बागलुङ : हरेक पाँचपाँच वर्षमा ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना हुन्छ । गणनाको नतिजालाई हेरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा तोक्ने गर्छ । पछिल्ला याममा भने सिकार कोटा घट्दो छ । वन्यजन्तुको सङ्ख्या घटेपछि विभागले सिकारलाई पनि थप नियन्त्रित गरेको हो । गत वर्षको हिउँदमा गरिएको गणनामा नाउरको सङ्ख्या ह्वात्तै घटेर एक हजार दुई सय ९० मा झरेको पाइएको थियो । जबकि विसं २०७२ को गणनामा दुई हजार दुईसय दुई नाउर आरक्षमा भेटिएका थिए । सोही अवधिमा झारल भने तीन सय ८८ बाट बढेर सात सय ४४ पुगेका थिए । यसरी नाउर मात्र किन घटे त रु आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत सूर्य खड्काले नाउरको सङ्ख्या घट्नुमा अनेकन कारण रहेको बताउनुभयो । “हिमपहिरो, डढेलो र रोगव्याधि चल्दा नाउर मर्छन्, चोरीसिकार पनि हुन्छ”, उहाँले भन्नुभयो, “गणनाको याम, विधि जस्ता कुराले पनि सङ्ख्या तलमाथि पर्न सक्छ ।” नाउरको बसाइँसराइले पनि सही तथ्याङ्क पाउन गाह्रो हुने अधिकृत खड्काले उल्लेख गर्नुभयो । “ढोरपाटनबाट नाउरको बथानै डोल्पातिर जाने, उताको यता आउने पनि हुन्छ, आहारा नपाए चहार्दै अन्त जाने स्वभाव उनीहरुमा हुन्छ”, उहाँले भन्नुभयो । उहाँले पाँच वर्षमा झण्डै एक हजार नाउर घट्नु स्वभाविक नदेखिएकाले त्यसबारे थप अध्ययनको खाँचो औँल्याउनुभयो । हरेक जसो गणनामा सहभागी हुँदै आउनुभएका सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले कठिन भूगोलका कारण नाउर र झारलको गणना चुनौतीपूर्ण हुने गरेको बताउनुभयो । “मौसमको प्रतिकूलता हुँदा नाउरको बासस्थान भेटाउनै सकिन्न, भारी हिमपातले त्यो ठाउँमा जानै नसक्ने अवस्था पनि आउँछ”, उहाँले भन्नुभयो । अनुमति प्राप्त सिकारीसमेत रहनुभएका थापाले ढोरपाटन उपत्यकाबाट चार दिनसम्म हिँडेर नाउर गणनाका लागि सुनदह ब्लकसम्म पुगेको सुनाउनुभयो । सुनदह पश्चिम रुकुमको चुरुने हिमाल आसपास पर्छ । आरक्षका कर्मचारी, प्राविधिक, सिकार कम्पनीका प्रतिनिधि, स्थानीय पथप्रदर्शक र भरियासमेतको टोली गणनामा खटिने गरेको उहाँको भनाइ छ । “बाइनाकुलरलगायतका उपकरणको सहायतामा गणना गरिन्छ, सिकार ब्लकसम्म पुग्ने दुरी र क्षेत्रफलअनुसार एउटै ब्लकमा चार/पाँच दिनसम्म पनि लाग्छ”, थापाले भन्नुभयो, “प्रत्येक ब्लकमा नाउर र झारलको छुट्टाछुट्टै गणना हुन्छ ।” गणनाको याम, हावापानीको स्थिति, वन्यजन्तुको आनीबानी, गणकको दक्षता र प्राविधिक तथा व्यवस्थापकीय पक्षले पनि गणनालाई प्रभाव पार्ने उहाँको भनाइ छ । असोज–कात्तिकमा गणना गर्दा धेरै सहज हुने गरेको थापाको अनुभव छ । नाउरको सङ्ख्या घटेका कारण सिकारको कोटा पनि कम हुँदै गएको उहाँले बताउनुभयो । पहिलेपहिले वार्षिक २६ वटासम्म नाउरको सिकार कोटा निर्धारण गर्ने गरिएकामा अहिले २० मा झरेको छ । अधिकृत खड्काले नाउर, झारललगायत हिमाली तथा उच्च पहाडी भेगमा पाइने वन्यजन्तुको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । “धेरै ठाउँमा पाइने भएकाले पनि होला नाउर, झारल जस्ता वन्यजन्तु खासै प्राथमिकता परेको देखिन्न, यिनीहरुको अवस्था, बासस्थान आदिबारे पनि खोज, अध्ययन हुनुपर्छ, संरक्षणको योजना ल्याउनुपर्छ”, उहाँले भन्नुभयो । गणनाका क्रममा आरक्षको सुर्तिबाङ ब्लकमा अधिकांश झारल दुब्लो पातलो अवस्थामा भेटिएको उहाँले सुनाउनुभयो । हिमाली भेडा प्रजातिमा पर्ने नाउर र बाख्रा प्रजातिको झारलको आहारा भनेकै घाँस र बुट्यान हो । जाडोयाम र हिमपात हुँदा हिमाली भेगका वन्यजन्तुलाई आहारा पुग्दैन । त्यस्तो बेला दुब्लाउँदै जाने र रोगी हुने सम्भावना बढी हुन्छ । विभागले पछिल्लो समय वार्षिक १९ देखि २४ वटासम्म नाउर र १४ देखि १९ सम्म झारलको सिकार कोटा छुट्याउने गरेको छ । सिकारीले आरक्षमा उमेर पुगेको बुढो नाउर र झारलको मात्र सिकार गर्न पाउने नियम छ । नाउर ढोरपाटनमा बढी सिकार हुने जनावरमा पर्छ । तीन हजार मिटरदेखि पाँच हजार माथि सम्म पाइने नाउर हिमाली भेडाले पनि चिनिन्छ । नाउर बथानमा बस्छ । नाउरको आयु करिब १५ वर्ष हुन्छ । लाङ्टाङ, मकालु, बरुण राष्ट्रिय निकुञ्जलगायत अधिकांश हिमाली क्षेत्रमा नाउरको बासस्थान रहे पनि ढोरपाटनमा मात्र यसको वैधानिक सिकार गर्न पाइन्छ । झारल पनि बाख्रा प्रजातिमा पर्ने जनावर हो । नाउर र झारल सिकारका लागि बर्सेनि विख्यात विदेशी सिकारी ढोरपाटन आउने गर्छन् । लाखौँ खर्चेर सिकारको रोमाञ्चक अनुभव बटुल्न उनीहरु लालयित हुन्छन् । नेपाली सिकार कम्पनीमार्फत् विदेशीहरु सिकार खेल्न आरक्ष पुग्छन् । बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा ढोरपाटनमा सिकार खुला हुन्छ । गत आवको दुवै याममा गरी १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । सिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्र्याक एण्ड ट्रेल्र्सले गत वर्ष सिकार खेलाएको थियो । अमेरिका, फ्रान्स, डेनमार्क, मेक्सिको, नर्वे, युक्रेन, स्पेनलगायत देशका पेशेवर सिकारीले नाउर र झारलको सिकार गरेका थिए । विद्युतीय बोलपत्रमार्फत् छानिएका कम्पनीलाई मात्र विभागले सिकार खेलाउनका लागि अनुज्ञापत्र दिने गर्छ । कम्पनीले गत आवको दोस्रो सिकार याममा नाउर सिकारको न्यूनतम रु तीन लाख ५० हजारदेखि रु १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शम्शेर पराजुलीले जानकारी दिनुभयो । कोभिड–१९ महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक देखिएको उहाँको भनाइ छ । सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्छ । एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चने गरेको कम्पनी बताउँछन् । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । एक हजार तीन सय २५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र पश्चिम रुकुमको उच्च पहाडी र हिमाली भूभागमा अवस्थित छ । आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । आरक्ष क्षेत्रमा संरक्षित पक्षी डाँफे, मुनाललगायत १६५ प्रजातिका चराको बसोबास छ ।
सुर्खेत । कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका १०९ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स राखिने भएको हो । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रमले लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशका ११ स्थानीय तहका १०९ वटा विद्यालयमा नर्स राखेर यस वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ । जस अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका २०, भेरीगंगा नगरपालिकाका १० वटा विद्यालय रहेका छन् । दैलेखको नारायण नगरपालिकाका १०, कालिकोटको खाँडाचक्र नगरपालिकाका १० वटा विद्यालय, जुम्लाको चन्दननाथ नगरपालिकाका ५ वटा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका ५ वटा विद्यालय, हुम्लाको सर्केगाड गाउँपालिकाका ४ वटा विद्यालय रहेका छन् । त्यस्तै, सल्यानको शारदा नगरपालिकाका १० वटा विद्यालय, त्रिवेणी गाउँपालिका भित्रका ११ वटा विद्यालय, जाजरकोटको छेडागाड नगरपालिकाक १४ र रूकुमपश्चिमको मुसिकोट नगरपालिका भित्रका १० वटा विद्यालयमा नर्स राखिने भएको छ । एक विद्यालय एक नर्स कार्यक्रम तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले सुरु गर्नुभएको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारले खानेपानी वितरण स्वच्छ, सर्वसुलभ बनाउने योजना अनुरुप ‘गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पारित गरेको छ । उक्त विधेयक प्रदेशसभा बैठकबाट सर्वसम्मत पारित भएको छ । विधेयक अनुसार कसैले खानेपानी संस्थानको पानी चोरी गरी उपभोग गरेमा ५० हजार रुपैयाँ जरिवाना गरिने उल्लेख गरेको छ । त्यस्तै, खानेपानीमा ढल वा मलमुत्र मिसाएमा ५ लाख रुपैयाँसम्म जरिवाना गरिने ऐनमा उल्लेख गरिएको छ । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले गत चैत २३ गते विधेयक प्रदेशसभामा प्रस्तुत गरेका थिए । ऐनमा ढल व्यवस्थापन, अनुमति नलिएरै सञ्चालन गरिने खानेपानी सेवा, विधेयक विरुद्धका काम, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी पानी प्रयोग गर्ने कार्य लगायतमा कडाइ गर्दै ५० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने भनिएको छ। ऐनमा खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनधिकार पानी प्रयोग गर्ने कार्य गरेमा पचास हजार रुपैयाँ तथा मानव मलमूत्रसहित वा रहितको फोहोर पानी ढल निकास प्रणालीमा विसर्जन गरेमा वा मलमूत्र सिधै नदी, जलाशय वा जमिनमा विसर्जन गरेमा पाँच लाख सम्मको जरिवाना हुने भनिएको छ। यस्तै, अनुमति नलिईकन खानेपानी सेवा, सरसफाइ तथा आयोजना वा सेवा प्रणालीको निर्माण तथा सञ्चालन पनि गर्न नपाइने तथा विधेयकमा भएको प्रावधान विपरीतको कार्य गरेमा प्रदेश सरकारले एक लाख रुपैयाँसम्मको जरिवाना तिराउने उल्लेख छ। ऐनको दफा ३३ मा ऐनले कसुर मान्ने कुराहरू उल्लेख गरिएको छ। जसमा अनुमति पत्र नलिई खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवा प्रणालीको निर्माण वा सञ्चालन, खानेपानी सेवा तथा सरसफाइ सेवाको अनधिकार प्रयोग गरेमा वा त्यसको दुरुपयोग, अनुमति पत्र प्राप्त संस्थाले जडान गरेको निजी धारामा उपभोक्ताले अनुमति प्राप्त संस्थाको स्वीकृति विना कुनै अवाञ्छित फाइदा लिने उद्देश्यले गरिने कार्य, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनधिकार पानी प्रयोग गर्ने कार्य, जलाधार क्षेत्र भित्र खानेपानी प्रदूषित गर्ने वा पानीको परिमाण वा बहावमा असर पर्ने काम रहेका छन्।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावना अनुरुप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसका उम्मेदवारको सम्मानार्थ आयोजित कार्यक्रममा उहाँले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने बताउनुभयो । नवनिर्वाचित जनप्रतिनिधिलाई इमान्दारिता र जिम्मेवारिताका साथ क्रियाशील बन्न उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय आवश्यकताका आधारमा नेपालमा राजनीतिक दलहरू एकताबद्ध हुने गरेको बताउँदै उहाँले आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिको जनता तथा समाजप्रतिको जिम्मेवारी अहम् हुने बताउँदै जिम्मेवारीलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले कांग्रेसी कार्यकर्ताप्रति समाज तथा राष्ट्रले ठूलो अपेक्षा एवं विश्वास गर्ने बताउँदै त्यही भावनाका साथ समाजका हरेक गतिविधिमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई आगामी निर्वाचनमा अझै बलियो बनाउँदै लैजान सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभयो । कार्यक्रममा पार्टीका उपसभापति रामबाबु भण्डारी, सहसचिव नवीन सिग्देल लगायतले आसन्न निर्वाचनमा कांग्रेसलाई अझै सशक्त बनाउने गरी लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनतामा लैजान जरूरी रहेको बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पु¥याउने र अन्तरपार्टी व्यवस्थापन गर्ने काममा तत्काल लाग्न समेत निर्देशन दिनुभयो । एमाले लुम्बिनी प्रदेशस्तरीय सङ्गठन व्यवस्थापन तथा परिचालन विषयक दुईदिने कार्यशालामा आज प्रशिक्षण मूलक मन्तव्य दिँदै उपाध्यक्ष पौडेलले एमालेले स्थानीय चुनावमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा कार्यक्षेत्रको सुझाव, जित्न सक्ने सम्भावना र जितिसकेपछि पनि अनुचित काम नगर्ने व्यक्तिलाई प्राथमिकता दिई टिकट वितरण गर्ने पार्टीको नीति रहेको स्पष्ट पार्नुभयो । पार्टी केन्द्रीय कमिटीका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले सुधारको कुरा हरेक कमिटीबाट सुरू गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । एमाले केन्द्रीय सङ्गठन विभागका प्रमुख खगराज अधिकारीले एमाले योग्यता पूर्वक सङ्गठन सञ्चालन गर्ने पार्टी रहेको दाबी गर्नुभयो ।
विराटनगर: प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिकोत्सवमा उहाँले बढ्दो आयातलाई प्रतिस्थापन गर्न सहकारीलाई कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । “कृषि प्रधान मुलुकमा कृषिजन्य वस्तुकै आयात बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “बचत तथा ऋणमा दर्ता भए पनि कृषिक्षेत्रलाई प्रवद्र्धन हुने गरी लगानी गर्न म आग्रह गर्छु ।” सहकारीहरूले गर्ने लगानी उत्पादनमुखी कार्यमा बढी केन्द्रित हुनसके मात्र मुलुकको अर्थतन्त्र सबल बन्दै जाने उहाँको भनाइ थियो । राज्यको तीनखम्बे अर्थनीतिको एउटा खम्बाका रूपमा सहकारी रहेकाले राज्यको आवश्यकतानुसार सहकारी ढल्नुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारीमा समस्या हुनुका साथै केही विकृति बढेको चर्चापरिचर्चा हुन थालेकाले उहाँले जटिलता र समस्याका बारेमा छलफल नगरे सहकारी क्षेत्रले अपेक्षाकृत गति लिन नसक्ने जनाउनुभयो । कार्यक्रममा हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गालले संस्था स्थापनाको छोटो अवधिमै संस्थाले रु दुई अर्बको वासलात बनाउन सफल भएको जानकारी दिनुभयो । संस्थाको हाल रु १७ करोड ५० लाख शेयर पूँजी, रु ९० करोड ७५ लाख बचत सङ्कलन र रु एक अर्ब ७५ लाख ऋण लगानी रहेको छ । संस्थाले झापा, मोरङ र इलाम जिल्लामा ३० वटा सेवा केन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा हाल २४२ कर्मचारी कार्यरत छन् । कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चाल शिव डाँगी, नेफ्स्कुनका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्ली दाहललगायतले संस्थाको प्रगतिको थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । स्वर्गद्वारी मन्दिर दर्शन गरेर भिङ्ग्रीतर्फ आउदै गरेको लु ३ च ३५३ नम्बरको जीप शनिबार मध्याह्न भ्यागुतेमा दुर्घटना भएको हो । दुर्घटनामा परी रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा १७ जना सवार थिए । यद्यपि, जीप दुर्घटनाको कारण खुलिसकेको छैन ।
अछामको पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् । गए राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान् पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।
खोटाङको खोटेहाङ गाउँपालिकाका किसानलाई बाँदर धपाउन उपकरण निःशुल्क रुपमा वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि उनीहरुलाई उपकरण उपलब्ध गराइएको हो । किसानलाई लक्षित गर्दै वडा नं ४ बडकादिया र वडा नं ७ खोटाङ बजारका किसानलाई युपिभिसी पाइपबाट निर्माण गरिएको उपकरण वितरण गरिएको हो । बडकादियाले र खोटाङ बजारका दश÷दश किसानलाई बाँदर धपाउने उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा रु दुई हजार ८०० का दरले खरिद गरेर बाँदर धपाउने उपकरण ल्याइएको खोटाङ बजारका वडाध्यक्ष शिव फुयाँलले बताउनुभयो । खोटाङ बजारमा आवश्यकताको आधारमा किसानले प्रयोग गर्न पाउनेगरी वडाका दश टोल सुधार समितिलाई उपकरण प्रदान गरिएको छ । किसानलाई १०० पटक पडकाउन पुग्ने कच्चा पदार्थसहित उपकरण प्रदान गरिएको हो । बन्दुक जस्तै आवाज आउने उपकरण सम्बन्धित वडा कार्यालयले खरिद गरेर किसानलाई निःशुल्क वितरण गरेको हो । मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायत बालीनाली बाँदरले सखाप पारेपछि त्यहाँका किसान हैरान छन् । यसअघि २०७५ फागुनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानमा ‘बाँदर समाऔँ’ अभियान सञ्चालन गरिएको थियो । बाँदरले आतङ्क मच्चाएपछि जिल्लाका अधिकांश खेतीयोग्य जमिन बाँझो छाडिएका छन् । टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन् ।