म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ ।   एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि...

  अछामको पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् ।   गए राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान् पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।

  खोटाङको खोटेहाङ गाउँपालिकाका किसानलाई बाँदर धपाउन उपकरण निःशुल्क रुपमा वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि उनीहरुलाई उपकरण उपलब्ध गराइएको हो ।   किसानलाई लक्षित गर्दै वडा नं ४ बडकादिया र वडा नं ७ खोटाङ बजारका किसानलाई युपिभिसी पाइपबाट निर्माण गरिएको उपकरण वितरण गरिएको हो । बडकादियाले र खोटाङ बजारका दश÷दश किसानलाई बाँदर धपाउने उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा रु दुई हजार ८०० का दरले खरिद गरेर बाँदर धपाउने उपकरण ल्याइएको खोटाङ बजारका वडाध्यक्ष शिव फुयाँलले बताउनुभयो ।   खोटाङ बजारमा आवश्यकताको आधारमा किसानले प्रयोग गर्न पाउनेगरी वडाका दश टोल सुधार समितिलाई उपकरण प्रदान गरिएको छ । किसानलाई १०० पटक पडकाउन पुग्ने कच्चा पदार्थसहित उपकरण प्रदान गरिएको हो । बन्दुक जस्तै आवाज आउने उपकरण सम्बन्धित वडा कार्यालयले खरिद गरेर किसानलाई निःशुल्क वितरण गरेको हो । मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायत बालीनाली बाँदरले सखाप पारेपछि त्यहाँका किसान हैरान छन् ।     यसअघि २०७५ फागुनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानमा ‘बाँदर समाऔँ’ अभियान सञ्चालन गरिएको थियो । बाँदरले आतङ्क मच्चाएपछि जिल्लाका अधिकांश खेतीयोग्य जमिन बाँझो छाडिएका छन् । टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन् ।

म्याग्दी  :  म्याग्दीका कृषकले उत्पादन गरेको सुन्तलाको बिरुवा बिक्री नहुँदा उनीहरु निराश भएका छन् । नयाँ नर्सरी बढे पनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा परेका छन् । रघुगङ्गा गाउँपालिका-२ को भगवती कृषि फार्मका सञ्चालक बालकृष्ण कटुवालले स्थानीय तहको नीतिगत कमजोरीले बिरुवाले बजार नपाएको बताउनुभयो ।    “स्थानीय तहका कृषि शाखाले सस्तो भनेर बाहिरी जिल्लाबाट ल्याएर बाँडेका बिरुवा हावापानी नमिलेर मरेका छन्”, उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेका बिरुवा बिक्री नभएर उखेलेर फाल्नुपर्ने अवस्था आएको छ ।” कूल ४७ हजार सुन्तलाका बिरुवा उत्पादन गरेका कटुवालले सोमबार १८ हजार बिरुवा ल्याएर मौवाफाँटस्थित गाउँपालिका कार्यालय अगाडि फालेर विरोध जनाउनुभएको थियो ।    पछिल्लो समय नर्सरी स्थापना हुनेक्रमसँगै म्याग्दीमा सुन्तला जात बिरुवाको उत्पादन बढेको छ । बजार बिस्तार हुन नसकेकाले बिरुवा नबिकेको अन्नपूर्ण गाउँपालिका-३ फगामका कृषक दुर्गादत्त सुवेदीले बताउनुभयो । वडा सदस्यसमेत रहनुभएका सुवेदीका अनुसार फगाममा उत्पादन भएकामध्ये करिब एक लाख सुन्तलाका बिरुवा बिक्री भएको छैन ।    बेनपा–९ र १० नम्बर वडाका चार फार्ममा टिमुरका ५० हजार र वडा नं ३ मा दुई लाख ३० हजार रोप्नका लागि योग्य सुन्तलाका बिरुवाले बजार नपाएको प्रशंसा बहुउद्देश्यीय नर्सरीका सञ्चालक सागर बानियाँले बताउनुभयो ।  “म्याग्दीमा उत्पादन भएको बिरुवाले गण्डकी प्रदेशलाई पुग्न सक्छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले जिल्लाकै उत्पादनलाई प्राथमिकता दिने कृषकमुखी नीति बनाउन नसके कृषक पलायन हुने अवस्था आउँछ ।”   जिल्ला दरअनुसार प्रति सुन्तलाको बिरुवाको मूल्य रु २५ छ । स्थानीय तहका कृषि शाखाले प्रतिस्पर्धामार्फत रु २० को हाराहारीमा बिरुवा खरिद गरेका छन् । बाहिरा जिल्लाबाट ल्याइने बिरुवा सस्तो भए पनि हावापानी नमिलेर मर्ने र रोगकिरा भित्रने गरेको कृषकले बताएका छन् ।    रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा सस्तो दरमा कबोल गर्ने फार्मसँग बिरुवा आपूर्तिको सम्झौता गरिएको र उसले उपलब्ध गराएका बिरुवा हावापानी नमिल्ने भएको पुष्टि भए कारबाही गरिने बताउनुभयो ।      वर्षा पर्याप्त हुने भएकाले असार, साउन र भदौमा सुन्तलाका बिरुवा रोप्ने गरिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बेनीस्थित सुन्तला जोन कार्यालयका कृषि अधिकृत विक्रम बस्यालले डेढ वर्षका बिजु बिरुवा रोप्न योग्य हुने बताउनुभयो । कृषकलाई सङ्गठित बनाएर बजारको खोजी गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । 

डोटी  :   दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ ।    नगरबसमा यात्रा गर्ने ६८ वर्षमाथिका पालिकाले वितरण गरेको क, ख र ग वर्गमा परेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पत्रकार र विद्यार्थीलाई तोकिएको भाडादरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।   नगरबसमा छुट सुविधा लिने व्यक्तिले यात्रा गर्दा आफ्नो परिचयपत्र अनिवार्य देखाउनुपर्ने नगरप्रमुख बाजीसिंह खड्काले जानकारी दिनुभयो । नगरपालिकाले नगरबसमा यात्रा गर्नेलाई ५० प्रतिशत छुट दिने निर्णय गरेपछि यहाँका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थी निकै खुसी भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ।   सार्वजनिक नतिजाअनुसार सरकारी विद्यालयतर्फबाट कास्कीमा अभिषेक न्यौपानेले ४.० जीपीए ल्याउन सफल भएका छन् । न्यौपाने अन्नपूर्ण गाउँपालिका – ३ काँडेको बालमन्दिर माध्यमिक विद्यालयका छात्र हुन् ।    न्यौपानेले कक्षा ५ बाट बालमन्दिरमा अध्ययन गरेका हुन् । एसइई परीक्षाको दौरान प्रधानाध्यापक रहेका सुरेन्द्र देवकोटाले न्यौपानै अत्यन्तै सिर्जनशील विद्यार्थी रहेको जानकारी दिए ।   ‘न्यौपाने अनुशासनको प्रतीक थिए’ हाल निवर्तमान प्रअ देवकोटाले भने ‘नाच्ने, गाउने र खेलकुदलगायत सबै क्षेत्रमा पोख्त थियो, उसलाई अलराउण्डर भन्न मिल्छ ।’   उनका अनुसार फुर्सद भयो कि पढिहाल्ने स्वभाव न्यौपानेको थिएन । एसइई परीक्षा अघिका कक्षामा न्यौपाने प्रायः चौथो हुने देवकोटाले बताए ।    न्यौपानेको स्थायी ठेगाना पर्वतकाे बियादी गाउँपालिका ४ हो ।  उनी कक्षा ४ सम्म पर्वतमै पढेका हुन् । काठमाण्डौंको बुढानिलकण्ठ स्कुलअन्तरगतको पब्लिक पार्टनरशीप प्रोग्राम (पीपीपी)अन्तरगत नाम निकालेर बालमन्दिरमा पढ्न आएको देवकोटाले जनाए ।    ‘स्याङजा, पर्वत सीमा घर भएकाकारण न्यौपाने परिवारले आवासीय विद्यार्थीकारुपमा लुम्लेको बालमन्दिर रोजेका हुन्’ पूर्वप्रधानाध्यापक देवकोटाले भने ‘बालमन्दिर पढ्न पीपीपीमा नामै निकालेर आएका हुन् न्यौपाने ।’    यसपटकको नतीजाअनुसार कास्कीमा २ जनाले ४ जीपीए ल्याएका छन् । जसमध्ये अर्का एक निजी विद्यालय डिज्नेल्याण्ड एकेडेमीकी छात्रा रितिका पोखरेल हुन् । रितिका कक्षा १ देखि नै डिज्नेकी विद्यार्थी हुन् ।    कास्कीको अन्य नतीजा विवरण टेबलमा उल्लेख गरिएको छ । 

पोखरा  :  गण्डकी प्रदेश सभाको आजको बैठकमा  दुई विधेयक विधायन समितिको प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत भएको छ ।   बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले विधायन समितिको प्रतिवेदनसहित गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गर्नुभयो ।   बैठकको विशेष समयमा प्रदेशसभा सदस्य आशा कोइरालाले आव २०७८÷०७९ मा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको बताउनुभयो ।    उक्त कार्यक्रमअन्तर्गत उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका ४० प्रतिशत योजनाको अझै पनि भुक्तानी हुन नसकेकोप्रति प्रदेश सरकार र भौतिक पूर्वाधार विकास मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।   अर्का सदस्य खिमविक्रम शाहीले  बागलुङबाट बुर्तिवाङ जाने करिब १० किमि बाटो वर्षौंदेखि बिग्रेको बताउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य रामशरण बस्नेतले सदन जनताको आवाज उठाउने थलो भए पनि शून्य तथा विशेष समयमा उठाएका आवाजलाई सरकारले सुनुवाइ नगरेको बताउनुभयो । संसद्मा उठेका विषयलाई गम्भीरताका साथ हेर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।   आजको बैठकको विशेष तथा शून्य समयमा सदस्य मायानाथ अधिकारी, राजीव पहारी, भागवतप्रकाश मल्ललगायतले समसामायिक विषयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

काठमाडौँ:    वाग्मती प्रदेशसभाको दसौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दसौँ अधिवेशन गए राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको हो ।      राति नै प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै प्रदेशसभाको दसौँ अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको थियो । आव २०७९/८० का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवं बजेट तथा केही विधेयकहरु दसौँ अधिवेशनले पारित गरेको छ । प्रदेशसभाको सोमबारको बैठकले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको थियो भने सरकारले प्रस्तुत गरेका अन्य केही विधेयक भने पास हुन सकेनन् ।

  विराटनगर:   प्रदेश नं १ मा कोभिड–१९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६  नागरिकले लगाएका छन् । प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ वर्षदेखि माथिका ७९ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप यही साउन ४ गतेसम्म लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिनुभयो ।    खोप लगाउनेमध्ये १२ वर्षमाथिका ८१ प्रतिशतले पहिलो  मात्रा, ७९ प्रतिशतले दोस्रो र पाँच प्रतिशतले बुस्टर डोज खोप लगाएको प्रमुख साहले बताउनुभयो । प्रदेशमा कोभिड– १९ विरुद्धको  छ प्रकारका  खोप नागरिकलाई लगाएका छन् । यसरी लगाइएका खोपमा  कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, अष्ट्राजेनेका, फाइजर र मोर्डना रहेका छन् ।       प्रदेशमा  अहिलेसम्म ७१ लाख ५७ हजार ४३९ मात्रा खोप आएको छ । कतिपय नागरिकले पहिलो खोप लगाएपश्चात विदेश गएको, अन्य प्रदेशमा लगाएको र व्यवस्थित अभिलेख राख्न नसकेका कारण दोस्रो तथा बुस्टर मात्रा कम देखिएको छ ।   प्रदेशका तराईका जिल्लाको तुलनामा पहाडी तथा हिमाली जिल्लामा खोप लगाउनेको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको प्रमुख साहले बताउनुभयो । तराई क्षेत्रमा विभिन्न अफवाह एवं भ्रमका कारण खोप लगाउनेको सङ्ख्या कम हुन गएको केन्द्रले जनाएको छ ।     यस्तै प्रदेशका १० जिल्लामा भेरोसेल, जोनसन र फाइजर खोपको मौज्दात रहेको केन्द्रले जनाएको छ । ताप्लेजुङ, ओखलढुङ्गा, धनकुटा, मोरङमा कोभिड १९ विरुद्धको खोप मौज्दात नरहेको केन्द्रका निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।       प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र कार्यालयमा फाइजरको एक लाख ७४ हजार ८०० सय मात्रा मौज्दात  रहनुका साथै प्रदेशका सबै जिल्लामा गरी चार लाख १८ हजार डोज खोप बाँकी रहेको कार्यालयका श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशमा अहिले सरदर दुई हजार ८५० जनाले दैनिक खोप लगाइरहेको कार्यालयका प्रमुख साहले बताउनु भयो ।      यस्तै प्रदेशमा ११ हजार कोभिसिल्ड खोप खेर गएको छ । केन्द्रका अनुसार म्याद सकिन १५ दिन बाँकी रहेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडाँैबाट उक्त खोप पठाएका कारण खेर गएको हो । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख साहले यसअघि पनि प्रयोग हुन नसक्द अष्ट्राजेनेकाको ५० हजार खोपको  मात्रा खेर गएको थियो । 

  काठमाडौँ:    करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी) केन्द्र यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो ।  बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।     यही साउन ४ गते बुधबार दिउँसो ३ बजे सभामुख शाहीको संयोजकत्व बसेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुङ्गिएको थियो । बैठकमा केही टुङ्गो नलागेपछि उहाँले यो समस्यालाई सत्ता गठबन्धन दलभित्र समाधान गर्न सुझाउनुभएको थियो । उहाँले माओवादी केन्द्रले सदनसँग आधारित भएर राखेका माग पूर्ति गर्ने गरी सम्बोधन गरिएको जानकारी दिनुभयो ।      मुख्यमन्त्री जीवनबहादुर शाहीले अवरोधलाई खुलाउन सहमति र सहकार्य अपरिहार्य रहेको जनाउनुभयो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले गठबन्धन दलभित्रको छलफल सकरात्मक रहेको बताउनुभयो ।    मूलतः सत्ता गठबन्धन सरकारका गतिविधि, क्रियाकलाप र योजनालाई प्रभावकारी बनाएर लैजानका लागि साझा प्रयासलाई अनिवार्य शर्त बनाएर अगाडि बढ्ने सहमति र साझा धारणा बनाउन आइतबार मुख्यमन्त्री शाही, नेकपा माओवादी केन्द्र प्रदेशसभा दल नेता महेन्द्रबहादुर शाही, नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दल नेता चन्द्रबहादुर शाहीबीच छलफल भएको थियो ।