नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाउनुका साथै विभिन्न शोक प्रस्ताव पारित गरेको हो । पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णय सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम आयोगमा पठाउने निर्णय भएको जानकारी दिनुभयो । बैठकले आदिवासी जनजातितर्फ भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यको नाम तय गरेको छ । खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल र यशोदाकुमारी बराल (पिछडिएको क्षेत्र र अपाङ्गता समेत) सिफारिस हुनुभएको छ । थारुतर्फ कृपाराम राणा तथा दलिततर्फ विष्णुमाया विक र नीता घतानी हुनुहुन्छ । मधेसीतर्फ रिङ्गला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल एवं मुस्लिमतर्फ साजिदा सिद्धिकी रहनुभएको उपमहासचिव भट्टले बताउनुभयो । उपमहासचिव भट्टका अनुसार बैठकले पार्टी अध्यक्ष ओलीका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । त्यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा ज्यान गुमाउनुभएका जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि बैठकले शोक एवं श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकको सुरुमा दिवंगत नेताहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपातिकतर्फ पनि सर्वाधिक मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुुभयो । सूचना अधिकारी न्यौपानेले उहाँका अनुसार प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले कुल पाँच लाख २५ हजार ६३५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले दुई लाख सात हजार ३८७ मत प्राप्त गरेको छ । नेकपा (एमाले)ले एक लाख ५२ हजार ५८७ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ५७ हजार ८७६ मत प्राप्त गरेको छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २३ हजार ५५६ मत र श्रम संस्कृति पार्टीले १८ हजार ९९ मत प्राप्त गरेको छ । प्रदेशमा राष्ट्रिय जनमोर्चाले सात हजार ७७०, राष्ट्रिय परिवर्तन पार्टीले तीन हजार २२६, मङ्गल नेसनल अर्गनाजेसनले दुई हजार ८५५, प्रगतिशील लोकतान्त्रिक पार्टीले दुई हजार ५४८, नेपाली जनता संरक्षण पार्टीले एक हजार ९४९, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले एक हजार ४१९, नेपाल कम्युनिष्ट पार्टी माओवादीले एक हजार ३७८, नेसनल रिपब्लिक नेपालले एक हजार ३४४ र जनमत पार्टीले एक हजार २११ मत प्राप्त गरेका छन् ।
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् । तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् । यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् । त्यस्तै भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् ।
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभयो । गौतम यसअघि काठमाडौँ २ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित हुनुभएको थियो । चितवन क्षेत्र ३ मा नेपाली काँग्रेसका टेकप्रसाद गुरुङको ८ हजार ३४४ र नेकपा (एमाले) का शंकर थपलियाले ५ हजार ४ मत प्राप्त गर्नुभएको छ । यसअघि यो क्षेत्र चुनाव जितेको राप्रपाले यो पटक १ हजार २२६ मत मात्र प्राप्त भएको छ । यहाँ राप्रपाका दिपक थापा उम्मेदवार हुनुहुन्थ्यो । यो क्षेत्रमा काँग्रेस, एमाले लगायतका २१ जना उम्मेदवारको जमानत जफत भएको छ । यो क्षेत्रमा १ लाख ५३ मत खसेको थियो । जमानत जफत हुनबाट बच्न उम्मेदवारले खसेको मतमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी ब्यवस्था छ ।
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै जित हात पार्नुभएको हो । उहाँले ३० हजार ४४८ मत प्राप्त गर्दा ज्ञवालीले १५ हजार ३२८ मत प्राप्त गर्नुभएको छ । काँग्रेसका नेता चन्द्रकान्त भण्डारीले १३ हजार ७३१ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई देहायबमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सिफारिस गरिएको उल्लेख गरिएको छ । आयोगले दमकल, एम्बुलेन्स, शववाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक पर्नेछैन । दूूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) पास आवश्यक नपर्ने आयोगले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म)लाई पनि कुनै पास जरुरी नपर्ने स्पष्ट पारिएको छ । त्यस्तै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, कीरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधनले पनि निर्वाध सञ्चालन हुन सक्नेछन् । नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन (परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानवअधिकार आयोगबाट अनुगमन र पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुन सक्नेछन् । यस्तै, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना भई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी हुनुपर्ने सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको स्पष्ट पारिएको छ । रासस
पोखराः कास्की क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ले माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा बुधबार घरदैलो कार्यक्रम गरेका छन् । उनले घलेल, खोराको मुख, ल्वाङ, लाहाचोक र घाचोकका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका हुन् । घरदैलोका क्रममा स्थानीय बासिन्दाले विशेष गरी होमस्टे सञ्चालनलाई प्रभावकारी बनाउन सडक पूर्वाधार सुधार गर्नुपर्ने माग राखेका छन् । पर्यटक सहज रूपमा आवतजावत गर्न सक्ने सडक निर्माण, पर्यटनमैत्री नीति र दीगो विकास योजनामा प्राथमिकता दिनुपर्ने उनीहरूले सुझाव दिएका थिए् । विहानैदेखि विभिन्न टोलबस्तीमा पुगेका वैरागीले स्थानीयका समस्या सुन्दै आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राख्ने बताएका छन् । उनले भने, ‘गाउँ चिनेको छु, समाज बुझेको छु । आशा मर्न दिँदिनँ । आर्थिक विकास बिना गरिबी घटाउन, युवा पलायन रोक्न, शिक्षा–स्वास्थ्यमा लगानी बढाउन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिँदैन । त्यसका लागि आवश्यक नीति र कार्यक्रम ल्याइनेछ ।’ उनले एमालेसँग काम गरेर देखाएको इतिहास रहेको उल्लेख गर्दै सडक, शिक्षा, पूर्वाधार र समग्र विकासका क्षेत्रमा निरन्तरता आवश्यक रहेको बताए । अधुरा योजना पूरा गर्ने र सुरु गरिएका कार्यक्रमलाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । वैरागीले अन्नपूर्ण आधार शिविर, फेवाताल लगायत कास्की–३ का विभिन्न गाउँमा देखिएका जलवायु परिवर्तन, भू–संरक्षण तथा बाढीपहिरोका समस्या समाधानका लागि निरन्तर पहल गर्ने बताए। उनले स्थानीय आवश्यकता र दीगो विकासलाई केन्द्रमा राखेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
पोखरा: कास्की–१ मा नेकपा एमालेबाट उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–३० का मतदातासँग भेटघाट गरेका छन् । शुक्रबार दिनभर उनले शिशुवा, मोहरिया, खुदीलगायत ठाउँका मतदातासँग भेटघाट गरेका हुन् । उनी मतदाता भेट्न पुग्दा निकै सकारात्मक प्रतिक्रिया पाएका छन् । पोखरा–३० ढुंगेपाटनकी मतदाता इन्दिरा तिवारीले कुनै विवाद नरहेको र निरन्तर यही भूगोलको सेवामा खटिएकाले बैनबहादुरलाई नै मत दिने बताइन् । नयाँ पार्टीबाट कहिल्यै मान्छे नदेखेको, नाम पनि नसुनेको उम्मेद्वार आएकाले जिताउन नसकिने उनको भनाइ छ । जेन–जी पुस्ताले नयाँ उम्मेद्वार खोजेको र बैनबहादुर निर्विकल्प रहेको उनले जिकिर गरिन् । ‘जेन–जीले नयाँ–नयाँ भन्दै छन् । बैनबहादुर अधिकारी पहिलोपटक सांसद् लड्नुभएको छ । उहाँ फ्रेस उम्मेद्वार हो,’ तिवारीले थपिन्, ‘यहीँ खट्दै आएको मान्छेलाई नदिएर अरुलाई दिने भन्ने हुँदैन ।’ पोखरा–३० मा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेद्वार अधिकारीले लेखनाथ क्षेत्रका सडक, मादी र रुपामा बनेका सडक, पृथ्वी राजमार्गले नै एमालेले काम गरे÷नगरेको भन्ने देखाउने बताए । पोखरा रंगशाला पनि एमालेकै सक्रियतामा भव्य बनेको उनले दाबी गरे । सरकारी कार्यालयमा सेवा प्रवाहमा रहेको ढिलासुस्ती सुधार्न आवश्यक रहेको उनले बताए । ‘संविधान थिचोमिचो भएको छ र त्यसलाई ट्रयाकमा ल्याउनुपर्ने अहिलेको परिस्थिति हो । भ्रष्टाचार नियन्त्रणमा सामूहिक पहल गर्न अबको संसद्को भूमिका हुन्छ । म त्यसमा प्रतिबद्ध छु,’ उनले भने । अधिकारीसँग पोखरा–३० खुदीका मतदाताले खानेपानीको समस्या रहेको गुनासो गरेका थिए । उनले समस्या समाधानका लागि आफूले बुझ्ने र तत्काल सम्भव नभए निर्वाचन पनि पहल गर्ने बताए ।

