ललितपुर: नेपाल महिला सङ्घ केन्द्रीय समितिले गोदावरी नगरपालिका–१ स्थित गोदामचौरमा बाढीपहिरो पीडितलाई केन्द्रित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोदावरी नगरपालिका स्वास्थ्य शाखाको समन्वय र वीर अस्पतालका चिकित्सकहरूको सहयोगमा आज एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित स्थानीय तहमा नेपाली कांग्रेस केन्द्रीय समितिले आफ्ना भातृ तथा शुभेच्छुक सङ्घ संस्थालाई आवश्यक राहत र सहयोगका कार्यक्रम गर्न निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम स्वास्थ्य शिविर सञ्चालन गरिएको सङ्घका केन्द्रीय अध्यक्ष उषा राउतले जानकारी दिनुभयो । “यसअघि हामीले सङ्घको स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकका विभिन्न स्थानहरुमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ, यसपटक वर्षाका कारण प्रभावित गोदावरी नगरपालिका–१ मा शिविर सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो । प्राकृतिक विपद् पश्चात पानीजन्य रोग र सङ्क्रमणबाट मानिसहरू प्रभावित हुनेहुँदा उक्त समस्या समाधानका लागि शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ । गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले बाढीपहिरोबाट प्रभावित नगरबासीहरुका निमित्त स्वास्थ्य शिविर सञ्चालन गरिनु सराहनीय कार्य भएको बताउनुभयो । गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीरमण कार्कीले नगरवासीको हितका निमित्त शिविर सञ्चालन गरेकामा आयोजकलाई धन्यवाद दिँदै नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । शिविरमा खटिनुभएका वीर अस्पतालका डा अजय पासवानले जनस्तरमा स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सो वडाका वडाअध्यक्ष श्रीराज थापाले शिविर सञ्चालनबाट बाढीपहिरो पीडितहरु लाभान्वित भएको बताउनुभयो ।
चितवन: सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा आयोजना गरेको दुईदिने ‘लाइफ सपोर्ट’ र ‘प्राइमेरी ट्रमा केयर’ तालिम सम्पन्न भएको छ । नागढुङ्गा–नौबिसे मुग्लिन सडकखण्डमा अवस्थित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका निम्ति सञ्चालित तालिमको समापन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र विपद् प्रतिकार्य सम्भव नहुने बताउनुभयो । उहाँले विपद् प्रतिकार्य तथा उद्धारमा खटिएकाले जीवन जोखिममा परेका हजारौँको रक्षा गरेका तथा देशमा विपत्तिका बेला परिचालन हुने स्वयम्सेवक दस्ता पनि नागरिकस्तरमा गठन गर्न अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो । तालिममा गजुरी अस्पताल, मलेखु अस्पताल, आदमघाट अस्पताल, मुग्लिन हाइेव अस्पताल र इच्छाकामना गाउँपालिकाद्वारा सञ्चालित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा कार्यरत २६ जनाको सहभागिता थियो । महानिरीक्षक अर्यालले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
गलकोट: स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन् । विसं २०७३ आसरदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको सङ्ख्या वृद्धि भएको हो । यहाँको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमा सेवा लागु भएकाले बिमामा आबद्ध हुनेको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताउनुभयो । पौडेलकाअनुसार स्वास्थ्य बिमामा आबद्धमध्ये ६६ हजार आठ सय ३९ महिला र ५९ हजार पाँच सय ६० पुरुष छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि एक लाख सम्मको स्वास्थ्य उपचार निःशुल्क पाइने भएकाले नागरिक बिमामा आकर्षित भएका छन्”, पौडेलले भन्नुभयो, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजारले स्वास्थ्य बिमा गराएका छन्, एक पटक प्रमियिम तिरेपछि वर्षभरी सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।” दुई लाख ४९ हजार दुई सय ११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गराइसकेका छन् । स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि धौलागिरि अञ्चल अस्पतालमा बिरामीको सङ्ख्यामा तेब्बरले वृद्धि भएको छ । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्यको हकमा प्रति सदस्य रु सात सयका दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ ।
पर्वत: स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको कूल जनसङ्ख्याको ३५ दशमलव पाँच प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका सातै वटा पालिकाका ४६ हजार तीन सय ९६ जनाले स्वास्थ्य बिमा गरेका हुन् । स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत असोज मसान्तसम्म १६ हजार पाँच सय ७० परिवारका ४६ हजार तीन सय ९६ जना नागरिकले स्वास्थ्य बिमा गरेर उपचार सेवा लिँदै आएका छन् । कार्यालयकी संयोजक एवं दर्ता अधिकारी सिया गुरुङले जिल्लाका सात वटा स्थानीय तहमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका १६ हजार पाँच सय ६६ जनाले स्वास्थ्य बिमा गराएका छन् । सबैभन्दा कम महाशिला गाउँपालिकाका एक हजार आठ सय तीन जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा रहेका उहाँले जानकारी दिनुभयो । फलेबास नगरपालिकाका छ हजार आठ सय ५९, मोदी गाउँपालिकामा छ हजार आठ सय एक, जलजला गाउँपलिकामा आठ हजार चार सय ४४ जनाले स्वास्थ्य बिमा गरेका छन् । दर्ता अधिकारी गुरुङका अनुसार विहादी गाउँपालिकामा दुई हजार दुई सय २२ र पैयुँ गाउँपालिकामा तीन हजार सात सय एक जनाले बिमा गरेका हुन् । विसं २०८० असोज १ गतेदेखि गत भदौ मसान्तसम्म १० हजार तीन सय ७९ जना बिमामा आबद्ध भएका छन् । विसं २०८० भदौ मसान्तसम्म ३६ हजार १७ जना नागरिक आबद्ध भएका थिए । स्वास्थ्य बिमाका लागि जिल्लाका ६१ वटा वडामा प्रतिनिधि खटाइएको भन्दै दर्ता अधिकारी गुरुङ सबै नागरिकलाई बिमातर्फ आकर्षित गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाको कूल जनसङ्ख्या मध्ये ८४ हजार चार सय ९१ जना बिमाको पहुँचभन्दा बाहिर छन् । नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकताअनुसार सूचीत गराउन नसक्दा बिमाप्रति आकर्षण बढ्न नसकेको स्वास्थ्य बिमाका क्षेत्रमा काम गर्ने कर्मचारीहरु बताउँछन् । वडाहरूमा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीलाई तालिमको अभावका कारण सेवाग्राहीले बिमासम्बन्धी आवश्यक कुरा बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहज रूपमा बीमितहरुले (उपचार सेवा र औषधि) नपाएको गुनासो गर्नु, जिल्लाका सम्पर्क शाखा कार्यालयमा आवश्यक जनशक्ति नहुनु, वडामा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगी नियमित बिमकसँग नपुग्नुले समस्या भइरहेको कर्मचारीको भनाइ छ । अधिकांश नागरिक बसाइँसराइ गरेर अन्यत्र गइरहेको, गाउँमा शिक्षित नागरिक र युवापुस्ता नभएकाले पनि बिमा जिल्लाको जनसङ्ख्याअनुसार बिमा गराउने नागरिकको सङ्ख्या बढ्न नसकेको दर्ता सहयोगी आशङ्का श्रेष्ठले बताउनुभयो । जिल्लामा स्वास्थ्य बिमा गर्नेहरुको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको छ । सामान्य बिरामी हुँदा पनि अस्पताल आएर उपचार गराउन थालेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिनुभयो । उपचार गर्न र सिफारिस बनाउनका लागि दैनिक सयौँ बिरामी अस्पताल आउने गरेको उहाँले बताउनुभयो ।
काठमाडौं: रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने भएको छ । रोटरीले यही कात्तिक ८ गते उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड पोलियोे नाओ’ विशेष अभियान सञ्चालन गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले पोलियो उन्मूलनका लागि जनचेतना फेलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनतेतना फैलाउन विभिन्न गतिविधि गर्दै आइरहेको छ । अभियानअन्तर्गत कात्तिक ८ गते बिहान ६:३० बजे ललितपुरको जावलाखेलबाट बृहत् साइकल ¥याली हुने तय गरिएको छ । सोही दिन साँझ धरहर सन्देशहरु प्रदर्शनी गरिने आयोजकले जनाएको छ । “नेपालमा आधिकारिक रुपमा पोलियोका बिरामी छैनन् । तर हामी सधैँ सचेत बनिरहनुपर्छ । पछिल्लो समय काठमाडौँको ढलमा पोलियो भाइरस भेटिएको समाचार प्रकाशित भएको थियो । यस कारण पनि हामी सधैँ सचेत भइरहनुपर्छ”, गभर्नर शाक्यले भन्नुभयो । उहाँले पोलियो उन्मूलनका लागि पाँच वर्ष मुनिका सबै बालबालिकालाई नछुटाइ पोलियोविरुद्धको खोप लगाउन अति जरूरी रहेको उल्लेख गर्नुभयो । पोलियो खोप अभियानका लागि रोटरीले इन्टरनेशनलले नेपाल सरकारसँग सहकार्य गर्दै आइरहेको छ । रोटरीले पोलियो उन्मूलन अभियानसहित सात वटा क्षेत्रमा सामाजिक काम केन्द्रित गर्दै आइरहेको छ । त्यसमध्ये एक महत्वपूर्ण क्षेत्र स्वास्थ्य क्षेत्रको पोलियो विशेष कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको हो । विश्वबाट नै पोलियो भाइरस उन्मूलन गर्न रोटरीले सुरुवाती समयदेखि नै प्रभावकारी रुपमा काम गर्दै आइरहेको दाबी गरेको छ । सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था हो । विभिन्न मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब ५३८ वटा डिष्ट्रिक्टहरुअन्तर्गत आबद्ध छन् । साथै १२ लाखभन्दा बढी सदस्य रोटरी सेवामा सक्रिय रहेको संस्थाले जनाएको छ । नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको थियो । सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो । हाल नेपालमा १६१ वटा रोटरी क्लबले स्थानीयस्तरसँगै राष्ट्रियस्तरमासमेत विभिन्न कार्य गर्दै आएका छन् ।
चितवन: चितवनमा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ । यहाँ दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चिवन शाखाका सभापति हरिप्रसाद पौडेलले बताउनुभयो । चितवनमा रगत अभाव हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उहाँले बताउनुभयो । रगत अभावका कारण नियमित शल्यक्रियामा समेत समस्या हुने गरेको छ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् । मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार शाखाका सबइन्जिनियर दीपक सापकोटाका अनुसार सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु १८ करोड लागतमा छवटा वडामा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । अघिल्ला दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको हो । केही समयअघि मात्र वडा नं ३ को डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको थियो । स्वास्थ्यचौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड ४५ लाखको विशेष अनुदान प्राप्त भएको थियो । आव २०८०÷८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले रु ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो । सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिनुभयो ।
नेपालका सरकारी अस्पतालहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । सबैको पहुँचमा भएर पनि हुनेखाने सहरिया वा उच्च वर्गकाहरु व्यवस्थापनका लागि सरकारी अस्पतालहरु कहिल्यै जान नहुने वा गए इज्जत जाने क्षेत्र जस्तै भए पनि सर्वसाधारण जनताका लागि सुलभ र सुपथ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालहरुको उल्लेख्य भूमिका छ । सरकारी अस्पतालहरुमा आधारभूतदेखि सबै प्रकारका विशिष्ट स्वास्थ्य सेवाहरु उपलब्ध छन् । सरकारी अस्पतालहरुले स्वास्थ्य जनशक्ति उत्पादन गर्न, उनीहरुको दक्षता अभिवृद्धि गर्न र देशभर स्वास्थ्य सञ्जाल विकास तथा विस्तार गर्न उच्च प्रकारको भूमिका खेलेका छन् । यसका लागि राज्यले निकै ठूलो रकम खर्च गरेको पनि छ । तर पनि सरकारी अस्पतालप्रति आम जनताको त्यति सकारात्मक दृष्टिकोण छैन । यसका मुख्य कारणहरुमध्ये सरकारी अस्पतालहरुको फितलो व्यवस्थापन, मागअनुसार कम स्रोतसाधन र जनशक्तिका कारण अस्पतालहरुमा लाग्ने भीड, सेवा लिन पर्खनुपर्ने लामो समय, अस्पतालमा कम गुणस्तरको सुविधा, स्वास्थ्यकर्मीहरुको बोलीव्यबहार आदि हुन् । अहिलेको अवस्थामा अधिकांश केन्द्रीय, विशिष्ट, प्रादेशिक र अधिकांश जिल्ला अस्पतालमा बिरामीहरुको भीड लाग्ने गरेको छ । यसरी भीड लाग्नुको प्रमुख कारण भनेको सरकारी स्वास्थ्य क्षेत्रमा माग र आपूर्तिको बीचमा अन्तर हुनु हो । अर्थात् अर्थशास्त्रको सिद्धान्त जस्तै माग बढी हुनु र स्वास्थ्य सेवा पर्याप्त नभएको अवस्थामा सरकारी अस्पतालहरुमा भीड लाग्छ । जब आवश्यक मात्रामा सरकारी अस्पतालहरुमा भौतिक पूर्वाधार, जनशक्ति, स्रोत र साधन उपलब्ध हुँदैन, तब चाहिए जति स्वास्थ्य सेवा र सुविधा उपलब्ध गराउन सकिँदैन । अनि स्वाभाविक रुपमा भीड बढ्छ । तसर्थ, सम्बन्धित निकाय र स्वास्थ्य संस्थाले बिरामीको भीड व्यवस्थापनका लागि कार्य योजना बनाई उचित कदम चाल्नुपर्छ । त्यसो गरेमा हरेक स्वास्थ्य संस्थामा लाग्ने बिरामीको भीड व्यवस्थापन हुन्छ । पछिल्लो तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा आठ सय ५० जनसङ्ख्याका लागि एकजना चिकित्सक भए पनि नेपालको ग्रामीण भेगमा भने हरेक एक लाख ५० हजार जनसङ्ख्याका लागि एकजना चिकित्सक उपलब्ध छन् । काठमाडौँ उपत्यकाको तथ्याङ्कलाई बिर्सने र नेपालको ग्रामीण भेगको स्वास्थ्य सेवाको दृश्य हेर्ने हो भने अहिले पनि नेपालमा सबै जनसङ्ख्याका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको हरेक एक हजार मानिसका लागि एक चिकित्सक उपलब्ध छैनन् । नेपालमा हरेक वर्ष झन्डै दुई हजार एमबिबिएस र करिब त्यसको आधा विशिष्ट पोस्ट ग्र्याजुएट चिकित्सक जनशक्ति स्वास्थ्य सेवाका लागि तयार हुन्छन् । के पर्याप्त चिकित्सक वा स्वास्थ्यकर्मी हुँदैमा अस्पतालमा भीड नलाग्ने पक्कै होइन । सरकारी अस्पतालहरुमा भीड हुनाका कारण चिकित्सकको कमी, स्रोत र साधनको मात्रै हैन सरकारी अस्पतालको कमजोर व्यवस्थापन पनि भीड लाग्नुको अर्को मुख्य कारण हो । सरकारी अस्पतालहरुको नेतृत्व गर्ने व्यक्ति जिम्मेवार, जवाफदेही, पारदर्शी र दक्ष हुने हो भने सरकारी अस्पतालहरुको व्यवस्थापनमा व्यापक सुधार गर्न सम्भव छ । सेवाग्राहीहरुले चाहेजस्तो सेवा उपलब्ध गराउन र उनीहरुलाई सन्तुष्ट पार्न अस्पतालको नेतृत्व र व्यवस्थापनको अहम् भूमिका हुन्छ । सरकारी स्वास्थ्य सेवाको सन्दर्भमा देखिएको कमजोरी के पनि हो भने अस्पतालको नेतृत्वमा दक्ष र राम्राभन्दा पनि मन्त्री वा नेताहरुको नजिक हुने वा ‘हाम्रा’ मान्छेहरुलाई ठूला सरकारी अस्पतालहरुको नेतृत्व वा कार्यकारी पदमा नियुक्ति दिनु हो । त्यसरी आएको नेतृत्वले न त सही स्रोत र साधनको उपयोग गर्न सक्छ, न त अस्पतालको सेवासुविधा र गुणस्तरको सुधार नै गर्न सक्छ । त्यसैले त्यस्तो प्रवृत्तिको अन्त्य गरी सरकारी अस्पतालहरुको नेतृत्व नियुक्ति गर्नका लागि एउटा छुट्टै स्वतन्त्र निकायको स्थापना हुनु जरुरी छ । त्यसले त्यस्ता पदहरुमा नियुक्तिको मापदण्ड तयार गरी विशेष प्रतियोगिताबाट योग्य र सक्षम व्यक्ति नियुक्ति गर्न सकोस् । अस्पताल एक विशिष्ट किसिमको संस्था हो । अस्पताल सञ्चालन गर्नका लागि समग्र स्वास्थ्य सेवा व्यवस्थापनजस्तै, रणनीति बनाउनसक्ने ज्ञान र दक्षता, आर्थिक व्यवस्थापन, कर्मचारी व्यवस्थापन, क्लिनिकल र अन्य सेवा व्यवस्थापन, नियम कानुन आदिको ज्ञान जरुरत पर्छ । अस्पतालहरुको नेतृत्वदायी भूमिकामा केवल चिकित्सकहरुलाई मात्रै नियुक्ति दिने गरिन्छ । त्यस्तो व्यक्ति अस्पताल व्यवस्थापन, नेतृत्व र सञ्चालनमा तालिम प्राप्त छभने दिनु राम्रै हुन्छ । कुनै चिकित्सक आफ्नो मेडिकल क्षेत्रमा विज्ञ हुन सक्छ तर ऊ अस्पताल व्यवस्थापनको पनि विज्ञ नहुन पनि सक्छ । त्यसैले सरकारी अस्पतालको नेतृत्व लिने व्यक्तिलाई स्वास्थ्य मन्त्रालयले विशेष किसिमको स्वास्थ्य सेवा व्यवस्थापन तालिम दिएर अस्पतालको स्रोत र साधनको अधिकतम उपयोग गरी भीड घटाउने कार्ययोजना बनाउने, स्वास्थ्य सेवा प्रभावकारी बनाउने, अस्पतालको बजेटलाई सही रुपमा खर्च गर्ने, सबै सेवाग्राहीलाई सन्तुष्ट बनाउनेजस्ता प्रभावकारी काम गर्नसक्ने बनाउनु आवश्यक हुन्छ । सरकारी अस्पतालहरुमा भीड कम गर्न सूचना प्रविधिको अधिकतम उपयोग गर्नु पनि जरुरी छ । समय तालिकाको व्यवस्थापन, नयाँ वा फलोअप बिरामीको नाम अग्रिम रुपमा अनलाइन पद्धतिबाट दर्ता गर्ने, मेडिकल रेकर्ड व्यवस्थापन गर्न, एकीकृत सूचना प्रणालीद्वारा सबै सरकारी अस्पतालहरुको स्रोत र साधन उपयोग गर्नेदेखि दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा उपलब्ध गराउन सूचना प्रविधिको उपयोग गर्न सकिन्छ । एकीकृत सूचना प्रणालीद्वारा स्वास्थ्य सेवाको माग र आपूर्ति, स्रोत र साधनका बारेमा सबै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाहरुलाई दैनिक तथ्याङ्क उपलब्ध गराउने हो भने स्वास्थ्य सेवामा माग र आपूर्तिको सन्तुलन मिलाउन सकिन्छ । ग्रामीण भेग वा स्वास्थ्य सेवाको पहुँच नपुगेका जनतालाई टेलिमेडिसिनमार्फत फलोअप वा नियमित स्वास्थ्य सेवा दिने हो भने अस्पतालको भीड घटाउन सकिन्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल नेतृत्वमा आएपछि सङ्घीय तथा केन्द्रीय अस्पतालहरुमा अनलाइन पद्धतिबाट नाम दर्ता प्रणाली सुरु भएको छ । यो कदम निकै स्वागतयोग्य छ । अस्पतालहरुमा भीड व्यवस्थापन गर्न र घटाउनका लागि यसको सकारात्मक प्रभाव परेको छ । यसका लागि आमनागरिकले थाहा पाउनेगरी जनचेतना बढाउन, प्रयोगमैत्री प्रविधि उपयोग गर्न र सूचना प्रविधिको पहुँच आम नागरिकसम्म पु¥याउन सम्बन्धित निकायले उल्लेख्य भूमिका खेल्नु जरुरी छ । हरेक अस्पतालमा आउने बिरामीहरुलाई पहिलोपटक नाम दर्ता गरिसकेपछि फलोअपमा आउँदा वा अरू कसैको लागि अनलाइनबाट नाम दर्ता गर्दा के कसरी गर्ने भन्ने जानकारीसहितको पर्चा दिने, अस्पतालको बहिरङ्ग र अन्य क्षेत्रमा जानकारीमूलक बोर्ड राख्ने र स्वास्थ्यकर्मीहरुले यससम्बन्धी जानकारी बिरामी वा बिरामीका आफन्तलाई दिने हो भने अनलाइन नाम दर्ता प्रणाली लोकप्रिय हुनेछ र यसको प्रभावकारिता पनि बढ्नेछ । हरेक सरकारी अस्पतालका आ–आफ्नै विशेषता र कमजोरीहरु पनि हुन्छन् । तिनको पहिचान गरी आफ्नो अस्पतालको पूर्वाधार, जनशक्ति, स्रोत र साधनको कसरी अधिकतम उपयोग गर्न सकिन्छ, अस्पतालको सेवा र गुणस्तरको कसरी सुधार गर्न सकिन्छ, त्यसको अध्ययन गरी कार्ययोजना बनाउने र लागू गर्ने काम अस्पताल नेतृत्वको हो । यदि अस्पतालमा यस्तो अध्ययन गर्नसक्ने र योजना बनाई लागू गर्नसक्ने जनशक्ति छैन भने यस्तो काम गर्नसक्ने कुनै फर्म वा विशिष्ट दक्ष परामर्शदाताको सहयोग लिन सकिन्छ । यस्तो पुनरवलोकन र सुधार योजना बनाउनका लागि स्वास्थ्य व्यवस्थापन क्षेत्रमा केही व्यवस्थापकीय विधि वा तरिका पनि प्रचलनमा छन् । यी विधिहरु नेपालमा पनि प्रयोग गर्न सकिन्छ । हरेक सरकारी अस्पतालले अस्पतालको सेवा र गुणस्तरको सुधारका लागि कार्ययोजना बनाई सेवा लागू गर्दा अस्पतालमा भीड कम हुने मात्रै कम हुने हैन, व्यवस्थापकीय कमी कमजोरीमा पनि सुधार ल्याउन सकिन्छ । कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा बिरामीको भीड पूर्णरुपमा सधँै शून्यमा झार्न सकिँदैन । स्वास्थ्य सेवामा यो परिकल्पना पनि गरिँदैन । स्वास्थ्य सेवा वा अस्पतालको प्रकृति नै त्यस्तो हो, जहाँ कहिलेकहीँ नसोचेको बिरामीको भीड लाग्नसक्छ । अस्पतालको क्षमता र बिरामीको चापबीच असन्तुलन हुनसक्छ । अस्पताल व्यवस्थापनको सिद्धान्तमा बिरामीलाई उपलब्ध गराउने सेवा र सुविधाहरुको गुणस्तर सुधार, बिरामीलाई सेवाप्रति सन्तुष्ट पार्दै भीड व्यवस्थापन गर्ने तरिका र विधिका बारेमा पढ्ने र पढाउने गरिन्छ । यस्तो तालिम बिरामीको भीड व्यवस्थापन गर्न स्वास्थ्य संस्थाको नेतृत्व लिने व्यक्तिले लिनु जरुरी छ ।
नेपालको आँखा उपचार सेवाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा हाँसिल गरिरहेको छ । पछिल्लो समय भारतीय सीमा क्षेत्रका नागरिक एवं अन्य देशका नागरिक समेत नेपालका आँखा उपचार केन्द्रमा सेवा लिन आउनेक्रममा बृद्धि भइरहेको छ । अर्काेतर्फ नेपालका नेत्रविशेषज्ञले विदेशमा पु¥याएको सेवा तथा अनुसन्धान अब्बल कहलिएका छन् । नेपाली नेत्रविशेषज्ञद्वय सुशीला पटेल र सविता ढकालले बङ्गलादेशको आन्दोलनका क्रममा आँखामा समस्या देखिएका घाइतेका ढाकामा विशेषज्ञ सेवा प्रदान गरिरहेका छन् । घाइतेको आँखा उपचार गर्न नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवाले चिकित्सकद्वयलाई त्यसतर्फ पठाएको थियो । अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीका अनुसार अस्पतालमा कार्यरत डा पटेल कर्निया सर्जनको एशोसियट प्रोफेसर तथा डा ढकाल भिट्रो रेटिना सर्जन हुनुहुन्छ । उहाँहरु नेशनल इन्ष्टिच्यूट अफ अप्थालमोलोजी ढाकाको आग्रहमा बङ्गलादेश जानु भएको हो । अस्पतालका सूचना अधिकारी प्रतिक पाण्डेका अनुसार नेपाली चिकित्सकले यही असोज १८ गतेदेखि ढाकामा विशेषज्ञ उपचार सेवा प्रदान गरिरहनुभएको छ । योक्रम यही असोज २३ गतेसम्म जारी रहने छ । आन्दोलनका क्रममा बङ्गलादेशको राजधानी ढाकामा विशेष गरेर आँखामा चोट लागि नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका, आँखामा चोट लागि घाइते भएका, आँखामा रगत आएका लगायत समस्या देखिएका बिरामीको उपचारका साथै शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सेवा नेपाल र सेवा फाउन्डेसनको समन्वय तथा नेशनल इन्ष्ट्रिच्यूट अफ अप्थालमोलोजी ढाकाको आग्रहमा अस्पतालमा कार्यरत चिकित्सकलाई बङ्गलादेश पठाइएको हो । उहाँले भन्नुभयो, “छिमेकीलाई समस्या पर्दा सहयोग गर्नु हाम्रो कर्तव्य हो । विगतमा पनि हामीले बङ्गलादेशस्थित नेपाली राजदूतावासका समन्वयमा बङ्गलादेशमा आँखा परीक्षण शिविर सञ्चालन गरिसकेका छौँ । उहाँहरुले सेवा फाउन्डेसनमार्फत चिकित्सक पठाउन आग्रह गरेपछि हामीले हाम्रो अस्पतालमा कार्यरत चिकित्सलाई बङ्गलादेश पठाएका छौँ । यसले दुई देशबीचको सम्बन्ध नागरिकस्तरमै थप प्रगाढ हुने विश्वास लिएका छौँ र आगामी दिनमा समेत दूतावाससँगको सहकार्यमा बङ्गलादेशका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्ने योजना बनाएका छौँ ।” पछिल्लो समय बङ्गलादेशबाट व्यक्तिगत रुपमा नै आँखाका बिरामी उपचारका लागि नेपाल आइरहेका छन् । सङ्घको तथ्याङ्क अनुसार सन् २०२३ मा मात्र भारत बङ्गलादेशसहित विभिन्न देशबाट आठ लाखभन्दा बढी बिरामीले सङ्घको सञ्जालमार्फत आँखाको उपचार गराएका छन् ।