म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ ।   एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि...

गलकोट  :  गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हुँदै  छ ।   यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताअन्तर्गत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लामा आयोजना गरिएको सो प्रतियोगिताअन्तर्गत आइटिएफ खेलको प्रतिस्पर्धा बागलुङमा गर्न थालिएको छ ।   यही असोज २८ र २९ गते बागलुङ बजारको बाङ्गेचौर खेलमैदानस्थित कर्भडहलमा आयोजना गर्न थालिएको नवौँ राष्ट्रिय आइटिएफ खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता बनाइएको आइटिएफका केन्द्रीय सचिव तथा बागलुङ नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । “राष्ट्रिय खेलकुद प्रतियोगिता बागलुङमा पहिलोपटक हुँदैछ, त्यसमध्ये बागलुङे खेलाडीको रोजाइ रहेको आइटिएफ खेल जिल्लामा हुँदैछ, हामीले प्रतियोगिताको तयारी तीव्र बनाएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय पालिका बागलुङ नगरपालिकाले स्थानीय व्यवस्थापनमा आइटिएफ तेक्वान्दो प्रतियोगिता गर्दैछौँ, प्रतियोगिताका लागि ५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।”   उहाँका अनुसार बागलुङ  नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिले प्रतियोगितामा आएको खेलाडीको व्यवस्थापन गर्ने र उद्घाटनसत्रलाई भव्य बनाउने तयारी गरेको छ । आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका दुई सय ५० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।    प्रतियोगिता २१ स्वर्ण, २१ रजत र ५६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा ४५  रेफ्री सहभागी हुनेछन् । खेलको खर्च नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले व्यहोर्ने छ भने स्थानीय व्यवस्थापनको खर्च बागलुङ नगरपालिकाले गर्ने बागलुङ नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । बागलुङका लागि राष्ट्रिय प्रतियोगिता गर्ने सौभाग्य प्राप्त भएको जनाउँदै तयारीमा जुटेको उहाँले बताउनुभयो ।    खेलको मुख्य समारोह यही असोज २९ गते बागलुङको कला, संस्कृति झल्काउने झाँकी, बाजागाजा र कला संस्कृतिसहितको हुनेछ । प्रतियोगिताका लागि बागलुङस्थित बाङ्गेचौर खेलमैदानसहित रहेको कर्भडहल मर्मत गरिएको र बाहिरको प्राङ्गणलाई सुधार गरिएकोे जिल्ला खेलकुद विकास समितिका अध्यक्षकुमार खड्काले बताउनुभयो । जिल्लामा आइटिएफमा सर्वाधिक बढी खेलाडी हुनु र राष्ट्रिय प्रतियोगितासमेत बागलुङमा आयोजना हुने भएकाले खेलाडी वर्गमा उत्साह छाएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा बागलुङले ८५ पदक प्राप्त गरेको थियो ।   यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालनमा आउने सो प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा बागलुङले ४४ स्वर्ण, २२ रजत र १९ कास्य पदक प्राप्त गर्न सफल भएको हो । जिल्लाले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा सबैभन्दा बढी पदक प्राप्त गरेको छ । सो प्रतियोगितामा १७ स्वर्ण, दुई रजत र दुई कास्य पदक प्राप्त गरेको अध्यक्ष खड्काले बताउनुभयो ।

मनाङ :  हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।   जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप०का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो ।   हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ७३ बाह्य पर्यटक र नौ जना आन्तरिक पर्यटक गरी हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।    बाढीपहिराले गर्दा सडकमार्ग अवरुद्ध भएकाले अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको उहाँले बताउनुभयो । गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।   बङ्गालको खाडीबाट विकसित हुँदै नेपाल प्रवेश गरेको मनसुनले गर्दा पर्यटक आवागमनको उपयुक्त समयमा पनि सडकमार्गको उपयोग गर्न समस्या भएको छ । सडकमार्गमार्फत यात्रा गर्न समस्या हुँदा मनाङमा पहिलोपटक एकै दिनमा एक सय २० पटक हेलिकोप्टर अवतरण गरी पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण पदमार्गको यात्रामा मनाङ पुगेका बाह्य पर्यटकको उद्धार गर्ने क्रममा एक सय २० पटक अवतरण गरी नयाँ रेकर्ड कायम गरेको हो ।   मनाङलगायत गोरखा, मुस्ताङ र उपल्लो डोल्पाको हिमाली क्षेत्रमा पर्यटक पुगेका थिए । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण ती पर्यटक बीचबाटोमै अलपत्र परेका र सम्पर्कमा आएका पर्यटकलाई उद्धार गरिएको छ । मनाङको अन्नपूर्ण, गोरखाको मनास्लु, मुस्ताङको धवलागिरि क्षेत्रमा पर्यटक पुगेका थिए ।   

पोखरा :  प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यमा अवकाश पाएका छन् ।   ६० वर्षे उमेर हदबन्दीका कारण सदस्य सचिव गुरुङले अनिवार्य अवकाश पाएका हुन् । खुला प्रतिष्पर्धा मार्फत १९ महिना अघि प्रदेश खेलकुद परिषद गण्डकीको स्थापना संगै चार वर्षका लागि गण्डकी प्रदेश सरकारबाट नियुक्ती पाएका थिए । गण्डकी प्रदेशमा ३९ वर्ष पछि आयोजना हुन गइरहेको नवौं राष्ट्रिय खेलकुदको तयारी र प्रतियोगिता चलिरहँदा गुरुङको अवकाश संगै प्रदेश खेलकुद परिषद भने नेतृत्व विहिन हुन पुगेको छ ।    गण्डकी प्रदेश खेलकुद परिषदको कार्यकारी तहबाट अवकाश पाउनु अघि एक पत्रकार सम्मेलनको आयोजना गरी सदस्य सचिव गुरुङले भने यसलाई नियमित प्रक्रिया रहेको बताए । उनले भने–“१९ महिनाको अवधिमा प्रदेशको खेलकुदलाई चुनौतीपूर्ण घडिमा स्थापित गर्न हामीले जुन भूमिका खेल्यौं त्यो महत्वपूर्ण र उपलव्धिमुलक रहेको छ ।” आफूले अवकाश पाउनु भन्दा तिन महिना अघिनै प्रदेश सरकारलाई यस विषयमा जानकारी गराएको बताउँदै आफ्नो कार्यकालको अन्तिम समय सम्म सक्रिय रुपमा कार्य गरेको उनले बताए ।    अवकाश हुनु अघि सदस्य सचिव गुरुङले जारी गरेको प्रेस विज्ञप्तीमा भनेका छन्–“हाम्रो समाज र नेतृत्वले खेलकुद प्रतिको बुझाई धेरै सकारात्मक नभई सकेको अवस्थामा हाम्रा श्रोतमा धेरै सिमितता रहन्छ भन्ने कुरामा पूर्व अनुमान रहेकै विषय थियो ।” उनले भनेका छन्–“जुन हाम्रो निम्ति प्रमुख चुनौती थियो । तर त्यो चुनौतीलाई चिर्दै हामीले उपलव्धीमुलक रुपमा प्रदेशको खेलकुदलाई चलायमान बनाउन भूमिका मात्रै खेलेनौं निश्चित गन्तव्य र त्यहाँ पुग्नका लागि ठोस रणनितिक योजना तय ग¥यौं ।”    खेलकुदका लागि पोखरा राम्रो आयोजक र व्यवस्थापक रहेको तर समग्र खेलकुदको नतिजाको दृष्टिकोणले नतिजामुखी बन्न नसकेको तितो यथार्थ रहेको बताउँदै सदस्य सचिव गुरुङले यसका लागि भिजन र मिसन समेत तयार गरी चार खम्वे रणनितिक योजनाहरुका साथ अघि बढेको बताए । प्रदेशको भिजन स्टेटमेन्ट–‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’लाई सर्वव्यापी बनाउन  प्रयास गरिएको उनले उल्लेख गरे । सोही परिणाम अनुसार उत्कृष्ट खेलाडी उत्पादन र शुनिश्चित जिवन शैली, अनुशन्धनात्मक कार्य, सबैका लागि खेलकुद, क्षमता अभिवृद्धि र सुशासन, पूर्वाधार एवं श्रोत परिचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गरी उपलव्धिमुलक रुपमा नतिजा प्राप्त गरिएको उनले दावी गरे ।    अवकाश पाउनु अघि सदस्य सचिव गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, निवर्तमान मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ, यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ प्रति आभार प्रकट गरेका छन् । आफ्नो १९ महिने कार्यकालमा सहयोग गर्नेहरु प्रति समेत सदस्य सचिव गुरुङले धन्यबाद दिंदै नेपाली समाजलाई खेल क्षेत्रको माध्यमद्वारा रुपान्तरण गर्न सकिन्छ भन्ने दृढ विश्वास सहित खेल क्षेत्रमा अघि वढि रहने प्रतिवद्धता समेत व्यक्त गरे ।    सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ र सदस्य सचिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीले प्रकाशित गरेको ‘खेल्छ गण्डकी’ बुलेटिन संयूक्त रुपमा विमोचन गरेका थिए ।   

ताप्लेजुङ  :  प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट रु छ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ । जिल्ला सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत  कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए ।      जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले  लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र  उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल छन् ।   फरार रहेका एक जनाको खोजी जारी रहेको प्रनाउ राईले जानकारी दिनुभयो । उनीहरुको साथबाट नगद रु छ लाख १३ हजार तीन सय ४० सहित एक सय ४३ तोला सुन सार्वजनिक गरेको हो । बरामद गरेका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान ९डोरी, कैचीलगायत सामग्री० सार्वजनिक गरेको छ ।   मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा  रु ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको उल्लेख गरिएको छ । यसैगरी हाल सुनको बजारभाउअनुसार रु तीन करोड ३९ लाख ९९ हजार छ सय बराबरको तीन सय ४८ तोला सुन लुटपाट भएको जनाएका छन् ।   पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए/नभएकोबारे कागजात अनुसन्धान गर्न तयारी रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताउनुभयो । उहाँले भन्नुभयो, “सुन कारोबार (जाकट) इजाजत छ वा छैन, कागजात मागेका छौँ, अनुसन्धान हुन्छ ।”   आरोपीले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए । लुटपाटमा संलग्न लागुपदार्थ सेवनकर्ता भएको प्रहरीले जनाएको छ । उनीहरूले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । आरोपितविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पोखरा :  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् ।   उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छन् ।   नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् ।   नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो ।   ह्याण्डबल तथा फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए । उनले विश्वमा खेलकुद मात्रै स्वस्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे । प्रतियोगितामा सहभागित खेलाडीहरुलाई विजयीको शुभकामना समेत व्यक्त गरे ।  

पोखरा  ः  नवौँ राष्ट्रिय खेलकुुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ ।   पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । वर्षातका कारण बाँकि खेल सम्भव नभएपछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो ।   खेल रोकिनु अघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दिक्षा पुरीले सर्वाधिक ७ रन बनाएकी थिइन् । दिव्या रानाले ३, करिश्मा राइले १ रन जोड्दा कर्णालीका ५ जना शुन्य रनमै आउट भए । पुलिस क्लबकी सवनम राई, संगीता राई, कविता जोशी, इश्वरी विष्ट र हिरनमाय रोयले समान १ विकेट लिए। ।   टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो । मैदान भिजेका कारण ढिला शुरु भएको खेलमा ४ ओभर घटाइएको थियो ।   पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्धतमा २५ रन बनाइन् । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । कविता र काजल दुवैले समाज १६ रन बनाएका थिए । रेवती धामिले १४ रन बनाइन् । कर्णाली प्रदेशका लागि अन्जु गुरुङले ३ तथा बिना थापा र एञ्जिला क्षत्रीले समान १ विकेट लिए । खेलमा पुलिसका सम्झना खड्का प्लेयर अफ द म्याच भइन् ।

पोखरा : पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ ।   प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन् ।    विभागीय टोली नेपाली आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् ।  तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । ईपी, फोयल र सेबर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भईरहेको छ । राउण्ड रोविनमा सवार्धिक अंक ल्याउने खेलाडी अर्को चरणमा प्रबेश गर्ने कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए । 

पोखरा  :  गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् ।    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेको भोलीपल्ट सोमबार मन्त्री थापाले सवारी सुविधा फिर्ता गरेका हुन् ।    मन्त्री थापाले गण्डकीको कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेबारी पाएपछि प्रयोग गर्दै आएको ग १ झ ५६३ नम्बरको सवारीको चाबी मन्त्रालयको सचिव शम्भूप्रसाद रेग्मीलाई हस्तान्तरण गर्दै सुविधा फिर्ता गरेका छन् ।    निर्वाचनलाई मर्यादित बनाउन सवारी सुविधा फिर्ता गरेको मन्त्री थापाले बताएका छन् । ‘गण्डकी प्रदेश सरकार अन्तर्गत कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सरकारी गाडी सुविधा प्राप्त गरेको थिएँ । आसन्न प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेसँगै अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले सुविधा स्वरुप प्राप्त झण्डावाल गाडी आज मन्त्रालयका सचिवज्यूलाई फिर्ता गरेको छु ।’, उनले भने ।    जनताको करबाट आर्जेको सरकारी सम्पतिको दुरुपयोग नहोस् भन्नेमा हिजो पनि आफु सचेत रहेको र आज पनि भएको अभिव्यक्ति उनको छ । आगामी समय पनि सो कार्यले निरन्तरता पाउने भनाई मन्त्री थापाको छ ।    मन्त्री थापाले २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको विवरण केही दिन अघि मात्र पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।   

पोखरा  : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी आज पोखरा आइपुगेको छ ।   गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभएको ट्रफी यसअघि अन्य छवटा प्रदेश तथा तीनवटा विभागीय टोलीमा पुर्‍याइएको थियो ।राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज ट्रफी अनावरण गर्नुभयो । त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङलगायतको उपस्थिति थियो ।    राष्ट्रिय खेलकुदको गरिमा र महत्वलाई दृष्टिगत गर्दै परिषद्ले पहिलो पटक ट्रफी टुर कार्यक्रम सञ्चालनमा ल्याएको हो । ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता कराँतेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई सहभागी हुनुहुन्छ ।   उहाँहरूलाई मुख्यमन्त्री पोखरेलले स्वागत गर्दै चार दशकपछि प्रतियोगिताआयोजना गर्न पाउनु गण्डकीवासीका लागि गौरवको विषय भएको बताउनुभयो । राष्ट्रमा खेलकुदको विशिष्ट महत्व रहेकाले यस खेललाई भव्यताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।   तालबाराही मन्दिर परिक्रमा गराएर ट्रफी सुरक्षा निकायको जिम्मामा   पोखरा ल्याइएको ट्रफी पोखराका विभिन्न स्थानका साथै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य फेवातालस्थित तालबाराही मन्दिरको परिक्रमा गराएर सुरक्षा निकायको जिम्मा लगाइएको छ । पोखराको तालबाराहीमा ट्रफीसहित ट्रफी टुरमा सहभागी राष्ट्रिय खेलाडीलाई महानगरका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत गर्नुभयो ।   चार दशकको अन्तरालपछि पोखरामा हुन लागेको नवौँं राष्ट्रिय खेलकुद समग्र पोखरेलीका लागि गर्वको विषय भएको महानगरप्रमुख आचार्यले बताउनुभयो । यस राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्नका लागि महानगरका तर्फबाट सक्दो सहयोग हुने उहाँले विश्वास दिलाउनुभयो । नवौं राष्ट्रिय खेलकुदका अवसर पारेर भोलि मङगलबार वृहत् फेवाताल सरसफाइ अभियान सञ्चालन गर्न लागिएकोे पनि महानगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।   विसं २०३८देखि सुरु राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकुद सम्पन्न गरेको पोखराले चार दशकपछि घरेलु मैदानमा खेल गराउने सौभाग्य पाएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनुभयो । प्रतियोगिताअन्तर्गत विभिन्न ३६  खेल हुने भएका छन् ।    यही असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यस पटक खेल हुनेछैनन् ।   खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन  पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नाष्टिक, ह्याण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसु प्रतियोगिता पोखरा रङ्गशालमा हुनेछ । पुरुष बाँस्केटबल पोखरामा र महिला बाँस्केटबल तनहुँमा हुने भएको छ । आर्चरी र फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ । यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ ।  पौडी पोखराको फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टीप्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ ।   यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बागलुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । पूर्वाधार अभावका कारण सुटिङ भने काठमाडौँमा खेलाइने भएको छ ।    यसैगरी परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी ‘नेशनल स्पोर्टस् काउन्सिल एप्स’ सञ्चालनमा ल्याएको छ । सो एप्सबाट खेलको तयारी, नतिजालगायत सबै विवरण जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते हुने भए पनि महिला क्रिकेट  असोज २३ गतेदेखि पोखरामा सुरु भइसकेको छ ।