पोखरा: नेपाली भाषा शिक्षक परिषद्को पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यक्रम सम्पन्न भएको छ । ‘भाषा सभ्यताको संवाहक हो’ भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रम गर्दै आएको नेपाली भाषा शिक्षक परिषद्,कास्की, नेपालले परिवर्तित कक्षा ५,८ र १० को पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रहेर नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकाहरूको सहभागिता र पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण कार्यक्रम सम्पन्न गरको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि एवंम् शिक्षा विकास तथा समन्वय इकाई ,कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले शुभकामना मन्तव्य राख्दै नेपाली भाषा शिक्षक परिषद्ले समय समयमा शिक्षकको पेसागत अभिवृद्वि, भाषा विकास र विद्यार्थीलक्षित कार्यक्रम गरेर पु¥याएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रममा आफ्नो सधैं साथ रहने प्रतिबद्वता व्यक्त गरेका थिए । कार्यक्रममा सल्लाहकार एवंम् संस्थापक अध्यक्ष माधवशरण उपाध्याय ,प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल ,कुमुदिनी होम्स माध्यमिक विद्यालयका संस्थापक निर्देशक अशोक पालिखेलगायतले शुभकामना मन्तव्य राखनुका साथै किुमुदिनी होम्स मा. वि.को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापनरत दुई सयभन्दा बढी शिक्षक शिक्षिकाहरूको सहभागी भई लाभान्वित भएको जानकारी संस्थाका उपाध्यक्ष बिक्रम पौडेलले दिएका हुन । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शिवहरि सुवेदीले गर्नुभएको जानकारी परिषद्का सचिव नारायणप्रसाद पराजुलीले दिएका छन ।
पोखरा: “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” भन्ने उद्घोषका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्येक महिनाको तेस्रो शनिवार संचालन हुँदै आइरहेको साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९८ औं श्रृंखला शनिबार पोखरा घारिपाटन अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा तत्स्थानमा सिर्जित रचना वाचन गरी सम्पन्न भएको छ । । अक्षरयात्राको परिकल्पनाकार मध्येका एक दीपक समीपले विगत १८ वर्षदेखि अविच्छिन्न रुपमा संचालन हुँदै आएको कार्यक्रममा विगतमा आएको वैश्विक महामारी कोरोनाको कारणले लगभग एक वर्ष रोकिनु परेको कुरा बताउँदै अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा विगतमा पनि कार्यक्रम संचालन गर्दा हार्दिकतापूर्वक स्वागत गरेकोमा आभार व्यक्त गर्नुभयो । संग्रहालयका प्रमुख निर्मला न्यौपानेले संग्रहालयले हरेक समय अक्षरयात्रीहरुलाई स्वागत गर्ने बताउँदै आभार प्रकट गर्नुभयो । अक्षरयात्राका अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका महासचिव संजीव पौडेल, मुक्तकमन्च,केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्य, संगम संगीत समितिका अध्यक्ष काजी गाउँले, सूरज पौडेल, रोष नास्तिक, कपिल शर्मा, बिकाश लुँगेली,अमृत क्षेत्री र वसन्त विनोदले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रमको अध्यक्षता गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदले गरेका थिए भनें संचालन सूरज उपाध्यायले गरेका थिए ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाचौं साधारण सभाको उद्घाउनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको बताएका हुन् । उनले दैविक प्रकोप पूर्वतयारी र प्रकोप पछिको अवस्थामा रेडक्रसले खेलेको भूमिका प्रशंसनिय रहेको बताए । ‘गण्डकी प्रदेश पनि प्राकृतिक प्रकोपको बढि प्रभावित हुने प्रदेश भएकाले रेडक्रसको ठुलो भूमिका रहेको भन्दै भुकम्पको अवस्थामा पनि रेडक्रसले ठुलो भूमिका निभाएको सबैलाई थाहा छ, जनताको साथमा रहेको काम गर्नुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’ मुख्यमन्त्री पाण्डेले भने । मुख्यमन्त्री पाण्डेले रेडक्रसको केन्द्रीय अधिवेशन केही वर्षदेखि रोकिएको भन्दै रेडक्रसको नेतृत्व गर्नेहरुमा समस्या देखिएको बताए । ६० वर्ष सम्म मानविय सहयोगको लागि काम गरेको संस्थालाई व्यवस्थित गर्नुपर्ने पाण्डेले जोड दिए । कार्यक्रममा बोल्दै रेडक्रस लुम्बिनीका अध्यक्ष कृष्ण पंगेनीले रेडक्रसले खेलेको भूमिकालाई केही घटनाका आधारमा नजरअन्दाज गर्न नहुने बताए । प्रदेश संरचना नयाँ भएकाले स्थापित गर्नका लागि सबैले पहल गर्नुपर्ने उनले बताए । रेडक्रस बागमतीका महासचिव रामजी पौडेलले केन्द्रीय समितिको महाधिवशेनका लागि जिल्ला जिल्लाबाट दवाव दिनुपर्ने बताए । उनले रेडक्रसको असल प्रयासलाई धमिलो हुन दिन नहुनेमा जोड दिए । कार्यक्रममा बोल्दै नपाल रेडक्रस केन्द्रीय कार्यालयका निर्देशक पुजा कोइरालाले नेपाल रेडक्रसको अन्तराष्ट्रिय पहिचान उत्कृष्ट रहेको बताइन् । कोइरालाले समिति विहिन भए पनि केन्द्रीय रेडक्रसले नियमित रुपमा संचालन भइरहेका कार्यलाई निरन्तरता दिइरहेको भनाई राखेकी थिइन् । तनहुँ रेडक्रसका सभापति प्रा.डा. कृष्ण प्रसाद गौतमले रेडक्रसका गतिबिधिलाई निरन्तर समाजसंग जोड्नुपर्नेमा बताए । युवा रेडक्रस सर्कल भनुभक्त क्याम्पस तनहुँका सभापति सुनिता तिवारीले रेडक्रसबाट आफुले सिक्ने अवसर पाएको बताइन् । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सीनाले रेडक्रसको भूमिकालाई कमजोर हुन दिन नहुने बताइन् । कार्यक्रममा रेडक्रस पर्वत र कास्की शाखाका कर्मचारीलाई दोसल्ला, प्रमाणपत्र र नगद ५ हजारले सम्मान गरिएको थियो । सम्मानित हुनेमा पर्वत रेडक्रस कार्यालय प्रमुख खेम बहादुर क्षेत्री र कास्की शाखा प्रमुख मोहन सिंह खड्का रहेका छन् ।
पोखरा: पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना र कोशिशको प्राविधिक सहयोगमा पोखरा महानगरभित्र रहेका ५४ जना नर्सिङ स्वास्थ्यकर्मीहरुलाई ५ दिने मनोसामाजिक मनोविमर्शको आधाभूत तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाभित्र रहेको नर्सिङ स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी वैशाख ४ गते देखि ८ गते सम्म पहिलो समूह र बैशाख ११ देखि १५ गते सम्म ५४ जना स्वास्थ्यकर्मीहरुलाई दुई समूहमा विभाजन गरी तालिम सञ्चालन गरिएको मानसिक स्वास्थ्य फोकल दिपेन्द्र सुनारले जानकारी दिए । नेपालको संविधान २०७२ र मानसिक स्वास्थ्यको रणनीति २०७७ सबैलाई मानसिक स्वास्थ्य सबैको पहुँच र सर्व सुलभ बनाउने उल्लेख गरेको भए पनि मानसिक स्वास्थ्य कम प्राथमिकतामा परेको अवस्थामा पोखरा महानगरले यसलाई प्राथमिकताका साथ लिएको मानसिक स्वास्थ्य फोकल सुनारले बताए । पछिल्लो समय महानगरभित्र मानसिक स्वास्थ्य र आत्महत्याका घटनाहरु बढीरहेको अवस्थामा यस्ता तालिमले समस्याको पहिचान सही समयमा गर्न सकिने र थप सहयोगका लागि सिफारिस गर्न सकिने महाशाखा प्रमुख कृष्ण प्रसाद आर्यालले बताए । तालिममा मनोसामाजिक र मानसिक स्वास्थ्य समस्याको पहिचान, सहयोग कसरी गर्ने भन्ने बिषयमा केन्द्रीत थियो । तालिम कोशिशका मनोबिद्धहरु विजय राई, सिता भण्डारी, आरती अधिकारी र गण्डकी मेडिकल कलेजका मनोचिकित्सक डा. रवि राज तिमल्सेनाले सहजीकरण गरेका थिए । तालिमको समापनमा कोशिशका परियोजना संयोजक सुदीप घिमिरे, स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत नानी वावु ढकाल, फुलदेव तिमल्सेनाको पनि उपस्थिति रहेको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ डेभिजफलमा गुप्तेश्वर महादेव गुफा र छोरेपाटन मावि पार्किङ ब्यबस्थापन समितिद्धारा नवनिर्मित सार्वजनिक शौचालयको पोखरा– १७ की वडा अध्यक्ष राधिका शाही योगीले उद्घाटन गरेकी छिन् । वडा अध्यक्ष योगी शौचालयको उद्घाटन गर्दै कर्मचारी राखेर शौचालयको नियमित सरसफाइ गर्न, पार्किङको सौन्दर्यकरणमा विशेष ध्यान दिन, पÞmोहोरको व्यवस्थापन, पर्यटकको लागि चमेना गृह, कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताईन । निवर्तमान वडा अध्यक्ष तिर्थराज अधिकारीले अध्ययन गरेर परियोजना अनुरुप काम गर्न अनुरोध गर्दै देशविदेशका पर्यटक आउने भएकोले वगैंचा सहितको नमुना पार्किङ बनाउन सुझाव दिए । त्यसै गरी गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला, छोरेपाटन माबी ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण लम्साल, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष श्रीराम सुवेदी लगाएतले बोलेका थिए । समितिका सदस्य इश्वरी प्रसाद लम्सालले शौचालय निर्माणको आयव्यय प्रस्तुत गर्दै ३५ लाख खर्च भएको बताउँदै उक्त शौचालय निर्माणको लागि मुख्य गरी छोरेपाटन मावि, गुप्तेश्वर महादेव गुफा र वडा कार्यालयबाट आर्थिक सहयोग प्राप्त भएको बताए । समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका सदस्य युवराज लामिछाने (युवक) र संचालन हरिप्रसाद लम्सालले गरेका थिए ।
पोखरा: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पोखरा–२२, पुम्दीभुम्दीमा गैरसरकारी संस्था नेपाली गाउँका साथीहरुलगाएतका स्वदेशी तथा विदेशी संस्थाद्धारा नवनिर्मित आमाघर पाठशालाको बहुउद्धेश्यिय नयाँभवनको उद्घाटन गर्नुभएको छ । उहाँले भवन उद्घाटन गर्दै निजि र सरकारी विद्यालयको साथ साथै गैरसरकारी संस्थाले पनि सुलभ शुल्कमा उच्चस्तरिय शिक्षा प्रदान गर्ने उद्धेश्यले स्थापना भएको आमाघर पाठशालाको शैक्षिक भविष्य उज्ज्वलको कामना गर्दै विद्यालय वनाउन आर्थिक सहयोग गर्ने नेदरल्याण्डका सहयोगी दाताहरुको पनि प्रशसा गर्नु भएको थियो । साथै सो अवसरमा उहाँले नेदरल्याण्डमा रहेका लाइट अफ लाइफ फाउन्डेसन तथा वाल सेवा फाउन्डेशन र नेपालमा स्थापना गरिएको नेपाली गाउँका साथीहरु र नेपाल बिकास एकेडेमीका पदाधिकारीलाई सम्मान पत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनको अवलोकन गर्नुभएको थियो । कार्यक्रममा पोखरा-२२ का वडा अध्यक्ष हिमलाल बराल वडा भित्र रहेका सबै शैक्षिक, धार्मिक, सामाजिक भवनहरुको संरक्षण तथा विकासमा अभिभावकीय भुमिका खेल्ने वताउनु भयो । नेदरल्याण्डको गैरनाफामुलक गैरसरकारी संस्था बालसेवाका मार्लिन फिसर र रोबर्ट भ्यानले पनि सहयोग लाई निरन्तरता दिने वताउँदै नेपाली गाउँका साथीहरु संस्था, शिक्षक, कर्मचारीलाई धन्यवाद दिएका थिए । संस्थाका अध्यक्ष डा. नारायण शर्माले स्थानीय बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै प्राबिधिक शिक्षाका साथै इन्जिनियरिङ कलेज बनाउने संस्थाको उद्देश्य रहेको वताउनु भयो । नेपाली गाउँका साथीहरू संस्थाका पुर्व अध्यक्ष गोविन्द उपाध्याय, सचिव मोतीप्रसाद पौडेल, अभिभावकहरु झलक बराल, मन्दिरा बराल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति, तिलाहार आमा समुहको स्वागत गित, नेदरल्याण्डमा रहेर संस्थालाई यहाँसम्म ल्याउन योगदान दिएका शशि पौडेलको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । सो अवसरमा संस्थामा दश बर्षदेखि निरन्तर सेवा गर्नुहुने शिक्षक, कर्मचारीहरु तथा नेडरल्याण्डका दाताहरुलाई सम्मान गरिएको थियो ।
पोखरा: पद्म नर्सिङ्ग होम प्रा.लि.ले सत्यता बचत तथा ऋण सहकारी संस्था लि.का सेयर सदस्यलाई उपचारमा छुट प्रदान गर्ने भएको छ । पोखरा –३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रा.लि.ले पोखरा – २६ मा कार्यालय रहेको सत्यता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यलाई नर्सिङ्ग होममा उपचार गराउदा बिशेष छुट सुबिधा उपलब्ध गराउने सम्झौता गरेको हो । दुबै संस्था बिच शुक्रबार उपचारमा छुट सुबिधा दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नर्सिङ्ग होमको तर्फबाट प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला र सहकारीका तर्फबाट अध्यक्ष निकिता सुबेदीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार नर्सिङ्ग होमले सहकारीका शेयर सदस्यहरुलाई बहिरंग (ओपिडी) सेवा बाहेकका अन्य उपलब्ध सेवाहरुमा २० प्रतिशत र ओैषधीमा ५ प्रतिशत छुट दिने पद्म नर्सिङ्ग प्रा.लि. सहायक ब्यवस्थाक नरेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छुट सेवा प्राप्त गर्नका लागि नर्सिङ्ग होमले उपलब्ध गराएको सहुलियत कार्डमा सहकारीको आधिकारीक व्यक्तीले प्रमाणीत गरेर पठाउनु पर्ने छ । सम्झौतालाई आवश्यकता अनुसार परिमार्जित गरेर हरेक बर्ष नवीकरण गर्न सकिने नर्सिङ्ग होमले जनाएको छ । सम्झौतामा हस्ताक्षर गर्दै नर्सिङ्ग होमका प्रबन्ध निर्देशक बास्तोलाले आफ्नो संस्था नाफा मुलक मात्रै नभई सेवा भावलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको भन्दै सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने लक्ष लिएको बताउनुभयो । आफुहरुको परिवारको सदस्यको रुपमा सत्यता सहकारी थपिएको र आगमी दिनमा छुट सुबिधालाई थप गर्दै लगिने प्रतिबद्धता पनि उहाँ व्यक्त गर्नुभयो ।सहकारीका अध्यक्ष सुबेदीले आफ्नो संस्था संग नर्सिङ्ग होमले सहकार्यको सुरुवात गरेकोमा खुसी व्यक्त गर्दै नर्सिङ्ग होमको थप प्रगतिको कामना गर्नुभयो । बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यस क्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा.लि. गत असोज देखि पोखरा –३, नदिपुर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट संचालनमा आएको थियोे । हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मुटु तथा मेडिकल, जनरल सर्जरी, आँखा सम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी सम्बन्धि रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायतका बहिरंग (ओपिडी) सेवा संचालनमा छन् । यस्तै अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियु, एनआईसियु , एक्सरे ,भिडियो एक्सरे, इण्डोस्कोपी, कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परिक्षण एवं स्किन लेजर सर्जरी लगयतका सेवाहरु पनि संचालनमा रहेको हस्पिटलले जनाएको छ ।
पोखरा: सुपर मादी हाइड्रो पावर लिमिटेडले सातौं पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने भएको छ । कास्कीको मादी गाउँपालिकामा रहेको सुपर मादीले लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । सहयोग सम्बन्धमा सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योती ढुंगाना र मञ्चका अध्यक्ष दीननाथ बरालबिच शुक्रबार मौखिक सहमती भएको उनले खुलाए । वर्षायाममा ४४ मेगावाट क्षमताको सुपरमादीले अहिले १५ मेगावाट उत्पादन गरिरहेको प्रशासकिय अधिकृत सम्झना थापा क्षेत्रीले जनाइन् । आयोजनाबाट वार्षिक २४२ दशमलव ६५ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि ९ किलोमिटर दूरीमा रहेको माथिल्लो मादी विद्युतगृह नजिकैको सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले बनाएको हो । मादी किनारको कलबन्दीबाट सुरु हुने सुपर मादीको ६ किलोमिटर सुरुङ मार्ग छ भने कमजोर भौगोलिक अवस्थाका कारण करिब ८ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिएको छ । यही वैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, लगायतले समेत सघाउने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव पौडेलले जनाए ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद शिव नेपालीले पोखराको हङकङ बजारलाई ४ सय बढी कर बढाएर बोलपत्र आह्वान गरेको विरोधमा संसदमा आवाज उठाएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेपालीले फुटपाथमा व्यापार गर्दै आएका व्यापारीले एक दशकदेखि व्यापार गर्दै आएको कम्पनीको जग्गामा ४ सय प्रतिशत कर बढाएर बोलपत्र आह्वान गरिएको भन्दै विरोध गरेका हुन् । ‘पोखराको पृथ्वीचोकस्थित फुटपाथ व्यापारीलाई हङकङ बजार नामाकरण गरी एउटै छानामुनी व्यापार गर्दै गर्दा कृषि साम्रगी कम्पनीले ४ सय प्रतिशत कर वृद्धि गरेर बोलपत्र आह्वान गरेर व्यापारीहरुलाई आतङ्कीत बनाएको छ, यसको सरकारको ध्यान जाओस’ सांसद नेपालीले भने । उनले मूल्य वृद्धि भएको समयमा एउटै छानामुनी बजार सञ्चालन गरेका व्यवसायीहरुलाई आतङ्कीत बनाउने गरी आह्वान भएको बोलपत्रमा सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘देशमा भएको अर्थतन्त्रको खस्कदो अवस्थाले देश आज चरममन्दीमा पुगेको छ, उनले भने ,‘मूल्यवृद्धि राज्यको बढ्दो कर, शिक्षा स्वास्थ्यको खर्चिलो र महङ्गीले गरिव तथा मध्यम वर्गीय परिवारले बाँच्न पाउने अधिकारमा प्रश्न चिह्न खडा भएको छ ।’ उनले गरिवका लागि सरकार कहिले गम्भिर हुने भनेर प्रश्न समेत गरेका छन् । उनले २२ अर्व खर्च गरेर निर्माण गरिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखरेलीले पर्यटक कुरेर बसेरको भन्दै अन्र्तराष्ट्रिय उडानमा ध्यान दिन समेत आग्रह गरे । कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि अहिलेको भन्दा ४ सय प्रतिशत कर बढाएर बोलपत्र आह्वान गरेको भन्दै व्यवसायीले पोखरा महानगरपालिका र कृषि सामग्री प्रादेशिक कार्यालयमा दुईदिन सम्म धर्ना समेत दिएका छन् । उक्त जग्गामा एक दशकयता पोखरामा छरिएर रहेका फुटपाथ व्यवसायीहरुले ४ सय बढी सटरमा व्यापारव्यवसाय गर्दै आएका छन् ।

