पोखरा: पोखरामा रहेको आई एन एफ नेपाल हरियोखर्क अस्पतालमा ७२ औँ विश्व कुष्ठरोग दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । ‘एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौ’भन्ने मूल नाराको साथमा ७२ औँ विश्व कुष्ठरोग दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै आई एन एफ नेपलका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले आई एन एफको संक्षिप्त इतिहासको बारेमा बताउदै,कुष्ठरोग नियन्त्रण र रोकथामको लागि अस्पताल लागि परेको बताए । अधिकारीले नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिप्रति अस्पताल प्रतिबद्ध रहेको र चुनौतीका बाबजुत पनि सबैको साथ, सहयोग र साझेदारी मार्फत त्यो लक्ष्यमा पुग्न सकिने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिकाका वडा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले रोग नियन्त्रणको लागि दुरदराज सम्म पुगेर जनचेतना फैल्याउन आवश्यक रहेको बताए ।वडा अध्यक्ष बानियाँले रोग नियन्त्रण र उपचारमा अस्पतालले खेलेको भुमिका महत्वपूर्ण रहको उल्लेख गरे । प्रदेश स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ फोकल पर्सन गीता कुंवरले अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित भएको बताउदै, यसलाई नियन्त्रण गर्न सरकार तथा सबै सरोकारवाला निकायले तत्काल पहल र प्रतिबद्धता गर्न आवश्यक रहेको बताइन् । स्वास्थ्य कार्यलय कास्कीका प्रमुख रामबहादुर नेपालीले कुष्ठ रोगको चुनौति झनै बढ्को बताउदै न्युनिकरण,नियन्त्रण गर्न तिनै तहका सरकार, गैरसरकारी सस्था र समुदायको भूमिका महत्वपूर्ण रहको बताए । आई एन एफ नेपालका कुष्ठरोग कार्यक्रम संयोजक याम बहादुर जिसीले अस्पतालले रोगको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा आई एन एफ नेपालका मेडिकल सर्भिसेज डाइरेक्टर डा.अरुण कुमार बुढा ,स्वास्थ्य कार्यलय कास्कीका क्षय कुष्ठ फोकल पर्सन लक्ष्मण बसौला,स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल,स्वास्थ्य महाशाखा क्षय कुष्ठ फोकल पर्सन अर्जुन क्षेत्री,कुष्ठरोग निवारण संघ पोखराका अध्यक्षय सुवास तज्या,आइडिया नेपालका गण्डकी प्रदेश प्रमुख प्रेम वास्तोला, आई एन एफ नेपालका प्यासेन्ट एड्भोकेट थम बहादुर गुरुङ,डा सुरज महर्जन लगाएतले बोेलेका थिए । कार्यक्रममा आई एन एफ नेपालका कर्मचारी तथा अस्पतालमा उपचारारत सेवाग्राहीहरुको उपस्थिति रहेको थियो । यस्तै उक्त अस्पतालमा उपचाररत रहेका क्षयकुष्ठका बिरामीहरुलाई न्यानो कपडा पनि बितरण गरिएको थियो। मानव सभ्यताकै प्राचीन रोगहरु मध्येको कुष्ठरोग, विश्व स्वास्थ्य संगठनका अनुसार हाल पनि विश्वका १२० भन्दा बढी देशमा संक्रमण पाईने गरेको तथा वर्षेनी करिब २ लाख मानिसमा यो रोग देखिने गरेको छ । अस्पतालले हरेक बर्ष यो अवसर पारेर कार्यक्रम गदै आइरहेको छ ।
काठमाडौं: रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्णय गर्नुभएको छ । निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैँ व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । ‘‘विश्व हिमोफिलिया महासङ्घबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौं,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘धेरै पीडित तथा सरोकारवालाबाट महँगो उपचार सरकारमार्फत होस् भन्ने अनुरोध स्वीकार गरेका छौं ।’’ स्वास्थ्य मन्त्रालयले यस औषधीका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासङ्घमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताउनुभयो । नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् । तर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएकामध्ये ०.८ मा हिमोफिलिया भएको हुनसक्ने ठानिएको छ । मन्त्रालयले सङ्घीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधी उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
बलेवा: बागलुङको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् । यस आमा समूहमा आबद्ध अधिकांशले १६ देखि १८ वर्षमा विवाह गरेका हुन् । बालविवाह गरेका उनीहरुले आगामी दिनमा अरूले बालविवाह नगरून् भनेर पनि मासिक रुपमा गाउँमा कसैको उमेर नपुगी विवाह भए÷नभएको विषयमा छलफल गर्ने गरेको आमा समूहकी अध्यक्ष शोभा कुँवरले बताउनुभयो । “हाम्रो गाउँमा आमाहरुको स्वास्थ्य अवस्था कमजोर छ, अधिकांश बालविवाह गरेकाहरु छन्,” कुँवरले भन्नुभयो, “अब कम्तीमा बालविवाह नहोस् भनी २० वर्षअघि गर्भवती नहुने सल्लाह दिने गरेका छौँ ।” आमा समूहले नियमित गर्भ परीक्षणलाई प्राथमिकतामा राखेको छ । पूर्ण खोपयुक्त वडा बनाउन पहल गरेको छ । तर खोप क्लिनिक निसीखोला पारि भएकाले नजिकमा पुल नहुँदा सास्ती भएको गुनासो उनीहरुको छ । समूहकी सदस्य भीमकुमारी खत्रीले भन्नुभयो, “खोप क्लिनिक टाढा भएको बहानामा कतिपयले खोप छुटाउने गरेका छन् ।” वडा नंं १ को खाडु भन्ने स्थानमा मात्रै यहाँको खोप क्लिनिक छ । क्लिनिक खोला पारि हुँदा बर्सातको समयमा खोला तर्न नसकिने हुँदा आमाहरु गर्भ जाँच गर्न नजाने, जोखिम मोलेरै घरमा बस्ने गरेका छन् । क्लिनिक कान्लेचौरमा पनि स्थापना गर्नुपर्ने उनीहरुको माग छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताउनुभएको छ । काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उहाँले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताउनुभएको हो । “महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ”, स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो । उहाँले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताउनुभयो । सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उहाँले जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकमसमेत बढाउँदै आमनागरिकको उपचारमा खर्च गर्नेगरी सरकारले योजना बनाएको उल्लेख गर्नुभयो । “हाल स्वास्थ्य विमाको रकम रु एक लाख रहेको छ, हामी त्यसलाई बढाएर रु पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौँ”, उहाँले भन्नुभयो । छिरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उहाँको भनाइ थियो । उहाँले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको उल्लेख गर्नुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समाज रुपान्तरणमा जनकल्याण सामाजिक केन्द्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले समाज सेवाको क्षेत्रलाई निरन्तर अगाडि बढाउन उक्त संस्थालाई आग्रह गर्नुभयो । टोखा नगरपालिकाले जनकल्याण सामाजिक केन्द्रलाई अगाडि बढाउन सहयोग गर्ने नगरप्रमुख अधिकारीको भनाइ थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारी, जनकल्याण सामाजिक केन्द्रका सल्लाहकार भरत ढकालले जनकल्याण सामाजिक केन्द्रले टोखाको समाज र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभएको थियो । विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले हालसम्म देशभर तीन सय ५१ पटक रक्तदान, स्वास्थ्यशिविर, आँखा शिविरलगायतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिनुभयो । अल नेपाल अस्पताल र दृष्टि आँखा केन्द्रको सहकार्यमा आयोजना गरिएको आजको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा योगदान दिएका एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ । हालैको मन्त्रीस्तरीय निर्णय परिपत्रमार्फत जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्घीय अस्पताललाई सो कार्यन्वयन गर्न आग्रह गरेको हो । मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले खरिद मार्गदर्शन, २०८१ लागू गर्ने सम्बन्धमा गरिएको परिपत्रमा मालसामानको आपूर्ति समयमै गराई सेवा प्रवाहमा बाधा नपर्ने गरी खरिद कार्य सम्पन्न गर्नुपर्ने र बजेट नभई वा वजेटको सुनिश्चितता नभई खरिदको कार्य गर्न नपाइने बताएको हो । मन्त्रालय र यसका मातहत निकायबाट हुने औषधि, औजार, उपकरणको खरिद तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन खरिद मार्गदर्शन, २०८१ मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भइसकेको छ । मार्गनिर्देशनमा उल्लेख भएअनुसार सम्बन्धित निकायहरुले आवश्यक औषधि, स्वास्थ्य औजार उपकरण खरिद गर्नुपर्ने अस्पताल तथा प्रतिष्ठानले आवश्यकताका आधारमा मालसामानको वार्षिक आवश्यक परिमाण र लागतसमेत खुल्ने गरी पाँचवर्षे दीर्घकालीन योजना मन्त्रालयबाट स्वीकृत गराई राख्नुपर्नेछ । साथै स्वास्थ्य संस्थाले तालिम तथा अनुभव प्राप्त जनशक्तिलाई मात्र औजार उपकरण सञ्चालन गर्ने जिम्मेवारी प्रदान गर्नुपर्नेछ । आफ्नो कार्यालय मातहत रहेका औजार उपकरणलाई लामो समयसम्म प्रयोगविहीन बनाउने र पुनःनयाँ खरिद गर्न उद्दत हुने परिपाटीलाई निरुत्साहित पार्न सम्बन्धित शाखा तथा विभागलाई जिम्मेवार बनाउन मार्गनिर्देशनमा जोड दिइएको छ । त्यसैगरी, अस्पतालमा रहेका एक्स–रे, अल्ट्रासाउण्ड मेसिन, सिटीस्क्यान मेसिन, एमआरआई, प्रयोगशाला र शल्यक्रियामा प्रयोगमा हुने विशिष्टकृत औजार र उपकरण सञ्चालन गर्दा उठेको शुल्क रकमको १० प्रतिशत उपकरण मर्मतसम्भारमा छुट्याउनुपर्ने छ ।
नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच सय ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । गत पुस २८ गतेदेखि माघ २ गतेसम्म रौतहटको गरुडा–५ शिवनगरमा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सय ३१ जनाको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्य र नेपाली सेना विरदल गण गौरको संयोजनमा आँखाको परीक्षण तथा शल्यक्रिया गरिएको विरदल गणका प्रमुख सेनानी किशोर अधिकारीले जानकारी दिए । शिविरमा तीन हजार पाँच सय १० को आँखा परीक्षण, सहुलियतमा चस्मा प्रदानलगायत सेवा उपलब्ध गराइएको उनले बताए । अधिकारीले शिविरमा चन्द्रपुर, गुजार, राजपुर, गरुडा र गढीमाइ नगरपालिकाका स्थानीयले सेवा लिएका उल्लेख गरे । यसैबीच नेपाली सेनाले चन्द्रपुर–७ मा रहेको जनता आधारभुत विद्यालयमा निमार्ण गरिएको शौचालय विद्यालयलाई हस्तान्तरण गरेको छ । नयाँबस्तीमा रहेको उक्त विद्यालयमा नेपाली सेनाको सहयोगमा निमार्ण भएको चार कोठे शौचालय हस्तान्तरण गरिएको प्रमुख सेनानी अधिकारीले जानकारी दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी’ (एमडि/एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए। साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो । चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी रूपमा अघि बढाउन प्रयत्नशील प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न लागेको हो ।
काठमाडौं: काठमाडौं जिल्लामा करिब एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) लगाइने भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँले आज यहाँ आयोजना गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले काठमाडौँका ११ स्थानीय तहका एक लाख १० हजार २६३ जना किशोरीलाई खोप लगाइने जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ६ देखि १० सम्मका ९७ हजार ५४० र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७२३ किशोरीलाई खोप लगाइनेछ । काठमाडौँ महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी ५१ हजार ३४७ किशोरी र सबैभन्दा कम नागार्जुन नगरपालिकामा चार हजार ६५२ किशोरीलाई एचपिभी खोप दिइने विष्टले बताउनुभयो । एक हजार १०१ विद्यालय र एक सय ४६ अन्य खोप केन्द्रमार्फत ती उमेरका किशोरीलाई खोप प्रदान गरिनेछ । खोपका लागि दुई हजार ४१२ स्वास्थ्यकर्मी खटिनेछन् । खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने महानगरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले नगरपालिकामा प्रमुख र वडा कार्यालयमा वडाध्यक्षको संयोजकत्वमा खोप समिति गठन गरेर कोही किशोरी पनि खोपबाट वञ्चित हुन नपरोस् भनेर काम भइरहेको बताउनुभयो । उहाँले खोप लगाउन छुट्न सक्ने ठाउँको पहिचान गरेर विशेष अभियानसमेत सञ्चालन गरिने बताउनुभयो । सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले यसविरुद्ध खोप लगाउनुपर्ने हुन्छ । नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको जानकारहरूले बताएका छन् ।
जुम्ला: जुम्लाका आठवटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । जुम्लाको हकमा फागुनदेखि सामुदायिक विद्यालय खुल्ने भएकाले त्यसैअनुसार कार्यालयले खोप कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग छलफल भइरहेको छ । कार्यालय प्रमुख सापकोटाले भन्नुभयो, “विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका एक हजार पाँच सय ८६ जना र विद्यालयभित्रका सात हजार दुई सय ४३ गरी आठ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको छ । कार्यालयको तथ्याङ्कअनुसार जिल्लाको चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जना, गुठीचौर गाउँपालिकामा पाँच सय २०, हिमामा एक हजार १३ र कनकासुन्दरीमा नौ सय ६७ जनालाई खोप लगाइने छ । त्यस्तै पातारासी गाउँपालिकामा एक हजार एक सय ५८, सिंजामा नौ सय सात, तातोपानीमा एक हजार एक सय ५३ र तिलामा एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाउने योजनाबारे छलफल भइरहेको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ । विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।