काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार मुलुकभर बुधबारबाट सेना परिचालन हुने भएको हो। निर्वाचनको महिना दिनअघिबाटै परिचालन गर्ने योजनाअनुसार सेना बुधबारबाट परिचालित हुन लागेको हो। सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने निर्णय भएको छ। सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको सार्वजनिक भवन, कारागार तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ। सशस्त्र प्रहरीलाई पनि निर्वाचनमा खटाउने छ। परिचालित सेना एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार फिल्डमा खटिनेछन्। सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले निर्वाचन सुरक्षार्थ नेपाली सेना बुधबारबाट फिल्डमा परिचालित हुने बताए। ‘निर्वाचन हुनभन्दा एक महिनाअघिबाटै परिचालन गर्ने म्यान्डेटअनुसार सेना आगामी २१ माघदेखि फिल्डमा खटिनेछन्। यसका लागि आवश्यक सबै तयारी पूरा भएको छ। सेना एकीकृत सुरक्षा योजनाले दिएको म्यान्डेटअनुसार नै फिल्डमा खटिनेछ,’ सहायक रथी बस्नेतले भने। गत कात्तिकमा राजनीतिक दलले निर्वाचनमा सहभागिताका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्ने सर्त राखिरहँदा निर्वाचन आयोगले सुरक्षाको वातावरण सुनिश्चित गर्न नेपाली सेनासहित चार वटै सुरक्षा निकाय संयुक्त रूपमा यथाशीघ्र परिचालन गर्न सरकारलाई आग्रह गरेको थियो। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको बैठकले सिफारिस गरेपछि ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिइसकेका थिए। निर्वाचनलाई लक्षित गर्दै देशभर ७९ हजार ७२७ जना नेपाली सेना परिचालन हुनेछन्। आवश्यकताअनुसार गस्ती र पेट्रोलिङ गर्ने तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाका आधारमा संयुक्त गस्ती पनि सञ्चालन हुने बताइएको छ। मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएपछि एक महिनाअघिबाटै सेना परिचालनको बाटो खुलेको हो। त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना तयार गरी सोहीअनुसार तालिम तथा अभ्याससमेत सम्पन्न गरेको छ। ९ असोजमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्न कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पारित भएको थियो। यही योजनाअनुसार अहिले सेना परिचालनसँगै सुरक्षासम्बन्धी अन्य तयारी र ड्युटीहरू सुरु भएका छन्। आगामी निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी तीन लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ। सेनाका अनुसार नेपाली सेनाबाट मात्रै ७९ हजार ७२७ जना परिचालन हुन्छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार नेपाल प्रहरीबाट ७५ हजार ५९७ जना खटिनेछन्। प्रहरी मातहत रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुने र उनीहरूको तालिम सुरु भइसकेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी र सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुनेछन्। त्यस्तै १ हजार ९२१ गुप्तचर पनि निर्वाचन सुरक्षामा खटिनेछन्।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर मङ्गलबार बिहान २ बजेतिर श्रीमती अम्बिका कुमारी मण्डलको हत्या गरी आफूले आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रवक्ता लीलाराज लामिछानेका अनुसार मुकेश राति नै ससुराली पुगेका थिए । मुकेशको घर र ससुराली घरको दूरी एक किलोमिटर भित्र पर्छ । विराटनगर बस्दै आएका दुबै जनाबीच घरायसी विवाद भएपछि अम्बिका माइत बस्दै आएकी थिइन् । श्रीमातले चक्कुले प्रहार गर्दा अम्बिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूको विवाह गत मङ्सिर १२ गते भएको थियो ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरे । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए । राष्ट्रपति नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्नेछन् । साथै राष्ट्रपतिले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नेछन् ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनुसार उनको १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो । बालेनको चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याएको थियो ।
पोखरा: होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै पौडेललाई सम्मान गरेको हो । पौडेललाई पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी, कार्यक्रमका संयोजक तुलसी लामिछाने लगाएतले सम्मानपत्र, दोसल्लाले सम्ममान गरे । लामो समय देखी पोखराको पर्यटन व्यवसायमा पौडेल संलग्न छन् । पहिलो रेष्टुरेष्ट व्यवसायबाट शुरु गरेका पौडेलले अहिले रेष्टुरेष्ट र होटल सञ्चालनमा छ । उनले चिल्ली बार एण्ड रेष्टुरेष्टबाट व्यवसायीक यात्रा थालेका थिए । उनका हाल ३६० स्काइ लाउन्च, हिमालयन ग्लोरी इन्, हिमालयन गेष्ट हाउस, टेम्पल बेल बुटिक होटल एण्ड स्पा लगाएतका व्यवसाय छन् । उनलाई भाई भिष्म पौडेलले साथ दिर्दै आएका छन् । हाल रेवान पोखराका अध्यक्ष रहेका विश्वराज पौडेल विभिन्न सामाजिक संस्था र निजी क्षेत्रका विभिन्न संस्थामा काम गरेको अनुभव छ । उनले हाल १ सय ३५ जनालाई रोजगारी दिएका छन् । यस अगाडी क्लबले होटल बाराहीका सञ्चालक हरि पौडेल, पोखरा रिर्सोटका सञ्चालक हरी गैरे, टेम्पल ट्रि का सञ्चाल बसन्त गौतमलाई सम्मान गरी सकेको छ ।
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेको कार्यक्रम गरेर माघे सक्रान्ति मनाइँदै छ । पोखराको ढुङ्गेसाँघुमा माघे सक्रान्तिको अवसरमा मेला नै लागेको छ । ढुङ्गेसाँघु स्थित सेती नदीमा स्नान गर्न भक्तजनको भीड लागेको छ । नदीमा स्नान गर्न गएका भक्तजनहरुलाई स्थानीय आमा समुहले घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार खुवाएका छन् । थप तस्बिरहरु:-
पोखरा: अमरसिंहचौरमा आज (मंगलबार)देखि युनाईटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । विभिन्न समुदायका बाजागाजा, झाँकी र र्यालीसहित अमरसिंहचौरमा आगामी माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सव आजदेखि सुरु भएको हो । उक्त महोत्सवको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले गरिन् । १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लबको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्रावास निर्माणको लक्ष्य राखेको छ । उक्त योजनाको डिपिआर अनुरुप सो जग्गामा २० कोठाको भवन निर्माण हुनेछ । यस वर्ष ३ कोठाको भवन निर्माण भइसकेको र १४ औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइनेछ । यससँगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने छ । रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर मुख्य प्रायोजक रहेको १४ औं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, ठेलो प्रतियोगिता, टिकटक प्रतियोगिताको आयोजना हुनेछ । महोत्समा चर्चित लोकदोहोरी गायक गायिकाहरु रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछन् भने, लाईभ कन्सर्टतर्फ लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, लेकाली, एवाईजी, रकहेड्स, जेम्सी, सविन राई, भिटेन र पर्पल संगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ ।
पोखरा: ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै उपाधि जित्ज सफल भएका हुन् । प्रतियोगितामा फस्ट रनरअप तर्फ संगिता ल्वागुन, सेकेन्ड रनरअप तर्फ संगिता सुनार तथा अर्गनाइजर च्वाइस अवार्ड बिबिसा बिश्वकर्माले प्राप्त गरेकी छन्। विजेताहरूले मिस्टर एन्ड मिस बिश्वकर्मा राष्ट्रिय प्रतियोगितामा सिधै सहभागिता जनाउने अवसर, नगद पुरस्कारसहित आकर्षक उपहारहरू प्राप्त गरेका छन्। बी ब्रोज इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बिश्वकर्मा समुदायको पहिचान, संस्कृति र प्रतिभा उजागर गर्ने उद्देश्यसहित समुदायभित्र रहेका युवायुवतीहरूको आत्मविश्वास, व्यक्तित्व विकास र सामाजिक चेतनालाई केन्द्रमा राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिश्वकर्मा समुदाय ऐतिहासिक रूपमा सीप, कला र श्रमसँग जोडिएको समुदाय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायको आत्मसम्मान र पहिचान मजबुत बनाउने बताए। कार्यक्रमका विशेष अतिथि लोकप्रिय गायक प्रकाश सपुतले विजेता तथा सहभागीहरूलाई शुभकामना दिँदै बिश्वकर्मा समुदायको संघर्ष, प्रतिभा र सम्भावनाको खुलेर प्रशंसा गरे। कार्यक्रमको अर्को आकर्षणका रूपमा बिश्वकर्मा समुदायको मौलिक पोषाक सार्वजनिक गरिएको थियो, जसले समुदायको संस्कृति र पहिचानलाई थप उजागर गरेको सहभागीहरूको भनाइ थियो। प्रतियोगिताको मूल्यांकन अनुभवी तथा प्रतिष्ठित निर्णायक मण्डलद्वारा गरिएको थियो। निर्णायकको भूमिकामा डिजाइनर अमित बराल, सामाजिक अभियन्ता सारिका गुरुङ, मिस्टर एन्ड मिस बिश्वकर्मा नेशनल सिजन–४ का विजेता शौरव बिश्वकर्मा तथा डिजाइनर शुष्मा गुरुङ रहेका थिए। निर्णायकहरूले सहभागीहरूको व्यक्तित्व, प्रस्तुति, आत्मविश्वास र सामाजिक दृष्टिकोणका आधारमा मूल्यांकन गरेका थिए। कार्यक्रममा मञ्जु विश्वकर्मा, बिपास सुनार र समिर रामदामले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् ।

