म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ ।   एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि...

  महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ । उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन् । साउन निगल्दोको वर्षा जिल्लावासीलाई अमृत बर्सेझैँ भएको छ ।   पानीबेगर रोपेको धान रोपोमै पहेँलिदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानलाई पछिल्लो वर्षाले थोरै आशा जगाएको छ । पछिल्लो वर्षाले धान रोप्न नै पानी नपुगे पनि पहिलेको रोपो जाग्ने किसानलाई आश जागेको हो । जिल्लामा मध्य साउनयता गए राति पानी परेको हो ।   “धान अब के होला भनेर आश मारेका थियौँ, पछिल्लो वर्षाले फेरि आश जगायो”, महोत्तरीको भङ्गाहा–४ का किसान रामसागर यादवले भन्नुभयो, “अब केही दिन पानीले साथ दिए थप रोपाइँ पनि गर्न पाइने छ ।” पछिल्लो वर्षाले रोपाइँका लागि पर्याप्त पानी नपुगेको भए पनि यसअघि रोपिएको धानलाई भने अमृत नै भएको उहाँको भनाइ छ । केहीबेरकै भए पनि पछिल्लो वर्षा मधेसका सबैजसो जिल्लामा भएको छ । पछिल्लो वर्षा पूर्वपश्चिम राजमार्ग आसपास भएर बढी परेको पाइएको छ ।   पछिल्लो वर्षाले तालु फुट्लाजस्तो चर्को घामको रापबाट राहत भएको छ । लगातारको प्रचण्ड रापले चरन क्षेत्रमा सुकेका घाँसका झाम्टा अब पलाउने र गाईवस्तु चराउन पाइने पशुपालक किसानले आश सँगालेका छन् ।    यसैबीच मौसमविद्हरुले अब दुई–तीन दिन राम्रो वर्षा भइरहने बताएपछि किसान मख्ख छन् । जिल्लामा यसपालि पानीकै अभावले अपेक्षित धान रोपाइँ हुनसकेको छैन । पानी राम्रो परे अझै खरुवन (कलम, पहिलेको रोपो गाँजिएपछि फेरि उखेलेर रोप्ने बीउ) बाटै पनि केही रोपाइँ थप्न सकिने किसानको आश छ । मधेसमा खरुवनको रोप भदौ पहिलो सातासम्म गर्न सकिने किसान बताउँछन् ।   महोत्तरीमा कुल ७० हजार खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा गरिने धानखेती अहिलेसम्म करिब ६५ प्रतिशत रोपाइँ हुनसकेको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले नै जनाएको छ । जिल्लामा कुल खेतीयोग्य जग्गामा १० प्रतिशतमात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीको भरमै हुँदै आएको छ ।   साउन मध्य बर्खाकालको महिना भए पनि यसपालि अल्प वर्षाले खेतीपातीको काम अपेक्षित हुनसकेको छैन । शनिबारको वर्षाले आम किसानलाई लामो पर्खाइपछि प्राप्त हुँदा चाडवाड आएजस्तै खुुसी दिएको हो ।

आगामी असोज २८ गतेबाट कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक गण्डकी प्रदेशका जिल्लाहरुमा देखिन थालेको छ ।  प्रदेशका अधिकांश जिल्ला आफनो जिल्लामा खेल सञ्चालन गर्ने जिम्मेवारी लिन आतुर रहेको पाइएको छ । प्रतियोगिताको तयारी स्वरुप शनिबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोली गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ र पर्वत जिल्लामा पुग्दा यस्तो देखिएको हो ।  टोलीले ती जिल्लामा पुगेर जिल्लाको जिल्ला खेलकुद विकास समितिको नेतृत्व, स्थानीय निकायका जनप्रतिनिधि, खेलाडी, खेल प्रशिक्षकसँग छलफल गरेको छ । छलफलका क्रममा ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता गरेका छन् । प्रतियोगिता अन्र्तगतका कुनै पनि खेल खेलाउने जिम्मेवारी प्राप्त गरेमा सम्पन्न गर्न आफूहरु तयार रहेको उनीहरुको भनाई थियो । छलफल तथा खेलमैदान निरिक्षणका क्रममा आफ्नो जिल्लाको अवस्थाको आधारमा दिइने खेल आयोजनाको जिम्मा लिन तयार रहेको बताए ।   म्याग्दी जिल्लाको बेनीमा आयोजित छलफल कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरज कुमार केसीले प्रतियोगिताको तयारी सुरु भैसकेको बताए । गण्डकी प्रदेशका भलिवल, तेक्वान्दो लगायतका विभिन्न खेलमा म्याग्दीबाट नेतृत्व सहितको प्रतिनिधित्व हुने गरेको भन्दै उनले प्राविधिक टिमले पुर्वाधार पुगेन भनेर समय दियो भने बनाउन तयार रहेको समेत बताए । प्रतियोगिताको लागि केही बजेट छुट्ट्याइसकेको उनले खुलाए । ‘गण्डकी प्रदेशमा नवौं प्रतियोगिता आयोजना हुँदा कुनै पनि खेल म्याग्दीमा पुगेन भने दुर्भाग्य हुने भएकोले हाम्रो जिल्लामा खेल आउनुपर्छ भन्ने हाम्रो दावी हो’ मेयर केसीले भने । प्रतियोगिता सञ्चालन गर्ने जिम्मा आयो भने गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा राम्रो आफ्नो जिल्लामा हुने ठोकुवा समेत उनले गरे ।  जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दीनेश केसीले सम्भव भएमा महिला भलिवल, पुरुष भलिवल र तेक्वान्दोका खेल सञ्चालन गर्ने जिम्मेवारी दिन आग्रह गरें । बेनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठले सबैको सहकार्यमा प्रतियोगितालाई सम्पन्न गरिने बताए ।  जिल्लामा पुग्ने खेलाडी, प्रशिक्षक तथा अतिथिको आतिथ्यतामा कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो । जिल्लामा रहेका पर्यटकिय ठाउँको अवलोकनको व्यवस्था मिलाउने उनले सुनाए । तेक्वान्दोका सहायक प्रशिक्षक कर्ण प्रधानले तेक्वान्दोको लागि इन्डोर समस्या नभएको बताए । खेल खेलाउन र प्रशिक्षण गराउनको लागि पर्याप्त ठाउँ भएको उनको भनाई थियो । यसैगरी बाग्लुङमा आयोजित छलफल कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बाग्लुङका अध्यक्ष कुमार खड्काले आफुहरुलाई खेल सञ्चालन गर्ने जिम्मेवारी दिएमा कुशलतापूर्वक सम्पन्न गर्ने बताए । बाग्लुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले पनि प्रतियोगिताका खेल आफ्नो जिल्लामा सञ्चालन गर्ने अवसर आएमा सहयोग गर्न तयार रहेको सुनाए । जिल्ला खेलकुद विकास समिति बाग्लुङका सचिव तारा शर्माले बाग्लुङ जिल्लाले सुटिङ खेल सञ्चालन गर्ने जिम्मेवारी प्राप्त गर्न सके सजिलो हुने बताइन् ।  अन्य कुनैपनि खेल सञ्चालन गर्ने जिम्मेवारी प्राप्त भए त्यसलाई स्विकार गरेर सम्पन्न गरिने उनको भनाई थियो । कोषाध्यक्ष कल्पना श्रेष्ठले छिटो भन्दा छिटो जिम्मेवारी सम्बन्धी निर्णय भएमा तयारीलाई तिव्रता दिन सजिलो हुने सुनाइन् । समयमानै जिम्मेवारी पाउन सके प्रतियोगिता भव्य बनाउन सजिलो हुने अन्य सहभागीको भनाई थियो ।  यसैगरी पर्वतमा आयोजित छलफल कार्यक्रममा जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले प्रतियोगिता अन्र्तगतका खेलहरु सञ्चालन गर्न आफूहरु तयार रहेको बताए । पर्वतको लागि महिला भलिवल, पुरुष भलिवल वा तेक्वान्दो खेलको जिम्मेवारी पाउन सके राम्रो हुने उनको भनाई थियो । कुश्मा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष इश्वर गिरीले प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । तीनै ठाउँको छलफल तथा खेल मैदान निरिक्षण कार्यक्रममा बोल्दै खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङले आफ्नो जिल्लामा प्रतियोगिता सञ्चालन गर्ने इच्छा प्रकट गरेकोमा आभार व्यक्त गरें । जिल्लाको आकांक्षाको बारेमा मुल आयोजक समितिमा आफूले कुरा पु¥याउने र निर्णय गराउने प्रतिवद्धता उनको थियो । सबै जिल्लामा तयारीलाई तिव्रता पार्न उनले आग्रह गरे । ‘खेलाडी तथा प्रशिक्षकको बसोबास, खेल मैदान, इन्डोर हल, आवातजावात लगायतको लागि गुनासो नआउने गरि तयारी गर्नुहोस्’ उनले भने ।  खेल सञ्चालन तथा अभ्यास गर्ने सम्भावित ठाउँहरुको बारेमा विवरण संकलन गरि फोटो तथा भिडियो मार्फत पठाउन समेत सदस्य गुरुङले निर्देशन दिए । समय धेरै नभएकोले काममा ध्यान दिदै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । ‘भौतिक, नैतिक तथा आर्थिक रुपमा तयार भएर बस्नुहोस्’ उनले थपे । कास्की भन्दा बाहिरका जिल्लामा देखिएको रौनकता र खेल सञ्चालन गर्ने इच्छाले आफूलाई उत्साहित बनाएको उनको प्रतिक्रिया थियो । राखेप सदस्य गुरुङ नेतृत्वको टोलीमा जिल्ला खेलकुद विकास समिति सदस्य मनिषा गुभाजु, जिल्ला क्रिकेट संघ कास्कीका सह–सचिव विजय रावत, क्रिकेट कोच त्रृmषिकेश शर्मा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेल रहेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकको लागि प्रतिष्पर्धा गर्नेछन् ।   

पोखरा:  समाजवादी विद्यार्थी युनियन गण्डकी प्रदेशको अध्यक्षमा विषम भुजेल सर्वसम्मत चयन भएका छन् ।    जनता समाजवादी पार्टीको भातृ विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन गण्डकी प्रदेशको अध्यक्षमा विषम भुजेल सर्वसम्मत निर्वाचित भएका हुुन् ।    आज (शनिबार) पोखरामा सम्पन्न पार्टीको पुनर्गठन तथा विस्तारित भेलाले भुजेलको अध्यक्षतामा ३१ सदस्य कार्यसमिति चयन गरिएको गण्डकी प्रदेशका पूर्व इन्चार्ज तथा केन्द्रीय सदस्य चन्द्र ग्याबक तामाङ (मुस्कान) ले जानकारी  दिए ।    उनका अनुसार सो समितिको वरिष्ठ उपाध्यक्षमा दिपक तामाङ, उपाध्यक्षमा माया पुन मगर, मुख्य सचिवमा नवीन कुमार यादव, सचिवमा मोहन तामाङ, कोषाध्यक्षमा निकिता थापा मगर चयन भए ।    यसैगरि सदस्यहरुमा लाक्पा तामाङ, मनिल तामाङ, कान्छी गुरुङ, मनिक गुुरुङ, आशिष तामाङ, सुदिप तामाङ, रोशन मगर, नविन भुजेल, प्रकाश भुजेल, अन्जन भुजेल र उषा शर्मा लगायत चयन भएका थिए । बाँकी सदस्यलाई पदाधिकारीको बैठकबाट मनोनित गरिने बताइएको छ ।   

स्याङ्जा:  स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलास्थित आँधीखोला जाने भित्री कच्ची सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।   प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीका अनुसार आज (बिहिबार) विहान करिब ७ बजे ग १६ प ५४६१ नम्बरको स्कुटर दुर्घटना हुँदा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षिय बसन्त श्रेष्ठको मृत्यु भएको हो ।   प्रहरीलाई स्कुटर दुर्घटना भएको जानकारी भएपछि घटना स्थलमा पुग्दा स्कुटर बाटोको छेउमा रहेको थियो भने मृतक श्रेष्ठ कुनामा उछिट्टिएका थिए । मृतक श्रेष्ठ निवर्तमान वडाध्यक्ष रहेको समेत बताइएको छ ।   मृतक श्रेष्ठको दुवै हातको कुईनामा सामान्य चोट देखिएकाले घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।   

पोखरा :  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजना भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजक गण्डकी फोनिजले जितेको छ ।   फोनिजको २३ औं स्थापना दिवस मनाउने क्रममा फोनिज गण्डकीले आयोजना र कास्की जिल्ला शाखाको सहआयोजनामा भएको पुरुष तथा महिला मैत्रीपुर्ण फुटसलमा दुवै खेलमा फोनिज विजयी भएको हो । पुरुष टिममा फोनिज गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टिमलाई टाइब्रेकरमा ५-४ गोल अन्तर पराजित गरेको हो । महिला तर्फ फोनिज गण्डकीको टिमले कास्कीमा महिला पत्रकारको टिमलाई टाइब्रेकरमै ४-३ गोल अन्तर हराएको हो ।  पुरुषतर्फ निर्धारित समयमा ४-४ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा फोनिजको तर्फबाट प्रबिन मगरले २ गरे भने सुशान्त गाहा र सुरज थापाले एक÷एक गोलको योगदान दिए । यस्तै खेलकुद पत्रकार मञ्चका लागि अनुप पौडेलले २ तथा मन क्षेत्री र बिजय नेपालीले १/१ गोल गरे ।  महिलातर्फ निर्धारित समयमा फोनिज गण्डकीबाट जुना थापाले पेनाल्टी मार्फत गोल गर्दा महिला पत्रकारको तर्फबाट दिपा पौडेलले बराबरी गोल फर्काइन् । दुवै टिमले निर्धारित समयमा बराबरी गोल गरेपछि खेलमा बिजेताको टुंगो टाइब्रेकरबाट लागेको खेल संयोजक सुशान्त गाहा मगरले जानकारी दिए ।  बिजेता फोनिज गण्डकीको टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिमले मेडल र प्रमाणपत्र पाए । विजेता तथा उपविजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए ।  कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद स्वास्थ्यको लागि लाभदायक भएको वताउँदै यसले आपसी भाईचारामा पनि वृद्धि हुने वताए । पत्रकारहरु लेख्ने मात्र होइन स्वस्थ्य हुनुपनि जरुरी रहेको मिडिया कप बेला बेलमा हुनुपर्नेमा उनको जोड थियो । ‘खेलकुदले पत्रकारको निर्णय गर्ने क्षमताको विकास हुन्छ, यसले पत्रकारहरुलाई सिर्जनशिल पनि बनाउँछ,’ उनले भने, ‘त्यसैले पनि आगामी दिनमा अन्य खेल गर्दै जानुस तपाईहरुसँग प्रदेश खेलकुद परिषद साथ मै छ ।’ ३९ वर्षपछि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा पत्रकारले कलम र आवाज मार्फत साथ दिन उनको आग्रह थियो । पत्रकारले गरेको खबरदारी र राम्रा कार्यको प्रचार प्रसारले प्रदेशमा हुने खेलमा महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो ।  कार्यक्रममा फोनिज गण्डकी सल्लाहकार हुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी र फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस मगर लगायतले मैत्रीपुर्ण खेलले स्वस्थ्य रहँदै पत्रकारिता गर्ने समयमा प्राविधिक शब्दहरुमा ज्ञान हुने बताएका थिए ।   

काठमाडौंमा गएरातिको वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।   काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित भएको छ । प्रहरीका अनुसार हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका मानिसहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । सो क्षेत्रबाट १५ जनाको उद्धार गरिएको र अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।   सुकुम्बासी टोलका २ वटा टहरा पनि बाढीले भत्काएर बगाएको छ । त्यहाँ मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । गएराति काठमाडौंमा ठूलो पानी परेपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । विभागको बाढी सूचना केन्द्रले भक्तपुरका नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्रमा भारी वर्षा भएकाले पुण्यमति, हनुमन्ते, मनोहरा र बाग्मतीको किनारका वासिन्दालाई सतर्कता अपनाउन भनेको थियो ।   यसैगरी ललितपुरको बाग्मती खोकना केन्द्रमा पनि जल सतह बढेपछि उच्च सतर्कताको सूचना जारी गरिएको थियो ।   मौसमविद हिरा भट्टराईका अनुसार आज बिहान ६ बजेसम्म त्रिभुवन विमानस्थलमा ७५।१ मिलिमिटर वर्षा मापन भएको छ ।

पोखराः सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा कर्मचारीलाई वृद्धि गरेको तलबदर असमान भएको भन्दै कास्कीका सरकारी कार्यालयका नायब सुब्बा (नासु)हरुले आज काम गरेका छैनन् ।    जिल्लाभित्र केही कार्यालयमा नासुहरुले पेन डाउन गरेका छन् भने दिउँसो १२ बजेपछि कार्यालयबाट निस्केर शहीदचोकमा भेला भएका छन् ।    मालपोत कार्यालय लेखनाथमा नासुहरुले पेनडाउन गरेपछि सेवा प्रभावित भएको छ । लेखनाथका नासुहरु अहिले शहीदचोकतर्फ आइरहेका छन् । त्यस्तै, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु पनि शहीदचोकतिर निस्कन सुरु गरेका छन् ।    नासुहरुले आज काम नगर्ने वा १२ बजेपछि बिदा (क्याबि) लिने जानकारी आफु मातहतका सिनियरलाई हिजै जानकारी गराएका थिए । सोही अनुरुप प्रशासन कार्यालयका कर्मचारी अहिले बाहिर निस्केका छन् ।    ‘अहिलेसम्म त सबै काम भइरहेको छ तर अब साथीहरु विरोध कार्यक्रमतर्फ जाने तरखरमा हुनुहुन्छ’ प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले जानकारी दिए ।    यता, मालपोत कार्यालय कास्कीमा भने आज काम हुन सकेन । सेवाग्राहीका घुइँचो लागेपनि अहिले ठप्प भएको मालपोत कार्यालयले जानकारी दिएको छ । ‘हामी ३ जना हाकिममात्रै छौं’ एक कर्मचारीले भने ‘हामीलाई हिजै जानकारी थियो, ३ जनालेमात्रै सेवा दिन नसक्ने भएपछि हामीहरु यत्तिकै बसेका छौं ।’     तलबदार असमान भएको र सरकारले तोकेको प्रतिशतभन्दा फरक परेपछि आन्दोलनमा उत्रनुपरेको नासुहरुले बताएका छन् । चालू बजेटले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो । तर, तलब लागू हुने समयमा भने शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीको तलब साढे २४ प्रतिशतसम्म बढाइएपछि आन्दोलित भएको उनीहरुको भनाई छ ।    कास्कीमा आन्दोलनको नेतृत्व गरिरहेका मालपोत कार्यालय कास्की नासु सूर्य तिवारीले विरोधस्वरुप शहीदचोकमा भेला भएको बताएका छन् । ‘सबै कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको भनियो’ तिवारीले भने ‘तर शाखा अधिकृतदेखि माथिका कर्मचारीको तलब भने २४ प्रतिशतले बढाइयो ।’   सरकारले असमान दरले तलब बढाएको विरुद्धमा आन्दोलन आजबाट सुरु भएको भन्दै उनले थपे, ‘सरकारले हामीलाई तलबमा हेप्यो ।’ सरकारले अन्यलाई भन्दा नासुलाई कम तलब बढाएर हेपेको तिवारीको ठहर छ ।    आज विरोधस्वरुप भेला भएको र भोलीदेखि कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्ने विषयमा केन्द्रको निर्णयको प्रतीक्षामा रहेको नासुहरुको भनाई छ । तलब दरको असमान वृद्धिमा आज राजधानी लगायत देशैभर नासुहरुको विरोध कार्यक्रम रहेको छ ।      शहीदचोकमा मालपोत, प्रशासन, नापी, अदालतलगायतका कर्मचारी सहभागी छन् । संघीय सरकारअन्तर्गत नायब सुब्बाको १४ हजार २५ जनाको दरबन्दी रहेको छ ।  

  काठमाडौं:  जिल्लामा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजश्व संकलन भएको छ ।  आर्थिक वर्ष २०७८/७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिव रु  १३ लाख राजश्व सङ्कलन गरेको हो ।      गत आर्थिक बर्षमा सल्लोको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट रु १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत रु दुई  लाख ११ हजार ७९० गरी १२ लाख ७० हजार ९८६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो ।          गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेदलगायत जडीबुटीका साथै दुई लाख २० हजार ६३० किलो खोटो  जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ ।   जिल्लामा ३७२ ओटा सामुदायिक वनबाट सल्लाको खोटो सङ्कलन र जडीबुटीहरु समेत निकासी हुने गरेको छ । 

बागलुङ नगरपालिका-१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ । माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् ।   माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले तीन वर्षअघि सुरु गरेको माझी बस्ती लिफ्ट खानेपानी योजनाको पूर्वाधार निर्माण सम्पन्न भएको थियो । ती समुदाय अहिले पानी घरमा रित्तो धारो एक वर्षदेखि हेर्दै छन् । विसं २०४८ मा बागलुङ पोखरा सडकखण्ड विस्तारको क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेल मैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखा स्थित कालीगण्डकी किनारामा तीन वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो ।    माझी बस्तीमा १४ नमूना घर निर्माणसँगै उनीहरुले आफ्नै घर पाए पनि अन्य सेवा सुविधा पाउन सकेका छैनन् ।  नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि तीन वर्षअघिदेखि सुरु भएको खानेपानी आयोजना एक वर्ष अघिनै सक्कियो, ट्याङ्की, धारो लगायतको पूर्वाधार निर्माण सम्पन्न भइसक्यो तर एक वर्षदेखि पानी भने खस्न सकेको छैन ।   उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । ‘एक घर एक धारा’ पु¥याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्दै झण्डै रु ३० लाख खर्च भइसकेको छ तर माझी बस्तीको घरमा पानी बिनाकै धारो बनेको एक वर्ष पुगिसकेको छ । माझी समुदायले दैलोमा खानेपानीको धारो बनेको एक वर्ष वित्दा समेत खानेपानी नआएको दुखेसो गरेका छन् ।    कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब ५०० मिटर माथी तानेपछि नमूनामा बस्तीमा खानेपानी वितरण गर्ने योजना अधुरै बनेको बागलुङ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर केसीले बताउनुभयो । उहाँले नयाँ जनप्रतिनिधि आएपछि तत्कालै आयोजनामा पनि सुचारु गर्नका लागि काम थालिरहेको बताउनुभयो ।     “खानेपानी समस्या समाधानका लागि अघिल्लो जनप्रतिनिधिले के गरे त्यो बुझ्नै पर्दछ, म निर्वाचित भएर आएपछि यसको  समस्याका विषयमा जानकारी पाए, अहिले खानेपानी तथा सरसफाइ कार्यालय र नगरपालिका सँग समन्वय भइरहेको छ”, वडाध्यक्ष केसीले भन्नुभयो, “विद्युत् जोडेर पम्प चलाए मात्रै पानी आउछ, त्यसमा समन्वयको मात्रै अभाव भएको देखियो ।”   कोरोना महामारीका कारण खानेपानी योजना समयमै नसकिएको र अहिले विद्युत् जडानको काम नहुँदा पानी आउन नसकेको माझी बस्ती खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण माझीले बताउनुभयो । माझीले कोरोनामा आफैँ बिरामी भएर महिनौँ बस्दा आयोजनामा समय दिन नसकेको भन्दै खानेपानी कार्यालयसँग समन्वय गरेर विद्युत् जडान गरी पानी तान्नका लागि पहल गर्ने बताउनुभयो ।    उहाँले १४ घरमा धारा निर्माण, ट्याङ्की तथा वितरण पाइपलगायत भौतिक पूर्वाधारमा खानेपानी कार्यालयको रु ३० लाख खर्च भइसकेको बताउनुभयो । अध्यक्ष माझीले माझी बस्तीमा हिउँदमा खानेपानीको चरम अभाव भएको भन्दै हिउँदसम्म खानेपानी धारोमा ल्याउने गरी आफूले सरोकारवाला निकायलाई जवाफदेही बनाउने बताउनुभयो ।    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर ईश्वरीप्रसाद शर्माले हिउँदभित्रै माझी बस्तीमा खानेपानी ल्याउने गरी कार्यालयले काम गर्ने बताउनुभयो । “हामीले आयोजना सम्पन्न भयो भन्ने हिसाबले अघिल्लो दुई आर्थिक वर्षअघिको योजनालाई हेर्‍यौ , पानी खसाल्ने काम उपभोक्ता समितिको समन्वयममा हुन पर्दथ्यो, अब हामी स्थलगत अनगुमन पछि आवश्यक बजेट खर्चेर पानी तान्ने उपकरण जोड्नेछौं” शर्माले भन्नुभयो “हिउँदभित्रै माझी बस्तीमा लिफ्टमार्फत खानेपानी पुर्‍याउँछौँ ।”