पोखरा: पोखरा महानगरपालिका-११ फूलबारीमा शुक्रबार निस्शुल्क आँखा परीक्षण तथा मोतिविन्दु पहिचान शिविर सम्पन्न भएको छ। फूलबारी क्लबको आयोजना र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १८५ जनाको आँखा जाँच गरिएको थियो। जाँचका क्रममा १५ जनामा मोतिविन्दु देखिएको र उनीहरू सबैको आगामी मंसिर २५, २६ र २७ गते दृष्टि आँखा अस्पतालमै निःशुल्क शल्यक्रिया गरिने अस्पतालले जनाएको छ। गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्त्री थापाले यस्ता सामुदायिक शिविरले आर्थिक रूपले विपन्न नागरिकलाई ठूलो राहत पुग्ने बताउनुभयो। आँखाको उपचार निकै महँगो हुन्छ, यस्ता शिविरले धेरैको जीवनमा उज्यालो छर्ने काम गरेका छन् उहाँले भन्नुभयो। शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। फूलबारी क्लबका सह(सचिव अनन्तराज आचार्यले भन्नुभयो हाम्रो सानो प्रयासले कसैको संसार अँध्यारो नहोस् भन्ने नै हाम्रो उद्देश्य हो। क्लबले यस्ता स्वास्थ्यसम्बन्धी शिविरहरू भविष्यमा पनि निरन्तरता दिने जनाएको छ। कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष जनार्दन बाँस्तोलाले गर्नुभएको थियो भने संयोजन संगीता आचार्य र सञ्चालन सचिव सबिना आचार्यले गर्नुभएको थियो। कार्यक्रममा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, दृष्टि आँखा अस्पतालका अध्यक्ष शिवप्रसाद पोख्रेललगायत जनप्रतिनिधि, विभिन्न संघ(संस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो।
म्याग्दी: यहाँस्थित प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवा लिनेभन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी देखिएको छ । यसमा पनि २० वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिनेको सङ्ख्यामा बढोत्तरी भएको छ । सरकारले सन् २००२ देखि गर्भपतनलाई कानुनी मान्यता दिएको थियो भने सन् २०१६ देखि सरकारी स्वास्थ्य सस्थामाहरुमा गर्भपतन सेवालाई निःशुल्क गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भन्नुभयो, “ बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७ सुत्केरी भए । सोही अवधिमा एक सय ९१ जनाले सुरक्षित गर्भपतन सेवा लिए ।” उहाँका अनुसार सुरक्षित गर्भपतन सेवा लिनेमध्ये आठ र सुत्केरी हुनेमध्ये ३१ जना २० वर्ष भित्रका थिए । कार्यालयका अनुसार अस्पतालमा चालुआवको २०८२/०८३ को गत साउनदेखि कात्तिकसम्म सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका तीन सय ७६ मध्ये ३९ जना २० वर्ष मुनिका थिए । यसैगरी आव वर्ष २०८१/०८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार तीन सय ८४ मध्ये एक सय ९० जना २० वर्ष मुनिका थिए । गत आवमा २० वर्ष मुनिका एक सय ६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिने एक हजार चार सय ६५ जनामध्ये २० वर्ष मुनिको सङख्या एक सय ६५ जना थियो । यसैगरी २० वर्ष मुनि गर्भपतन सेवा लिनेको सङ्ख्या ३३ जना थियो भने सो उमेरमाथिका आठ सय ६८ जना थिए । पछिल्लो जनगणना अनुसार जिल्लामा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार एक सय ८३ जना छ । जिल्लाका ४७ प्रतिशत दम्पत्तीले मात्र परिवार योजनका आधुनिक साधनको प्रयोग गर्ने सूचना अधिकारी सुवेदीले बताउनुभयो । अझै ५३ प्रतिशत दम्पत्ती परिवार नियोजनका आधुनिक साधनको पहुँच बाहिरै छन् । प्रजनन स्वास्थ्यका दृष्टिकोणले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिने राम्रो मानिन्न । कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएको छ । परिवार योजनाका साधनको प्रयोग कमी, सुत्केरी हुने भन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी, २० वर्ष भन्दा कम उमेरमा गर्भवती र गर्भपतन गराउनेको सङ्ख्या बढ्नु प्रजनन स्वास्थ्यमा चुनौती थपिएको सूचाङ्क मानिन्छ । अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले भन्नुभयो “सुरक्षित गर्भपतन सेवाको पहुँचसँगै सेवा लिनेको सङ्ख्या बढ्नु सकारात्मक हो । तर पटक पटक गर्भपतन गराउनु हुँदैन । २० वर्ष मुनि शारीरिक र मानसिक रुपमा सक्षम भइनसकेका किशोरी गर्भवती हुँदा प्रजनन स्वास्थ्यमा जोखिम आउँछ । बालबिवाहका कारण शारीरिक र मानसिक रुपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् । यस्तो अवस्था अन्त्य गर्न जरुरी हुन्छ । यसका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी र सचेतना आवश्यकपर्छ । ” उहाँ आधुनिक परिवार योजनाका साधनको प्रयोगदर कम हुनु, सुत्केरी हुने भन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी हुनु, २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुनु र गर्भपतन गराउनेको सङ्ख्या बढ्नु प्रजनन स्वास्थ्यमा चुनौती थपिएको बताउनुहुन्छ । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले भन्नुभयो,“बालविवाह घटाउन तीनवटै सरकारले विशेष ध्यान दिनुपर्छ । यौन तथा प्रजनन स्वास्थ्यको महत्वका बारेमा विद्यालय र स्वास्थ्य संस्थाले भूमिका निर्वाह गर्नुपर्छ । १४÷१५ वर्षका किशोरीसमेत आमा बनिरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ ।” म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले समाजमा विवाहको शैली फेरिए पनि बालविवाह कम नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “बालविवाह असुरक्षित र अनिच्छित गर्भधारणको प्रमुख कारण मेलाजात्रा हो । मेलाजात्राले धेरै किशोरी तथा युवतीको भविष्य बिग्रिएको छ ।” नेपालमा अझै पनि आधा भन्दाबढी अर्थात् ५३ प्रतिशत अनिच्छित गर्भधारण हुने तथ्याङ्क छ । अर्कोतर्फ पछिल्ला वर्षमा बीस वर्ष भन्दा कम उमेरमा विवाह दर्ता नहुने, विवाह दर्ता नभइकन जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवा सुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ । ‘सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले‘सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा’ भन्ने नारालाई सार्थक बनाउन सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन आग्रह गरिरहेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी भन्नुभयो, “साझेदारका सहकार्यमा महिलाको प्रजनन स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न सुरक्षित गर्भपतन सेवामा लक्षित वर्गको सहज पहुँच, गुणस्तरीय सेवा र यसको स्वीकार्यता देशभर विस्तार गर्न सरकार निरन्तर प्रतिबद्ध छ ।” उहाँका अनुसार हाल दुई हजार ८२७ सूचिकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा निःशुल्क प्रवाह भइरहेको छ । उहाँले भन्नुभयो, “असुरक्षित गर्भपतनका कारण हुने मातृ मृत्युदर घटाउँदै महिलाको स्वास्थ्य र जीवन बचाउन सबैलाई सुरक्षित र सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन आग्रह गर्दछौँ ।” स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको एक अध्ययनका अनुसार नेपालमा हुने करिब ५२ प्रतिशत गर्भपतन असुरक्षित छन् । अझै पनि सुचिकृत स्वास्थ्य संस्थाबाट भन्दा असुरक्षित र औषधि पसलबाट अनाधिकृत औषधि खाएर असुरक्षित गर्भपतनमा कमी आएको छैन । महाशाखाका अनुसार गर्भ रहेको दशहप्ताभित्रको औषधिको प्रयोगद्वारा गरिने गर्भपतन सेवाका लागि सुचिकृत स्वास्थ्य संस्था एक हजार ६८६ र सुचिकृत स्वास्थ्यकर्मी चार हजार २५८ छन् भने दश हप्ताभित्रको औषधिको प्रयोग र उपकरणको सहायताले गरिने सेवाका लागि सुचिकृत स्वास्थ्य सस्था ७२७ र सुचिकृत स्वास्थ्यकर्मी एक हजार ४२२ छन् । यसैगरी गर्भ रहेको १२ हप्तासम्मको उपकरणद्वारा गरिने सेवाका लागि सुचिकृत स्वास्थ्य संस्था ३५१, सुचिकृत स्वास्थ्यकर्मी दुई हजार ८६०, गर्भ रहेको १२ हप्ताभन्दा माथि २८ हप्तासम्मको सेवाका लागि सुचिकृत स्वास्थ्य संस्था ६३ र सुचिकृत स्वास्थ्यकर्मी १५२ भन्दा बढी छन् । सुनौलो परिवार नेपालका प्रबन्धक कुमार आचार्य भन्नुहुन्छ “दक्ष स्वास्थ्यकर्मी नभएका अनाधिकृत क्लिनिकहरुले प्रदान गरेका सेवा असुरक्षित हुने भएकोले त्यस्ता क्लिनिकको निरीक्षण र अनुगमनलाई प्रभावकारी बनाउनु जरुरी छ । सुरक्षित गर्भपतन सेवामा पहुँच वृद्धि गर्न असुरक्षित गर्भपतनलाई निरुत्साहित गर्न आवश्यक छ । ” यसका लागि संस्थाले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा विभिन्न जिल्लामा तालिम सञ्चालन एवं ११४३ हटलाइन टेलिफान सेवा सञ्चालन गरिराखेको जनाएको छ । परिवार व्यवस्थापन र सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी दिन सो हट लाइन सेवा अत्यन्त प्रभावकारी रहेको बताइएको छ । सोही संस्थाद्वारा हाल विभिन्न १८ जिल्लामा सञ्चालित २२ ‘मेरी स्टोप्स् सेन्टर’हरुले सुरक्षित गर्भपतन सेवाका साथै परिवार योजना र महिलाको महिनावारी सुरु भएदेखि बन्द नहुञ्जेलसम्मका सम्पूर्ण प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र गुणस्तरिय सेवा उपलब्ध गराउदै आइरहेको जनाइएको छ । प्रबन्धक आचार्यका अनुसार सेवा प्रदान गरिएका ती स्थानहरुमा कोशीको (विर्तामोड, विराटनगर, इटहरी), मधेश (वीरगञ्ज, लाहान, लालबन्दी), बागमती (चुच्चेपाटी, गौगबु, पुतलीसडक, सातदोवाटो, नारायणगढ), लुम्बिनीको(बर्दघाट, भैरहवा, बुटवल, चन्द्रौटा, दाङ,कोहलपुर र तौलिहवा), गण्डकीको (डुम्रे र पोखरा) कर्णालीको (सुर्खेत) सुदूरपश्चिमको अत्तरिया छन् । क्यालिफोर्निया विश्वविद्यालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनका अनुसार नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिए पनि गर्भपतनका लागि कानुनी सेवा पाउन योग्य धेरै महिला (विशेष गरेर गरिव , सीमान्तकृत, सङ्कटासन्न, दुर्गम क्षेत्र) गर्भपतन सेवाबाट वञ्चित रहेका छन् । नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ । लामो बहस एवं पैरवीपछि यसले बैधाननिकता प्राप्त गरेको थियो । अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले घरदैलोमा नै सुरक्षित गर्भतन सेवा सुरुआत गरे पनि यसका बारेमा सेवाग्राहीलाई जानकारी नै छैन । यसका कारण अनाधिकृत औषधि र हानिकारक अभ्यासबाट गर्भपतन गराउनेक्रम अझै रोकिएको छैन । दक्ष स्वास्थ्यकर्मीका सल्लाहबिना सेवन गर्ने अनाधिकृत औषधिले महिलाको ज्यानसमेत जोखिममा पर्दै गएको छ भने कतिपयको त अकालमा नै मृत्यु भएको जनाइएको छ । सुरक्षित गर्भपतन सेवाका बारेमा अझै जानकारी छैन । सेवा लिनसमेत अझै हिचकिचाउने प्रवृत्ति छ । सुरक्षित गर्भपतन सेवा परिवार नियोजनको साधन होइन भन्ने कुरालाई समुदायमा बुझाउन जरुरी छ ।
पोखरा: नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस पोखरामा पनि मनाइएको छ । सन् २००६ देखि संयुक्त राष्ट्र संघले पनि यो दिवसलाई आधिकारिता दिएको छ । दिवसको उपलक्ष्यमा शुक्रबार सूर्यचन्द्र विकास समाज पोखरा ५ ले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना ग¥यो । शिविरमा २ सय ५ जनाको सित्तमै मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको छ । शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए । उनले सबैसम्म मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गरे । ‘सकेसम्म घरकै खाना खानुस्, कामको अनुपातमा खानुस्,’ डा अधिकारीले भने, ‘अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेला बेलामा चेकजाँच गराउनुस् ।’ उनले मधुमेहले तत्काल असर गरेको नदेखिए पनि हेलचेक्र्याइ गरे दीर्घकालसम्म अनेक असर हुने उल्लेख गरे । ‘मधुमेह लागेपछि पनि हेलचेक्र्याइ गर्दा ५ वर्षसम्म केही असर नदेखिन सक्छ,’ उनले थपे, ‘त्यसपछि मिर्गाैलामा असर, थकान, तीर्खा लाग्ने हुन सक्छ । ५ देखि १० वर्षसम्म आँखामा असर हुन सक्छ, रोग प्रतिरोधी शक्ति कम हुन्छ । १० देखि १० वर्षसम्म पनि उपचार नगरे शरीरका सबै अंगमा असर गर्न थाल्छ ।’ मधुमेहका कारण अनेक समस्या आउने उल्लेख गर्दै उनले अहिले मिर्गाैला डायलाइसिस गराइरहेकामध्ये ७० प्रतिशत जति मधुमेह हुँदा हेलचेक्र्याई गर्नेहरु भएको भएको सुनाए । मधुमेह समाज र राष्ट्रकै लागि बोझ बनेको जनाउँदै डा अधिकारीले अब समाज, राष्ट्र, स्वास्थ्यकर्मी र आममानिसको एकीकृत प्रयासले मात्र यसको प्रभाव कम गर्न सकिने विचार राखे । कार्यक्रममा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नागरिकको स्वास्थ सरकारको मुख्य सरोकार भएको बताए । वडाध्यक्ष बरालले जनस्तरबाट हुने यस खालका सचेतना र शिविरले सरकारको लक्ष्य प्राप्त गर्न सघाउने विचार राखे । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले सामाजिक उत्तरदायित्वमा पनि अग्रणी बन्दै काम गरिरहेको उल्लेख गरे । सर्वसाधारणलाई स्वास्थ्य सचेतना, निशुल्क जाँचसँगै पोखरामा विश्वस्तरको गुणस्तरको सेवा प्रदान गर्न लागिपरेको उनको भनाइ छ । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो । पोखराभित्र ७ ठाउँबाट सेवा दिइरहेको युआरएलले मुख्य कार्यालयसहित गण्डकी प्रदेशका १८ स्थानबाट सेवा प्रदान गरिरहेको छ । विभिन्न संघ, संस्थासँग सहकार्य र आफैंले समेत शिविर आयोजना गर्दै आएकोमा शुक्रबारको शिविर २ सय ११ औं रहेको अध्यक्ष पन्थको भनाइ छ । संस्थाकी अध्यक्ष सावित्री कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बाराही मावि व्यवस्थापन समिति अध्यक्ष वसन्तराज कोइराला, उपाध्यक्ष हेमराज भण्डारी, सचिव दीपक बराल लगायतले बोलेका थिए ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाटस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राङ्गणमा आइतबार आयोजित रक्तदानबाट २५ युनिट संकलन भएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल सुनचाँदी, रत्न तथा आभुषण व्यवसायी महासँघका केन्द्रीय अध्यक्ष किसान सुनारले पहिलो रक्तदाता अमित पौडेललाई ब्लडब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि सुनारले रक्तदान जस्तो महान कार्य गर्न जो कोही पछि हट्न नहुने धारणा राखे । रक्तदानको एक एक थोपाको महत्व हुने बताउँदै उनले कसैको जीवन बचाउन रक्तदाताहरुको अतुलनीय योगदान रहने उल्लेख गरेका थिए । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्य ढकाल, विश्वकर्मा समाज नेपालका अध्यक्ष रन बहादुर बिक, मिझार समाज गण्डकीका अध्यक्ष शालिकराम नेपाली, परियार सेवा समाज कास्कीका उपाध्यक्ष ज्ञानु परियार, ट्याक्सी सेवा केन्द्रका अध्यक्ष हरिराज आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए । दलित एकता संजाल नेपाल, कतारका अध्यक्ष प्रकाश विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, हिरामणी भुषालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तथा रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग रहेको थियो ।
गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध बिरामीले नियमित रूपमा सेवन गर्ने थाइराइड, कोलेस्ट्रोल, उच्च रक्तचाप, सुगर र मुटुलगायतका औषधि नपाएको गुनासो गरेका छन् । तीन महिनाअघि थाइराइडको औषधि नपाएर रित्तो हात फर्कनुभएका तुलसी शर्माले मेडिकल पसलमा पुगेर औषधि लैजानुभयो । दोस्रोपटक अस्पताल आउँदा पनि उहाँले थाइराइडको औषधि पाउनुभएन । शर्मा प्रतिनिधिपात्रमात्रै हुन् । अस्पताल आउने बिरामीले परीक्षण राम्रो भए पनि औषधि नपाएको गुनासो गरिरहेका छन् । थाइराइड २५ र थाइराइड १२.५ को औषधि अहिले अस्पताल फार्मेसीमा उपलब्ध छैन । अस्पतालले समयमै औषधि ल्याउन नसक्दा बिरामी महँगो मूल्यमा औषधि खरिद गर्न बाध्य छन् । अस्पतालका केही स्वास्थ्यकर्मीको स्वार्थका कारण अस्पतालले सबै औषधि समयमै उपलब्ध गराउन नसकेको बिरामी बताउँछन् । अस्पतालका स्वास्थ्यकर्मी र फार्मेसीको बाहिर आफ्नो निजी पसल भएकाले अस्पतालमा औषधि अभाव बनाइराख्ने गरेको बिरामीको गुनासो छ । अस्पतालमा अहिले थाइराइडको मात्र होइन, मुटुसम्बन्धी रोगको औषधि पनि अभाव छ । समय–समयमा जीवनजल र सिटामोलको समेत अभाव देखाउँदै आएको अस्पतालले गुणस्तरीय सेवालाई वृद्धि गर्दै अघि बढेको जनाए पनि औषधि खरिदमा ढिलाइ गर्दै आइरहेको छ । खासगरी स्वास्थ्य बीमाका बिरामीले औषधि नपाएको गुनासो गर्दै आएका छन् । अस्पतालमा स्वास्थ्य परीक्षण राम्रो भए पनि बीमामार्फत औषधि नपाएको अस्पतालमा उपचारका लागि आउनुभएका सिसम बोहोरा बताउनुहुन्छ । उहाँले चिकित्सकले सिफारिस गरेका अधिकांश औषधि अस्पतालको फार्मेसीमा नपाइएको गुनासो गर्नुभयो । फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले औषधि ट्रान्सपोर्टमा आउन समय लागेको बताउनुभयो । औषधिको मौज्दात हेरेर समयमै खरिद गर्दा यस्तो समस्या नआउने भन्दै धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किरण तिवारीले अभाव भएका औषधि तत्काल पूर्ति गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “औषधि अभाव हुन नदिन नियमित खरिद भइरहेकै हुन्छ तर धेरै औषधि खरिद तिहारलगत्तै ठेक्कामा जानेगरी तयारी गरिएको छ, फार्मेसीलाई चुस्त बनाउन थप लागिपर्छु”, तिवारीले भन्नुभयो, “नागरिकलाई सर्वसुलभ ढङ्गबाट औषधि प्रदान गर्न व्यवस्थापन टिम खटेको हुन्छ, केही औषधि अभाव भएको गुनासो आएको छ, तत्कालै समस्या समाधान गर्दछौँ ।”
भक्तपुर: सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए। तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उनले बताए। यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मीकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई शिनबार ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए । ‘सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ’, उनले भने, ‘प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा सम्भव भएको हो । अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ ।’ चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनउमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा। पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको उनले जानकारी दिए। नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण वीर अस्पतालमा डा। श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ ।
पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले मंगलबार देखि किशोर किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान शुरु गरेको छ । पोखरा महानगरपालिका वडा नं. २५ कार्यालय हेमजाको सहयोग तथा समन्वयमा हेमजास्थित गौरीशंकर माध्यामिक विद्यालयबाट यो अभिायन शुरु गरेको हो । अभियान कास्कीका ४ वटा गाउँपालिका २÷२ विद्यालय तथा कलेज गरी ८ र महानगरका १६ गरी २४ वटा विद्यालय तथा कलेजमा यो अभिायन सञ्चालन गरिने नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलले जानकारी दिए । ‘यो अभियान स्थानीय सरकार तथा स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुसँग मिलेर गर्ने हामीले लक्ष्य लिएका छौ’ सिग्देलले भने, ‘किशोर किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यका सवालमा यो अभियान सञ्चालन गरिएकोले पनि यो अभियानमा सवैलाई हातेमालो गर्न हामी आग्रह गर्दछौ।’ अभियानको पोखरामहानगर पालिकाका प्रवत्ता तथा वडा नं. २५ का वडा अध्यक्ष मोतिलाल तिम्सीनाले शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै तिम्सिनाले यौन तथा प्रजनन् स्वास्थ्यका वारेमा किशोर किशोरीहरुले खुलेर जानकारी लिने थलो यो अभियान हुने बताए । ‘किशोर किशोरीहरुका यौन तथा प्रजनन् स्वास्थ्यका सावलमा स्थानीय सरकार पनि गभ्भिर भएर लागेको छ’ उनले भने, ‘यो अभियानमा पनि स्थानीय सरकार समन्वय गरेर अगाडि बढ्न सधै तयार छ ।’ पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख भरतराज पौडेलले चासो र जिज्ञासा भएमा स्रोत अभाव नहुने बताउदै अभियानमा स्वास्थ्य महाशाखा हातेमालो गरेर जाने उल्लेख गरे । प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीले यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा खुलेर कुरा राख्न नसक्दा कतिपय किशोर किशोरीहरु मानसिक रोगको शिकार हुने गरेको बताउँदै यस्ता खालका अभियान अहिलेको आवश्यकता भएको बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका शाखाका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल ‘आभाष’ र वरिष्ठ शाखा प्रबन्धक नबराज तिवारीले सहजिकरण गरेका थिए । सचेतना मुलक कार्यक्रममा गौरीशंकर माविका करिव १ सय विद्यार्थीको सहभागिता रहेको थियो । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस पोखरा –२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, गौरीशंकर माविका सहायक प्रध्यानाध्यापक मानबहादुर कार्की, नेपाल परिवार नियोजन संघ कास्कीका शाखाका वरिष्ठ शाखा प्रबन्धक नबराज तिवारीले बोलेका थिए ।
काठमाडौं: देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । शाखाप्रमुख डा अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको छ । डा गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताउनुभयो । सत्तरी प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ । सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपराली पश्चिममा मृत्यु भएको हो । स्वास्थ्यकर्मीहरुका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण भई बिरामीको मृत्यु हुने गरेको छ ।
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।

