दशैँको विरासत: ‘गाउँघरमा रौनकता’

सुर्खेत | असोज १५, २०७९

दशैँको विरासत:  ‘गाउँघरमा रौनकता’

सुर्खेत।

‘ती पल्ला घरे लाहुरे दाइले को कोसेली बाँड्दैछन् लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै भित्र र बाहिर गर्दैछिन्...’

 

चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दसैँमा उत्तिकै गुन्जिन्छ । सत्र वर्षअघि बनेको ‘मुगलान’ चलचित्रको यो गीत दसैँमा गुन्जिने लोकप्रिय गीत पनि हो । रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा सुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व हो, दशैँ ।

 

अरूबेला नभए पनि चाडबाडको समयमा बिदा पाउने भएकाले दसैँ घर फर्किने सांस्कृतिक विम्बका रूपमा स्थापित भएको हो । अरुबेला बिदा नपाइँदा पनि चाडबाडमा बिदाको मेसो मिलाएर गाउँ फर्किनेको धुइरो लाग्छ । यसरी दसैँ घर फर्किने चाडका रुपमा स्थापित भयो । दसैँ नजिकिँदै जाँदा पिँढीमा बसेका बुढा आँखा तेजिला बन्दै परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन् ।

 

मुगलानबाट लाहुरे दसैँमै घर फर्किन्छ । सुनसान गाउँ गुलजार बन्छ । निरस अनुहार उज्यालिन्छ । दसैमा घर फर्किएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ ।

 

दसैँ गाउँ फर्किने पर्वका रुपमा बलियोसँग स्थापित भएको पर्व पनि हो । दसैलाई घर फर्किने चाडका रूपमा स्थापित गर्नेमा अझ बढी भूमिका परदेश जाने सर्वसाधारणको लागि छ । हिउँदमा बाली भित्र्याएर रोजगारीका लागि परदेशिनेहरू चाडबाडको खर्च जुटाएर दसैँमा घर फर्किन्छन् । रोजगारीका सिलसिलामा परदेशिन बाध्य नेपालीहरु फर्किएसँगै दसैँमा गाउँघर भरिभराउ हुन्छन् ।

 

यसरी बाध्यताले परदेशिएका घर फर्किने चाडका रूपमा दसैँ स्थापित भएको छ । यस वर्षको दसैँ सुरु भएसँगै कर्णालीका गाउँघरहरुमा दसैँको रौनकता पनि सुरु भइसकेको छ । हजुबुवा, बाको समयमा घर फर्किने चाडका रुपमा स्थापित दसैँमा अहिले पनि घर फर्किनेको माहोल उस्तै छ ।

सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूर, श्रमिक दसैँमा घर फर्किन्छन् नै ।

 

असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दसँैलाई नेपालीको प्रमुख चाड पनि हो । नेपाल धर्म निरपेक्ष भइसक्दा पनि दसैँराष्ट्रिय चाडकैरुपमा स्थापित छ भने राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने गरेको छ ।

 

यसैले पनि दसैमा गाउँ फर्किने सङ्ख्या ठूलो हुन्छ । परिवेश फेरिए पनि पुस्तौँदेखि दसैँमा घर फर्किने चलन अहिले पनि फेरिएको छैन । जुम्लाको तिला गाउँपालिका–८ का खगेन्द्र नेपालीले भन्नुभयो, “मानव चोला कतिबेला कसलाई के हुन्छ थाहा हुँदैन । त्यसैले अरुबेला जो जहाँ भए पनि दसैँको बेला एकै ठाउँमा जम्मा हुने चलन स्थापित छ र अहिले पनि अरुबेला बिरानो हुने गाउँमा दसैको बेला रौनक छाउँछ ।”

 

मङ्गलबार वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाको तिला गाउँपालिका–८ का नेपालीले आफू दसैँ मान्नकै लागि भारतबाट फर्किएको बताउनुभयो । उहाँलाई जुम्ला पुग्ने हतारो थियो । कमाइका लागि उहाँको परिवार नै भारतको सिम्ला बस्दै आएको छ । यसपालि परिवार उतै छोडेर उहाँ मात्रै गाउँ फर्किनुभएको छ ।

 

बालबच्चासहित आउँदा बाटोमा अप्ठ्यारो हुने भएकाले दसैँ मान्न एक्लै घर फर्किएको बताउँदै उहाँले बताउनुभयो, “वर्ष दिनमा एकपटक आउने चाडमा बुबाआमाको हातबाट टीका लगाउन घर फर्किएको हुँ”, उहाँले भन्नुभयो, “सबै परिवार आउने मन थियो । तर, बाटोमा दुःख होला भनेर एक्लै आइयो ।”

 

कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको खगेन्द्र बताउनुहुन्छ । उहाँले दसैलगत्तै फेरि भारत फर्किहाल्ने योजना पनि सुनाउँदै भन्नुभयो, “अर्को वर्ष दशैमा घर आउन सकिएन भने अघिल्लो वर्ष त आमाबुवा, हजुरबुवा हजुरआमासँग टीका थापेको थिएँ भनेर चित्त बुझाउने बाटो हुने भएकाले पनि दसैमा घर फर्किनैपर्छ ।”

 

रोजगारीका लागि परदेशिएकाले लामो बिदा नपाउने र यातायातलगायतका अन्य भौतिक सुविधाको अभावका कारण हिउँदमा परदेसिएकाहरू एकैपटक दसैमा घर फर्किन्थे । अहिले यातायात, सडक, पूर्वाधारलगायतको सहजताका कारण अन्य समयमा पनि भेटघाट बाक्लै हुने गरेको छ । सहर बजारबाट गाउँ जानेको ताँती देखिन्छ । रोजगारी, पढाइ तथा काम विशेषले बाहिर रहेकाहरू दसैँ लागेसँगै धमाधम गाउँ फर्कन थालेका छन् । कर्णालीका ग्रामीण भेगका थुप्रै नागरिक कमाइका लागि भारत जाने गर्छन् ।

 

उनीहरू दशैँ, तिहारजस्ता ठूला पर्वमा गाउँ घरमा फर्कन्छन् । यहाँ चाडपर्वकै लागि खर्चको जोहो गर्न भारत जानेहरू पनि धेरै छन् । दुई/चार महिनाका लागि विदेशिएका यसैबेला फर्कन्छन् । गाउँमा रोजगारीका अवसर नहुँदा बाहिरिएका अहिले दसैँ मान्न छर फर्किरहेका छन् ।

 

परदेशीका र सहर झरेका फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ । दसैँमा घर फर्किने क्रममा वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाकै कमल बुढा दसैँमनाएर भारत फर्किहाल्ने बताउनुहुन्छ । जीविकोपार्जनका लागि परिवारसहित भारत बस्ने जुम्लाकै निराजन बुढा पनि यसलाली एक्लै फर्किनुभयो ।

 

उहाँले गाउँकै चार जना साथीहरू दसैँ मनाउन भारतबाट आएको बताउनुभयो । “दसैँ मान्नका लागि मात्रै आएको हुँ । यहाँ बस्नका लागि रोजगार छैन्”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर छ । अब छोराछोरी सुर्खेत ल्याएर पढाउने र आफूहरू भारतमै बसेर कमाइ गर्ने योजना बनाएको छु ।” दशैँ तिहार नजिकिएसँगै कर्णाली प्रदेशका गाउँहरुमा रौनकता छाएको छ ।

 

परदेशिएका गाउँका युवासँगै पढाइ तथा रोजगारीको लागि घर बाहिर रहेका पनि गाउँमा आएपछि रौनकता छाएको दैलेख गुराँसेका दशरथ केसीले बताउनुभयो । घर बाहिर रहेका गाउँघरमा फर्किएसँगै स्थानीय बजारमा पनि किनमेल गर्नेको पनि भिडभाड बढेको पनि केसीले बताउनुभयो ।

 

दैलेखवासीका दीपक खत्री साउनको महिना रोपाइँ सकेर कमाउन भारत जानुभएको थियो ।

 

उहाँ पनि अहिले गाउँ फर्किनुभएको छ । चाडपर्व खर्च जुटाउन थोरै समयका लागि उहाँ भारत जानुभएको थियो । “यसपाली खासै कमाइ नभए पनि चाडपर्व मान्नकै लागि घर आए”, खत्रीले भन्नुभयो । रोजगारीकै सिलसिलामा दुई वर्ष पहिले दुवै गएका दैलेखको नौमुले गाउँपालिकाका तेजबहादुर चन्द पनि दसैँ मान्न घर फर्किनुभएको छ । परदेश गएका मात्रै होइन दसैका लागि तराईबाट पहाड आउने उक्लिनेको सङ्ख्या पनि अत्यधिक बढेको छ ।

 

अन्य समयमा सुनसान हुने गाउँहरु गुल्जार हुँदै गएका छन् । रोजगारीको सिलसिलामा भारत पसेकाहरु पनि घर फर्केकाले गाउँमा निकै चहलपहल बढेको उहाँले बताउनुभयो । दसैका लागि घर फर्कनेहरु लर्को लागेको बताउनुहुन्छ, सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटा । “अहिले अग्रिम टिकट काट्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । अध्यक्ष सापकोटाले चाडपर्वमा मानिसहरूको चहलपहल बढेपछि थप गाडी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

 

 

काठमाडौं:    चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकको राजस्व सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।  अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठक...

थप पढ्नुहोस्

काठमाडौं:     मुलुकमा सङ्घीयता लागु भएसँगै संविधानबाटै संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबीच अधिकार र कार्यजिम्मेवारीको बाँडफाँटअनुसार ३ वटा प्रदेशमा सडक सञ्जाल सुधार गर्ने कार्यको प्रारम्भ गर...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह तथा खड्ग प्रदान गर्नुभएको छ ।  नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रप...

थप पढ्नुहोस्