पोखराः गण्डकी प्रदेशसभा सदस्यामा जनताबाट चुनिएका सदस्यमध्ये ज्येष्ठ सदस्यलाई यही पुस १३ गते पद तथा गोपनीयताको सपथ गराइने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम उक्त दिन ११ बजे प्रदेश प्रमुखको निवास सिमलचौरमा सपथ गराउनुहुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोख्रेलका अनुसार गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्य पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित मित्रलाल बस्याल रहनुभएको छ । ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते गण्डकी प्रदेशसभाका अन्य सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउनुहुने उहाँले बताउनुभयो ।
पोखराः गण्डकी प्रदेश भलिबल संघको आयोजनामा हुने ‘प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता’को पहिलो खेल स्याङजाले र गोरखाको सामना गर्ने भएको छ । आज (बुधबार)बाट पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको चार खेल सञ्चालन हुनेछ । लिगकम नक आउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो दिन चार खेल तय भएको गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । बिहान १० बजे पहिलो खेल स्याङजाले गोरखाको सामना गर्नेछ भने मध्यान्ह १२ बजे सुरु हुने अर्को एक खेलमा कास्कीले तनहुँ संग भेट पक्का गरेको छ । वेष्ट अफ फाइभको आधारमा खेलाइने खेलको उद्घाटन खेल बागलुङ र पर्वतबीच दिउसो २ बजे सुरु हुने छ भने अन्तिम खेल ४ बजे म्याग्दी र लमजुङले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् । आयोजकले प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनल खेलमा २ सय बाँकी खेलमा १ सय रुपैयाँ टिकटको दर कायम गरेको छ ।
काठमाडौं: मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौं भनेपछि आफूहरुले सूचीबाट हटाएको जानकारी दिए । मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’को उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई राखिएको थियो । सोही आधारमा मधेशी आयोगले मुस्लिम र थारु समुदायलाई पनि मधेशीको रुपमा परिभाषित गर्न सरकारलाई सिफारिस गरेको थियो । आयोगले ३१ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको चौथो वार्षिक प्रतिवेदनमा थारु र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा परिभाषित गर्न सिफारिस गरेको सार्वजनिक भएपछि थारु र मुस्लिम समुदायको तर्फबाट विरोध भएको थियो । थारु र मुस्लिम आयोगले नै मधेशीको सूचीबाट हटाउन मधेशी आयोगमा निवेदन दिएका थिए । मधेशी आयोगकी उपसचिव सबिता डंगोलले थारु र मुस्लिमको विरोधपछि मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको जानकारी दिएकी छन् । सो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको उनले जानकारी दिइन् । थारु र मुस्लिम आयोगका अध्यक्ष सहितका पदाधिकारीहरुले सार्वजनिक रुपमा थारु र मुस्लिम समुदायको अलग्गै पहिचान र सभ्यता रहेको तथा सो मधेशी समुदायसँग मेल नखाने भएकाले मधेशीको सूचीमा राख्नु गलत भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । थारु र मुस्लिम आयोगसँगै थारु साहित्य समाज, थारु कल्याणकारिणी सभा लगायतले मधेशी आयोगमा थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाउन मधेशी आयोगमा निवेदन दिएका थिए ।
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रकमा हनि हन्टिङ फेस्टिबल बुधबार सकियो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै लान्द्रुकस्थित कोटेसाङभीरमा भीर माहुरीको मह काढिएको थियो । सो फेस्टिभलमा करिब आधा दर्जन भीर माहुरी घार शिकार गरिएको थियो । वर्षमा दुईपटक शिकार गरिन्छ । महभीरमा जेठ– असारपछि मंसिर महिनामा महको शिकार गरिएको थियो । मह स्वास्थ्यबर्दक मानिने भएकाले भीर महको महत्व बढेको स्थानीयहरु बताउछन् । मोदी खोला किनारको कोटेसाङ महभीरमा मंगलबारदेखि भीर मह निकाल्न सुुरु भएको फेस्टिबल बुधबार सम्म चलेको थियो । १ लिटर महको ३ हजार रुपैयामा विक्री हुने हनि हन्टिङ फेस्टिबल समितिले जनाएको छ । १९ तस्बिरमा हेरौँ, भीर मह शिकारको रौनक तस्बिरहरुः बि बि रोकामगर
पोखरा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समानुपातिक सांसद चयनबारे विवाद देखिएको छ । समानुपातिक सांसद चयनबारे असहमति जनाउँदै पोखरास्थित राप्रपाको प्रदेश कार्यालय र कास्की जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत आएको जिल्ला कास्कीलाई छाडेर अन्य जिल्लाबाट सांसद छानिएको भन्दै आइतबार साँझ तालाबन्दी गरेका हुन् । राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले सबै भन्दा बढी मत ल्याउने जिल्लालाई छोडेर अन्य जिल्लाका समानुपातिक उम्मेदवारलाई सांसद बनाएको भन्दै विरोध गर्दै पार्टीमा तालाबन्दी भएको जानकारी दिए । “सबैभन्दा बढी मत ल्याउने जिल्लालाई छाडेर अन्यत्रका व्यक्तिलाई सांसद बनाएको भनेर विरोध भएको हो, प्रवक्ता गिरीले भने, “समानुपातिक सांसद चयनमा धेरै मत आउने जिल्लाबाट किन परेन भन्ने उहाँहरुको विरोध हो । भोलि बैठक बसेर विवाद समाधान गछौं ।” कास्कीबाट नारायण गुरुङ, सुनिता केसी, वरुणविक्रमण राणासहित पाँचजना बन्द सूचीमा थिए । राप्रपाले गण्डकी प्रदेशमा समानुपातिकतर्फ पञ्चराम गुरूङ र बिन्दु पहाडीलाई छनोट गरेको छ ।
पोखरा: आसन्न निर्वाचनअन्तरगत गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ विजयी सबै उम्मेदवार पुरुष रहेका छन् भने समानुपातिकतर्फको सबै सिटमा महिला चयन भएका छन् । प्रतिनिधि एवं प्रदेश सभामा ३३ प्रतिशत महिला सांसद रहने व्यवस्था अनुरुप प्रत्यक्षमा विजेता सबै पुरुष भएपछि समानुपातिकमा महिलालाई मात्रै चयन गर्नुपरेको हो । चयन भएका महिला सांसदमा सरस्वती गुरुङ, विमला गौचन, रेखा गुरुङ, पार्वती तामाङ, सरस्वती अर्याल, चम्पादेवी खड्का, कल्पना तिवारी, टिकाकुमारी बस्याल र दिलमाया पौवि रहेका छन् । \ यस्तै, प्रत्यक्षतर्फ बिन्दुकुमार थापा, प्रकाश बराल, जितप्रकाश आले, अशोक श्रेष्ठ, नन्दप्रसाद न्यौपाने, भेषबहादुर पौडेल, टकराज गुरुङ्, सुरेन्द्रराज पाण्डे, डिल्लीराम सुवेदी, जितबहादुर शेरचन, द्रोणकुमार कुँवर, दीपेन्द्रबहादुर थापा, नम्डु गुरुङ्, विकल शेरचन, मुनिन्द्रजंग गुरुङ्, महेन्द्रध्वज जिसी, भोजराज अर्याल र महेश भट्टराई रहेका छन् । प्रत्यक्षतर्फ सबै पुरुष उम्मेदवारले बाजी मार्दा समानुपातिक सूचितर्फ पहिलो नम्बरमा रहेका प्रदेश सभापति शुक्रराज शर्मा ‘अभागी’ सावित भएका छन् ।
पोखराः समानुपातिक तर्फ गण्डकी प्रदेशमा नेकपा एमालेले पाएको समानुपातिक सांसद टुङ्गाएको छ । समानुपातिक तर्फ पहिलो दल बनेको नेकपा एमालेले कास्कीबाट चार जना सांसद छनोट गर्दै समानुपातिक सांसद टुङ्गाएको हो । कास्कीबाट नेकपा एमालेबाट समानुपातिक तर्फ छनोट हुनेमा देवका पहारी, राजकुमारी भुजेल, प्रकाश केसी, नन्दकला नेपाली छनोट भएका हुन् । यस्तै नेकपा एमालेबाट छनोट हुनेमा कृष्णप्रसाद पाठक, लिलाबहादुर थापा, गोविन्दबहादुर नेपाली, नन्दकला दमाई, निर्मला थापा, यशोदा रिमाल, प्रकाश के.शी सांसदमा छनोट भएका हुन् । कांग्रेसतर्फ सरस्वती गुरुङ, विमला गौचन, रेखा गुरुङ, पार्वती तामाङ, सरस्वती अर्याल, चम्पादेवी खड्का, कल्पना तिवारी, टिकाकुमारी बस्याल र दिलमाया पौवि सांसद सांसदमा छनोट भएका हुन् । माओवादी केन्द्रबाट कुशुम बुढा, शुसिला सिंखडा, दमयन्ती रुचाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पन्चराम गुरुङ र विन्दु पहाडी सांसद बनेका हुन् । गण्डकी प्रदेशमा समानुपातिक तर्फ पहिलो बनेको नेकपा एमालेले १० जना, काँग्रेसले ९ जना, माओवादी केन्द्रले ३ जना र राप्रपाले २ सांसद पाएका थिए ।
खोटाङ: राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटना बढिरहेको तथ्यंक सार्वजनिक गरेको छ । ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३१ औं लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले तीन जिल्लामा सम्बन्ध बिच्छेद, महिला हिंसा, घरेलु हिंसा, बाल हिंसाका घटना बढिरहेको जानकारी दिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित कार्यक्रममा मानव अधिकार अधिकृत नेत्र गौतमले हत्याका घटना बढिरहेको, समयमै दोषी पत्ता लगाउन नसक्दा न्यायिक अधिकारबाट वञ्चित हुनु परेको देखिएको औंल्याएका छन् । आयोगले प्रस्तुत गरेको मानव अधिकार अवस्थाको संक्षिप्त झलकमा तीन जिल्लामा आत्महत्या दर पनि बढ्दो क्रममा रहेको उल्लेख छ । यस्तै, अदालतको फैसला हुँदा समेत नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित भएको, जन्मदर्ताको अधिकारबाट वञ्चित भएको, कारागारको भौतिक संरचना व्यवस्थित हुन नसकेको पाइएको आयोगले जनाएको छ । नेपाल सरकारको मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना र दिगो विकासको लक्ष्य प्राप्ति गर्ने सम्बन्धी क्रियाकलाप कार्यान्वयन हुन नसकेको, चार स्थानीय तहबाहेक अन्यले महिलासम्बन्धी नीति, कानून तर्जुमा गर्न नसकेको मानव अधिकार अधिकृत गौतमले बताए । आयोगले दर्ता भएका ५५ उजुरीमध्ये ४६ वटा उजुरी उपर अनुसन्धान सम्पन्न गरी निर्णयार्थ पेश गरेको, मानव अधिकार उल्लंघनको घटनामा आरोपित बहालवाला प्रदेश सांसद, पूर्वप्रजिअलगायतका कर्मचारी गरी ४२ जनालाई प्रमाण पेस गर्न र सफाया पेस गर्ने मौका दिइएको जानकारी दिएको छ । यस्तै, मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि तीनै जिल्लाका समन्वय समिति र पालिकामा पत्राचार र सात पालिकामा अन्तरक्रिया गरेको, महिला र बालबालिका, ज्येष्ठ नागरिक, अल्पसंख्यक, वातावरण र विकास, शिक्षा स्वास्थ्य लगायतका विषयगत अनुगमन र अन्तरक्रिया गरिएको जानकारी दिएको छ ।
पोखराः मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो पार्टीले समानुपातिक तर्फ पाएको सिट संख्याका आधारमा सांसद सिफारिस गरेका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचनबाट प्रत्यक्षतर्फ पहिलो र समानुपातिक तर्फ दोस्रो बनेको नेपाली कांग्रेसले ३२ जनाको नाम सिफारिस भएको हो । यसमध्ये प्रतिनिधिसभा तर्फ कांग्रेसले गण्डकी प्रदेशबाट २ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष निर्वाचनमा दोस्रो र समानुपातिक तर्फ पहिलो बनेको नेकपा एमालेले ३४ जनाको नाम सिफारिस गरेका छ । यसमध्ये प्रतिनिधिसभा तर्फ गण्डकी प्रदेशबाट २ जना सिफारिस भएका छन् । प्रदेशसभा तर्फ कास्कीकाबाट ४ सिफारिस भएका छन् । यस्तै, निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फ तेस्रो बनेको माओवादी केन्द्रले पनि १४ जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गरेको छ । गण्डकीमा प्रतिनिधिसभा तर्फ माओवादीबाट १ जना सिफारिस भएका छन् । पहिलो पटक निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफूले समानुपातिक तर्फ पाएको १३ जनाको नाम सिफारिस गरेको हो । यसमध्ये गण्डकीबाट २ जना पुरुषको नाम सिफारिस गरेको हो । यस्तै, पाँचौं दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आफूले पाएको ७ जना समानुपातिक सांसदको नाम सिफारिस गरेको हो । जसमध्ये गण्डकीबाट कोही पनि परेनन् । यस्तो छ गण्डकी प्रदेशबाट समानुपातिक सांसदः (सूचीसहित) नेपाली कांग्रेस प्रतिनिधिसभा तर्फ १.जीवन परियार २.कुसुम थापामगर प्रदेश सभातर्फ १.दिलमाया पौबी २. टीकाकुमारी बस्याल ३. विमला गौचन ४. रेखा गुरुङ ५. सरस्वती गुरुङ ६. पार्वती तामाङ ७. सरस्वती अर्याल तिवारी ८. चम्पादेवी खड्का ९. कल्पना तिवारी नेकपा एमाले प्रतिनिधिसभा तर्फ १.एकनाथ ढकाल २.देवी भट्टचन प्रदेशसभा तर्फ १.यसोदा रिमाल २. देवका पहारी त्रिपाठी ३.कृष्णप्रसाद पाठक ४.प्रकाश केसी ५.विना थापा ६.निर्मला थापा ७.राजकुमारी भुजेल ८.लिलाबहादुर थापा ९.नन्दकला दमाई १०.गोविन्दबहादुर नेपाली माओवादी केन्द्र प्रतिनिधिसभा तर्फ १. हितराज पाण्डे (पुरुष) प्रदेशसभा तर्फ १.दमयन्ती रुचाल २. कुसुम बुढा मगर ३.सुशीला सिम्खडा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभातर्फः १.डा.ढाकाकुमार श्रेष्ठ २. शिव नेपाली राप्रपा प्रदेशसभातर्फ १.पञ्चराम गुरूङ २.बिन्दु पहाडी प्रतिनिधिसभातर्फ राप्रपाबाट कोही परेनन् ।

