काठमाडौं:  पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरणका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास...

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।  बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि रास्वपाले शनिबार सचिवालय र केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक गरेको थियो ।

काठमाडौं:  नेकपा एमालेको सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको गतिविधि, समसामयिक राजनीति, सरकारको कामकारबाहीलगायत विषयमा छलफल हुने बताइएको छ । 

पोखरा: गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले आफूले राखेका मागहरू बारम्बार उपेक्षा हुँदै आएको भन्दै राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको नमूना सार्वजनिक गर्दै शेरचनले गम्भीर असन्तुष्टि जनाएका हुन् । शेरचन नेपाली कांग्रेसका तर्फबाट मुस्ताङ (२) बाट गण्डकी प्रदेशसभामा निर्वाचित सांसद हुन् ।  सभामुखलाई सम्बोधन गरी फेसबुकमा सार्वजनिक गरिएको राजीनामा पत्रमा शेरचनले लेखेका छन्, ‘श्रीमान्, गहिरो आत्ममन्थनपछि म, गण्डकी प्रदेशसभाको सदस्य विकल शेरचन, पदबाट तत्काल लागू हुने गरी राजीनामा दिन चाहन्छु।’ उनले अघिल्लो र चालु वर्षको बजेटमा समेत दुर्गम क्षेत्रका आवश्यकताहरू बेवास्ता गरिएको आरोप लगाएका छन्। ‘मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्राथमिकतामा राखिनुपर्ने हो, तर बजेट निर्माण प्रक्रियाले यसलाई निरन्तर पछाडि पार्ने प्रवृत्ति देखाएको छ,’ शेरचनले लेखेका छन् । उनका अनुसार पूर्वाधार विकास, आर्थिक सशक्तीकरण, उच्च हिमाली स्वास्थ्य जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र युवाका लागि अवसर सिर्जना गर्नेजस्ता विषयमा आफूले दिएको आग्रह उपेक्षित हुँदै आएको छ । राजीनामालाई उनले आन्तरिक असहमति र राजनीतिक प्रणालीप्रतिको गम्भीर चिन्ताको अभिव्यक्ति भनेका छन्। ‘यो कुनै भागदौड होइन, बरु एक जिम्मेवार अपिल हो । यसले हाम्रो राजनीतिक र नीतिगत प्रणालीलाई आत्मसमीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ,’ उनले भनेका छन् ।

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।  शनिबार बसेको रास्वपा सचिवालयको ‘भर्चुअल’ बैठकले भिजिट भिसा प्रकरण मुछिएका उनलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेको छ।  ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ कार्यवाहक प्रवक्ता  मनीष झाले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौं।’ गृहमन्त्री र उनका सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत् मानव तस्करीमा संलग्न रहेको आरोप लागिरहेको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।  यो प्रकरणमा कम्तिमा १४ कर्मचारी आयोगको छानबिनमा परेपछि शुक्रबार गृहमन्त्रालयले उनीहरुलाई जिम्मेवारीबाट हटाएको थियो। गृहमन्त्रीको मञ्जुरीबिना यस्तो काम हुननसक्ने भन्दै धेरैले गृहमन्त्री लेखकमाथि छानबिन थाल्नुपर्ने दवाव बढेको छ।  

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।  सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाइएको हो ।  शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले  सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो ।  सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो  ४ बजे बस्नेछ । साथै आइतबार दिउसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिक रूपमा नै बस्ने निर्णय गरेको छ । 

पोखरा:   नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादीसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन् ।   प्रेस सेन्टर गण्डकी प्रदेश समितिले पोखरा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजासँग मिल्ने आरोप लगाएको भए मेन्टल हस्पिटल जचाउन आग्रह गरे ।   ‘राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै केही भन्दिनँ । यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मेन्टल हस्पिटल गएर जँचाउन सल्लाह दिन चाहन्छु’, उनले भने ।

काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।   न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।   सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् ।   जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए ।   उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।  

गण्डकी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताउनुभएको छ ।  साथै उहाँले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभयो । ताराखोला गाउँपालिकाद्वारा आज यहाँ आयोजित एक उहाँले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त सडकको विस्तार र कालोपत्र गर्न सरकारसँग रकम माग्ने बताउनुभयो । “सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो, तर त्यसले सार्थकता पाउन सकेन, यसपालि विशेष प्रयत्न गर्छौँ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले पनि यो सडक महत्वपूर्ण छ ।” भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा पनि विकासनिर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको उहाँले बताउनुभयो । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप २० किलोमिटर लामो उक्त सडक चार वर्ष अघि नै कालोपत्र गरिने सडकका रूपमा छनोट गरिएको थियो । पार्टीले सुरू गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले माओवादी केन्द्रको जनतासँगको सम्बन्धलाई सुदृढ बनाएको उहाँले बताउनुभयो ।

धनुषा:   नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशन अन्तर्गत भएको मतदानमा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षका यादव विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई पराजित गरेका हुन् । भोलाले ४०२ मत प्राप्त गर्दा लक्ष्मीनारायणले दुई सय मत पाएका छन् । लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरियाको पक्षबाट उम्मेदवार बनेका थिए । अधिवेशनले उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापालाई चयन गरेको छ । यस्तै, महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो ।