ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो रु १२० भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट रु ४०र५० मै ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताउनुभयो । व्यापारीका कारण किसान र उपभोत्ता मारमा परेको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउनुहुन्छ । आफूले हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । किसानले नै उत्पादन बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको खड्का बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिगानामा सुन्तला धेरै नै उत्पादन हुन्छ, उत्पादनअनुसारको मूल्य पाउन सकिन्थ्यो भने यस क्षेत्रका किसानको जीवनस्तर माथि उठ्नेमा कुनै शङ्का छैन, तर मूल्य नै पाउन सकेका छैनौँ, साउन, भदौमा गाउँमा आएर व्यापारीले सुन्तलाको बगान नै किन्छन्, हामीले प्रतिकिलो रु ४०/५० भन्दा बढी पाउने अवस्था छैन, बजारमा किन्ने उपभोक्ताले बढी मूल्य तिर्छन् ।” अर्का किसान हरिप्रसाद कँडेलले व्यापारीका कारण किसान र उपभोक्ता बढी मारमा परेको बताउनुभयो । किसानबाट खरिद गरेको सुन्तलाको मूल्य बजारमा पुर्याएर अस्वाभाविक नाफा लिने गरेको उहाँको भनाइ छ । किसानबाट प्रतिकिलो सुन्तला रु ८० मा खरिद गरेर बजारमा रु १०० मा बिक्री गर्दा किसान र उपभोक्ता मारमा नपर्ने उहाँ बताउनुहुन्छ । कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार हजार ७१।६ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष किसानले बल्ल सुन्तला टिप्न थालेको हुँदा तथ्याङ्क आउन बाँकी छ ।
पोखरा: फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो । राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए । बैशाख महिनामा सिर्जनचोकमा स्थापना गरिएको राइज फिटनेसको शाखा विस्तार गरि शान्तिनगर चोकमा गरिएको उनले बताए । राइज फिटनेसका तीनै शाखामा नयाँ प्रविधि–मैत्री फिटनेस मेसिनहरु जडान गरिएको भनाई उनको छ । जीममा नयाँ सदस्यका लागि १५ देखि २० दिनसम्म प्रशिक्षकद्वारा निःशुल्क प्रशिक्षण उपलब्ध गराइन्छ । दुई जना दक्ष ट्रेनरमार्फत दैनिक तालीम प्रदान गरिने र उक्त सेवाका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने भण्डारीले बताए। फिटनेस सेवालाई सबैका लागि पहुँचयोग्य बनाउन राइज फिटनेसले मासिक रु ३,००० र त्रैमासिक रु ७,००० को शुल्क निर्धारण गरेको छ । ग्राहकलाई थप प्रोत्साहित गर्न भर्ना शुल्क समेत नलाग्ने व्यवस्था गरिएको छ । राइज फिटनेसका तीनै शाखामा गरी ५÷५ जना कर्मचारी खटाइएका छन्। संचालक भण्डारीका अनुसार नयाँ शाखासहित पोखरामा राइज फिटनेसमा ५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । उनका अनुसार शान्तिनगर चोकको नयाँ शाखा मात्र २ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। व्यवसाय विस्तारसँगै आम्दानीसमेत सन्तोषजनक रहेको भण्डारीको भनाइ छ। पहिले जीमप्रति ‘त्रास’ वा ‘भय’ भएको धारणा रहे पनि अहिले फिटनेस, स्वास्थ्य, शरीर नियन्त्रण र खेलकुद करिअर निर्माणका लागि जीम पस्ने संस्कार विकसित भइरहेको भण्डारी बताउँछन्। राइज फिटनेसमा १५ वर्षदेखि वृद्ध उमेर समूहसम्मका सदस्यहरू नियमित रूपमा आउने गरेका छन्। “हामीले फिटनेसलाई स्वास्थ्य सुधारको मुख्य आधारका रूपमा अघि बढाएका छौँ। खेलकुदमा व्यावसायिकता ल्याउन पनि फिटनेस अत्यावश्यक भएकाले युवा मात्र नभई सबै उमेर समूहलाई जोड्ने प्रयास गरेका छौँ,” भण्डारीले भने। भण्डारीका अनुसार फिटनेस उद्योगमा प्रतिस्पर्धा बढ्दै गए पनि ग्राहकको विश्वासलाई मुख्य आधार मान्दै राइज फिटनेसले समयअनुसार सुविधा, मेसिन, तालीम विधि र व्यवस्थापनमा निरन्तर परिवर्तन गर्दै आएको छ। “हामीले पहिलो शाखाबाट सुरु गरेको यात्रालाई विस्तार गर्दै पोखराका विभिन्न क्षेत्रमा सेवा पुर्याइरहेका छौँ। भविष्यमा अझ आधुनिक सेवा थप्ने योजना छ,” भण्डारीको भनाइ छ ।
काठमाडौं: सुनको मूल्य शुक्रबार फेरि २ लाख ५० हजार रुपैयाँ नाघेको छ । हिजो घटेको सुनका मूल्य आज बढेसँगै पुनः २ लाख ५० हजार नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं: आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु. ४०० ले घटेको छ भने चाँदी रु. ६० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु. तीन हजार २८० कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला रु। दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु. तीन हजार २२० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
म्याग्दी: म्याग्दीमा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ। गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ। अनुकूल मौसम, रोगकिराको समस्या नदेखिएनु, भित्र्याउने समयमा असिना नपर्नु, बेमौसमी वर्षाले कम असर गर्नुलगायत कारणले यस वर्ष तीन दशमलव उक प्रतिशतले धान उत्पादन बढेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए। ‘धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षात हुनुका साथै भित्र्याउने समयमा पनि मौसमले साथ दियो’, उनले भने ‘रोगकिराको समस्या नदेखिएको र असिना नपरेकाले धान उत्पादन बढेको हो।’ गत कात्तिकको दोस्रो साता भएको बेमौसमी वर्षाले म्याग्दीका धानबालीमा ठूलो क्षति नपुर्याएको कार्यालयले जनाएको छ। जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५९ मेट्रिकटनका दरले १३ हजार ६६३ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष प्रतिहेक्टर तीन दशमलव ७० मेट्रिकटनका दरले १४ हजार ८७ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका प्रमुख बास्तोलाले जानकारी दिए। जिल्लाका विभिन्न ठाउँमा गरिएको बाली कटान विधिबाट उत्पादनको तथ्यांक संकलन गरिएको कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताइन्। उनका अनुसार गौरीया, गुडुरा, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, शंकर, युएस–३१२ लगायत जातका धानखेती यहाँका मुख्य बाली हुन् । भिरालो जमिनमा पनि गर्न सक्ने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती लेकाली क्षेत्रका किसानले गर्छन्। पछिल्लो समय उन्नत जातमा किसानको आकर्षण बढेपछि धैया, अनदीलगायत रैथाने जातका धानको खेती घटेको लामिछानेले बताइन्। रत्नेचौर, ज्यामरुककोट, अर्थुंगे, पुलाचौर, सिंगा, बरङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, घार, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ । धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र अन्नपूर्णको शिख, राम्चेमा चिसोका कारण धान उत्पादन हुँदैन्। मंगला गाउँपालिका २ सिमका ध्रुव केसीले यस वर्ष ११० मुरी धान उत्पादन भएको बताए। मौसमले साथ दिएकाले उत्पादन बढेको बताउँदै उनले गत वर्ष १०० मुरी मात्र धान उत्पादन भएको जानकारी दिए। गण्डकी प्रदेश सरकारले धानलगायत खाद्यान्नबालीको खेती प्रवर्द्धनको कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष १० लाख बजेट विनियोजन भएको यस कार्यक्रममा चालु आवमा रु १५ लाख विनियोजन भएको छ । कार्यक्रममार्फत सिँचाइ, पूर्वाधार विस्तार र यान्त्रीकरणमा सहयोग गरिन्छ। स्थानीय तहअनुसार कोटा निर्धारण गरेर रासायनिक मल आपूर्ति र वितरणको व्यवस्था मिलाएकाले किसानले मल अभावको समस्या झेल्नु नपरेको जनाएका छन्। रैथाने बालीको खेती घट्दै जानु, क्षेत्रफल विस्तार हुन नसक्नु, जनशक्तिको कमीलगायत कारणले जिल्लामा धानखेतीको मुख्य चुनौती बनेको छ।
मुस्ताङ: मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा ११ करोड ८४ लाख ७५ हजार ४०० बराबरको आलु उत्पादन वृद्धि भएको जनाइएको छ । केन्द्रका अनुसार चालु आवमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो । गत वर्षभन्दा चालु वर्ष आलु उत्पादनको क्षेत्र १८ हेक्टर वृद्धि भएको हो । त्यसैगरी, गत वर्षको तुलनामा चालु आवमा यहाँ प्रतिहेक्टर करिब दुई मेट्रिक टन आलु उत्पादन वृद्धि भएको छ । चालु आवमा जिल्लाका किसानले फार्म गेट औसत मूल्य प्रतिकेजी ६५ मा बिक्री भएकाले सोहीअनुसार कुल उत्पादन मूल्यको लेखाजोखा गरिएको केन्द्र प्रमुख गुरुङको भनाइ छ । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको संयुक्त समन्वय र सहकार्यमा स्थानीय तहका कृषि प्राविधिकको उपस्थितिमा गरिएको क्रप कटिङ विधिबाट आलु उत्पादनको लेखाजोखा गरिएको उनले बताए । उनका अनुसार माथिल्लो मुस्ताङ, मध्यमुस्ताङ र तल्लो मुस्ताङलाई तीन क्षेत्रमा विभाजन गरी त्यहाँका विभिन्न आलु उत्पादनकर्ता किसानको खेतबारीमा पुगेर धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने आलुको उत्पादन तथ्याङ्क सङ्कलन गरी औसत उत्पादनको मापन गरिएको छ । गत वर्ष जिल्लाका पाँच स्थानीय तहमा गरी कुल चार सय ६० हेक्टर क्षेत्रमा आठ हजार ४९६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष यहाँ प्रतिहेक्टर १८ दशमलव ३८ प्रतिशत आलु उत्पादन भएको थियो । केन्द्रका अनुसार गत वर्षको तुलनामा चालु वर्षमा १३ दशमलव ७६ प्रतिशत स्याउ उत्पादन भएको छ । त्यसैगरी, गत वर्ष चालु वर्ष एक हजार १६९ मेट्रिक टन आलु उत्पादन वृद्धि भएको केन्द्र प्रमुख गुरुङले बताए । गत वर्ष मुस्ताङमा प्रतिकेजी ६० मा आलु बिक्री भएकामा चालु वर्ष पाँच वृद्धि भई ६५ मा बिक्री भएको उनको भनाइ छ । चालु आवमा यहाँका पाँच स्थानीय तहमा उत्पादन भएको आलुमध्ये ६० प्रतिशत जिल्ला बाहिर, ३० प्रतिशत जिल्लाभित्र र १० प्रतिशत बीउ प्रयोजनका रूपमा खपत भएको हो । यहाँ घरायसी प्रयोजन र होटल रेष्टुराँमा एकतिहाइ आलु खपत हुने गरेको केन्द्र प्रमुख गुरुङले जानकारी दिए । यहाँ स्याउबालीभित्र अन्तरबालीका रूपमा पनि आलुखेती गर्ने गरिएको छ । हिमाली जिल्ला उच्च भूगोलको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो हुन्छ । मुस्ताङको आलु तरकारी, उसिनेर तथा साँधेर खाने प्रचलन छ । यहाँ उत्पादन गरिने लोकल सेतो आलु सहरबजारका उपभोक्ता तथा जिल्लामा आएका पर्यटकले औधी रुचाउने गर्छन् । सहरबजारका थकाली भान्साघर होस् वा ठूला तारेहोटलमा किन नहोस् मुस्ताङी आलु आमउपभोक्ता माझ स्थापित भइसकेकाले पनि मुस्ताङी आलुको माग अधिक छ । पछिल्लो समय कोरला सडक सहज हुँदै जान थालेपछि मुस्ताङी स्याउपछि आलुको माग बढेको घरपझोङ–४ जोमसोमका किसान अजित थकालीले बताए ।
काठमाडौं: स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ११५ रुपैयाँ कायम भएको छ ।
तनहुँ: देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको पिरलो बनेको छ । यहाँबाट करोडौँ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैँ झेल्नुपरेको हो । यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा, दगरा, लुङ्ग्रिङबाट करोडौ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको कृषक रणबहादुर मगरले जानकारी दिए । सुन्तला बजारसम्म पु¥याउन भने सधैँ समस्या झेल्नुपरेको उनको गुनासो छ । उनले भने, ‘यहाँका कृषकको मुख्य आम्दानी सुन्तला खेती नै हो । कालीगण्डकी, सेतीमादी र त्रिशुली नदीले घेरिएको उक्त वडामा जान कुनै पनि नदीमा पक्की पुल बनेको छैन । पक्की पुल नहुँदा उक्त उत्पादित करोडौँ मूल्यको सुन्तला बजारसम्म लैजान सकस हुने गरेको छ ।’ सुन्तलाको बोटमा रोग लागेर यसवर्ष उत्पादनमा कमी भएपनि आम्दानी भने गत वर्ष भन्दा ३० प्रतिशत बढि भएको उनले बताए । गत वर्षहरुमा मङ्सिरको दोस्रो साता सुन्तला बजार पठाउने गरिएपनि यस वर्ष भने पहिलो सातामै सुन्तला बजार पठाइएको कृषक प्रेमबहादुर मगरले बताउनुभयो । उनका अनुसार प्रति क्रेट एक हजार चार सय रुपैयाँमा सुन्तला विक्री भएको छ । कृषक भीमबहादुर रानाले सिधा सडक सञ्जाल विस्तार नभएकाले घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नुपरेको गुनासो गरे । उनले भने, ‘केही कृषकले मुग्लिन–नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्छन् । छापस्वाँरा, दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाडौं लैजाने गरेका छन् । सडक पहुँच अभावका कारण यहाँका किसानले बिचौलियाका माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौसम्म बजार विस्तार गर्न बाध्य भएका छन् । यस वडाको लुङ्ग्रिङमा एकै घरबाट २० लाख रुपैयाँसम्मको सुन्तला विक्री हुने गरेको बताइन्छ ।
काठमाडौं: बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु। दुई लाख ४१ हजार ७०० मा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु। तीन हजार १३५ कायम भएको छ । त्यति नै परिमाणको चाँदी शुक्रबार रु। तीन हजार १०० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

