काठमाडौं: थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ । बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो । आज अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा सांसद श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण आगामी दिनमा पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा कुपन्डोलमा रहेको प्रसूति गृहको शाखा र अस्पतालको मुख्य भवनसम्म जोडिने झोलुङ्गे पुलको निर्माण गर्न प्रतिबद्धता छौँ । यसले सेवाग्राहीलाई सहज बनाउने छ ।” काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हरिलाल तण्डुकारले वडाले स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले सुत्केरीका लागि ‘सुत्केरी पार्क’ बनाउने प्रतिबद्धता जनाउनुभयो । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले आगामी दिनमा पनि यस्ता किसिमका सहयोग निरन्तर पाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीय र प्रादेशिक सरकारबाट सहयोग पाइरहेका छौँ । आगामी दिनमा पनि यसले निरन्तरता पाउने अपेक्षा छ । अस्पतालमा आवश्यकता अनुसार बजेट नभएको अवस्थामा सहयोग प्रदान भएको छ, आभारी छौँ ।” डा अधिकारीले एनेस्थेसिया मेसिन सञ्चालनमा आइसकेको बताउँदै आजदेखि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।
झापा: कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ । कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एकजना पनि सङ्क्रमित पाइएको छैन । स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएको छ । यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ । गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेङ्गी सङ्क्रमण भइसकेको थियो । झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ ।
काठमाडौं: नेपाल रेडक्रस सोसाइटीको ६२औँ स्थापना दिवस ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज देशव्यापी रूपमा मनाइएको छ । स्थापना दिवसका अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालय ताहचलमा रेडक्रसको झण्डोत्तोलन गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले मानवीय सेवामा अहोरात्र खट्ने रेडक्रसका स्वयंसेवक र कर्मचारीको योगदानको सराहना गर्दै सम्पूर्ण रेडक्रसकर्मी सदैव मानवीय सेवामा उत्रनुपर्ने बताउनुभयो । नेपाल रेडक्रसका उपाध्यक्ष राधा नेपालीले रेडक्रसका स्वयंसेवक र कर्मचारीको प्रभावकारी समन्वय र आपसी सहकार्यबाट रेडक्रसका गतिविधि सफल रूपमा कार्यान्वयन गर्न सहयोग पुगेको बताउनुभयो । सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रसमा करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवामा तल्लीन रहेको जानकारी दिनुभयो । हाल सोसाइटीअन्तर्गत सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार छ सय १५ उपशाखा, एक सय २० सहयोग समिति र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेका छन् । रेडक्रस सोसाइटीले विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि सञ्चालन गरिरहेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का नेपाल प्रमुख अजमत उल्लाले नेपाल रेडक्रस सोसाइटी र आइएफआरसीको साझेदारीमा विपद् व्यवस्थापन, जलवायु परिवर्तनबाट पर्ने प्रभाव, स्वास्थ्य र महामारीका साथै सामाजिक समावेशीकरणलगायत क्षेत्रमा देशव्यापी रूपमा गतिविधि सञ्चालन भइरहेको जानकारी गराउनुभयो । नेपाल रेडक्रस सोसाइटी कर्मचारी सङ्घ र कर्मचारी कल्याण कोषद्वारा आयोजित कार्यक्रममा २५ वर्ष काम गरिसकेका कर्मचारीलाई सम्मान, कर्मचारीका छोराछोरीलाई प्रोत्साहन स्वरुप शैक्षिक सहयोग वितरण गरिएको थियो ।
पर्वत: आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौं मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्य आइसीयू र सातवटा भेन्टिलेटर छन् । तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् । तत्कालीन कोभिड–१९ को सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन् । लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन् । गण्डकी प्रदेश सरकारको रु एक करोड ६९ लाख लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ । तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन । पाँच वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू कक्ष निर्माण गरिएको थियो । तीनजना डाक्टर र तीनजना नर्सले भेटन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूले सिकेको भेन्टिलेटर सीप पनि प्रयोगमा आउन पाएको छैन । पन्ध्र शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो । त्यस क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो । भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको उहाँले बताउनुभयो । एउटा भेन्टिलेटर चलाउन छुट्टै डक्टर, एकजना एनेस्थेसियालोजिष्ट, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको आवश्यकता पर्ने उहाँको भनाइ छ । सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एकजना पनि नहुँदा समस्या भएको उहाँले बताउनुभयो । “पहिले त यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ । त्यही हिसाबको कन्सल्टेन्ट आउनुहुन्छ । पन्ध्र शय्या अनुमति भएको अवस्थामा यो सञ्चालन गर्न सकिँदैन”, उहाँले भन्नुभयो । कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले पनि तत्कालै सहयोग गरेका थिए । झण्डै रु पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखेको भए पनि बेलाबेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको अस्पतालको दाबी छ । स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका डक्टर पठाइदिए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएका अवस्थामा मात्रै भेन्टिलेटर सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले यसबारेमा प्रदेश सरकारमा पटकपटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताउनुभयो । राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पाउन नसकेको उहाँको भनाइ छ । अस्पतालमा रहेका स्रोत र साधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ । “हामीसँग स्रोत भएर के गर्नु ? यहाँ रहेका भेन्टिलेटर सञ्चालन गर्ने हो भने मुस्ताङदेखिका बिरामीले पर्वत अस्पतालमै सेवा पाउने थिए तर प्रदेशले यो किन देखिरहेको छैन ?”, गिरीले भन्नुभयो । ‘भेन्टिलेटर’ प्राप्त गर्ने र जडान गर्ने बेला अस्पताल विकास समितिको अध्यक्ष रहेका गोविन्द पहाडीले सरकारले जनशक्ति नदिएकै कारण अस्पतालले समस्या भोगिरहेको बताउनुभयो । पहाडीका अनुसार बच्चाका लागि समेत ‘चाइल्ड आइसीयू’ बनाउन ‘पेड्रीयाट्रिक वार्ड’ को निर्माण गर्ने भनेर सरकारले दिएको रु दुई करोडबाट सामग्री किनिएका थिए । त्यहीबेला लायन्स क्लबले समेत भेन्टिलेटर दिए भने थप सामग्री अस्पताल आफैँले किनेको थियो । “सबै भयो जनशक्ति भएनन् । यहाँको निजी स्रोतबाट जनशक्ति राख्दा एक महिना त पालिएला, दोस्रो महिनाबाट तलब कसरी खुवाउने ? यसमा खास तीनजना डक्टर चाहिने रहेछन् । एकजना इन्टरनल मेडिसिन पढेको, एकजना एनेस्थेसियोलोजिष्ट, एकजना नेफ्रोलोजिष्ट चाहिने रहेछ”, उहाँले भन्नुभयो, “यी तीनजना नै नभएसम्म डक्टरले रिस्क नलिने रहेछन् ।” पर्वत अस्पतालमा आइसीयू र भेन्टिलेटरको सुविधा भइदिएको भए पोखरा र काठमाडौँका अस्पतालमा जान सक्ने उतै गए पनि आर्थिक समस्यामा रहेकाहरूले भने जिल्लामा जीवन बचाउने मौका पाउन सक्ने उहाँको गुनासो छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार परिपत्र गरिएका अस्पतालहरुमा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत छन् । गृह मन्त्रालयले जारी गरेको सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्थाअनुसार सार्वजनिक दिनमा पनि अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । सरकारले अधिकांश निकायबाट सार्वजनिक बिदामा स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासोका आधारमा सार्वजनिक बिदाका दिन पनि बहिरङ्ग सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले नसर्ने रोगको स्क्रिनिङ (पहिचान)योजनालाई कार्यान्वयनमा लैजाने पहिलो निर्णय गरेका छन् । सोमबार मन्त्रीको शपथ लिएपछि पदभार ग्रहण गर्दै उनले स्थानीय तहसँग मिलेर नसर्ने रोगको पहिचान थाल्ने निर्णय गरेका हुन् । बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान, धुम्रपान, अत्यधिक तनावले नसर्ने रोगको संख्या बढिरहेको छ । नेपाल बर्डन अफ डिजिज, २०१९ को तथ्यांकअनुसार नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोग स् रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरबाट हुने गरेको छ । प्रारम्भिक अवस्थामै समुदायमा नसर्ने रोग पहिचान गर्न सकेमा त्यसले ठूलो रूप लिन नसक्ने र मृत्यु दर न्यूनीकरण गर्न सकिने भएकाले नसर्ने रोगको स्क्रिनिङको निर्णय गरेको मन्त्री पाठकले बताए । नेपाल सरकारले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२५ कार्यान्वयनमा ल्याएको छ । त्यसैअनुसार स्थानीय तहसँग मिलेर नसर्ने रोगको पहिचान गरिने मन्त्री पाठकले बताए ।
काठमाडौं: देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार छ हजार तीन सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेङ्गी रोग लाग्दछ । गण्डकी प्रदेशमा सबभन्दा बढी डेङ्गी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ । कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना सङ्क्रमण देखिएको छन् । उपत्यकामा छ सय ८० काठमाडौँ उपत्यकामा छ सय ८० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । जिल्लामा पाँच सय ११, भक्तपुर ६९ र ललितपुर सय जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाका बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । हैजा ७५ जनामा यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ७५ जना पुगेका छन् । महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालका अनुसार ललितपुरमा ५० काठमाडौँमा १० जना, कैलालीमा आठ जना, प्यूठान दुई, मकवानपुर एक र रोल्पामा चार जनामा हैजा पुष्टि भएको छ । हैजा अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।
कैलाली: धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो । दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा सात सय जना क्षमताको एउटा मुख्य हल, दुई सय जना क्षमताको कार्यक्रम कक्ष, एक सय सवारीसाधन अटाउने क्षमताको पार्किङ निर्माण गरिएको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको रु ३२ करोड ६० लाख ८१ हजारको लागतमा सभागृह निर्माण गरिएको हो । विसं २०७५ माघदेखि निर्माण सुरु भएको सभागृह २०७९ असारमा निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनी ‘विकेओआई एमके रोयल’ जेभीले सभागृह निर्माण गरेको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी कलौनीले बताउनुभयो । धनगढी उपमहानगरले उपलब्ध गराएको एक बिघा जग्गामा निर्माण भएको उक्त सभागृहमा रङरोगन, विद्युत् जडानलगायत काम भइसकेका छन् । “निर्माण सम्पन्नपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी थियो”, सूचना अधिकारी कलौनीले भन्नुभयो, “उपमहानगरले फर्निचर तथा साउण्डसिस्टम जडान नभएको भन्दै बुझ्न मानेन । त्यसैले अहिलेसम्म हस्तान्तरण हुनसकेको छैन ।” “साउण्डसिस्टम जडानका लागि हामीले पटक–पटक सङ्घीय सरकारलाई बजेट माग गर्दा पनि सुनावाइ भएन”, उहाँले भन्नुभयो, “अहिले रु १५ लाख बजेट आएको छ । त्यसले पुग्दैन । साउण्डसिस्टम जडानका लागि न्यूनतम रु ८० लाखदेखि रु एक करोडको हाराहारीमा बजेट आवश्यक पर्छ ।” धनगढीमा हुने सभा, गोष्ठी, बैठक सेमिनारजस्ता ठूला कार्यक्रम गर्ने उद्देश्यले बनेको उक्त सभागृह सञ्चालनमा आउन नसक्दा सरकारी कार्यालयले त्यस्ता कार्यक्रम होटल, पार्टीप्यालेसमा महँगो भाडा तिरेर सञ्चालन गरिरहेका छन् ।
खोटाङ: देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट बिरामी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी एञ्जिला परियारको उपचारका लागि सहयोग जुटाउन अभियान थालिएको छ । मस्तिष्कघातबाट प्यारालाइसिस भएपछि हाल नोबेल अस्पताल विराटनगरमा आइसीयूमा राखेर उपचार गराइरहेकी एञ्जिलाको सहयोगार्थ बाराहापोखरी सेवा समाज खोटाङ, काठमाडौँको पहलमा सहयोग सङ्कलन सुरु गरिएको हो । विपन्न परिवारका एञ्जिलाको उपचारका लागि अझै रु सात लाख उपचार खर्च लाग्ने भएपछि भदौ ९ गतेदेखि ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको अभियानका संयोजक इन्द्रबहादुर लिमेलले बताउनुभयो । एञ्जिलालाई उदयपुरको गाईघाट हुँदै विराटनगर पुर्याएपछि मस्तिष्कघात भएको र त्यही कारण देब्रेहात र खुट्टा नचल्ने समस्या भएको पुष्टि भएको थियो । एञ्जिलाको साउन ३२ गतेदेखि नोबेल अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको बुबा मनोज परियारले जानकारी दिनुभयो । “घरकी माइली छोरी एञ्जिलालाई सुरुमा केही दिन ज्वरो आएको थियो । औषधोपचार गरेपछि ठिक भएको थियो । पुन: तीन/चार दिनपछि कडा ज्वरो आएपछि देब्रे हात र खुट्टा चल्नै नसक्ने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “एञ्जिलालाई अझै दुई हप्ता आइसीयूमा राखेर उपचार गर्नुपर्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । घरको अर्थावस्थाले धान्ने स्थिति छैन । त्यसैले छोरीको जीवनरक्षाका लागि सबैसँग हात फैलाएका हौँ ।” एञ्जिलालाई सहयोग गर्न बराहापोखरी सेवा समाजको खातामा जम्मा हुनेगरी क्यूआर गरेर सहयोग रकम प्रदान गर्ने व्यवस्था मिलाइएको छ । एञ्जिलाको सहयोगार्थ स्वदेशदेखि विदेशसम्म अभियान्ता तोकिएको संयोजक लिमेलले बताउनुभयो । परिवारको अर्थावस्था दयनीय भएको भन्दै वडा कार्यालय बराहपोखरीले पनि आर्थिक सहयोग गर्न भदौ २ गते सिफारिस दिएको थियो । वडा कार्यालयले दिएको सिफारिसका आधारमा ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको संयोजक लिमेलले जानकारी दिनुभयो ।