पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेको कार्यक्रम गरेर माघे सक्रान्ति मनाइँदै छ । पोखराको ढुङ्गेसाँघुमा माघे सक्रान्तिको अवसरमा मेला नै लागेको छ । ढुङ्गेसाँघु स्थित सेती नदीमा स्नान गर्न भक्तजनको भीड लागेको छ । नदीमा स्नान गर्न गएका भक्तजनहरुलाई स्थानीय आमा समुहले घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार खुवाएका छन् । थप तस्बिरहरु:-
पोखरा: अमरसिंहचौरमा आज (मंगलबार)देखि युनाईटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । विभिन्न समुदायका बाजागाजा, झाँकी र र्यालीसहित अमरसिंहचौरमा आगामी माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सव आजदेखि सुरु भएको हो । उक्त महोत्सवको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले गरिन् । १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लबको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्रावास निर्माणको लक्ष्य राखेको छ । उक्त योजनाको डिपिआर अनुरुप सो जग्गामा २० कोठाको भवन निर्माण हुनेछ । यस वर्ष ३ कोठाको भवन निर्माण भइसकेको र १४ औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइनेछ । यससँगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने छ । रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर मुख्य प्रायोजक रहेको १४ औं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, ठेलो प्रतियोगिता, टिकटक प्रतियोगिताको आयोजना हुनेछ । महोत्समा चर्चित लोकदोहोरी गायक गायिकाहरु रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछन् भने, लाईभ कन्सर्टतर्फ लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, लेकाली, एवाईजी, रकहेड्स, जेम्सी, सविन राई, भिटेन र पर्पल संगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ ।
पोखरा: ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै उपाधि जित्ज सफल भएका हुन् । प्रतियोगितामा फस्ट रनरअप तर्फ संगिता ल्वागुन, सेकेन्ड रनरअप तर्फ संगिता सुनार तथा अर्गनाइजर च्वाइस अवार्ड बिबिसा बिश्वकर्माले प्राप्त गरेकी छन्। विजेताहरूले मिस्टर एन्ड मिस बिश्वकर्मा राष्ट्रिय प्रतियोगितामा सिधै सहभागिता जनाउने अवसर, नगद पुरस्कारसहित आकर्षक उपहारहरू प्राप्त गरेका छन्। बी ब्रोज इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बिश्वकर्मा समुदायको पहिचान, संस्कृति र प्रतिभा उजागर गर्ने उद्देश्यसहित समुदायभित्र रहेका युवायुवतीहरूको आत्मविश्वास, व्यक्तित्व विकास र सामाजिक चेतनालाई केन्द्रमा राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिश्वकर्मा समुदाय ऐतिहासिक रूपमा सीप, कला र श्रमसँग जोडिएको समुदाय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायको आत्मसम्मान र पहिचान मजबुत बनाउने बताए। कार्यक्रमका विशेष अतिथि लोकप्रिय गायक प्रकाश सपुतले विजेता तथा सहभागीहरूलाई शुभकामना दिँदै बिश्वकर्मा समुदायको संघर्ष, प्रतिभा र सम्भावनाको खुलेर प्रशंसा गरे। कार्यक्रमको अर्को आकर्षणका रूपमा बिश्वकर्मा समुदायको मौलिक पोषाक सार्वजनिक गरिएको थियो, जसले समुदायको संस्कृति र पहिचानलाई थप उजागर गरेको सहभागीहरूको भनाइ थियो। प्रतियोगिताको मूल्यांकन अनुभवी तथा प्रतिष्ठित निर्णायक मण्डलद्वारा गरिएको थियो। निर्णायकको भूमिकामा डिजाइनर अमित बराल, सामाजिक अभियन्ता सारिका गुरुङ, मिस्टर एन्ड मिस बिश्वकर्मा नेशनल सिजन–४ का विजेता शौरव बिश्वकर्मा तथा डिजाइनर शुष्मा गुरुङ रहेका थिए। निर्णायकहरूले सहभागीहरूको व्यक्तित्व, प्रस्तुति, आत्मविश्वास र सामाजिक दृष्टिकोणका आधारमा मूल्यांकन गरेका थिए। कार्यक्रममा मञ्जु विश्वकर्मा, बिपास सुनार र समिर रामदामले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् ।
पोखरा: तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ (तमु) समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा उल्लेख छ – ‘तमु ल्होछाररल्होसार जस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’ ल्होछाररल्होसार पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै उहाँले तमु जाति र समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होछाररल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । यो दिन नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ ।
काठमाडौं: गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिनेछ । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता छ ।
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उनलाई सम्मान गरेका हुन् । कार्यक्रममा संघले हरेक वर्ष वितरण गर्ने ‘तमु पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा गुरुङसँगै ६ जना पत्रकार पुरस्कृत भएका छन् । एक जना गुरुङ समुदाय र अर्को एक जना अन्य समुदायका पत्रकारलाई प्रदान गरिने पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्काबाट अन्य समुदायतर्फ श्यामकृष्ण श्रेष्ठ (काठमाडौं) सम्मानित भए । उक्त पुरस्कारबाट सम्मानित गुरुङ र श्रेष्ठलाई जनही २० हजार १ रुपियाँ र सम्मानपत्र प्रदान गरिएको थियो । तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट इच्छा गुरुङ (काठमाडौं) पुरस्कृत भएकी छिन् । उक्त पुरस्कारको राशि १२ हजार ५०१ रुपियाँ र सम्मानपत्र रहेको छ । त्यस्तै, तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट खुसीमाया गुरुङ (लमजुङ), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट सुचना गुरुङ (चितवन), सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट रविन गुरुङ (सुनसरी) पुरस्कृत भएका छन् । यी ३ पुरस्कारको राशि जनही १० हजार १ रुपियाँ नगद र सम्मानपत्र रहेको छ । कार्यक्रममा गुरुङ न्युज डटकम पत्रिकाको लोकार्पण पनि गरिएको थियो ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखोला गाउँपालिका–१ अमरभूमी भुस्कातका कोषाध्यक्ष गौरीमाया गुरुङले यही पुस १० देखि १५ गतेसम्म विविध कार्यक्रमको साथ ल्होसार पर्व मनाउन लागेको बताईन् । ‘हामीले केही वर्षपछि भुस्कातमा ल्होसार पर्व मनाउन लागेको छौं, पुस १५ गते गुरुङ समुदायको मुख्य पर्व पनि हो,गुरुङले भनिन्, ‘यसवर्षदेखि हामीले गुरुङ समुदायको भाषा, कला र संस्कृति जगेर्ना गर्ने उद्धेश्यसहित विविध कार्यक्रमका साथ ल्होसार पर्व मनाउँदै छौं ।’ उनका अनुसार ल्होसार पर्वको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला वडास्तरीय प्रौढ भलिबल प्रतियोगिता, सामुहिक लोकनृत्य प्रतियोगिता,झ्याउरे लोक गीत प्रदर्शन प्रतियोगिता, खुल्ला वडास्तरीय धनुषबाण प्रतियोगिता, महिला रस्साकस्सी प्रतियोगिता प्रतियोगिता,पञ्चेबाजामा आमा समूहको नृत्य प्रतियोगिता र क्यारम वोर्ड प्रतियोगिता आयोजना गरिएको छ । खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख १० हजार ५ सय र उपविजेताले ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा सहभागी हुन एक समूहलाई ८ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै खुल्ला वडास्तरीय प्रौढ भलिबल प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँसहित बोका र उपविजेताले १५ हजार रुपैयाँसहित बोका, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा सहभागितालाई एक समूहलाई ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस प्रतियोगितामा ३२ वर्ष उमेर पूरा भएको खेलाडी मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । यस्तै सामुहिक लोक नृत्य र झ्याउरे लोक गीत प्रदर्शनका विजेताले समान २५/२५ हजार र उपविजेताले १५/१५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला वडास्तरीय धनुषवाण प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिला रस्साकस्सी प्रतियोगिता र पञ्चेबाजामा आमा समूहको नृत्य प्रतियोगिताको विजेताले समान १०/१० हजार र उपविजेताले समान ५/५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै क्यारम बोर्ड प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले ८ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ल्होसार/ल्होछार केःहो ? गुरुङ अर्थात् तमुहरुको नयाँ वर्ष ल्होसार/ल्होछार । गुरुङ भाषामा ल्हो भनेको वर्ग (वर्ष) र सार भन्नाले शुरुवात अर्थात आरम्भ भन्ने जनाउँछ । गुरुङ समुदायले प्रत्येक वर्ष पुस १५ गतेका दिन ल्होसार÷ल्होछार पर्व मनाउने गर्छन् । चक्रिय रुपमा विभिन्न १२ जना वटा जनावर र चराचुरुङ्गीको प्रतिक स्वरुप रहने गर्दछ । जसलाई गुरुङ भाषामा ल्हो (वर्ग) भन्ने गर्दछ । यस वर्ष अर्थात पुस १४ गतेसम्म सप्री ल्हो (सर्प वर्ग) छ भने, पुस १५ बाट त ल्हो (घोडा वर्ग) प्रारम्भ हुनेछ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् । पुरस्कार स्थापना गर्ने निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार कोइरालालाई नगद र सम्मानपत्र प्रदान गरे । उनलाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको हो । फोनिज गण्डकीले सञ्चालन गर्ने गरी निट डेन्टलले पत्रकारिता पुरस्कारका यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । पुरस्कृत व्यक्तित्व कोइराला हाल समाधान मिडिया ग्रुपअन्तर्गतको समाधान न्युज डटकमका सम्पादक छन् । स्याङ्जा पुतलीबजारका कोइरालाले विसं २०५९ देखि काठमाडौंमा रहेर अन्नपूर्ण पोस्टबाट पत्रकारिता सुरु गरेका थिए । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले विसं २०६५ देखि पोखरालाई कर्मथलो बनाएर सक्रिय छन् । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले लेकसिटी कलेज र भद्रकाली माविमा अध्यापन समेत गराउँछन् । उनी संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् भने गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक भएर पनि काम गरेका थिए । यसअघि उनले पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् । पुरस्कार ग्रहणपछि पत्रकार कोइरालाले निजी क्षेत्र सबल भए मात्र यस क्षेत्रले लोकतन्त्रको पहरेदार मानिने पत्रकारिताको महत्व बुझ्ने बताए । त्यसपछि पत्रकारिता क्षेत्रको सबलीकरण हुने उनको भनाइ थियो । ‘एक सबल र नैतिकवान् निजी क्षेत्रविना व्यावसायिक पत्रकारिताको आर्थिक मेरुदण्ड बलियो हुन सक्दैन,’ उनले भने, ‘निजी क्षेत्रको लगानीकै कारण रोजगारी सिर्जना भएको र सरकारको आम्दानी बढेको सकारात्मक पक्षलाई नजर अन्दाज गरिएको छ । जतिसुकै आदर्शका कुरा गरे पनि यो समय पुँजीवादी अर्थ व्यवस्थाकै समय हो ।’ निट डेण्टलले फोनिज गण्डकीसँग सहकार्य गरेर यो पुरस्कार स्थापना गर्नुलाई मैले निजी क्षेत्रको विवेकपूर्ण र सकारात्मक कदमका रूपमा लिएको उनले सुनाए । कार्यक्रममा उनले पत्रकारिता अहिले संक्रमणकाल र आर्थिक मन्दीको दोहोरो चपेटामा बताए । ‘विज्ञापन बजार खुम्चिएको छ। धेरै मिडिया हाउसहरू बन्द हुने वा जनशक्ति कटौती गर्ने अवस्थामा छन्’ उनले भने, ‘गण्डकीमा पनि अनलाइनहरूको संख्या बढेको छ, तर गुणस्तरीय र दिगो सामग्री पस्किने चुनौती यथावत छ ।’ यस्तो अवस्थामा पोखरामा रहेर पत्रकारिता गर्दा काठमाडौंका राष्ट्रिय मुद्दाको नक्कल गर्नुभन्दा पोखराका स्थानीय ’इश्यु’ लाई प्रधानता दिनुपर्ने उनको सुझाव थियो । कार्यक्रमका मेयर आचार्यले आदिवासी जनजाति पत्रकार (फोनिज) ले स्थापना गरेको पुरस्कारबाट अन्य समुदायका पत्रकारलाई सम्मान गरी फोनिजले समावेशीताको सन्देश दिएको बताए । जताततै खत्तम देखिरहेको समाजमा जनतालाई सही सूचना सम्प्रेषण गरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका पत्रकारलाई सम्मान गरिएको उनले खुसी व्यक्त गरे । पत्रकारलाई हौसला प्रदान गर्न पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने निट डेण्टलले पनि उल्लेखनीय काम गरेका उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले फोनिजले स्थापना गरेको पुरस्कार पहिलोपटक गैरफोनिज पत्रकारमा प्राप्त गर्नुले सकारात्मक सन्देश दिएको बताए । पौडेलले भने, ‘पोखरामा वेलनेस टुरिजम विकास हुँदै गएको छ, विश्वमै महँगो मानिने दाँत उपचारमा निटले गण्डकीकै आफूलाई स्थापित गर्न सकोस् ।’ निट डेन्टलका प्रबन्ध निर्देशक वीरबहादुर राना (वीरेन) ले आफू खास धनाढ्य भएर नभई केही नयाँ गरौं भन्ने सोचले पुरस्कार स्थापना गरेको प्रस्ट पारे । रानाले पत्रकारको हितमा अक्षयकोष स्थापना गरेको बताए । उनले भने, ‘यसबापत पत्रकारिता क्षेत्रबाट आफूले त्यस्तो लाभ लिने सोच छैन ।’ प्रतिभा छनोटका लागि फोनिजका संघीय सचिव एमबि आस्थामगरको संयोजकत्वमा समिति गठन गरिएको थियो । समिति सदस्यमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मीना थापा मगर र महासचिव सुरज थापामगर थिए । संयोजक आस्थामगरले पुरस्कार वितरणको मापदण्ड र छनोट प्रक्रिया र पुरस्कृत पत्रकारबा बारेमा प्रकाश पारेका थिए । फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको समारोहमा स्वागत उपाध्यक्ष धनबहादुर गुरुङ र सञ्चालन महासचिव सुरज थापामगरले गरेका थिए । पोखरामा महेन्द्रपुल सञ्चालित नट डेन्टलले वार्षिकोत्सवका अवसरमा कम्पनीमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूलाई सम्मान पनि गरेको थियो ।

