महेन्द्रनगर: नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई साता मात्र बाँकी छ । दसैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उनीहरु पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् । खेलाडी खेल सामग्री र प्रशिक्षण अभावले छटपटीएका छन् । सबैले खेलाडीबाट पदकको मात्र आश गरिरहेका छन् । खेल पदाधिकारी र प्रशिक्षक आफ्नो जिम्मेवारी पूरा गर्नबाट भने चुकिरहेका छन् । कञ्चनपुरबाट सुदूरपश्चिमको प्रतिनिधत्व गर्दै ब्याडमिन्टनतर्फ पुरुष र महिला गरी छ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदैछन् । आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन कञ्चनपुरका ब्याडमिन्टन खेलाडी व्यक्तिगत मेहेनतले मात्रै राष्ट्रिय खेलकुद प्रतियोगितासम्मको यात्रा तय गरेका हुन् । उनीहरूको खेल सामग्रीलगायतको व्यवस्थापनतर्फ न जिल्ला खेलकुद न त प्रदेश खेलकुद परिषद् नै ध्यान दिएको छ । “प्रदेशस्तरबाट तीन महिला र तीन पुरुष खेलाडी छनोट भयौँ”, ब्याडमिन्टनका एक खेलाडी भन्छन्, “आ–आफ्नो ठाउँमा तयारी गर्नु भनेका छन्, हामीलाई एउटा कर्कको डिब्बा कहीँबाट उपलब्ध छैन ।” खेलाडी स्वयंले प्रशिक्षक खोज्नुपर्ने अवस्था छ । अभ्यास आफ्नै ढङगले गर्नुपर्ने अवस्था रहेको ती खेलाडीले बताए । प्रदेशस्तरमा प्रतिस्पर्धाका लागि जाँदा जिल्ला खेलकुद विकास समितिले यहाँका खेलाडीलाई एक/एक सेट जर्सी मात्र उपलब्ध गराएको थियो । कराते खेलाडीलाई फुटबलको जर्सी उपलब्ध गराएको पाइएको छ । “जर्सी त दिए तर फुटबलको, अरु केही सहयोग मिलेको छैन”, करातेबाट छनोटमा परेका कञ्चनपुरका एक खेलाडीले भने, “हामी नियमित प्रशिक्षणबाट सोझै राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछौँ ।” कञ्चनपुरका एक खेलका प्रशिक्षकका अनुसार यहाँ बन्द प्रशिक्षणका कुनै सुरसार छैन । प्रदेश खेलकुदले कुनै सहयोग गरेको छैन । “कम्तीमा एक हप्ताको बन्द प्रशिक्षणको व्यवस्था गर्नुपर्ने थियो”, ती प्रशिक्षकले भने, “हालसम्म खेलाडीलाई खेलसामग्री उपलब्ध गराएको छैन, बन्द प्रशिक्षणको कुनै टुङ्गो छैन ।” यहाँबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने टोलीको प्रदेश राष्ट्रिय खेलकुद परिषद्ले व्यवस्थापन गर्न नसकेको खेलाडीको गुनासो छ । “एउटा कर्कसमेत नदिने प्रदेशले खेलाडीबाट पदकको मात्रै आश गरेका छन्”, एक खेलाडीले भने, “यो भन्दा लाजमर्दो कुरा अरु के हुनसक्छ ।” सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रदेशस्तरमा सहभागी हुने खेलाडीलाई जिल्लास्तरबाट कहीँ ट्रयाकसुट कतै जर्सीको व्यवस्था गरिएको छ । “खेलअनुसार चाहिने पोशाक उपलब्ध हुन सकेको छैन”, एक प्रशिक्षकले भने, “बोल्दा विरोधी भइएला भन्ने डर ।” जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले यही असोज २२ गतेदेखि यहाँका खेलाडी नवौँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रस्थान गर्र्ने बताए । “बन्द प्रशिक्षणलगायत व्यवस्थापन प्रदेशले गर्ने हो ।” उनले भने, “बन्द प्रशिक्षणको विषयमा छलफलमात्रै भएको छ ।” प्रदेश छनोटका बेला खेल सामग्री पाएको उनको भनाइ छ । नवौँ राष्ट्रियका लागि सुदूरपश्चिम प्रदेशबाट छ सय १५ खेलाडी सहभागी हुने भएका छन् । गत भदौ ३१ गतेदेखि धनगढी र कञ्चनपुरका विभिन्न स्थानमा खेलाडी छनोट गरिएको थियो । नवौँ राष्ट्रियमा सुदूरपश्चिमबाट दुई सयभन्दा बढी खेल प्रशिक्षक र व्यवस्थापक सहभागी हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए । राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिम सहभागी हुनेछ । प्रदेशस्तरको छनोटमा यहाँ दुई हजार पाँच सय ३६ खेलाडी छनोट प्रक्रियामा सहभागी भएका थिए । सुदूरपश्चिममा १६ खेलका खेलाडी प्रतियोगिताबाट छनोट गरिएका छन् भने हक्की, जुडो, करातेलगायत खेलमा सोझै छनोट गरिएको सिंहले बताउनुभयो । सदस्यसचिव सिंहका अनुसार फुटबल, भलिबल, क्रिकेटलगायत सामूहिकरूपमा खेलाइने खेलका लागि एक हप्ताको बन्द प्रशिक्षण हुने र व्यक्तिगत खेलाइने खेलका लागि भने बन्द प्रशिक्षण नहुने भएको छ । “चाडपर्वको समय छ, धेरैजसो खेलाडी पर्व मनाउन घर गइसकेका छन्, बन्द प्रशिक्षणका लागि हामीसँग समय कम छ”, सिंहले भन्नुभयो, “बाँकी प्रतियोगिता सहभागिताको सबै तयारी भइसकेको छ ।” प्रदेश खेलकुदका लागि प्रदेश सरकारले रु चार करोड, प्रदेश खेलकुद परिषद्ले रु ९५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले रु ४९ लाख उपलब्ध गराएको सदस्यसचिव सिंहले जानकारी दिनुभयो ।
चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरणको उद्देश्यका साथ बागमती प्रदेशका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्वका बेला सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलंघन समेत बढ्न गई दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको हो । बिपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिले देखिनै टाइम कार्ड लागु भएकोमा मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखि नियम लागु गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । यस्तै मुग्लिङ नारायणगढ खण्ड, पूर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङ सम्म पनि टाइम कार्ड लागु गरिएको छ ।
कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालीकोटमा २१ र दैलेखमा १४ जना डेङ्गुबाट सङ्क्रमित छन् । यस्तै रूकुमपश्चिममा १८, हुम्ला र डोल्पामा एक–एक जना डेङ्गुबाट सङ्क्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेङ्गु रोग नियन्त्रण फोकल पर्सन श्याम आचार्यले जानकारी दिनुभयो । सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेङ्गु सङ्क्रमणको रेडजोनमा छ । वीरेन्द्रनगरमा हालसम्म दुई सयभन्दा बढी डेङ्गुबाट सङ्क्रमित छन् । प्रदेश अस्पतालका डा केएन पौड्यालले लामखुट्टे नियन्त्रणका साथै बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपर्ने बताउनुभयो । डेङ्गु पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । सङ्क्रमितलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा डेङ्गु फैलिन्छ । कर्णालीमा मुटुरोगी बढ्दै कर्णालीमा मुटुरोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय जीवनशैली र खानपानका कारण मुटुरोगी बढ्न थालेका चिकित्सकले बताएका छन् । चिकित्सकहरूका अनुसार अव्यवस्थित खानपानका कारण मुटुरोगी बढ्दै गएका हुन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनुसार उच्च रक्तचापको समस्या बढीजसो देखिएको छ । विलासी जीवनशैली र अव्यवस्थित खानपानका कारण मुटुरोगको जोखिम बढ्दै गएको चिकित्सकको भनाइ छ । तनाव कम गर्ने बहानामा मद्यपान, धुमपान र निद्रा लाग्ने औषधि सेवन गर्ने क्रम बढ्दो छ । यसले मुटुलाई थप असर गरिरहेको प्रदेश अस्पतालका डा केएन पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय खानपानको शैली र काम गर्ने शैली फेरिएको छ”, उहाँले भन्नुभयो ।
बागलुङ: सुन्तला गाउँका रुपमा रहेको सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बेमौसमी सुन्तला उत्पादन गर्नुभएको छ । सामान्यतः सुन्तलाको सिजन कात्तिक, मङ्सिरमा भएपनि उहाँले सय बोटमा बेमौसमी सुन्तला फलाउनुभएको छ । खड्काको सुन्तला बैँगचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसमी सुन्तलाको बोट भने सानो हुने र छिटो फल्ने गर्दछ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरुप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नुभएको छ । खड्काले पाँच वर्ष अगाडि मात्रै झण्डै एक सय बेमौसमी जातका सुन्तलाका बिरुवा लगाउनुभएको थियो । दुई वर्षदेखि ३० भन्दा बढी सुन्तलाको बोटमा सुन्तला फल्ने गरेको छ । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि एशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन् । “दुई वर्ष अघिसम्म उन्सु मात्रै सुन्तला दुई केजी बिक्री गरेको थिए, अहिले यसको उत्पादन बढेको छ, दशैँलाई कोसेलीका रुपमा गाउँमै बिक्रीसमेत भयो अहिले तीन सयभन्दा केजीभन्दा बढी सुन्तला पाक्यो”, उहाँले भन्नुभयो, “अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार हुन्छ यसलाई छोटो समयमा धेरै सुन्तला उत्पादन गर्ने गरी बगैँचा विस्तार गर्न आवश्यक छ ।” मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँच वटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ । थोरै बिरुवा लगाएरभन्दा ठूलो परिणाममा बिरुवा लगाउन सके राम्रो हुँने भन्दै आफूले उत्पादन गरेको सुन्तला दशैँको कोसेलीका रुपमा गाउँमै खपत हुने खड्काको भनाइ छ । खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने बताउनुभयो । बेमौसमी सुन्तलाको प्रतिकिलो रु एक सय ८० मा बिक्री हुने गरेको छ । चार दशकदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउनुहुन्छ । पाँच वर्ष अघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फलेको छ । उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ । कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्नुहुने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाउनुभएको थियो । नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानीज जातका सुन्तला लगाउनुभएको हो । व्यावसायिक उत्पादन गर्नसके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताउनुभयो । चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आउनुभएका उहाँले हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाउनुभएको छ । उहाँसँग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ । उहाँले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची, तरकारीको समेत खेती गर्दै आउनुभएको छ ।
पोखरा: स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष अमृत क्षेत्रीले आफ्नो तलव भत्ता वापतको आंशिक रकम एक विद्यालयललाई सहयोग गरेका छन् । क्षेत्रीले एक कार्यक्रमकाविच स्याङ्जाको फेदीखोला १ स्थित पर्सेभाटीमा अवस्थित शिवालय आधारभुत विद्यालयलाई ३२ हजार रुपैयाँ प्रदान गरेका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुली, निमित्त प्रध्यानाध्यापक शान्तदेवी न्यौपानेलाई रकम हस्तान्त्रण गरे । स्थानिय निर्वाचन ताका आफू निर्वाचित भएपछि प्राप्त हुने सेवा सुविधाको रकमबाट विद्यालयमा निजी स्रोतका एक जना शिक्षकको तलव भत्ता बराबरको एक लाख ४ हजार विद्यालयलाई प्रदान गर्ने घोषणा गरेका थिए । उनले विद्यालयलाई बाँकी रकम क्रमश उपलब्ध गराउँदै जानेपनि सो क्रममा प्रतिवद्धता व्यक्त गरे । कक्षा ८ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा शिक्षक कर्मचारी १४ जना रहेका छन् । जसमा ४ जना शिक्षक, बाल शिक्षिका र एक जना कार्यालय सहयोगी सरकारी दरबन्दीका हुन भने बाँकी ९ जना निजी स्रोतबाट तलबभक्ताको व्यवस्थापन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले जानकारी दिए । उनले भने, ‘हामीले निकैनै कठिन हिसावले विद्यालय सञ्चालन गरिरहेका छौैं । निजी स्रोतबाट शिक्षक र बस ड्राइभर गरि ९ जनालाई चन्दा उठाएर तलब खुवाएका छौं । जसमा केही सहयोग गाउँपालिका र वडा कार्यालयले गरेका छन् ।’ १९४ जना अध्ययनरत विद्यालयले आगामी शैक्षिकसत्रदेखि कक्षा ९ र १० सम्म कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
पोखरा : गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता काउन्ट डाउनमा अब १६ दिनमात्र बाँकी छ । असोजको २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतियोगितालाई हाल तिब्रता दिएको छ। प्रतियोगितालाई सम्पन्न गर्न गठित विभिन्न १४ वटा उपसमितिहरुले आफ्नो जिम्मेवारीलाई तिब्रता दिएका छन्। ७ वटै प्रदेश, ३ विभागीय र एनआरएनए गरी ११ टिमको प्रतिस्पर्धा रहने प्रतियोगिताका लागि खेलाडी छनोट भएर टिमहरुले खेलाडीको नाम दर्ता गर्दैछन्। यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकामहरुमा टुर गराउने काम भइरहेको छ । हिँजो (मंगलबार) मात्रै कर्णाली प्रदेशमा ट्रफी भ्रमण गराइएको छ। प्रतियोगिता अन्तर्गतका धेरैजसो खेलहरु गण्डकी प्रदेश राजधानी पोखरामै केन्द्रीत रहेको र बाँकी खेलहरु स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको हो। म्याग्दीमा महिला भलिबल र र डब्ल्युटीएफ तेक्वान्दो, स्याङजामा महिला फुटबल, पर्वतमा कराँते, बागलुङमा आइटीएफ तेक्वान्दो, नवलपुरमा सेपाकताक्रो र कुस्ती तथा गोरखामा बुद्धिचालका खेल तालिका तोकिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खेलस्थल व्यवस्थापन समितिका सदस्यह समेत रहेका राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड मेम्बर राजेशकुमार गुरुङको टोलीले पर्वत, बागलुङ र म्याग्दीको खेलस्थलको अवलोकन गरेको छ । म्याग्दीमा सरोकारवालाहरुको एउटै मन नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्लाको बेनी बजारमा महिला भलिबल र डब्ल्यूटीएफ तेक्वान्दोका २ खेलको तालिका तोकिएको छ । प्रतियोगिताको तयारीका लागि तिब्रता दिइएको छ । म्याग्दीको जिल्ला समन्वय समितिको पहलमा त्यहाँ प्रतियोगिताको तयारीलाई तिब्रता दिइएको छ। भेटमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीमा हुने प्रतियोगिताका लागि कार्ययोजना बनाएर अघि बढाइएको बताए । म्याग्दीमा हुने महिला भलिबल र डब्ल्यूटीएफ तेक्वान्दोका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल र दर्शकहरुका लागि सुरक्षा व्यवस्थालाई चुस्त, दुरुस्त पारिने प्रजिअ रानाको प्रतिबद्धता छ । बेनी नगरपालिका प्रमुख केसीले राष्ट्रिय खेलकुद प्रतियोगिताका २ खेल म्याग्दी जिल्लामा ल्याइदिएकोमा राखेपलाई धन्यवाद दिएका छन्। जिल्ला समन्वय समितिको अगुवाइमा सुरक्षा निकाय र स्थानीय प्रमुखहरु र जनप्रतिनिधिहरुको समन्वयमा खेललाई सफलताका साथ सम्पन्न गर्ने केसीको प्रतिबद्धता छ । रामचन्द्र जोशी, प्रमुख -कुश्मा नगरपालिका, पर्वत टोलीसँगको भेटमा पर्वत कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले राष्ट्रिय खेलकुदअन्तर्गत कराँते प्रतिस्पर्धा पर्वतमा आएकोमा खुशी र धन्यवाद व्यक्त गरे । उनले पर्वतको पनि कुश्मामा हुने प्रतिस्पर्धालाई हरेक दृष्टिले सफल बनाउने प्रतिबद्धता जनाए । कुश्मामा हुने प्रतिस्पर्धालाई आर्थिक र व्यवस्थापनको हिसावले कुनै कमी कमजोरी हुन नदिने उनको प्रतिबद्धता थियो । राष्ट्रिय खेलकुदकै आवश्यक तयारीका लागि नगरपालिका ९ लाख छुट्याएको उनको भनाई थियो। खेलकुदकै अवसर पारेर पर्वत तथा कुश्माको पर्यटकीय गन्तव्यलाई प्रबद्र्धन समेत गर्ने उनले बताए। पदक विजेतालाई निःशुल्क र सहभागी खेलाडीलाई केही प्रतिशत छुटमा पर्वत कुश्मास्थित बञ्जीजम्प र जीपलाइनको मनोरञ्जन लिन पाउने व्यवस्था गर्न लागेको प्रमुख जोशीको भनाई थियो। बसन्तकुमार श्रेष्ठ, प्रमुख-बागलुङ नगरपालिका, बागलुङ त्यस्तै, बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले जिल्लामा आएको राष्ट्रिय खेलकुदलाई अपनत्व लिएर आइटीएफ प्रतियोगितालाई सफल पार्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । प्रतियोगितालाई साथ र सहयोग गर्न नगरपालिका पूर्ण रुपले तयार रहेको उनको प्रतिबद्धता थियो । कुनैपनि प्रतियोगिता राजधानी बाहिरबाट पनि गर्न सकिन्छ भन्ने सन्देश आफूहरुले बागलुङबाट दिन चाहेको उल्लेख गरे । कुनाकाप्चाबाट खेलाडीहरुको उत्पादन हुने उनको भनाई थियो ।
मनाङ : करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ । पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा २०७९ साउनदेखि २०७९ असोज पहलिो सातासम्म कुल तीन हजार आठ सय १८ पर्यटक मनाङ भित्रिएको कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । सो अवधिमा सार्क राष्ट्रका पुरुष एक हजार तीन सय ३० र महिला छ सय १४ भित्रिएका छन् । अन्य देशका एक हजार आठ सय ७४ पर्यटक मनाङ प्रवेश गरेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको असोज पहिलो सातासम्म सबैभन्दा बढी इजरायलका चार सय २८, जर्मनीका एक सय ४९, स्पेनका एक सय ३४, बेलायतका एक सय ३०, फ्रान्सका एक सय २२, अमेरिकाका एक सय आठ र अन्य देशका आठ सय ७३ पर्यटक मनाङ घुम्न आएका छन् । गत आवमा सो अवधिमा कुल सात हजार २० बाह्य पर्यटक मनाङ आएका थिए । पर्यटकलाई स्वागत यसैबीच मनाङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङ र आयोजनाको अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोष्ट धारापानीले ४३औँ विश्व पर्यटन दिवसका अवसरमा मङ्गलबार इलाका संरक्षण कार्यालयमा पर्यटकलाई स्वागत गरिएको हो । पर्यटकलाई मनाङका आमा समूहले सांस्कृतिक परम्परा तथा परम्परागत पहिरन लगाएर खादासहित स्वागत गरेका थिए । ‘पर्यटनमा पुनर्विचार’ नाराका साथ मनाइएको सो दिवसमा धारापानीमा ४१ ९पुरुष २४ र महिला १७० बाह्य पर्यटक, नेपाली पथप्रर्दशक तथा भरिया नौ र मनाङ चेकपोष्टमा कुल ४० ९पुरुष २२ र महिला १८० बाह्य पर्यटक र नेपाली पथप्रर्दशक तथा भरिया आठ जनालाई स्वागत गरिएको मनाङ आमा समूहकी अध्यक्ष सीता गुरुङले जानकारी दिनुभयो । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले, ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्ष, संरक्षण क्षेत्र व्यवस्थापन समिति टङ्की–मनाङका अध्यक्ष सगर गुरुङ, पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष कर्मा गुरुङ र मनाङ ङिस्याङ युवा क्लबले पर्यटकलाई स्वागत गरेको हो । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र एउटा प्रसिद्ध पर्यटकीय क्षेत्र एवं पदमार्ग हो । यहाँ घुम्नका लागि उपयुक्त धेरै ठाउँ छन् । यस क्षेत्रअन्तर्गत घान्द्रुक, अन्नपूर्ण बेस क्याम्प, मुक्तिनाथ, दामोदर कुण्ड क्षेत्र, लोमान्थाङ, मर्दी हिमाल, धम्पुस, मनाङ, तिलीचो ताल, नार, फुलगायत स्थान पर्दछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको पर्यटकीय क्षेत्रका रूपमा ताल, धारापानी, चामे, लमजुङ हिमाल, बेस क्याम्प, माथिल्लो मनाङ, नार, फु, तिलीचो ताल, आइसलेक, मिलेरेपा गुम्बा, पोचो गुम्बा, मनाङ गाउँलगायत रहेका छन् ।
पोखरा: नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखराले आयोजना गरेको तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगितामा नबिल र लक्ष्मी बैंक च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा असोज ७ र ८ गते सम्पन्न फुटसल प्रतियोगितामा पुरुष तर्फ नबिल बैंक र महिलातर्फ लक्ष्मी बैंक विजयी बनेको हो । आयोजक संस्थाका सचिव जितेन्द्रराज शाक्यका अनुसार सिद्धार्थ बैंक र नबिल बैंकबीच भएको फाइनल खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा नबिल बैंक विजयी बन्यो भने महिला तर्फ लक्ष्मी बैंकले मेगा बैकलाई फाइनलमा १–० गोल अन्तरले पराजित गरेको थियो । उक्त प्रतियोगिताबाट महिला तथा पुरुष तर्फको विजयी टिमले च्याङ्ग्रा प्राप्त गरे भने उपविजेता टोलीले खशी हात पारेका थिए । सो प्रतियोगिताबाट सिद्धार्थ बैंकका अमित लम्साल सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरि नबिल बैंकका फडेन्द्र जङ गुरुङ उत्कृष्ट गोलरक्षक र अमित पौडेलले सर्वाधिक गोलकर्ताको उपाधि पाए । यसैगरि महिला समूहतर्फ लक्ष्मी बैंककी स्वेच्छा श्रेष्ठ सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत बनिन् । मेगा बैंककी तृष्णा प्रधान उत्कृष्ट गोलरक्षक र पोखरा फाईनान्सकी स्मृति आले मगरले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरिन् । सचिव शाक्यका अनुसार सो प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३८ समूह र महिला तर्फ ११ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा डेपुटी गभर्नरको नेतृत्वमा नेपाल राष्ट्र बैंक र बैंकर्सबिच मैत्रिपूर्ण खेलसमेत आयोजना गरिएको थियो । समापन कार्यक्रममा गण्डकी प्रदेशखेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा रामशरण खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिना, केन्द्रीय सचिव कृष्ण प्रसाद खराल, सचिवालय सदस्य तुल्सीराम बाँनिया, केन्द्रीय सदस्य रमेस खतिवडा, नेपाल राष्ट्र बैंक पोखराका उप निर्देशक पुष्कर सुर्खाली, उप निर्देशक प्रतिभा अधिकारी, बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटिका संयोजक समिर केसी, डेपलपमेण्ट बैंकर्स एशोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर केसी लगायतले पुरस्कार वितरण गरेका थिए । नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जितेन्द्रराज शाक्यले गरेका थिए ।
कास्की: पोखरा महानगरपालिका ३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रले ब्लड क्यान्सर पीडित मनकुमारी पुनलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रशिक्षण केन्द्रको आयोजना तथा छन्त्याल युवा संघको सह–आयोजनामा सम्पन्न क्लबस्तरीय पुरुष तथा महिला प्रतियोगिता २०७९ मा संकलित रकममध्ये नगद रु २० हजार सहयोग हस्तान्तरण गरेको हो । नगद हस्तान्तरण गर्दै प्रशिक्षण केन्द्रका सञ्चालक तथा प्रशिक्षक मनोज खड्का, छन्त्याल युवा संघका निवर्तमान अध्यक्ष कुल प्रसाद (कुशल) छन्त्याल, सचिव नवीन छन्त्याल लगायतले पुनको आफन्त भिमा घर्तीमगरलाई सो रकम हस्तान्तरण गरे । सो अवसरमा बोल्दै पुनको स्वास्थ्य लाभको कामनासहित आर्थिक सहयोग गरेको निवर्तमान अध्यक्ष कुशल छन्त्यालले बताए । उनले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिने बताउदै छन्त्याल युवा संघ दुखको सारथी बन्ने धारणा राखेका थिए । यसैगरि प्रशिक्षण केन्द्रका सञ्चालक तथा भलिबल प्रशिक्षक मनोज खड्काले गत वर्ष मृगौला पीडित सुरज गुरुङलाई आर्थिक सहयोग गरेको स्मरण गरे । ‘हामीले प्रतियोगिता गरेर संकलन भएको रकमको केही हिस्सा सामाजिक कार्यमै खर्च गर्ने निर्णय थियो, उनले भने, ‘त्यही अनुरुप यसवर्ष हामीले ब्लड क्यान्सर भएर उपचाररत रहनुभएकी मनकुमारीलाई सहयोग गरेको हौं ।’ यसैगरि छन्त्याल युवा संघका सचिव नवीन छन्त्यालले खेलकुद क्षेत्रमा मात्र नभई विभिन्न सामाजिक कार्यमा सक्रियता रहदै आएको बताए । उनका अनुसार प्रशिक्षण केन्द्रको २० हजारसँगै पोखरा भलिबल प्रशिक्षण केन्द्रका सल्लाहकार सुनिल मगरले नगद रु ५ हजार र देविस्थान घर्थोकका शेरबहादुर घर्तीमगरले १५ हजार सहयोग गरेका थिए । मालिका गाउँपालिका २ रुम (बिल्बाङ्ग) म्याग्दीकी मनकुमारी पुनको नयाँ दिल्लीकोस्थित राजीव गान्धि क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भईरहेको उनकी आफन्त भिमा घर्तीमगरले जानकारी दिइन् । उनका अनुसार पुनले जनजागृति आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएकी थिइन् । पुनको उपचारको क्रममा करिब ३० लाख सकिसकेको बताउदै घर्तीमगर अझै ५० लाख भन्दा बढी खर्च लाग्ने बताइन् । उनले पुनको थप उपचारका लागि सहयोग गर्नसमेत आग्रह गर्दै भनिन्, ‘तपाइहरुपनि उहाँको उपचारका लागि केही सहयोग गर्न चाहनुहुन्छ भने गरिमा विकास बैंकको (सिमा पुन) खाता नम्बर ०२१०१७००८१३४९००००००१ मा जम्मा गर्न सक्नुहुनेछ ।’