टीकापुर:   कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना हुदाँ किशोरीको मृत्यु भएको छ ।    मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियार रहेकी छिन् । ...

पोखरा:  वर्षदिनको मेसो पारेर शमशेर गुरुङ गाउँ फर्किरहन्थे । गाउँघरमा आफ्ना इस्टमित्र भेटेपछि फेरी उही काठमाडौं नै फर्कन्थे ।   काठमाडौंमा विभिन्न पेशा व्यवसाय सञ्चालन गरेर उतै भुलिरहेका थिए गुरुङ । तर अहिले उनै गुरुङ पोखरा महानगरपालिका १६ को रिंजे नाँसा (रन्जित गाउँ) मै भेटिन्छन् ।      यतिबेला उनलाई गाउँ ब्यूताउने मात लागेको छ ।  बसाइसराईले रित्तिएको गाउँमा पर्यटकको ओइरो लगाउने भुत चढेको छ । त्यसैले उनी अहिले रिंजे नाँसा होमस्टेको मालिक भएर दौडधुप गरिरहेका छन् ।      हरेकवर्षझैं उनी २०७५ सालमा गाउँ पुगेका थिए । त्यसपछि गुरुङलाई काठमाडौं फर्किन मन लागेन । घरको आँगन सिस्नु र तितेपातीले ढाकेको थियो जहाँ गुरुङ सानो छदा घाम तापेर पढ्ने गर्थे ।    ‘बसाइसराइले गाउँ रित्तो बनाएको सुनिन्थ्यो । अहिले रन्जित गाउँ पनि अछुतो रहन सकेन, गुरुङ भन्छन्, ‘पेशा व्यवसायकै कारण म पनि काठमाडौमा एक दशक बढी बिताए । हरेक वर्ष गाउँमा आइरहन्थे । त्यै २०७५ सालको कुरा हो, घरको आँगनमा पुरै पाती र झाँडीले कब्जा जमाएको देखे । त्यसपछि म गाउँघर ब्यूताउन भनेर यही बसे ।’   गुरुङले अहिले रिंजे नाँसामा होमस्टे सञ्चालन गरिरहेका छन् । पोखरा महानगरपालिका भित्रै पर्ने यस गाउँमा गुरुङ र तामाङ जातिको बसोबास छ । \       उनले गाउँ फर्किएपछि प्रचारप्रसार गर्ने लक्ष्यसहित गाउँ चिनारी गीत र चलचित्र समेत निर्माण गरे । यद्यपी सोचेजस्तो प्रतिफल पाइनन् । त्यसपछि होमस्टे सञ्चालन गरेको उनी बताउछन् ।   ‘गाउँबाट पैसा कमाउन म पनि शहर पसेको हो, पोखरादेखि काठमाडौंसम्म विभिन्न पेशा व्यवसाय सञ्चालन गरे । अलिअलि पैसा पनि कमाएर गाउँ फर्किए, उनी भन्छन्, ‘हामी विभिन्न देश विदेश गएर पैसा कमाउछौं अनि शहर नै रोज्छौं । अब पैसा कमाएर गाउँमा उत्पादनको स्रोत खोज्नु पर्छ भनेर होमस्टे सञ्चालन गरेको हुँ । पछिल्लो समय रिंजेनाँसाको प्रवद्र्धनमा यसले निकै सघाएको छ ।’   उनले होमस्टेसँगै बाँझो रहेको खेतबारीमा स्थानीय स्तरमा उत्पादन हुने अन्नवालीसमेत लगाउँदै आएका छन् । त्यहीबाट बनेका परिकारहरु होमस्टे पुगेका पाहुनालाई पस्किने गरेको उनी सुनाउछन् ।   ‘गाउँ रित्तिएपछि खेतबारी जम्मै बाँझो बन्यो, अहिले त्यहाँ कोदो, मकै, सागहरु रोप्ने गरेको छु, होमस्टेमा आउने पाहुनाहरुलाई त्यहीबाट बन्ने लोकल परिकारहरुको स्वाद चखाउने गरेको छु,’ उनले भने ।   युवाहरुलाई उत्पादनमा जोड्न कफी र किवी खेती    बसाइसराईको कारण गाउँको खेतबारी सिस्नो र झाँडीले भरिन थालेपछि युवाहरुलाई उत्पादन र रोजगारमा जोड्न कफी र किवी खेतीको सुरुवात गरेको शमशेर बहादुर गुरुङ सुनाउँछन् ।   ‘युवाहरु विदेशीएसँगै शहर झर्दा गाउँको खेतबारी बाँझो पल्टिएको छ । युवाहरुलाई गाउँमै उत्पादन र रोजगारसँग जोड्न कफी र किवी खेतीको सुरुवात गरेका छौं, गुरुङ थप्छन्, ‘विदेशमा मास्टर डिग्री गरेर छोरो पनि यसै कफी र किवी खेतीमा जोडिएको छ ।’   गाउँमा होमस्टे सञ्चालनपछि स्थानीय युवाहरुलाई रोजगारसँग जोड्न विभिन्न व्यवसायकोसमेत सुरुवात गरेको उनी बताउँछन् ।   ‘होमस्टे भनेको गाउँलाई उत्पादन र विकाससँग जोड्ने माध्यमको रुपमा बुझेको छु, उनी भन्छन्, ‘गाउँका युवाहरुलाई रोजगारसँग जोड्नका लागि बाख्रा पालनदेखि विभिन्न व्यवसायमा जोड्न प्रेरित गरेको छु ।’ गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउनका लागि झरनामा क्यानोनिङ, गाउँमा साइकल लेनकोसमेत योजना रहेको छ ।   रिंजे नाँसा कसरी जाने ?   पोखरा महानगरपालिका–१६ महेन्द्रगुफा बाट माथि उक्लेपछि रिंजे नाँसा पुग्न सकिन्छ ।    धार्मिक आस्था राख्ने र नयाँ पर्यटकीय ठाउँमा रमाउन चाहाने पर्यटकहरुका लागि रिंजेनाँसा नयाँ गन्तव्य बन्न सक्छ । जहाँ जान महेन्द्र गुफाबाट आधा घण्टाको बस यात्रापश्चात रिंजेनासा पुग्न सकिन्छ भने पैदल पनि जान सकिन्छ ।     पर्यटकका लागि सो गाउँमा मुलकोट भूमी मन्दिर र पार्केडाँडा नाँगीडाँडाबाट हिमशृङ्खलाको अवलोकन, मनोरम दृश्यको अवलोकन  गर्न सकिन्छ ।    यस्तै धार्मिक आस्था राख्ने पर्यटकहरुका लागि होमस्टे नजिकै रहेको नौधारे सिद्ध बराह मन्दिरको पनि दर्शन गर्न सकिन्छ । जहाँ माघेसंक्रान्तिको दिन मेला र पुजासमेत हुने गर्छ ।

जनकपुरधाम:     भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको उत्सवमा जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालेर उत्सव मनाउने तयारी गरिएको छ । प्राणप्रतिष्ठानको अवसरमा भगवान रामको ससुराली जनकपुरधाममा रहेको जानकी मन्दिरमा सवा लाख दियो बाल्न लागिएको हो । भारतमा राम मन्दिरको प्राणप्रतिष्ठा भएको दिन आज बेलुका १ लाख २५ हजार दियो बाल्नुकासाथै विशेष आरतीको आयोजना गरिएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । राम मन्दिरको उद्घाटन विशेष महत्त्वको दिन भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई सहभागी हुन समितिले आग्रह गरेको छ । राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भगवान रामको ससुराली जनकपुरबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूललगायत ३ हजारभन्दा बढी कोसेली अयोध्या पठाइ सकिएको छ। प्राण प्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्त, साधुसन्त यसअघि नै अयोध्या पुगिसकेका छन् । यसैबीच, राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका ८ वटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । 

पाल्पा:   पाल्पाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   पाल्पा प्रहरीका अनुसार  मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जिटी रहेका छन् ।   पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल गएराति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको थियो ।   प्रहरीका अनुसार मोटरसाइकल कालीगण्डकी नदी किनारमा खसेको थियो ।  

काठमाडौं:   जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २८ करोड ४३ लाख ५४ हजार पाँच रुपैयाँ जम्मा भएको छ ।   भूकम्पपीडितको सहयोगार्थ १२८ भन्दा बढी संस्था र व्यक्तिहरूले उक्त रकम कोषमा जम्मा गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको छ ।   गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।   भूकम्पका कारण १५४ जनाको मृत्यु भएको थियो । ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको थियो ।   भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितको सहयोगार्थ कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो ।

बर्दियाबाट काठमाडौं जाँदै गरेको नाइट बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।   दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको हो ।   दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।   मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो।   चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ।

पोखरा:  निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बिच उद्घाटन गरेपछि आयोजना सञ्चालनमा आएको हो ।    आयोजना उद्घाटन गर्दै प्रमुख आचार्यले आयोजना सञ्चालनमा आएसँगै उपभोक्ताहरूले खानेपानीको समस्या भोग्न नपर्ने बताउनुभयो । आयोजनाले तत्कालका लागि १९८० घरधुरीलाई पानी उपलब्ध गराएको भए पनि छिट्टै ३२ सय बढी घरमा धारा जोडिने उहाँले बताउनुभयो ।   “खानेपानीलाई नेपालको संविधानले मौलिक हकका रूपमा उल्लेख गरेको छ, प्रमुख आचार्यले भन्नुभयो, नगरवासीलाई सुद्ध खानेपानी उपलब्ध गराउने कार्यमा पोखरा महानगरपालिका प्रतिबद्ध छ ।” चालु योजनाहरू समयमा नै सम्पन्न गर्ने र आवश्यक परेका स्थानहरूमा थप योजनाहरू सञ्चालनका लागि महानगरले विशेष पहल गरिरहेको उहाँले बताउनुभयो ।   हाल महानगरको डाटा कलेक्सनको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रमुख आचार्यले प्राप्त डाटाहरू विश्लेषण पश्चात् गरिबिको रेखामुनि रहेको नागरिकहरूलाई प्रतिपरिवार १० हजार लिटरका दरले निःशुल्क खानेपानी उपलब्ध गराउने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।   उनीहरूलाई खानेपानीसँगै नि:शुल्क स्वास्थ्य बिमा पनि गरिदिने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो । “हामी गरिबिको रेखामुनि रहेको परिवारलाई प्रति परिवार मासिक १० हजार लिटरका दरले खानेपानी र उनीहरूको निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिन्छौँ ।” प्रमुख आचार्यले भन्नुभयो ।    आयोजनाको कुल लागत रु।३४ करोड ९१ लाख ७२ हजार २ सय रहेको उपभोक्ता समितिका अध्यक्ष केशर प्रसाद निर्दोषीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकमको ५ प्रतिशत जनसहभागिता, २५ प्रतिशत नगर विकास कोषबाट ऋण सहायता र ८५ प्रतिशत नेपाल सरकारले बेहोरेको छ ।   आयोजना अन्तरगत ३२ सय धारा मध्ये १९८० धाराहरू जडान गरिएका छन् । कलेक्टर वेल २ वटा, सम्पवेल २ वटा, स्लो सेन्ड फिल्टर ४ वटा, रफिङ फिल्टर ६ वटा, क्लियर वाटर ट्याङ्क १ वटा, आर.भि.टि ४ वटा, सेड हाउस ७ वटा निर्माण गरिएको छ भने, ट्रान्समिसन लाइन १० कि।मि र वितरण लाइन १८ कि।मि विस्तार गरिएको छ ।    समितिको हालै सम्पन्न पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः निर्दोषीको अध्यक्षतामा नयाँ उपभोक्ता समिति गठन गरेको छ । उपभोक्ताहरूलाई निरन्तर स्वच्छ खानेपानी उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको अध्यक्ष निर्दोर्षीले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।   हाल प्रति महिना ६ युनिट पानीको महसुल २५० तोकिएकामा आयोजनाको ऋण चुक्ता पश्चात् उपभोक्ताहरूलाई सहुलियत मूल्यमा पानी वितरण गरिने उहाँले बताउनुभयो । आयोजनाले पोखरा महानगरपालिका वडा नं।१७, २१ र ३३ का विभिन्न वस्तिहरूमा पानी वितरण गरेको छ ।

पोखरा:   पोखराको अमरसिंह खेल मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिबार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ ।   महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए ।   दुतराज संगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहने छ ।   महोत्सवको आठौ दिन महोत्सवमा एलिना चौहानको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए ।   चौहानले कुरा काट्नेले काटुन, धोकेबाज, के माया लाग्छ र, मिनरल वाटर, डेक्ची धोइदैन, छुनुमुनु लगायतका गितहरु मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरिन । एलिना संगै महोत्समा शुक्रबार जीवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहेको थियोभने सांझको लाइभब्याण्ड तर्फ मन्त्र ब्याण्डको लाइभ कन्सर्टमा युवाहर झुमेका थिए ।   महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा शुक्रबार मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा मेरिगोल्ड, बालकल्याण, राष्ट्रिय मावि  बिचको प्रतिष्पर्धामा मेरिगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ ।   आठौ दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको छभने महोत्सवमा राखिएका स्टलहरुमा समेत उल्लेख्य मात्रामा कारोवार भइरहेको छ ।   महोत्सवमा बाल उद्यान, घरायसी सामाग्री, लत्ताकपडा, श्रृङगारका सामाग्री, भेषभूषामा तस्विर खिचाउने, घोड सवार, भिआर, याक हेर्नेको भीड लागेको छ ।   महोत्सवको टिकट घरमै बसेर रेभल एप मार्फत समेत दर्शकहरुले टिकट काट्न सकिने र टिकटमा समेत विशेष उपहार प्रदान गरिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

झापा:    झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेर ‘नेपाल मण्डल’ पुस्तक लेख्नुभएको छ । करिब १० वर्ष लगाएर उहाँले उक्त पुस्तक लेख्नुभएको हो ।  नेपालनिर्माता पृथ्वीनारायण शाहले ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो’ भन्नु भए पनि अहिले नेपालमा चार जात एक सय २४ वर्ण पुगिसकेको तिमिल्सिनाले जानकारी दिनुभयो । जसमध्ये चार जात ९२ वर्णको बारेमा तथ्यपरक जानकारीसहित पुस्तक प्रकाशन गरेको उहाँले बताउनुभयो । लोपोन्मुखदेखि बहुसङ्ख्यकसम्मका जातजातिको थर र उनीहरुको गोत्रका बारेमा पुस्तकमा उल्लेख गरिएको छ । नेपालका विभिन्न भूभागमा रहेका मानिसको थर कसरी रहन गयो भन्ने विषयमा समेत पुस्तकमा संक्षिप्त चर्चा गरिएको लेखक तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार पुस्तकमा दुई खण्ड र १५ अध्याय छन् ।  पहिलो खण्डमा आठ वटा अध्याय छन् भने दोस्रो खण्डमा सात अध्याय छन् । पहिलो खण्डका आठ अध्यायमा ‘अ’ देखि ‘ह’सम्मको स्वरवर्णद्वारा उच्चारित थर उल्लेख छन् । त्यस्तै, दोस्रो खण्डमा ‘अ’ देखि ‘ह’सम्मको स्वरवर्णद्वारा उच्चारित गोत्र उल्लेख छन् । पहिलो खण्डमा उराउ, कत्युरी, करुवा, कागते, कुमाल, किसान, बातर, कुशबाडिया, कुसुण्डा, कुसुले, खटिक, देवकी, खडिया, गनगाई, गन्धर्व, गुरुङ, चमार, चिडिमार, चिन्तान, चेपाङ, चाइँ, छन्त्याल, छिन्तन, छैरोतन, जिरेल, जेरुङ, झाँगड, डुक्पा, डोम, डोल्पो, ताङबे, ताजपुरिया, तामाङ, तोक्पेगोला, तिलुङ, तिलुङा, थकाली, थामी, थारु, थुदाम, दनुवार, दराई, दर्जी, दमाई, दशनामी, दुरा, धानुक, धिमाललगायत जातजातिका थरको बारेमा उल्लेख गरिएको छ ।  चार सय ५६ पृष्ठको ‘नेपाल मण्डल’को मूल्य रू। चार सय ४५ छ । करिब एक दशक लगाएर पुस्तक निकालेको बताउँदै लेखक तिमिल्सिनाले भन्नुभयो, “पाठकका लागि  खुराकको रुपमा पुस्तक जानकारीमूलक छ । यसले नेपालको विभिन्न जातजातिको अवस्थितिबारे थाहा पाउन सकिन्छ ।” पछिल्लो पुस्तक पढ्ने क्रम घट्दै गएकाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । लेखक तिमिल्सिनाले यस अघि नेपालको इतिहास समेटिएको पहिलो पुस्तक ‘नेपाल’ लेखिसक्नुभएको छ । जसमा तत्कालीन तीन हजार नौ सय १५ गाउँ विकास समितिको नामकरण के–कसरी भयो भन्ने उल्लेख छ । ‘नेपाल नेवारी’ पुस्तक प्रकाशोन्मुख अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

पोखरा:  लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको छ ।   पोखराद्वारा पोखरा १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता यस वर्ष २ लाख ४४ हजार ८ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशबराज बराललाई रकमको चेक हस्तान्तरण गरे ।   सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएको भन्दै सिग्देल आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।   लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए ।  कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरुका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ र पूर्व अध्यक्ष विक्रम थकाली लगायतले एकेडेमीका बारेमा जानकारी दिएका थिए ।   क्लबले सञ्चालन गरेको सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीमा हाल ८ जिल्लाका १४ कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन् । सहारा क्लब पोखराले उनीहरुको लालन पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।   देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।   यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरुमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।