पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा चैत्र अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।    घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र २७ देखि ३० गतेसम्म मह...

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालयमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धि सचेतनामूलक बोर्ड राखिएको छ ।   आवाज संस्थाले एक कार्यक्रमको आयोजना गरी आज (सोमबार) कास्की प्रहरी कार्यालयको सहायता कक्षमा उक्त बोर्ड राखेको हो ।   सो अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमख एसपी मोहन कुमार थापाले सेवाग्राहीलाई लक्षित गरी राखिएको बोर्ड निकै उपायोगी हुने विश्वास व्यक्त गरे ।   उनले समाजमा हुने सामाजिक तथा जातीय छुवाछुत र भेदभावका घटनाविद्ध प्रतिकार गर्नुपने बताउदै प्रहरीलाई जानकारी गराउनुपर्ने बताए ।   एसपी थापाले सामाजिक रुपान्तरणका लागि यस्तै जनचेतनामूलक कार्यक्रम आगामी दिनमासमेत निरन्तर गर्दै जान आवाज संस्थालाई सुझाव दिएका थिए ।   आवाज संस्था सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको छ ।  

पोखरा:    मञ्जुश्री संवत २८६० औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको ग्राण्ड फिनाले आज ( शनिबार) पोखराको पोखरा सभागृहमा हुने भएको छ । प्रतियोगितामा देशभरबाट १० जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रतियोगिको रुपमा मनिका लामा तामाङ, रिमाया तामाङ, दिक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र बर्षा लामा तामाङ रहेका छन् ।  मिस तामाङ पोखरा २०२४ की बिजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र  तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान जित्ने छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद २० हजार पुरस्कार  प्राप्त गर्ने बैदाम तामङ समाज अध्क्षय ज्याक तामाङले जानकारी दिए । सहभागीहरुलाई ४५ दिन लामो तालिम दिइएको थियो । तामाङतामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका साथै व्यक्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, करियर सम्बन्धी तालिम, साइबर सेक्युरिटी, आत्मविश्वास, सौन्दर्यकला सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गरेका थिए । तालिममा रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सन्जय मल्ल, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, गण्डकी प्रदेशका पूर्व सदस्य एवम सौन्दर्यविद मिना गुरुङ्ग, चिनु गुरुङ्ग, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, दिपेन्द्र पहारी, नोभेल एकेडेमीका अध्यक्ष विश्वेश्वर आचार्य, नेपाल तामाङ्ग घेदुङ्ग का उपाध्यक्ष दीपक वाइवा तामाङ्ग, नेपाल जेसिसका पुर्व अध्यक्ष राजु केसी, चलचित्र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, कलाकार माओत्से गुरुङ्ग,  नेपाल तामाङ्ग घेदुङ्गका पूर्व अध्यक्ष धनप्रसाद तामाङ्ग, खोजराज गोले, विश्व दोङ्ग लगायतले तालिम प्रदान गरेका थिए । ग्राण्ड फिनालेका लागि मुख्य निर्णायकमा क्याप्टेन विजय लामा रहनुहुनेछ । गायक संगीतकार राजनराज शिवाकोटी र संजिव वाइवाको प्रस्तुति पनि उक्त दिन रहने छ । साथै कार्यक्रमको सञ्चालन आवाजको दुनियाको साथी सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले गर्नुहुनेछ । कार्यक्रम वाग्मती प्रदेशसभा सदस्य माननिय राधिका तामाङ्गको प्रमुख आतिथ्यतामा हुनेछ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस  तामाङ पोखरा  तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको यस वर्ष गर्ने मिस तामाङ पोखराको आठौं संस्करण हो ।

पोखरा:   पोखरामा शनिबार राति दम्पत्ती सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतिको मृत्यु भएको छ ।    लेखनाथबाट रुपा गाउँपालिका जाँदै गरेको ग १४ प १५८५ नम्बरको मोटरसाइकल रुपा ६ स्थित घिमिरेथरमा दुर्घटना हुँदा ३० वर्षीय कृष्णमाया न्यौपाने गम्भीर घाइते भएकी थिईन् ।    गम्भीर घाइते भएकी न्यौपानेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    कास्की प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक (श्रीमान) ३५ वर्षीय बरुण न्यौपाने भने सकुुशल छन् । 

गण्डकी:     नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ ।  आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्र«ेलगायतका हिमशृङ्खलाको रमणीय दृश्यसँगै यहाँबाट देखिने १८ वटा जिल्लाको दृश्यले जो कोहीको मन लोभ्याउने गर्दछ ।  यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे–चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, त्यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवम् सांस्कृतिक महत्वका स्थलले यहाँको गरिमा र महत्व चुलिएको छ । समुद्री सतहबाट एक हजार ७७४ मिटरको उचाइमा रहेको रमणीय राइनासकोट नेपालको महत्वपूर्ण ऐतिहासिक स्थल पनि हो । यहाँबाट देखिने एक सय ८० डिग्रीको बिन्दुमा एकैसाथ नाङ्गो आँखाले धवलागिरिदेखि गणेश हिमालसम्मका १८ वटा हिमशृङ्खलाले यहाँको महत्वलाई अझै उँचो बनाएका छन् । गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । लमजुङको राइनास नगरपालिकामा पर्ने यो स्थललाई नेपालको एकीकरणमा गौरवशाली भूमिका र पहिचान स्थापित गरेको महत्वपूर्ण किल्लाका रुपमा लिने गरिन्छ । रागीनासको नामले परिचित यो ठाउँ पछि अपभ्रंश हुँदै राइनास बन्न गएको बताइन्छ । इतिहासअनुसार शाह वंशीय पहिलो राजा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहद्वारा स्थापित लमजुङ–राइनासकोट राज्यको पछि उनका छोराहरू नरहरि शाहले थप सुदृढ़ीकरण गरे भने द्रव्य शाहले चेपेघाट–लिगलिगको दौडमा विजय हासिल गर्दै १६१६ सालमा गोरखाका राजा भएका थिए ।  दाजु नरहरि शाहले पश्चिम लमजुङको राजकाज पाएपछि द्रव्य शाह (विसं १६१६–१६२७) पूर्वी किल्लाको राजा बनेका थिए । राइनास कोटमा बस्ने द्रव्य शाहले लिगलिगकोट दौडमा विजय हासिल गरेपछि लिगलिग कोटको राजा भएपछि नेपालको एकीकरणको सुरुआत भएको हो । लिगलिगको दौडमा विजयी हुने रणनीति द्रव्य शाहले राइनासकोटमा नै बसेर गरेका कारण पनि यसलाई रणनीतिक कोटका रुपमा समेत लिने गरिन्छ ।  त्यही रणनीतिअनुसार राइनासकोटबाट द्रव्य शाह दलबलसहित लिगलिगको दौडमा सहभागी हुन पुगेका थिए । मगरहरूसँग दौडेका द्रव्य शाहले रणनीतिक रुपमा दौड जितेर लिगलिगकोटको राजा भए र त्यसपछि दौडेर राजा हुने परम्पराको नै अन्त्य गरे । गोरख ग्रन्थमा उल्लेख भएबमोजिम गुरु गोरखनाथ पहिलोपटक तत्कालीन राजकुमार द्रब्य शाहको राइनासकोटको गाईगोठमा गएर आर्शिवाद दिएका थिए । आशिर्वादसँगै उनको राज्य बिस्तारको अभियान सफल हुँदै गएको मानिन्छ । पृथ्वीनारायण शाहले आफ्नो नेपाल एकीकरणको अभियानलाई सफल पार्नका लागि राइनासकोटमा नै बसेर योजना बनाएको पनि इतिहासमा उल्लेख छ । गुरु गोरखनाथको निर्देशनअनुसार पृथ्वीनारायण शाह बेलाबेलामा राइनासकोट पुगी विभिन्न रणनीति तय गर्ने गरेको बताइन्छ । उनले समयसमयमा राइनासकोट पुगी पूजाआजा गर्ने गरेको सिद्धबाबाको मन्दिर आदिले यहाँको ऐतिहासिक महत्वलाई उजागर गरेका छन् । ढुङ्गाको पर्खालले वरिपरि घेरिएको गोलाकार किल्लाभित्र रहेको सिद्धबाबाको मन्दिरका साथै कोटेश्वर महादेव, कालिका मन्दिरमा यहाँका स्थानीयले परापूर्व कालदेखि श्रद्धाभक्तिका साथ पूजाआजा गर्दै आएका छन् । मनले चिताएको जनविश्वासका कारण आसपासका सर्वसाधारण यी धार्मिक स्थलमा पुग्ने गरेका छन् । शाहवंशीय राजाको उद्गमस्थलका रुपमा यो स्थलमा रहेका ऐतिहासिक एवम् धार्मिक महत्वका थानी माई, शिव मन्दिर, कालिका मन्दिर महत्वपूर्ण धार्मिक पर्यटकीय आकर्षण हुुन् । परम्परागत मौलिकतामा आधारित घाटु, चुड्का जस्ता संस्कृतिलाई बचाइएका कारण यो स्थलको सांस्कृतिक रुपमा पनि उत्तिकै महत्वपूर्ण रहेको स्थानीयवासी एवम् राइनासकोट सामुदायिक होमस्टेका सदस्य तुलसीमाया गुरुङले बताउनुभयो । राइनासकोटमा घरवासको विकास भने २०७२ सालको भूकम्प पछि गरिएको बताउँदै उहाँले हाल यहाँका २० घरमा घरवास सञ्चालन गरिएको बताउनुभयो । भूकम्पले भत्किएका घरसँगै यहाँको धार्मिक सम्पदाहरू पुनर्निर्माण गरिएको उहाँले बताउनुभयो । “होमस्टे सञ्चालनले हामीलाई दैनिकी सञ्चालनमा सहयोग पुुगेको छ”, उहाँले भन्नुभयो, “यहाँका प्रत्येक घरमा १० जनासम्म बस्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।” आफूहरूले २०७४ सालदेखि घरवास सञ्चालन गर्दै आएको बताउँदै गुरुङले पर्यटकको बढ्दो आकर्षणले आँफूहरूलाई उत्साहित बनाएको बताउनुभयो ।  राइनासकोटको पर्यटकीय आकर्षण बढेसँगै विगतमा गाउँ छोडेर गएका स्थानीयवासी पनि फर्किएर घरवास सञ्चालन गर्न थालेका छन् । करिब २० वर्षअघि गाउँ छोडेर गएका स्थानीय तीर्थकुमारी गुरुङको परिवार भूकम्पपछि गाउँ फर्किएर घरवास सञ्चालन गरिरहेको छ । त्यस्तै यहाँका अन्य स्थानीयवासी पनि घरवास सञ्चालन गरिरहेका छन् । पछिल्ला वर्षमा राइनासकोटमा घरवासमा बस्नका लागि टाढाटाढाबाट मानिसहरू आउने गरेको बताउँदै उहाँले पुस महिनामा धेरै समूहहरू आएको जानकारी दिनुभयो ।  घरबासमा आउने पर्यटकका लागि एक हजार १५० रुपैयाँको प्याकेज राखिएको छ । उक्त प्याकेजअनुसार घरवासमा आएका पर्यटकले पुुग्नासाथ खाजा, चिया, बेलुकाको खाना र भोलिपल्ट बिहान नास्ता खान पाउँछन् । पर्यटकको आवश्यकताअनुसार उनीहरूका लागि सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको उहाँले बताउनुभयो । प्योकजअन्तर्गतको ५० रुपैयाँ होमस्टे सञ्चालक समितिको कोषमा राख्ने गरिएको उहाँले बताउनुभयो । राइनासकोट वीर भक्ति थापासँग जोडिएको गाउँ समेत भएकाले गाउँको माथि भक्ति थापाको शालिक समेत स्थापना गरिएको र उक्त स्थललाई भक्ति थापा पार्कका रुपमा विकास गर्न लागिएको राइनासकोट नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले बताउनुभयो । आसपासका पर्यटकीय सम्भावनायुक्त स्थलहरूको विकास गर्दै पर्यटकीय रुपमा देश तथा विदेशमा यसको प्रवद्र्धन गरिने उहाँको भनाइ छ । ऐतिहासिक दरबारका भग्नावशेषसँगै पुरातात्विक महत्वका गढीका कारण राइनासकोटको महत्व चुलिएको स्थानीयवासी एवम् पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु बताउनुहुन्छ । २०७२ को भूकम्पपछि यहाँको पर्यटन प्रवद्र्धनलाई विशेषरुपमा जोड दिइएको उल्लेख गर्दै उहाँले त्यसयता सङ्घ, प्रदेश हुँदै स्थानीय तहले यहाँको प्रवद्र्धन र विकासमा विशेष जोड दिएको बताउनुभयो ।  विभिन्न सञ्चारमाध्यमबाट समयसमयमा हुने गरेको राइनासकोटको प्रचारप्रसारले पछिल्ला समयमा पर्यटकको आकर्षण समेत बढीरहेको उहाँले बताउनुभयो । “सरकारी प्रयाससँगै यहाँका स्थानीयवासी पनि यस क्षेत्रको पर्यटकीय विकासमा चासो देखाएका छन्”, उहाँले भन्नुभयो, “यहाँको इतिहास । संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोड्दै समृद्धि र विकासको अभियान थालिएको छ ।” रमणीय उच्च भागमा अवस्थित राइनासकोटबाट धवलागिरीदेखि गणेश हिमालसम्मका दृश्यलाई एक साथ नियाल्न सकिनुु र रमणीय परिवेश यहाँको विशिष्टता भएको नगरपालिका प्रमुख गुरुङ बताउनुहुन्छ । पहिला ५८ घर रहेको यस स्थानमा पछिल्लो समयमा वसाइसराइको बढ्दो क्रमले घरहरूको सङ्ख्या घटिरहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा स्थानीयवासीहरू शहरमुखी बन्ने प्रवृत्तिले गाउँमा जनशक्ति घट्दै गएको उहाँको भनाइ छ ।  पर्यटनसँगै स्थानीयवासीलाई उत्पादनमा जोड दिइएको उहाँले जानकारी दिनुभयो । स्थानीय कोदो, गुन्द्रुक आदिको उत्पादनसँगै दूध उत्पादन, दुनाटपरीको उत्पादन तथा प्रयोग आदिमा गाउँपालिकाले जोड दिएको उहाँले बताउनुभयो । “हामी कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउन चाहन्छौं”, उहाँले भन्नुभयो, “कृषि र पर्यटनका माध्यमबाट स्वरोजगार सिर्जना गर्दै शहरमुखी बनेका स्थानीयलाई पुनः गाउँमा नै फर्काउने हाम्रो दीर्घकालीन सोच छ ।” समग्र राइनासकोट नगरपालिकाको जनसंख्या १८ हजार रहेको उहाँले जानकारी दिनुभयो । ऐतिहासिक मठमन्दिर, कोट आदिको संरक्षण गर्दै पर्यटकीय रुपमा उपयोग गर्ने नगरपालिकाको सोच रहेको नगरपालिका प्रमुख गुरुङ बताउनुहुन्छ । भग्नावशेषका रुपमा रहेको द्रव्य शाहको दरबारको पुनर्निर्माणको लागि योजना अघि सारिएको बताउँदै उहाँले यो सँगै यहाँका गढी र किल्लालाई संरक्षण गरी पर्यटकीय रुपमा उपयोग गरिने बताउनुभयो । राइनासकोटको पर्यटकीय प्रवद्र्धनमा पछिल्लो समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गरेका छन् । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले हालै राइनासकोटमा पुगी घरवास तथा व्यावसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । पोखरासँगै आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने एगा पोखराको वार्षिक कार्यक्रम अनुसार यस पटक राइनासकोटको प्रवद्र्धन गरिएको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले बताउनुभयो । प्रवद्र्धनात्मक भ्रमणका क्रममा राइनासकोटसँग पर्यटकीय साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गरिएको एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले बताउनुभयो । “गाउँमा उत्पादन गर्न सकेमा हामीले अल्लो, गाँजाको लोक्ता (हेम) खरिद गर्न सक्ने विषयमा त्यहाँ जानकारी गराएका छौं”, उहाँले भन्नुभयो, “ पर्यटनसँगै त्यहाँ उत्पादित कच्चा पदार्थ खपत गर्न सकिने विषयमा महत्वपूर्ण छलफल भएको छ ।” यस्ता कच्चा पदार्थको उत्पादनसँगै स्थानीय श्रमिकहरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै उहाँले पर्यटनलाई उत्पादनसँग जोड्न सकेमा त्यसले दिगो पर्यटनको विकासमा योगदान पुर्‍याउने बताउनुभयो । 

तनहुँ:     तनहुँको सदरमुकाम दमौलीस्थित सेती र मादीको सङ्गमस्थल नजिकै दमौलीघाट पर्छ। घाट जाने बाटो छेउमा कलात्मक बुटाले कुदिएको जीर्ण अवस्थामा एउटा पाटी छ। जुन व्यास नगरपालिका–३ स्थित देउराली नगरमा पर्छ। उक्त पाटी विसं २००७ मा निर्माण भएको बताइन्छ। हिजोआज सम्पदाका रूपमा रहेका पाटीपौवा र ठाँटी उचित संरक्षण अभावमा लोप हुँदै गएका छन्।। लोपोन्मुख अवस्थामा पुगेको यो पाटीको संरक्षणमा तनहुँका एक व्यक्ति आफ्नो व्यक्तिगत लगानीमा मर्मतसम्भारमा लागेका छन्। जिल्लाको व्यास नगरपालिका–४ निवासी आइतबहादुर घले निजी खर्चमा पाटी संरक्षणमा लागेका हुन्। इतिहास मेटिनु हुँदैन, संरक्षण गरेर राख्नुपर्छ भन्ने सोचका साथ आफू यसको संरक्षणमा जुटेको घलेले बताए। सम्बन्धित वडा कार्यालय र नगरपालिकालाई पाटीको संरक्षण गर्न आग्रह गरे पनि बेवास्ता गरेपछि आफूमा भित्रैदेखि इच्छा जागेर आएको उनले बताए। ‘आफूले गर्ने व्यक्तिगत र घरखर्चमा मितव्ययीता अपनाएर भए पनि पाटी संरक्षण गर्ने अठोटका साथ अघि बढेको हुँ,’ उनले  भने, ‘स्थानीय टोल विकास संस्था, व्यास नगरपालिकाबाट स्वीकृति लिएर मर्मतसम्भारको काम थालेको छु। करिब एक साताको अवधिमा जीर्ण बनेको पाटीलाई हेर्न लायकको बनाउनेछु।’ पाटीमा रहेका पुराना संरचना र कलालाई नबिगारीकन मर्मतसम्भार गरी संरक्षण गर्न लागिएको हो।। पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने घाँसीकुवा पारिपट्टि व्यास–११ मा अहिले पनि नहर्की बस्ती छ। उक्त पाटी त्यो समयमा नहर्की समुदायले बनाएका थिए। उक्त स्थानमा रहेको पाटी जीर्ण बनेकाले भत्काएर काठ ल्याई पुनः दमौलीघाट नजिक पाटी निर्माण गरिएको बताइन्छ।  

ढोरपाटन:     छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स–साना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती । बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ ।   अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकै छिन ठक्क रोक्ने गर्छ । गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन् । केही समथर त केही भिरलो भू–भागले भरिएको निसी गाउँमा केही धान फल्ने खेत त केही मकै फल्ने बारी छन् । कृषि र पशुपालनमा आश्रित यहाँका स्थानीय पछिल्लो समय व्यापार व्यवसायमा पनि लाग्न थालेका छन् ।  बागलुङको सुदूरपश्चिममा पर्ने निसी गाउँ निसीखोला गाउँपालिका–५ मा पर्छ । एक दशक अगाडिसम्म सेवासुविधाको हिसाबले निकै दुर्गम मानिने यो गाउँ अहिले सुगम बनेको छ । मगर खाम भाषा बोल्ने यहाँका स्थानीयको आफ्नै परम्परा छ ।   वर्षौंदेखि दुर्गमको पीडा भोगेको निसी क्षेत्रको अहिले भने मुहार फेरिएको छ । विसं २०६४ मा निसी गाउँ मध्यपहाडी लोकमार्गले जोडिए पनि २०६६ सालदेखि गाडी गुड्न थालेका थिए । त्यसभन्दा अगाडि निसीमा कुनै पनि सुविधा थिएन । सबैभन्दा नजिकको बजार बुर्तिबाङ थियो । बुर्तिबाङ आइपुग्न पनि एक दिन पूरै लाग्ने गथ्र्यो । अहिले बुर्तिबाङ आउन गाडीमा ४५ मिनेट लाग्छ ।  सडक यातायातको पहुँचसँगै यहाँको मुहार फेरिन थालेको हो । २०७७ सालमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ । पहिले साना झुपडी रहेका ठाउँमा अहिले ठूला–ठूला पक्की घर भवनहरु बन्न थालेका छन्भने मौलिक घरहरु विस्थापित हुँदैछन् ।   गाउँमा आएको परिवर्तनले बूढापाकालाई अचम्मित बनाएको छ । दैनिक उपभोग्य सामान ल्याउनका लागि कैयौँ दिन लगाएर बुटवल पुगेकालाई अहिले घरै छेउका पसलमा पाउन थालेपछि दङ्ग छन् ।   स्थानीय ९० वर्षीया पूरा सुनारले २२ दिन लगाएर बुटवल, देउखुरी र तानसेनबाट नुन, चामल लिएर उपभोग गरेको स्मरण गर्दै अहिले गाउँमै यति धेरै सुविधा आउँछ भनेर कल्पनासमेत नगरेको बताउनुहुन्छ । पहिलो पटक तानसेनमा गाडी देखेको सुनाउने सुनारले अचल दैनिक घरै गाडी दजनौँ गाडी खुड्दा खुसी लागेको बताउनुहुन्छ । “अहिले घरहरुले निसी भरिन थाल्यो, पहिले घर थोरै थिए, बिरामी हुँदा अस्पताल थिएन, ओखतीमुलो  गर्नका लागि धामी झाँक्रीबाहेक केही थिएन, धामीझाँक्रीले बचाए बचाउँथ्यो नत्र मर्ने हो, अहिले त घर नजिकै बिरामी भएपछि उपचार पाइन्छ । उतिबेला जुत्ताचप्पल हुँदैनथ्यो, खाली खुट्टा हिँड्थ्यौँ, पीठो बेलुकी पाँच मुठी खान्थ्यो, बिहान पाँच मुठी खान्थ्यौँ,” सुनारले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “यहाँ गाडी आउला भन्ने, यस्तो परिवर्तन आउला भन्ने लागेको थिएन, २० वर्षको उमेरमा पहिलो पटक गाडी देखेको थिएँ, हाम्रो पालामा गाउँमै यति ठूलो परिवर्तन होला, सुविस्ता ९सुविधा० होला भन्ने सोचेको थिएन ।” शिक्षा, स्वास्थ्य र अन्य विकासका हिसाबले पनि अहिले निसी गाउँ जोडिरहेको छ । गाउँमै माध्यमिक तहको पढाइ हुन्छ । चार वर्षदेखि यहाँस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पशु विज्ञानको पनि पढाइ हुन थालेको छ ।   स्वास्थ्यका लागि गाउँपालिकाले गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छभने जटिल किसिमको उपचारका लागि बुर्तिबाङ आउनुपर्ने अवस्था छ । सडकको सहज पहुच हुँदा बुर्तिबाङ आउनका लागि समस्या छैन । शिक्षा, स्वास्थ्य लगायत विकासका पूर्वाधारले निकै पछाडि रहेको यो गाउँ लोकमार्गले जोडिएपछि थुप्रै म्ंभावनाका ढोकाहरु खुलेका छन् । लोकमार्गका छेउछाउँमा अहिले थुप्रै घर भवन धमाधन निर्माण हुँदैछन् भने गाउँको स्वरुप बजारमा परिणत हुँदैछ । पहिले अन्धकारमय रहेको गाउँमा अहिले स्थानीय लघु जलविद्युत्मार्फत उज्यालो बनेको छ । कतिपय घरघरमा धारा बनेका छन् पनि कतिपय ठाउँमा बन्ने चरणमा छन् । पहिले दुर्गम हुँदा सरकारी निकायका कर्मचारी यहाँ आउन मान्दैनथे तर अहिले जिल्ला सदरमुकामसँग सिधा यातायात सञ्चालन हुने हुँदा धेरैको रोजाइमा निसी पर्न थालेको छ ।   सयौँको सङ्ख्यामा भेडाबाख्रा तथा अन्य वस्तुभाउ पालेरै जीविकोपार्जन गर्दै आएकामा अहिले धेरैले व्यापार–व्यवसाय गर्न थालेको स्थानीय कर्णसिंह घर्ती मगरले बताउनुभयो । समयसँगै गाउँको रुप, समाज र स्थानीयको व्यवहारमा ठूलो परिर्वतन आएको उहाँको भनाइ छ । घर्ती मगरले पछिल्लो समय बजार झर्ने र विदेश पलायन हुनेको सङ्ख्या पनि बढ्न थालेको बताउनुहुन्छ ।  “हाम्रो पालामा मोटरगाडी देख्न बटौली पुग्नु पथ्र्यो, बाउबाजे विदेश गएनन्, गाउँमै भेडाबाख्रा पाल्ने, खेतबारीमा काम गर्ने गर्थे, हामीहरु पनि लेकबेँसी गरेर उनीहरुले गरेकै काम ग¥यौँ, तर अहिलेका युवा हामीहरुले गरेको काम गर्न मान्दैनन्, यो गाउँमा पहिला खरका घरहरु थिए, पछि ढुङ्गा माटोले बनाउन थाले, अहिले त कङ्क्रिटका घर बनेका छन्,” घर्ती मगरले भन्नुभयो, “पहिले सहर बजार हेर्न टाढा पुग्नु पथ्र्यो, अहिले हाम्रै गाउँ बजार बन्न थाल्यो, उति बेला तानसेन, खसौलीमा पाइने नुन तेल अहिले यही पाइन्छ, सुविधाको हिसाबले धेरै आयो ।” जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय २० किलोमिटर पश्चिममा रहेको निसी गाउँबाट प्रशासनिक कामका लागि हप्ता दिन लगाएर प्रशासनमा आउनुपर्ने बाध्यता थियो । इलाका प्रशासन, नापी र मालपोत कार्यालय बुर्तिबाङमा स्थापना भएपछि निसीबाट प्रशासनिक कामका लागि बागलुङ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।   स्थानीय ६२ वर्षीय भुलबहादुर विकले आफूहरु सरकारी कागजात बनाउन पाँच दिन लगाएर जिल्ला सदरमुकाम पुगेको अनुभव सुनाउनुभयो । त्यसबेला सामान्य सरकारी कामले सदरमुकाम आउँदाजाँदा हजारौँ रुपैयाँ खर्च हुने गरेको भन्दै अहिले बिहान उठेर हिँडियो भने चार घण्टामै बागलुङबजार पुग्न सकिने उहाँ बताउनुहुन्छ । सडकले गर्दा बजारको सेवा गाउँमा आएको र गाउँलेको जनजीवनमा ठूलो परिवर्तन आएको विकको भनाइ छ । चार वर्षअगाडि सडक कालोपत्र नहुँदा केही समस्या भए पनि अहिले धेरै सहज भएको उहाँले बताउनुभयो । लोकमार्गले जोडिएपछि लोकमार्ग आसपासको जग्गाको मूल्यसमेत निकै महँगो हुँदै गएको विकले बताउनुभयो । उहाँले एक दशकअगाडि पाँच लाखमा पाइने जग्गा अहिले रु २० लाखमा पनि पाउन मुस्किल हुने गरेको बताउनुहुन्छ ।   सडक छेउछाउका खाली ठाउँमा धमधम घरहरु बनिरहेको भन्दै निसी गाउँका व्यापारिक केन्द्रका रुपमा विकास हुन थालेको उहाँले बताउनुभयो । यस क्षेत्रमा सिमी, भाँगो र भेडाबाख्राहरु बढी मात्रामा उत्पादन हुने हुँदा बजारीकरणका लागिसमेत सडको ठूलो टेवा पु¥याएको उहाँ बताउनुहन्छ । पछिल्लो समय स्थानीय उत्पादनले बजार पाउँदै गएको विकको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले खेतीपाती नहुने खाली ठाउँ अहिले ठूला–ठूला घडेरीका रुपमा लाखौँमा बिक्री हुन थालेका छन्, खाली ठाउँमा घर बनाउन थालेका छन्, अहिले बिस्तारै बजारका रुपमा विकास हुँदैछ, अबको पाँचर१० वर्षमा यो ठाउँ निकै विकसित हुने देखिन्छ, अहिले त जग्गाको भाउ पनि निकै आकासिएको छ, सडकको छेउछाउमा त अहिले जग्गा किन्नै सकिन्न, त्यसबेला हजारमा पाइने जग्गा अहिले लाखौँ रुपैयाँ पर्छ, पहिले बागलुङ पुग्न एक सातासम्म लाग्थ्यो, अहिले बिहान सबेरै हिँडियो भने खाना खान पुगिन्छ, दिउँसो काम सकाएर फेरि साँझ घरमै आउन सकिने भएको छ, राज्यले चाह्यो भने विकास हुन धेरै समय लाग्ने रहेनछ ।” लोकमार्गले बागलुङलाई मालढुङ्गादेखि पातिहाल्नेसम्म जोडेको छ । पूर्वमा पर्वत र पश्चिममा पूर्वी रुकुमसँग जोडेको लोकमार्ग बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये सबैभन्दा बढी खण्ड निसीखोला गाउँपालिकामै पर्ने गरेको छ ।   निसीसँगै लोकमार्गले अन्य गाउँलाई पनि बजारका रुपमा परिणत गर्दै छ । विगतमा भौगोलिक विकटता र विकासका हिसाबले निकै पछाडि परेको निसी लोकमार्गका कारण मुहार फेरेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । पहिले जिल्लामै हेपिएको ठाउँका रुपमा रहे पनि अहिले यस ठाउँमा विकासले फड्को मारेको उहाँको भनाइ छ । लोकमार्ग यहाँका हजारौँ नागरिकका लागि वरदान साबित भएको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।  उहाँले भन्नुभयो, “राष्ट्रिय सडकले जोड्यो त्यसपछि स्थानीय तह पनि आयो । अहिले विस्तारै विकासले गति लिएको छ, यस ठाउँको कुरा गर्ने हो भने पश्चिम क्षेत्रकै सबैभन्दा राम्रो र सम्भावना बोकेको गाउँ बनेको छ, पश्चिम र पश्चिम नेपाललाई जोड्ने सडक गाउँको बीचबाट जोडिएपछि अन्य सम्भावनाका ढोका खुलेका छन्, अब स्थानीय व्यापार–व्यवसाय र उद्यामसँग जोडिनाका साथै उत्पादनमा पनि लाग्नु पर्छ, रोजगारदेखि अन्य अवसर यहाँ सिर्जना गर्न सकिन्छ ।” 

पोखरा:  राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीन जना उमेदवार विजयी भएका छन् ।    आगामी २० गतेदेखि रिक्त हुने पदका लागि गण्डकीबाट खुलातर्फ गोरखाका (कांग्रेस) किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ (कांग्रेस) तनहुँका पदम परियार र महिलातर्फ (माओवादी केन्द्र) पर्वतकी मनरुपा शर्मा विजयी भएकी हुन् ।    किरणबाबु श्रेष्ठले ३ हजार ८ सय ८ मतभार प्राप्त गरे । यस्तै परियारले ३ हजार ७ सय ७९ मतभार पाए भने शर्माले ३ हजार ६ सय ६० मतभार प्राप्त गरिन् ।   गण्डकी प्रदेशमा रिक्त हुने तीन सिटमा ४  दलका ८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।  गण्डकीमा २ सय ३० जना मतदाता थिए ।    प्र​देश निर्वाचन कार्यालय पोखराका अनुसार २ सय २९ जना मतदाता निर्वाचनमा सहभागि थिए ।   ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।  तिनै मेयर नेपाली मनदानमा अनुपस्थित रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।  

पोखरा:  पोखरामा गएको पुुष ९ गते मध्यरातमा पस्र्याङ चोकमा कारको ठक्करबाट २ जनाको मृत्यु भयो ।   पोखरा नदीपुर बस्दै आएका बागलुङका ढालेन्द्र छन्त्यालसहित अर्का एक जनाको कारको ठक्करबाट मृत्यु भएको थियो ।    यस्तै गएको मंसिर २४ गते तालचोकबाट पोखरा आउँदै गरेको स्कुटरलाई पोखराबाट तालचोक तर्फ जाँदै गरेको कारले ठक्कर दिँदा दुई युवतीको मृत्यु भएको थियो ।   जसमा जिरोकिलोमिटर बस्ने २४ वर्षीय भावना बराल र हेम्जाकी अनिशा खड्काको मृत्यु भएको थियो ।  माथिका सडक दुर्घटना कास्कीमा पछिल्लो तीन महिनामा भएको प्रतिनिधि घटना मात्र हुन् ।   जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्याङ्क अनुसार कात्तिकदेखि पुष मसान्तसम्म कास्कीमा २४ वटा सवारी दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।    जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ ट्रापिक प्रहरी नायव निरीक्षक राजीव विष्टले चालकको लापरवाही र सडकको अवस्थाका कारण सडक सवारी दुर्घटना हुने गरेको बताए ।   ‘सवारी दुर्घटना विभिन्न कारणले हुने गरेको अनुसन्धानबाट खुल्छ, सडकको अवस्था, चालकको लापरवाही र यान्त्रिकरणमा आउने समस्यामा दुर्घटना भएको देखिन्छ’, वरिष्ठ नायव निरीक्षक विष्टले सुनगाभा न्यूजसँग भने, ‘सवारी दुर्घटना कम गर्न हामीले विद्यालय, समाजदेखि चालक, यात्रुहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।’   जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार पछिल्लो तीन महिनामा १८ हजार ४९ वटा सवारी कारवाहीबाट ९८ लाख ६६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।    सवारी दुर्घटना घटाउन जिल्ला ट्राफिक कार्यालय कास्कीले विभिन्न ट्राफिक जनचेतना मूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।   

पोखरा:  वर्षदिनको मेसो पारेर शमशेर गुरुङ गाउँ फर्किरहन्थे । गाउँघरमा आफ्ना इस्टमित्र भेटेपछि फेरी उही काठमाडौं नै फर्कन्थे ।   काठमाडौंमा विभिन्न पेशा व्यवसाय सञ्चालन गरेर उतै भुलिरहेका थिए गुरुङ । तर अहिले उनै गुरुङ पोखरा महानगरपालिका १६ को रिंजे नाँसा (रन्जित गाउँ) मै भेटिन्छन् ।      यतिबेला उनलाई गाउँ ब्यूताउने मात लागेको छ ।  बसाइसराईले रित्तिएको गाउँमा पर्यटकको ओइरो लगाउने भुत चढेको छ । त्यसैले उनी अहिले रिंजे नाँसा होमस्टेको मालिक भएर दौडधुप गरिरहेका छन् ।      हरेकवर्षझैं उनी २०७५ सालमा गाउँ पुगेका थिए । त्यसपछि गुरुङलाई काठमाडौं फर्किन मन लागेन । घरको आँगन सिस्नु र तितेपातीले ढाकेको थियो जहाँ गुरुङ सानो छदा घाम तापेर पढ्ने गर्थे ।    ‘बसाइसराइले गाउँ रित्तो बनाएको सुनिन्थ्यो । अहिले रन्जित गाउँ पनि अछुतो रहन सकेन, गुरुङ भन्छन्, ‘पेशा व्यवसायकै कारण म पनि काठमाडौमा एक दशक बढी बिताए । हरेक वर्ष गाउँमा आइरहन्थे । त्यै २०७५ सालको कुरा हो, घरको आँगनमा पुरै पाती र झाँडीले कब्जा जमाएको देखे । त्यसपछि म गाउँघर ब्यूताउन भनेर यही बसे ।’   गुरुङले अहिले रिंजे नाँसामा होमस्टे सञ्चालन गरिरहेका छन् । पोखरा महानगरपालिका भित्रै पर्ने यस गाउँमा गुरुङ र तामाङ जातिको बसोबास छ । \       उनले गाउँ फर्किएपछि प्रचारप्रसार गर्ने लक्ष्यसहित गाउँ चिनारी गीत र चलचित्र समेत निर्माण गरे । यद्यपी सोचेजस्तो प्रतिफल पाइनन् । त्यसपछि होमस्टे सञ्चालन गरेको उनी बताउछन् ।   ‘गाउँबाट पैसा कमाउन म पनि शहर पसेको हो, पोखरादेखि काठमाडौंसम्म विभिन्न पेशा व्यवसाय सञ्चालन गरे । अलिअलि पैसा पनि कमाएर गाउँ फर्किए, उनी भन्छन्, ‘हामी विभिन्न देश विदेश गएर पैसा कमाउछौं अनि शहर नै रोज्छौं । अब पैसा कमाएर गाउँमा उत्पादनको स्रोत खोज्नु पर्छ भनेर होमस्टे सञ्चालन गरेको हुँ । पछिल्लो समय रिंजेनाँसाको प्रवद्र्धनमा यसले निकै सघाएको छ ।’   उनले होमस्टेसँगै बाँझो रहेको खेतबारीमा स्थानीय स्तरमा उत्पादन हुने अन्नवालीसमेत लगाउँदै आएका छन् । त्यहीबाट बनेका परिकारहरु होमस्टे पुगेका पाहुनालाई पस्किने गरेको उनी सुनाउछन् ।   ‘गाउँ रित्तिएपछि खेतबारी जम्मै बाँझो बन्यो, अहिले त्यहाँ कोदो, मकै, सागहरु रोप्ने गरेको छु, होमस्टेमा आउने पाहुनाहरुलाई त्यहीबाट बन्ने लोकल परिकारहरुको स्वाद चखाउने गरेको छु,’ उनले भने ।   युवाहरुलाई उत्पादनमा जोड्न कफी र किवी खेती    बसाइसराईको कारण गाउँको खेतबारी सिस्नो र झाँडीले भरिन थालेपछि युवाहरुलाई उत्पादन र रोजगारमा जोड्न कफी र किवी खेतीको सुरुवात गरेको शमशेर बहादुर गुरुङ सुनाउँछन् ।   ‘युवाहरु विदेशीएसँगै शहर झर्दा गाउँको खेतबारी बाँझो पल्टिएको छ । युवाहरुलाई गाउँमै उत्पादन र रोजगारसँग जोड्न कफी र किवी खेतीको सुरुवात गरेका छौं, गुरुङ थप्छन्, ‘विदेशमा मास्टर डिग्री गरेर छोरो पनि यसै कफी र किवी खेतीमा जोडिएको छ ।’   गाउँमा होमस्टे सञ्चालनपछि स्थानीय युवाहरुलाई रोजगारसँग जोड्न विभिन्न व्यवसायकोसमेत सुरुवात गरेको उनी बताउँछन् ।   ‘होमस्टे भनेको गाउँलाई उत्पादन र विकाससँग जोड्ने माध्यमको रुपमा बुझेको छु, उनी भन्छन्, ‘गाउँका युवाहरुलाई रोजगारसँग जोड्नका लागि बाख्रा पालनदेखि विभिन्न व्यवसायमा जोड्न प्रेरित गरेको छु ।’ गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउनका लागि झरनामा क्यानोनिङ, गाउँमा साइकल लेनकोसमेत योजना रहेको छ ।   रिंजे नाँसा कसरी जाने ?   पोखरा महानगरपालिका–१६ महेन्द्रगुफा बाट माथि उक्लेपछि रिंजे नाँसा पुग्न सकिन्छ ।    धार्मिक आस्था राख्ने र नयाँ पर्यटकीय ठाउँमा रमाउन चाहाने पर्यटकहरुका लागि रिंजेनाँसा नयाँ गन्तव्य बन्न सक्छ । जहाँ जान महेन्द्र गुफाबाट आधा घण्टाको बस यात्रापश्चात रिंजेनासा पुग्न सकिन्छ भने पैदल पनि जान सकिन्छ ।     पर्यटकका लागि सो गाउँमा मुलकोट भूमी मन्दिर र पार्केडाँडा नाँगीडाँडाबाट हिमशृङ्खलाको अवलोकन, मनोरम दृश्यको अवलोकन  गर्न सकिन्छ ।    यस्तै धार्मिक आस्था राख्ने पर्यटकहरुका लागि होमस्टे नजिकै रहेको नौधारे सिद्ध बराह मन्दिरको पनि दर्शन गर्न सकिन्छ । जहाँ माघेसंक्रान्तिको दिन मेला र पुजासमेत हुने गर्छ ।