकेको छ । तर घिसिङले समितिको पत्राचारलाई अटेर गर्दै आएको जनाइएको छ । श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखेको छ । घिसिङले अटेर गरी नदी किनारामा फोहर सङ्कलन केन्द्र बनाउँदा वाग्मती सौन्दर्यीकरणको काममासमेत असर पुगेको समितिले जनाएको छ ।     अनधिकृत रूपमा फोहर सङ्कलन केन्द्र स्थापना गरेर स्थानीयवासीलाई समेत धम्की दिँदै उनले बागमती  कोरिडोर क्षेत्रबाट फोहर उठाउने गरेका हुन् । जसले गर्दा जम्मा भएको आधा फोहर वाग्मतीमा बग्ने गरेको छ ।    नियमित अनुगमन गर्ने क्रममा समितिको ‘क्वीक रेस्पोन्स टिम’मा सहभागी  श्रेष्ठमाथि कुटपिट गरेपछि यो घटना सार्वजनिक भएको हो ।  ‘‘हामी नियमित अनुगमनमा गएका थियौँ, मैले फोहर सङ्कलनस्थलको तस्बिर खिच्न लागेको थिएँ, त्यहीबेला ममाथि एक्कासि मुक्का प्रहार भयो’’, उहाँले भन्नुभयो । आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकोमा दुई वटा टाँका लगाइएको छ । श्रेष्ठको हाल नेपाल भारत मैत्री अस्पताल मित्रपार्कमा उपचार भइरहेको छ । 

काठमाण्डौँ  :    बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायातको भाडा समायोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।       नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको सातौँ महाधिवेशन तथा १५ औँ साधारणासभाको आज यहाँ उद्घाटन गर्दै अन्तर्राष्ट्रियरुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि मूल्यवृद्धि गर्नुपर्ने बाध्यता भएको प्रस्टयाउनुभयो । आवश्यकताको आधारमा यातायातको भाडा वृद्धि गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै अब विद्युतीय यातायात सञ्चालन गर्ने प्रक्रिया पनि अगाडि बढेको छ, त्यसको लागि सुरुमा चार्ज स्टेशनको व्यवस्था गर्ने र त्यसपछि मात्रै त्यहीअनुसार ट्याक्सीको व्यवस्था गरिने छ ।”        महासङ्घले भारतीय ट्रक नेपाल आगमनलाई व्यवस्थित गर्नुपर्ने, पट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै समयअनुकुल भाडादर वृद्धि गर्नुपर्ने, काठमाडौँ उपत्ययकाभित्र ट्रक पार्कको व्यवस्था गर्नुपर्ने, दुर्घटनापछिको समस्यालाई सहज बनाउनुपर्ने र जाँचका क्रममा सुरक्षा निकायबाट हुने अनावश्यक कष्ट हटाउनुपर्नेलगायतका माग गरेको छ ।  “अहिले बागमती प्रदेश सरकारले चालक, सहचालक र केही श्रमिकको लागि ‘सवारी कसरी चलाउन सकिन्छ’ भन्ने शीर्षकमा सुरक्षा निकायसहितको अभिमुखीकरण कार्यक्रमको निम्ति बजेटको व्यवस्था गरेको छ”, प्रदेश मन्त्री दाहालले भन्नुभयो ।        काठमाडौँभित्र ट्रक पार्कको निम्ति जग्गाको समस्या भएको बताउँदै उहाँले हेटौँडामा व्यवस्थित ट्रक पार्कको निम्ति पहल भइरहेको जानकारी गराउनुभयो । महाधिवेशनले २१ सदस्यीय महासङ्घको नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा महासङ्घमा आबद्ध देशभरका झण्डै ५०० ट्रक व्यवसायीको सहभागिता छ । हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् भने सो क्षेत्रमा १५ खर्ब लगानी रहेको महासङ्घका महासचिव एवं प्रवक्ता राजेन्द्रविक्रम बानियाँले जानकारी दिनुभयो ।

  काठमाण्डौँ :         यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ ।    यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको हो ।   कार्यालयका प्रमुख अच्युतराज रेग्मीले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षालाई थप मर्यादित र पारदर्शी बनाउनका लागि कार्यालयबाटै ट्रायल सेन्टरको अनुगमनको व्यवस्था गरिएको जानकारी दिनुभयो । “यसअघि ट्रायल सेन्टरबाट मात्र अनुगमन गर्ने व्यवस्था थियो, अहिले कार्यालयबाटै अनुगमन गर्ने व्यवस्था गरेका छौँ, यसले सेवा प्रवाहमा सहज भएको छ”, उहाँले भन्नुभयो ।      उक्त कार्यालयले अहिले दैनिक एक हजार ५०० देखि दुई हजारसम्म सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । सवारी अनुमति पत्रको दर्ता, नवीकरण र राजस्व सङ्कलन गर्दै आएको उक्त कार्यालयमा दैनिक भीडभाड हुँदै आएको छ । सवारी अनुमति पत्र वितरण गर्दा उक्त कार्यालयले नागरिकता, फोटो र प्रवेशपत्र भिडाएर दिने गरेको छ ।   सिसीटिभी जडान, नागरिकता, फोटो र प्रवेशपत्र भिडाएर सवारी अनुमति पत्र वितरण गरेसँगै रिजल्ट तोडमोड गर्ने परम्पराको अन्त्य भएको सो कार्यालयले जनाएको छ ।      यस्तै, सवारी साधन अनुमतिपत्रको ट्रायल परीक्षा दिने बित्तिकै पास फेल भएको नतिजालाई कार्यालयले तुरुन्तै वेबसाइटमा राख्दै आएको छ । जसका कारण आफू पास वा फेल भएको तत्कालै थाहा पाउन सकिन्छ । कार्यालय प्रमुख रेग्मीले भीडभाड हुने यातायात कार्यालयमा सेवाग्राहीको अनुपातमा कर्मचारी दरबन्दी कम भएको बताउनुभयो ।   उक्त कार्यालयमा हाल स्थायी ३४ र करारमा ११ कर्मचारी कार्यरत छन् । यस्तै कार्यालय सहयोगी १८ रहेका छन् । स्थायीमध्ये पनि १० कर्मचारी कार्यालयमा नभएको कारण काममा समेत समस्या हुने गरेको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो । विगतमा बिग्रेका अभिलेखका कारण काममा समस्या भएको सो कार्यालयले जनाएको छ ।   

  काठमाण्डौँ :    बागमती प्रदेश सरकारले राष्ट्रिय समाचार समितिको कार्यालयसहित सरकारी सञ्चारमाध्यम तथा पत्रकार महासङ्घको प्रदेश कार्यालय राख्ने गरी सञ्चारग्राम भवन भनाउने भएकोे छ ।    आज प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले सरकारी सञ्चार संस्थाका प्रदेशस्तरीय कार्यालयलाई कार्यसम्पादनमा सहज होस् भन्नका लागि कार्यक्रम हलसहितको कार्यालय उपलब्ध गराउने जानकारी दिनुभयो ।    उहाँले पत्रकार महासङ्घको प्रदेश कार्यालय रहने गरी पनि कार्यालय स्थापना हुने र प्रेससँग सम्बन्धित अन्य सङ्घसङ्गठनको पनि उचित व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो । उहाँले नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समिति, पत्रकार सम्बद्ध संस्था प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का प्रदेश समितिहरूलाई अनुदान उपलब्ध गराइने जानकारी दिनुभयो ।     उहाँले पत्रकार दुर्घटना बीमा, पुरस्कार, लोक कल्याणकारी विज्ञापनको रकम वृद्धि, लेखनवृत्ति, पत्रकारको क्षमता अभिवृद्धि, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाहरूको भवन निर्माण तथा स्तरीकरण, भ्रमणलगायत सञ्चार क्षेत्रका कार्यक्रम बजेटमा समेटिएको बताउनुभयो ।    सरकारले प्रस्तुत गरेको बजेटले पत्रकार महासङ्घ र सञ्चारसम्बद्ध संस्थाहरूलाई निकै राहत मिलेको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले बताउनुभयो । “यद्यपि हामीले अपेक्षा गरेको र पटक–पटक छलफल गरेका धेरै विषय समेटिएको छैन, तर पाँचवटा आर्थिक वर्षको प्रदेश सरकारको बजेट तुलना गर्दा हालसम्म राम्रो सम्बोधन गरिएको बजेट आगामी आर्थिक वर्षको बजेट हो, हाम्रा कुरा सुनेर सञ्चार क्षेत्रलाई थोरै भए पनि प्राथमिकतामा राखिदिएकामा मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालसहित प्रदेश सरकारप्रति हामी आभार व्यक्त गर्दछौँ”, उहाँले भन्नुभयो ।