काठमाडौं:   गर्मीयामको सुरुआत भएसँगै नेपालमा किटजन्य रोगहरूको जोखिम बढ्नसक्ने भएकाले विज्ञले सचेतना अपनाउन आग्रह गर्नुभएको छ ।      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौं:    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।  प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्नसक्ने बताउनुभएको छ ।  मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ ।  भोलि शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने पूर्वानुमान विभागको छ । 

पोखरा:    रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४/२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने भएको छ । यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको निशुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने तयारीमा रहेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरीे जानकारी दिइएको छ । रोटरी डिस्ट्रीकले समेत नेपाल भरिनै भिआइए परिक्षण लाई महत्व दिएर अगाडी बढ्ने योजना गरिरहेको अवस्थामा थप टेवा पुरÞ्याउने योजनाका साथ तयारीमा जुटेको हो । स्वार्थ भन्दा माथी सेवा भन्ने मूल उद्देश्यका साथ स्थापित रोटरीले महिला तथा शिशु स्वास्थ्य अन्तरगत रहेर यो परिक्षण कार्यलाई यस बर्ष विभिन्न चरणमा कास्की, तनहुँ, स्याङ्गजा, पर्वत, बागलुङ लगायतका गण्डकी प्रदेशका जिल्लाहरुका विभिन्न पालिका र वडाहरुका महिलाहरुमा भिआईए परिक्षण गर्न गईरहेको रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दीपेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँले २०१० डिसेम्बर २४ का दिन स्थापित रोटरी क्लव अफ पोखरा न्युरोडको आज जन्मोत्सवको अवसरमा हरेक बर्ष सामाजिक कार्य गर्दैै आएको बताउनुहुदै महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढी रहेको कारणले पनि ग्रामीण भेगमा यसको पहँुच पुर्याउन यो कार्यक्रम सहयोगी भन्ने बताउनुभयो । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चण्डीका पंडितले २९ बर्ष देखि ६५ बर्ष महिला समुहमा हुने यस समस्याका लागि प्रारम्भिक जाँच गर्नु उपयुक्त हुने बताउनुभयो । समुदायमा यस परिक्षणको बारेमा सचेतना फैलाउनका लागि पनि यो अभियान अगाडि बढाएको उहाँको भनाई थियो । उहाँले यस किसिमका कार्यक्रम जनसमुदायमा पुर्याउन रोटरी क्लब एउटा दरिलो माध्यम बन्न सक्ने बताउनुहुदै प्रतिफल पनि सोही अनुसार आउनेमा विश्वस्त रहेको बताउनुभयो । रोटरी क्लव अफ नक्शाल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले अधिकांश महिलाहरूमा पछिल्लो समय पाठेघरको मुखको भिआइए परिक्षण नगर्दा देखिएको समस्या–क्यान्सरबाट पिडीत भई आन्तिम प्रहरमा पुगेपछि मात्र थाहा पाउने अवस्थाबाट महिलाहरु सजग रहने बातावरण बन्न सकोस् भन्ने मूल उद्देश्य अनुरुप यस कार्यक्रमको घोषणा गरिएकोे बताउनुभयो । सो क्लबका पूर्व अध्यक्ष सुवास सिग्देलले गण्डकी मोडकल कलेजबाट सम्बन्धित डाक्टर सहितको प्राविधिक टिमले यस भिआइए परिक्षणमा सहयोग गर्ने बताउनुभयो । यस अभियानमा पोखरा महानगरपालिकाका विभिन्न वडा, पालिका सँगै विभिन्न जिल्ला संग सहकार्य र सहयोगको अपेक्षा गर्दै यो कार्यलाई अगाडी बढाउने र लक्ष्य भन्दा बढी संख्यामा भिआइए परिक्षण गर्ने योजना आयोजकको रहेको छ ।

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ । भोलिसम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्नु हो । ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा आयोजित सम्मेलनको उद्घाटन गर्दै उक्त मन्त्रालयका सचिव डा रोशन पोखरेलले सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्यलाई प्रभावकारी बनाउन मद्दत मिल्ने उहाँले बताउनुभयो ।विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेससले भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्यकर्मीहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड भएका उल्लेख गर्नुभएको छ ।  साथै उहाँले विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउन एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

लमजुङ:     मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकुमारी गुरुङ निकै खुसी हुनुहुन्छ ।       मालिङ प्राथमिक स्वास्थ्य चौकीमा ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दै आउनुभएकी उहाँले यसअघि नवजात शिशुलाई चिसोदेखि जोगाउन विगतमा निकै समस्या हुने गरेको सुनाउँदै ‘बेवी वाम’ (शिशुलाई न्यानो बनाउने उपकरण) जडान भएपछि खुसी लागेको बताउनुभयो ।      “नवजात शिशुलाई जोगाउन हिटर बालेर गर्नुर्‍थ्यो । अब भने सुव्यवस्थित नवनिर्मित अस्पतालमा बेवी वाम उपकरण आएको छ”, गुरुङले भन्नुभयो, “यो उपकरण पाएपछि बच्चाहरूलाई चिसोबाट बचाउन सकिन्छ । साँघुरो कोठामा सुत्केरी गराउँथ्यौँ, अहिले भवन पाउँदा दङ्ग छौँ ।”       पुस ४ गते लमजुङको क्व्होलासोथार गाउँपालिका–मा स्थित मालिङ प्राथमिक अस्पताल पूर्णरूपमा निर्माण सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालको उद्घाटन गरेसँगै स्थानीयस्तरमा गुणस्तरीय सेवा पाउनेमा स्थानीय हर्षित छन् ।       यहाँकै स्थानीय हुनुहुन्छ सिनियर अनमी गुरुङको । तीस वर्षदेखि सुत्केरी गराउँदै आउनुभएकी उहाँ सुविधासम्पन्न सुत्केरी कक्षसहित आवश्यक उपकरण र नवजात शिशुलाई न्यानो बनाउने उपकरण पाएपछि खुसीले गदगद हुनुहुन्छ । यसअघि जोखिमपूर्ण अवस्थामा सुत्केरी गराउनुपरेको भन्दै अब सेवा प्रदान गर्न सहज हुनुका साथै आमा र शिशुलाई प्रभावकारी सुरक्षा दिन सकिने धारणा राख्नुभयो ।       गुरुङले अस्पतालको सुत्केरी कक्षमा रहेको बेवी वाम उपकरणलाई निकैबेर नियाल्नुभयो । नवजात शिशुका लागि आवश्यकपर्ने उक्त उपकरण पाउँदा उहाँले आफूले ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दा गाउँमा भोग्नुपरेको अनेक चुनौतीहरू सम्झँदै सजह स्वास्थ्य सेवा पाएकामा हर्षित हुनुभयो ।       “तीस वर्षअघि गाउँमा सुडेनीले सुत्केरी गराउने चलन थियो । कुनै पनि घरमा सुत्केरी गराउँदा सुडेनीले नसकेका बेला मात्रै मलाई बोलाउने गर्थे”, गुरुङले भन्नुभयो ।       “सधैँ स्वास्थ्यकर्मीको धर्म निर्वाह गर्दै आउनुभएकी गुरुङले चार÷पाँच घण्टाको बाटो हिडेर घरदैलोमै सेवाका लागि पुग्नुहुन्थ्यो । कसैको ‘नर्मल डेलिवरी’ सुत्केरी हुन्थ्यो । कसैको पिसाब रोकिन्थ्यो । कसैको साल अड्किने, कसैको लामो अवधिसम्म सुत्केरी हुन नसक्ने अवस्था आउँथ्यो । राम्रो र सहज सुत्केरी हुनेबेला कसैले सम्झिँदैनथे । जब सुत्केरीमा जटिल अवस्था आउँथ्यो, तबमात्रै आफूलाई सम्झिने गर्दथे”, उहाँले आफ्नो विगतको अनुभव सुनाउनुभयो ।       स्वास्थ्यकर्मी भएर प्रदान गरेको सेवाको अनुभवमा सम्झिँदा अझै पनि शरीर जिरिङ हुने थुप्रै क्षण रहेका गुरुङले बताउनुभयो । तीन दशकअघि एउटा घटना भयो, त्यो घटनाले उहाँलाई बारम्बार तर्साइरहन्छ ।       उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “मङ्सिर महिना थियो, जाडो याम । समाज जातियताका हिसाबले अहिले जस्तो उदार थिएन । दलित समुदायलाई देख्दा साइत जुर्दैन भन्ने मान्यता भएको समाजमा दलितकै घरमा गएर सुत्केरी सेवा प्रदान गर्नु चुनौतीपूर्ण थियो ।” आफू स्वास्थ्य सेवा प्रवेश गरेसँगै मानव सेवामा जीवन समर्पित गर्ने अठोट सँगालेर अघि बढेकाले जस्तासुकै चनौती पनि सामना गर्ने हिम्मत आउने उहाँको अनुभव छ ।      गुरुङले एउटा स्वास्थ्यकर्मीको नजरमा न जात हुन्छ न धर्म हुने भन्दै मानवता र सेवा मात्र हुने बताउनुभयो ।  “दलित समुदायकी सुत्केरी छट्पटाइरहनुभएको थियो । मैले थाहा पाउनेबित्तिकै उहाँको घरमा पुगेँ । दुई दिनको लामो ब्यथापछि ती सुत्केरीले छोरा जन्माउनुभयो । छोरा पाएको भन्दै परिवार खुसी हुन थाले । आफन्ती र छरछिमेकीलाई सुनाउनु थाले । सुत्केरी गराए पनि म चिन्तित थिएँ । जन्मिएको नवजात शिशु निसास्सिएको अवस्थामा थियो । उसले श्वास फेर्न सकिरहेको थिएन । शिशु न रुन्छ, न आवाज निकाल्छ । मन आतिएको थियो”, उदास हुँदै उहाँले सुनाउनुभयो ।      परिवारलाई बच्चाले श्वास फेर्न नसकेको यथार्थ बताएपछि सबै रुन थालेका भन्दै आफूले भने तुरुन्तै बच्चाको मुखमा आफ्नो मुख जुधाएर स्वास भनै थालेको गुरुङले उल्लेख गर्नुभयो । “झण्डै आधा घण्टापछि बच्चा चिच्याउँदै रुन थाल्यो । जब बच्चा रोयो परिवार सबै खुसीले हास्न थाले । आज एउटा नवजात शिशुलाई जीवन दिन पाएकामा म पनि खुसीले बच्चासँगै डाँको छोडेर रुन थालेँ”, उहाँले भन्नुभयो ।       बच्चा रुँदा मन थाम्नै नसकेर आफू पनि सँगै रोएको उहाँको अनुभव छ ।  आफ्नो प्रणा भरेर जीवन दिएको बच्चा अहिले कक्षा ५ मा पढ्छ । गाउँकै स्कुलमा पढ्ने त्यो बालक देख्दा गुरुङको हृदय ममताले भरिन्छ । उहाँले भन्नुभयो, “उसको मुख हेर्छु । अनि मुस्कुराउँछु अनि भगवान्लाई धन्यवाद मात्रै भन्छु ।”       गुरुङले स्वास्थ्यकर्मीका रूपमा आम्दनी गरेको अमूल्य सम्पत्ति भनेको आमा र बच्चाको सुरक्षा रहेको बताउनुभयो । सुत्केरी गराउने जिम्मेवारी आउँदा उहाँ चाडपर्वसमेत थाती राख्नुहुन्छ । एक दिनको दसैँमा उहाँ तीन दिन सुत्केरीको घरमा व्यस्त हुनुभयो । दसैँ सकियो । गुरुङ सुत्केरी गराएर मात्रै घर फर्किनुभयो । “दसैँ सकिएछ, पत्तै पाइनछु”, उहाँले विगत सुनाउनुभयो ।         सरकारले अस्पतालमा आएर सुत्केरी गराएबापत एक जना बराबर रु दुई सय ५५ दिने गरेको छ । गाउँमा सुत्केरी गराउन पुग्दा उहाँले गरीब परिवारका सुत्केरीलाई पैसा, लत्ताकपडा, खाना दिएर सघाँउनुभएको छ ।  “सुत्केरी भइसकेपछि एउटा सफा कपटाको टालोसमेत किन्न नसक्नेहरू पनि हुनुहुन्छ । यस्तो बेला आफैँले लुगाको व्यवस्था गरिदिने गरेकी छु”, गुरुङले भन्नुभयो । कहिलेकाहीँ सुत्केरी गराउन नसकिने अवस्थामा जिल्ला अस्पतालसम्म पु¥याउन आवश्यक रकमसमेत जुटाइदिने गरेको उहाँले बताउनुभयो ।      “तुरुन्तै अस्पताल पठाउनु पर्छ भन्दा पैसा छैन भनेर रुन थाल्छन्”, गुरुङले भन्नुभयो, “यस्तो बेला कहिलेकाँही आफँैले, कहिले अरुसँग जुटाएर खर्च व्यवस्थापन गरिदिने गर्छु, अधिकांशले इमान्दार भएर फिर्ता पनि गरिदिनुहुन्छ ।”       गुरुङले सेवामा कहिल्यै हिसाबकिताब राख्नुहुन्न । उहाँलाई लाग्छ, स्वास्थ्यकर्मी भनेको व्यवसायभन्दा बढी समाजसेवी हो । अहिले पालिकामा व्यवस्थित भवनसहितको वर्थिङ सेन्टर खोलेपछि उहाँ खुसी हुनुहुन्छ । केही महिनाभित्रै पालिकामा एम्बुलेन्सको व्यवस्था हुँदैछ भन्ने खबरले गुरुङ थप उत्साहित हुनुहुन्छ ।       क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले नवनिर्मित स्वास्थ्य अस्पताल व्यवस्थित बनाउन एम्बुलेन्ससहितको आवश्यक सामग्री जुटाउने प्रक्रियामा पालिका लागेको बताउनुभयो । उहाँले गुरुङजस्ता इमान्दार, मेहनती र आफ्नो सेवामा समर्पित स्वास्थ्यकर्मी स्वास्थ्य क्षेत्रका लागि सदैव आवश्यक पर्ने व्यक्ति हुन् भन्दै गुरुङको प्रशंसा पनि गर्नुभयो ।   

काठमाडौं:    नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन गरिएको छ ।      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा टङ्क बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल बनाउनुभएको हो ।  कार्यदललाई सर्वसाधारणलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन दिन भनिएको छ ।      गत जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो ।  मन्त्री पौडेलले गत साता कार्यदललाई सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्पतालका हकमा समेत अध्ययन गर्न निर्देशन दिनुभएको थियो । कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।      कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका साथै सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरुसमेत रहेका छन् ।  सर्वसाधारणलाई समेत सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्री पौडेलले विगतको निर्णय कार्यान्वयन गराउन प्रक्रिया अघि बढाउनुभएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

नेपालगञ्ज:     स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था गरिने बताउनुभएको छ ।  भेरी अस्पताल, नेपालगञ्जमा आज स्थापना गरिएको अत्याधुनिक ‘अपरेसन थिएटर’को उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेल र थालेसेमियाका बिरामीको उपचारमा सरकारले कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसका बिरामीका लागि सात प्रदेशका प्रादेशिक अस्पतालहरूमा छुट्टै वार्डको प्रबन्ध गरिनेछ ।”  सिकलसेलका बिरामीका लागि भारत सरकारसँग औषधि माग गर्न पत्राचार भएको र अन्तिम चरणमा रहेको जानकारी दिँदै मन्त्री पौडेलले भारतले औषधि दिने सहमति जनाएपछि सबै प्रक्रिया पूरा गरिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “सिकलसेल रोगको उपचारका लागि वार्ड स्थापना गरिएका सबै अस्पतालमा सिकलसेलको औषधि पठाइनेछ, त्यहीँबाट बिरामीलाई आवश्यकताअनुसार वितरण गरिनेछ ।” मन्त्री पौडेलले सरकारले बिरामीको उपचारका लागि विभिन्न काम गरिरहने जनाउँदै रोग लाग्नै नदिन तथा रोगबाट जोगिन विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  बीमालाई व्यवस्थित गर्ने काम पनि सरकारले गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले बीमालाई योगदानमा आधारित बनाउन लागिएको बताउनुभयो । सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड स्थापना गरिएपछि अब बिरामीले बेड नपाउने समस्या समाधान भएको उहाँले उल्लेख गर्नभयो ।  बर्दियाको बारबर्दियाका बिरामी दीपक थारूले अब औषधिलाई बिमाभित्र पार्नुपर्नेमा जोड दिनुभयो ।  सो अवसरमा सिकलसेल वार्डको निरीक्षण गर्दै मन्त्री पौडेलले बिरामीहरूसँग पनि उपचार र अन्य समस्याका बारेमा जानकारी लिनुभयो ।  कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदी, सिकलसेल एनिमियाको उपचारमा लामो समयदेखि संलग्न वरिष्ठ चिकित्सक डा राजन पाण्डे, सिकलसेल सोसाइटी नेपालका अध्यक्ष प्रभुराम थारू लगायतले सिकलेलको अवस्था, उपचार र समस्या समाधानको उपायबारे धारणा राख्नुभएको थियो ।  भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, सदस्य डा डक्टप्रसाद धिताल र अस्पतालका प्रमुख नरसिं प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालमा जनशक्ति थप्नुपर्ने तथा बीमाको रकम तत्काल पठाउन लगाउनुपर्नेमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । बाँके, बर्दियालगायत पश्चिम नेपालमा सिकलसेल एनिमियाका बिरामीहरू धेरै रहेका छन् । 

पोखरा:    विभेद्को डरले समाजमा खुल्न नसकेका एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित भएका छन् । निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थाका कारण एचआइभी सङ्क्रमित समस्यामा परेका हुन् ।  एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कँडेलले बागलुङमा कूल २ सय ८ जना एचआइभी सङ्क्रमितमध्ये ३४ जनाको स्वास्थ्य बिमा हुनसकेको छैन । “१ सय ७४ जनाको निःशुल्क स्वास्थ्य बिमा भएको छ, समाजमा खुल्न नचाहने र विभेद्को डरले ३४ जना स्वास्थ्य बिमामा समेटिन सक्नुभएको छैन”, उहाँले भन्नुभयो, “उहाँहरूका लागि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्र वा धवलागिरि पोजेटिभ समूहमार्फत बिमाको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग हाम्रो माग छ ।”  निःशुल्क स्वास्थ्य बिमा गर्न नपाएकामा जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला गाउँपालिकालगायत विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित रहेका छन् ।  बिमा सुविधाबाट बञ्चित हुँदा एचआइभी सङ्क्रमित महँगो उपचार सेवा लिन बाध्य छन् । सरकारले एचआइभी सङ्क्रमितका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ ।  कतिपय स्थानीय तहले आफ्नै बजेटबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बिमा गर्दै आएका छन् । स्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले स्वास्थ्य कार्यालयको सिफारिसमा या अन्य आधिकारिक निकायमार्फत एचआईभी सङ्क्रमितको बिमा गरिदिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।  “बिमाको सिफारिसका लागि सङ्क्रमित आफ्नै ठाउँमा जानुपर्ने भएकाले उहाँहरूलाई समस्या भएको हो”, उहाँले भन्नुभयो, “एचआइभी सङ्क्रमितलाई सहज रूपमा स्वास्थ्य बिमाको सुविधा दिन स्वास्थ्य बिमा बोर्डले पहल लिनु आवश्यक छ ।”  यसअघि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बिमा हुँदै आएकामा अहिले बजेट कटौती भएपछि उक्त केन्द्रबाट बिमा हुन छाडेको छ ।  धवलागिरि पोजेटिभ समूहका अनुसार जिल्लामा रहेका कूल दुई सय आठ एचआइभी सङ्क्रिममध्ये २२ जना बालबालिका रहेका छन् । सङ्क्रमितमध्ये एक सय ५२ जनाले धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट औषधोपचारको सेवा लिइरहेका छन् ।  जिल्लाको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ अस्पतालबाट पनि एचआइभी सङ्क्रमितका लागि औषधि उपलब्ध गराइँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पर्वत:    स्थापना भएको साढे ३ दशकपछि  पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभयो ।  फिजियोथेरापी सेवाको शुभारम्भ गर्दै मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार निरन्तर सक्रिय भएर लागेको बताउनुभयो ।  उहाँले प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई सुविधासम्पन्न बनाइने बताउनुभयो । अब जिल्लामै अधिकांश रोगको उपचार हुनेगरी अस्पतालको क्षमता विकास गर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।  सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएपनि ६० शय्या क्षमतामा सञ्चालित अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको हो ।  सेवा सञ्चालन गर्न डा प्रमीला लामिछाने नियुक्त हुनुभएको हो । अब नियमित रूपमा सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो ।  ‘फिजियोथेरापी’ विधिले शरीरका विभिन्न अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकाले बिरामीका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।  डा बाँस्तोलाका अनुसार प्यारालाइसिस, ढाड दुख्ने, घुँडा दुख्ने, गर्धन दुख्ने, काध तथा कुहिना दुख्ने र मुख बाङ्गिएको समस्या भएका बिरामीले सहज रूपमा उपचार पाउने छन् ।  अस्पतालले पहिलो चरणमा १० शय्याको व्यवस्था गरेर फिजियोथेरापी सेवा दिन थालेको छ । स्वास्थ्य बीमा गरेका विमितलाई स्वास्थ्य बीमा कार्डमार्फत नै सेवा उपलव्ध गराइने भएको छ ।  जिल्लामा फिजियोथेरापी सेवा नहुँदा यस क्षेत्रका बिरामी पोखरा, काठमाडाँैलगायतका ठाउँमा जान बाध्य थिए । जिल्लाबाटै उक्त सेवा सञ्चालन भए पनि यस क्षेत्रका बिरामीलाई सहज हुने छ ।  

दमौली:   नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको दिगो सञ्चालनका लागि रू २९ लाख सङ्कलन भएको छ ।   दमौली अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन थालिएको अभियान अन्तर्गत हालसम्म रू २९ लाख सङ्कलन भएको हो ।   विसं २०७२ मङ्सिर १२ गते रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको थियो । हाल दमौली अस्पतालको सहयोगमा मेडिबैंक भएको अस्पतालको गेटमै रक्तसञ्चार केन्द्र सञ्चालनमा रहेको छ ।   रक्तसञ्चार केन्द्रलाई दिगो र सहज बनाउन रू ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यबमोजिम सहयोग अभियान थालिएकामा विभिन्न पालिकाबाट सहयोग प्राप्त भइसकेको र केही पालिकाबाट सहयोगको प्रतिबद्धता आएको रेडक्रस शाखा सभापति प्रा डा कृष्णप्रसाद गौतमले जानकारी दिए ।   प्रा डा गौतमका अनुसार रू २१ लाख ५० हजार खातामा जम्मा भइसकेको छ भने रू सात लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ ।   गौतमका अनुसार व्यास नगरपालिकाबाट रू पाँच लाख, बन्दीपुर गाउँपालिकाबाट रू पाँच लाख, म्याग्दे गाउँपालिकाबाट रू पाँच लाख, भानु नगरपालिकाबाट रू चार लाख, भिमाद नगरपालिकाबाट रू दुई लाख, घिरिङ गाउँपालिकाबाट रू ५० हजार प्राप्त भइसकेको छ ।   शुक्लागण्डकी नगरपालिकाबाट रू तीन लाख, देवघाट गाउँपालिकाबाट रू दुई लाख ५० हजार, ऋषिङ गाउँपालिकाबाट रू दुई लाखको प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।   रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सोही अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट केन्द्र सञ्चालनमा सहजता ल्याउन खोजिएको प्रा डा गौतमको भनाइ छ ।   उनले भने, “विसं २०७९ चैत १४ गते समन्वय समितिका प्रमुखको संयोजकत्वमा बसेको बैठकले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सो अक्षयकोषमा रू ५० लाख जम्मा गर्ने निर्णय गरिएको थियो ।”