दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् । बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । कार्यालय प्रमुख (एसपी)डा.रामचन्द्र सत्यालले सोमबार आयोजित कार्यक्रममा घुङ्ग्रुलाई अवार्ड प्रदान गरेका हुन् । हवाई मार्ग हुँदै काठमाडौँ आउने र विदेशतर्फ तस्करी गर्न लागिएको गाँजा लगायतका लागुऔषध अनुसन्धानमा घुङ्ग्रुले उत्कृष्टता हासिल गरेको केनाईन कार्यालयका प्रमुख डा.रामचन्द्र सत्यालले बताए । घुङ्ग्रुले सुँघेर २०८१ चैत र २०८२ साउनमा विमानस्थलमा दुई वटा लागुऔषधको घटना पत्ता लगाएको थियो । जर्मन सेफर्ड जातको पोथी प्रहरी कुकुर घुङ्ग्रुको सङ्केतको आधारमा आरोपी पक्राउ परेका थिए । २०७४ चैतमा जन्मिएको घुङ्ग्रु लागुऔषध नियन्त्रण ब्युरो अन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छ । २०८० चैत ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित कार्गो कम्प्लेक्सको आयात तर्फको गोदाममा चेकजाँच गर्दा घुङ्ग्रुले वासिङ मेशिनमा लागुऔषध रहेको सङ्केत गरेको थियो । सो सङ्केतको आधारमा वासिङ मेशिन फुटाउँदा विदेशबाट आयात गरिएको २० केजी गाँजा भेटियो । २०८२ साउन ५ मा आगमनतर्फको लगेज चेकजाँच गर्दा बैंककबाट आएका भारतीय नागरिकले ल्याएको १४ केजी गाँजा भेटियो । सो गाँजा ल्याउने भारतीय नागरिक धर्मेश रसिकभाई चुनारा पक्राउ परेका थिए । त्यस्तै, २०८१ चैत २४ मा चिप्स, चकलेट र मासुको प्याकेटहरूमा लुकाएर ल्याइएको ९ केजी अमेरिकन गाँजा बरामद गर्न पनि घुङ्ग्रुले सघाएका थिए ।
चितवन: कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्काभेट भएपछि प्रहरी भन्दै उम्किएका थिए । खतिवडाले भन्नुभयो, “नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लगाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शङ्का लाग्यो ।” “मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घर अगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरण्डाबाट आँगनमा निस्किए”, घटना विवरण सुनाउँदै उहाँले भन्नुभयो, “एक्कासि नयाँ मान्छे देख्दा म आत्तिएँ । चोर १ भन्ने सम्झेँ । तर बोल्न सकिनँ ।” ती व्यक्तिले यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ ? भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काकाको घरतर्फ गएको खतिवडाले बताउनुभयो । भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उहाँले बताउनुभयो । निजहरुले दाजुभाइलाई आफूहरु प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएको उहाँले सुनाउनुभयो । घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरु चोर हुन् भन्ने एकिन भएको खतिवडाले बताउनुभयो । राति नै प्रहरीलाई खबर गरी घटनाको विवरण सुनाएको उहाँले जानकारी दिनुभयो । मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तुसमेत बोकेको देखेको खतिवडाले बताउनुभयो । उहाँका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरु बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरुलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताउनुभयो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताउनुभयो । उनीहरु प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशङ्काबीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।” चितवनसहित देशका धेरै कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार छन् ।
झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बु रहेका छन् । उनी सवार प्रदेश १–०२– ०४७ प ६९२२ नम्बरको मोटरसाइकललाई आइतबार साँझ साढे ६ बजे बेलबारी –११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो ।
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् । भारी र अतिभारी वर्षाका कारण यी तीन प्रदेशमा जनजीवन अत्यधिक प्रभावित छ । वर्षा त करिब रोकिइसकेको छ । तर अझै बाढी र पहिरोको जोखिम टरेको छैन । अन्यत्र भौतिक क्षतिको मात्र बढी भएपनि इलाममा भौतिकसहित मानवीय क्षति अध्यधिक भयो । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृति सोङमी रहेका छन्। यस्तै, फाकफोकथुम गाउँपालिका–३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका–६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन्। यस्तै, देउमाई नगरपालिका–५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू, देउमाई–३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगरको ज्यान गएको छ। पहिरोमा परी माङसेबुङ गाउँपालिका–१ का ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका–१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ। पहिरोमा विभिन्न कामले इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका–६ की ३२ वर्षीया अनु तामाङ र ती वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका नौ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू र मिक्लाजुङ गाउँपालिका–६ की १७ वर्षीया नेहा राई रहेका छन् ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ । जमरा राख्नु पूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दसैँको चहलपहल छैन । घटस्थापनाको दिन राखेको जमरा विजयादशीको दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन भए पनि जमरा नराखी माझी समुदायले दसैँ मनाउने गरेका छन् । जमराबिना दसैँ मनाउने अनौठो परम्परालाई यहाँका माझी समुदायले वषौँ देखि निरन्तरता दिँदै आएका छन् । जमरा राखे नराम्रो घटना घट्ने भन्दै दुई पुस्ताभन्दा पहिलेदेखि जमरा नराखी नै दसैँ मनाउँदै आएको माझी समुदायका अगुवाहरूले बताउने गरेका छन् । घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यताका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय देउकुमारी माझीले बताइन् । पिता पुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको उनको भनाइ छ । करिब डेढ सय वर्ष अघिसम्म जमरा राखे पनि पछि अनिष्ट हुन थालेपछि जमरा राख्न छोडिएको भन्ने गरिएको माझीले बताइन् । यो समुदायमा जमरा राखेपछि घरकी कन्याको मृत्यु भएको किंवदन्तीअनुसार जमरा राख्न छोडिएको बताइन्छ । यहाँको खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराखे पनि नजिकको मन्दिरबाट जमरा लगेर दसैँ भने मनाउँदै आएका छन् । “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको किंवदन्तीअनुसार जमरा राख्ने चलन छोडिएको बताइन्छ, तर दसैँ भने मनाउँदै आएका छौँ”, माझीले भनिन्। स्थानीय कृष्ण माझीले जमरा नराख्ने चलनमा यहाँका समुदायको साझा सहमति रहेको बताए । जमरा राखेपछि लगातार छोरीचेलीको मृत्यु भएर दसैँ रोकिएकाले जमरा राख्न छोडिएको हो भनेर पुर्खाहरूले भन्दै आएकाले पछिल्लो पुस्ताले पनि त्यसलाई निरन्तरता दिएको उनले सुनाए । खनियाबास र मालढुङ्गामा माझी समुदायका २० परिवारको बसोबास छ । पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मार्ने, डुङ्गा खियाउने र बालुवा निकालेर गर्जो टार्दै आएका यहाँका माझीहरूले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ । पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदेश प्रमुख भट्टले जन्मदिन मनाउनुभएको हो । प्रदेश प्रमुख भट्टले नेपाली सामाजिक मनोविज्ञान वृद्धाश्रमप्रति सकारात्मक नदेखिएपनि विभिन्न कारणले परिवारबाट परित्यक्त वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो । सन्तानको समयअभाव वा तिरस्कृत भएर घरमै बसेर बेसहारा तथा असुरक्षित जीवनयापन गर्नुभन्दा वृद्धाश्रममा बसेर सुरक्षित र सहज जीवनयापन गर्नुलाई बुद्धिमानी ठान्नुपर्ने उहाँको भनाई छ । उहाँले वर्षौंदेखि वृद्धाश्रम सञ्चालन गरेर समाजसेवामा सक्रिय पराजुली परिवार र सहयोगी शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो । ‘सामाजिक र आर्थिक दृष्टिकोणले पनि ज्येष्ठ नागरिकहरूको जीवनयापन असुरक्षित र असहज बन्दै जाँदा यस्ता वृद्धाश्रम सञ्चालन गरेर ठूलो सामाजिक कर्म गर्नुभएको छ ।’ भट्टले भन्नुभयो । वृद्धवृद्धाहरूको दैनिकी र उनीहरूको चाहना र आवश्यकताअनुरूपको सेवा तथा सुविधाको प्रबन्ध हुनसक्यो भने उनीहरूका लागि वृद्धाश्रम घरभन्दा पनि सुरक्षित र आरामदायी आश्रयस्थल बन्नसक्ने प्रदेश प्रमुख भट्टले बताउनुभयो । ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई उपयोग गर्ने नीति बनाएर काम गर्ने हो भने वृद्धाश्रमलाई केही हदसम्म सिर्जनात्मक र आयमूलक क्रियाकलापको थलो पनि बनाउन सकिने र यसबाट वृद्धाश्रमलाई आर्थिक टेवा पनि पुग्ने उहाँको भनाई छ । वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष कुशुमकेशव पराजुलीले जन्मदिनको पावन अवसरमा ज्येष्ठ नागरिकलाई स्मरण गरी सम्मान व्यक्त गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो ।
गण्डकी: तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् । विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर पििन यही रहेकाले नाच्नेडाँडाको ऐतिहासिक महत्व पुष्टि हुन्छ । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडा तीजको पर्याय नै बनेको छ । तीज आयो कि यहाँको रौनक फेरिइहाल्छ । तीजमा नाचगान हुन थालेपछि ठाउँको नामै नाच्नेडाँडा रहन गएको हो । यहाँ बर्सेनि तीजमा मेला लाग्छ । यसपालि पनि दुई दिनसम्म मेला चल्यो । कुनैताका स्वतःस्फूर्त ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ । सोमबार तीजको दर खाने दिन थियो । गाउँका छोरीचेली नाच्नेडाँडामा भेला भएर सामूहिक दर खाए । तीजका गीतमा छमछमी नाचे । कूर्चीदौडलगायत खेलमा रमाए । मङ्गलबार तीज गीत तथा नृत्य प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम भए । कलाकारले प्रस्तुति दिए । प्रतियोगितामा ११ समूहले भाग लिएको मेला आयोजक नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले जानकारी दिनुभयो । मेलाका अवसरमा ज्येष्ठ महिला टुल्की दर्जी र सामाजिक अभियानकर्मी ललिता थापालाई सम्मान गरिएको उहाँले बताउनुभयो । तीज गीत तथा नृत्य प्रतियोगितामा न्यू लाइफ इङ्गलिस बोर्डिङ स्कूलको समूह प्रथम भई रू २५ हजार पुरस्कार प्राप्त गर्यो । दोस्रो स्थान हासिल गरेको जनहित माध्यमिक विद्यालयले रू २० हजार, तेस्रो हुने टोल सुधार आमा समूह, हरिचौरले रू १५ हजार, गलकोट बोर्डिङ स्कूल र गोल्डेन फ्यूचर बोर्डिङ स्कूलले सान्त्वना स्थान प्राप्त गरी रू पाँच हजारका दरले पुरस्कार हात पारे । प्रतियोगितामा सहभागीले मौलिक सृजनामा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारले तीजका पुराना भाकामा महिलाका दुःख, बेदनासहित सामाजिक विषयवस्तुलाई उठाएका थिए । मेलाको उद्घाटनका क्रममा गण्डकी प्रदेशसभा सदस्य दिलमाया पौवीले तीज पर्वको मौलिकतालाई जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृति संरक्षणसँगै महिला सशक्तीकरण र अधिकारको रक्षाका दृष्टिले पनि तीजलाई हेर्नुपर्ने बताउनुभयो । उहाँले सिद्धेश्वर शिवालय मन्दिरलगायत नाच्नेडाँडामा आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गलकोट–७ का वडाध्यक्ष राज थापाले विसं २०५० देखि तीज गीत तथा नृत्यलाई प्रतियोगितात्मक रुपमा सञ्चालन गर्न थालिएको बताउनुभयो । “त्योभन्दा पहिले स्वतःस्र्फूत रुपमा तीज मेला लाग्थ्यो, परम्परागत रुपमा त्यो चलेको थियो, विसं २०५० पछि मेला व्यवस्थित र संस्थागत गरिएको हो”, उहाँले भन्नुभयो, “नाच्नेडाँडा गलकोट क्षेत्रकै ऐतिहासिक थलो हो, यसको संरक्षण र विकासमा स्थानीय समुदायको ठूलो योगदान छ ।” दशकौँ पुरानो नाच्नेडाँडाको तीज मेला हेर्न गलकोट र बाहिरबाटसमेत आगन्तुक आउने गरेका छन् । सोही ठाउँमा अवस्थित दुई सय ७२ वर्ष पुरानो सिद्देश्वर शिवालय मन्दिरले पनि तीज पर्व र नाच्नेडाँडाको महिमा बढाएको हो । तीजमा महादेवको व्रत बस्ने र पूजाआजा गर्ने महिलाको त्यहाँ उत्तिकै भीड लाग्छ । तीज लगत्तै पर्ने ऋषिपञ्चमीमा पनि शिवालयमा चहलपहल हुन्छ । पहिलेपहिले टाढा–टाढाबाट माइतीघर आएका चेलीबेटी भेट हुने, दुःख–सुख साट्ने, रमाउने ठाउँ नै यहीँ नाच्नेडाँडा हुन्थ्यो । समय बदलिए पनि यो ठाउँको पहिचानलाई कायमै राख्न स्थानीय समुदाय लागिपरेका छन् । गलकोट क्षेत्रकै पुरानो शिवालय पनि यहीँ भएकाले यो ठाउँको विशेष महत्व रहेको छ । अहिलेको पुस्ताले नयाँ स्वरुपमा भएपनि तीज मेलालाई निरन्तरता दिएका छन् । बर्सेनि मेलामा खुला तीज गीत तथा नृत्य प्रतियोगिता, सामूहिक दर खाने कार्यक्रम, कुर्चीदौड, घैँटोफोडलगायतका कार्यक्रम आयोजना गर्ने गरिन्छ । मेलाले तीजको पुरानो परम्परालाई जोगाउन मद्दत पुगेको समाजका सचिव कोपिला थापाले बताउनुभयो । मौलिक तीज गीत, नृत्य, दर खाने कार्यक्रम आदिले नयाँ संस्कृतिको पुस्तान्तरणमा पनि सघाउने उहाँको भनाइ छ । तीजमा आउने व्रतालु महिला र अरु भक्तजनका लागि सिद्धेश्वर शिवालयमा पूजाआजाका लागि पनि विशेष प्रबन्ध मिलाउने गरिएको छ । मन्दिर परिसरमा १०८ शिवलिङ्ग मण्डप निर्माण गरिएको छ । यस क्षेत्रमै पहिलोपटक शिवलिङ्ग मण्डप बनेपछि पछिल्लो समय शिवालय मन्दिरमा भक्तजनको आकर्षण बढेको हो । झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदर्शी पर्वमा विशेष मेला लाग्ने गर्छ । शिवालयमा नित्य पूजाआजासमेत हुने गरेको छ । पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यहाँ बस्न थालेपछि शिवालय स्थापना गरिएको गाउँका अगुवा बताउँछन् । उक्त मन्दिर अहिले जीर्ण अवस्थामा छ । समितिले मन्दिरको पुनःनिर्माणसहित वृहत्तर विकास योजना अघि बढाएको छ । पुरातात्विक कलाकौशल झल्कने गरी मन्दिर पुनःनिर्माण गरिने जनाइएको छ । मन्दिरसहित धर्मशाला, सभाकक्षलगायतका संरचना यहाँ बन्नेछन् ।
काठमाडौं: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। सोही मान्यताअनुसार वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीले हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको परेकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ, तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले सुनाए। “निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत छन्। सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उनले भने,“‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ।” स्वास्थ्य ठीक नहुनेले गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उनको भनाइ छ। श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्व प्रमुखसमेत रहेका उनले सुनाए। “अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरूले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”, प्राडा गौतमले भने। नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा पुरुषले पनि व्रत बस्ने गरेका छन्। यस अर्थमा हाल केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराईको भनाइ छ। व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन्। तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ। तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रातोयराज नेपालले सुनाए। उज्यालो नहुँदै दर खाइसक्नुपर्ने यो व्रत सक्नेले निराहार बस्ने भएकाले सोमबार व्रतालुले मीठा मीठा परिकार दरका रूपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन्। विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ। महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्ने गरेका छन्। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन्। पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ। एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृति बनाइरहेको धेरैले बताउने गरेका छन्। यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीको जोड छ। एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा यसका लागि तोकिएको छ। सोमबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।
 
                    
