काठमाडौं:   छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएक...

धादिङः    पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा २ वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।  दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।   तीब्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।   

काठमाडौँः    नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताउनुभयो । सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ ।  उहाँका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औँ हप्ता चलिरहेको छ ।   डा दाहालले ४२औँ हप्तामा मात्रै २ हजार ५ सय ८२, ४३ औँ हप्तामा २ हजार २ सय ४ , ४४ औँ हप्तामा १ हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।  “जाडो बढेसँगै डेङ्गी सङ्क्रमण घटिरहेको छ”, उहाँले भन्नुभयो, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । सङ्क्रमण घटेपनि सावधानी अपनाउनुपर्छ ।”  अहिलेसम्म २९ हजार १ सय ५८ मा सङ्क्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिनुभयो ।  उहाँका अनुसार डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ ।  सबैभन्दा बढी कास्कीमा ७ हजार २ हजार २४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ ।  उपत्यकामा ६ हजार ६ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाडौँमा ४ हजार ५ सय ९५, भक्तपुरमा ८ सय ३१ र ललितपुरमा १ हजार १ सय ८६ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।  

पोखराः    प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग जग्गा माग गरेको छ ।  प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको २ सय रोपनी जग्गा प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गरिएको जानकारी दिनुभयो ।  प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा उक्त विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेपनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि उक्त योजना समेटिँदै आएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । “प्रधानमन्त्रीसमक्ष जग्गाव्यवस्थापनलगायत विभिन्न १२ मागहरु मन्त्रालयकातर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, उहाँले भन्नुभयो ।  मन्त्री पाठकले जग्गा अभावकै कारण विशिष्टीकृत अस्पताल निर्माणमा बिलम्ब भइरहेको बताउनुभयो । उहाँले प्रदेशमा एकीकृत सेवासहितको मातृशिशु, महिला तथा बाल अस्पताल स्थापनाका लागि पनि पहल भइरहेको जानकारी दिनुभयो ।  जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पतालको जरुरी रहेको उहाँको भनाइ छ । मन्त्री पाठकले अन्तरङ्ग सेवासहित २५ शय्याको गण्डकी आयुर्वेद अस्पताल र धवलागिरि आयुर्वेद अस्पतालको स्तरवृद्धिका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन सङ्घ सरकारसँग माग गरिएको बताउनुभयो ।  प्रदेश सरकारले प्राकृतिक चिकित्सा, आयुर्वेद उपचार पद्धति र मेडिकल विज्ञानसमेत सेवालाई एकै ठाउँबाट प्रवाह हुने गरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनाको लक्ष्य लिएको उहाँले बताउनुभयो ।  उक्त केन्द्रका लागि राष्ट्रिय खेलकुद परिषद्को नाममा पोखरा रङ्गशाला परिसरमा रहेको पाँच रोपनी ७ आना जग्गा प्राप्तिका लागिसमेत सहजीकरण गरिदिन प्रधानमन्त्रीसमक्ष माग राखिएको मन्त्री पाठकको भनाइ छ ।  गण्डकी प्रदेश सरकार र स्थानीय तहअन्तर्गत सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणदेखि स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि आवश्यक स्रोतसाधनको व्यवस्थाका लागि सङ्घ सरकारसँग माग गरिएको उहाँले बताउनुभयो ।  स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उहाँले बताउनुभयो ।  मन्त्रालयको कार्ययोजनाअन्तर्गत कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।   “नागरिकलाई सर्वसुलभ र गुणस्तीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ” मन्त्री पाठकले भन्नुभयो ।   

बङ्गलादेशमा डेङ्गुका कारण शनिबार एकै दिन यो बर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।   स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेसम्मको पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट सङ्क्रमित भएका थिए । डेङ्गु ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो ।   यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नीदुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षणसहित गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ । यस भाररसबाट यो बर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।   यस वर्ष डेङ्गुका कारण अक्टोबरमा १३४, सेप्टेम्बरमा ८०, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार ७०५ जनाको मृत्यु भएको थियो। सन् २०२२ मा २८१ र सन् २०१९ मा १७९ जनाको डेङ्गुका कारण मृत्यु भएको थियो ।   डेङ्गुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न कडा उपाय चालेका छन् ।

सर्लाहीः   सर्लाहीमा स्यालको आक्रमणबाट  यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् ।  मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन तथा बलरा नगरपालिकाका एक जना घाइते भएका छन् ।  स्यालको आक्रमणबाट बसवरिया गाँउपालिका–१ का १० वर्षीय  रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया  सिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षीय मदैनिया दर्जी र ६ वर्षीय राजु मुखिया, बसवरिया–३ का १५ वर्षीय दीपेन्द्र माझी, बसवरिया–४ का १५ वर्षीया करुणा साह र ६० वर्षीय बद्री मुखिया, गोडैता नगरपालिका–१० का ४० वर्षीया इन्दूदेवी बैठा, ४० वर्षीया प्रेमादेवी मण्डल, सोही ठाउँका ४१ वर्षीय विपद पासवान तथा बलरा नगरपालिका–४ का ६० वर्षीया सोमरी देवी घाइते भएका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।  घाइतेमध्ये इन्दूदेवी र प्रेमादेवीलाई थप उपचाररका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । अन्य घाइतेलाई उपचारका लागि बसबरिया गाउँपालिकाको एम्बुलेन्समा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा पठाइएको छ ।  घाइते केही भने स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएर घर फर्किएका प्रहरीले जनाएको छ ।   

काठमाडौं:    नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ ।       डेङ्गीका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो ।       विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए । “भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरुप सक्रिय रहेको पाइएको छ”, उहाँले भन्नुभयो ।       शाखाका प्रमुख डा दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताउनुभयो । उहाँले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेङ्गी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताउनुभयो ।       डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । यस्तै देशभर २७ हजार एक सय ५३ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ भने सङ्क्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ ।       सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।       उपत्यकामा डेङ्गी सङ्क्रमण पाँच हजार सात सय ४८ जनामा देखिएको छ । काठमाडौँ जिल्लामा चार हजार ६० जना,  भक्तपुर छ सय २८ र ललितपुर एक हजार ६० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।       वर्षाको बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो ।       डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न निर्णय सरकारले गरेको छ ।

पोखरा महानगरपालिका १५ को समन्वयमा वडा भित्रका विपन्न १७ परिवारका ८५ जनालाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ ।   पोखरा कम्युनिटी सेन्टरको सहयोगमा आज वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गर्दै विपन्न १७ परिवारलाई स्वस्थ्य बीमा कार्ड प्रदान  गरिएको हो ।   वडाध्यक्ष तोरण बाँनिया, कार्यपालिका सदस्य मन्दिरा परियार कम्युनिटी सेन्टरका प्रतिनिधि प्रकाश र जोनले उक्त स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरे ।   वडाध्यक्ष बाँनियाले आफ्नो वडाभित्रका अति विपन्न परिवारबाट १७ घर परिवारलाई बीमाकार्ड उपलब्ध गराएको बताए । उनका अनुसार एउटा परिवारबाट ५ जनाका विमा हुने भएकाले कुल १७ परिवारको ८५ जनाको विमा गरिएको हो ।   उनले प्रतिव्यक्तिले १ लाख बराबरको स्वास्थ्य लाभ लिन सक्ने बताए ।   ‘कम्युनिटी सेन्टर कोरियन संस्था हो, हाम्रो वडाको मानवीय विकासका लागि भनेर हरेक वर्ष शिक्षा स्वास्थ्य र खेलकुदका लागि २ लाख सहयोग आउँछ, उनले भने, ‘त्यो रकम हामीले काम गरेपछि मात्रै आउँछ । सिधैं पैसा आउने होइन ।’   उनले कम्युनिटी सेन्टरको सहयोगले विपन्न परिवारलाई ठुलो राहात मिलेको बताए ।   सेन्टरले यसअघि स्वास्थ्यतर्फ सिद्ध माविमा अध्यनरत विपन्न विद्यार्थीको निशुल्क स्वास्थ्य परिक्षणसँगै विभिन्न समाजिक कार्यका लागि सहयोग गर्दै आएको छ ।

तनहुँः   यहाँको म्याग्दे गाँउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा आठ हजार बढी नागरिकले सेवा लिएका छन् ।  गाउँपालिकाले गत असोज ६ देखि यही कात्तिक १२ सम्म सञ्चालन गरेको शिविर सञ्चालन गरेको थियो ।   शिविरमार्फत स्वास्थ्य, कृषि, पशु सेवा, पञ्जीकरण, उद्योग व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलनलगायत सेवा प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । पालिकाभित्रका विभिन्न वडाका टोलटोलमा पुगेर सेवा दिएको गाउँपालिकाले जनाएको छ ।  पालिकाको सेवा टोलटोलमा पु(याएर स्थानीय सरकारको आभास दिइएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । “नागरिकको आवश्यकताका आधारमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आएका छौँ”, श्रेष्ठले भन्नुभयो, “गाउँपालिकाले दिएको सेवाले आमनागरिक लाभान्वित बनुन् ।”  शिविर अन्तर्गत स्तन क्यान्सर, पाठेघरको क्यान्सर, आँखा शिविर पनि सञ्चालन गरिसकेको उहाँले बताउनुभयो ।  जनताको समस्या बुझ्न र समाधानका लागि एकीकृत घुम्ती शिविर फलदायी बनेको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।  “जनताको समस्या सुन्न टोल–टोलमा जाने पालिकाको कार्यले जनताप्रति पालिका उत्तरदायी बनेको आभास आम नागरिकले महसुस गर्न थालेका छन्,” उहाँले भन्नुभयो ।   

बझाङः   बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका  मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन् । तथ्याङ्कानुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिर गाउँपालिकामा आठ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआइभी÷टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरिरहेको उहाँले बताउनुभयो ।  “जिल्लामा देखिएको तथ्याङ्कानुसार सबै जिल्लामा छैनन्”, उहाँले भन्नुभयो, “कतिपय सङ्क्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहनुभएको छ ।” तथ्याङ्कअनुसार चालु आवको चार महिनामा आठ जना नयाँ सङ्क्रमित देखिएका छन् । जिल्लामा १५ हजार नौ सय ४६ जनाको एचआइभी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको पण्डितले जानकारी दिनुभयो ।   परियोजना संयोजक लोकेन्द्र पन्तले सङ्क्रमित भएका बिरामीको नियमित उपचारका साथै सीमान्तकृत समुदायका व्यक्तिलाई संस्थाले सहयोग गरिरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “समुदायमा पछाडि परेका, पारिएका, भूमिहीन वर्ग, बालबालिका, दलित, जनजाति महिला÷पुरुषलाई शैक्षिक, सामाजिक र आर्थिक रूपमा समान अवसर दिलाइ क्षमता अभिवृद्धि तथा अन्य सामाजिक सुधारात्मक कार्यमा सुधार ल्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।” उहाँले जिल्लामा कार्यक्रम लागू भएका पालिका तथा समुदायमा एचआइभी जाँच, यौन शिक्षा, क्षयरोग स्क्रिनिङ र अस्थायी साधन वितरण गर्दै आएको बताउनुभयो ।