पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई पेनाल्टी सुटाउटमा ३–२ गोल अन्तरले हराउँदै एन डलर एफसी च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै एन डलर एफसीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको मित्रबन्धुले नगद रु २५ हजार, मेडल तथा प्रमाणपत्र हात पार्याे । प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा दिवस गुरुङ र उत्कृष्ट गोलरक्षकका रुपमा मुमिन तामाङ पुरस्कृत भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका शैक्षिक तथा सामाजिक अभियन्ता दर्शन लामा, पुरस्कारदाता लगायतले पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै लामाले युवाहरुलाई एकताको मालामा खेलकुदको महत्वपूर्ण भूमिका रहने धारणा राखे । उनले उदीयमान खेलाडीहरुका लागि यस्ता प्रकारका प्रतियोगिता फलदायी हुने बताउँदै आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिन सुझाव दिए । स्वाधिनताले आयोजना गरेको सो प्रतियोगितामा कुल ३३ टिमको सहभागिता रहेको थियो ।
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशमै पहिलोपल्ट केयूको इन्जिनियरिङ संकायअन्तर्गत बीआईटी कार्यक्रम पोखरा भित्र्याउँदै कलेजले विद्यार्थीका लागि अध्ययनसँगै रोजगारीलाई जोड्ने ‘सिक्दै कमाउँदै’ मोडल सार्वजनिक गरेको छ । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्चालक तथा केयूका प्रतिनिधिले कार्यक्रमबारे विस्तृत जानकारी गराएका हुन् । पहिलो शैक्षिक सत्रका लागि केयूले निर्धारण गरेको ३० जनाको सीमित कोटाका लागि शनिबार र आइतबार सञ्चालित प्रवेश परीक्षामा करिब ३ सयजना विद्यार्थी सहभागी भएका छन् । भर्ना प्रक्रिया १८ साउनदेखि खुला भई आगामी ९ भदौदेखि नियमित कक्षाहरू सञ्चालन हुने जनाइएको छ । चार वर्षे यस पाठ्यक्रमको कुल शिक्षण शुल्क ९ लाख ६० हजार रुपैयाँ तोकिएको छ । भर्नाका लागि प्लस टू तहमा विज्ञान विषय पढेको र न्यूनतम जीपीए दुई ल्याएको विद्यार्थी योग्य हुनेछन् । अशोका कलेजका अध्यक्ष श्रीराम पाण्डेले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी उद्योग र व्यवहारसँग जोड्न आफ्नै व्यावसायिक घरानाको सञ्जाल प्रयोग गरिने बताए । कलेज सञ्चालक समूहको हाइड्रोपावर, खाद्यान्न, इन्जिनियरिङ तथा सूचना प्रविधिसम्बन्धी उद्योगहरू रहेकाले दोस्रो तथा तेस्रो वर्षदेखि नै विद्यार्थीलाई व्यावसायिक सफ्टवेयर निर्माण तथा परियोजनामा संलग्न गराइने उनले बताए । जसअन्तर्गत विद्यार्थीले अध्ययनकै क्रममा साझेदार उद्योगमा पारिश्रमिकसहित काम गर्न पाउनेछन् । यसैगरी नयाँ सफ्टवेयर तथा टेक–स्टार्टअपका लागि छुट्टै इन्क्युबेसन तथा स्टार्टअप सेल र मेन्टरसिपको व्यवस्था पनि गरिएको छ । ‘इन्जिनियरिङ अध्ययनपछि मैले पढाइ र व्यावहारिक कामबीच ठूलो खाडल अनुभव गरेँ । अशोका कलेजमा बिआईटी पढ्ने विद्यार्थीले अध्ययनकै क्रममा हाम्रा साझेदार प्रविधि कम्पनीहरूमा काम गरी अनुभव हासिल गर्नेछन्,’ उनले भने, ‘स्नातक भएर निस्कँदा उनीहरूसँग प्रतिष्ठित डिग्रीका साथै बजारमा बिक्ने व्यावहारिक कार्यअनुभव हुनेछ ।’ उनका अनुसार अशोका कलेजको स्थापना करिब दस वर्षअघि भएको हो । सुरुमा सिर्जना चोकमै आफ्नै भवनबाट कार्यक्रम सञ्चालन गर्ने योजना रहे पनि विश्वविद्यालयहरूमा आवेदन दिँदा सम्बन्धन प्राप्त नभएको उनले बताए । पछि केयूले बीआईटी कार्यक्रमका लागि अभिरुचिपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) माग गरेपछि कलेजले आवेदन दिई सम्बन्धन प्राप्त गरेको हो । ‘पहिलो शैक्षिक सत्रमा तीस जना विद्यार्थी भर्ना हुनेछन्,’ उनले भने, ‘हामीले पोखरा महानगरपालिकाको कार्यालयपछाडि संगम मार्गमा भवन भाडामा लिएर हाल कार्यक्रम सञ्चालन गरेका छौं, तर दीर्घकालीन योजनाअनुसार सिर्जना चोकमै आफ्नै भवनमा विस्तृत रूपमा कार्यक्रम सञ्चालन गर्नेछौं ।’ पाण्डेका अनुसार सिर्जना चोकमा रहेको पुरानो पोखरा फुड्स बिस्कुट कारखानाको भवन भत्काएर हाल करिब ५० हजार वर्गफिट क्षेत्रफलको नयाँ भवन निर्माणाधीन छ । भवन आचारसंहिता तथा सुरक्षा मापदण्डका हिसाबले उक्त पुरानो संरचना हालको मापदण्डसँग नमिलेपछि यसलाई भत्काएर नयाँ भवन बनाउने निर्णय गरिएको उनले जनाए । नयाँ भवन महानगरबाट स्वीकृति लिएरै निर्माण भइरहेको र संरचनागत डिजाइनमा कुनै सम्झौता नगरिएको उनको भनाइ छ । केयूले तोकेअनुसार बीआईटी कार्यक्रममा एक इनटेकमा तीस जनाभन्दा बढी विद्यार्थी भर्ना गर्न नपाइने उनले जानकारी दिए । कार्यक्रमको कुल शुल्क केयूले नै तोकेअनुसार रहेको र सोही अनुसार शुल्क संरचना कायम राखिएको उनले स्पष्ट पारे । भर्ना हुने विद्यार्थीमध्ये १० प्रतिशत अर्थात् तीनजनाले क्षमता र आर्थिक अवस्थाका आधारमा छात्रवृत्ति पाउने व्यवस्था रहेको उनले बताए । पाठ्यक्रमअन्तर्गत विद्यार्थीले कृत्रिम बुद्धिमत्ता (एआई) तथा मेसिन लर्निङ, आधुनिक प्रोग्रामिङ र सफ्टवेयर डेभलपमेन्ट, नेटवर्क तथा साइबर सुरक्षा, डाटाबेस सिस्टम र क्लाउड कम्प्युटिङजस्ता विषयमा दक्षता हासिल गर्नेछन् । काठमाडौं विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग प्रमुख पंकज दवाडीका अनुसार बीआईटी कार्यक्रम १ सय २७ क्रेडिटको हो, जुन नतिजामुखी शिक्षा (आउटकम बेस्ड एजुकेसन) को सिद्धान्तमा आधारित रहेको छ । ‘विद्यार्थीले स्नातक उत्तीर्ण गरेपछि श्रम बजारमा सहज पहूँचका लागि निश्चित सीप विकास गर्नैपर्छ भन्ने मान्यताअनुरूप हामीले पाठ्यक्रम डिजाइन गरेका छौं,’ उनले भने । पोखरामा यो कार्यक्रम पहिलोपल्ट सञ्चालन भए पनि यसअघि यही पाठ्यक्रम विस्तार कार्यक्रमअन्तर्गत अन्यत्र सञ्चालनमा रहेकाले आफूहरूसँग अनुभव रहेको उनले जनाए । काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका सहायक डिन श्यामसुन्दर खड्काका अनुसार विश्वविद्यालयले हरेक कार्यक्रममा गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति लिएको छ । ‘प्रवेशका लागि विज्ञान विषय पढेको विद्यार्थी नै आवश्यक पर्ने मापदण्ड हामीले तोकेका छौं र काठमाडौं विश्वविद्यालयका सबै कार्यक्रम त्यही मापदण्डभित्र रहन्छन्,’ उनले भने, ‘अशोका कलेजले तयार पारेको भौतिक पूर्वाधार र प्रतिबद्धता हेरेर नै हामीले सम्बन्धन दिएका हौं । विद्यार्थीको सुरक्षा, भवनको संरचनागत मजबूती र शैक्षिक मापदण्डमा कुनै कमजोरी हुन दिइने छैन ।’ विश्वविद्यालयले हाल ७ प्रदेशमा विस्तार गर्दै ९ ठाउँमा सम्बन्धन प्रदान गरिरहेको र गुणस्तर सुनिश्चितताको जिम्मेवारी विश्वविद्यालयले लिने उनको भनाइ छ । शिक्षण जनशक्तिका सन्दर्भमा न्यूनतम स्नातकोत्तर उत्तीर्ण गरेकालाई मात्र अध्यापनको जिम्मेवारी दिइने र ४० प्रतिशत पूर्णकालीन तथा ६० प्रतिशत ‘भिजिटिङ’ संकायको अनुपात कायम गरिने उनले स्पष्ट पारे । कलेजका अध्यक्ष पाण्डेका अनुसार कलेजका अधिकांश शिक्षक नियुक्ति प्रक्रियामा रहेका छन् र काठमाडौं विश्वविद्यालयकै मापदण्डअनुसार स्नातकोत्तर उत्तीर्ण गरेका जनशक्ति मात्र नियुक्त गरिनेछ । भविष्यमा अशोका कलेजले बीआईटी कार्यक्रमलाई सफल रूपमा सञ्चालन गरेपछि अन्य इन्जिनियरिङ तथा व्यवस्थापनका कार्यक्रमहरू पनि थप गर्दै लैजाने दीर्घकालीन योजना बनाएको छ ।
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा क्लब राखु म्याग्दीको आयोजनामा आगामी साउन २ गतेदेखि पोखरा रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । ‘सामाजिक चेतना, अनुशासन गतिशीलता, स्वाभिमान र विकास, क्लबको पहिचान’ भन्ने मूल नारासहित स्थापित क्लबले म्याग्दी बाहिर पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । सो प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद ४२ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमलाई नगद २२ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित गिफ्ट ह्याम्पर प्रदान गरिने प्रतियोगिता संयोजक सुलभ मल्ले जानकारी दिए । उनका अनुसार महिलातर्फ विजेता तथा उपविजेता हुने टिमले क्रमश नगद २५ हजार २ सय २२ रुपैयाँ र १५ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । प्रतियोगितामा तनहुँ, कास्की, म्याग्दी, काठमाडौँ र पर्वत लगायतका खेलाडीहरुको सहभागिता छ भने पुरुषतर्फ १५ र महिलातर्फ ५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई सम्मान गर्ने निर्णय गरेको हो । फोनिज कास्कीको बैठकले प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गरेको छ । पुरस्कार २०८२ बाट हितानमगर र २०८३ बाट गुरुङलाई प्रदान गरिनेछ । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उनका पति कर्ण गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा यो पुरस्कार स्थापना गरिएको हो । फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाका अनुसार आगामी २९ असार सोमबार एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ । २०८२ को पुरस्कारबाट सम्मानित हुन लागेका हितानमगर २०४१ सालदेखि पत्रकारितामा सक्रिय छन् । उनले काठमाडौँको परिस्थिति साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थिए । उनले अवलोक, पोखरा साप्ताहिक, जनधारणा साप्ताहिक र आदर्श समाज दैनिकमा काम गरिसकेका छन् । हितानमगर हाल फेवा पोष्ट साप्ताहिकमा कार्यरत छन् । उनी तत्कालीन आदिवासी जनजाति पत्रकार संघ (अनिज) का संस्थापक अध्यक्ष समेत हुन् । यस्तै २०८३ को पुरस्कार पाउने गुरुङ २०५४ सालदेखि रेडियो नेपालमा आबद्ध छिन् । उनले रेडियो नेपालमा गुरुङ भाषाको समाचार वाचन गर्दै पत्रकारिता सुरु गरेकी हुन् । उनले रेडियो गोर्खालीमा पहिलो पटक गुरुङ भाषामा समाचार वाचन गरेकी थिइन् । उनी रेडियो नेपालमार्फत निरन्तर भाषा पत्रकारितामा क्रियाशील छिन् ।
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चालन भइरहेका गहना व्यवसायलाई आधुनिक एवं डिजिटल प्रणालीतर्फ उन्मुख गराउने लक्ष्यका साथ यो सफ्टवेयर औपचारिक रूपमा बजारमा ल्याइएको हो । स्वर्डफिस टेक्नोलोजीका प्रबन्ध निर्देशक किसान सुनारका अनुसार यो आन्तरिक राजस्व कार्यालयबाट मान्यता प्राप्त सफ्टवेयर हो । यसअघि काठमाडौँमा मात्रै करिब २ सयभन्दा बढी व्यावसायिक कम्पनीहरूले यसको सफल प्रयोग गरिसकेका छन् । आजबाट गण्डकीमा भित्रिएको याे सफ्टवेयर परिवर्तित समयानुसार अनुकुल रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव निर्मल दियालीले बताए । उनले सकेसम्म हरेक व्यवसायीले यस्ता प्रकारका सफ्टवेयरको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्र किशोर गौतमले समयको बचतसँगै प्रविधिमैत्री बन्न दीपअर्थको आवश्यकता रहेको बताए । कार्यक्रममा दीपअर्थका सीइओ देवराज घिमिरेले सफ्टवेयरमा ज्वेलरी व्यवसायका लागि आवश्यक पर्ने सम्पूर्ण डिजिटल सुविधाहरू उपलब्ध रहेको बताए । उनका अनुसार सो सफ्टवेयरभित्र व्यवसायको लेखा सम्बन्धी सबै रिपोर्टहरू सहजै तयार पार्न सकिन्छ भने ग्राहकको अर्डर व्यवस्थापन र खरिद–बिक्रीको विवरण राख्न मिल्ने सुविधा उपलब्ध छ । यस्तै दीपअर्थका म्यानेजर रोशन कडरियाले सफ्टवेयरको प्राविधिक पक्ष, उपयोगिता र यसका सुविधाहरूबारे विस्तृत जानकारी दिए । कडरियाका अनुसार गहना व्यवसायको सहजताका लागि यसमा तौल मापन गर्दा ग्राम र तोला दुवै एकाइमा राख्न मिल्ने विशेष व्यवस्था गरिएको छ । यसैगरी व्यवसायीले बारकोडको प्रयोग गरी सामानको स्टक र इन्भेन्ट्री चुस्त राख्न सक्नेछन् भने छिटो र छरितो भुक्तानीका लागि बारकोड बिलिङको व्यवस्थासमेत यसमा समावेश गरिएको छ । सफ्टवेयर प्रयोग गर्न चाहने व्यवसायीका लागि हरेक वर्ष ३० हजार रुपैयाँदेखि ९० हजार रुपैयाँसम्मको विभिन्न प्याकेजहरूको व्यवस्था गरिएको गण्डकी प्रदेशका प्रतिनिधि अपिल विश्वकर्माले जानकारी दिए । उनका अनुसार वार्षिक प्याकेजबाहेक हरेक वर्ष नवीकरण शुल्क भने अतिरिक्त लाग्नेछ । व्यवसायको महत्वपूर्ण डाटा विवरण सुरक्षित रहने र यसले गोपनीयताको पूर्ण प्रत्याभूति दिने कम्पनीले जनाएको छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (असार १४ गते) सुरु हुने सो कार्यक्रम १९ गतेसम्म सञ्चालन हुनेछ साँझका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार हरेक दिन बेलुकी ८ बजेदेखि २ बजेसम्म चल्ने सांगीतिक कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहनेछ । कार्यक्रममा चर्चित गायक मिलन लामा, सिर्जना गुरुङ, चिजा तामाङ, भूमिका गिरी, दिपिका ब्याम्बु र श्याम रानाको बेजोड प्रस्तुती रहनेछ । यस्तै अन्य कलाकारहरुमा टेक क्षेत्री, गुप्त गुरुङ, तस बहादुर गुरुङ, पाण्डव गुरुङ, प्रशान्त तामाङ, किसान नेपाली, याम बहादुर नेपाली, सञ्जय गायक, मनोज नेपाली, लक्ष्मण ठकुरी, निकेश बिक, इन्द्रा गुरुङ, बत्ति थापामगर, चिना थापामगर, सरिता राई, ललिता पुन, पुजा तामाङ, सुनिमा गुरुङ र निरुता थापामगर लगायतको सांगीतिक प्रस्तुती रहनेछ । लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित विगत २ दशकदेखि सेवारत यस दोहोरी साँझले आमन्त्रित पाहुनाहरुसँगको सम्बन्ध सुमधुर बनाउन हरेक वर्ष वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दै आएको उनले बताए । ‘हाम्रो यस सफल निरमाया दोहोरी साँझले यहाँहरूकै निरन्तरको माया, सद्भाव र अटुट विश्वासका कारण सफल रूपमा २१ वर्ष पार गरी २२ औं वर्षमा प्रवेश गर्न सफल भएको छ, सञ्चालक गुरुङले भने ‘यो सुखद क्षणमा हामी हाम्रा ग्राहकवर्ग र नेपाली लोक संस्कृतिका प्रवद्र्धकहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै यो गौरवमय यात्राको खुसीयाली बाँड्न सांगीतिक कार्यक्रम आयोजना गरेका हौं ।’ ६ दिन आयोजना हुने वार्षिकोत्सव केवल सांगीतिक मनोरञ्जनमा मात्र सीमित नहुने निरमायाका अर्का सञ्चालक तथा पोखरा लोक तथा दोहोरी रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष जिवन गुरुङले प्रष्ट पारे । उनले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै सो कार्यक्रमबाट संकलित र व्यवस्थापन गरिएकोमध्ये केही रकम सामाजिक कार्यमा खर्च गर्ने बताए । ‘हामीले समाजबाटै आर्जन गरेका हौं । त्यसैले यो विशेष उत्सवको अवसरमा सामाजिक सेवा र कल्याणकारी कार्यका लागि केही रकम खर्च गर्ने योजना बनाएका छौं’, गुरुङले भने । पोखरामा अलग पहिचान बनाउन सफल यस दोहोरी साँझले हरेक वर्ष सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका अध्यक्ष माधव बरालले महासंघ कास्की स्थापनाको ५० औँ वर्षमा प्रवेश गरेको अवसरमा वर्षभरि नै उत्सवका रुपमा विभिन्न गतिविधि गरिने बताए । वि.सं. २०३४ साल असार १२ गते स्थापना भएको महांघ कास्कीले बुधबारदेखि स्वर्ण वर्षलाई विशेष बनाउन आधिकारिक लोगो समेत सार्वजनिक गरेको थियो । आधा शताब्दी लामो यात्राको स्मरण गर्दै अध्यक्ष बरालले निरंकुशताको समयदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म कास्कीको पत्रकारिताले देशको राजनीतिक र सामाजिक रूपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गरेको बताए । उनले संस्थालाई यो उचाइसम्म पु¥याउन योगदान दिने संस्थापक, अग्रज र पूर्व नेतृत्वप्रति कृतज्ञता प्रकट गर्दै उनीहरूको त्याग र निष्ठाले नै कास्कीको पत्रकारिताले देशभर छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गरे । यो यात्रामा पोखरेली जनता, विभिन्न संघसंस्था र स्थानीय सरकारको साथ र सहयोग महत्वपूर्ण रहेको उनको भनाइ थियो । वर्तमान समयमा पत्रकारिता क्षेत्रले भोगिरहेका चुनौतीहरूबारे चर्चा गर्दै अध्यक्ष बरालले प्रविधिको तीव्र विकास र सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण भ्रामक सूचनाको जोखिम बढेको बताए । उनले परम्परागत पत्रकारितामाथि गम्भीर प्रश्न उठिरहेको समयमा व्यावसायिकता र विश्वसनीयतालाई पुनर्जीवित गर्नु महासंघको मुख्य दायित्व भएको स्पष्ट पारे । सञ्चार क्षेत्रले सामना गरिरहेको आर्थिक संकट र श्रमको उचित मूल्यांकन नहुनु अर्को दुखद पक्ष रहेको उनको भनाइ थियो । यसैगरी, पछिल्लो समय सरकारले प्रेस स्वतन्त्रता र पत्रकारिताप्रति अनुदार नीति अपनाएको भन्दै उनले आपत्ति जनाए । सरकारी विज्ञापनलाई सरकारी मिडियामा मात्र प्रकाशन र प्रसारण गर्ने विभेदकारी निर्णयविरुद्ध महासंघ आन्दोलित रहेको र यो निर्णय नसच्चिएसम्म विरोध जारी रहने उनले सुनाए । उनले पत्रकारिताको गरिमालाई अझ उच्च बनाउन र सामाजिक उत्तरदायित्व पूरा गर्न सबैलाई थप जिम्मेवार बन्न उनको आग्रह थियो ।
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्रवद्र्धन, परम्परागत खेती प्रणालीको संरक्षण गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिने परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । उनका अनुसार विगत दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सव पोखराको मौलिक संस्कृति, कृषि परम्परा र पर्यटनलाई एकै थलोमा जोड्ने महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । बढ्दो शहरीकरणका कारण ओझेलमा पर्दै गएको धान खेती र असारे संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष पहारीले बताए । महोत्सवमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली परम्परागत कृषि प्रणालीको प्रत्यक्ष अनुभव गराइनेछ। साथै कृषकलाई आफ्नो पेशाप्रति गौरव बढाउन, खेतीयोग्य जमिन संरक्षण गर्न तथा लेकनाथ क्षेत्रका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा योगदान पुग्ने आयोजकको अपेक्षा छ । कार्यक्रममा विविन्न कलाकारको प्रस्तुती कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने उनले बताए । कलाकारहरूमा राजु परियार, शिवहरी ढुङ्गाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जिसी रहेका छन् । महोत्सवको मुख्य आकर्षणका रूपमा हल गोरु दौड, अँसारे भाका सहितको रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, स्वदेशी तथा विदेशी महिला–पुरुषका लागि हिलो दौड, पत्रकार हिलो दौड, रस्साकस्सी प्रतियोगिता तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रम समावेश गरिएको परिषद्का महासचिव तथा कार्यक्रम संयोजक जीवनराज सापकोटाले जानकारी दिए ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे । तीन दिने अभियान अन्तर्गत भैरहवा र पाल्पा पनि समेटिने छन् । होटल संघ पोखरा नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकीको सहआयोजना तथा प्रबर्द्धनमा यो अभियान संचालन गरिएको हो । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार मान्दै २५ बर्ष अघि यो अभियान सुरु गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटनको राजधानी पोखरासँग चितवन, लुम्बिनी र पाल्पालाई जोड्ने तृकोणीय पर्यटन प्रबर्द्धनको उद्देध्य समेत अभियानले लिएको अध्यक्ष सुवेदीले बताए । कालीका नगर प्रमुख रेग्मीले आफ्नो नगरले कृषि पर्यटनमा जोड दिएको बताए । सबै भन्दा धेरै मह र च्याउ उत्पाद गर्ने नगरपालिका कालीका भएको दाबी उनले गरे । होटल संघ नेपालका केन्द्रिय सदस्य सुमन घिमिरेले आन्तरिक पर्यटन प्रबर्द्धनमा जाउँ है पोखरा अनुकरणीय अभियान भएको बताए । सिल्भर ट्र्याङ्गलको अवधारणा अन्तर्गत सयुक्त पर्यटन प्याकेज विकासको प्रस्ताव उनले राखे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले सिल्भर ट्र्याङ्गलको अवधारणा पुन: अगाडि बढाईएको स्मरण गराए । जाउँ है पोखरा अभियानसँग बोर्ड सुरुवाती समयबाटै जोडिएको उनले जानकारी गराए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम प्रकाश पाण्डेले चितवनका पर्यटकीय क्षेत्रबारे अवगत गराए । पर्यटकलाई सहज हुने खालका नीति सरकारले ल्याउनुपर्ने उनले सुझाव राखे । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नयाँ पदमार्गहरुको खोजी, उत्थान र प्रबर्द्धनमा आफ्नो संस्था लगिरहेको जानकारी दिए । पर्यटनलाई भिन्न र नयाँ ढंगले अगाडि बढाउनु पर्ने अवस्था आएको उनले बताए । कार्यक्रममा पर्यटन विज्ञ विश्व सुवेदीले दामोदर कुण्ड र त्रिवेणी धाम जोड्ने गरी हरिहर परिक्रमा पथ विकासको प्रस्ताव राखे । कुमरोज मध्यवर्ती सामुदायिक बनका अध्यक्ष राजु सिलवाल र रत्ननगर नगरपालिका ७ का वडा सदस्य सूर्यबहादुर तामाङले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन आयोजक संघका सचिव पार्वाती पाण्डेले गरेकी थिईन् ।

