पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्वास्थ्य सेवा तथा संक्रमण रोग व्यवस्थापन कार्यविधि २०८३’ स्वीकृत गर्दै उक्त कोष परिचालनको बाटो खुलेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जित बहादुर शेरचनले बताए । प्रदेश सरकारले ५३ वटा सूचीकृत रोग तथा भविष्यमा देखिन सक्ने नयाँ सरुवा रोगलाई लक्षित गरी ५ करोड रुपैयाँको कोष खडा गरेको छ । महामारीको समयमा बजेट अभाव हुन नदिन र तत्काल उपचार तथा व्यवस्थापनका लागि यो रकम खर्च गरिने सरकारका प्रवक्ताले जानकारी दिए । कर्मचारीलाई योगदानमा आधारित पेन्सन मन्त्री शेरचनाका अनुसार बैठकले गण्डकी प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरूको सामाजिक सुरक्षाका लागि ‘योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोष’ सम्बन्धी विधेयकको अवधारणा स्वीकृत गरेको छ । सो व्यवस्थाले नयाँ नियुक्त हुने कर्मचारीहरूको हकमा अवकाशपछि प्राप्त हुने भत्ता तथा सुविधालाई कोषमार्फत व्यवस्थापन गर्ने उनले बताए । गम्भीर रोगीलाई आर्थिक सहायता सरकारले मानवीय राहत अन्तर्गत प्रदेशका १९६ जना गम्भीर प्रकृतिका रोगीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता शेरचनले जानकारी दिए । उनका अनुसार उपचार खर्च अभावमा रहेका नागरिकलाई राहत दिन यो कदम चालिएको हो । बजेट कार्यान्वयन र प्रशासनिक सुधार चालु आर्थिक वर्षको बजेटलाई थप प्रभावकारी बनाउन ‘बजेट कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२’ लाई संशोधन गरिएको मन्त्री शेरचनले सुनाए । यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका लागि आवश्यक सवारी साधन खरिद गर्ने र सरकारी कार्यालयमा रहेका पुराना सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम तथा मिनाहा गर्ने प्रक्रियालाई पनि बैठकले स्वीकृत गरेको छ । यस्तै प्रदेश सभा सचिवालयका लागि करिब ४ करोड लागतमा ४ वटा इभी गाडी खरिद गर्ने सैद्धान्तिक सहमतिसमेत भएको मन्त्री शेरचनले बताए । गण्डकी सरकारले यस पटक स्वास्थ्य र कर्मचारी प्रशासन सुधारलाई प्राथमिकतामा राखेर यी निर्णयहरू गरिएको बताइएको छ ।
पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेस गर्नुभएको हो । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगले सोमबार एक कार्यक्रमका बीच सातौं वार्षिक प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तिकरणका लागि आयोग गठन भएको उल्लेख गर्नुभयो । उहाँले नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता राज्यले स्थापना गरेका विभिन्न आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेशसभामा छलफलका लागि पठाइने प्रदेश प्रमुख भट्टले बताउनुभयो । आयोगका कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रदेश प्रमुख भट्टसमक्ष जानकारी गराउनुभयो । अलीले मुस्लिम समुदायको अवस्था सुधारका लागि आयोगले प्रयास गरिरहेको बताउँदै पर्याप्त श्रोत साधन, बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको गुनासो गर्नुभयो । गण्डकी प्रदेश प्रमुखको कार्यालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना लगायतको उपस्थिति रहेको थियो ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा ६ हजार बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ । त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विशेष गरी घरयासी सामग्री किन्नेको संख्या त्यहाँ बढी छ । त्यहाँ आलुको परिकारको एउटा स्टलका अलवा कृषितर्फ ३० तथा १ सय बढी व्यापारिक स्टल छन् । महोत्सवमा उल्लेख्य कारोवार भइरहेको कुमाल कृषि तथा पशुपन्छी फार्म रुपा ३ की प्रोप्राइटर समेत रहेकी जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता कुमालले बताइन् । उनले त्यहाँ स्थानीय अनदी, मार्सी चामल, चिउरा लगायतका सामग्री बेच्दै आएकी छन् । सबै स्टलबाट व्यापार राम्रै भइराखेको छ, हामीहरु उनीहरुको निरन्तर सम्पर्कमा पनि छौं, आज बिहीबार साँझसम्म गरी ३ करोड बढीको कारोवार भएको अनुमान छ, पक्कै पनि यो हामी सबैका लागि खुशीको कुरा हो, आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने । त्यहाँ आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् । बिहीबार साँझसम्म ३० लाख बढीको आलु कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलु बिक्री गरिएको छ । हेमजाका निलोे आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्ने गरेको छ ।महोत्सव बाहेक हेमजाका अन्य ठाउँहरुबाट समेत यतिवेला आलु लगायत कृषि उपजको बिक्रीवितरण भइरहेको छ । महोत्सवमा बिहीबार कलाकारहरु श्याम राना, तारापति सुवेदी, पार्वती जिसी, लक्ष्मी नेपाली सुरेश थापा, गंगा परियार लगायतका प्रस्तुतिहरु रहे । त्यस्तै दिदीबहिनी आमा समूह पोखरा २३, हेमजा स्थित खुट्टागौँडा लामाचौतारा आमा समूह, तिब्रेकोट आमा समूह र दहरे देउराली आमा समूहले रत्यौली प्रतियोगिता अन्तर्गत आआफ्ना प्रस्तुति पनि राखे । कन्सर्टतर्फ सम्भोज मल्ल, आस्ता लोहोनी र सुवाश गुरुङ एवम् नृत्यतर्फ सोनियाँ केसी, प्रदिप सुनार, सबनम केसी र जोयल अधिकारीले आफू नाच्दै दर्शकलाई पनि नचाए। बिहीबार दिउँसोसँगै परेको झरीले महोत्सवमा केही प्रभाव समेत पार्यो । झरीका बीच छाता ओढेरै भएपनि महोत्सवलाई दर्शकले साथ दिए । महोत्सव अन्तर्गत शुक्रबार त्यहाँ.कलाकारहरु एलिना चौहान, चोलेन्द्र पौडेल, सुरेशरमण अधिकारी, विष्णु ढुङगाना, विनिता क्षत्री लगायतका प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका सचिव विपीन पौडेलले जानकारी दिए । यही चैत २७ बाट सुरु महोत्सव बैशाख ५ गतेसम्म चल्नेछ ।
राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा जनसहभागिता बढेको हो। दर्शक सहभागिता बढेसँगै त्यहाँ आलु लगायत अन्य उपभोग्य बस्तु किनबेच हुने क्रम पनि बढ्दै गएको छ । त्यहाँ आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारीक स्टल छन् ।प्रतिकेजी रु.३५ मा आलुको कारोवार भएको छ। आइतबारसम्म रु. ८ लाख बढीको आलु बिक्री भएको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले बताए । उनले हालसम्म सबैभन्दा बढी ६० केजी र कम्तीमा १ केजीसम्म ग्राहकले आलु खरिद गरी लगेको पनि सुनाए। सामान्य तथा २० देखि ३० केजी किन्नेसम्म ग्राहक धेरै छन् ।कास्कीका छिमेकी पालिका लगायत पर्वत, बाग्लुङ, तनहुँ, स्याङजाबाट समेत आलु खरिदका लागि मानिसहरु आउने गरेको उनको भनाई छ। हेमजाको आलु मिठो छ, चाँडो पनि पाक्छ, बजारियाँको तुलनामा स्वास्थ्यकर पनि भएकाले आफूहरु आलु खरिदकै लागि आएको आइतबार दिउँसो महोत्सव स्थलमा भेटिएकी तनहुँ भिमादकी सुनिता श्रेष्ठले बताइन्। महोत्सवमा आइतबार कलाकारहरु बद्री पंगेनी, ममता तामाङ, शान्ता वर्देवा, रोशन विसी, नेत्र खड्का, परशुराम अधिकारी, मुना अर्याल, आयुषा खत्री, झलकमान् सारङगी पाठशाला लगायतले प्रस्तुति राखे।त्यस्तै सोमबार एन्जिला रेग्मी, रामजी पौडेल, सरस्वती लामिछाने, कमला गैह्रे, किसन नेपाली, भूमिका पंगेनी, राजेन्द्र गुन्दु्रके, मनोज गोर्खाली लगायतका प्रस्तुति रहने उल्लेख छ । त्यस्तै पप कन्सर्टतर्फ देउराली, लेकाली लगायतका व्याण्डका प्रस्तुतिहरु रहनेछन्।महोत्सवमा आइतबारबाट रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ। महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोगको निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन्। त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन्। आइतबारसम्ममा २५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठ जानकारी पनि दिए ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ । पोखरा पत्रकारिता पुरस्कारबाट यस वर्ष २०८१ को सम्मान वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई र २०८२ को सम्मान सहारा क्लबलाई प्रदान गरेको हो । यस्तै स्व. जगन्नाथ सिग्देलस्मृति पत्रकारिता पुरस्कार २०८१ बाट फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ एकराज गिरी पुरस्कृत भए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र अर्पण गरे । सम्मानित गुरुङ तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल युनाइटेड खबर अनलाइनमा कार्यरत छन् । यस्तै पुरस्कृत द्वय फडिन्द्र अधिकारी र एकराज गिरीलाई जनही नगद २५ हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र मुख्यमन्त्री पाण्डे तथा पुरस्कारदाताले प्रदान गरे । विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहेका अधिकारी गोरखापत्र र गिरी सफल न्यूजमा आवद्ध छन् । सो अवसरमा मुख्यमन्त्री पाण्डेले सम्मानित गुरुङ तथा पुरस्कृत अधिकारी र गिरीलाई बधाई व्यक्त गरे । उनले पछिल्लो समय सामाजिक सञ्जालमा मिसइन्फर्मेसन र डिस्इम्फर्मेसन बढ्दै गएकाले आधिकारिक मिडियालाई चुनौती थपिएको धारणा राखे । उनले उक्त चुनौतीलाई चिर्नका लागि पत्रकार स्वयंले कसरत गर्नुपर्ने बताएका थिए ।
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिनुभयो । उहाँमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारी ले ठूलो घण्टी र त्रिशूल स्तम्भको अनावरण गरिन्। सानो घण्टी ३० केजी को भने ज्येष्ठ नागरिकमार्फत अनावरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तिवारीले स्वरेक कोट आफ्नो माइती गाउँसँग जोडिएको स्थान भएको उल्लेख गर्दै यसको समग्र विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। प्रदेशको सीमित बजेटका हुने भन्दै केन्द्र सरकारसँग पहल गर्न तयार रहेको पनि बताइन्। भीरकोट नगरपालिकाका निवर्तमान मेयर छायराम खनाल ले स्थानीयवासीको सक्रियतामा उल्लेखनीय आर्थिक संकलन भई भौतिक संरचना निर्माण सम्भव भएको बताए। उनले स्वरेक कोटमा नियमित पूजा सञ्चालनको आवश्यकता औंल्याउँदै त्यसका लागि सवै लाग्नुपर्ने धारणा राखे। भीरकोट वडा नं. ५ का अध्यक्ष कृष्ण बहादुर थापा ले आगामी बजेटमार्फत क्षेत्रको विकासमा सहयोग गर्ने जनाउँदै स्वरेकलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने बताए। कार्यक्रममा निवर्तमान वडा अध्यक्ष याम प्रसाद अधिकारी, समाजसेवी यामलाल शर्मा पंगेनी, इश्वर सेन ठकुरी लगायतले स्वरेक कोटको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सेनका अनुसार सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको अभियानबाट २३ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको थियो। सोही रकममध्ये करिब १३ लाख रुपैयाँको लागतमा दुई घण्टी ( १२६ किलो र ३० किलो) तथा त्रिशुत स्तम्भ , सहयोगीहरुको शिलालेखमा नाम सहित अन्य भौतिक संरचना निर्माण गरिएको हो। अभियानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै स्थानीय कमल सेनलाई विशेष सम्मान गरिएको छ भने आर्थिक सहयोग गर्ने २५६ जना दातालाई पनि सम्मानपत्र प्रदान गरिएको समितिका कोषाध्यक्ष कमला सेनले जानकारी दिइन्। कार्यक्रममा पत्रकार घनश्याम पाण्डेले स्वरेक धार्मिक तथा प्राकृतिक दृष्टिले अत्यन्त सम्भावनायुक्त भए पनि पूर्वाधार विकासमा अझै पछि परेको टिप्पणी गरे। नेपालमै पहिलो प्याराग्लाइडिङ विश्वकप आयोजना भएको स्वरेक मैदानसम्म पुग्ने सडक कालोपत्र नहुनु र कोटसम्मको पहुँचमार्ग स्तरोन्नति नहुनु विकासका प्रमुख चुनौतीका रूपमा रहेको उनले उल्लेख गरे। स्थानीय समुदायको सक्रियतासँगै स्वरेक कोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खड्कराज पौडेल (गनेस) ले पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेस पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका हुन् । गनेस पर्यटकहरूको सबैभन्दा बढी रोजाइमा पर्ने कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
पोखरा: कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको सिलिन्डर लिक भएपछि आगलागी भएको हो । भीषण आगलागी भएपछि किचन, डाइनिङ, स्टोर र ९ वटा बेडरुम जलेर पूर्ण नष्ट भएको उनले बताए । यस्तै आगलागीबाट पर्यटकका ५ वटा आइफोन र १ वटा डिएसएलआर र लत्ताकपडा जलेका छन् । उनका अनुसार मानवीय क्षति भने भएको छ । हाल अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) मा आधा दर्जन बढी होटल सञ्चालनमा छन् ।

