सुन्तलाखेती प्रवद्र्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ । महोत्सव सञ्चालनका लागि रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाले रु पाँच लाखका दरले रु १० लाख प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिए । महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उनले बताए । सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सव रैनादेवी छहरा गाउँपालिका–५ कनौजेपानी खेलमैदानमा हुनेछ । गत वर्ष पनि रिब्दीकोट गाउँपालिकाको आयोजनामा सुन्तला महोत्सव भएको थियो । महोत्सवमा कृषि उपज, कागती, अमिलो, जुनार, मुन्तला पनि समावेश गरिने उनले जानकारी दिए । रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् । उनीहरूले गत वर्ष रु ४६ करोडको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले पहिलो जित हाँसिल गरेको छ । काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङको निम्तो दिएको कर्णालीले १९.३ ओभरमा ७ विकेट गुमाएर १ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य पेश गरेको थियो । काठमाडौंको जीतमा जेहार्ड एरास्मसले २८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए । ओपनर माइकल लेभिटले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा २२ रन जोडे करण केसीले १० बलमा २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए । भीम सार्कीले १० बलमा ९ रन जोडे । गुलशन झाले १९ बलमा १ चौकाको सहयोगमा १२ रन जोडे । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ ।
म्याग्दी: बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ । किराखोर– नेप्टेचौर– तोरीपानी खण्ड स्तरोन्नतिसहित कालोपत्र गर्न पूर्वाधार विकास कार्यालयसँग रु १० करोड १६ लाख एक हजार तीन सय ६४ मा मङ्गलादेवी सुवास कन्ट्रक्सनले सम्झौता गरेको हो । निर्माण कम्पनीले चार किलोमिटर खण्ड कालोपत्र गर्न पहिलो चरणमा धमाधम सडक विस्तार गरिरहेको छ । मौजुदा तीन दशमलव पाँच मिटर चौडा सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्र गरिने छ । यो सडक बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाको आवागमनको प्रमुख माध्यम हो । प्रदेश सरकार र बेनी नगरपालिकाको खर्चमा यसअघि बेनी– किराखोर छ किलोमिटर खण्ड कालोपत्र भइसकेको छ । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाबाट विनियोजन भएको रु तीन करोड सडकको प्रवेशविन्दुमा पहिरो नियन्त्रण र गलेश्वर मावि अगाडिको खण्डमा स्तरोन्नति गरिने नगरप्रमुख सुरत केसीले बताउनुभयो । प्रदेश सरकारमार्फत रु ६८ करोड लागतमा बेनी–पाखापानीसहित जिल्लाका सातवटा सडक स्तरोन्नति र मोटरकार पनि चलाउन मिल्ने दुईवटा पुल निर्माण सुरु भएको छ । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । ---
पर्वत: नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतमा चालु आर्थिक वर्षमा १ सय ९ वटा योजना सञ्चालन हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा सङ्घीय र गण्डकी प्रदेश सरकारका गरी एक सय नौ योजना सञ्चालन हुने भएका हुन् । सङ्घीय सरकारअन्तर्गत ३४ र गण्डकी प्रदेशअन्तर्गत ७५ वटा योजनामा बजेट विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ । गण्डकी प्रदेशअन्तर्गत कुश्मा नगरपालिकामा २६, फलेबास नगरपालिकामा १९, जलजला गाउँपालिकामा १०, पैँयु गाउँपालिकामा नौ, मोदी गाउँपालिकामा चार, महाशिला गाउँपालिकामा चार र विहादी गाउँपालिकामा तीन वटा योजनामा बजेट विनियोजन भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारअन्तर्गत फलेबास नगरपालिकामा पाँच, कुश्मामा दुई, माशिलामा तीन, मोदीमा दुई, जलजला र पैँयुमा तीन वटा योजना रहेका छन् । यसबाहेक सङ्घीय शसर्त अनुदानबाट १६ योजना सञ्चालन हुने उहाँले बताउनुभयो । चालु आर्थिक वर्ष विसं २०८१÷८२ मा ७५ योजनाका लागि गण्डकी प्रदेश सरकारबाट रु ११ करोड ४० लाख र १८ योजनाका लागि सङ्घीय सरकारबाट रु एक करोड ५९ लाख बजेट विनियोजन भएको छ । यसैगरी सङ्घीय शसर्त अनुदानअन्तर्गत १६ योजना पुनःस्थापना गर्न रु ९८ लाख बजेट विनियोजन भएको छ । योसहित चालु आर्थिक वर्षमा रु १३ करोड ९७ लाख बजेट प्राप्त भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । कार्यालयका अनुसार योजनाको लागतअनुसार बजेट विनियोजन नहुँदा यस वर्ष अधिकांश योजना पूर्ण रूपमा सम्पन्न नहुने भएका छन् । बजेट अद्यावधिक गरी केही थप भएमा निर्माणाधीन अवस्थामा रहेका १२ योजना चालु आवमा सम्पन्न हुने कार्यालय प्रमुख पौडेलले बताउनुभयो । गत आवभन्दा रु छ करोड बजेट घटेर आएकाले पनि सबै योजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने उहाँको भनाइ छ । “योजना बढी छन्, बजेट सीमित छ । त्यसैले अन्तिम चरणमा रहेका योजनालाई पूर्णता दिनेगरी काम गरिरहेका छौँ”, कार्यालय प्रमुख पौडेलले भन्नुभयो । प्रत्येक योजनामा न्यूनतम रु पाँच लाखदेखि बढीमा रु ६४ लाखसम्म बजेट विनियोजन भएको छ । जिल्लाका सबै परिवारमा खानेपानीको पहुँच पु¥याउने सरकारको योजनाअनुसार चालु आवमा बजेट विनियोजन भएका सबै योजना कार्यान्वयनमा गइसकेका कार्यालयले जानकारी दिएको छ । पर्वतमा अन्य संस्थागतबाहेक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत हालसम्म १६ हजारभन्दा बढी परिवारमा ‘एक घर, एक धारा’ विस्तार गरिएको छ । चालु आवमा सञ्चालित योजनाहरूले पूर्णता पाएमा दुई हजारभन्दा बढी घरमा ‘एक घर एक धारा’ विस्तार गर्न सकिने कार्यालयले जनाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी भेटिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा अन्वेषणका क्रममा आठ सय मिटरदेखि ४५ सय मिटरसम्मको उचाइमा ती प्रजातिका सुनाखरी पहिचान गरिएको हो । वरिष्ठ संरक्षण अधिकृत बाबुलाल तिरूवाको नेतृत्वको टोलीले झण्डै एक वर्ष लगातर अन्नपूर्ण क्षेत्रमा पाइने सुनाखरीको अनुसन्धान गरेको थियो । भौगोलिक विकटता र मौसम प्रतिकूलताका कारण कतिपय ठाउँमा पुग्न नसकिएको जनाउँदै संरक्षण अधिकृत तिरूवाले अन्नपूर्ण पेरिफेरिमा सुनाखरीका अझै थप प्रजाति भेटिन सक्ने बताउनुभयो । फूल फुल्ने एकदलीय बिरूवा प्रजातिमा पर्ने सुनाखरी जमिन (भुइँ), सडेगलेका वस्तु, रूख र पाखापहराको चेपमा उम्रने गरेको उहाँको भनाइ छ । गुणकारी वनस्पतिमा पर्ने सुनाखरी प्रजातिअनुसार विभिन्न याममा फुल्ने गरेको संरक्षण अधिकृत तिरूवाले बताउनुभयो । “सुनाखरी खाना र औषधिका रूपमा प्रयोग गरिन्छ, फूल फुल्दा आकर्षक देखिने हुँदा यसले प्रकृतिमा सौन्दर्य थपेको हुन्छ”, उहाँले भन्नुभयो, “संसारमा अन्त कतै नपाइने सुनाखरी पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइन्छ ।” सुनाखरी दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) मा सूचीकृत वनस्पती हो । औषधिय गुणका भएका कारण कतिपय प्रजातिको सुनाखारीको अवैध तस्करीसमेत हुँदै आएको छ । हिमालदेखि तराईसम्मको भूभागमा पाइने सुनाखरीको संरक्षणमा सम्बद्ध सबै पक्षले विशेष ध्यान दिनुपर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रविन कडरियाले बताउनुभयो । देशविदेशका वनस्पतिविद् र वैज्ञानिकहरूले अन्नपूर्ण क्षेत्रमा पाइने सुनाखरीको अध्ययन तथा अनुसन्धान गरेको उहाँको भनाइ छ । पाँचऔँलेलगायत नेपालमा सूचीकृत सुनाखरीमध्ये एक तिहाइ प्रजाति औषधिजन्य प्रयोगमा रहेका छन् । ‘एक्याप’ ले अनुसन्धानका क्रममा भेटिएका सुनाखरीका प्रजाति, बासस्थान, प्रयोग जस्ता विधालाई समेटेर सचित्र पुस्तक पुस्तक ‘अन्नपूर्ण संरक्षण क्षेत्रका सुनाखरीहरू’ प्रकाशनको तयारी गरेको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको ‘एक्याप’ मा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
बागमती: सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा बागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आबद्ध भएका छन् । उक्त तथ्याङ्क विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्मको रहेको स्वास्थ्य बिमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी चितवनमा ७२ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् भने सबै भन्दा कम काठमाडौँमा छ प्रतिशत परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् । चितवनमा एक लाख ७९ हजार तीन सय ४५ परिवारमध्ये एक लाख २९ हजार चार सय ३८ परिवार बिमित हँुदा काठमाडौँमा पाँच लाख ४४ हजार आठ सय ६७ परिवारमध्ये ३० हजार चार सय २० परिवार मात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताउनुभयो । भक्तपुरको ६६ हजार नौ सय ५६ परिवार, मकवानपुरको ५४ हजार पाँच सय २३ परिवार बिमामा आबद्ध भएको तथ्याङ्क छ । काभ्रेपलाञ्चोकका ४३ हजार तीन सय ५६ परिवार, नुवाकोटमा २३ हजार एक सय ६७ परिवार, सिन्धुपाल्चोकमा १७ हजार छ सय ३० परिवार, सिन्धुलीमा २७ हजार सात सय ५८ परिवार, रामेछापमा २१ हजार एक सय ६५ परिवार, दोलखामा १५ हजार छ सय आठ परिवार, धादिङमा २५ हजार आठ सय ३८ परिवार, रसुवामा चार हजार सात सय ६५ परिवार र ललितपुरमा नौ हजार छ सय ३२ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताउनुभयो । कार्यालयमा बिमा दर्ताका लागि नयाँ आवेदन पनि आइरहेको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । मकवानपुरमा स्वास्थ्य बिमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बिमितहरुको नाम दर्ता गराउँदै आएको छ । स्वास्थ्य बिमा गराएकाले जिल्लाको आठ स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका छन् । हेटौँडा अस्पताल, मनहरी आधारभूत अस्पताल, हेटौँडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताल, राक्सिराङ आधारभूत र सिएम सि चुरेहिल अस्पताल प्राली हेटौँडाबाट स्वास्थ्य बिमा गरेकाले सेवा लिँदै आएका छन् ।
पोखरा: गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी प्रदेश गौरवको आयोजना कोरोला–पोखरा–त्रिवेणी मार्गसहित जिल्लाका आयोजनाको निरीक्षणमा निस्किएका छन् । मन्त्री केसी नेतृत्वको टोलीले मंगलबार तनहुँको भीमाद, घिरिङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकामा प्रदेश सरकारले लगानी गरेका योजनाको निरीक्षण गरेको हो । मन्त्री केसी नेतृत्वको टोली मंगलबार कोरोला–पोखरा–त्रिवेणी मार्गअन्तर्गत भीमादबाट घिरिङ हुँदै नवलपुरको रुचाङसम्म पुग्यो । दुई छिमेकी देश चीन र भारत जोड्ने यो सडकको दुम्कीबासदेखि त्रिवेणीसम्मको करिब २३ किलोमिटर क्षेत्रमा निकुञ्ज पर्छ । त्यो ठाउँको समस्या बुझ्न मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी स्थलगत निरीक्षणमा निस्किएका हुन् । यो टोली बुधबार दुम्कीबासबाट विवादित क्षेत्र हुँदै त्रिवेणीसम्म निरीक्षणमा जाने छ । मन्त्री केसीले मंगलबार तनहुँको भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिका प्रमुख होमबहादुर थापा, नवलपुरको बौदिकाली गाउँपालिकाका प्रमुख प्रकाश ओझासहित स्थानीयलाई भेटे । भेटमा पालिका प्रमुखहरुले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पनि काम हुन नसकेका र प्रदेश सरकारले गर्नुपर्ने कामबारे जानकारी गराए । भिमाद र घिरिङका पालिका प्रमुखले दुई पालिका जोड्ने सडक ७ वर्ष पहिल्यै सकिनुपर्ने भएपनि ठेकेदार मुद्दा मामिलामा लागेपछि जनताले सास्ती व्यहोर्नुपरेको सुनाए । घिरिङका गाउँपालिका अध्यक्ष होमबहादुर थापाले कृष्णमार्ग मोटर मार्गको समस्या मुख्य भएकाले समाधान गर्नेमा विशेष ध्यान दिन आग्रह गरे । मन्त्री केसीले पोखरा फर्किएपछि मन्त्रालयको टिम यो सडकको समस्या बुझेर समाधानमा लाग्ने बताए । उनले पूर्वाधार कार्यालय तनहुँका प्रमुखसँग कृष्णमार्ग मोटरबाटोको समस्याबारे सोधेर आफ्नो ठाउँबाट गर्न सकिने सबै पहल गर्ने प्रतिबद्धता जनाए । बौदिकाली गाउँपालिका प्रमुख प्रकाश ओझाले डेढगाउँ रिङरोड योजनामा प्राथमिकता साथ बजेट विनियोजन गरिदिन आग्रह गरे । उनले बसाइँसराइँले गाउँ नै रित्तिने अवस्था आएको, कर्मचारी बस्न नमान्ने समस्या भोग्नुपरेको सुनाए । जवाफमा मन्त्री केसीले चालु आर्थिक वर्षमा नयाँ बजेट हाल्न सक्ने अवस्था नरहेकाले आगामी वर्ष आवश्यकताका आधारमा माग सम्बोधन गर्ने बताए । उनले पालिकाको विकासमा मन्त्रालयले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
लुम्बिनी: लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् । प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालयमार्फत मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई दृष्टिगत गरी संशोधित निर्देशिका कार्यान्वयनमा आएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरुका परिवारका सदस्यहरुलाई सहज भएको बताउनुभयो । यसअघि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्ने व्यवस्था मिलाइएको प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि एक जना बिरामीलाई रु दुई लाखको व्यवस्था गरेको छ ।
पोखरा: प्रदेशसभाअन्तर्गत रहेका विषयगत समितिले दिएका निर्देशन प्रदेश सरकारले पालना गर्नुपर्नेमा जोड दिइएको छ । संसदीय पत्रकार मञ्च, गण्डकीले गण्डकी प्रदेशसभा सचिवालय र संसद् सहयोग परियोजनासँगको सहकार्यमा आज पोखरामा आयोजना गरेको ‘सार्वजनिक लेखा समितिको क्षेत्र, गतिविधि र प्रभावकारिता विषयक’ अन्तरक्रिया कार्यक्रमका वक्ताले सो कुरामा जोड दिनुभएको हो । समितिका सभापति सुधिरकुमार पौडेलले विषयगत समितिको निर्देशन मान्नु सरकारको दायित्व रहेको बताउनुभयो । “सार्वजनिक लेखा समितिले सम्बन्धित मन्त्रालयका मन्त्री, सचिवलगायतलाई राखेर ध्यानाकर्षण गराउने, निर्देशन दिनेलगायत काम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “टुक्रे योजना बनाउने, रकमान्तर गर्नेदेखि असारे विकासको प्रवृत्ति बन्द गर्नुस् भनेर निर्देशन दिएका छौँ, प्रदेश सरकारले निर्देशन पालना गर्नुपर्छ ।” प्रदेश सरकारलाई सुशासन र जवाफदेहिता कायम गर्न लेखा समितिले निरन्तर निगरानी र खबरदारी गर्ने सभापति पौडेलको भनाइ थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक देवीलाल शर्माले जवाफदेही आर्थिक प्रशासन प्रणालीलाई सुदृढ बनाउन सार्वजनिक लेखा समितिको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले सरकारी निकाय र कार्यालयको बेरुजु असुल गर्ने प्रक्रियालाई पनि व्यवस्थित र पारदर्शी बनाउनुपर्ने धारणा राख्नुभयो । सयपत्री समाजका अध्यक्ष कृष्ण केसीले विकास आयोजनामा भइरहेको गुणस्तरहीन कामका विषयमा समितिले चासो लिनुपर्ने बताउनुभयो । वित्तीय अनुशासनहिनता र चुहावट बढ्दै जानु सुशासनका लागि चुनौतीको विषय भएको उहाँको भनाइ छ । इन्सेक गण्डकी प्रदेशका प्रमुख शिव खकुरेलले सरकारी संयन्त्रले सही ढङ्गले कार्यसम्पादन गर्न नसक्दा लोकतन्त्रमाथि नागरिकको अविश्वास बढेको धारणा राख्नुभयो । महालेखा परीक्षकले औँल्याएको बेरुजु पर्छ्योट हुनुको सट्टा बर्सेनि बेरुजु थपिँदै जानु दुःखद् रहेको उहाँको भनाइ छ । समितिका सदस्य कल्पना तिवारीले छलफबाट प्राप्त सुझावलाई समितिले ग्रहण गर्ने बताउनुभयो । लेखा समितिको कामलाई थप प्रभावकारी बनाउन सरोकार भएका पक्षसँग सहकार्य र समन्वय गरिने उहाँको भनाइ छ । समितिका सचिव प्रेम सुवेदीले समितिको क्षेत्राधिकार र गतिविधिबारे जानकारी गराउँदै समितिको प्रतिवेदन छिट्टै सार्वजनिक हुने बताउनुभयो । विसं २०८० साउनमा गठन भएको सार्वजनिक लेखा समितिका हालसम्म १६ वटा बैठक बसेको उहाँले जानकारी दिनुभयो । संसदीय पत्रकार मञ्चका सदस्य अमृत सुवेदीले सार्वजनिक लेखा समितिसहित विषयगत समितिको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । छलफलको सहजीकरण संसदीय पत्रकार मञ्च, गण्डकीका अध्यक्ष भरत कोइरालाले गर्नुभएको थियो ।