काठमाडौं: विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा सम्लग्न नेपाली लाभान्वित भएका हुन् । सङ्घले पहिलो पटक यस्तो सेवा ओमानबाट सुरुआत गरिसकेको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घले अब छिट्टै थाइल्याण्ड र मलेसियामा आँखा उपचार सेवा थालनी गर्नेछ । महासचिव चन्दले भन्नुभयो, “ नेपाली राजदूतावास, गैर आवासीय नेपाली सङ्घको सहकार्यमा सङ्घले विदेशमा आँखा उपचार सेवा विस्तार गरिसकेको छ । सङ्घको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय हुने भएकाले यसको माग विभिन्न देशमा बस्ने नेपालीबाट भैराखेको छ । पहिलो पटक ओमानबाट सेवा सुरुआत गरिसक्यौ, अब निकट भविष्यमा थाइल्याण्ड र मलेसियबाट पनि आँखा उपचार सेवा थालिने गरिने छ । ” नेत्रविशेषज्ञ प्राडा देवनारायण साहको अध्ययन अनुसार नेपालको आँखा स्वास्थ्य उपचार सेवा विश्वमै सस्तो र गुणस्तरीय रहेको छ । यही कारण नेपालमा आँखा उपचार सेवा लिने विदेशीको सङ्ख्या पनि वृद्धि भैराखेको छ । उहाँका अनुसार तेस्रो मुलुकबाट मात्र गत वर्ष दुईलाख ५० हजार विदेशी नागरिकले नेपालको आँखा अस्पतालबाट सेवा लिएका थिए । अर्कोतर्फ सङ्घले मागका आधारमा विदेशमा आफ्ना नेत्रविशेषज्ञलाई पठाइ सेवा दिने समेत गरेको छ । गत असोजमा सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा कार्यरत चिकित्सले बङ्गलादेशको ढाकास्थित नेशनल इन्टिच्यूट अफ अप्थाल्मोलोजीमा सेवा प्रदान गर्नुभएको थियो । नेपाली चिकित्सकले ढाकामा भएको आन्दोलनका क्रममा आँखामा चोट लागेर नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका ,नानीमा रगत जमेका लगायत समस्या देखिएका बिरामीको उपचार तथा शल्यक्रिया गरेका थिए । सङ्घका कार्यकारी निर्दशक डा शैलेशकुमार मिश्रले भन्नुभयो “पछिल्ला वर्षमा नेपाल आँखा उपचारको पर्यटन गन्तव्य अर्थात् ‘आइ मेडिकल टुरिजम’को रुपमा विकसित हुँदै गएको छ । सन् २०२३ मा मात्र भारत र बंगलादेश सहित विभिन्न देशका आठलाख आँखाका बिरामीले सङ्घको सञ्जालमार्फत् आँखा उपचार गराएका छन् । ” नेपालको आँखा स्वास्थ्य सेवामा सबैभन्दा ठूलो संयन्त्र भएको सङ्घ अन्तर्गत हाल देशभर २८ आँखा अस्पताल, एकसय ६० आँखाउपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा रहेको छ । विसं २०३५ मा स्थापना भएको सङ्घ ले हालसम्म नेपाली नागरिक तथा अन्य नागरिक गरी कूल चारकरोड ३६ लाख २६ आँखा बिरामीलाई उपचार सेवा प्रदान गरिसकेको छ । यसैगरी ५१ लाख ३३ हजार छसय ५९ जनाको शल्यक्रिया मार्फत आँखाको ज्योति फर्काउन सफल भएको छ । सङ्घका उपाध्यक्ष श्यामकुमार पोखरेलले भन्नुभयो, “आँखा उपचार गर्न भनेर विदेश जानुपर्दैन, अव विदेशी नेपाल आउन थालेका छन् । आँखा स्वास्थ्य सेवामा नेपाल सक्षम भएको छ । ”
हुम्ला: हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन् । ती स्वास्थ्य संस्थामा बिरामी जाने गरेका भए पनि औषधि नहुँदा उपचारबिना फर्किने गरेका छन् । स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका दलसुर परियारले बताए । स्वास्थ्य संस्थामा सिटामोलका साथै रुघाखोकी, दमलगायतका बिरामीका लागि आवश्यक पर्ने औषधि अभाव भएको छ । सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीका अनुसार औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधि अभाव भएको हो । दशैँअघि रु पाँच लाखको औषधि खरिद गरिद गरेको उनले बताए । “दशैँमा खरिद गरेको औषधि सकिएको छ”, उनले भने । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यहाँका स्वास्थ्य संस्थामा चाहिने औषधि र उपकरण खरिद गर्न टेण्डर आह्वान भएर स्वीकृत भएको बताए । माघ पहिलो सातासम्म औषधिको व्यवस्था गरिने उनले बताए । स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी जिल्ला अस्पताल सिमकोट धाउने गरेका छन् । खार्पुनाथ–१ को पिउस आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ३ को कारङगा, वडा नम्बर ४ को लेख, छिप्रा आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य एकाइमा औषधि अभाव भएको हो ।
गलकोट: बागलुङको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ । पछिल्लो समय मनोरोगका बिरामी बढ्दो क्रममा रहेका भन्दै मनोरोगको समयमा उपचार नहुँदा आत्महत्याको दर बढ्दै जाने चिकित्सक बताउँछन् । केबी रानामगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहँदा मनोरोग विभाग स्थापना गरी उपचार तथा मनोपरामर्श सेवा सञ्चालन गरिएको थियो । मनोरोगको उपचार थालेपछि पोखरा र काडमाडौँ जानुपर्ने झन्झट अन्त्य भएको थियो । पछिल्लो १२ महिनादेखि विभाग सञ्चालन गरिरहनुभएका मनोचिकित्सक डा मानकाजी थापा भदौमा सङ्घीय सरकारअन्तर्गतको विभागमा सिफारिस भएपछि अस्पतालमा मनोचिकित्सकको पद खाली छ । अस्पतालले विशिष्टकृत सेवाका रूपमा दिइरहेको मनोरोग विभागमा अहिले एक जना मनोपरामर्शदाता मात्रै कार्यरत रहनुभएको अस्पतालका मेडिकल रेकर्डर नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मनोचिकित्सक राजेन्द्र घिमिरे गएपछि एक महिना खाली भएको विभाग थापाको नेतृत्वमा सञ्चालनमा आएको थियो । गत भदौमा थापा पनि अन्यत्र सिफारिस भएपछि उक्त विभागमा चिकित्सकको अभाव भएको हो । गरिबी, सामाजिक, सांस्कृतिक लैङ्गिक विभेद, विलाशी जीवनशैली, आवश्यकता, वैदेशिक रोजगारीको प्रभाव, सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, पढाइको दबाब, दुव्र्यसन, एक्लोपन, अभिभावकले छोराछोरीलाई समय नदिनु, मानसिक तनाव, महत्वाकाङ्क्षी, मोबाइलको बढ्दो प्रयोगलगायत कारणले पछिल्लो समय मनोरोगका बिरामीको सङ्ख्या बढेको जिल्लास्थित जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । मनोरोगको परिणाम आत्महत्यासम्मको जोखिम बढ्ने स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालमा मनोचिकित्सकको दरबन्दी नभएकाले समस्या भएको अस्पतालका मेडिकल रेकर्डर शर्माले बताउनुभयो । उहाँले मनोचिकित्सकको दरबन्दी कायम गर्न स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा समन्वय भइरहेको उहाँले उल्लेख गर्नुभयो । अस्पतालको मनोरोग विभागमा अहिले मनोपरामर्शदाताका रूपमा आशा थापा कार्यरत रहनुभएको छ । चिकित्सक नहुँदा औषधि दिनुपर्ने मनोरोगी, एन्जाइटीलगायत बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता रहेको थापाले बताउनुभयो । बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले पछिल्लो समय जिल्लामा मनोरोगका काराण अत्महत्याको दर बढेको बताउनुभयो । “मनोरोगका कारण आत्महत्यासम्मको अवस्थामा पुग्ने देखियो, साना बालबालिकालाई मोबाइल नदिने, अविभावकको निगरानीमा राख्न आवश्यक छ”, उहाँले भन्नुभयो, “अहिले आत्महत्याको सङ्ख्याभन्दा निरुपणमा जान आवश्यक छ, स्थानीय तहमा मनोपरामर्श कक्षा चलाउन आवश्यक छ ।” पछिल्लो तीन वर्षयता बागलुङ नगरपालिकामा मात्रै ४२ जनाले आत्महत्या गरेका छन् । सामाजिक विभेद, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोगलगायत कारणले एकोहोरोपना बढ्ने, डिप्रेशनमा जाने, अन्तत मनोरोगी भएर आत्महत्याको बाटो रोज्ने गरिेका पाइएको खनालले बताउनुभयो । बागलुङमा एक वर्षमा ६० जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जिल्लामा हुने विभिन्न घटनामध्ये आत्महत्याको ‘ग्राफ’ बर्सेनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । मनोरोग, उदासिनता, दुव्र्यसन, पारिवारिक समस्या, मायाप्रेम तथा वैदेशिक रोजगारीबाट उत्पन्न समस्यालगायता कारण आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । झुण्डिएर, विष सेवन, हाम फालेर आत्महत्या गर्ने बढी रहेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७८र७९ मा ३७ जनाले आत्महत्या गरेकामा झुण्डिएर ३४, हाम फालेर दुई र विष सेवन एक जना रहेका प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९र८० मा ४५, गत आवमा ६० जनाले आत्महत्या गरेका छन् । प्रहरी निरीक्षक पौडेलले आत्महत्याको विषयमा जनचेतना फैलाउने, स्थानीय तहअन्तर्गत स्वास्थ्य संस्थाले मनोपरामर्श दिने, विभिन्न सङ्घ संस्थाले आत्महत्या रोक्न अभियान सञ्चालन गरिरहे पनि आत्महत्या गर्नेको सङ्ख्या भने बढ्दै गएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्षको तथ्याङ्कका आधारमा आत्महत्या गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ । “जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ”, विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत गराएको छ । तथापि मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको मन्त्रालयले जनाएको छ । एचएमपिभी, एम्प्क्सलगायत सङ्क्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय (मास्क लगाउने, भीडभाडमा नजाने) अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस्तै, बिरामीको नजिक÷सम्पर्कमा नजान, साबुन पानीले हात धुन र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको नि:शुल्क उपचारको तयारी गरिरहेको बताउनुभएको छ । कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताउनुभयो । उहाँले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गर्नुभयो । कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै उहाँले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “अस्पतालले हाल सीमित स्रोत र साधनका बावजुद गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ, यसैका कारण धेरैको विश्वास कान्तिमा छ”, उहाँले भन्नुभयो । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले कान्ति अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो । “अस्पतालमा शय्याको सङ्ख्या बढाए पनि बिरामीको चाप कम भएको छैन”, उहाँले भन्नुभयो, “अस्पतालमा बिरामीको चाप कम गर्न प्रत्येक प्रदेशमा एक सयदेखि तीन सय शय्यासम्मको बाल अस्पताल निर्माण गर्नुपर्छ ।” अस्पताल विकास समितिका अध्यक्ष श्रीराम सुवेदीले अस्पताल चिकित्सा क्षेत्रको राष्ट्रिय सम्पदाका रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालले उपचार सेवामा विविधिकरण र विशिष्टीकरण गरेको छ । हाल १४ वर्ष मुनिका उपचार गर्ने बालबालिकाको सङ्ख्या २८ प्रतिशत छ । यो समूहलाई उपचार सेवा दिएर ठूलो सेवा गरेको छ ।” उहाँले बिरामीको चापको अनुपातमा भौतिक संरचना र जनशक्ति कम रहेको बताउनुभयो । अस्पतालले वार्षिकोत्सवको अवसरमा वायु गुणस्तर मापन उपकरण जडान गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालका निर्देशक डा पङ्कज रायले अस्पतालमा हाल जनशक्ति र भौतिक पूर्वाधारमा कमी रहेकाले सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । “अस्पतालमा अहिले पनि शल्यक्रियाका लागि पालो पर्खिनुपर्ने अवस्था छ । सघन उपचार कक्ष पनि थप गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “अस्पतालको वृहत गुरुयोजना अनुरुप विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम सुरु भइसकेको छ ।” उहाँले थप स्रोत जुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कतार दूतावाससँग पहल गरिरहेको जानकारी दिनुभयो । देशको एकमात्र सरकारी केन्द्रीय तथा रिफरल बाल अस्पतालका रुपमा रहेको कान्ति बाल विसं २०१९ पुस २२ गते स्थापना भएको हो । तत्कालीन समयमा ५० शय्याबाट सुरु भएको यस अस्पतालमा हाल तीन सय ७२ शय्या छन् । अस्पतालले आर्थिक वर्ष २०८०/८१ म एक लाख ८० हजार बालबालिकालाई सेवा उपलब्ध गराएको सो अवसरमा जानकारी दिइयो ।
पोखरा: रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४÷२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा ८२ जना मध्येमा ३ जना महिलामा पोजेटिभ देखिएको छ । पोखरा महानगरपालिका वडा नं १६ मा जुम्लेटीमा आयोजना गरिएको सो शिविरमा सहरी सुविधा भएपनि जनचेतनाको कमीका कारण महिलाहरुले समय–समयमा स्वास्थ्य परिक्षण नगर्दा सो परिणाम आएको पोखरा महानगरपालिका वडा नं १६ का वडाअध्यक्ष अमृत तिम्सिना बताउनुभयो । पोजेटिभ देखिएका महिलाहरुको थप उपचार गण्डकी मेडिकल कलेजमा उपचार गरिनेछ । यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको निशुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने योजनामा रहेको रोटरीले आगामी शनिबार सोही शिविर वडा नं ७ मासबारमा गर्ने क्लबका अध्यक्ष दिपेन्द्र शर्माले जानकारी दिनुभयो । स्वार्थ भन्दा माथी सेवा भन्ने मूल उद्देश्यका साथ स्थापित रोटरीले महिला तथा शिशु स्वास्थ्य अन्तरगत रहेर यो परिक्षण कार्यलाई यस बर्ष विभिन्न चरणमा कास्की, तनहुँ, स्याङ्गजा, पर्वत, बागलुङ लगायतका गण्डकी प्रदेशका जिल्लाहरुका विभिन्न पालिका र वडाहरुका महिलाहरुमा भिआईए परिक्षण गर्न गईरहेको डिष्ट्रिक मेम्भरसिप चियर सुवास सिग्देलले जानकारी दिनुभयो । महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढी रहेको कारणले पनि ग्रामीण भेगमा यसको पहँुच पुर्याउन यो कार्यक्रम सहयोगी भन्ने गण्डकी मेडिकल कलेजका संचालक एवं रोटरी क्लव अफ नक्शाल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले बताउनुभयो । अधिकांश महिलाहरूमा पछिल्लो समय पाठेघरको मुखको भिआइए परिक्षण नगर्दा देखिएको समस्या–क्यान्सरबाट पिडीत भई आन्तिम प्रहरमा पुगेपछि मात्र थाहा पाउने अवस्थाबाट महिलाहरु सजग रहने बातावरण बन्न सकोस् भन्ने मूल उद्देश्य अनुरुप यस कार्यक्रमलाई मेडिकल कलेजको सहयोग रहेको कुरा डा. अर्यालले बताउनुभयो । सो कलेजका प्रध्यापक वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चण्डीका पंडितले २९ बर्ष देखि ६५ बर्ष महिला समुहमा हुने यस समस्याका लागि प्रारम्भिक जाँच गर्न जरुरी रहेको हुँदा यो अभियान सुरु गरिएको बताउनुभयो । उहाँले नेपालमा १५ वर्ष वा माथिका ११.५ प्रतिशत महिलाहरू पाठेघरको मुखको क्यान्सरको जोखिममा रहेको तथ्याङ्क बारे जानकारी दिनुभयो । हरेक वर्ष २ हजार २ सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र १ हजार ४९३ जनाले यस रोगबाट मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।
बागलुङ: निसी, भुजी र तमानखोलाको संगममा छ बुर्तिबाङ बजार । जिल्ला सदरमुकामदेखि ९० किलोमिटर पश्चिममा रहेको यस बजारमा बिस्तारै विकासले गति लिन थालेको छ । जिल्लाकै दोस्रो र पश्चिम बागलुङको सबैभन्दा ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको बुर्तिबाङ क्षेत्रमा अहिलेसम्म सुविधायुक्त अस्पताल थिएन । सुविधायुक्त अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक बागलुङ, पाल्पा, पोखरा र काठमाडौँ पुगेर उपचार गराउँदै आएका थिए । केही वर्षयता बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएपछि केही सहज भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा राम्रो सेवा पाउन नसक्दा पश्चिम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि लाखौँ खर्च गरेर देशका ठूला सहरमा रहेका अस्पतालमा पुग्नुपर्ने बाध्यता थियो । पश्चिम बागलुङका नागरिकका लागि लक्षित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गर्नका लागि २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रालयले निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन । अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र जिल्ला अस्पताल नभई प्रदेशस्तरीय नै बनेको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय ५० शय्याको अस्पताल बनाएको छ । रु ३२ करोड लागतमा जिल्ला अस्पताल सञ्चालन गर्नका लागि बनेको संरचनामा अहिले प्रदेश अस्पताल सुरु गरिएको हो । अहिलेसम्म उक्त संरचनामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा थियो । संरचना बनेको साढे एक दशक बढी समयपछि बुर्तिबाङमा ५० शय्याको अस्पताल बनेपछि पश्चिम बागलुङवासीमा खुसी छाएको छ । प्रदेश सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई एकै पटक प्रदेशयस्तरीय अस्पतालमा स्तरोन्नति गरेसँगै जनशक्ति र उपकरण व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । स्थानीय र सरोकारवाला निकायको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय अस्पताल बनाए पनि जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गर्न बाँकी छ । अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका कर्मचारीले नै सेवा दिइरहेको बुर्तिबाङ अस्पतालका प्रमुख नवीन्द्र ढकालले जानकारी दिए । ढकालका अनुसार हाल ४७ जना कार्यरत रहेका छन् । ढोरपाटन नगरपालिकाले करार सेवामा २२, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिबाट छ र निकसाइमन इनिस्टिच्यूट संस्थाबाट छजना कर्मचारीबाटै काम हुँदै आएको छ । गण्डकी प्रदेश सरकारको नीतिअनुसार प्रदेशस्तरीय अस्पताल सञ्चालनका लागि अब नौ विशेषज्ञ डाक्टर, आठ मेडिकल अधिकृतसहित ६९ कर्मचारी आवश्यक पर्ने उनको भनाइ छ । अहिले एक बालरोग विशेषज्ञ, एक एमडिजिपी विशेषज्ञ, तीन मेडिकल अधिकृत, तीन स्टाफ नर्स, चार हेल्थ असिस्टेन्ट, चार अहेब, पाँच अनमी र नौ कार्यालय सहयोगीलगायत कर्मचारीले सेवा दिइएको प्रमुख ढकालले बताए । हाल स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा आकस्मिक, बहिरङ्ग, शल्यक्रियाद्वारा प्रसूति सेवा, सामान्य शल्यक्रिया, बालरोग विशेषज्ञ सेवा, जनरल फिजिसियन विशेषज्ञ सेवा, अत्याधुनिक प्रयोगशाला सेवा, जिनएक्पट सेवा, दन्त, आँखा उपचार सेवालगायतको सेवा दिँदै आएको उनको भनाइ छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको प्रदेशस्तरीय अस्पताल सञ्चालन गर्न अब दक्ष जनशक्ति र उपकरण व्यवस्थापन भए सहजरुपमा नागरिकलाई प्रभावकारी सेवा दिन सकिने ढकालले बताए । “प्रदेशस्तरीय अस्पताल घोषणा भएपछि यस क्षेत्रका नागरिकहरूमा खुसी छाएको छ, पहिले बनेको संरचना पर्याप्त भएको हुँदा तत्कालका लागि थप संरचनाको आवश्यक छैन, अब प्रदेशले आकस्मिकदेखि सबै वडामा जनशक्ति र उपकरण व्यवस्थापन गरे हुन्छ”, प्रमुख ढकालले भने, “हामीहरूले प्राथमिक स्वास्थ्य केन्द्र भए पनि २५ शय्यासम्मको सेवा दिँदै आएका थियौँ, उपकरण र डाक्टर नहुँदा धेरै बिरामी अन्यत्र पठाउन बाध्य थियौँ, अब त्यो समस्या समाधान भएको छ ।” बुर्तिबाङ स्वास्थ्य केन्द्रमा वार्षिक करिब ६ सय महिला प्रसूति हुने गरेका छन् । दैनिक तीन सय जनालाई बहिरङ्ग र ३० जनालाई आकस्मिक सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र प्रदेशस्तरीय अस्पताल सञ्चालनमा आएपछि बिरामी बढ्न थालेका हुन् । अस्पताल व्यवस्थापनका अनुसार १४ रोपनी नौ आना जग्गामा तीन ब्लगसहित ४८ कोठासहितका भवन र एक आवासीय भवन रहेका छन् । छ दशकअघि साबिक बुर्तिबाङ गाविसअन्तर्गतका स्थापना भएको स्वास्थ्य संस्था अहिले प्रदेश अस्पतालका रूपमा विकास भएको छ । यस संस्था २०३५ सालमा उपस्वास्थ्य चौकी, २०४२ सालमा स्वास्थ्यचौकी, २०४८ सालमा सामुदायिक स्वास्थ्य केन्द्र र २०५२ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको थियो । विसं २०६४ मा जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गर्नका लागि रु ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण थालिएकामा लामो समयदेख स्तरोन्नति हुन सकेको थिएन । गण्डकी प्रदेश सरकारले संघीय सरकारको अनुमतिमा चालु आवमा अस्पताल स्तरोन्नति गर्नका लागि रु १२ करोड बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा बागलुङको पश्चिम क्षेत्रका जनतालाई सेवा प्रदान गर्दै आइरहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा ल्याइने घोषणाअनुरूप अस्पताल स्तरोन्नति गरिएको हो । यही पुस १२ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालको उद्घाटन गरेका थिए ।
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन् । मन्त्री पौडेलले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरूमा बीमा सुविधा हुनुपर्ने बताए । त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने उनले बताए । उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ । उनले भने, ‘अब सरकारी अस्पतालमा मात्रै बीमाको सुविधा लिन पाइने । निजीमा नपाइने भन्ने हुँदैन । शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो । निजीमा महँगो हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ । सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ । शुल्क समान भयो भने निजीलाई नदिनुपर्ने के कारण छ ? बीमा बोर्डले सरकारी र निजी अस्पतालहरूमा आफ्ना नागरिकलाई सेवा दिलाउनका लागि ती अस्पतालहरूमा स्वास्थ्य सेवा किनेको हो ।’ मन्त्री पौडेलले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरूलाई आग्रह गरे । उनले हरेक दिन के–कति विपन्न नागरिकको उपचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गरे । उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरूप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए । मन्त्री पौडेलले बीमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए । उनले बीमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरी व्यवस्थापन गर्नुपर्ने बताए ।
गलकोट: ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । ५० शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए । विसं २०२१ मा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न रु ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो । अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि रु १२ करोड विनियोजन गरिएको थियो ।