पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ । महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेको एवं सोमबार समेत मौसम एवं दर्शकले साथ दिएपछि पछिल्ला दिनमा त्यहाँ कारोबार ह्वात्तै वृद्धि भएको हो । त्यहाँ आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारिक स्टल छन् । प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार भइरहेको छ । सोमबार मात्रै ५ लाख बढीको आलु बिक्री भएको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले बताए । उनले हालसम्म सबैभन्दा बढी ८ सय केजी र कम्तीमा १ केजीसम्म ग्राहकले आलु खरिद गरी लगेको पनि सुनाए । सामान्यतया २० देखि ३० केजीसम्म आलु किन्ने ग्राहक धेरै आउँछन् । कास्कीका छिमेकी पालिका लगायत चितवन, मकवानपुर, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, स्याङ्जा, म्यादी, मुस्ताङबाट समेत आलु खरिदका लागि मानिसहरु आउने गरेको उनको भनाइ छ । 'हेमजाको निलो आलु मिठो छ, चाँडो पनि पाक्छ, अन्य स्थानको तुलनामा स्वास्थ्यकर पनि मानिने भएकाले आफूहरु आलु खरिदकै लागि आएको' सोमबार दिउँसो महोत्सव स्थलमा भेटिएकी तनहुँ शुक्लागण्डकीकी रमिला सुनारले बताइन् । यतिबेला आलु महोत्सव स्थल विष्णुपादुका खेल मैदानका अलावा हेमजा स्थित स्थानीयका घरघरबाट समेत आलु तथा अन्य कृषि उपजको बिक्रीवितरण दर बढेको छ । महोत्सवमा सोमबार कलाकारहरु पुरुषोत्तम न्यौपाने, रामजी पौडेल, सरस्वती लामिछाने, कमला गैह्रे, किसन नेपाली, भूमिका पंगेनी, कृष्टिना क्षेत्री, प्रकाश विक्रम राजमाझी लगायतले प्रस्तुति राखे । त्यस्तै हास्यकलाकारहरु राजेन्द्र गिरी 'जादुगर गुन्द्रुके', मनोज गोर्खाली लगायतले पेटमिचीमिची हँसाए । त्यस्तै गुरुकुल विद्यासदन मावि नयाँबजार, स्नो भ्यू बोर्डिङ स्कुल हेमजाले पनि प्रस्तुति देखाए । त्यस्तै पप कन्सर्टतर्फ देउराली, लेकाली, ब्रोसिस व्यान्ड लगायत अंकित श्रेष्ठले प्रस्तुति राख्दै दर्शकलाई नचाए । महोत्सव अन्तर्गत मंगलबार नयाँ वर्षको दिन त्यहाँ कलाकारहरु शिव हमाल, राजु ढकाल, कुमार पुन, ममता तामाङ, सुभद्रा श्रेष्ठ, भूमिका पंगेनी, प्रजिता सुनार लगायतका प्रस्तुति रहने सांस्कृतिक उपसमिति सदस्य परशुराम अधिकारीले जानकारी दिए । त्यस्तै महोत्सवमा सोमबार जनकल्याण आमा समूह, कमल जौंसी आमा समूह एवं प्रगति आमा समूहले रत्यौली प्रतियोगिता अन्तर्गत आ–आफ्ना प्रस्तुति राखे । महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार एवं कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज बिउ बिजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन् । सोमबारसम्म ४० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ । पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने यात्रुसँग ट्याक्सी व्यवसायीले चर्काे शुल्क लिने गरेको गुनासो छ । अन्य सार्वजनिक यातायात नपाइने र ट्याक्सी सेवा महङ्गो भएपछि विमानस्थलबाट अमरसिंह चोकसम्म सुविधा सम्पन्न विद्युतीय सटल बस सेवा चलाउन लागिएको हो । महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले नयाँ वर्षबाट सुरु हुने सेवा असार मसान्तसम्म यात्रुले सित्तैमा पाउने उल्लेख गरे । असारसम्मका लागि साझेदार खोज्ने वा महानगर आफैंले सञ्चालन खर्च बेहोर्ने तयारी छ । एक विद्युतीय बसको मूल्य एक करोड ३० लाख रहेको महानगरले जनाएको छ ।
राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा जनसहभागिता बढेको हो। दर्शक सहभागिता बढेसँगै त्यहाँ आलु लगायत अन्य उपभोग्य बस्तु किनबेच हुने क्रम पनि बढ्दै गएको छ । त्यहाँ आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारीक स्टल छन् ।प्रतिकेजी रु.३५ मा आलुको कारोवार भएको छ। आइतबारसम्म रु. ८ लाख बढीको आलु बिक्री भएको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले बताए । उनले हालसम्म सबैभन्दा बढी ६० केजी र कम्तीमा १ केजीसम्म ग्राहकले आलु खरिद गरी लगेको पनि सुनाए। सामान्य तथा २० देखि ३० केजी किन्नेसम्म ग्राहक धेरै छन् ।कास्कीका छिमेकी पालिका लगायत पर्वत, बाग्लुङ, तनहुँ, स्याङजाबाट समेत आलु खरिदका लागि मानिसहरु आउने गरेको उनको भनाई छ। हेमजाको आलु मिठो छ, चाँडो पनि पाक्छ, बजारियाँको तुलनामा स्वास्थ्यकर पनि भएकाले आफूहरु आलु खरिदकै लागि आएको आइतबार दिउँसो महोत्सव स्थलमा भेटिएकी तनहुँ भिमादकी सुनिता श्रेष्ठले बताइन्। महोत्सवमा आइतबार कलाकारहरु बद्री पंगेनी, ममता तामाङ, शान्ता वर्देवा, रोशन विसी, नेत्र खड्का, परशुराम अधिकारी, मुना अर्याल, आयुषा खत्री, झलकमान् सारङगी पाठशाला लगायतले प्रस्तुति राखे।त्यस्तै सोमबार एन्जिला रेग्मी, रामजी पौडेल, सरस्वती लामिछाने, कमला गैह्रे, किसन नेपाली, भूमिका पंगेनी, राजेन्द्र गुन्दु्रके, मनोज गोर्खाली लगायतका प्रस्तुति रहने उल्लेख छ । त्यस्तै पप कन्सर्टतर्फ देउराली, लेकाली लगायतका व्याण्डका प्रस्तुतिहरु रहनेछन्।महोत्सवमा आइतबारबाट रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ। महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोगको निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन्। त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन्। आइतबारसम्ममा २५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठ जानकारी पनि दिए ।
पोखरा । भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् । उक्त फाइनल खेल सोमबार दिउँसो १ बजे हुने आयोजक संस्थाका अध्यक्ष विष्णु पुनले जानकारी दिए । उनका अनुसार आइतबार भएको पहिलो सेमिफाइलन खेलमा स्याङ्जा युवा क्लबमाथी २–० गोल अन्तरले जीत निकाल्दै मिक्की एफसी फाइनलमा प्रवेश गरेको हो । मिक्कीको जीतमा उपेन गुरुङ र आशिक गुरुङले गोल गरे । सो खेलबाट मिक्कीका अमिर गुरुङ म्यान अफ दि म्याच घोषित भए । यसैगरी अर्काे सेमिफाइनल खेलमा रामघाट एफसी ग्रिनले आयोजक सूर्यतारा क्लबमाथी २–१ गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै उपाधि नजिक पुग्यो । रामघाटको जीतमा विशाल बिक र सुशान्त गुरुङले गोल गरे भने सूर्यताराका लागि आकाश थापा मगरले सान्त्वना गोल फर्काए । प्रतियोगिताको विजेता टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महोत्सवमा फुटबलसँगै खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगितासमेत समावेश गरिएका छन् । ‘स्पोट्र्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ । प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स, प्रवद्र्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ । सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू रहेका छन् । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् । ‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ । खेल महोत्सव चैत्र ३० गते समापन गरिने प्रचार संयोजक इश्वर अधिकारीले जानकारी दिए ।
पोखरा। सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र खहरे विचको सडकमा तीन दिन सम्म चल्ने महोत्सव आगामी बैशाख १ गते राति सकिने छ । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो । तरेली सांस्कृतिक परिवारले स्वागत नृत्य प्रस्तुत गरेको थियो । महोत्सवमा साँझ सांस्कृति प्रस्तुती र पंचैबाजाको रमाइलो रहने छ । पप कन्सर्टका कार्यक्रम पनि समेटिने छन् । सोमबार भने खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पंचैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ । यसमा १५ पंचैबाजा समूहले भाग लिएको महोत्सव आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पंचै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने उनले जानकारी दिए । पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुने छ । महोत्सवको उद्घाटन गर्दै प्रजिअ शर्माले फेवा महोत्सव निरन्तर र स्थायी रुपमा संचालन हुँदै आउनु नै यसको सफलता भएको बताइन् । पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसावले महोत्वपूर्ण शहर रहेको भन्दै उनले पर्यटनको राजधानीको उपमा समेत पाउनु पोखराका लागि सकारात्मक पक्ष भएको भनाई राखिन् । महोत्सवमा प्रस्तुत कलात्मक झाँकी र प्रस्तुतीले जनताविचको एकता झल्किएको उनले सुनाइन् । पोखरालाई सुरक्षित र सुन्दर सहरको रुपमा निरन्तर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीण बहादुर पाण्डेले पोखराले आन्तरिक र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा बढी जोड दिन सुझाव राखे । पोखराका लागि आन्तरिक पर्यटक तथा भारतीय र चिनिया पर्यटकले ठूलो योगदान दिन सक्ने उनले बताए । कार्यक्रमको संचालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन् । पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा नै भएको महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेका छन् । इ–सेवाबाट होटल बुक गर्दा १० प्रतिशत सम्म क्यासब्याक हुने अफर पनि इ–सेवाले अगाडि सारेको छ । फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सहप्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केवलकार लि, इ–सेवा, युनाइटेड वाइनरी प्रालि रहेका छन् । इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ । महोत्सवका प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश रहेका छन् ।
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन अनुसार पहिलो खेलमा भ्यु पोइन्ट एफ सीललाई आर एस पोखराले पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्याे । सो खेलबाट आर एस पोखराका सदीस कार्की म्यान अफ दि म्याच घोषित भए । यस्तै दोस्रो खेलमा एस एस एप सीको अनुपस्थितिमा वाकओभर मार्फत सूर्य तारा क्लब सी विजयी बन्यो । तेस्रो खेलमा स्याङ्जा एफसीले पेनाल्टी सुटआउट मार्फत काउले एफसीलाई ३–२ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे । चौथो खेलमा विपिन एफसी ए टिमले रामघाट एफ सी सेतोलाई पेनाल्टी सुट आउटमा २–१ अन्तरले पराजित ग¥यो । उक्त खेलमा विपिनका सिदन श्रेष्ठ मेन अफ दि म्याच बने । पाँचौ खेलमा सूर्य तारा क्लब पोखराले नमस्ते पार्टी प्यालेसलाई ३–० गोल अन्तरले पराजित ग¥यो । सो खेलबाट सूर्य ताराका राज कुमार कुँवर मेन अफ दि म्याच घोषित हुँदै पुरस्कृत भए । ् छैटौँ खेलमा रामघाट एफ सी ग्रीनले आर एस पोखरा एफसीलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । उक्त खेलबाट रामघाटका सुशान्त गुरुङ म्यान अफ दि म्याच घोषित भए । आज भएको अन्तिम खेलमा पोखरा २९ लाई स्याङ्जा युथ क्लबले १–० गोल अन्तरले हराउँदै स्याङ्जा दोस्रो चरणमा प्रवेश गरेको प्रचार प्रसार उपसमितका संयोजक इश्वर अधिकारीले जानकारी दिए । उनका अनुसार सो खेलबाट स्याङजाका आइत तामाङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा कुल १८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् । महोत्सवमा फुटबलसँगै खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगितासमेत समावेश गरिएका छन् । महिला डोरी तान प्रतियोगितामा विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ हात पार्नेछ । खुल्ला ‘स्लो’ महिला स्कुटर रेसमा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ । जातीय संघ–संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । ‘स्पोट्र्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ । प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स, प्रवद्र्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ । सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू रहेका छन् । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् । ‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ । खेल महोत्सव चैत्र ३० गतेसम्म चल्नेछ ।
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । शनिबार मात्रै करिब ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । त्यहाँ आलुको कारोबारदेखि, कृषि स्टल र अन्य स्टलमा पनि उल्लेख्य कारोबार भइरहेको अध्यक्ष श्रेष्ठले सुनाए । महोत्सवमा पुग्ने दर्शक अधिकांशले कृषि स्टलमा चासो राख्ने गरेको पाइएको छ । किनकि महोत्सव प्रवेशसँगै त्यहाँ कृषि उपज तथा सामग्रीका स्टलहरू देख्न पाइन्छ । आलु महोत्सव भएकाले आलुको ज्ञान लिन आउने दर्शक संख्या पनि बाक्लै छ, महोत्सव स्थलमा आलुको प्रजाति तथा अन्य विभिन्न तरकारीका बीउबिजन प्रदर्शनी गरिरहेको कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक सहायक बालकृष्ण भारतीले बताए । त्यहाँ निर्देशनालयले २५ प्रजातिका आलु तथा ३७ प्रकारका अन्य तयारीका बीउ प्रदर्शनीमा राखेको छ । महोत्सवअन्तर्गत शनिबार कलाकारहरू शान्तारानी परियार, अनिल चापागाईं, करिष्मा बीसी, पूजा तामाङ, नेत्र खंका, परशुराम अधिकारी, सुनील गायक, आयुषा खत्री तथा मुना अर्यालले प्रस्तुति राखे । त्यस्तै महोत्सवमा आइतबार कलाकारहरू बद्री पंगेनी, ममता तामाङ, शान्ता बर्देवा, रोशन बीसी, नेत्र खड्का, परशुराम अधिकारी, मुना अर्याल, आयुषा खत्री लगायतले दर्शकलाई मनोरञ्जन दिने मूल आयोजक समितिका महासचिव विकल थापाले जानकारी दिए । महोत्सवअन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउबिजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन् । महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय वटा व्यापारिक स्टल रहेका छन् । त्यहाँ प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार हुने गरेको छ ।
सूर्यतारा क्लब पोखराको आयोजनामा ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ शुक्रबारबाट सुरु भएको छ । महोत्सवको शुक्रबार एक कार्यक्रमकाबीचमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरे । सदस्य सचिव शर्माले क्लबले खेल महोत्सवको निरन्तर आयोजना गरेकोमा सराहना गरे । यस्ता प्रतियोगिताले नयाँ प्रतिभालाई बाहिर ल्याउने सघाउने विश्वास उनको थियो । पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले वडामा खेल गतिविधि बढाउनका लागि क्लबले गरेको कार्यमा आफ्नो साथ रहने बताए । खेलकुद विकासका लागि वडा सधैं अग्रसर रहने प्रतिवद्धता उनले जनाए । क्लबका अध्यक्ष विष्णु पुनले खेल क्षेत्रमा केही गर्ने उद्देश्यका साथ यस्तो विषम परिस्थितिमा समेत खेल महोत्सव आयोजना गरिएको उल्लेख गरे । खेल महोत्सवलाई निरन्तर अगाडि बढाउने समेत उनले खुलाए । चैत्र ३० गतेसम्म पोखरा २९ भण्डारढिकमा रहेको प्रस्तावित रङ्गशालामा सञ्चालन हुने महोत्सवको मुख्य आकर्षणको रुपमा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिता रहेको छ । जस अन्तरगत पहिलो दिनमा पाँच खेल सम्पन्न भएको प्रचार प्रसार संयोजक ईश्वर अधिकारीले जानकारी दिए । उद्घाटन खेलमा आयोजकको ए टिमलाई पराजित गर्दै पोखरा २९ ले विजयी सुरुवात गरेको छ । आयोजकको ए टिमलाई पोखरा २९ ले १–० गोल अन्तरले पराजित गरेको हो । दोस्रो खेलमा नमस्ते पार्टी प्यालेसले दोभान क्लबलाई २–१ गोलअन्तरले, तेस्रो खेलमा विपिन एफसी बीले शिवबस्ती सिप्लेनीतारा क्लबलाई १०–२ गोल अन्तरले, चौथो खेलमा रामघाट सेताेले आयोजक सूर्यताराको बी टिमलाई २–० गाेल अन्तरले पराजित गर्यो । शुक्रबारको पाँचौ खेलमा मिक्की एफसीले छोरी सुसनलाई ४–१ गोल अन्तरले पराजित गरेकाे प्रचार संयोजक अधिकारीले बताए । पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा कुल १८ समुह सहभागी रहेको क्लब अध्यक्ष विष्णु पुनले जानकारी दिए । यी टिमलाई दुई समुहमा विभाजन गरिएको छ । सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले बताए । द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउने अध्यक्ष पुनको भनाइ छ । फुटबलका अलावा महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत महोत्सवको आकर्षणको रुपमा रहेका छन् । महिला डोरी तान प्रतियोगितामा विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ पुरस्कार पाउनेछ । खुल्ला ‘स्लो’ महिला स्कुटर रेसमा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ । जातीय संघ-संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । ‘स्पोर्ट्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ । प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स, प्रवर्द्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ । सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू रहेका छन् । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमीले उपाधि हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा एलिट भलिबलले बौद्ध सृजना युवा क्लब घलेललाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको एलिटले २० हजार र उपविजेता भएको बौद्ध सृजनाले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिला भलिबलमा १० टिमको सहभागिता रहेको थियो । २९ गतेसम्म सञ्चालन हुने मेलामा पुरुष भलिबलतर्फ २४ समूहको सहभागिता रहेको छ । आज भएको पुरुष तर्फको खेलमा घाचोक टुसे, घलेल, फेरी भेटौला,नयाँपुल साखु र डाँडागाउँले पहिलो चरणमा खेलमा विजयी भएका छन् । खुला क्लबस्तरीय पुरुष भलिबलतर्फको विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुने टिमले ६० हजार रुपैयाँ र सेमिफाइनल पुग्ने दुई टिमले १०÷१० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । पुरुषतर्फको खेल तालिका बुधबार नै सार्वजनिक गर्ने आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताका विजेतालाई नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट खेलाडी, सर्भर, स्पाइकर, डिफेन्डर, सेटर र ब्लकरले ट्रफी प्राप्त गर्नेछन् । यसैगरी, माछापुच्छ्रे गाउँपालिकाका स्थानीयका लागि मात्र आयोजना गरिएको सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउने छन् । नृत्य प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क निःशुल्क गरिएको छ । मेलाका अवसरमा अन्य विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरु पनि आयोजना गरिएका छन् । स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी तथा विविध सांस्कृतिक कार्यक्रम, छेलो प्रतियोगिता, रसाकस्सी, म्युजिकल चेयर, बेलुन फुटाई र भाले निकाल्ने प्रतियोगिता हुने आयोजकले बताए । ल्वाङ्ग गाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ । यहाँ एकै दिन करिब ६ सय जना पर्यटकलाई राख्न सक्ने क्षमताका होटल तथा होमस्टेहरु सञ्चालनमा रहेका छन् ।

