पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।   पोखरा...

  सुर्खेत ।    कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका १०९ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स राखिने भएको हो । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रमले लिएको छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशका ११ स्थानीय तहका १०९ वटा विद्यालयमा नर्स राखेर यस वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ । जस अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका २०, भेरीगंगा नगरपालिकाका १० वटा विद्यालय रहेका छन् । दैलेखको नारायण नगरपालिकाका १०, कालिकोटको खाँडाचक्र नगरपालिकाका १० वटा विद्यालय, जुम्लाको चन्दननाथ नगरपालिकाका ५ वटा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका ५ वटा विद्यालय, हुम्लाको सर्केगाड गाउँपालिकाका ४ वटा विद्यालय रहेका छन् ।   त्यस्तै, सल्यानको शारदा नगरपालिकाका १० वटा विद्यालय, त्रिवेणी गाउँपालिका भित्रका ११ वटा विद्यालय, जाजरकोटको छेडागाड नगरपालिकाक १४ र रूकुमपश्चिमको मुसिकोट नगरपालिका भित्रका १० वटा विद्यालयमा नर्स राखिने भएको छ । एक विद्यालय एक नर्स कार्यक्रम तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले सुरु गर्नुभएको थियो । 

पोखरा: गण्डकी प्रदेश सरकारले खानेपानी वितरण स्वच्छ, सर्वसुलभ बनाउने योजना अनुरुप ‘गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पारित गरेको छ । उक्त विधेयक प्रदेशसभा बैठकबाट सर्वसम्मत पारित भएको छ ।    विधेयक अनुसार कसैले खानेपानी संस्थानको पानी चोरी गरी उपभोग गरेमा ५० हजार रुपैयाँ जरिवाना गरिने उल्लेख गरेको छ । त्यस्तै, खानेपानीमा ढल वा मलमुत्र मिसाएमा ५ लाख रुपैयाँसम्म जरिवाना गरिने ऐनमा उल्लेख गरिएको छ ।    ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले गत चैत २३ गते विधेयक प्रदेशसभामा प्रस्तुत गरेका थिए ।   ऐनमा ढल व्यवस्थापन, अनुमति नलिएरै सञ्चालन गरिने खानेपानी सेवा, विधेयक विरुद्धका काम, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी पानी प्रयोग गर्ने कार्य लगायतमा कडाइ गर्दै ५० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने भनिएको छ।   ऐनमा खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनधिकार पानी प्रयोग गर्ने कार्य गरेमा पचास हजार रुपैयाँ तथा  मानव मलमूत्रसहित वा रहितको फोहोर पानी ढल निकास प्रणालीमा विसर्जन गरेमा वा मलमूत्र सिधै नदी, जलाशय वा जमिनमा विसर्जन गरेमा पाँच लाख सम्मको जरिवाना हुने भनिएको छ।   यस्तै, अनुमति नलिईकन खानेपानी सेवा, सरसफाइ तथा आयोजना वा सेवा प्रणालीको निर्माण तथा सञ्चालन पनि गर्न नपाइने तथा विधेयकमा भएको प्रावधान विपरीतको कार्य गरेमा प्रदेश सरकारले एक लाख रुपैयाँसम्मको जरिवाना तिराउने उल्लेख छ।   ऐनको दफा ३३ मा ऐनले कसुर मान्ने कुराहरू उल्लेख गरिएको छ। जसमा अनुमति पत्र नलिई खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवा प्रणालीको निर्माण वा सञ्चालन, खानेपानी सेवा तथा सरसफाइ सेवाको अनधिकार प्रयोग गरेमा वा त्यसको दुरुपयोग, अनुमति पत्र प्राप्त संस्थाले जडान गरेको निजी धारामा उपभोक्ताले अनुमति प्राप्त संस्थाको स्वीकृति विना कुनै अवाञ्छित फाइदा लिने उद्देश्यले गरिने कार्य, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनधिकार पानी प्रयोग गर्ने कार्य, जलाधार क्षेत्र भित्र खानेपानी प्रदूषित गर्ने वा पानीको परिमाण वा बहावमा असर पर्ने काम रहेका छन्।

  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावना अनुरुप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।   नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसका उम्मेदवारको सम्मानार्थ  आयोजित कार्यक्रममा उहाँले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने बताउनुभयो । नवनिर्वाचित जनप्रतिनिधिलाई इमान्दारिता र जिम्मेवारिताका साथ क्रियाशील बन्न उहाँले आग्रह गर्नुभयो ।   राष्ट्रिय आवश्यकताका आधारमा नेपालमा राजनीतिक दलहरू एकताबद्ध हुने गरेको बताउँदै उहाँले आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिको जनता तथा समाजप्रतिको जिम्मेवारी अहम् हुने बताउँदै जिम्मेवारीलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।   कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले कांग्रेसी कार्यकर्ताप्रति समाज तथा राष्ट्रले ठूलो अपेक्षा एवं विश्वास गर्ने बताउँदै त्यही भावनाका साथ समाजका हरेक गतिविधिमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई आगामी निर्वाचनमा अझै बलियो बनाउँदै लैजान सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभयो । कार्यक्रममा पार्टीका उपसभापति रामबाबु भण्डारी, सहसचिव नवीन सिग्देल लगायतले आसन्न निर्वाचनमा कांग्रेसलाई अझै सशक्त बनाउने गरी लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनतामा लैजान जरूरी रहेको बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पु¥याउने र अन्तरपार्टी व्यवस्थापन गर्ने काममा तत्काल लाग्न समेत निर्देशन दिनुभयो ।   एमाले लुम्बिनी प्रदेशस्तरीय सङ्गठन व्यवस्थापन तथा परिचालन विषयक दुईदिने कार्यशालामा आज प्रशिक्षण मूलक मन्तव्य दिँदै उपाध्यक्ष पौडेलले एमालेले स्थानीय चुनावमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा कार्यक्षेत्रको सुझाव, जित्न सक्ने सम्भावना र जितिसकेपछि पनि अनुचित काम नगर्ने व्यक्तिलाई प्राथमिकता दिई टिकट वितरण गर्ने पार्टीको नीति रहेको स्पष्ट पार्नुभयो ।    पार्टी केन्द्रीय कमिटीका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले सुधारको कुरा हरेक कमिटीबाट सुरू गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । एमाले केन्द्रीय सङ्गठन विभागका प्रमुख खगराज अधिकारीले एमाले योग्यता पूर्वक सङ्गठन सञ्चालन गर्ने पार्टी रहेको दाबी गर्नुभयो ।

  विराटनगर:    प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिकोत्सवमा उहाँले बढ्दो आयातलाई प्रतिस्थापन गर्न सहकारीलाई कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।   “कृषि प्रधान मुलुकमा कृषिजन्य वस्तुकै आयात बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “बचत तथा ऋणमा दर्ता भए पनि कृषिक्षेत्रलाई प्रवद्र्धन हुने गरी लगानी गर्न म आग्रह गर्छु ।” सहकारीहरूले गर्ने लगानी उत्पादनमुखी ​कार्यमा बढी केन्द्रित हुनसके मात्र मुलुकको अर्थतन्त्र सबल बन्दै जाने उहाँको भनाइ थियो ।   राज्यको तीनखम्बे अर्थनीतिको एउटा खम्बाका रूपमा सहकारी रहेकाले राज्यको आवश्यकतानुसार सहकारी ढल्नुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारीमा समस्या हुनुका साथै केही विकृति बढेको चर्चापरिचर्चा हुन थालेकाले उहाँले जटिलता र समस्याका बारेमा छलफल नगरे सहकारी क्षेत्रले अपेक्षाकृत गति लिन नसक्ने जनाउनुभयो ।   कार्यक्रममा हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गालले संस्था स्थापनाको छोटो अवधिमै संस्थाले रु दुई अर्बको वासलात बनाउन सफल भएको जानकारी दिनुभयो । संस्थाको हाल रु १७ करोड ५० लाख शेयर पूँजी, रु ९० करोड ७५ लाख बचत सङ्कलन र रु एक अर्ब ७५ लाख ऋण लगानी रहेको छ । संस्थाले झापा, मोरङ र इलाम जिल्लामा ३० वटा सेवा केन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा हाल २४२ कर्मचारी कार्यरत छन् ।   कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चाल शिव डाँगी, नेफ्स्कुनका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्ली दाहललगायतले संस्थाको प्रगतिको थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।   स्वर्गद्वारी मन्दिर दर्शन गरेर भिङ्ग्रीतर्फ आउदै गरेको लु ३ च ३५३ नम्बरको जीप शनिबार मध्याह्न भ्यागुतेमा दुर्घटना भएको हो ।   दुर्घटनामा परी रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।   प्रहरीका अनुसार दुर्घटनामा १४ जना  घाइते भएका छन् । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा १७ जना सवार थिए । यद्यपि, जीप दुर्घटनाको कारण खुलिसकेको छैन ।

  अछामको पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् ।   गए राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान् पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।

  खोटाङको खोटेहाङ गाउँपालिकाका किसानलाई बाँदर धपाउन उपकरण निःशुल्क रुपमा वितरण गरिएको छ । बाँदरले अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि उनीहरुलाई उपकरण उपलब्ध गराइएको हो ।   किसानलाई लक्षित गर्दै वडा नं ४ बडकादिया र वडा नं ७ खोटाङ बजारका किसानलाई युपिभिसी पाइपबाट निर्माण गरिएको उपकरण वितरण गरिएको हो । बडकादियाले र खोटाङ बजारका दश÷दश किसानलाई बाँदर धपाउने उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा रु दुई हजार ८०० का दरले खरिद गरेर बाँदर धपाउने उपकरण ल्याइएको खोटाङ बजारका वडाध्यक्ष शिव फुयाँलले बताउनुभयो ।   खोटाङ बजारमा आवश्यकताको आधारमा किसानले प्रयोग गर्न पाउनेगरी वडाका दश टोल सुधार समितिलाई उपकरण प्रदान गरिएको छ । किसानलाई १०० पटक पडकाउन पुग्ने कच्चा पदार्थसहित उपकरण प्रदान गरिएको हो । बन्दुक जस्तै आवाज आउने उपकरण सम्बन्धित वडा कार्यालयले खरिद गरेर किसानलाई निःशुल्क वितरण गरेको हो । मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायत बालीनाली बाँदरले सखाप पारेपछि त्यहाँका किसान हैरान छन् ।     यसअघि २०७५ फागुनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानमा ‘बाँदर समाऔँ’ अभियान सञ्चालन गरिएको थियो । बाँदरले आतङ्क मच्चाएपछि जिल्लाका अधिकांश खेतीयोग्य जमिन बाँझो छाडिएका छन् । टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन् ।

म्याग्दी  :  म्याग्दीका कृषकले उत्पादन गरेको सुन्तलाको बिरुवा बिक्री नहुँदा उनीहरु निराश भएका छन् । नयाँ नर्सरी बढे पनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा परेका छन् । रघुगङ्गा गाउँपालिका-२ को भगवती कृषि फार्मका सञ्चालक बालकृष्ण कटुवालले स्थानीय तहको नीतिगत कमजोरीले बिरुवाले बजार नपाएको बताउनुभयो ।    “स्थानीय तहका कृषि शाखाले सस्तो भनेर बाहिरी जिल्लाबाट ल्याएर बाँडेका बिरुवा हावापानी नमिलेर मरेका छन्”, उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेका बिरुवा बिक्री नभएर उखेलेर फाल्नुपर्ने अवस्था आएको छ ।” कूल ४७ हजार सुन्तलाका बिरुवा उत्पादन गरेका कटुवालले सोमबार १८ हजार बिरुवा ल्याएर मौवाफाँटस्थित गाउँपालिका कार्यालय अगाडि फालेर विरोध जनाउनुभएको थियो ।    पछिल्लो समय नर्सरी स्थापना हुनेक्रमसँगै म्याग्दीमा सुन्तला जात बिरुवाको उत्पादन बढेको छ । बजार बिस्तार हुन नसकेकाले बिरुवा नबिकेको अन्नपूर्ण गाउँपालिका-३ फगामका कृषक दुर्गादत्त सुवेदीले बताउनुभयो । वडा सदस्यसमेत रहनुभएका सुवेदीका अनुसार फगाममा उत्पादन भएकामध्ये करिब एक लाख सुन्तलाका बिरुवा बिक्री भएको छैन ।    बेनपा–९ र १० नम्बर वडाका चार फार्ममा टिमुरका ५० हजार र वडा नं ३ मा दुई लाख ३० हजार रोप्नका लागि योग्य सुन्तलाका बिरुवाले बजार नपाएको प्रशंसा बहुउद्देश्यीय नर्सरीका सञ्चालक सागर बानियाँले बताउनुभयो ।  “म्याग्दीमा उत्पादन भएको बिरुवाले गण्डकी प्रदेशलाई पुग्न सक्छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले जिल्लाकै उत्पादनलाई प्राथमिकता दिने कृषकमुखी नीति बनाउन नसके कृषक पलायन हुने अवस्था आउँछ ।”   जिल्ला दरअनुसार प्रति सुन्तलाको बिरुवाको मूल्य रु २५ छ । स्थानीय तहका कृषि शाखाले प्रतिस्पर्धामार्फत रु २० को हाराहारीमा बिरुवा खरिद गरेका छन् । बाहिरा जिल्लाबाट ल्याइने बिरुवा सस्तो भए पनि हावापानी नमिलेर मर्ने र रोगकिरा भित्रने गरेको कृषकले बताएका छन् ।    रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा सस्तो दरमा कबोल गर्ने फार्मसँग बिरुवा आपूर्तिको सम्झौता गरिएको र उसले उपलब्ध गराएका बिरुवा हावापानी नमिल्ने भएको पुष्टि भए कारबाही गरिने बताउनुभयो ।      वर्षा पर्याप्त हुने भएकाले असार, साउन र भदौमा सुन्तलाका बिरुवा रोप्ने गरिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बेनीस्थित सुन्तला जोन कार्यालयका कृषि अधिकृत विक्रम बस्यालले डेढ वर्षका बिजु बिरुवा रोप्न योग्य हुने बताउनुभयो । कृषकलाई सङ्गठित बनाएर बजारको खोजी गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।