काठमाडौं:     सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको...

काठमाडौं:     शेयर बजार परिसूचक नेप्से ५३ दशमलव ७० अङ्कले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार ३५ दशमलव ३७ अङ्कले घटेको नेप्से आज पनि उच्च अङ्कले घटेको हो । नेप्से २ हजार ९७ दशमलव २९ बिन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा माइक्रो फाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । आज दुई सय ८६ वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर कारोबार भएका छन् । जसमा पाँच अर्ब आठ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सको ४२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज दुई सय सात वटा कम्पनीको शेयर घट्दा सृजनशील लघुवित्त र माउन्टेन इनर्जीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बीपी डब्लू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ ।  

काठमाडौं:    बैंक तथा वित्तीय संस्थाहरुले आक्रमण र दुर्व्यवहारका घटना नरोकिएमा सेवा प्रवाह नै बन्द हुन सक्ने चेतावनी दिएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफन)ले एक विज्ञप्ति निकालेर कार्यालयका शाखा तथा कर्मचारीमाथि विभिन्न व्यक्ति, संस्था तथा समूहबाट निरन्तर रुपमा भौतिक आक्रमण एवम् गैरकानूनी गतिविधि भइरहेको भन्दै सेवा नै बन्द गर्ने अवस्था आउन सक्ने चेतावनी दिएको हो । अहिले विभिन्न व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीहरुलाई भौतिक आक्रमण तथा मानमर्दन लगायतका क्रियाकलाप हुँदा सेवा प्रवाहमा समस्या भइरहेको सिबिफिनले जनाएको छ ।  सिबिफिनले बैंक तथा वित्तीय संस्थाका सबै कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सबैसँग आग्रह गरेको छ । सुरक्षाको प्रबन्ध नभएमा राष्ट्र बैंकबाट इजाजत प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवा पूर्ण रुपमा बन्दै गर्नुपर्ने अवस्था आउने र यसले अर्थतन्त्रमै अकल्पनीय संकट आउन सक्ने पनि सिबिफिनले चेतावनी दिएको छ ।

पोखरा:   गण्डकी क्रस उद्योग व्यवसायी संघले आज (असार १६गते ) देखि गिटी बालुवा उत्पादन कार्य बन्द गरेको घोषणा गरेको छ ।  क्रसर व्यवसायी संघले असार १५ गते भित्र कानूनबमोजित दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरुको नविकरण गर्न सरकारसँग माग गरेपनि माग पूरा नभएपछि आज देखि गण्डकी प्रदेशमा पनि केन्द्रको निर्णय अनुसार गण्डकी क्रसर व्यवसायी संघले गिटी बालुवाको उत्पादन बन्द गर्ने निर्णय गरेको हो ।     गण्डकी क्रसर उद्योग व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीले सरकारसँग राखेको माग पूरा नभएपछि आजदेखि क्रसर उद्योग व्यववासीले बालुवा उत्पादन बन्द गर्ने निर्णय गरेको बताए ।  ‘२०७० सालभन्दा अगाडि तत्कालिन कानून सम्मत औधोगिक व्यवसाय ऐन अन्र्तगत दर्ता गरेर सञ्चालन भएका उद्योगहरु अहिले विभिन्न कारण देखाएर कम्पन्नीको नविकरण गर्न सरकार उदासिन भयो, त्यसैले हाम्रो माग पूरा गर्न सरकार गम्भिर नभएपनि उत्पादन बन्द गर्ने निर्णय अनुसार बन्द ग¥यौं ।’ अध्यक्ष त्रिपाठीले भने ।  विभिन्न स्थानमा अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योग व्यवसाय हावी हुँदा कानून बमोजिम दर्ता भएर आएका व्यवसायीलाई त्यसको असर परेको उनको भनाई छ । ‘०७०साल अगाडि हामी कानून बमोजिम गण्डकीमा ४९ वटा क्रसर उद्योग दर्ता भएका छौं, तर अहिले अवैध रुपमा क्रसर उद्योग सञ्चालन भएका छन् उनीहरु नै हावी हुँदा त्यसको असर हामीलाई परेको छ ।’ उनले भने ।  गण्डकी क्रसर उद्योग व्यवसायी संघले प्रदेशमा संघ अन्तर्गत ४९ वटा उद्योगमा करिव ३ अर्वको लगानी र १० हजार बढीले रोजगार पाएको जनाएको छ ।  गण्डकी क्रसर उद्योग व्यवासायी संघका सचिव छत्रधर आत्रेयले राज्यले क्रसर उद्योग सम्बन्धि उचित खालको मापदण्ड ल्याउन नसक्दा विवाद बढिरहेको बताए ।  ‘राज्यले भौगोलिक अवस्था हेरेर क्रसर उद्योगको मापदण्ड कायम गर्नुपर्छ तर सरकारले सबै ठाउँमा एकैकिसिमको मापदण्ड लागू गर्दा यो समस्या अझै बढिरहेको छ’, उनले भने, ‘उत्खनन र प्रशोधन फरक हुन् मापदण्डमा सरकार गम्भिर हुनुपर्छ ।’ दर्ता भई सञ्चालनमा रहेका, तर मापदण्डलगातयका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानुनअनुसार लाग्ने कर, दस्तुर, शुल्कलगायत राजस्व लिई २०८० असार मसान्तसम्म यथावत रूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएकोमा महासंघले असन्तुष्टि जनाएको छ ।   

काठमाडौं:   ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी, तथा रोपाइँ गरेर महोत्सव मनाइने कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा. हरिबहादुर केसीले बताउनुभयो ।  ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ ।  धान रोपाइँ महोत्सवका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ । पोखरा, चितवनलगायतका ठाउँमा विशेष महोत्वसका रूपमा यो दिनलाई मनाउने गरिन्छ । ती ठाउँमा विदेशी पर्यटकको पनि सहभागिता हुन्छ । रोपाइँ गर्दैगर्दा विदेशी पर्यटकले हिलो छ्यापेर महोत्सव मनाउने गरेको पाइन्छ ।  कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको महानिर्देशक केसीले बताउनुभयो । प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार रहेको बताउँदै उहाँले यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायत महत्त्व रहेको बताउनुभयो । धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ ।   चालु आर्थिक वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो परिमाण २०७८/७९ को तुलनामा तीन लाख ५५ हजार ८४७ टन बढी उत्पादन भएको हो । आगामी आवमा पनि धान उत्पादनमा वृद्धि हुने अनुमान सरकारले गरेको छ । आर्थिक सर्वेक्षण अनुसार धानलगायतका बर्खे बालीको उत्पादनमा वृद्धि भए पनि हिउँदे बालीका साथै दुध, अन्डा तथा मासुको उत्पादनमा केही ह्रास भएको हुँदा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य वृद्धि अनुमान गरिएको छ । विगतका वर्षदेखि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ । आव २०७०/७१ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा यस्तो योगदान २४.१ प्रतिशत रहने अनुमान गरेको छ ।    आर्थिक सर्वेक्षण अनुसार चालु आवमा कृषि क्षेत्रको उत्पादन २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । गत आवमा यसको वृद्धि २.२ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.९ प्रतिशत रहेको छ । धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ३.८५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । 

सुनको भाउ आज पनि ६ सय रुपैयाँले घटेको छ ।   आज सुनको भाउ तोलामा १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले नै घटेको थियो । आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

काठमाडौं:    आइतवार ६२ अङ्कले बढेको शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६९ अङ्कले बढेर दुई हजार एक सय २९ दशमलव ४२ विन्दुमा पुगेको छ । आज जलविद्युत्, बीमा, अन्य र व्यापार समूहको शेयर घटेको छ भने अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो साढे छ अर्ब रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७९ वटा कम्पनीका एक करोड १९ लाख तीन हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड २४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४२ करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै हिमालय लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल र सिभिल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशत र विन नेपाल लघुवित्तको शेयर छ प्रतिशतले घटेको छ ।

गण्डकी:   ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तक्र्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताए ।  बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोट प्रचलित विनिमय दरभन्दा घटीमा कारोबार भइरहेको, ठूला भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको गुनासो आएसँगै पोखरा उद्योग वाणिज्य सङ्घले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले भारतीय ठूला नोटको प्रचलनको व्यवस्था गरिनुपर्ने बताउनुभयो । अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा आउनुपर्ने बताउँदै उहाँले व्यवसायीसँग भएका भारतीय ठूला नोटको व्यवस्थापन हुनुपर्ने माग गर्नुभयो । ठूला नोट नचल्दा नेपाल आउने भारतीय पर्यटकले दुःख पाएको उल्लेख गर्दै उहाँले पर्यटकले चाहे जति खर्च गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । “नेपालमा सय रुपैयाँभन्दा ठूला भारतीय नोट चल्दैनन्, यहाँ भारतीयको एटीम, भिसा र मास्टरकार्ड पनि मुस्किलले चल्छ”, उहाँले भन्नुभयो, “एउटा मान्छे पैसाको भारी बोकेर घुम्न निस्कँदैन ।अब डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा नगइ सुख छैन ।” पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नारायण कोइरालाले घरघरमा थन्किएका भारतीय रुपैयाँ व्यवस्थापन गर्न राष्ट्र बैंकले नै पहल गर्नुपर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले ठूला दरका भारती नोट सकेसम्म प्रयोगमा नल्याउन व्यवसायीसँग आग्रह गर्नुभयो ।  टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले नेपालका केही निषेधित क्षेत्रमा जान पर्यटकले डलरमा शुल्क बुझाउनुपर्ने तर सजिलै डलर नपाउँदा समस्या भएको बताउँदै डिजिटल भुक्तानीलाई छिटो व्यवस्थित गर्नुपर्ने माग राख्नुभयो । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशीले भारतकै चाहनाका कारण नेपालमा ठूला भारतीय नोट प्रचलनमा नआएको जिकिर गर्नुभयो । ठूला नोट प्रचलनमा ल्याउनको लागि भारतसँग कूटनीतिक पहल गरिनुपर्ने उहाँको भनाइ छ । अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा आउँदा भारतीय नोटको समस्या कम हुने उहाँले बताउनुभयो । नेपाल बैंकर्स एसोसिएसन गण्डकीका अध्यक्ष सूर्य रोकाले भारतकै कारण ठूला दरका भारतीय नोटको प्रयोग हुन नसकेको बताउनुभयो । नेपाल हुँदै नक्कली  नोटहरु भारत भित्रने आशङ्कासँगै भारतले त्यो नीति लिएको उहाँको भनाइ छ ।

चितवन:    किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को रु चार सय, मिडियम अण्डा रु तीन सय ८० र एक्सट्रा लार्ज (अझ ठूलो)को रु चार सय १० कायम गरिएको छ । अण्डाको मूल्य घट्दै गएर किसान बिस्थापित हुन थालेपछि देशभरका ठूला व्यवसायी सङ्गठित भएर नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरी बजारीकरणमा जुटेका छन् । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ३५ पर्न आउँछ । अण्डाको मूल्य घट्दै गएर रु दुई सय ४० सम्म झरेको थियो । उहाँले भन्नुभयो, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य लागत मूल्यको तुलनामा बढ्न सकेको छैन ।” औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँको भनाइ छ । दुई वर्षअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको थियो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ रहेको थियो । अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन बजारी करणमा जुटेकै कारण मूल्य पाउन थालिएको उहाँको भनाइ छ । विगतको तुलनामा उत्पादन घटेको छ । लागत मूल्य नपाए पछि धेरै कृषक विस्थापित भएका छन् । ऋण थप्न सक्ने कृषकमात्र टिकेका हुन । यससँगै गर्मीका कारण पनि अण्डा उत्पादन घटेको छ । विगतको तुलनामा अण्डा २५ प्रतिशतभन्दा बढी उत्पादन घटेको छ । बढेको समयमा दैनिक ५० लाखसम्म अण्डा पुगेको अनुमान गरिएको थियो । सङ्घका सचिब मदन पोख्रेलले लागत मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताउनुभयो । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने उहाँ बताउनुहुन्छ । बजारमा अहिले पाइने खाद्यान्नमा पोषणको हिसाबले सबैभन्दा सस्तो अण्डा भएको पोख्रेल बताउनुहुन्छ । सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुने व्यवसायी बताउँछन् । निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ । यसको आधाभन्दा बढी बैंकको ऋण रहेको छ । अण्डा उत्पादक कृषक र व्यवसायीले काठमाडौँमा आउटलेटसमेत खोलेर बजारीकरण गरिरहेका छन् । सङ्घका अध्यक्ष पोख्रेलले विगत छ महिनामा देशका अधिकांश जिल्ला पुगेर अण्डाको महत्व र बजारीकरणमा लागेकै कारण मूल्यमा सुधार भएको बताउनुभयो । किसानको लागतअनुसारको मूल्य पाउन अझै नसकिएको उहाँ बताउनुहुन्छ । 

आज सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर १ लाख १० हजार २ सय रुपैयाँमा पुगेको छ ।   शुक्रबार सुन तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।   आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  आस्था