विराटनगर:   कोशी प्रदेश सरकार र प्रदेश १ को पुन: नामकरण संयुक्त सङ्घर्ष समितिबिच भएको वार्तामा आज ५ बुँदे सहमति भएको छ ।  वार्तामा प्रदेश पुन: नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वा...

वीरगञ्ज:   प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको तयारीका लागि केन्द्रीय समितिको बैठक मधेश प्रदेशको वीरगञ्जमा आइतबारबाट सुरु भएको छ ।    प्रेस सेन्टर नेपालको पर्साको वीरगञ्जमा जारी राष्ट्रिय परिषद् बैठक  वीरगञ्जको नगर सभा गृहमा केन्द्रीय समितिको बैठक सुरु भएको हो ।    आज १४ गते बिहान ९ बजे बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले केन्द्रीय समितिको बैठकमा राख्ने एजेण्डा तय गरी सकेको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज गोबिन्द देवकोटाले जानकारी दिए ।   आज माघ १४ गते आइतबार दिउँसो २ बजे राष्ट्रिय परिषद बैठक बस्ने कार्यक्रम रहेको  प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।   कार्यक्रममा देशभरिबाट ५ सय जना प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहने र कार्यक्रमको अन्तिम दिन माघ १५ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यक्रममा सम्बोधन गर्नु हुने कार्यक्रम छ । 

सिन्धुली:    सिन्धुलीको सुनकोशी गाउँपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।  आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो ।  त्यसैगरी सो मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।  रामेछापको सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा सो दुर्घटना भएको थियो । दुर्घटनामा उनीहरूको मृत्युपछि स्थानीयले सो बसमा आगजनी गरेका छन् । बसमा आगो लगाएपछि आज बिहानदेखि सो राजमार्गमा सवारी आवागमन बन्द भएको छ ।

कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।    अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्न लागिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । रासस

काठमाडौं:     कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो । तर प्रदेशसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गर्‍यो । अहिले विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि राजीनामा दिने निर्णयमा पुगेको एमालेका एक प्रदेशसभा सदस्यले बताए । अब संविाधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ । धारा १६८ को उपधारा ५ मा भनिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा ९२० बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने छ ।’ यसअनुसार सरकार गठन हुन सकेन वा यस उपधाराअनुसार नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत पाएन भने प्रदेशसभा स्वतः विघटन हुनेछ र मध्यावधि निर्वाचन हुनेछ । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको स्थायित्वका लागि सबै एक भएर अगाडि बढ्नु अहिलेको अवश्यकता भएको उनले बताए ।  मध्यावधि जनताको चाहना नभएको भन्दै उनले यसलाई रोक्न आफ्नो दल जस्तो सुकै त्याग गर्न तयार रहेको बताए । कार्कीले अघि भने, ‘एमालेले ककस्तो त्याग गर्दा तत्काल निर्वाचन रोकिन्छ, त्यसका लागि एमाले तयार छ ।’

काठमाण्डौ:पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाण्डौ महानगरपालिकाले वडा ३२ पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ ।     कामपाले हिजो गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको काठमाण्डौ महानगर कृषि तथा पशुपक्षी  विभागका प्रमुख डा अवधेश झाले जानकारी दिनुभयो ।     प्रमुख झाका अनुसार अनुगमनको क्रममा दोषी ठहर भएको र सञ्चालकसँग कुरा गर्दा स्पष्ट जवाफ नदिएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो ।    जरिबाना रकम आउँदो एक हप्ताभित्र बैंक खातामा जम्मा गर्न कामपाले आग्रह गरेको छ । तोकिएको समय सीमाभित्र जरिबाना रकम नबुझाए त्यही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने कामपाले दाबी गरेको छ ।    अनुगमन टोलीले यो कम्पनीलाई बजारमा लगिएका सामग्री फिर्ता लैजाने व्यवस्था गर्न, ब्याकिङपछि रसायनिक, भौतिक दुवैतर्फ गुणस्तर कायम गर्न, एकपटक बजार लगिएका सामग्री पुनःउत्पादन भए पुनःपरीक्षण गरी निर्देशन दिएको छ ।     चालु आर्थिक वर्षमा कामपाले स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वस्थ्यकर बनाइ राख्नका लागि तीन करोड ५० लाख रुपैयाँ रहेको छ ।     बजारलाई थप व्यवस्थित गर्न कामपाले गएको साउन महिनाभित्र अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतमा वर्षहरूमा कामपाले चाडबाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमी रूपमा गरिएको अनुगमनको कामले प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले कामपाले चाडबाड शुरु हुनु केही महिना अघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।       उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपमेयरकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ ।

काठमाडौं: नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९ औं एसियाली खेलकुद (एसियाड) को पहिलो खेलमा हार बेहोरेको छ ।   पुल बी को पहिलो खेलमा बहराइनसँग नेपाल ३-१ ले पराजित भएको हो । पहिलो सेटमा नेपालले २५-२० को जित निकालेपनि त्यसपछि लगातार ३ सेट गुमाएको हो । दोस्रो सेटमा नेपाल २५(२० ले पछि परेको थियो । तेस्रो सेट २५(१८ र चौथो सेटमा २५-१५ को जितसँगै बहराइनले जित हासिल गर्यो ।   नेपालले अब बुधबार इरानको सामना गर्नेछ र उक्त खेल हारेको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिदै घर फर्कनेछ ।

पोखराः टाइम म्यागजिनलाई विश्वमै बेष्ट मिडिया मानिन्छ । अमेरिकाको यही मिडियाले विश्वका १ सय उदीयमान एवं प्रभावशाली ‘लिडर’मा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई समेटेको छ ।    टाइमले सुरुवातमा बालेनको परिचय दिँदै लेखेको छ ‘सन् २०२२ मा बालेनले मेयरको चुनाव जितेपछि उनले लगाउने चारकुने आकारको सुनौलो चस्मा निकै पपुलर भयो, स्ट्रक्चरल इन्जिनियरिङ्मा मास्टर्स डिग्री गरेका बालेनको प्रभाव देशैभर देखियो ।’   त्यसो त सन् २०१५ मा भूकम्पले देशलाई तहसनहस गराएको समय बालेनको कामको समेत टाइमले उल्लेख गरेको छ ।    टाइमले बालेनलाई विश्वकै १०० औ उदीयमान नेताकारुपमा समेट्दा उनका ४ प्रमुख योजनालाई आधार बनाएको छ ।    उक्त ४ योजनामा फोहर व्यवस्थापन र सरसफाई, स्वच्छ पिउने पानी, सफा सडक र सहरी योजना एवं सम्पदा संरक्षण रहेका छन् ।    बालेनले मेयरको निर्वाचनमा नेकपा एमालेका प्रभावशाली उम्मेदवार केशव स्थापितविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर जीत हासिल गरेका हुन् । 

पोखरा: डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा वैज्ञानिक मनिषा द्वालाई अर्पण गर्ने भएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले कास्कीको भद्रकालीमा जन्मेर सन् २०१३ देखि विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धानरत मनिषालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।आफूलाई युवा वैज्ञानिकका रूपमा स्थापित गराउन लामो समय संघर्षरत मनिषा हाल नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोकी उपप्रबन्धक रहेकी छन् । नासोद्वारा सञ्चालित महिला विज्ञान पुरस्कारकी संस्थापक, परियोजना संयोजकसमेत रहेकी द्वासँग शिक्षणको अनुभवसमेत छ । स्वतन्त्र फोटो पत्रकारको छवि बनाएकी द्वा अन्नपूर्ण आर्चरी क्लबकी सदस्य पनि हुन् । उनले विज्ञान प्रविधिका क्षेत्रमा विकासका लागि खगोल (ओएडी) सँगको सहकार्यमा नेपालमा समाज सशक्तिकरणका लागि खगोल विज्ञान अन्तर्गत ३६ स्कुलमा विभिन्न प्राजेक्टको सफल सञ्चालनसमेत गरिसकेकी छन् । द्वा यस अघि विज्ञान प्रविधिका क्षेत्रमा इमर्जिङ स्पेस लिडर्स सन् २०१६, विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार सन् २०२१ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेकी छन् ।  उनी जोन्टा क्लब अफ काठमाडौंले विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धान छात्रालाई प्रोत्साहनका लागि अन्तरिक्षमा महिला उद्घोषका साथ सञ्चालन गर्दै आएको इन्द्रकला छात्रवृत्ति सन् २०२१ समेत प्राप्त गर्न सफल प्रतिभा हुन् । मनिषाले नेपाल, भारत, चाइना, रोमानिया, इन्डोनेसिया, अमेरिका, मेक्सिको, दुबई, थाइल्याण्ड, अष्ट्रिया, जर्मनी, हङ्गेरीलगायतका देशमा सम्पन्न दुई दर्जन बढी सेमिनारमा सहभागी तथा आफ्नो प्रस्तुति राखेकी छन् । गण्डकी बोर्डिङ स्कुल लामाचौरबाट विज्ञानमा प्लस टु गरेकी द्वा पृथ्वीनारायण क्याम्पस पोखराबाट भौतिकशास्त्रमा स्नातकोत्तर गरी सोही विषयमा त्रिभवुन विश्वविद्यालयमा विद्यावारिधि अनुसन्धानरत छन् । प्रतिष्ठानले वार्षिक साधारण सभाको सन्दर्भ पारेर अर्पण गर्ने उक्त पुरस्कार यस अघि समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आरएम डंगोल, भीम रानाभाट, सुमल गुरुङ, संस्थातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ पुरस्कृत भइसकेका छन् ।   नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, समाजसेवाका क्षेत्रमा अर्पण गरिने पुरस्कारको राशि १० हजार पाँच सय नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ । पुरस्कार असोज ३ गते पोखरामा एक समारोहका बीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष बिन्दु श्रेष्ठले जानकारी दिइन् ।  

काठमाडौं:    नेपाली काँग्रेसले १५ वटा विभागको प्रमुखको नामावली टुङ्गो लगाएको छ ।  काँग्रेस केन्द्रीय कार्यालयले शुक्रवार सूचना जारी गर्दै १५ जना नेताहरूलाई विभागको प्रमुखमा मनोनयन गरेको जानकारी दिएको छ । मनोनयन हुनेहरूमा आङगेलु शेर्पालाई पर्यटन विभाग, पुष्पा भुसाललाई महिला विभाग र योगेन्द्र चौधरीलाई थारु विभागको जिम्मेवारी दिइएको छ ।  विभाग प्रमुखहरूको नामावली हेर्नुस्: