काठमाडौं:   छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएक...

म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ ।   म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७:०० देखि बेलुका ८:०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो ।   शनिबार र बिदाका दिनमा समेत दैनिक १३ घण्टे ओपिडी सेवा विस्तार भएपछि सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा अञ्जु थापाले जानकारी दिनुभयो ।   उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बेनी अस्पतालको ओपिडी सेवाबाट ७३ हजार नौ सय ३० जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । यसअघि आव २०७९/८० मा ५० हजार दुई सय ८१ र आव २०७८/७९ मा ४० हजार एक सय १० जनाले ओपिडी सेवाबाट स्वास्थ्योपचार गराएका थिए ।   अस्पतालले सोमबार आयोजना गरेको वार्षिक समीक्षामा अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा थापाले साँघुरो भौतिक पूर्वाधार र सीमित स्रोत, साधनका बीच विस्तार भएको ओपिडी सेवाले बिरामीलाई सहजता मिलेको बताउनुभयो ।   गत वर्ष सात हजार पाँच सय ७२ जनाले अस्पतालको आकस्मिक सेवा लिएका छन् भने दुई हजार दुई सय ६५ जना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरेको उहाँले बताउनुभयो ।   त्यस्तै गत वर्ष कुल तीन सय ७० महिला बेनी अस्पतालमा सुत्केरी भएकामा ९६ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको उहाँले जानकारी दिनुभयो ।   गत वर्ष बेनी अस्पतालमा ९८ जनाको मुख्य शल्यक्रिया गरिएको छभने नौ हजार छ सय ३६ जनाले युएसजी सेवा लिएका छन् । चार हजार १३ जनाले इसिजी सेवा लिएकामा १५ हजार आठ सय ९५ जनाले एक्सरे सेवा पाएका छन् ।   अस्पतालको सुविधासम्पन्न भवन निर्माणधीन अवस्थामा रहेकाले भौतिक पूर्वाधार र जनशक्ति अभावका बीचमा सेवा विस्तार गरी बिरामीलाई सहजता प्रदान गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।   उहाँले अस्पतालमा मेसिन उपकरणको बन्दोबस्त गर्ने काम भइरहेको भए पनि भवनको पूर्वाधारले पूर्णता नपाउँदा सेवालाई थप विस्तार र स्तरीकरण गर्न समस्या भएको जानकारी दिनुभयो । विसं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भए पनि अस्थायी भौतिक संरचना थप गरेर अहिले ७८ बेड पुर्याइएको छ ।   अस्पतालमा स्वीकृत दरबन्दी कुल ५९ रहे पनि हाल जम्मा २६ जनाको मात्रै पदपूर्ति भएको छ ।   अस्पतालको सेवालाई सञ्चालन गर्न अस्थायी र करारमा समेत नियुक्त गरेर हाल अस्पतालमा एक सय २० जना कार्यरत रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।   बेनी अस्पतालमा मानसिक रोग, महिला तथा प्रसूति रोग, जनरल फिजिसियन, बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग, जनरल सर्जरीलगायत विशेषज्ञ सेवाका साथै मिर्गाैला रोगका बिरामीका लागि डाइलाइसिस सेवा सञ्चालन हुँदै आएको छ ।   अतिरिक्त समयको सेवा प्रभावकारी अस्पतालले सञ्चालन गरेको अतिरिक्त समयको सेवा प्रभावकारी बनेको छ । बिहान, बेलुकी र सार्वजनिक बिदामा पनि सरकारी अस्पतालमा सेवा पाएपछि कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको हो ।   अस्पतालको अतिरिक्त समयको सेवाले मजदुर, कर्मचारी, व्यवसायी, शिक्षक, विद्यार्थीलाई निजी क्लिनिक जानुपर्ने समस्या हटेको बेनीका रिमा क्षेत्रीले बताउनुभयो ।   “सरकारी अस्पतालको बहिरङ्ग विभागको सेवा अतिरिक्त समयमा पाएपछि निजी क्लिनिकमा जानुुपरेन”, उहाँले भन्नुुभयो “कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको छ, धेरै लाइन बस्नुु पनि परेन ।” अतिरिक्त समय सेवा दिन थालेपछि सेवाग्राहीको सङ्ख्या बढेको अस्पतालका निमित्त प्रमुख डा थापाले बताउनुभयो । “अतिरिक्त समय सेवा प्रवाह सञ्चालन गरेपछि सेवाग्राहीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २४ हजार जनाले बढेको छ”, उहाँले भन्नुभयो “बहिरङ्ग विभागको सेवा लिने करिब ४० प्रतिशत अतिरिक्त समयका सेवाग्राही छन् ।”

काठमाडौं:   शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ।        अस्पतालका निर्देशक डा युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताउनुभयो । उहाँले बिरामीको चापका कारण अस्पतालले शय्याको अभाव हुन थालेको बताउनुभयो । उहाँका अनुसार डेङ्गी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन् ।       अस्पतालका निर्देशक डा बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो । तीमध्ये धेरै डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन् ।  भदौयता डेङ्गीका १९५, स्क्रब टाइफसका १३ र सर्पदङ्शका ७१ बिरामीले उपचार गरेका छन् । स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।      मुसामा हुने किर्ना प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । आजभोलि मानिस घाँसपात गर्न जाने गर्दछन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्दछ । चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन ।       धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु, कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न जस्ता स्क्रप टाइफसका लक्षण हुन् । समयमा यसको उपचार गर्न नसकेपछि मिर्गौला, कलेजामा असर पर्ने अस्पतालका निर्देशक डा बसौलाले बताउनुभयो । सय शैय्याको स्वीकृत पाएको अस्पताल अहिले ८५ शैय्यामा सञ्चालनमा रहेको छ । 

पर्वत:  लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ ।   स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै रु तीन करोड भुक्तानी पाउन नसकेको हो ।   गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा डाइलाइसिसबापतको रु दुई करोड ९५ लाख १७ हजार पाँच सय २२ रकम भुक्तानी लिन नसक्दा अस्पतालका अन्य सेवा प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो ।   अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको उहाँले बताउनुभयो ।   स्वास्थ्य बीमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिद, कर्मचारीको तलबभत्ता भुक्तानी तथा अन्य नियमित काममा समस्या परेको डा बाँस्तोलाले बताउनुभयो ।   रकम भुक्तानीका लागि पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।   स्वास्थ्य बीमा गरेका बिरामी सामान्य समस्या पर्दा पनि अस्पताल आइपुग्नुहुन्छ, उनीहरूलाई सेवा दिनैपर्छ, तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको छ ।   अस्पताल व्यवस्थापन समितिको कोषवाट जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब सङ्कट सिर्जना हुन थालेको उहाँको भनाइ छ ।   “अहिले डेङ्गीको जोखिम छ, बिरामीले अस्पताल भरिभराउ छ, सरकारले दिएको डेङ्गी परीक्षण कीटले नपुगेर अस्पताल व्यवस्थापन समितिले आफैँ खरिद गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “सरकारबाट बीमाको रकम भुक्तानी नआउँदा खरिद प्रक्रियासमेत अवरोध भइरहेको छ ।”   पर्वतमा स्वास्थ्य बीमामा आबद्ध भएका झण्डै ४२ प्रतिशत नागरिकले अस्पतालबाट सेवा लिने गरेका छन् ।   सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्सेनि भुक्तानी लिन समस्या पर्ने गरेको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो ।   स्वास्थ्य बीमा बोर्ड अस्पतालबाट प्राप्त बिल भर्पाइका आधारमा उक्त रकम स्वास्थ्य मन्त्रालयमा माग गरिएको भए पनि भुक्तानी नआउँदा अस्पताल सङ्कटमा पर्न थालेको उहाँको भनाइ छ ।   एक परिवारका लागि रु तीन हजार पाँच सयको प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले रु एक लाख बराबरको बीमा रकम भुक्तानी दिने गर्दछ ।   पाँच जनाभन्दा बढी सदस्य रहेको साधरण परिवारको हकमा प्रतिसदस्य थप रु सात सय योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा रु एक लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम रु दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ । अस्पतालमा पछिल्ला केही वर्षयता बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ ।   अस्पतालको नयाँ भौतिक संरचना निर्माणसँगै १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएपछि बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढेको हो । आव २०८०/ ८१ मा झण्डै ६० हजार बिरामीको उपचार गरिएको पर्वत अस्पतालले जनाएको छ ।   मेडिकल सुपरिटेन्डेन्ट डा बाँस्तोलाका अनुसार सीमित स्रोत र जनशक्तिका बीच बिरामी उल्लेख्य मात्रामा उपचारका लागि आएको बताउनुभयो ।   उहाँका अनुसार आव २०७९/८० मा ५२ हजार चार सय ६६ जनाको उपचारका लागि आएका थिए भने त्यसभन्दा अघिल्लो वर्ष ३९ हजार बिरामीले सेवा लिएका थिए ।   अस्पतालबाट विशेषज्ञ सुविधासँगै ५० शय्यामा विस्तार भएपछि विगतका वर्षहरुमा भन्दा सेवाग्राहीको चाप ह्वात्तै बढेको छ ।   दुई वर्ष अगाडि दैनिक एकदेखि डेढ सय जानाको स्वास्थ्य परीक्षण हुने गरेकामा अहिले दैनिक करिब तीन सय पुगेको छ ।   भौतिक संरचना निर्माण र सेवा विस्तार भए पनि सरकारले ५० शय्याको अनुमति नदिँदा समस्या भइरहेको डा बास्तोलाले बताउनुभयो । अस्पतालमा अझै बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञलगायतको अभाव रहेको उहाँको भनाइ छ ।   अहिले अस्पतालवाट नियमित स्वास्थ्य परीक्षणसँगै १० शय्याको डायलासिस सेवा, आँखा रोग, दन्त रोग, शल्यक्रियामार्फत सुत्केरी सेवा, हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिसलगायत सामान्य खालका शल्यक्रिया सेवा, इसिजी, एक्सरेलगायतका सेवा सञ्चालन भइरहेका छन् ।

बलेवा:   प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ । शनिबार साँझ व्यथा लागेपछि स्थानीय स्थास्थ्य संस्थाको सल्लाहमा विकलाई परिवारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो ।  स्वास्थ्य केन्द्र आउने बेला सामान्य व्यथा लागे पनि आज बिहानदेखि एक्कासी रक्तचाप बढ्ने र शरीर काप्ने, बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको स्वास्थ्य केन्द्रका डाक्टर नवीन्द्र ढकालले बताउनुभयो । उच्च रक्तचापको औषधि चलाउँदा शरीर काँप्ने बेहोस हुने र बच्चाको समेत मुटुको चालमा समस्या देखिएपछि सुत्केरी गराउन सम्भव नभएको डा ढकालले बताउनुभयो । 

कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण ६ गुणाले बढेको छ ।   भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो ।   महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताए ।   “पछिल्लो एक महिनामा डेङ्गी सङ्क्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा सङ्क्रमण देखिन सक्छ”, उनले भने, “प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगु रोकथाम चुनौतीपूर्ण छ ।”   गतवर्ष पोखरा महानगरपालिकाका ती हजार तीन सय ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो ।   कात्तिक महिनासम्म सङ्क्रमणको जोखिम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ ।    पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको उनले जानकारी दिए । पो   खरा महानगरपालिका–नं ५, ८ लगायतका वडा डेंगुबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।    

बागलुङ:    धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ ।   धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ ।   केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।   अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ ।   स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताउनुभयो ।   बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताउनुभयो । उहाँले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको बताउनुभयो ।

बाँके:    “हाम्रो गाउँपालिका राजमार्गमा पर्ने भएकाले यहाँ प्रायः सवारी दुर्घटना भइरहन्छन्, पहिले बिरामीलाई अस्पताल लैजानका लागि सवारीसाधन खोज्न निकै आपत् पथ्र्यो तर हाल एम्बुलेन्स सञ्चालनमा आएदेखि सवारीसाधनका लागि भौतारिनु पर्दैन, समयमा नै अस्पताल पुगिन्छ भन्ने विश्वास जागेको छ”, यो भनाइ हो बाँकेको राप्तिसोनारी गाउँपालिका–२ कि मिना वलीको ।  मीनाले धेरैपटक राजमार्गमा भएका दुर्घटना नजिकबाट देख्नु र सुन्नुभएको छ । प्रायः रातिको समयमा दुर्घटना हुने हुँदा समयमै उपचार नपाउँदा कतिपयले ज्यान गुमाएको पनि उहाँको सम्झनामै छ ।  त्यसैले यहाँका स्थानीयले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालनका लागि आवाज उठाइरहेका थिए । तीमध्ये मीना पनि एक हुनुहुन्थ्यो । पछिल्लो समय  यहाँ चौबिसै घण्टा सेवा दिने गरी एम्बुलेन्स सञ्चालनमा आएपछि पहिलेको जस्तो समस्या नहुने उहाँको विश्वास छ । मीनाजस्तै सोही गाउँपालिका–८ का रामशरण थारुले पालिकामा एम्बुलेन्स सेवा सुरु भएपछि खुसी हुनुहुन्छ ।  “निकुञ्जसँगै जोडिएको राजमार्गका कारण यहाँ सवारी दुर्घटनाका साथै वन्यजन्तुको आक्रमणबाट पनि बेलाबेला समस्या हुने गरेको छ । विगतमा धेरैले दुःख पाएका छौँ । कतिले समयमा अस्पताल पु¥याउन नसक्दा ज्यान गुमाएका पनि छन्”, उहाँले विगत सम्झिँदै भन्नुभयो,“ अब आफ्नै पालिकामा चौबिसै घण्टा एम्बुलेन्स सेवा सुरु भएको छ । अब समयमै अस्पताल नपुर्‍याएका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैन भन्ने विश्वास जागेको छ ।” सोही पालिका–२ का कार्यवहाक वडाध्यक्ष दीर्घबहादुर बुढाक्षेत्री पनि विगतमा सवारीसाधनको अभावमा समयमै अस्पताल पु¥याउन नसक्दा धेरै घाइते तथा बिरामीले ज्यान गुमाएको स्मरण गर्नुहुन्छ ।  “अकस्मात कुनै घटना भइहालेमा कोहलपुर मेडिकल र नेपालगञ्ज मेडिकल कलेजसम्म पुग्न समस्या हुने गथ्र्यो । समयमा अस्पताल पुर्याउन नसक्दा धेरैले अकालमा ज्यान गुमाउनु परेको आफ्नै आँखाले देखेको छु । त्यही समस्या समाधान गर्न पालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । अब केही राहत हुनेछ”, उहाँले भन्नुभयो ।  बाँकेको राप्तिसोनारी गाउँपालिकाले सर्पदंश उपचार केन्द्रका लागि भन्सार तीरेर ल्याइएको एम्बुलेन्सलाई सञ्चालनको जिम्मा सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणलाई दिएको छ । असोजको १ गतेदेखि सशस्त्र प्रहरी बलले एम्बुलेन्स सञ्चालनको जिम्मा लिएको हो । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जनतालाई छिटो छरितो  सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेर ल्याइए पनि केही प्राविधिक कारणले सञ्चालन गर्न नसकिएको बताउनुभयो ।  उहाँले सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण गरेसँगै सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो । “पूर्वपश्चिम राजमार्गमा हुने सवारी सडकलगायत समस्यामा उद्धार तथा भैपरी आउने दैविक प्रकोपको उद्धारमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको छ । पक्कै पनि सोहीअनुसार सञ्चालन हुनेछ”, अध्यक्ष पौडेलले भन्नुभयो ।  बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पालिकाले सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेकोमा त्यसले विपद्का समयमा निकै सहयोग पुग्ने बताउनुभयो ।  “दुरीका हिसाबले पनि यस पालिकामा हुने दुर्घटनाका घाइते वा बिरामीलाई समयमै अस्पताल पुर्याउन गाह्रो हुन्छ । अब एक्बुलेन्सका कारण सो समस्या समाधानमा सहयोग पुग्नेछ”, उहाँको भनाइ छ ।  सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणका गणपति क्षेत्रीले पालिकाले विश्वास गरेर एम्बुलेन्स हस्तान्तरण गरेकाले सोहीअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।  सम्झौताअनुसार हालका लागि एम्बुलेन्स सेवा पालिकाको वडा नं २, ८ र ९ मा सञ्चालनमा आएको छ । सम्झौतामा उल्लेख भएअनुसार उक्त एम्बुलेन्स चालक र एम्बुलेन्सको संरक्षण सशस्त्र प्रहरीले गर्नेछ भने एम्बुलेन्सको ईन्धन र मर्मतलगायतका अन्य खर्चको जिम्मेवारी पालिकाले नै बेहोर्ने छ ।

महोत्तरी:    जिल्लाको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन् । बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले सेवा लिएका हुन् ।      केन्द्रले विसं २०७१ साउन ३१ गतेदेखि उपचार सेवा दिँदै आएको हो । चालु आर्थिक वर्षको हालसम्म एक सय एक जनाले सेवा लिएका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो ।  उहाँका अनुसार गत साउनमा ५० र भदौमा ५१ जनाले उपचार लिएका छन् । केन्द्रमा स्थापना भएदेखि उपचारमा नेपाली सेनाका छ जना दक्ष जनशक्ति खट्दै आएको छन् ।      सबैभन्दा बढी सर्पदंशका बिरामी आव २०७६/७७ र आव २०७८/७९ मा देखिएका छन् । ती वर्षमा क्रमशः तीन हजार नौ सय ४७ र तीन हजार नौ सय २२ जनाले उपचार लिएका केन्द्रको अभिलेखले जनाएको छ । गत आवमा आठ सय ८४ जनाले उपचार लिएका नेपाली सेनाका उपचारटोलीका प्रमुख मानसिंह कुँवरले जानकारी दिनुभयो ।      लामो खडेरीपछि एक्कासी ठूलो पानी परेका बेला सर्पदंशका घटना बढ्ने भन्दै आवश्यक सर्तकता अपनाई सचेत हुन कुँवरले सर्वसाधरणलाई आग्रह गर्नुभयो । सर्पदंशका घटना भदौमा बढी हुने गरेकाले यो समयमा बढी सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।       महोत्तरीको बर्दिबास नगरक्षेत्रमा सर्प बढी देखिने गरेका छन् । पछिला दिनमा बर्दिबास नगरक्षेत्रको बढ्दो सहरीकरणले मानव चहलपहल वृद्धि चएसँगैपछि सर्पको बिगबिगी घट्दै गएको यहाँका स्थानीय बताउँछन् ।  केन्द्रमा महोत्तरी, सिन्धुली, धनुषा र सर्लाहीलगायत मधेस प्रदेशका जिल्लाका सेवाग्राही उपचारका लागि आउने गर्दछन् । 

ढोरपाटन:    बडिगाड गाउँपालिकाले बिपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ ।  स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् भने १८ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीमा छ । गाउँपालिकाले स्वास्थ्यचौकीसहित गाउँ–गाउँमा आभारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिन थालेको हो ।   बडिगाडमा हाल एक पालिकास्तरीय आधारभूत अस्पताल, सात स्वास्थ्यचौकी, तीन आधारभूत स्वास्थ्य सेवा केन्द्र र पाँच सामुदायिक स्वास्थ्य एकाइ छन् । गाउँपालिकाले १० वटै वडाका विभिन्न स्थानमा स्वास्थ्य संस्था स्थापना गरी सञ्चालन गरेपछि नागरिकलाई उपचारमा सहज भएको छ ।  गाउँपालिका–८ र १० बाहेक धेरै ठाउँमा आधा घण्टाकै दूरीमा स्वास्थ्य संस्था सञ्चालनमा छन् । स्वास्थ्य संस्था टाढा भएका ठाउँमा गाउँपालिकाले ‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’मा नागरिकलाई सेवा दिइरहेको छ ।   ‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’मार्फत सबै वर्गका नागरिकले सहज रूपमा स्वास्थ्य परीक्षण र उपचार गर्न पाएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी अधिकारीले बताउनुभयो । पालिका ठूलो क्षेत्रमा फैलिएकाले केही स्थानमा स्वास्थ्य संस्था स्थापना गर्न नसकेको बताउँदै उहाँले उक्त कार्यक्रमअन्तर्गत अनकन्टार स्थानमा समेत सेवा प्रवाह गरिएको बताउनुभयो ।    दशवटा वडाका स्वास्थ्य संस्था पहुँचभन्दा टाढा रहेका समुदायलाई डाक्टरसहितको टोलीले समय–समयमा टोलमै गएर सेवा दिने गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।  बालबालिका, गर्भवती र ज्येष्ठ नागरिकको उपचारमा स्वास्थ्य टोली केन्द्रित छ । ‘एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम’मार्फत धेरैलाई स्वास्थ्य सेवा दिइरहेको तथा  विपन्न परिवारका बिरामी सदस्यलाई  आर्थिक सहायता पनि गर्दै आएको उहाँले बताउनुभयो । अध्यक्ष अधिकारीका अनुसार १५ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी भएको छ । आधारभूत अस्पताल सञ्चालनसँगै डाइलाइसिस सेवा पनि सुरु गर्ने योजनामा पनि छ । गाउँपालिकाले समय–समयमा विकट बस्तीमा पुगेर निःशुल्क स्वास्थ्य शिविर पनि गर्दै आएकाले त्यसबाट त्यहाँका सर्वसाधारण लाभान्वित भएका छन् । स्थानीय बमकुमारी विकले गाउँपालिकाले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि घण्टौँ लगाएर स्वास्थ्यचौकीमा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । केही समय अगाडि वडा नं ४ को खाराखोलामा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेको थियो ।  बडिगाड गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हेम पुनले विभिन्न गाउँमा शिविर सञ्चालन गर्दा धेरै नागरिकमा क्षयरोग सङ्क्रमण पुष्टि भएको र उनीहरूको उपचार गरिएको छ । पालिकाले एक सय १३ जना बिरामीको उपचार गरेको उहाँले बताउनुभयो । शिविरसहित गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्नेलगायत काम गर्दै आएको अध्यक्ष पुनले बताउनुभयो ।