काठमाडौं: नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार अपराह्न नियुक्त गरेका हुन् । यसअघि सो मन्त्रालय सम्हालेका राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस डिलसम्बन्धी अडियो प्रकरणमा मुछिएपछि मंगलबार नै राजीनामा दिएका थिए । न्यौपाने एमालेकी तिनै नेता हुन् जो २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।
काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिए पछि उहाँले मंगलबार राजीनामा दिनुभएको हो । केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबिच घुस बार्गेनिङ भएको अडिओ सार्वजनिक भएको थियो । उहाँले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’
पोखरा: गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ । लुम्बिनी प्रदेशको रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका–११ मा श्री हिमालय श्रृखला चौरी यूवा क्लबले आयोजना गरेको राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन गण्डकीले सञ्जुकोे कप्तानीमा टोली घोषणा गरेको हो । गण्डकी प्रदेश भलिबल संघका अनुसार सञ्जु विक्रम शाह (टिम कप्तान), राजन दर्लामी मगर, हिमाल सुनारी, कुञ्जन शाही ठकुरी, विवश आले मगर, सन्तोष वि.क, उमेश सेन्चुरी, विश्वास अधिकारी, सुपेन्द्र परियार, संजोग परियार, सुगम सुनार रहेका छन् । यस्तै टिम प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा राजेन्द्र जिसी र व्यवस्थापकमा पूर्ण बहादुर गुरुङ रहेका छन् । साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकीसहित नेपाल पुलिस क्लब, एपिएफ क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, भगवति माई दैलेख र कोशी प्रदेशको सहभागिता रहनेछ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले २ लाख सान्त्वना हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ६ टिमको सहभागिता रहने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा ३जना विदेशी खेलाडी समावेश गर्न पाइने आयोजकले जनाएको छ ।
दाङ: दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ । बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का १८ वार्षिय कुशल बुढामगर र तुलसीपुर उपमहानगरपालिका ७ का १८ वर्षका बिधान केसी रहेको प्रहरीले जनाएको छ । ६ जनाको समुहमा साथीहरुसँग घुम्न गएका मध्ये ३ जना पौडीखेल्न खोलामा पसेको र एक जना पौडिएर बाहिर निस्किए पनि दुई जना डुबेर बेपत्ता भएका थिए ।
काठमाडौं: सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री सदस्य रहनु भएको छ । सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उहाँले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । यो समितिलाई पनि उहाँको योग्यता र कार्यशैलीप्रति छानबिन गर्ने कार्यादेश दिइएको छ । सरकारले समिति गठन गरेसँगै ओझा स्वतः निलम्बित हुनुभएको छ । अख्तियारले फर्जी काजजात पेस गरेको जान्दाजान्दै के आधारमा नियुक्ति दिइएको हो भन्ने प्रश्न उठाएपछि छानविनका लागि सरकारले समिति गठन गरेको हो ।
काभ्रेपलाञ्चोक: बिपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो । सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मङ्गलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो । उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो । रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।
दाङ: दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल सिस्ने खोलामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनास्थलमा पुगेका स्थानीयले दुवै जनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा सम्पन्न भएको ओपन फुटसल प्रतियोगिताको उपाधि रामघाट ह्वाइटले जितेको छ । बक्स पोखराले असार २७ देखि २९ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरेको ओपन फुटसल प्रतियोगिताको फाइनल खेलमा रामघाट ह्वाइटले ड्याडिज किचेनलाई २–१ ले गोल पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको रामघाट ह्वाइटले १ लाख ७० हजार र उपविजेता भएको ड्याडिज किचेनले १ लाख रुपैयाँसहित ट्रफी मेडलर प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा २६ समूहले सहभागिता जनाएको थिए । प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च भएको बक्स पोखराका अध्यक्ष प्रदिप गुरुङले बताए । अध्यक्ष गुरुङले खेलकदु मात्र नभएर सामाजिक सेवाको उद्धेश्यले प्रतियोगिता आयोजना गरेको बताए । बक्स पोखराले आगामी दिनमा पनि यस्ता सामाजिक उद्देश्यका लागि खेलकुद कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।
पोखरा: जब प्रकृति, संस्कृति र आतिथ्य एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यको सङ्गम हो भन्दा फरक पर्दैन । यहाँको मौलिक संस्कृति र यहाँबाट देखिने हिमश्रृङ्खलाका सुन्दर दृश्यले पर्यटकलाई लोभ्याइरहेको छ । पर्यटन राजधानी पोखराबाट करिब ६० किलोमिटरको दूरी र अन्नपूर्ण हिमालको काखमा लुट्पुटिएको घान्द्रुक पर्यटकीय गाउँ मात्रै होइन, गुरुङ जातिको जीवन्त सङ्ग्र्रहालय पनि हो । जहाँ ढुङ्गाले छाएका घरहरू, सफा र चिटिक्क परेका गल्लीहरू, हँसिला अनुहार र मुस्कुराइरहेका हिमालले घान्द्रुकलाई जीवन्त बनाएका छन् । काठमाडौँबाट घुम्न आउनुभएका शिक्षक छवि थापाले आँखै अगाडिको सुन्दर हिमाल र गुरुङ समुदायको आतिथ्यताबाट आफू निकै प्रभावित भएको बताउनुभयो । “बर्खायाम घुम्नका लागि उपयुक्त होइन भन्दाभन्दै पनि हामी घान्द्रुक आइपुगेका थियौँ, यहाँ आइसकेपछिको आनन्द बेग्लै पायौँ, बादलको घुम्टोभित्र लुकेको हिमालसँगै स्थानीयको आत्मीयताले हामीलाई लोभ्यायो”, उहाँले भन्नुभयो । पतिसँगै घुम्न आउनुभएकी बेसींसहरकी अनुजा न्यौपानेले यहाँको शान्त वातावरण र सुन्दर हिमालका दृश्यले यहाँ आइपुग्दाको थकान मेटाइदिएको अनुभव सुनाउनुभयो । “घान्द्रुकका बारेमा जति सुनिएको थियो, त्योभन्दा धेरै पाएँ, यहाँको सुन्दरता र आतिथ्य सधैंभरि सम्झनामा रहनेछ”, उहाँले भन्नुभयो । पर्यटन प्रवर्द्धनको कार्यक्रम लिएर घान्द्रुक आइपुग्नुभएका गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) गण्डकीका पूर्वअध्यक्ष नवराज अधिकारीले घान्द्रुक गुरुङ समुदायको जीवन्त संस्कृति र परम्परा धानेको गाउँ भएको बताउनुभयो । “घान्द्रुक गुरुङ संस्कृतिको एउटा धरोहर हो, यहाँका घरहरूको वास्तुकला अद्वितीय छ, ढुङ्गाले बनेका र स्लेटले छाएका परम्परागत घरहरूले गाउँलाई मौलिक रुप दिएका छन्, सफा र चिटिक्क परेका ढुङ्गे गल्लीहरूमा हिँड्दा बेग्लै आभास हुन्छ ।” पूर्वअध्यक्ष अधिकारीले गाउँमा निर्माण भएको गुरुङ सङ्ग्रहालयले गुरुङ जातिको परम्परागत जीवनशैली, प्रयोग गर्ने भाँडाकुँडा, हतियार र वेशभूषाको जीवन्त प्रदर्शनी गरेको बताउनुभयो । “हामीले प्रवर्द्धन गर्ने भनेको यही मौलिकता र आत्मीयपन हो, जसले पर्यटकलाई पटक–पटक यहाँ आउन प्रेरित गर्छ ।” यहाँका अधिकांश घरबास (होमस्टे) महिलाले सञ्चालन गरेका छन् । यसले महिलालाई आर्थिक सशक्तीकरणमा पनि टेवा पुर्याएको पूर्वअध्यक्ष अधिकारीको भनाइ छ । घान्द्रुकमा आशीष होमस्टे सञ्चालन गर्दै आउनुभएका हरिमाया गुरुङले घान्द्रुक आउने पर्यटकका कारण आफूहरु आर्थिक रुपमा आत्मनिर्भर भएको बताउनुहुन्छ । “घान्द्रुक हाम्रो जीवन र पहिचान हो, पाहुनालाई पारिवारिक वातावरणमा सेवा दिइरहेका छौँ, त्यसैले उहाँहरु फर्किफर्की आउनुहुन्छ”, उहाँले भन्नुभयो, “चुल्होचौकोबाट सुरु भएको मेरो यात्रा आज पर्यटन र आत्मनिर्भरताको कथा बनेको छ । हिमाल हेरेर हुर्किएका हामी महिलाहरू, आज आफ्नै खुट्टामा उभिएर संसारलाई स्वागत गरिरहेका छौँ ।” पछिल्लो समय यहाँका स्थानीयका लागि पर्यटन आयआर्जनको मुख्य स्रोत हो । होटल सञ्चालक विभिमाया गुरुङले भन्नुभयो, “होमस्टेमा आउने पाहुनाहरु यहाँको रहनसहन संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउने गर्छन्, हामीले पनि सकेसम्म राम्रो आतिथ्य प्रदान गर्दछौँ, पाहुनाहरुले विशेष गरी यहाँको सुन्दरता र परिकारमा बढी रमाउनुहुन्छ ।” पछिल्लो समय उहाँमा नयाँ पुस्ताले होमस्टे एवं होटल सञ्चालनमा चासो नदेखाउँदा घान्द्रुकको मौलिकता र सुन्दरता हराउने हो कि भन्ने चिन्ता छ । “नयाँ पुस्ता गाउँमा दुःख गर्न खोज्दैन, विदेश जाने रहरले गर्दा आफ्नो मौलिक पहिचान बोकेको घान्द्रुकको विशेषता लोप हुने हो कि भन्ने चिन्ता पो लाग्छ मलाइ त”, उहाँले भन्नुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले घान्द्रुक पर्यटकीय गाउँ भएकाले यसको विकासका लागि पर्यटन केन्द्रित कार्यक्रममा जोड दिएको बताउनुभयो । घान्द्रुक देश विदेशका पर्यटकको घुम्न आउने गन्तव्यको रुपमा विकास भएको उहाँको भनाइ छ । अध्यक्ष केसीले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा पर्यटन विकासका लागि रु। २० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ सञ्चालित अधिकांश होटल र घरबास (होमस्टे) हरूले पर्यटकलाई व्यावसायिक सेवा मात्र नभई पारिवारिक वातावरण प्रदान गर्छन् । यहाँ आउने पर्यटकले विशेष गरी कोदोको ढिँडो, गुन्द्रुकको अचार, सिस्नुको तरकारी र लोकल कुखुराको मासु मन पराउने गरेको उहाँको भनाइ छ । हिमशृङ्खला, चियावगान, मेश्रमबराहसँगै गाउँमा रहेको पुरानो गुरुङ सङ्ग्र्रहालय पर्यटकहरूका लागि अर्को आकर्षणको केन्द्र हो, जहाँ गुरुङ जातिको ऐतिहासिक रहनसहन, प्रयोग गरिने सामग्रीहरू र वेशभूषाहरूको अवलोकन गर्न सकिन्छ । साँझपख आमा समूहहरूले प्रस्तुत गर्ने परम्परागत सांस्कृतिक नाच (घाँटु, सोरठी) ले पर्यटकलाई गुरुङ संस्कृतिमा अझ नजिकबाट साक्षात्कार गराउँछ । घान्द्रुकमा प्राकृतिक सुन्दरता मात्र होइन, लोकजीवन, संस्कृति, अर्गानिक कृषि, पारम्परिक खाना, घरपसल र महिलाहरूको आत्मनिर्भरता पनि पर्यटकहरूका लागि आकर्षण बनेको छ । फागुन चैतमा ढकमक्क फुल्ने गुराँसको सौन्दर्य यस गाउँको थप विशेषता हो ।