इलामः   प्रतिनिधि सभा सदस्यका लागि इलाम(२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ ।   सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु ...

जाजरकोट भूकम्पबाट पीडित रुकुमपश्चिमक २९ हजार एक सय ३३ लाभग्राहीले अस्थायी आवास निर्णाण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।   सहायक प्रमुख जिल्ला आिधकारी प्रवेश बढुवालका अनुसार कूल ३१ हजार छ सय २० लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम निकासा भइसकेको छ ।   जिल्लाका छवटै पालिकाका २९ हजार एक सय ३३ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।   उहाँका अनुसार सबै भन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा एक हजार पाँच सय ४७ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन् ।   त्यस्तै सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय ६१, त्रिवेणी गाउँपालिकामा चार हजार एक सय १५, चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ र बाँफीकोट गाउँपालिकामा एक हजार ६ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्राप्त गरेको उहाँको भनाइ छ ।   उहाँका अनुसार छवटै स्थानीय तहमा हालसम्म रु २५ हजारका दरले रु बहत्तर करोड ८३ लाख २५ हजार रकम लाभग्राहीले प्राप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ३१ हजार ६ सय २० लाभग्राहीको लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७९ करोड पाँच लाख पठाएको छ ।   जिल्लामा हालसम्म २४ हजार सात सय २६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् भने पाँच हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो ।   जिल्ला अझै दुई हजार चार सय ८७ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी छ ।

पोखरा:  वडा प्रहरी कार्यालय पोखरा १ बगरमा स्तनपान कक्ष निर्माण गरिएको छ ।   शिशु भएका सेवाग्राहीलाई लक्षित गरी स्थानीय तह र जनसहभागिताको सहयोगमा स्तनपान कक्ष निर्माण गरिएको हो ।   उक्त कक्षको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले गरे ।    सो अवसरमा बोल्दै एसपी थापाले सेवाग्राहीको सहजताकालागि निर्मित सो कक्ष निकै महत्वपूर्ण रहेको धारण व्यक्त गरे ।   यस्तै वडाध्यक्ष प्रधानले उक्त कार्यको प्रशंसा गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताएका थिए ।   कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बगरका पदाधिकारी, पोखरा १ का जनप्रतिनिधि, स्थानीयहरुको सहभागिता रहेको थियो ।  

पोखरा:  नेपाल पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम सम्पन्न भएको छ ।   आइतबारदेखि सुरु भएको दुई दिने तालिममा पोखराका ५० बढी पत्रकारको सहभागिता थियो । तालिममा प्रशिक्षक डिजिटल राइट्स नेपालका संस्थापक सन्तोष सिग्देललेप्रशिक्षण दिएका थिए ।    कार्यक्रमको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले डिजिटल साक्षरता सम्बन्धि तालिम पछिल्लो समय अति आवश्यक रहेको उल्लेख गरे ।   उनले पत्रकारिता जगतलाई उक्त तालिम उपलब्ध गराउँदा नागरिक सुसूचित हुने भएकाले पोखरा महानगरपालिकाले सहकार्य गरेको बताए ।    यस्तै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार महासंघ अभिभावकीय संस्था भएको र डिजिटल साक्षरता तालिमको आवश्कयता ठानेर नै कार्यक्रमको आयोजना गरिएको बताइन् ।   उनले कास्कीका पत्रकारहरुमा साक्षरता बढाउन महासंघले तालिम गर्दै आएको जानकारी दिइन् । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले पत्रकार महासंघ कास्कीले आयोजना गरेको तालिमको प्रशंसा गरे ।   प्रशिक्षक सिग्देलले दुई दिनको तालिम पत्रकारका लागि लाभदायक रहेको विश्वास व्यक्त गरे । ‘पत्रकारले एउटा कुरा मात्र जानेर हुदैन हरेक विषयका बारेमा जानकार हुनुपर्छ’,उनले भने ।  पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले समेत प्रशिक्षण दिएका थिए ।

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालयमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धि सचेतनामूलक बोर्ड राखिएको छ ।   आवाज संस्थाले एक कार्यक्रमको आयोजना गरी आज (सोमबार) कास्की प्रहरी कार्यालयको सहायता कक्षमा उक्त बोर्ड राखेको हो ।   सो अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमख एसपी मोहन कुमार थापाले सेवाग्राहीलाई लक्षित गरी राखिएको बोर्ड निकै उपायोगी हुने विश्वास व्यक्त गरे ।   उनले समाजमा हुने सामाजिक तथा जातीय छुवाछुत र भेदभावका घटनाविद्ध प्रतिकार गर्नुपने बताउदै प्रहरीलाई जानकारी गराउनुपर्ने बताए ।   एसपी थापाले सामाजिक रुपान्तरणका लागि यस्तै जनचेतनामूलक कार्यक्रम आगामी दिनमासमेत निरन्तर गर्दै जान आवाज संस्थालाई सुझाव दिएका थिए ।   आवाज संस्था सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको छ ।  

पोखरा:    मञ्जुश्री संवत २८६० औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको ग्राण्ड फिनाले आज ( शनिबार) पोखराको पोखरा सभागृहमा हुने भएको छ । प्रतियोगितामा देशभरबाट १० जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रतियोगिको रुपमा मनिका लामा तामाङ, रिमाया तामाङ, दिक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र बर्षा लामा तामाङ रहेका छन् ।  मिस तामाङ पोखरा २०२४ की बिजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र  तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान जित्ने छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद २० हजार पुरस्कार  प्राप्त गर्ने बैदाम तामङ समाज अध्क्षय ज्याक तामाङले जानकारी दिए । सहभागीहरुलाई ४५ दिन लामो तालिम दिइएको थियो । तामाङतामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका साथै व्यक्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, करियर सम्बन्धी तालिम, साइबर सेक्युरिटी, आत्मविश्वास, सौन्दर्यकला सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गरेका थिए । तालिममा रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सन्जय मल्ल, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, गण्डकी प्रदेशका पूर्व सदस्य एवम सौन्दर्यविद मिना गुरुङ्ग, चिनु गुरुङ्ग, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, दिपेन्द्र पहारी, नोभेल एकेडेमीका अध्यक्ष विश्वेश्वर आचार्य, नेपाल तामाङ्ग घेदुङ्ग का उपाध्यक्ष दीपक वाइवा तामाङ्ग, नेपाल जेसिसका पुर्व अध्यक्ष राजु केसी, चलचित्र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, कलाकार माओत्से गुरुङ्ग,  नेपाल तामाङ्ग घेदुङ्गका पूर्व अध्यक्ष धनप्रसाद तामाङ्ग, खोजराज गोले, विश्व दोङ्ग लगायतले तालिम प्रदान गरेका थिए । ग्राण्ड फिनालेका लागि मुख्य निर्णायकमा क्याप्टेन विजय लामा रहनुहुनेछ । गायक संगीतकार राजनराज शिवाकोटी र संजिव वाइवाको प्रस्तुति पनि उक्त दिन रहने छ । साथै कार्यक्रमको सञ्चालन आवाजको दुनियाको साथी सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले गर्नुहुनेछ । कार्यक्रम वाग्मती प्रदेशसभा सदस्य माननिय राधिका तामाङ्गको प्रमुख आतिथ्यतामा हुनेछ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस  तामाङ पोखरा  तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको यस वर्ष गर्ने मिस तामाङ पोखराको आठौं संस्करण हो ।

पोखरा:   पोखरामा शनिबार राति दम्पत्ती सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतिको मृत्यु भएको छ ।    लेखनाथबाट रुपा गाउँपालिका जाँदै गरेको ग १४ प १५८५ नम्बरको मोटरसाइकल रुपा ६ स्थित घिमिरेथरमा दुर्घटना हुँदा ३० वर्षीय कृष्णमाया न्यौपाने गम्भीर घाइते भएकी थिईन् ।    गम्भीर घाइते भएकी न्यौपानेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    कास्की प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक (श्रीमान) ३५ वर्षीय बरुण न्यौपाने भने सकुुशल छन् । 

गण्डकी:     नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ ।  आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्र«ेलगायतका हिमशृङ्खलाको रमणीय दृश्यसँगै यहाँबाट देखिने १८ वटा जिल्लाको दृश्यले जो कोहीको मन लोभ्याउने गर्दछ ।  यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मस्र्याङ्दी नदी किनाराका फाँटका साथै नेपालका बाइसे–चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, त्यहाँस्थित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै ऐतिहासिक एवम् सांस्कृतिक महत्वका स्थलले यहाँको गरिमा र महत्व चुलिएको छ । समुद्री सतहबाट एक हजार ७७४ मिटरको उचाइमा रहेको रमणीय राइनासकोट नेपालको महत्वपूर्ण ऐतिहासिक स्थल पनि हो । यहाँबाट देखिने एक सय ८० डिग्रीको बिन्दुमा एकैसाथ नाङ्गो आँखाले धवलागिरिदेखि गणेश हिमालसम्मका १८ वटा हिमशृङ्खलाले यहाँको महत्वलाई अझै उँचो बनाएका छन् । गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । लमजुङको राइनास नगरपालिकामा पर्ने यो स्थललाई नेपालको एकीकरणमा गौरवशाली भूमिका र पहिचान स्थापित गरेको महत्वपूर्ण किल्लाका रुपमा लिने गरिन्छ । रागीनासको नामले परिचित यो ठाउँ पछि अपभ्रंश हुँदै राइनास बन्न गएको बताइन्छ । इतिहासअनुसार शाह वंशीय पहिलो राजा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहद्वारा स्थापित लमजुङ–राइनासकोट राज्यको पछि उनका छोराहरू नरहरि शाहले थप सुदृढ़ीकरण गरे भने द्रव्य शाहले चेपेघाट–लिगलिगको दौडमा विजय हासिल गर्दै १६१६ सालमा गोरखाका राजा भएका थिए ।  दाजु नरहरि शाहले पश्चिम लमजुङको राजकाज पाएपछि द्रव्य शाह (विसं १६१६–१६२७) पूर्वी किल्लाको राजा बनेका थिए । राइनास कोटमा बस्ने द्रव्य शाहले लिगलिगकोट दौडमा विजय हासिल गरेपछि लिगलिग कोटको राजा भएपछि नेपालको एकीकरणको सुरुआत भएको हो । लिगलिगको दौडमा विजयी हुने रणनीति द्रव्य शाहले राइनासकोटमा नै बसेर गरेका कारण पनि यसलाई रणनीतिक कोटका रुपमा समेत लिने गरिन्छ ।  त्यही रणनीतिअनुसार राइनासकोटबाट द्रव्य शाह दलबलसहित लिगलिगको दौडमा सहभागी हुन पुगेका थिए । मगरहरूसँग दौडेका द्रव्य शाहले रणनीतिक रुपमा दौड जितेर लिगलिगकोटको राजा भए र त्यसपछि दौडेर राजा हुने परम्पराको नै अन्त्य गरे । गोरख ग्रन्थमा उल्लेख भएबमोजिम गुरु गोरखनाथ पहिलोपटक तत्कालीन राजकुमार द्रब्य शाहको राइनासकोटको गाईगोठमा गएर आर्शिवाद दिएका थिए । आशिर्वादसँगै उनको राज्य बिस्तारको अभियान सफल हुँदै गएको मानिन्छ । पृथ्वीनारायण शाहले आफ्नो नेपाल एकीकरणको अभियानलाई सफल पार्नका लागि राइनासकोटमा नै बसेर योजना बनाएको पनि इतिहासमा उल्लेख छ । गुरु गोरखनाथको निर्देशनअनुसार पृथ्वीनारायण शाह बेलाबेलामा राइनासकोट पुगी विभिन्न रणनीति तय गर्ने गरेको बताइन्छ । उनले समयसमयमा राइनासकोट पुगी पूजाआजा गर्ने गरेको सिद्धबाबाको मन्दिर आदिले यहाँको ऐतिहासिक महत्वलाई उजागर गरेका छन् । ढुङ्गाको पर्खालले वरिपरि घेरिएको गोलाकार किल्लाभित्र रहेको सिद्धबाबाको मन्दिरका साथै कोटेश्वर महादेव, कालिका मन्दिरमा यहाँका स्थानीयले परापूर्व कालदेखि श्रद्धाभक्तिका साथ पूजाआजा गर्दै आएका छन् । मनले चिताएको जनविश्वासका कारण आसपासका सर्वसाधारण यी धार्मिक स्थलमा पुग्ने गरेका छन् । शाहवंशीय राजाको उद्गमस्थलका रुपमा यो स्थलमा रहेका ऐतिहासिक एवम् धार्मिक महत्वका थानी माई, शिव मन्दिर, कालिका मन्दिर महत्वपूर्ण धार्मिक पर्यटकीय आकर्षण हुुन् । परम्परागत मौलिकतामा आधारित घाटु, चुड्का जस्ता संस्कृतिलाई बचाइएका कारण यो स्थलको सांस्कृतिक रुपमा पनि उत्तिकै महत्वपूर्ण रहेको स्थानीयवासी एवम् राइनासकोट सामुदायिक होमस्टेका सदस्य तुलसीमाया गुरुङले बताउनुभयो । राइनासकोटमा घरवासको विकास भने २०७२ सालको भूकम्प पछि गरिएको बताउँदै उहाँले हाल यहाँका २० घरमा घरवास सञ्चालन गरिएको बताउनुभयो । भूकम्पले भत्किएका घरसँगै यहाँको धार्मिक सम्पदाहरू पुनर्निर्माण गरिएको उहाँले बताउनुभयो । “होमस्टे सञ्चालनले हामीलाई दैनिकी सञ्चालनमा सहयोग पुुगेको छ”, उहाँले भन्नुभयो, “यहाँका प्रत्येक घरमा १० जनासम्म बस्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।” आफूहरूले २०७४ सालदेखि घरवास सञ्चालन गर्दै आएको बताउँदै गुरुङले पर्यटकको बढ्दो आकर्षणले आँफूहरूलाई उत्साहित बनाएको बताउनुभयो ।  राइनासकोटको पर्यटकीय आकर्षण बढेसँगै विगतमा गाउँ छोडेर गएका स्थानीयवासी पनि फर्किएर घरवास सञ्चालन गर्न थालेका छन् । करिब २० वर्षअघि गाउँ छोडेर गएका स्थानीय तीर्थकुमारी गुरुङको परिवार भूकम्पपछि गाउँ फर्किएर घरवास सञ्चालन गरिरहेको छ । त्यस्तै यहाँका अन्य स्थानीयवासी पनि घरवास सञ्चालन गरिरहेका छन् । पछिल्ला वर्षमा राइनासकोटमा घरवासमा बस्नका लागि टाढाटाढाबाट मानिसहरू आउने गरेको बताउँदै उहाँले पुस महिनामा धेरै समूहहरू आएको जानकारी दिनुभयो ।  घरबासमा आउने पर्यटकका लागि एक हजार १५० रुपैयाँको प्याकेज राखिएको छ । उक्त प्याकेजअनुसार घरवासमा आएका पर्यटकले पुुग्नासाथ खाजा, चिया, बेलुकाको खाना र भोलिपल्ट बिहान नास्ता खान पाउँछन् । पर्यटकको आवश्यकताअनुसार उनीहरूका लागि सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको उहाँले बताउनुभयो । प्योकजअन्तर्गतको ५० रुपैयाँ होमस्टे सञ्चालक समितिको कोषमा राख्ने गरिएको उहाँले बताउनुभयो । राइनासकोट वीर भक्ति थापासँग जोडिएको गाउँ समेत भएकाले गाउँको माथि भक्ति थापाको शालिक समेत स्थापना गरिएको र उक्त स्थललाई भक्ति थापा पार्कका रुपमा विकास गर्न लागिएको राइनासकोट नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले बताउनुभयो । आसपासका पर्यटकीय सम्भावनायुक्त स्थलहरूको विकास गर्दै पर्यटकीय रुपमा देश तथा विदेशमा यसको प्रवद्र्धन गरिने उहाँको भनाइ छ । ऐतिहासिक दरबारका भग्नावशेषसँगै पुरातात्विक महत्वका गढीका कारण राइनासकोटको महत्व चुलिएको स्थानीयवासी एवम् पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु बताउनुहुन्छ । २०७२ को भूकम्पपछि यहाँको पर्यटन प्रवद्र्धनलाई विशेषरुपमा जोड दिइएको उल्लेख गर्दै उहाँले त्यसयता सङ्घ, प्रदेश हुँदै स्थानीय तहले यहाँको प्रवद्र्धन र विकासमा विशेष जोड दिएको बताउनुभयो ।  विभिन्न सञ्चारमाध्यमबाट समयसमयमा हुने गरेको राइनासकोटको प्रचारप्रसारले पछिल्ला समयमा पर्यटकको आकर्षण समेत बढीरहेको उहाँले बताउनुभयो । “सरकारी प्रयाससँगै यहाँका स्थानीयवासी पनि यस क्षेत्रको पर्यटकीय विकासमा चासो देखाएका छन्”, उहाँले भन्नुभयो, “यहाँको इतिहास । संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोड्दै समृद्धि र विकासको अभियान थालिएको छ ।” रमणीय उच्च भागमा अवस्थित राइनासकोटबाट धवलागिरीदेखि गणेश हिमालसम्मका दृश्यलाई एक साथ नियाल्न सकिनुु र रमणीय परिवेश यहाँको विशिष्टता भएको नगरपालिका प्रमुख गुरुङ बताउनुहुन्छ । पहिला ५८ घर रहेको यस स्थानमा पछिल्लो समयमा वसाइसराइको बढ्दो क्रमले घरहरूको सङ्ख्या घटिरहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा स्थानीयवासीहरू शहरमुखी बन्ने प्रवृत्तिले गाउँमा जनशक्ति घट्दै गएको उहाँको भनाइ छ ।  पर्यटनसँगै स्थानीयवासीलाई उत्पादनमा जोड दिइएको उहाँले जानकारी दिनुभयो । स्थानीय कोदो, गुन्द्रुक आदिको उत्पादनसँगै दूध उत्पादन, दुनाटपरीको उत्पादन तथा प्रयोग आदिमा गाउँपालिकाले जोड दिएको उहाँले बताउनुभयो । “हामी कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउन चाहन्छौं”, उहाँले भन्नुभयो, “कृषि र पर्यटनका माध्यमबाट स्वरोजगार सिर्जना गर्दै शहरमुखी बनेका स्थानीयलाई पुनः गाउँमा नै फर्काउने हाम्रो दीर्घकालीन सोच छ ।” समग्र राइनासकोट नगरपालिकाको जनसंख्या १८ हजार रहेको उहाँले जानकारी दिनुभयो । ऐतिहासिक मठमन्दिर, कोट आदिको संरक्षण गर्दै पर्यटकीय रुपमा उपयोग गर्ने नगरपालिकाको सोच रहेको नगरपालिका प्रमुख गुरुङ बताउनुहुन्छ । भग्नावशेषका रुपमा रहेको द्रव्य शाहको दरबारको पुनर्निर्माणको लागि योजना अघि सारिएको बताउँदै उहाँले यो सँगै यहाँका गढी र किल्लालाई संरक्षण गरी पर्यटकीय रुपमा उपयोग गरिने बताउनुभयो । राइनासकोटको पर्यटकीय प्रवद्र्धनमा पछिल्लो समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गरेका छन् । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले हालै राइनासकोटमा पुगी घरवास तथा व्यावसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । पोखरासँगै आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने एगा पोखराको वार्षिक कार्यक्रम अनुसार यस पटक राइनासकोटको प्रवद्र्धन गरिएको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले बताउनुभयो । प्रवद्र्धनात्मक भ्रमणका क्रममा राइनासकोटसँग पर्यटकीय साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गरिएको एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले बताउनुभयो । “गाउँमा उत्पादन गर्न सकेमा हामीले अल्लो, गाँजाको लोक्ता (हेम) खरिद गर्न सक्ने विषयमा त्यहाँ जानकारी गराएका छौं”, उहाँले भन्नुभयो, “ पर्यटनसँगै त्यहाँ उत्पादित कच्चा पदार्थ खपत गर्न सकिने विषयमा महत्वपूर्ण छलफल भएको छ ।” यस्ता कच्चा पदार्थको उत्पादनसँगै स्थानीय श्रमिकहरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै उहाँले पर्यटनलाई उत्पादनसँग जोड्न सकेमा त्यसले दिगो पर्यटनको विकासमा योगदान पुर्‍याउने बताउनुभयो । 

तनहुँ:     तनहुँको सदरमुकाम दमौलीस्थित सेती र मादीको सङ्गमस्थल नजिकै दमौलीघाट पर्छ। घाट जाने बाटो छेउमा कलात्मक बुटाले कुदिएको जीर्ण अवस्थामा एउटा पाटी छ। जुन व्यास नगरपालिका–३ स्थित देउराली नगरमा पर्छ। उक्त पाटी विसं २००७ मा निर्माण भएको बताइन्छ। हिजोआज सम्पदाका रूपमा रहेका पाटीपौवा र ठाँटी उचित संरक्षण अभावमा लोप हुँदै गएका छन्।। लोपोन्मुख अवस्थामा पुगेको यो पाटीको संरक्षणमा तनहुँका एक व्यक्ति आफ्नो व्यक्तिगत लगानीमा मर्मतसम्भारमा लागेका छन्। जिल्लाको व्यास नगरपालिका–४ निवासी आइतबहादुर घले निजी खर्चमा पाटी संरक्षणमा लागेका हुन्। इतिहास मेटिनु हुँदैन, संरक्षण गरेर राख्नुपर्छ भन्ने सोचका साथ आफू यसको संरक्षणमा जुटेको घलेले बताए। सम्बन्धित वडा कार्यालय र नगरपालिकालाई पाटीको संरक्षण गर्न आग्रह गरे पनि बेवास्ता गरेपछि आफूमा भित्रैदेखि इच्छा जागेर आएको उनले बताए। ‘आफूले गर्ने व्यक्तिगत र घरखर्चमा मितव्ययीता अपनाएर भए पनि पाटी संरक्षण गर्ने अठोटका साथ अघि बढेको हुँ,’ उनले  भने, ‘स्थानीय टोल विकास संस्था, व्यास नगरपालिकाबाट स्वीकृति लिएर मर्मतसम्भारको काम थालेको छु। करिब एक साताको अवधिमा जीर्ण बनेको पाटीलाई हेर्न लायकको बनाउनेछु।’ पाटीमा रहेका पुराना संरचना र कलालाई नबिगारीकन मर्मतसम्भार गरी संरक्षण गर्न लागिएको हो।। पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने घाँसीकुवा पारिपट्टि व्यास–११ मा अहिले पनि नहर्की बस्ती छ। उक्त पाटी त्यो समयमा नहर्की समुदायले बनाएका थिए। उक्त स्थानमा रहेको पाटी जीर्ण बनेकाले भत्काएर काठ ल्याई पुनः दमौलीघाट नजिक पाटी निर्माण गरिएको बताइन्छ।