पोखरा: गण्डकी प्रदेश सरकारले गर्ववती, सुत्केरी महिला तथा नवजात शिशुहरुलाई आपत्कालिन स्वास्थ्य अवस्थामा उद्धारका लागि ‘एयर एम्बुलेन्स’को व्यवस्था गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उक्त व्यवस्था गर्ने बताएका हुन् । ‘प्रदेश सरकारले गर्ववती, सुत्केरी महिला तथा नवजात शिशुहरुलाई आपत्कालिन स्वास्थ्य अवस्थामा उद्धारका लागि ‘एयर एम्बुलेन्स’को व्यवस्था गर्नेछ, गुरुङले भने, ‘ स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने दरलाई शून्यमा झार्दै संस्थागत सुत्केरी प्रदेश बनाउ विशेष अभियानको थालनी गर्नेछौं ।’ उनले स्थानीय तहसँगको समन्वयमा ग्रामीण अल्ट्रा साउण्ड सेवालाई विस्तार गर्ने समेत बताएका छन् ।
पाेखरा: गण्डकी प्रदेश सरकारले प्रदेशका पत्रकारलाई स्वास्थ्य बीमाको व्यवस्था गर्ने नीति ल्याएको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ, ‘गण्डकी प्रदेश भित्रका पत्रकारको स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनेछ ।' साथै ‘पत्रकार लेखनवृत्ति (फेलोसिप) कार्यक्रम’ सञ्चालन गरिनेछ । सञ्चारकर्मीको क्षमता विकासका लागि पत्रकार महासंघ लगायत सञ्चार क्षेत्रका संघसंस्थाहरुको सहकार्यमा मागमा आधारित कार्यक्रम अघि बढाइनेछ ।’
पोखरा: गण्डकी प्रदेश सरकारले दश वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई प्रदेश सरकार मातहतका अस्पताल तथा आयुर्वेद्ध अस्पतालहरमा ओपिडी र प्रयोगशाला परिक्षण निशुल्क गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा १० वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई ओपिडी सेवा र प्रयोगशाला परिक्षण निशुल्क गर्ने बताएका हुन् । उनले ‘गण्डकीमा डायलायसिस सेवाः नागरिकको स्वास्थ्यमा टेवा’ भन्ने अवधारणा अनुसार डायलायसिस सेवालाई झन्झटमुक्त बनाउँदै पालो कुर्नुपर्ने अवस्थालाई शून्यमा झार्ने बताएका हुन् ।
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा सुरुङमार्गको सपनालाई अघि सारेको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेका नीति तथा कार्यक्रम अनुसार गण्डकी प्रदेशको विभिन्न पाँच स्थानको सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको हो । प्रदेश प्रमुख गुरुङका अनुसार तनहुँ जिल्लाको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ– झ्यालबास सडकखण्ड, बागलुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म र लमजुङको शीतरपाटीदेखि नाल्माफेदीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिनेछ ।
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चौथो अधिवेशनको छैटौ बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत सो नीति तथा कार्यक्रममा गण्डकीको विभिन्न जिल्लाको पाँच स्थानमा सुरुङमार्गको सम्भाव्यत अध्ययनदेखि प्रदेश सरकार मातहतका अस्पतालमा ओपिडी तथा प्रयोगशालामा निशुल्क परिक्षण सेवा लागु गर्ने योजना अघि सारेको छ । गत महिना पोखरामा भएको नीति तथा कार्यक्रमसम्बन्धि गोष्ठीमा विज्ञ समुहको टोलीले स्थानीय स्रोत तथा साधनमा आधारित नीति तथा कार्यक्रम ल्याउन सुझाएको थियो । गण्डकी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम: सम्बन्धित समाचार: https://sungabhanews.com/story/8937/2023/5/24/scoop/samaj/
पोखरा: गण्डकी प्रदेश सरकारले सहकारीमा देखिएको समस्या समाधान गर्न सहकारी रजिष्ट्रार कार्यालयको क्षमतामा वृद्धि गर्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीमा देखा परेका समस्या र चुनौतीलाई समाधान गर्न आवश्यक कानूनी प्रबन्ध गर्दै रजिष्टार कायालयको क्षमता वृद्धि गर्ने बताएका हुन् । पछिल्लो समय सहकारीमा बचतकर्ताहरुले बचत गरेका रकमहरु सञ्चालक समितिले हिनामिना गरेको घटना व्यापक भएपछि यस्तो नीति अगाडी सारिएको हो ।
पोखरा: गण्डकी प्रदेशले कृषि र पशु बीमालाई निशुल्क बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारले कृषि र पशुपालनमा कृषकलाई प्रोत्साहन गर्न कृषि र पशु बीमा निशुल्क बनाएको बताएका हुन् । ‘गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा जग्गा चक्लाबन्दी, विउ र मलमा अनुदान दिने कार्यक्रम अगाडि सारेको छ, प्रदेश प्रमुख गुरुङले भने, ‘केन्द्र सरकारले कृषि र पशु बीमामा दिएको ८० प्रतिशत छुटमा प्रदेश सरकारले २० थप गरेर कृषि र पशु बीमा निशुल्क बनाउने कार्यक्रम अगाडि सारेका छौं ।’
मुस्ताङ: दोेश्रो गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा बागलुङ च्याम्पियन भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा मुस्ताङ थासाङ-३ लेतेमा बिहिबार सम्पन्न प्रतियोगितामा बागलुङले म्याग्दीलाई २ अंकले पछि पार्दै च्याम्पियन भएको हो । च्याम्पियन बागलुङले नगद ७५ हजार र शिल्ड प्राप्त गर्न सफल भएको छ । निकै प्रतिष्पर्धात्मक बनेको प्रतियोगितामा बागलुङले कुल ८३ अंक प्राप्त गर्दै च्याम्पियन हुँदा म्याग्दी जिल्ला २ अंकले पछि पर्दै ८१ अंकका साथ उपविजेता बनेको छ । उपविजेता भएको म्याग्दीले नगद ५० हजार हात पार्न सफल भयो । त्यस्तै प्रतियोगितामा मुस्ताङको ‘ए’ टिम भने तेश्रो भएको छ । मुस्ताङले कुल ७८ अंक प्राप्त गर्न सफल भयो । कास्की ७७ अंकका साथ चौथो भएको छ । तेश्रो भएको मुस्ताङले ३० हजार नगदका साथमा कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा म्याग्दीको टिका बहादुर शेरपुञ्जा मगर सर्वश्रेष्ठ धर्नुधर भएका छन् । उनले व्यक्तिगत २० अंक प्राप्त गरेका थिए । त्यसैगरी प्रतियोगितामा विशिष्ट धर्नुधरको उपाधि बागलुङका सुनिल बुढा मगरले प्राप्त गर्न सफल भए । उनले २ खोल हानेका थिए । सवंश्रेष्ठ भएका प्रतियोगितामा कुल ५ जना खेलाडीले ‘खोल’ हानेका थिए । सर्वश्रेष्ठ धर्नुधर भएका टिकाले नगद रु ५ हजार र विशिष्ट धर्नुधर घोषित सुनिलले नगद रु ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पारे । प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका दुई टिम गरी ६ टिमका ३६ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता थासाङ गाउँपालिका ३ लेतेस्थित गाउँसमाज भवनमा सम्पन्न भएको थियो । स्थानिय रुपमा निर्मल स्पोर्टिङ क्लबले प्रतियोगिताको सह–व्यवस्थापन गरेको थियो भने आमा सुमह लगायत स्थानिय व्यवसायी लगायतले सहयोग गरेका थिए । प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई थासाङ ३ का वडा अध्यक्ष हरिप्रसाद गौचन, लेते गाउँ मुखिया रविन्द्र तुलाचन, निर्मल स्पोर्टिङ क्लवका महेन्द्र गौचनलगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रदेख खेलकुद परिषद गण्डकीले गत वर्षबाट गण्डकी प्रदेशमा खेलिने विशेष परम्परागत खेलको संरक्षण र सम्वद्र्धनका लागि प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । गण्डकी प्रदेशका हिमाली जिल्लामा खेलिदैं आएको तारा खेल विशेष पर्वहरुमा आयोजना हुने गर्दछ । बाँसको विशेष प्रकारको धनुष काँण (आर्चरी) सहित परम्परागत भेष–भुषा र संस्कृतिमा आधारित तारा खेलको आफ्नै विशेष महत्व रहेको बताउँछन् प्रदेश खेलकुदका सदस्य योगेन्द्र शेरचन । उनले भने–“परिषदले नितिगत रुपमा नै यस्ता खेलहरुको संरक्षण र सम्वद्र्धनका लागि अघि बढेको छ । यो खेलको प्रचार–प्रसार गर्दैै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सके यसको महत्व अझै बढ्न सक्छ । गण्डकीमा यो खेलको क्रमिक रुपले अघि बढ्दैछ ।” यसै गरी परिषदकै आयोजनामा २० गते म्याग्दीको बेनीमा परम्परागत ठेलो खेल हुने भएको छ । प्रतियोगितामा लमजुङ, पर्वत, बागलुङ र म्याग्दी जिल्लाको सहभागिता हुने भएको छ ।
पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका संसदीय दलका उपनेता विन्दुकुमार थापाले प्रदेश सरकारले अबको नीति तथा कार्यक्रममा पर्यटन उद्योगलाई प्राथमिकता राख्न माग गरेका छन् । गण्डकी प्रदेश सभाको चौथो अधिवेशनको दोस्रो बैठकमा बोल्दै गण्डकी प्रदेश सभा सांसद तथा नेपाली कांग्रेस संसदीय दलका उपनेता थापाले पर्यटन उद्योगलाई नीति तथा कार्यक्रमको प्राथमिकता राख्न माग गरेका हुन् । ‘गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ल्याउँदै छ, गण्डकी प्रदेश पर्यटन क्षेत्रको प्रमुख प्रदेश हो, थापाले भने, ‘अबको नीति तथा कार्यक्रममा पर्यटन उद्योगलाई प्राथमिकतामा राखियोस्, प्रदेशको समृद्धिका लागि पर्यटन क्षेत्र प्रमुख आधार हो ।’ उनले प्रदेश सरकारको नीति तथा कार्यक्रममा गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनको राजधानीको घोषणा लागि समेत जोड्न सुझाव दिएका छन् । सांसद थापाले जटिल रोगको उपचारको लागि काठमाडौं लगायत अन्य शहरमा जानुपर्ने बाध्यताको अन्त्य गर्न पोखरामा नै जटिल रोगको उपचारका लागि अस्पताल सञ्चालन गर्न नीति तथा कार्यक्रममा समेट्न सरकारलाई आग्रह गरेका छन् ।