पोखरा: पोखरामा आज टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पोखराको छोरेपाटनबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ४२ वर्षीय मिना क्षेत्री गम्भिर घाइते भएकी थिईन् । टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी स्याङ्जा फेदीखोलाको सर्केटारीकी क्षेत्रीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । दुर्घटनापछि टिप्पर, टिप्पर चालक र स्कुटरलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।
पोखरा: सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम जारी छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो । जेठ १७ गतेदेखि शुभारम्भ भएको उक्त कार्यको हालसम्म ३६० पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिनुभयो । बिहीबार फेवातालको भकुन्डे माछा पोखरी क्षेत्रमा पिल्लर गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षण समेत गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले फेवाताल संरक्षणका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशाानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी आवश्यक कार्यहरू गरिरहेको बताउनुभयो । ताल घरमा सीमा स्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उहाँले हौसला प्रदान गर्नुभएको छ । एक ऐतिहासिक कार्यको साक्षीका रूपमा उनीहरूको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो । निष्ठाका साथ फेवातालको प्राकृतिक न्यायका लागि लागि रहेका सवैप्रति उहाँले आभार पनि व्यक्त गर्नुभएको छ । पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको छ । तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिनेछन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ ।
पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा समूह ‘ए’बाट एपिएफ क्लब र समूह ‘बि’बाट त्रिभुवन आर्मी क्लबले सेमिफाइनलको ढोका खुल्ला गरे । पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा भएको खेलमा समूह एतर्फ एपिएफले गण्डकीलाई २२–६ र बागमतीलाई ३०–१ गोल अन्तरले हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाएको हो । बागमतीले मधेश प्रदेशलाई ६–१ ले हराउँदा समूह बितर्फ आर्मीले लुम्बिनीलाई २६–१३ र कोशीलाई ३७–८ को फाराकिलो गोलअन्तरले हराउँदै सेमीफाइनलको सम्भावना बलियो बनायो । सोही समूहको अर्को खेलमा कर्णालीले लुम्बिनीलाई ६–४ गोलले हराएको छ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ । समूह ए मा एपिएफ, गण्डकी, बागमति र मधेश प्रदेश रहेको छ भने समूह बि मा आर्मी, लुम्बिनी, कोशी र कर्णाली प्रदेश रहेको छ । तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा चेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर आधारभुत तहदेखि माध्यामिक तहसम्मका करिब ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रातर्फ कक्षा ७ की आयुष्मा भुजेल प्रथम र कक्षा ८ की प्रिष्टिना रसाइली द्वितीय भए । यस्तै छात्रतर्फ कक्षा ७ का आदित्य लम्साल प्रथम र कक्षा ९ का दिवस घिमिरे द्वितीय भए । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाई तथा खेलकुद सबैमा उत्तिकै लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।
पोखरा: होटल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि मंगलबार एक दिने अभिमुखिकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्वन्धमा संघले यो कार्यक्रम आयोजना गरेको हो । कृत्रिम बुद्धिमता पनि भनिने एआई र अनलाईन ट्राभल एजेन्सीको प्रायोगबाट २०२५ मा होटलहरुले कसरी बढी भन्दा बढी आम्दानी बढाउन सक्छन् भन्ने विषयमा केन्द्रित भएर यो कार्यक्रम संचालन गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कार्यक्रममा एक सय जना भन्दा बढी होटलकर्मी र उनीहरुका कर्मचारीले सहभागिता जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले अभिमुखिकरणका सहभागीले एआईबारे धेरै बुझ्नै मौका पाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न संघलाई आग्रह गरे । उनले होटल क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेटमा सरकारले विद्युत् महशुलमा उद्योग सरहको मान्यता दिएकोमा अर्थमन्त्रालय र सरकारलाई धन्यवाद दिए । बैंकको ब्याजदर विगतमा दुई अंकमा भए पनि अहिले एकल अंकमा झर्नु सकारात्मक भएको भनाई उनले राखे । होटल संघ नेपालले गत वर्ष चीन र बंगलादेशमा प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरेको स्मरण गराउँदै सल्लाहकार परिषद्का संयोजक पराजुलीले प्रवद्र्धनबाट मात्र पर्यटन अगाडि बढ्न सक्ने भनाई राखे । अभिमुखिकरणमा थप बोल्दै आयोजक संघका अध्यक्ष सुवेदीले संघले पोखराको प्रवद्र्धनका लागि जाउँ है पोखरा र चलिए पोखरा जस्ता अभियान संचालन गर्दै आएको स्मरण गराए । पोखराका होटलमा रहेको पाँच खर्बको लगानी जोगाउनका लागि पनि संघ सचेत भएर अगाडि बढेको भन्दै उनले आफ्ना सदस्यको हितका लागि संघ सँधै लड्दै आएको भनाई राखे । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले अभिमुखिकरणबाट सहभागीले नजानेको कुरा जान्ने मौका पाएको भन्दै यो ब्रेन स्ट्रोमिङ गर्ने अवसर भएको भनाई राखे । कार्यक्रमका श्रोत व्यक्ति सन्तोष वरालले अहिले एआई एउटा क्रान्तिको रुपमा अगाडि आएको भन्दै यससँग डराएर भन्दा पनि यसलाई सदुपयोग गरेर पर्यटन क्षेत्र अगाडि बढ्नुपर्ने भनाई राखे । बरालले कार्यक्रममा अनलाईन ट्राभल एजेन्सी (ओटीए), अगोडा, बुकिङ डटकम लगायत होटल बुक गर्ने प्लाटर्फको अकाउण्ट संचालन र एआईको प्रयोगबारे जानकारी गराएका थिए । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्युर) सँगको सहकार्यमा संघले लिभरेजिङ एआई, टेक्नोलोजी एण्ड ओटीएज शीर्षक दिएर यो अभिमुखिकरण आयोजना गरेको हो । कार्यक्रममा परियोजना गण्डकीका प्रमुख सुशील लिंखाले उक्त परियोजनाका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्गस्थित अभियान महिला समुहले आफना सदस्यहरुको लागि आयोजना गरेको हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ । आफनो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित सिप सिकै र आत्मनिर्भर बनौ भन्ने नारा सहित पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा आईतबारदेखि सुरु दुर्ई दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा समुहमा आवद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिईन । तालिम पछि सिकेका कुराहरु व्यवहारमा उत्तार्ने गरि आफुहरुले काम गर्ने रिमालले बताईन । तालिममा सहभागीहरुलाई लक्ष्मी पौडेलले सहजीकरण गरेकी थिईन् । तालिम समापन गदै पोखरा १ का वडा अध्यक्ष सहारा प्रधानले वडाले पहिलोपटक यो तालिम संचालन गरेको बताए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका थिए । वडामा यो नयाँ तालिम रहेकाले तालिम पछि यस्लाई व्यापारीक प्रयोजनका लागि उत्पादन गरि ब्यवसायी सगै आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गरेका थिए । वडा सदस्य शोभा गुरुङले तालिम पछि अव आफैले हर्पिक, फिनेल र झोल साबुन उत्पादन गरि बेच्न आग्रह गरेकी थिईन । यी दैनिक आवश्यकताकाका समग्री रहेकाले यस्को बजार समेत राम्रो रहेको भनाई उनको थियो । समापन समारोहमा सहभागीका तर्फबाट नीता पोखरेल र निर्मला तिवारीले आफनो दैनिक जिवनमा उत्पादन हुने बस्तु रहेकाले अव घरमै यस्को उत्पादन गर्ने बताएका थिए । आफुहरुले हलसम्म लिएका तालिम मध्ये यो तालिम वयवहारीक र आवश्यक रहेको उनीहरुले बताएका थिए ।
पोखरा: पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम दिइएको छ । साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडलाई रक क्लाइम्बिङ तालिम दिइएको हो । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई भिरमा रक क्लाइम्बिङको तालिम दिइएको हो । पोखरा महानगरपालिका वडानम्बर १८ को मेथलाङको भिरमा तालिम दिइएको हो । थ्री सिस्टर एड्भेन्चर ट्रेकिङले उक्त भिरलाई रक क्लाइम्बिङको प्रशिक्षण स्थलको रुपमा संचालन गदैँ आएको संचालक लक्की क्षेत्रीले जानकारी दिइन् । नयाँ युवालाई पर्यटन तर्फ आकर्षण गर्ने र स्वरोजगार बनाउन तालिमको अयोजना गरिएको हो टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए । रक क्लाइम्बिङ ट्रेकिङको विधा पनि हो आचार्यले भने पर्यटक पथ प्रदर्शक, ट्रेकिङका गाइडको लागि रक क्लाइम्बिङलाई एउटा पेसाको रुपमा विकास गर्न सकिन्छ । टान गण्डकीका सहसचिव भूपेन्द्रकुमार लामा र लाक्पा शेर्पाले रक क्लाइम्बिङको तालिम दिएका थिए । ट्रेकिङ जादा आउन सक्ने जोखिमलाई मध्यनजर गरी रक क्लाइम्बिङमा तालिम दिएको रक क्लाइम्बिङका प्रशिक्षक लामाले बताए । विश्वभर रक क्लाइम्बिङको क्रम बढ्दै गएको र नेपालमा पनि रक क्लाइम्बिङ गर्ने पर्यटक बढ्दै गएको छ लामाले भने नेपालमा पनि यसले व्यवसायीकता लिने विश्वास व्यक्त गरे । प्रशिक्षक शेर्पाले २ सय ३० प्रशिक्षार्थीलाई दुइ दिनेमा क्लाइम्बिङको बेसिक तालिम दिइने बताए । २५ दिने तालिम जेठ २६ गतेबाट सुरु भएको थियो । पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड गरि ३ सय ५० जना तालिममा सहभागि भएका छन् ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको आयोजनामा ‘तस्विरमा पोखरा–९’ फोटो प्रदर्शनी हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा असार १३ गते (शुक्रबार) महेन्द्रपुलस्थित झण्डा पार्क नजिकैको फल्चामा फोटो प्रदर्शनी गरिने भएको हो । प्रदर्शनीमा पोखरा महानगरपालिका–९ क्षेत्रसँगै पोखराको ऐतिहासिक, पर्यटकीय र समसामायिक विषय झल्कने फोटो राखिने एनपीजेए कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए । फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले सुनाए । पोखरामा रहेका फोटो पत्रकारहरुको सीप र कला प्रदर्शनमा पनि यो कार्यक्रमले सघाउने उनको भनाइ थियो । फोटोको माध्यमबाट पर्यटकले पोखराका बारेमा छिटो जानकारी प्राप्त गर्न सक्ने भएकाले फोटो पत्रकारले गर्न लागेको कार्यक्रममा वडा कार्यालयले साथ दिएको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए । पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको समयमा फोटो प्रदर्शनी महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
पोखराः शिक्षासेवीडा। टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा निधन भएको छ । पोखरा ११फूलबारीस्थित निवासमा आइतबार मध्यान्ह १२ बजेर ५५ मिनेटमा उनको निधन भएको हो । सम्पूणानन्दविश्वविद्यालय बनारसबाट संस्कृत साहित्यमा प्रथम श्रेणीमा आचार्य तथा विद्यावारिधि गरेकाडा। बास्तोलाले लामो समय शिक्षासेवामा अर्पण गरेका थिए । वाराही माविमा निरन्तर अध्यापन गरेर सेवानिवृत्त भएका उनी त्यसपछि पनि विभिन्न शैक्षिक, सामाजिक,धार्मिक तथा साहित्यिक संस्थाहरुमा क्रियाशील रहेका थिए । उनी शिव शक्ति मावि, शिक्षा महाविद्यालय र रामेश्वर मन्दिर फूलबारीका पूर्व अध्यक्षहुन् । यसैगरी,लेखनाथ साहित्य प्रतिष्ठानका सल्लाहकार तथा लेखनाथ जन्मघर जीर्णोद्धार समितिका संयोजक रहेका थिए । उनले शिवशक्ति माविमा प्रतिभा सम्मान कोष स्थापना गरेका छन् । यसैगरी विभिन्न धार्मिक अनुष्ठानहरुमा उनको सहयोग रहेको छ । उनीमहेन्द्र विद्याभूषणबाट विभूषित भएका थिए । वाराही मावि, शिवशक्ति मावि,शिव शक्ति क्याम्पस, शिक्षा महाविद्यालय, लेखनाथ साहित्य प्रतिष्ठान, नवनीत साहित्य सागर,विन्दुवासिनी संस्कृत विद्यापीठ लगायतका संस्थाबाट उनी सम्मानित भएका थिए ।स्व।बास्तोलाका धर्मपत्नी मुगादेवी, छोरा रमेश, दुई छोरी प्रभा पौडेल र कमला पराजुलीतथा पाँच नातिनातिना छन् । साथै, एक दाजु, तीन भाइ र एक बहिनी छन् । दिवंगत बास्तोलाको शवयात्रा सोमबार बिहान १० बजे हुने परिवारले जनाएको छ । पोखरा–११ सेतीगण्डकी,कालीखोला र भलाम खोलाको दोभान रिठ्ठाघाटमा अन्त्येष्टि हुनेछ ।