कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३।५ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा टिप्पर चालक अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–४, का २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक, रुपन्देही जिल्ला देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन–१० का ३३ वर्षीय राजन चिदी रहेका छन् । शनिबार बेलुकी ६ बजेतिर माथागढी–४, झडेवाबाट वडा नं. ७ रहबासस्थित चुनढुंगा खानीतर्फ गइरहेको खाली टिप्पर खानी स्थलमै दुर्घटनामा परेको थियो । टिप्पर दुर्घटनापछि घाइते भएका चारै जनालाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याएपछि तीन घाइतेलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए । गम्भीर घाइते चिदीको भने उपचारकै क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । घटनाबारे थय अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टिप्पर सडकदेखि ५० मिटर तल खसेको थियो ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार आइतबार रातिदेखि परेको हिउँ राराको हुटु, मिलीचौर आसपासमा एक फिटसम्म हिउँ जमेको छ । तालसँगै वरपरको वन सेताम्मे बनेको छ । सुर्खेतबाट रारा घुम्न आएका आन्तरिक पर्यटक बासुुदेव देवकोटाका अनुसार रारामा हिउँ पर्दा स्वदेशी तथा विदेशी पर्यटकहरू हिउँ खेलेर रमाएका छन् । रारा साच्चै स्वर्गको एक टुक्राजस्तै भएको महसुस लागेको उहाँले बताउनुभयो । रारामा यो वर्षको दोस्रो हिमपात रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख ऋषिकेश यादवले बताउनुभयो । उहाँका अनुसार करिब ५ इन्च हिउँ जमेको छ । हिउँ पर्नेक्रम अझै जारी छ । गएको पुस महिनामा पनि रारामा २ इन्च हिउँ परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन महिनाको मसान्तसम्म दस हजार आन्तरिक र विदेशी पर्यटक रारामा घुम्न आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चैतको महिनामा हिमपात हुँदा जिल्लामा चिसोले स्थानीय जनजीवन भने प्रभावित भएको छ । गाउँदेखि सदरमुकामको बजारसम्मका बासिन्दा आगो तापेर दिन कटाइरहेका छन् । रारा तालभन्दा एक घण्टा माथिको मुर्मा गाउँमा भने दुई फिट हिउँ जमेको छ । यो ठाउँ समुद्री सतहदेखि ३ हजार २ सय मिटरको उचाइमा पर्दछ ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेका अनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए । तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो । वडाध्यक्ष पाण्डेका अनुसार राति करिब ८ बजे दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ । यो पनि पढ्नुहोस भारतीय नागरिक सवार माइक्रो बस गोरखाको कनटारमा दुर्घटना
सर्लाहीमा कार्यालय प्रमुखहरुको बैठकले अत्यावश्यक कामबाहेक निर्वाचन अवधिभर कर्मचारीहरु बिदामा बस्न नपाउने निर्णय गरेको छ । मङ्गलबार बसेको जिल्ला प्रशासन कार्यालय मलङ्गवामा सम्पन्न बैठकले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै राष्ट्रसेवक कर्मचारीलाई चुनाव अवधिभर बिदामा बस्न नदिने निर्णय गरेको हो । निर्वाचनमा खटाइएको स्थानमा खट्ने/खटाउने प्रबन्ध मिलाइ आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सफल बनाउने कार्यालय प्रमुखहरुको बैठकले निर्णय गरेको छ । निर्वाचनका लागि सर्लाहीका ६२८ मतदान केन्द्रमा तीन हजार ७६८ कर्मचारी खटाइँदै छ । यस्तै बैठकले निर्वाचन प्रयोजनका लागि अत्यावश्यक हुने सवारी साधन जुनसुकै बेला आवश्यक परी माग गर्नुपर्ने भएकाले आफ्ना कार्यालयमा रहेका सवारी साधनहरु चालु अवस्थामा राखी माग भए बखत तत्काल उपलब्ध गराउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब दुई साता बाँकी रहँदा जिल्लामा यस प्रकारका बैठकसहित तयारीका काम तीव्र रुपमा भइरहेका छन् ।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ १६ बालाजु हाईट घर भई बासवारी बस्ने ४२ वर्षिय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर ६ पड्कु घर भई हाल काठमाडौँ ३१ गैरिगाँउ बस्ने ४६ वर्षिय खिम बहादुर खड्का र डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ घर भई हाल धादिङ धुनिबेशी नगरपालिका वडा नम्बर ७ खानीखोला बस्ने ४५ वर्षिय संजय श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको हो । उनीहरु यसअघि पनि अपराधमा संलग्न थिए । राजवाहकको कोठाबाट बरामद भएका सामानहरू १. World Link लेखिएको राउटर थान - १ २. CCTV क्यामेरा थान - २ ३. ACRON GOLD लेखेको नीलो बिँड भएको पिलास थान - १ ४. HMBER HOT PRESS लेखेको कालो रातो बिँड भएको रेन्ची थान - १ ५. MARI GOLD लेखेको रेती थान - १ ६. SHIVX लेखेको स्क्रु थान - १ ७. DISTANTFAITH लेखेको कालो रङ्गको ज्याकेट थान - १ खेम बहादुर खड्काको कोठाबाट बरामद भएका सामानहरू १. चाँदीको जस्तो देखिने टिका थाली थान - १ २. कचौरा थान - १ ३. सानो थाली थान - १ ४. रिङ थान - १ ५. रड थान - १ ६. नटबोल्ट थान - २ ७. सुनको जस्तो देखिने धातुका लक्ष्मीको मूर्ति भएको झुम्का १ जोर ८. टाउकोमा लगाउने चन्द्रमा थान - १ ९. चन्द्रमा सहितको झुम्का १ जोर १०. नीलो पत्थर भएको झुम्का १ जोर ११. गुलाबी र हरियो रङ्गको पत्थर भएको झुम्का १ जोर १२. सिक्री थान - १ १३. धानको बाला जस्तो लप्सेरा थान - २ १४. हरियो रातो रङ्ग लगाएको झुम्का १ जोर १५. घाँटीमा लगाउने पत्थर माला थान - १ १६. सानो तार जस्तो देखिने टुक्रा थान - ४ संजय श्रेष्ठको डेरा कोठाबाट बरामद भएका सामानहरू १. MHEELHA लेखेको पछाडी भिर्ने झोला थान - १ २. DELL कम्पनीको ल्यापटप थान - १ ३. MAC BOOK PRO लेखेको एप्पल कम्पनीको ल्यापटप थान - १ ४. DELL कम्पनीको ल्यापटपको चार्जर थान - १ ५. DIGITAL VIDEO RECORDER थान - १
रौतहट: आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहायक निरीक्षक (असई) बताउँदै विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको बरहथवा घर भई हाल कविलासी नगरपालिका बस्ने ३५ वर्षीया निर्मला महतो रहेकी छिन्। उनले नेहा, निशा र पुनम कुमारी लगायतका विभिन्न उपनाम प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएकी थिइन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार निर्मलाले भन्सारका कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै सस्तोमा स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर ठगी सुरु गरेकी थिइन्। उनले सर्लाहीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी आफ्नै नाममा राष्ट्रिय परिचयपत्र बनाएकी थिइन्। सोही परिचयपत्रका आधारमा माछापुच्छ्रे बैंकमा खाता खोलेर उनले नक्कली हस्ताक्षर गरी चेक दिने र ठगी गर्ने गरेको पाइएको छ। निर्मलाले चन्द्रपुरका एक ज्वेलर्सबाट २ लाख ७४ हजारको सुनचाँदी उधारो लगेर नतिरेको, एक व्यक्तिसँग घरायसी समस्या देखाएर ५ लाख सापटी लिएको र किराना पसल तथा गाडी भाडा बापत १ लाख २६ हजार रुपैयाँ ठगी गरेको खुलेको छ। उनले विश्वास दिलाउन आफू प्रहरी भएको नक्कली परिचय दिने गरेकी थिइन्। प्रहरीले उनलाई माघ ४ गते चन्द्रपुरबाट पक्राउ गरे पनि लामो समयसम्म आफ्नो वास्तविक पहिचान लुकाएकी थिइन्। डीएसपी रुपा लाबुङका अनुसार विभिन्न कागजात र बैंक खाताको अनुसन्धानपछि मात्र उनको वास्तविक परिचय खुलेको हो। उनीमाथि अहिले ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ । पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो । विहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएको थियो । थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले दिएको जानकारी अनुसार डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, सोही स्थानका अन्दाजी २७ वर्षका दीपक जोशी र अन्दाजी ४५ वर्षका किसनदत्त जोशी छन् । यसैगरी बझाङको केदारस्यु गाउँपालिका ७ बस्ने अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका ७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको छ । यसैगरी मृतकको सूचीमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको नाम छ । अन्य मृतकमा बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा सक्रिय गुरुङले कोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेकी हुन् । पोखरामा मंगलबार एक कार्यक्रमका बीच अभियान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरिन् । सहयोग हस्तान्तरण पछि अभियान्ता गुरुङले समाजका हरेक गतिविधिलाई तस्बिरको माध्यमबाट जनमानसमा पु¥याउने फोटो पत्रकारहरूको वृत्तिविकासका लागि सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापित यो कोषले भोलिका दिनमा अप्ठ्यारो पर्दा सारथि बन्ने विश्वास लिएकी छु ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउदुरकी गुरुङ रोजगारीको सिलसिलामा अहिले अमेरिका बस्छिन् । सहयोग ग्रहण पछि एपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी छ । यस कोषमा यसभन्दा अघि सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् । यसैबिच, अभियान्ता गुरुङले सोही कार्यक्रममा सहारा क्लब पोखरालाई पनि १० हजार रुपैयाँ सहयोग गरेकी छिन् । क्लबले सञ्चालन गर्ने आहारारा पोखरा गोल्डकपको २५ वर्ष अर्थात रजत वर्षलाई विशेष बनाउनका लागि उक्त सहयोग गरेकी हुन् । उक्त रकम अभियान्ता गुरुङले सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेकी हुन् ।

