स्याङ्जाः   दश वर्ष कोरिया बसेर फर्कनुभएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थाल्नुभएको छ ।   वालिङ नगरपालिका–४ रत्नेथुम्काका उहाँले विदेशमा सिकेको सीप आफ्नै गाउ...

इलाम:    चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ ।  उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन् । प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ । उत्पादन बन्द भएपछि किसान भने यतिबेला बोटको चिया काट्न व्यस्त छन् । यतिबेला काटिएको चियाबाट पुनः वैशाख महिनादेखि उत्पादन सुरु गरिन्छ । योबेला चियाको बोटलाई छाँटकाट गर्नुपर्ने हुन्छ । मल हाल्ने बेला पनि यही हो ।  केही किसानले चैत महिनाभित्रै चियाको फेद वरिपरि खनेर मल हाल्ने गर्छन् । बर्खामा पलाउने झारलाईसमेत यही बेला फाल्ने गरिन्छ । आफ्नै ज्ञानअनुसार पुरानै तरिकाबाट चिया छाँटकाट गर्दै आएका किसान पछिल्लो समय प्राविधिक तालिमपछि आधुनिक तरिकाले चिया काट्न थालेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षदेखि किसानलाई तालिम दिन दिएकाले आधुनिक तरिकाबाट चिया काट्न थाले पनि अझै पर्याप्त सिकाइ नपुगेको सम्बद्ध किसानको भनाइ छ ।  गत वर्ष नैै चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि उक्त बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएपछि किसानलाई केही सहज भएको थियो । बीचमा चियाखेतीप्रति कम चासो दिएका किसानलाई केही राहत भए पनि अझ पर्याप्त सिकाइ नपुगेको उनीहरू बताउँछन् । सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मङ्गलबारे, इलाम नगरपालिका, शान्तिडाँडा, जस्विरे, साँखेजुङलगायत स्थानमै पुगेर उक्त बोर्डले दुई हजार सात सय ९० जनालाई तालिम दिएको थियो ।   नेपालमा उत्पादन हुने चिया १० प्रतिशत नेपालमै खपत हुने तथ्याङ्कमा उल्लेख छ । करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको छ । उक्त बोर्डको तथ्याङ्कअनुसार इलाममा आठ हजार आठ सय ७६ किसान चियामा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती भइरहे पनि समयमा चियाको मूल्य पाउन अझैपनि किसानलाई समस्या हुँदै आएको छ ।

ताप्लेजुङ:    ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ । दस वर्षअघि फक्ताङ्लुङ गाउँपालिका(६ लेलेपकी किसान मनमाया लिम्बूले एकै मौसम (सिजन) मा १० देखि १५ मुरीसम्म फापर उत्पादन गर्ने गरेको सुनाए । उनले भने, ‘पछिल्लो समय खेती गर्ने जनशक्ति (मान्छे) पाइँदैन । अलैंची, चिराइतोजस्ता नगदेबाली लगाउने प्रचलन बढ्यो । यससैले फापर खेती गर्न छाडियो ।’ यस्तै फुङ्लिङ नगरपालिका–२ बोझेकी किसान धनकुमारी मादेन लिम्बूले फापर खेती लगाउन छोडेको सुनाउनुभयो । ‘पहिले–पहिले गाउँका सबै किसानले फापर खेती लगाउँथे, विस्तारै सबैले खेती गर्न छोड्दै गए, आफूले पनि फापर खेती लगाउन छोडियो’, उनले भने । उनले परम्परागत रैथाने बाली भएकाले बीउ जोगाउनका लागि थेरै मात्र फापर खेती लगाउँदै आएको बताए । उनीहरुजस्तै खेतीमा संलग्न जिल्लाका किसानले फापर खेती लगाउन छोडेका छन् । किसानले खेती गर्न छोडेपछि जिल्लामा फापर देख्नै पाउन छाडिएको फुङ्लिङ नगरपालिका–५ बुद्धचोकका विक्रम लिम्बूले जानकारी दिए । विगतमा गाउँका किसानसँग सम्पर्क गर्दा चाहे जति पाइनेअर्थात् उपलब्ध हुने फापर अहिले खोजी गर्दा पनि पाउनलाई मुस्किल पर्ने गरेको उनले बताए ।   विगतमा फापर खेतीमा संलग्न रहँदै आएका किसान कम उत्पादन हुने र सोचेजस्तो फाइदा पनि नहुने भएकाले फापर खेती छोडेको बताउँछन् ।   कुन खेती र पेसा गर्दा बढी फाइदा हुन्छ, त्यतातिर किसान अग्रसर र आकर्षित हुँदै आएको उनीहरुको भनाइ छ ।   थोरै परिश्रम वा लगानीबाटै राम्रो आम्दानी हुने गरेको अलैँची खेतीतर्फ नै ग्रामीण भेगका किसान आकर्षित हुँदै आएका छन् ।   स्थानीय भाषामा तीते र मिठे गरी दुई प्रथातिको फापर खेती गर्ने गरिन्छ । खेती गर्न र उत्पादन हुन छोडेको फापर, कोदोलगायतका रैथाने खाद्यान्न बालीको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने हाल आवाज पनि उठ्न थालेको छ । मेला, महोत्सव तथा खाद्य परिकार प्रदर्शनीमा रैथाने बालीका परिकार चखाउने र उपभोगका लागि प्रयोगमा ल्याउने गरिएकाले यस्ता बालीहरुको खेतीलाई निरन्तरता दिनुपर्ने माग समेत उठ्न थालेको छ । स्थानीय तहले नै रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम बनाई कार्यान्वयनमा ल्याउनुपर्ने समाजका अगुवाले बताउने गरेका छन् । किसानलाई आत्मनिर्भर बनाउने योजना बनाउँदै आएका स्थानीय तहले अनुदान सहयोग गरेरै भए पनि रैथाने बाली संरक्षण तथा खेती गर्नतर्फ प्रेरित गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने आवश्यक भएको समाजका अगुवा बताउँछन् । रैथाने बाली फापरको परिकार उपभोग गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । उच्च रक्तचाप तथा मधुमेह (सुगर)का बिरामीले फापरको परिकार उपभोग गर्न लाभदायक हुने बताइन्छ । त्यस्तै कब्जियत नियन्त्रण गर्न, मोटोपन घटाउनमा सहयोगी हुने जनाउँदै फापरको रोटीलगायतका परिकार उपभोग गर्नमा उपभोक्ताको रुची बढ्दै गएको पाइएको छ ।

ढोरपाटन:    बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दुध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेष गरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दुध उत्पादन गर्छन् । ब्राह्मण समुदायले घरबाटै दुध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दुध बिक्री गर्न पाएका छैन । गाउँमा दुध सङ्कलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दुध नउठाइदिने गुनासो बढिरहेको छ । सरोकारवाला निकायले नै चासो नदिँदा दुध बिक्री गर्न नसकिएको दलित अधिकारकर्मी बताउँछन् । काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दुध बिक्रीमा आनाकानी गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले दलित समुदायका किसानले उत्पादन गरेको दुध बिक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानुनअनुसार कारबाही गर्ने राससालाई बताउनुभयो । काठेखोला गाउँपालिकामा दुध बिक्री गरेरै धेरै किसानले परिवार चलाउँदै आएको भन्दै प्रवक्ता विकले गाउँपालिकाले पनि उनीहरूको सहजगताका लागि गाउँपालिका–२ अक्षतेमा दुध सङ्कलन केन्द्र स्थापना गर्ने बताउनुभयो ।  काठेखोलाको दुध बागलुङ बजारसँगै पोखरामा पनि बिक्री हुने गरेको छ । “सङ्घसंस्था हुन् वा व्यक्ति कसैले पनि जातीय विभेद गरेर असामाजिक गतिविधि गर्न पाइँदैन, पछिल्लो समय छुवाछूत र विभेदका कारण दलित समुदायले उत्पादन गरेको दुध बिक्री नभएको गुनासो बढेको छ”, प्रवक्ता विकले भन्नुभयो । “गाउँपालिकाले यसलाई गम्भीररूपमा लिएको छ । अब जातीय विभेद भयो भने कानुनी दायरामा ल्याउन पालिका नै अग्रसर हुने कार्यपालिकाले निर्णय गरेको छ । हरेक नागरिकको पेसा व्यवसाय गरेर बाँच्न पाउन अधिकार हुन्छ । किसानको सहजगताका लागि गाउँपालिकाले पनि अक्षते बजारमा दुध सङ्कलन केन्द्र स्थापना गर्नेछ ।” काठेखोला गाउँपालिका(१ पालकाकी अस्मिता विकले दुध उत्पादन भए पनि बिक्री गर्न निकै समस्या भएको बताउनुभयो । हिउँदमा कम भए पनि वर्षा याममा बढी दुध उत्पादन हुने तथा त्यो खेरजाने दुखेसो गर्नुभयो । छरछिमेकीको घरको दुध बिक्री भए पनि दलित परिवारको नहुने उहाँले गुनासो पोख्नुभयो । आफूहरू अन्यायमा पर्दा पनि सरोकारवाला निकाय मौन रहेको विक बताउनुहुन्छ । सरकारले  २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको हो ।  त्यसयता पनि हाम्रो समाजमा  छुवाछूत र जातीय विभेद कायमै छ । काठेखोला गाउँपालिका(२ भीमापोखराका चिन्तामणि विकले लामो समयदेखि दुध बिक्री नभएकामा सङ्घर्ष गर्दै आएको बताउनुभयो । गाउँमा दुध सङ्कलन र बजारसम्म पुर्‍याउनका लागि सहकारी स्थापना भएपनि आफूहरूलाई शेयर सदस्यसमेत बन्न नदिएको बताउनुभयो । 

म्याग्दी:   गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा उन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले जनाएका छन् । जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रुपमा सुन्तलालाई लिने गरिन्छ । सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले फूल खेल्ने र बटिला लाग्ने समयमा बेमौसमी वर्षा, असिनापानी र रोगकीराको समस्याका कारण सुन्तला उत्पादन घटेको बताउनुभयो ।  “सुन्तला खेती हुने क्षेत्रफल र उत्पादनयोग्य बोटको सङ्ख्या बढेपनि प्रतिकूल मौसम र रोगकीराका कारण उत्पादकत्व नौ प्रतिशतले घटेको प्रारम्भिक अनुमान गरेका छौँ,” उहाँले भन्नुभयो, “क्रम कटिङ रिपोर्ट तयार पार्न बाँकी छ । किसनाको भनाइ र स्थलगत अनुगमन गर्दा यसपाली म्याग्दीमा सुन्तला उत्पादन घटेको पाइएको ओ ।” म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् । यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन थालिएको छ । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । सात सय छ हेक्टरमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टर भन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । गतवर्ष तीन हजार नौ सय पाँच मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो । अन्नपूर्ण गाउँपालिका–७ को दोसल्ले सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले गतवर्ष रू ७५ लाखको सुन्तला बिक्री भएकामा यस वर्ष रू २५ लाख बराबरको मात्र फलेको बताउनुभयो । “बजारको समस्या छैन तर यसपाली सुन्तलानै कम फल्यो,” उहाँले भन्नुभयो, “सुन्तला कम फलेकाले व्यापारीले अग्रिम पैसा दिएर हामीले नटिप्दै बगैँचाबाटै सुन्तला किनेका छन् ।”  फल पाक्ने बेलामा कीराको सङ्क्रमणबाट औसा परेर झर्ने समस्या देखिएपछि उत्पादनमा कमी आएको किसानले बताएका छन् । पाक्ने बेलामा दाना झर्ने समस्या सुन्तला खेतीमा केही वर्षयता मुख्य चुनौतीको रुपमा देखिएको दोसल्लेका किसान बेगबहादुर पाइजाले बताउनुभयो ।  “सुन्तला जातका फलफूलको दानाभित्र पसेको औसाले असोजदेखि पुससम्म पहेँलो बनाइ दाना प्वाल पारेर अथवा दानालाई आफूसँगै भूइँमा खसाल्छन्”, कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुर्मीले भन्नुभयो, “यसरी खसेका दानालाई सही तरिकाले बेलैमा व्यवस्थापन गर्नु पर्छ ।” भूइँमा खसेका औसालाई प्लास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने र डेढ फिट भन्दा बढी गहिरो खाडल खनेर व्यवस्थापन गर्न तालिम र प्लास्टिकको थैला वितरण गरिएको उहाँले जानकारी दिनुभयो । “झरेका दानालाई हावा नछिर्ने प्लास्टिकको बोरामा हालेर खाडलमा गाड्नुका साथै फ्रुट फलाई कीरा मार्ने खाद्यपासो प्रोटिन बेट प्रयोग गर्नुपर्छ,” कुर्मीले भन्नुभयो, “किसानलाई औसाले झरेका दाना, बगैँचा व्यवस्थापन र सरसफाइ गर्ने ज्ञान, सीप र प्रविधि सिकाउन स्थलगत तालिम सञ्चालन गरेका छौँ ।” 

पोखरा:   पोखरामा ३२ औं संस्करणको औद्योगिक ब्यापार मेला जारी छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुष २१ गतेदेखि पोखरा महानगरपालिका ९ प्रर्दशनी केन्द्रमा मेला जारी छ ।    मेलाको विभिन्न व्यापारी प्रयोजनका स्टलहरु छन् । त्यसै स्टल मध्ये पोखरेली युवा महेश बरालले राखेको  ग्रिन गोल्ड डिस्ट्रिलटरी प्रालिको स्टल फरक छ ।  स्टलमा राखिएको ‘नट फर सेल, वन्ली फर टेस्टिङ ।’ अर्थात् चाख्न पाइन्छ, किन्न पाइँदैन लेखिएको बोतलले मेलामा जाने सबैको ध्यान खिचिरहेको छ ।  पोखरामा डेढ वर्षदेखि कोदोको रक्सीलाई बाण्डिङ गर्न कस्सिएका बरालले मेलामा आएका दर्शकलाई रक्सी चखाएर प्रतिक्रिया लिन आएका हुन् ।

म्याग्दी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् ।  ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तला खेती गरेका छन् । नौ हजार सुन्तलाको बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको विद्युतको नांगो तारले हाँगा छुन थालेको छ । बगैँचाभित्र पस्न करेन्ट लागेर दुर्घटना हुने जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले बताइन् ।  सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँने गरेको छ । तारमा छोइएर सुन्तलाको बोट मर्न थालेका छन् । बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा पस्दा करेन्ट लागेर दुर्घटना हुने डर बढेको स्थानीय बढाउँछन् ।  सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नांगो तार छोएर जोखिम बढेको हो । चार सय भोल्टको विद्युत् प्रवाह हुने नांगो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका हुन् । गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाइजाले बताए । ‘सुन्तला बगैँचाभित्र जाँदा करेन्ट लागेर ज्यानै जाला भन्ने डर छ’, उनले भने, ‘तारले छोएको बोटको सुन्तला माया मार्नुपर्ने अवस्था छ । बगैँचा पस्दा कता करेन्ट लागेर मरिने हो भन्ने डर छ ।’  केही दिनअघि दोसल्ले गएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीलाई स्थानीयवासीले विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नांगो तार हटाएर एबीसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गरेका थिए ।  सदस्य भण्डारीको नेतृत्वमा आइतबार नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बराल, इञ्जिनियर शिव पौडेल, लेखा प्रमुख श्याम रानासहितको टोलीले दोसल्लेको विद्युत् वितरण लाइनको स्थलगत निरीक्षण गरेको छ ।  केन्द्रका प्रमुख बरालले सुन्तला बगैँचाभित्र नांगो तारको विकल्पका एबीसी केबुल राख्न प्रक्रिया अघि बढाएको र केही दिनमै तार परिवर्तन गरिने बताए । अन्नपूर्ण गाउँपालिकाको दोवा, बेनी नगरपालिकाको बास्कुनालगायत ठाउँमा बस्ती र बगैँचामाथि रहेको विद्युतको तार व्यवस्थापन गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य भण्डारीले बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० कायम भएको छ ।   सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो ।  प्रतितोला चाँदीको मूल्य रु एक हजार पाँच सय निर्धारण भएको छ ।

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।   आज सुनको मूल्य तोलामा ६ सय र चाँदी तोलामा ३५ रुपियाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १६ हजार नौ सय, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ३५० र चाँदीको मूल्य एक हजार ४८५ रुपियाँमा कारोबार भइरहेको छ ।   शुक्रबार एक लाख १६ हजार तीन सय रुपियाँमा छापावाल सुन, एक लाख १५ हजार ७५० रुपियाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

काठमाडौं:    भारत सरकारबाट नेपाललाई वस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार भारतबाट आज बाँकेको जमुनाहा नाका हुँदै ती राँगा नेपाल भित्रिएका छन् ।      उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपाल ल्याउन नेपाल सरकारले लामो प्रयास गरिरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भएको थियो ।      विद्यमान क्वारेन्टिन प्रक्रिया पूरा गरी नेपाल ल्याइका राँगा लहान पोखरा र गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा व्यवस्थापन गरिने पशु सेवा विभागले जनाएको छ । भारतबाट प्राप्त राँगामध्ये राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा सात, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जमा तीन वटा राखिने छ ।