डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेङ्गु सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म छ हजार चार सय ५२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो । अधिकृत शर्माले गत जुलाईयता डेङ्गुको सङ्क्रमण दर बढ्दै गएको बताउनुभयो । जुलाईमा सात सय २८, अगष्टमा चार हजार ८३, र सेप्टेम्बरमा छ हजार सात सय २० जनामा डेङ्गु देखिएको उहाँले जानकारी दिनुभयो । तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा छ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो । तनहुँमा २८ सय ६१, पर्वतमा एक हजार एक सय ४६, गोरखामा छ सय ६४, बागलुङमा पाँच सय ३९, स्याङ्जामा चार सय ४३, म्याग्दीमा दुई सय १३, नवलपुरमा एक सय ८१, लमजुङमा एक सय २० र मुस्ताङमा नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ । डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने सुझाव दिइएको छ । डेङ्गु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ ।
गोरखाका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया गरेको हो । केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले शल्यक्रिया गरिएकामध्ये छ जना महिला र सात पुरुष रहेका जानकारी दिनुभयो । केन्द्रले गोरखा र पालुङटार नगरपालिका तथा बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकामा आँखाका बिरामीको शल्यक्रिया शिविर सञ्चालन गरेको हो । लायन्स सेवा केन्द्रले जिल्लाभित्रका विभिन्न समुदाय र विद्यालयमा पुगेर समयसमयमा समुदायस्तरमा निःशुल्क आँखा जाँच, औषधोपचार तथा चश्मा वितरण गर्दै आएको छ । शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार गर्ने गरिएको छ ।
नवलपरासी: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर उपचार सेवा दिन थालेको छ । स्वास्थ्यकर्मीसहितको टोलीले ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर प्राथमिक उपचारसहित पौष्टिक आहार उपलब्ध गराउँदै आएको नगरप्रमुख शम्भुलाल श्रेष्ठ जानकारी दिनुभयो । “वयोवृद्ध नागरिक सामान्य जाँचका लागि अस्पताल जान वा पु¥याउन पनि असहज हुन्छ सोही कुरालाई ध्यानमा राखेर हामी घरदैलोमै पुगेका हौँ” उहाँले भन्नुभयो । सेवा पाएपछि ज्येष्ठ नागरिकहरू हर्सित बनेका छन् । वयोवृद्ध ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने नगरपालिकाको कार्यक्रम अनुसार प्रत्येक तीन तीन महिनामा यस्तो उपचार सेवालाई निरन्तरता दिने नगरपालिकाको योजना छ ।
म्याग्दी: धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा सात कोठाको दुईतले स्वास्थ्यचौकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाअध्यक्ष यामप्रसाद घर्तीले नयाँ भवनबाट सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । “वडा कार्यालय र स्वास्थ्यचौकी साँघुरो भवनबाट सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको थियो,” उहाँले भन्नुभयो, “स्वास्थ्यचौकी निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ ।” सातवटा वडा रहेको धवलागिरि गाउँपालिकाले अघिल्लो वर्ष वडा नं १ गुर्जा र वडा नं ३ मुनामा पनि स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरेको थियो । वडा नं ७ ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणाधीन छन् ।
गण्डकी: डेङ्गी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ । मन्त्रालयको वरिपरि यत्रतत्र रुपमा रहेका पुराना टायर, चर्के–फुटेका भाँडावर्तन, खाली बोतल, कवाडी सामग्री, भान्छाको फोहर आदि नहटाउँदा मन्त्रालयमै डेङ्गी सङ्क्रमणको जोखिम बढेको हो । मङ्गलबार अपरान्हपख मन्त्रालय परिसरमा पुग्दा पार्किस्थलको छेउमा रहेका साना टहराको चेपमा रहेका पुराना टायरमा सफा पानी जमेको देखिन्थ्यो । स्वास्थ्यकर्मीका अनुसार डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । पुराना टायर, ड्रम, खाली बट्टा, पुराना भाँडाकुँडालगायतमा रहेको सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको हो । तर, सिङ्गो गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रको जिम्मा लिएको मन्त्रालय नै डेङ्गीको सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्नमा चुकेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट अलग्गिएर छुट्टै मन्त्रालयको अस्तित्वमा आएको स्वास्थ्य मन्त्रालय अहिले प्रदेश स्वास्थ्य निर्देशनालयको भवनबाट सञ्चालन भइरहेको छ । मन्त्रालयका भित्री कक्ष र कोठा सफा र चिटिक्क देखिएपछि बाहिरी परिसर भने अव्यस्थित देखिन्छ । मुख्य भवनको अगाडिपट्टि रहेको उद्यान पनि सरसरफाइ नहुँदा घाँसको झाडीले ढाकिएको छ । चमेनागृहबाट निस्कने फोहर पनि भवनको पछाडिपट्टि लगेर जथाभावी फाल्ने गरिएको भेटिएको छ । पत्रु परेका गाडी, फर्निचरलगायत सामग्री समयमा लिलाम नगरी भद्रगोल अवस्थामा राखिएको छ । पार्किङ परिसरमै थन्किएको मिनिट्रकभरि टायर, कार्पेटलगायत कवाडी सामान अलपत्र छाडिएको छ । खुला ठाउँमा राखिएका ती सामानमा पनि आकाशबाट परेको पानी जमेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक गरेकै दिन मन्त्रालयको सरसफाइको अवस्था दयनीय थियो । हातमुख धुने बेसिनको पाइप फुटेपछि पानीको निकासका लागि तलपट्टि फोहर राख्ने भाँडो थापिएको थियो । पुराना फलामका सामान, जस्ता पाता, प्लाष्टिक, पानीका खाली बोतल जहीतहीँ छरिएको अवस्थामा थिए । अरुलाई सरसफाइको सबक सिकाउने स्वास्थ्य मन्त्रालयकै सरसफाइको अवस्था किन त्यस्तो ? मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले मन्त्रालयलमा नियमित सरसफाइ गर्ने गरिएपनि कतै छुटेको हुन सक्ने बताउनुभयो । “सरसफाइमा कमी भएको रहेछ भने हामी सम्बन्धित कर्मचारीलाई कुरा गर्छौँ, नयाँ मन्त्रालय भएकाले पनि केही व्यवस्थापकीय काम गर्न बाँकी छ”, उहाँले भन्नुभयो । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले डेङ्गी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने बताउनुभयो । महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भएपनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ । “वर्षा रोकिएको केही दिनपछि डेङ्गीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ” रेग्मीले भन्नुभयो । जमेको सफा पानीमा बस्ने र दिउँसोमा मात्र मानिसलाई टोक्ने उक्त लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको उहाँले बताउनुभयो । डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने उहाँको भनाइ छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको रेग्मीले बताउनुभयो । डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशभर हालसम्म झण्डै १२ हजार जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकामा मात्रै गत पुसयता पाँच हजार बढीमा सङ्क्रमण पुष्टि भएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । जनघनत्व बढी भएका ठाउँमा डेङ्गी छिटो फैलने हुँदा मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र बनेको हो । आगामी कात्तिक महिनासम्म डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने देखिएको महाशाखाका जनस्वास्थ्य निरीक्षक रेग्मीले बताउनुभयो । उ हाँका अनुसार डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नं. ५, ८ लगायतका वडा डेङ्गीबाट बढी प्रभावित भएको रेग्मीले जानकारी दिनुभयो ।
काठमाडौं: शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचारका लागि संयन्त्र विस्तार गर्ने भएको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको सञ्चालक समिति बैठकले सङ्घीय राजधानी काठमाडौँबाट उपलब्ध मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । मन्त्रालयको योजनानुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि आवश्यक प्रक्रियाअघि बढाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अब केन्द्रले बागमतीबाहेक थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाइने छ । सबै प्रदेशमा प्रादेशिक अस्पतालमार्फत विशिष्टीकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर रोगको उपचार सुरु भैसकेको जानकारी दिनुहुँदै मन्त्री पौडेलले केन्द्रमार्फत मुटु रोगको उपचारका लागि प्रदेशस्तरमा संयन्त्र विस्तार गर्ने निर्णय भएको बताउनुभयो । उहाँले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकताअनुसार प्रादेशिक अस्पतालहरूमार्फत विशिष्टीकृत उपचार सेवा विस्तार गर्न लागिएको स्पष्ट पार्नुभयो । अर्थ मन्त्रालयबाट स्वीकृत भएसँगै अब सबै प्रदेशमा जलन उपचार सेवासमेत निःशुल्क रूपमा सञ्चालन गर्ने प्रक्रिया अघि बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
तनहुँ: तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त अस्पताल आगामी कात्तिक मसान्तभित्र सञ्चालनमा ल्याउने तयारीका साथ रङरोगन भइरहेको गाउँपालिकाले जनाएको छ । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणको ठेक्का ऋषि शक्तिरहोम निर्माण जेभी कम्पनीले पाएको थियो । उक्त भवन विसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । अस्पताल भवन निर्माण गर्न सात करोड ३४ लाख ५० हजार एक सय ९६ रुपैयाँमा ठेक्का लागेको थियो । हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णय बमोजिम अस्पताल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । “मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो, स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा छन्”, उहाँले भन्नुभयो, “अब अस्पताल सञ्चालनमा आएसँगै यो समस्या समाधान हुनेछ ।” अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार ‘हेल्थ असिसटेन्ट’ र दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहने छ ।
पोखरा: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, गण्डकी प्रदेश र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच क्यासलेस (नगदरहित) मेडिकल सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख गोविन्द देवकोटा र हस्पिटलको तर्फबाट अध्यक्ष डा. आनन्द भट्टराईले हस्ताक्षर गरे । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा नगदरहित मेडिकल बीमालेख लिएका ग्राहकहरुको उपचारको खर्चमध्ये दाबीयोग्य रकम बीमा कम्पनीले हस्पिटललाई भुक्तानी गरिदिने व्यवस्था यो सम्झौताले गर्नेछ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा आवद्ध कर्मचारी, ग्राहक तथा शेयर सदस्यहरु र उनंका परिवार सदस्यहरूलाई परिचय खुल्ने परिचयपत्रको आधारमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबाट उपलब्ध गराउने स्वास्थ्य सुविधाहरु अन्तर्गत ओपिडी सेवा बाहेकका अन्य सेवामा छुट सुविधा प्रदान गरिएको छ । बेड चार्जमा २० प्रतिशत, सर्जरी अपरेशन र प्रोसिजर चेकजाँचमा १०/१० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत छुट दिइने सम्झौता भएको छ । उक्त अवसरमा हस्पिटलका मेडिकल डाइरेक्टर डा.सरोज पोख्रेल, सिईओ प्रकाश बिक, म्यानेजर सुरेशराज सुवेदी, बजार व्यवस्थापक शोभाखर पाण्डे तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका डेपुटी प्रदेश प्रमुख कमल हमाल, शाखा प्रबन्धक जीवलाल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
मोरङ: ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आज यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने सन्देशसहित आयोजित जनचेतनमूलक प्रभातफेरी सम्पन्न भएको छ । ग्लेनमार्क फर्मासुटिकलद्वारा विराटनगरको कोशी अस्पताल परिसरबाट निस्किएको प्रभातफेरी हस्पिटल चोक, कालीमन्दिर चोक, जैनमन्दिर चोक, डिएसपी रोड, गोल्छा मोड, डाँफे चोक, रङ्गशाला हुँदै पुनः अस्पतालमा पुगी कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा चिकित्सक, विभिन्न औषधि व्यवसाय तथा उद्योगका प्रतिनिधि, औषधि बिक्रेता, स्वास्थ्यकर्मी, स्वास्थ्य सेवामा आवद्ध तथा सरोकार भएकाहरुको सहभागिता थियो । सो अवसरमा डा दीपक सिग्देल, डा उत्तर मैनाली, डा लक्ष्मीनारायण यादव, ग्लेनमार्कका जटाशङ्कर साह रौनियार र अञ्जेस साहले मुटु रोगबाट हुने जोखिम र मृत्युलाई न्यूनीकरण गर्न हरिया सागसब्जी, दैनिक व्यायाम र समयसमयमा चिकित्सकसँग चेकजाँच गर्न नागरिकमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको थियो । धूम्रपान, मदिरा, गुलिया तथा चिल्लो पदार्थ सेवन नगर्ने, नूनको मात्रा कम गर्ने, नियमित करिब ३० मिनेट व्यायाम गरेमा मुटु रोगबाट बच्न सकिन्छ । यो रोग लाग्न नदिन दैनिक शारीरिक परिश्रम, व्यायाम र नियमित रक्तचापको परीक्षण गर्नुपर्ने चिकित्सकको भनाइ छ । सरकारले मुटुसम्बन्धीका दीर्घरोगीलाई रु एक लाखसम्म उपचार सेवा निःशुल्क गरेको छभने ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ ।