लुम्बिनी:     लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पा...

सातौँ कृषि गणना आजदेखि सुरु भएको छ । कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी थालिएको हो । नेपालमा विसं २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आएको छ ।   कृषि क्षेत्रको वास्तविक तथ्याङ्क पप्ता लगाउँदै यसको आधुनिकीकरण एवं व्यावसायीकरणलाई समेत जोड दिने सरकारको लक्ष्यअनुरुप २०७८ चैत २५ देखि वैशाख २ गतेसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो । आगामी जेठ १९ गतेसम्म गणना जारी रहने छ । मुलुकको कूल गार्हस्थ उत्पादनमा एक चौथाइभन्दा बढी योगदान रहेको कृषि क्षेत्र यथार्थ विवरण सङ्कलन गर्नका लागि मुलुकका सातै प्रदेशका ७५३ पालिकाका छनोट गरिएका १३ हजार ५७८ गणना क्षेत्रबाट प्रतिनिधिमूलक नमूना सङ्कलन गर्न झण्डै तीन लाख ५० हजार कृषक परिवारको छनोट गरिएको छ । ‘कृषि योजना र विकासको मूल आधार, पारौँ कृषि गणना २०७८ साकार’ भन्ने मूल नाराका साथ सुरु भएको गणनाले कृषि क्षेत्रलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।   गणनाअन्तर्गत कृषक परिवारले चलन गरेको जग्गाको उपभोक्ता र उपयोग, कित्ताको वितरण, सिँचाइ गरेको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन र कन्दमूल, तेल, नगदे, मसला बाली, फलपूmललगायतले ओगटेको क्षेत्रफल तथा प्रमुख बालीहरूको उत्पादन, बीउबिजन, विषादी र मलखादको प्रयोग सम्बन्धमा तथ्याङ्क लिइने छ । त्यस्तै पाल्तु पशुपक्षीको सङ्ख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउखेती, पुष्पखेती, रेशमपालन, कषिमा ऋण, बीमा अनुदान, कृषिमा वातावरणको प्रभाव, खाद्यान्नको पर्याप्तता र परिवारका अन्य आर्थिक क्रियाकलाप, कृषि कामदारसँगै गणनामा महिलाको नाममा रहेको जग्गाको बारेमा समेत विवरण सङ्कलन गरिने बताइएको छ ।   गणना गरिने वडाको भूउपयोग, समुदायमा हुने प्रमुख कृषि उत्पादन र उत्पादकत्व, सम्बन्धी विकास कृषि कामदारको अवस्था र पारिश्रमिक, विपद्का घटनाले समुदायमा पारेको असर, सेवा सुविधा, कृषि बजार, विकास निर्माणका योजना, फोहर व्यवस्थापन, जङ्गली जनावरले कृषिमा गरेको क्षति, सामुदायिक कुकुर र गाईवस्तुको सङ्ख्या सङ्कलन गरिने गण्डकी प्रदेश कृषि गणना अधिकृत जगु वस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि गणनाबाट प्राप्त तथ्याङ्कको प्रयोगले सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको विकास एवं समृद्धिको लागि मद्दत पुग्ने विश्वासका साथ परिवार र समुदायमा आधारित कृषि कार्यमा काम अतिरिक्त सरकारी, अर्थसरकारी, सहकारी र संस्थागतरूपले सञ्चालन गरेका व्यावसायिक कृषि कार्यको पनि तथ्याङ्क सङ्कलन गरिने छ ।   हिमाल र पहाडका जिल्लामा कम्तीमा चार आना र तराईको हकमा आठ धुर क्षेत्रलफल बाली लगाएको भएमा वा जुनसुकै उमेरका कम्तीमा एकवटा गाईँ, भैसीजस्ता ठूला चौपाया पालेको भएमा तथा पाँचवटा भेडाबाख्राजस्ता साना चौपाया पालेको भएमा एवं माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पक्षी पालेको भएमा गणनामा समेटिने भएको छ । वडास्तरमा छाडा चौपाया तथा कुकुरको समेत गणनाले समेटने छ । अग्र्यानिक खेती प्रणालीको अभ्यास, विषादीको प्रयोगको कृषकको सचेतीकरणसहित जलवायु परिवर्तनले कृषि कार्यमा देखिएको प्रभाव, उत्पादनमा वृद्धि वा कमी, स्वादमा परिवर्तन, रोग किराको प्रकोप, बाली लाग्ने समयमा परिवर्तन, प्रजातिको लोप तथा उत्थानमा समेत कृषिकको सत्यतथ्य धारणा गणनामा आउने उहाँको विश्वास छ ।   तोकिएका घर तथा फार्ममा आउने गणकलाई आफ्नो कृषिका बारेमा सम्पूर्ण विवरण दिएर सहयोग गरिदिनु हुन अनुरोध गर्दै बस्यालले सुरक्षा निकाय, जनप्रतिनिधि, कर्मचारीलगायतको आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशमा अनुमानित ३२ हजार ७२५ फारम भर्ने कार्यक्रम रहेको छ ।

तनहुँको व्यास नगरपालिकाले पाँच वर्षमा एक सय एक कानून निर्माण गरेको छ । विसं २०७४ सालमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पाँच वर्षमा सो कानून निर्माण गरेका हुन् । यसक्रममा २९ ऐन, नौ नियमावली, ५० कार्यविधि, आठ निर्देशिका र अन्य ५ गरी सो सङ्ख्यामा कानून निर्माण गरिएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।   ऐनतर्फ आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, व्यास नगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी ऐन २०७४), सहकारी ऐन २०७४, आर्थिक कार्यविधि ऐन २०७४, स्थानीय कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४, फोहरमैला व्यवस्थापन सम्बन्धी ऐन २०७४, आर्थिक ऐन २०७५, तथा विनियोजन ऐन २०७५ छन् । त्यस्तै अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम (सञ्चालन कार्यविधि) ऐन २०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५, नगर शिक्षा ऐन २०७५, प्रशासकीय (कार्यविधि नियमित) गर्ने ऐन २०७५, आर्थिक ऐन २०७६, विनियोजन ऐन २०७६, आर्थिक ऐन २०७७, विनियोजन ऐन २०७७, वातावरणीय परीक्षण ऐन २०७७ तथा सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन २०७७ छन् ।   त्यस्तै विनियोजन ऐन २०७८, आर्थिक ऐन २०७८, नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८, पुरातत्व, प्राचिन स्मारक र सङ्ग्रहालय संरक्षण सम्बद्र्धन ऐन २०७८, कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८, कर्मचारी कल्याणकारी कोष सञ्चालन (कार्यविधि) ऐन २०७८, स्थानीय बजार व्यवस्थापन ऐन २०७८, सुशासन ऐन २०७८ र खेलकुद विकास ऐन २०७८ निर्माण गरिएको छ । नियमावलीतर्फ कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण (कार्यविधि), नगर कार्यपालिका (कार्य सम्पादन), नगर कार्यपालिका (कार्य विभाजन), सभा सञ्चालन तथा व्यवस्थापन (कार्यविधि), व्यास नगरपालिका शिक्षा, नगर प्रहरी, युवा परिषद्, सार्वजनिक निजी साझेदारी सम्बन्धी र आय ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी नियमावली २०७८ निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।   निर्देशिकातर्फ लैङ्गिक हिंसा सेवा केन्द्र सञ्चालन सम्बन्धी, स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी, कृषि विकास कार्यक्रम कार्यान्वयन, सहकारीमार्फत् मासु उत्पादन र विक्रीमा आधारित अनुदान कार्यक्रम, दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान कार्यक्रम, व्यास नगरपालिका विद्यार्थी सिकाई सहजीकरण, बधस्थल सञ्चालन तथा व्यवस्थापन सम्बन्धी र स्थानीय कृषि बजार व्यवस्थापन निर्देशिका २०७८ निर्माण गरिएको छ । अन्यतर्फ पदाधिकारीहरुको आचारसंहिता, योजना तथा बजेट तर्जुमा दिग्दर्शन, व्यास नगरपालिका कर्मचारी विशेष सुविधा सम्बन्धी मापदण्ड, स्नातक उत्तीर्ण बेरोजगार महिला अनुदान वितरण मापदण्ड, वैदेशिक रोजगारीबाट फर्किएका उद्यमशील युवाहरुलाई प्रदान गरिने स्वरोजगार कार्यक्रमको अनुदान सम्बन्धी मापदण्ड २०७८ निर्माण गरिएको छ ।   कार्यविधितर्फ कार्यपालिका बैठक सञ्चालन सम्बन्धी, स्थानीय राजपत्र सम्बन्धी, एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन), सार्वजनिक समारोह सञ्चालन, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण, लेखा समिति गठन र सञ्चालन, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन, संस्था दर्ता तथा नवीकरण, बजार अनुगमन, बहाल कर व्यवस्थापन कार्यविधि २०७६ लगायत निर्माण गरिएको छ । १५ वर्ष जनप्रतिनिधि विहिन अवस्थामा कर्मचारीको नेतृत्वमा चलेको नगरपालिका र नगरपालिका पुर्नसंरचना पछि यसको आकार प्रकारमा आएको परिवर्तन, विकासका चुनौति, साधन र स्रोतको अभावमा नगरवासीका सबै अपेक्षा पूरा गर्न नसकिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।   “नगरपालिकाप्रति नगरवासीको भरोसामा वृद्धि हुँदै गएको र नगरवासीका हरेक पक्षसँग नगरपालिका सकभर अपनत्व विकसित गर्दै आएको महशुस गरेका छौ”, नगर प्रमुख न्यौपानेले भन्नुभयो । पाँच वर्षमा धेरैजसो वडा कार्यालयमा भवन निर्माण, पुराना भवनलाई आधुनिक भवन निर्माणको प्रक्रियाको थालनी, स्वास्थ्य केन्द्रका भवन निर्माण गरिएको नगरप्रमुख न्यौपाने बताउनुहुन्छ । “पाँच वर्षमा नगरवासीको हितमा भए गरेका कामहरुको समिक्षा गर्ने दायित्व नगरवासीमा सुम्पिएका छौ”, उहाँले भन्नुभयो ।

नेपाल प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजिघोम्बा गाउँपालिका–९ का २९ वर्षीय फुरी शेर्पा, धादिङको गजुरी गाउँपालिका–५ का २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ३० वर्षीय विकास पुर्कुटीलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।   महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बूढानीलकण्ठ नगरपालिका–८ गल्फुटारस्थित लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्वपश्चिम गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुले ‘द नर्थ फेस’ लेखेको नीलोकालो झोलाभित्र सेतो बोराले बेरेर चितुवाको छाला बिक्रीवितरण गर्न हिँडेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   प्रहरीले पक्राउ परेकासँग लम्बाइ पुच्छरसहित ४.३ फिट र चौडाइ दुई फिट भएको चितुवाको छाला एक थान, लम्बाइ पुच्छरसहित ६.९ फिट र चौडाइ तीन फिट भएको चितुवाको छाला एक थान, छालाविनाको चितुवाको टाउको एक थान, ओपो मोबाइल तीन थान र सामसुङ कम्पनीको मोबाइल एकथान बरामद गरेको छ ।   पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको प्रवक्ता मैनालीले बताउनुभयो ।

स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज फिरफिरेमा दुर्घटना भएको हो । जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका छ महिनाका छोरा र वालिङ–१४ बस्ने ६१ वर्षीय कूलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो । जीपमा सवार रहेका ११ जनामध्ये अन्य छ जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ–१२ डाँडाँखर्कका ५० वर्षीय अङ्गबहादुर डाला, सोही ठाउँकी ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीया योगेन्द्र थापा, १८ वर्षीया नवीना सारु, १९ वर्षीया लक्ष्मी डाला र जीप चालक ६० वर्षीय दलबहादुर थापा रहेका छन् । घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको हो । मृत्यु भएका र घाइते भएका सबै एउटै गाउँका भएकाले अहिले गाउँ शोकमा डुबेको छ ।

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले वैष्णवी माताको जात्राको पूर्वसन्ध्यामा आज बिहान यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेण्डर विमोचन’ कार्यक्रममा उहाँले समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । “समाजमा हुने विकृति, विसङ्गति र चोरीका घटनाको अन्त्यका लागि सबैको साथ र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो । सिसी क्यामरा नभएको ठाउँमा चोरीका घटना धेरै बढेको भन्दै यसलाई नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको प्रहरी वरिष्ठ गिरीले बताउनुभयो । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताउनुभयो । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टुँडालदेवीको विकासका लागि सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको उहाँको भनाइ छ । सामुदायिक सेवा केन्द्रले टुँडालदेवी मन्दिर परिसरमा पाँचकोठे क्रियापुत्री भवन सञ्चालन गरेको छ । उक्त क्रियापुत्री भवनलाई आज समाजसेवी ओजस्वी शाहले २५ थान कम्बलसमेत वितरण गर्नुभएको छ । काठमाडौँ महानगरपालिका–४ का वडाध्यक्ष मोहनबहादुर विष्ट, नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक अमरसिंह शाहलगायतले समाजमा हुने आपराधिक क्रियाकलाप अन्त्यका लागि प्रहरी र स्थानीयवासीबीच सहकार्यको खाँचो रहेको बताउनुभयो । विसं २०५९ मा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्रले काठमाडौँ–४ मा हुने विकृति विसङ्गति अन्त्यका लागि विभिन्न सामाजिक काम गर्दै आएको केन्द्रकी प्रमुख, प्रहरी सहायक निरीक्षक कल्पना थापा धमलाले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाली सेनाका पूर्वअधिकृत, नेपाल प्रहरीका पूर्वअधिकृतलगायतको सहभागिता रहेको थियो ।

काठमाडौँ, २७ चैत (रासस)  प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो । प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थापा, मिनु गुरुङ, सुष्मा तामाङ र भूपेन्द्र थापामगरले प्रतिष्पर्धा गरेका थिए । नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर रहेका थिए । गुरुङले ५१ किलो, थापामगरले ६३, थापाले ५७ तथा तामाङले ४८ किलो तौल समूहमा प्रतिष्पर्धा गरेको मुख्य प्रशिक्षक थापामगरले जानकारी दिए । प्रतियोगितामा नेपालका धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

तनहुँ: वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका दुई पालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् । शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले सबै वडाका भूमिहीनलाई निस्सा वितरण सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी–७ शान्तिनगरबाट निस्सा वितरण सुरुआत गरेको हो । शुक्लागण्डकी–७ का ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । तीमध्ये ८६६ भूमिहीनको विवरण प्रविष्ट गरिएकामा पहिलो चरणमा २४७ लाई निस्सा वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो । निस्सा वितरणसँगै लालपुर्जाको प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो । नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ । यहाँका भूमिहीन विगत लामो समयदेखि लालपुर्जा पाउने आशामा बसिरहेका छन् । पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् । बन्दीपुरले पनि भूमिही सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर–१ बाट निस्सा वितरण थालिएको छ । उक्त वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने उहाँले बताउनुभयो । यसैगरी बन्दीपुर–४ र ५ का १३० भूमिहीनलाई निस्सा वितरण गरिएको छ । अध्यक्ष थापाका अनुसार गाउँपालिकाका छवटै वडामा करिब ३२५ भूमिहीनलाई निस्सा वितरण गरिनेछ । “भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेका हाँै, निस्सा दिएपछि अब लालपुर्जा पनि पाइन्छ भन्ने स्थानीयवासीलाई हौसला दिएका छौँ”, उहाँले भन्नुभयो । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले उनीहरुले लालपुर्जा पाउने पक्का भएको अध्यक्ष थापाले बताउनुभयो ।

ताप्लेजुङ: ताप्लेजुङसदरमुकाम फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान तथा अनुसन्धान केन्द्र बनेको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा भौतिक संरचना बनेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण भएको संरचना कूल लागत रु एक करोड ५७ लाख छ । काठमाडाँैस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको सो भवनको अङ्ग्रेजी अक्षर एल आकारको जग बसेको छ । वातारणमैत्री भवन भएकाले जैविक सामग्री प्रयोग गरिएको छ । निर्माण कम्पनीका सुभरभाइजर अमृत भट्टराईका अनुसार यो स्रोत केन्द्र बनाउँदा प्रयोग भएका सबै कच्चा पदार्थ वातावरणमैत्री र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको जानकारी दिनुभयो । गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर स्रोत केन्द्रको निर्माणमा प्रयोग गरिएको छ । उल्लेखित सामग्रीको मिलानले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकुलित प्रकृतिको हुने उहाँले बताउनुभयो । नेपालमा यस्ता कमै संरचना रहेको र त्यो तहको संरचना हिमाली जिल्ला ताप्लेजुङमा पनि बनेकामा पूर्वी नेपालकै लागि गौरवकै विषय भएको हिमाली संरक्षण मञ्चले जनाएको छ । विसं २०७६ मङ्सिरदेखि भवनको निर्माण सुरु भएको हो । गएको असार मसान्तमा सम्पन्न हुनुपर्नेमा महामारीका कारण लामो समयको लकडाउनले तोकिएको समयमा पूरा गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । भवन निर्माणकार्य ९९ प्रतिशत सम्पन्न भएको र अबको केही समयमै संरचना निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । देउराली भित्री वन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निमाकृपा शेर्पाले भवन बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीयस्तरमा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन तथा सदुपयोग गर्न, पर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडीबुटी, रेडपाण्डा र संरक्षित जङ्गली जनावर, पक्षी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन केन्द्र प्रभावकारी हुने उहाँको भनाइ छ । मञ्चका सचिव विवश केदेमले पाथीभरा क्षेत्र रेडपाण्डाका लागि उपयुक्त बासस्थान भएको क्षेत्र भएकाले यो केन्द्रलाई अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गरिने बताउनुभयो ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो । कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताउनुभयो । त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट रु २७ हजार चोरी भएको आचार्यले बताउनुभयो । चुडामणि शर्माको मेडिकल, नयनसिंह थापाको घर र मनबहादुर परियारको पसलबाट पनि चोरी भएको छ । उहाँहरुको के–कति चोरी भएको भन्ने विषयमा खोजी भइरहेको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको शाखा रहेको घरमा समेत तोडफोड भएको आचार्यले बताउनुभयो । चोरी भए, नभएको विषयमा खोजी भइरहेको छ । चोरी भएका सबै घर तथा पसलमा झ्याल, ढोका फोडेर चोरी भएको प्रहरीले जनाएको छ । बिहीबार राति साढे २ बजेसम्म बजारमा गस्ती गरेको प्रहरीले चोरीका विषयमा आज बिहानमात्रै जानकारी पाएको जनाएको छ । घटनाका विषयमा खोजी र अनुसन्धान भइरहेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार हरि शर्माले जानकारी दिनुभयो । तीन महिना पहिला कुश्मीशेरा बजारकै हेमलाल पौडेलको पसल फोडेर चोरी भएको थियो । प्रहरीले त्यतिबेला चोरी गर्नेलाई समेत पक्राउ गर्न सकेको छैन । तीन महिनापछि कुश्मीशेरा बजारमा पुनः चोरीका घटना बढेको स्थानीयवासी बताउँछन् ।