पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष फुटबलमा विभागिय टोली त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० गोलले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो । पहिलो हाफ बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा सुदिलले गोल गर्दै अग्रता दिलाए । उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए । गण्डकीलाई खेलको शुरुवाती देखि दबाबमा राखेको आर्मीले पटक पटक पाएको अवसरलाई उचित सदुपयोग गर्न नसक्दा १–० गोल मै चित्त बुझाउन बाध्य भएको हो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ गोलले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो । यस्तै मंगलबार नै समूह ‘डी’ विजेता सुदुरपश्चिम र समूह ‘बी’ विजेता एपिएफबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीको खेलमा नेपाल आर्मी र गण्डकी फाइनलमा पुगेका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश १ लाई हराउँदै आर्मी फाइनलमा पुगेको हो । प्रदेश नम्बर १ लाई ७–० गोलले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको हो । खेलको ९ औं र १४ औं मिनेटमा आर्मीको तर्फबाट सीता कुमारी चौधरी र अन्जना चन्द ठकुरीले गोल गरे । यस्तै दोस्रो क्वाटरमा सितामाया बलले एक गोल गर्दा २२ र २४ औं मिनेटमा सीता कुमारी चौधरीले पुन दुई गोल गर्न सफल बनिन् । यता २६ औं मिनेटमा सितामाया बलले आर्मीको लागि एक गोल थपीन् । त्यस्तै ५१ औं मिनेटमा सीता कुमारी चौधरीले आर्मीको लागि फेरि एक गोल गरेकि थिइन् । यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ६–० को गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । खेलको पहिलो क्वाटरमा गण्डकीले दुई गोल गर्न सफल भएको थियो । १३ औं मिनेटमा सोनु बराल र १५ औं मिनेटमा सबिना पुन रानाले गोल गरेका थिए । यस्तै २० औं मिनेटमा कमला पुन, ३२ औं मिनेटमा दिक्षा बराल, ३३ औं मिनेटम दिपशिखाले गोल गरे । ३७ औं मिनेटमा कमला पुन गण्डकीको लागि पुन एक गोल गरिन । बुधबार हुने फाइनल खेलमा गण्डकी र नेपाल आर्मी मैदानमा भिड्ने छन् ।
बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–७ स्थित नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लाको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारको शिरमा रहेको नरसिंहकोटमा सडक सञ्जाल र पदमार्गले जोडेपछि दैनिक सयौँ आन्तरिक पर्यटक यहाँ पुग्न थालेका हुन् । निसीखोलाकै सबैभन्दा महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल नरसिंहकोटमा गाउँपालिकाले पूर्वाधार निर्माणसँगै पर्यटकलाई आकर्षण गर्ने संरचना बनाएको छ । स्थानीय सरकार आएपछि यसको मुहार फेरिँदै गएको स्थानीयवासी बताउँछन् । अहिले दैनिक दुई सय पर्यटक यहाँ आउने गरेका छन् । घुमाघाम र रमाइलो गर्नका लागि अति उपयुक्त मानिने नरसिंहकोट पौराणिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । बाइसे चौबिसे राज्य रहेको बेला राजा शासन गरेको यस ठाउँमा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । जनप्रतिनिधि आउनु पूर्व आजापूजा मात्र गर्ने यो ठाउँ अहिले आन्तरिक पर्यटक घुम्ने केन्द्रको रुपमा विकास भएको निसीखोला गाउँपालिका–७ का वडाअध्यक्ष दीपक कुँवर बताउनु हुन्छ । गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिएपछि आन्तरिक पर्यटक बढ्न थालेको उहाँको भनाइ छ । अध्यक्ष कुँवरले केही वर्ष अगाडिसम्म सुनसान रहेको नरसिंहकोट पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढन थालेपछि चहलपहल पनि बढ्न थालेको बताउनुहुन्छ । खासगरी यहाँ बिदाको दिन बढी मान्छे घुम्न आउने गरेको उहाँको भनाइ छ । अध्यक्ष कुँवरले बाहिरबाट घुम्न आउने आगन्तुकका लागि खानेपानी, शौचालय लगायतका पूर्वाधार आफूहरुले निर्माण गरिसकेको भन्दै अब थप संरचना बनाउने योजना रहेको उहाँको भनाइ छ । यहाँसम्म आएको सडकलाई स्तरोन्नतिसमेत गर्ने योजना बनाएको उहाँले बताउनुभयो । “अहिले सडककच्ची छ, कच्ची सकडमा आउँदा पर्यटकलाई समस्या पर्ने गरेको छ, केही वर्षमै यसको स्तरोन्नति गर्ने योजना छ, पदमार्ग पनि व्यवस्थित बनेको छ, खानोपानी र शौचालय पनि निर्माण भइसकेको हुँदा पर्यटकलाई समस्या छैन”,उहाँले भन्नुभयो,“पछिल्लो समय बिदाको दिन यो ठाउँ बुर्तिबाङ बजारका व्यापारी तथा कर्मचारीको थकाइ मार्ने चौतारी जस्तै बनेको छ ।” तत्कालीन बाइसे–चौबिसे राज्य हुँदा भूरे राजाले राज गरेको यो ठाउँ निकै मनोरम छ । करिब दुई हजार मिटरको उचाइमा रहेको नरसिंहकोटदेखि धौलागिरि, माछापुछ्रै, अन्नपूर्ण लगायतका दर्जनौँ हिमशृङ्खलासँगै बागलुङको विभिन्न स्थान, गुल्मी, प्यूठान, रोल्पा, रुकुम, पर्वत, स्याङ्जा, अर्घाखाँचीलगायतका स्थानीयवासीसमेत देख्न सकिन्छ । गुल्मीदेखि घुम्न आउनुभएका निकेश शर्माले नरसिंहकोट निकै रमणीय रहेको बताउनुभयो । उहाँले गाउँबाट धेरै मान्छे यहाँ घुम्न र पूजागर्न आएको हुँदा आफू पनि उनीहरुसँगै आएको बताउनुभयो । शर्माले यो ठाउँ निकै पर्यटकीय हिसाबले निकै सम्भावना बोकेकोे भन्दै यहाँसम्म आउने सडक राम्रो भए धेरै मान्छे घुम्न आउन सक्ने बताउनुहुन्छ । राष्ट्रिय प्राथमिताको योजना साल झण्डीढोरपाटन सडकले जोडिएको नरसिंहकोटमा तराई क्षेत्रसँगै भारतका पर्यटक पनि भित्र्याउन सकिने भावना देखिन्छ । यो सडकको गुल्मीखण्डसम्म तीव्र रुपमा काम भए पनि बागलुङ खण्डमा हुनसकेको छैन ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा २ नयाँ कीर्तिमान कायम भएको छ । पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष महिला दौडमा २ कीर्तिमान बनेका हुन् । पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा पार गर्दै कीर्तिमानसँगै स्वर्ण पदक जितेका हुन् । उनले सन् १९९० मा चीनको वेजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन् । चौधरीले ४८.३२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान कायम गरेका थिए । सशस्त्र प्रहरी बल एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डमा दुरी पूरा गर्दै काँस्य पदक जिते । महिलातर्फ एपीएफकी रमिताकुमारी थारैले ५८.१० सेकेन्डमा ४ सय मिटर दुरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन् । उनले २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन् । तुलसाले ५९.५७ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् । आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले काँस्य पदक जित्न सफल भए । थापाले १ मिनेट ०.१४ सेकेन्ड र श्रेष्ठले १ मिनेट ०.७० सेकेन्डमा दुरी पूरा गर्दै पदक जिते । महिला बक्सिङ ८ जना फाइनलमा सोमबारसम्म बक्सिङ प्रतियोगिता अन्र्तगत महिलातर्फ ८ खेलाडी फाइनलमा पुगेका छन् । यस्तै, ६ जना सेमिफाइनलमा पुगेका छन् । ४८ केजी समूहमा आर्मीकी आरती बोमजमलाई हराउँदै बागमतीकी सुष्मा तामाङ फाइनलमा पुगेकी हुन् । तामाङले ५ अंक प्राप्त गरेकी थिईन । अंक ५० केजी तौल समूहमा पुलिसकी दिवाना शर्माले ५ र बागमतीकी अस्मिता दुवालले समान ५÷५ अंक, ५२ केजी तौल समूहमा बागमतीकी अञ्जली तेलीले ४.१ र आर्मीकी मिनु गुरुङ ४.१ अंक प्राप्त गरिन । ५४ केजी तौल समूहमा आर्मीकी वर्षा श्रेष्ठले ५ अंक प्राप्त गर्दै फाइनलमा पुगेकी छन् । ६३ केजी तौल समूहमा लुम्बिनीकी सावित्रा बुढा मगर अस्वस्थ भएपछि एपीएफकी माया चौधरी अर्को चरणमा पुगीन । ६६ केजी समूहमा एपीएफकी विनिता मगर र बागमतीकी निस्मा गुरुङ सगै ६९ केजी समूहमा आर्मीकी अनुपा चौधरी सेमीफाइनलमा पुगे । आर्मीकी सोनम रोकालाई हराउँदै ७५ केजी समूहमा प्रदेश १ की त्रिशा जागिबु र गण्डकीकी अस्मिता बास्नेतलाई हराउँदै एपीएफकी मनिता राईले सेमिफाइनलमा स्थान बनाईन । तेक्वान्दोमा विभागीय टिम हावी विभागीय टिम नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी र नेपाल आर्मीले नवौले तेक्वान्दाका पदकमा वर्चश्व कायम गरेका छन् । तीन वटै विभागीय टिमले सोमबार सम्पन्न खेलबाट दुई÷दुई वटा स्वर्ण पदक थपे । बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोमबारसम्म १६ वटा इभेन्ट्स सकिँदा नेपाल प्रहरी क्लबले आठ वटा स्वर्ण स्वर्ण पदक जितेको छ । हालसम्म नेपाली सेनाले पाँच, शसस्त्र प्रहरीले दुई र मधेश प्रदेशले एक वटा स्वर्ण पदक जितेका राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिए । प्रहरीले तीन, सेनाले ६, शसस्त्रले दुई, लुम्बिनीले दुई, सुदूरपश्चिम, मधेश प्रदेश र एनआरएनले एक÷एक वटा रजत पदक जितेका छन् । गण्डकी र प्रदेश १ ले सात/सात, सशस्त्रले ६, मधेश र बागमतीले तीन/तीन, लुम्बीनी र सेनाले दुई/दुई, पुलिस र कर्णालीले एक/एक वटा काँस्य पदक जितेका प्रशिक्षक थापाले जानकारी दिए । महिला ४६ केजीतर्फ सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा बस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा बढीको तौल समूहमा सशस्त्रका भीमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सशस्त्रका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिषेक बरालले स्वर्ण पदक दिलाएका छन् । महिला ४६ केजीमा सुदूरपश्चिमका झरना नाथले रजत, सशस्त्रका वर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले काँस्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र सशस्त्रकी सोरन गुरुङले काँस्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र सशस्त्रकी रेजिना पार्कीले काँस्य पदक जितेका छन् । पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले काँस्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सेनाका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली बस्नेतले काँस्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, शसस्त्रका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले काँस्य पदक जितेका छन् । २२ वटा इभेन्टका खेल हुने प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुँदै छ । असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ वटा इभेन्ट्सको खेल सञ्चालन गर्न बाँकी छ । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले बताए । स्वर्ण र काँस्य २२÷२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछन् । कबड्डीमा लिग चरणका १२ खेल हुँदै कबड्डी प्रतियोगितामा आज (मंगलबार) पनि महिला तथा पुरुष विधामा लिग चरणका ६/६ खेलहरु हुँदै छन् । जसअन्र्तगत महिलातर्फ प्रदेश १ र कर्णाली प्रदेश, त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी क्लब र लुम्बिनी प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल, प्रदेश १ र गण्डकी प्रदेश र अन्तिम खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश आम्नेसाम्ने हुनेछन् । पुरुषतर्फ बागमती प्रदेश र मधेश प्रदेश, आर्मी र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल, कर्णाली प्रदेश र प्रदेश नम्वर १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश र अन्तिम खेल नेपाल प्रहरी र गण्डकी प्रदेशका बीचमा खेलाइने अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जानकारी दिए । यसअघि, सोमबार भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेश, आमी, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेश विजयी भएका थिए । यस्तै महिलातर्फ लुम्बिनी प्रदेश, आर्मी, नेपाल प्रहरी, लुम्बिनी प्रदेश, बागमती प्रदेश र सशस्त्र प्रहरी बल विजयी भएका थिए । लिग कम नकआउटका आधारमा जारी प्रतियोगितामा सात प्रदेश र ३ वटा विभागीय गरी १० टिमको महिला तथा पुरुष दुवै समूहमा सहभागिता रहेको छ । जस अन्र्तगत समुह ‘क’ मा त्रिभूवन आर्मी क्लव, कर्णाली प्रदेश, प्रदेश नम्वर १, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’ मा लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल छन् । महिलातर्फ समूह ‘क’ मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्र प्रहरी वल, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । यस्तै समुह ‘ख’ मा नेपाल प्रहरी, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलाई विभाजन गरिएको छ । प्रतियोगिता पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरिङमा जारी छ ।
पोखरा : विभागीय नेपाल आर्मीले गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक तालिकामा अन्तर फराकिलो बनाउँदै लगेको छ । आर्मीले आज बिहानसम्मको अद्यावधिक विवरणानुसार ६१ स्वर्ण, ३९ रजत र २८ कास्यसहित एक सय २८ पदक जितेर पदक तालिकाको शीर्षस्थानमा छ । आर्मीले सुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ । पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि छन् । प्रदेशहरूले विभागीय टोलीलाई पछ्याइरहेका छन् । विभागीय नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य सहित ६५ पदक जितेर आर्मीलाई पछ्याइरहेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १६ स्वर्ण, २५ रजत र ३३ कास्यसहित ७४ पदक जितेर तृतीय स्थानमा छ । बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ । बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित ५९ पदक जितेको छ । आयोजक गण्डकी प्रदेशले हालसम्म १० स्वर्ण, आठ रजत र २० कास्य गरी ३८ पदक हात पारेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले छ स्वर्ण, छ रजत र चार कास्यसहित १६ पदक जितेको छ । यसैगरी प्रदेश नं १ ले तीन स्वर्ण आठ रजत र २१ कास्यसहित ३२ पदक जित्दा मधेस प्रदेशले दुई स्वर्ण, तीन रजत र सात कास्यसहित १२ पदक जितेको छ । सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, एक रजत र ११ कास्यसहित १४ पदक जित्दा लुम्बिनी प्रदेशले एक स्वर्ण, नौ रजत र १२ कास्यसहित २२ पदक र कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्यसहित चार पदक ल्याएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही असोज २८ देखि प्रतियोगिताका ३६ वटा खेल भइरहेका छन् । राष्ट्रिय खेलकुद आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । उसु सान्सौमा २४ खेलाडी क्वाटरफाइनलमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबारदेखि खेल सुरु भएका हुन् । हालसम्म सान्सौतर्फ २४ खेल भएका छन् । पुरुषतर्फ १६ र महिलातर्फ आठ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु सङ्घका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिनुभयो । महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूरपश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुग्नुभयो । उहाँहरुले क्रमशः बागमती प्रदेशका सञ्जिता ग्लान र मधेस प्रदेशका कञ्चन पाललाई पराजित गर्नुभयो । थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण चार, रजत चार र कास्य चारका लागि खेल हुनेछ । प्रतियोगिताका विभिन्न इभेन्टमा करिब तीन सय ४० खेलाडी सहभागी छन् । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । एनआरएनएको खेलाडी उसुमा सहभागी छैन ।
पोखरा : भलिबल खेलको दौरानमा घाइते भएका गण्डकी प्रदेशका खेलाडी प्रेम बहादुर कुमाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भलिबल खेलको क्रममा घाइते भएका गण्डकी भलिबल टिमका खेलाडी कुमाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । गण्डकी प्रदेश र बागमती प्रदेशविच भएको उद्घाटन खेलको क्रममा कुमालको बायाँ खुट्टा भाँच्चिएको थियो । उनलाई सोमबार एक कार्यक्रमका विच नगद १ लाख ३३ हजार ५ सय ५५ आर्थिक सहयोग गरिएको गण्डकी प्रदेश भलिबल संघका कार्यवाहक अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए । उक्त सहयोग रकम मध्ये गैर आवाशिय नेपाली संघ (एनआरएनए)भलिबल टिमले ५५ हजार ५५५ हजार प्रदान गरेको छ । त्यसै गरी अन्य सहयोगीहरुमा हङकङका विष्णु गुरुङ र खड्क गुरुङले समान १०÷१० हजार, महेन्द्र छन्त्यालले १० हजार, राजु केसी हाल अमेरिकाबाट १० हजार, गल्कोट भलिबल टिमका प्रशिक्षक सुरेन्द्र केसी, जिवन खड्का क्षेत्री, दुत पुन मगर, निरञ्जन श्रेष्ठले समान ५÷५ हजार, टिपटप हेल्प नेपाल काठमाण्डौका अध्यक्ष बाशु श्रेष्ठले नगद १५ हजार र रमेश विकले नगद ३ हजार सहयोग गरेका छन् । घाइते खेलाडी प्रेमको सहयोगका लागि पूर्व राष्ट्रिय खेलाडी एवं गण्डकी प्रदेश भलिबल संघका सल्लाहकार तथा पर्वत क्लव हङकङका अध्यक्ष प्रेम श्रेष्ठको संयोजकत्वमा गठित सहयोग समितिले स्वदेश तथा विदेशबाट रकम संकलन गरेको थियो । तनहुँ शुक्ला गण्डकी नगरपालिका वाड नं १० का २२ वर्षिय प्रेमको घरको आर्थिक अवस्था कमजोर रहेको र उनको सहयोगका लागि सबै संग अपिल गरिएको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए । हाल उनको उपचार भइरहेको भए पनि निको हुन भने केही समय लाग्ने कावा अध्यक्ष श्रेष्ठले बताए ।
पोखरा : नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशान्त्री डा.. ओम गुरुङको आज (सोमबार) निधन भएको छ । बागलुङको ताराखोला गाउँपालिका १ घर भएका गुरुङको ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो । नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री डा.ओम गुरुङको ६८ वर्षको उमेरमा मृत्यु भएको ताराखोला गाउँपालिका १ का वडा सदस्य गौरीमाया गुरुङले जानकारी दिए । ‘डा. गुरुङको केही वर्षपहिले मृगौलाको उपचार गरिएको थियो’ उनले भनिन्, ‘अहिले क्यान्सर पनि देखिएको छ भनेर उपचार गर्नुभएको थियो । अचानक आज उहाँको मृत्यु भएको खबर पायौं । यसले हामी सबैलाई दखित तुल्याएको छ ।’ वडा सदस्य गुरुङका अनुसार डा। गुरुङको आज (सोमबार) गुरुङको १ बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको थियो । २०११ सालमा जन्मिएका गुरुङले त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका थिए भने १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधी गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी छन् ।
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । भलिबलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा एपिएफले २५-१५, २५-१८, २५-१० को सेटमा लुम्बिनी प्रदेश माथि जित निकालेको थियो । प्रतियोगितामा वुमन अफ द म्याच एपिएफकी आरती सुवेदी भएकी छन् । क्वाटरफाइनलको दोस्रो खेल खुलामञ्चमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश बीच भइरहेको छ । दिउँसो १ बजे आर्मी र पुलिस, ३ बजे गण्डकी प्रदेश र प्रदेश १ सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । सेमिफाइनल कात्तिक १ गते मंगलबार हुने छ । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहभागिता रहेको छ ।
पोखरा : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११-७, ५-११, ८-११, ११-५ र ९-११ को २-३ को सेटमा पराजित गरेको हो । यसैगरी महिला डबल्सतर्फ एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै स्वर्ण पदक पाउन सफल भएको छ । नेपाल पुलिस क्लबलाई ११-९, ८-११, ११-९, ९-११ र ७-११ को २-३ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण पदक जित्यो । मिक्स डबल इभेन्टतर्फ त्रिभुवन आर्मी क्लबले रजत पदक प्राप्त गरे भने एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् । यसैगरी महिला डबल्स इभेन्टतर्फ नेपाल पुलिस क्लबले रजत पदक हात पारको छ भने बागमती प्रदेश र नेपाल पुलिस क्लबले कास्य पदकमा चित्त बुझाए । पुरुष डबल्स इभेन्टतर्फ नेपाल पुलिस क्लब र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । प्रदेश नं १ लाई ११-५, ११-६, ११-७ को ३-० ले पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलको बाटो तय गरेको हो भने एपीएफले त्रिभुवन आर्मी क्लबलाई ११-७, १३-११, १०-१२, ९-११ र ११-१७ को ३-२ सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।