सर्लाही: हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख हुनुहुन्छ । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उहाँले फेरि संसार देख्न पाउनुभएको हो । लामो समयदेखि मोतियाविन्दुको समस्याबाट पीडित उहाँले शल्यक्रिया गरेपछि स्पष्ट देखिएको बताउनुभयो । आँखा नदेख्दाको पीडा शब्दमा वर्णन नहुने र अन्धकारबाट पुनः उज्यालोमा फर्कदाको खुशी पनि शब्दमा व्यक्त नहुने उहाँले सुनाउनुभयो । ज्येष्ठ नागरिक खड्काजस्तै हरिवन नगरपालिका–३ निवासी रामविलास महतोले पनि ९१ वर्षको उमेरमा आँखाको ज्योति पाउनुभएको छ । आँखाको शल्यक्रिया पछि बिहीबार पट्टी खोल्नुभएका उहाँले हर्षविभोर हुँदै गहँभरि आँसु पारेर भन्नुभयो । “यो उमेरमा फेरि आँखा देख्न पाइयो भेटिएजस्तै भएको छ,” विपन्न परिवारका उहाँले खर्च अभावमा उपचार गराउन नसकेको दुखेसो गर्नुभयो । शिविरमा ९० वर्षका अर्का वृद्ध गणेशमान घिसिङको पनि मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो । शिविरमा एक सय ७५ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको आँखा उपचार केन्द्रले जनाएको छ । मोतियाविन्दुको पहिचानको लागि हरिवन र बरहथवा नगरपालिकामा गरी पाँच स्थानमा परीक्षण शिविर सञ्चालन गरिएको थियो । शिविरमा एक हजार ३७ जनाले स्वास्थ्य सेवा लिएका नेत्र ज्योति सङ्घले जनाएको छ । शिविरमा दुई सय ७० जना मोतियाविन्दुका बिरामी फेला परेका थिए । शिविरमा आएकामध्ये एक सय ५० जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । शनिबार पोखरामा भएको आगलागीमा परेका उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुग्नुभएको हो । यसैबीच आजै पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपालले पनि उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँहरुलाई अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य पोखरामा शनिबार एक कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई सो अस्पतालको सघन उपचार कक्षमा शनिबार भर्ना हुनुभएको थियो । यसैगरी, प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।
काठमाडौं: रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबीच सम्झौता भएको छ । औषधि व्यवस्था विभागमा महासङ्घ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता गत शुक्रबार भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयले आज जनाएको छ । अब महासङ्घबाट यो रोगको उपचारका लागि आवश्यक औषधि प्राप्त हुने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउने निजी सचिवालयले आज जारी गरेको प्रेसनोटमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार हाल मुलुकमा ९०० जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता बिरामी पाँच हजार रहेका अनुमान गरेको छ । वि.सं.२०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएकामध्ये ०.८ प्रतिशतमा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।
काठमाडौं: पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सबै सहयात्रीहरुलाई अनवरत मेहनतका गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको छ । गत माघ २२ गते सुरु भएको अभियान यही फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा कक्षा ६ देखि १० का छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप लगाइएको हो । मन्त्री पौडेलको सचिवालयका अनुसार अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य छ । मुलुकमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरुको सङ्ख्या उच्च छ । सानै उमेरमा खोप प्रदान गरेर यो समस्या कम गर्ने योजनाअनुसार निरोधात्मक विधिअन्तर्गतका कार्यक्रम सरकारले कार्यानवयन गरिरहेको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लाभान्वित भएका छन् । उनीहरुलाई प्रदेश सरकारले रु दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठककाअनुसार प्रदेश सरकारले काठमाडौँस्थित वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, निजामती कर्मचारी अस्पताल र चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग सम्झौता गरी क्यान्सर उपचार सहायता कार्यक्रम विस्तार गरेको छ । नेपाल रेडक्रससँगको समन्वयमा रगत निःशुल्क उपलब्ध गराइएको छ भने दश वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिको प्रयोगशाला परीक्षण पनि निःशुल्क गरिएको छ । यसैगरी प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नसर्ने र मानसिक रोगका २२, नवजात शिशु एवं बालरोगको ११, आधारभूत र आकस्मिक उपचारका लागि ४५ र आयुर्वेदतर्फ २३ प्रकारका औषधि निःशुल्क वितरण भएको छ । प्रदेश सरकार मातहका अस्पतालमा पाठेघर खसेको महिलाको पनि निःशुल्क उपचार हुने गरेको छ । मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा पनि निःशुल्क प्रदान गरिएको छ । सरकारी र निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट आठ सय चार जना बिरामीले उक्त सेवा लिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गर्ने कार्यक्रम पनि सुरु गरेको छ । स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि ‘स्क्रिनिङ’ सुरु गरिएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो ।
गोरखा: यहाँ सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिनुभयो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको ३२ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाहरुको मुटु जाँच गरेका थिए । शिविरमा जाँच गराएकामध्ये २८ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको डा भट्टराईले बताउनुभयो । ‘‘मुटु जाँच गराएकामध्ये २८ जनालाई मुटुको थप उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर रिफर गरेका छौँ, उहाँले भन्नुभयो, ‘‘जसमा ६ जनाको तत्काल उपचार गर्नुपर्ने अवस्था छ ।’’ शिविरमार्फत चार सय १३ जनाले इसिजी जाँच गराए भने चार सय ७९ जनाले इको जाँच गराएको डा भट्टराईले जानकारी दिनुभयो । रोटरी क्लब अफ गोरखा तथा रोट्र्याक क्लब अफ गोरखाको संयुक्त आयोजना एवं सेभ द हर्ट, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, र गोरखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा जाँच गराएका बिरामीलाई आवश्यकताका आधारमा निःशुल्क औषधिसमेत उपलब्ध गराइएको छ । शिविरमा मुटु जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबै बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको शिविर आयोजक समितिका संयोजक किशोरजङ्ग थापाले बताउनुभयो । शिविरमार्फत बिरामीलाई करिब रु ५० लाख बराबरको स्वास्थ्य उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ
काठमाडौं: सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९ दशमलव ४६ प्रतिशत किशोरीले खोप लगाएका छन् जसअनुसार १६ लाख ८८ हजार ७६८ जनाले किशोरीले खोप लगाएका हुन् । “खोप अभियान उत्साजनक रुपमा चलिरहेको छ । लक्ष्यअनुसार नै सबै किशोरीलाई खोप लगाउँछौँ”, उहाँले भन्नुभयो । गौतमका अनसार कोशीमा ३८ दशमलव ७, मधेशमा १९ दशमलव ९, बागमतीमा ४१ दशमलव ६, गण्डकीमा ४५ दशमलव २, लुम्बिनीमा ४९ दशमलव ७, कर्णालीमा ३७ दशमलव ७ र सुदूरपश्चिममा ३९ दशमलव ५ प्रतिशत किशोरीले खोप लगाएका छन् । जिल्लागत रूपमा सबैभन्दा धेरै अछाम जिल्लाका किशोरीले ८९ दशमलव ३ प्रतिशत किशोरीले खोप लगाएका छन् । यस्तै, बैतडीका ८२ दशमलव ७ र गोरखाका ७७ दशमलव ८ प्रतिशत किशोरीले खोप लगाएका छन् ।
काठमाडौं: आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ९मङ्गलबार०देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी०खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं ।” स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराउनुभयो । त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् । ‘खोप प्रभावकारी छ, ढुक्क भएर लगाउनुस्’ चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० को सङ्क्रमणले हुने स्त्री क्यान्सररोग विशेषज्ञ डा सृष्टि श्रेष्ठ प्रजापतिले बताउनुभयो । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपिभीले गराउँछ । उहाँले भन्नुभयो, “एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन् । ढुक्क भएर लगाउँदा हुन्छ ।” नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष एक हजार तीन सय १३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा बुढाथोकीले एचपिभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विश्वका एक सय ४५ भन्दाबढी देशमा यो खोप प्रयोग भइरहेको छ भने ६१ देशमा प्रयोग भइसकेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको र औषधी व्यवस्था विभागले पनि स्वीकृति दिएको छ । विज्ञानले प्रमाणित गरेको खोप लगाइने हुनाले निर्धक्क भएर लगाउन अनुरोध गर्दछौँ ।” खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर ९साइडइफेक्ट० हुनसक्ने बताउँदै डा बुढाथोकीले ती असर केही दिनमा आफैँ निको भएर जाने बताउनुभयो । “केहीले यो खोप लगाउन हुन्न भन्ने हल्ला पनि फिैलाएका पाएका छौँ । ती भ्रण मात्र हुन् । हामीले खोप लगाएपछि केही असर देखिए उपचारका लागि चिकित्सकको समूह तयारी अवस्थामा राखेका छौँ । खोप लगाइसकेपछि ३० मिनेट जति असर देखिएरनदेखिए हेर्न छुट्टै कोठामा राख्छौँ । उमेर समूहभन्दा बाहिर र ज्वरो आएकाले भने खोप नलगाइदिनुस् ।” राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२/७३ र आव २०७३/७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । आव २०८०÷८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक–एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ । त्यसैगरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ । सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तरराष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपिभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनःपरीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ ।
पोखरा महानगरपालिका–११ रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा ‘नेपाल नर्सिङ दिवस’ मनाइएको छ । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको आयोजनामा आज हस्पिटलमा कार्यरत नर्सहरुले दिवस मनाएका हुन् । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा हस्पिटलमा कार्यरत ममता थापा, सुस्मिता विश्वकर्मा र सविना माकाजुले नेपाल नर्सिङ दिवसको शुभकामना दिदैं उनीहरुले नागरिकको जिवन समर्पण गर्ने पेशामा आवद्ध हुनु आफैमा गौरवको विषय भएको धारणा राखिन् । यस्तै कार्यक्रममा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सरोज पोखरेलले बिरामीको सेवा गर्ने कर्तव्य रहेको बताए । ‘हस्पिटलमा हाम्रो कर्तव्य भनेको आफ्नो बुवाआमालाई जस्तै बिरामीको सेवा गर्ने हाम्रो कर्तव्य हो, डा. पोखरेलले भने, ‘हामीहरुको भन्दा बिरामीलाई बढी समय तपाईहरुको हुन्छ, बिरामी हस्पिटलमा आउँदा हामीले आफ्नो बुवाआमालाई जस्तै व्यवहार गर्नुपर्छ’ । उनले हस्पिटलको समयमा बिरामी, बिरामीका करुवा, डाक्टर लगायतले केही चर्को बोल्दा झर्को लाग्ने भएपनि आफु कार्यरत रहेको संस्थामा प्रतिवद्ध भएर लाग्दा आफु मात्र नभएर संस्था नै राम्रो हुने उल्लेख गरे । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका प्रमुख सञ्चालक अधिकृत प्रकाश विकले हस्पिटलमा कार्यरत नर्स, डा तथा कर्मचारीहरुका परिश्रमिकलाई वृद्धि गर्दै जाने बताए । कार्यक्रममा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका कम्पनी सचिव गौतम पौडेलले नर्सहरुको योगदात विगतदेखि वर्तमानसम्म अतुलनीय रहेको बताए । ‘विशेषगरी हेल्थकेयरमा नर्सहरुको योगदान विगतदेखि वर्तमानसम्म अनुलनिय छ, हिजो हस्पिटल स्थापना कालसम्म होस् या कोरोनाको समयमा अन्य अस्पतालका ढोका बन्द हुँदा हाम्रो हस्पिटलमा तपाईहरुले दिनुभएको सेवा, सचिव पौडेलले भने, ‘ हामी छिटै नै बीमासँग जोडिदै छौं, बीमासँग जोडिएपछि तपाईहरुले जुन माग राख्दै आउनुभएको छ त्यो पनि हामी पूरा गर्छौ ।’ नर्सहरुको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसरमा नेपाल नर्सिङ दिवस मनाउन थालिएको हो ।